OMG ! कीर्तिमान राख्न भन्दै पढाइ छाडेर पर्वतारोहण

सोलुखुम्बुको फोर्चे गाउँका २१ वर्षीय फुरा ग्याल्जेन शेर्पाले सगरमाथा चढ्न थालेको पाँच वर्ष भयो।

कक्षा सात पढ्दा पढ्दै उनको ध्यान विद्यालयको पढाइमा भन्दा हिमाल चढेर कीर्तिमान कायम गर्नेतर्फ थियो।

“सानैदेखि हिमाल चढ्ने रहर थियो। बुवा र गाउँका ठूला मानिसहरू हिमाल चढेको भनेर फुर्तीसाथ फर्कन्थे। अनि म पनि पढाइ छोडेर त्यतैतिर लागेँ,” उनले भने।

पढाइ छोडेर हिमाल चढ्ने यो किशोर हुटहुटी उनको मात्रै होइन।

हुटहुटी

फोर्चे गाउँका अधिकांश युवाहरू आधारभूत र प्राथमिक तहको पढाइ सकेर आरोहणमा जाने गरेका छन्।

फोर्चेका ८५ घरधुरीका ७० भन्दा बढीले आफैँ हिमाल आरोहण गर्ने वा आरोहण गर्ने विदेशीको सहयोगीको काम गर्ने गर्छन्।

त्यसरी आरोहणमा काम गर्न विद्यालय छोडेर जाने अधिकांश किशोरहरू छन्।

१६ वर्ष कहिले पुगौंला र नागरिकता लिउँला भन्ने ध्याउन्नमा उनीहरू हुन्छन्।

नागरिकता नलिइ आरोहणमा जान नपाइने नियम छ।

फोर्चेका युवा आरोही ङवाङ तेन्जी शेर्पाले पर्वतारोहणमा आफ्नो आकर्षण हुनुको कारणबारे भने, “शेर्पालाई जहाँ पनि हिमाल चढ्ने भनेर चिनिन्छ। हिमालमा जस्तो आम्दानी अरूमा हुँदैन। त्यही भएर ९ कक्षा पढ्दापढ्दै म ६ हजार फिट माथिसम्म गएँ। १७ वर्षको उमेर पुगेदेखि म नियमित रूपमा सगरमाथा क्षेत्रमा गइरहेको छु।”

फुर्चे गाउँ

पेशा

फोर्चे गाउँका युवाहरूलाई विद्यालय पुग्नका लागि चार घण्टा पैदल यात्रा गर्नुपर्छ।

उनीहरूको घरबाट नजिकै रहेको विद्यालय भनेको खुम्जङ माध्यमिक विद्यालय हो।

पहिले पहिले विद्यालयसम्मको पहुँच सहज नहुँदा अघिल्लो पुस्ताले थप शिक्षा पाउन सकेनन्।

अहिलेको पुस्तालाई विद्यालय जान टाढा भए पनि उनीहरूसँग विकल्प छ।

तर उनीहरूलाई पढाइ सक्न भन्दा आरोहणमा गएर कीर्तिमानी राख्ने आकांक्षा नै धेरै छ भन्छन् गाउँका बुढापाका पनि।

संकेत

पाका आरोही मिङमार शेर्पाले भने, “हाम्रो जमानामा पढ्न पाइएन। बोल्न त अङ्ग्रेजी नेपाली सबै आउँछ तर लेख्न आउँदैन। त्यही भएर हामी अहिलेका युवाहरूलाई चाहिँ पहिला पढेर अनि आरोहणमा जाउ भन्छौं। उनीहरू मान्दैनन्।”

युवाहरू आरोहणमा आकर्षित भइरहँदा उनीहरूको आकांक्षा पूरा गर्न थप सहयोगी गाउँमै खुलेको खुम्बु क्लाईम्विङ सेन्टर भएको छ।

उक्त सेन्टरले आरोहणसम्बन्धी तालिम दिन्छ।

गाउँघरमै आरोहण तालिम खुलेपछि स्वभाविक रुपमा बढी जसो युवाहरूले तालिम लिएका र त्यही पेशा गर्न थालेका छन्।

यसलाई केहीले आफ्नो गाउँको सानका रूमा लिएका छन् त केहीले शिक्षा क्षेत्रमा उनीहरू पछि पर्ने संकेतका रुपमा हेर्ने गरेका छन् ।बीबीसी

 

वाम एकता बैंक मर्जर जस्तै हाे : बाबुराम भट्टराई

काठमाडौं, माघ ७ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो । यी पूर्वप्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन, बरु ‘सीईओ र अध्यक्ष को बन्ने’ भागबन्डा चलिरहेको छ । यसै कारण एमाले र माओवादीसँग सहकार्यको सम्भावना अब सकिएको उनले घोषणा गरे । असोज १७ गते एकीकृत वाम पार्टी बनाउने लक्ष्यसहित ६ बुँदे सहमतिमा केपी ओली र पुष्पकमल दाहालसँगै हस्ताक्षर गरेका यी नेता तत्कालै कित्ता बदलेर कांग्रेससँग चुनावी गठबन्धन गर्न गएका थिए । उनले एमाले-माओवादी केन्द्रबीच एकता प्रयासको कुनै वैचारिक जग नभएको आरोप लगाएका छन् । अनि वस्तुतः उनीहरू पुरानै शक्ति रहेको भन्दै गठबन्धनबाट मुलुकका समस्या नसुल्झिने ठोकुवा गरेका छन् । ‘खासमा हामीले उपेन्द्र यादवको फोरम, प्रचण्डको माओवादी र नयाँ शक्तिबीच भित्री कुराकानी गरेर नयाँ ढंगले तालमेल प्रयास गरिसकेका थियौं तर त्यसैबेला एमाले र माओवादीबीच अलग्गै वार्ता प्रक्रिया अघि बढिरहेको रहेछ,’ शनिबार दिउँसो विशालनगर निवासमा अन्नपूर्णसँग विशेष वार्ता गर्दै भट्टराईले खुलासा गरे, ‘हामीले बुझ्यौं- एमाले पनि त्यसमा सहभागी हुने रहेछ । वास्तवमा हामी अलिकति भ्रमित हुन पुगेछौं । नयाँ शक्तिलाई घोडा बनाएर छिट्टै सत्ताको भर्‍याङ चढ्ने उहाँहरूको मनसाय रहेछ ।’ उनले यी ‘पुराना शक्ति’ हरूसँग तालमेल गर्ने आफ्नो तत्कालीन सोचलाई त्रुटिपूर्ण भनी आत्मालोचना गरे । -अन्नपूर्ण पोस्टबाट

दाङमा चार दिनदेखि जारी आमहड्ताल र बन्द स्थगित

दाङमा चार दिनदेखि जारी आमहड्ताल र बन्द शनिबार रातिदेखि फिर्ता हुने भएको छ । पाँच नम्बर प्रदेशको अस्थाई मुकामको मॉग राखेर बिगत केही दिनदेखी आन्दोलन चर्केको थियो । संयुक्त सर्वदलीय संघर्ष समितिको शनिबार बेलुका बसेको बैठकले हाललाई बन्द र हड्तालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । आंदोलनका कारण सबैभनदा ठूलो समस्या ज़िल्ला भएर आऊने सवारी साधन र यात्रहरूलाइ परेको थियो । निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिंदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ । बन्दका कार्यक्रम स्थगित भएपछि लामो समयदेखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन चल्न थालेका छन् । संघर्ष समितिले आन्दोलनका क्रममा जनमानसमा पर्न गएको असुबिधाप्रति क्षमायाचना गरेको छ । बैठकले आन्दोलनका रुवरुप परिवर्तन गरी नयाँ कार्यक्रम तय गरेको संघर्ष समितिका सचिव एवं माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज निर्मल आचार्यले जानकारी दिए । अब कालोझण्डा प्रदर्शन, डेलिगेशन, बिरोधसभा, रिले अनशन, धर्ना, कानूनी उपचार जस्ता कार्यक्रम गरिने उनले बताए । आइतबार सबै दाङबासीलाई आफ्नो निवासमा कालो झण्डा राख्न अनुरोध गर्ने, सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने, दिउँसो १ बजे जिल्लाका मुख्य बजार घोराही, तुलसीपुर, लमही र भालुबाङमा कालोपट्टीसहित बिरोध जुलुश गर्ने निर्णय भएको आचार्यले बताए । बाँकी कार्यक्रम आइतबार बस्ने बैठकले तय गर्ने समितिका संयोजक एमाले जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिए ।   बैठकमा एमाले अध्यक्ष खड्काका साथै जिल्ला ईञ्चार्ज मेटमणी चौधरी, जिल्ला उपसचिव सुरामणी बेल्बासे, काँग्रेस सभापति किर्तीबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकर डाँगी, माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज जीवन गौतम, सहईञ्चार्ज आचार्य लगाएतको सहभागिता थियो ।

शिक्षण अस्पतालबाट करिब २०० जना नर्सहरुले राजीनामा दिएर विदेश पलायन

काठमाडौँ । पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् । अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो । पछिल्लो पाँच वर्षमा विदेशिने नर्सको संख्या उच्च रहेपछि २०७१ पुसदेखि नर्सिङ विभागले व्यवस्थितरूपले रेकर्ड राख्न थालेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २०७१ पुसदेखि चैतसम्म २२ जना, २०७२ मा ५७ जना, २०७३ मा ६९ जना, २०७४ पुससम्म ४५ जना नर्स बाहिरिएका छन् । झण्डै ५० जनाभन्दा बढी नर्स बाहिरिने प्रक्रियामा छन् । यसरी राजीनामा दिएकामध्ये केही नर्स स्थायी दरबन्दीमा नाम निकालेर बाहिरिएका भए पनि अधिकांश विदेश नै पलायन भएको शिक्षण अस्पतालका नर्सिङ बिभागका निर्देशक कोपिला श्रेष्ठ बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका नर्सका लागि पहिलो गन्तव्य विदेश नै हो अनि दोस्रो महाराजगञ्जको शिक्षण अस्पताल हो तर नेपालमा पेशागत सुरक्षा, सम्मान र सुनिश्चित भविष्य नदेखेका कारण नर्सहरु पलायन हुने क्रम बढिरहेको छ ।” अन्य अस्पतालमा भन्दा बढी नर्सिङ कर्मचारी भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकजना नर्सले हेरबिचार गर्नुपर्ने मापदण्डभन्दा धेरै बिरामी हेर्नुपर्ने बाध्यता भने शिक्षण अस्पतालमा अझै कायम छ । निर्देशक श्रेष्ठले हरेक महिना स्थायी र करारमा राखिएका नर्सले राजीनामा दिने क्रमले अस्पतालमा नर्स कर्मचारी व्यवस्थापन गर्न निकै समस्या भएको बताउनुभयो । अस्पतालका प्रशासन प्रमुख गोविन्दबहादुर प्रधानले नर्सको पलायन हुने क्रम बढ्न थालेपछि हरेक छ महिनामा करारमा नर्स राख्नुपर्ने बाध्यता भएको छ भन्नुभयो । “देशमा नर्सका लागि अपेक्षाअनुरुपको व्यवस्था हुन नसकेपछि विदेश जानेक्रम बढ्दो छ, नर्सलाई प्रशासनिक जिम्मेवारी, उचित पारिश्रमिक, पेशागत सम्मान सुरक्षा आवश्यक छ”, उहाँले जोड दिनुभयो । उक्त अस्पतालका योजना तथा निर्माण विभाग प्रमुख दीपक तिवारीले अहिले पनि सरकारले यहाँ स्थायी दरबन्दीको कोटा नथपेसम्म यस्तो समस्या आइरहने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ अन्य अस्पतालको भन्दा राम्रो सेवा सुविधा छ, नेपाल सरकारले तोकेको सेवा सुविधामा पनि अतिरिक्त १० प्रतिशत तलब थपेर दिइन्छ, हामीलाई नर्स र प्राविधिकको थप ५०० दरबन्दी आवश्यक छ भनेर माग गरिरहेका छौँ ।” तीन सय १७ जना स्थायी दरबन्दीमा र २८३ जना करारमा नर्स कर्मचारी छन् । अस्पतालले विस्तार गर्दैै लगेको सेवाअनुसार थप दरबन्दी आवश्यक छ । अहिले विभिन्न ११ बुँदे माग राखी देशभरका नर्स आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै महाशाखालगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघ गत पुस २७ गतेदेखि देशव्यापीरूपमा चरणबद्ध आन्दोलनमा छ । सरकारले जायज मागको अविलम्ब सम्बोधन गरी नर्सको पेशागत सुरक्षा र उचित व्यवस्थापन गर्नुपर्नेमा निर्देशक श्रेष्ठको जोड छ। माग पूरा नभएको भन्दै नर्सले यही माघ १ देखि ३ गतेसम्म दिनको तीन घण्टा काम छाडेर विरोध जनाउँदै आएका छन् । संघकी कार्यबाहक अध्यक्ष गंगा थापाले माग पूरा नभए माघ ४ देखि ६ गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि ४ बजेसम्मको सिफ्टमै काममा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, “अझै माग पूरा नभए माघ ७ गतेदेखि २४सै घण्टा नै काम छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन्छौँ ।” आन्दोलनमा नर्ससँग सम्बन्धित सबै संघसंस्थाको समर्थन रहेको कार्यबाहक अध्यक्ष थापाको भनाइ छ । गत पुस २६ र २७ गते कालोपट्टि बाँधेर काम गरेका नर्सले पुस २८, २९ र ३० गते सबै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म काम छाडेका थिए । जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा भएको नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कूल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने माग संघले अघि सारेको छ । श्रम ऐन, २०७४ तुरुन्त लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग पनि संघले अगाडि सारेको छ ।

चुनावी खर्चमा अधिकांस उम्मेदवारकै विवरण किर्ते !

काठमाडौं, पुस २८ । सीमाभित्रैको रकम राखेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएका ती विवरण पत्यारलाग्दा भने छैनन्। उम्मेदवारहरूले भोजभतेरमै लाखौं खर्चेको देखेका मतदाता वास्तविक हिसाब आयोगको सीमाभन्दा निकै बढी हुने दाबी गर्छन्। निर्वाचन आयोगले कसिकसाउ गरेपछि बल्ल आएर दलहरू प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नातर्फबाट भएको खर्चको विवरण बुझाउँदै छन्। आयोगले तोकेको निर्वाचनमा धेरै फजुल खर्च गरेर आयोगलाई किर्ते विवरण बुझाइएको उनीहरूको आरोप छ। म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचित एमालेका भूपेन्द्रबहादुर थापाले निर्वाचन कार्यालयमा २३ लाख ९८ हजार खर्च भएको विवरण पेस गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खमबहादुर गर्बुजाले १४ लाख ३८ हजार मात्र खर्च भएको दाबी गरेका छन्। यी दुवै जनाले खर्च विवरण बुझाउनैपर्ने नियम मान्न किर्ते कागज तयार पारेको देखिन्छ। दुर्गम बस्तीमा दलबलसहित घरदैलो पुगेका उम्मेदवारको सबै खाना र खाजा खर्चको बिल भने सदरमुकामको एउटै होटलको छ। एमालेका थापाले इन्धनबाहेक सवारीसाधनमा ७ लाख र कांग्रेसका गर्बुजाले यातायातमा इन्धनबाहेक ५ लाख खर्च गरेको विवरण पेस गरेका छन्। प्रदेशसभा ‘क’ मा विजयी माओवादी केन्द्रका विनोद केसीले १३ लाख ४५ हजारको खर्च विवरण पेस गरेका छन्। उनका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले ७ लाख २५ हजार मात्रै चुनाव खर्च गरेको दाबीसहित विवरण बुझाए। दुवैले पेस गरेका खर्च विवरण अपत्यारिला भएको स्थानीयले बताए। तर, उम्मेदवार भने वास्तविक खर्च नै त्यही भएको दाबी गर्छन्। ‘हाम्रो वास्तविक खर्च जति हो त्यति नै विवरण बुझाएका हौं,’ निर्वाचन कार्यालय भेटिएका राप्रपा जिल्ला अध्यक्ष वीरबहादुर थापाले भने। प्रदेशसभा ‘ख’ बाट निर्वाचित एमालेकी नरदेवी पुनले ११ लाख ७७ हजार र कांग्रेसका अमलाल फगामीले ८ लाख १५ हजार मात्र खर्च भएको विवरण पेस गरेका छन्। नरदेवीले यातायातमा इन्धनबाहेक १ लाख ४७ हजार र खाना तथा कार्यकर्ता परिचालनमा १ लाख १९ हजारको बिल बुझाएकी छन्। कांग्रेसका फगामीले यातायातमा इन्धनबाहेक २ लाख र खानामा १ लाख ६० हजार खर्च भएको देखाएका छन्। सदरमुकाम बेनीदेखि कम्तीमा १२ किमि पश्चिमबाट निर्वाचन क्षेत्र सुरु हुने प्रदेशसभा ‘ख’ का उम्मेदवारहरूले निर्वाचन कार्यालयमा पेस गरेका विवरणमा खाना खर्चका बिलहरू भने सदरमुकाम बेनीकै होटलका छन्। प्यानमा दर्ता भएको फर्म वा व्यावसायिक संस्थाले आम्दानीको १५ प्रतिशत अग्रिम आयकर तिर्नुपर्छ। भ्याटमा दर्ता भएका फर्म वा संस्थाले भने १ दशमलव ५ प्रतिशत अग्रिम आयकर तिर्नुपर्छ। यातायातमा प्रयोग भएका सवारीसाधन भाडामा लिएको भए १० प्रतिशत बहाल कर तिर्नुपर्छ। तर, दलहरूले निर्वाचन कार्यालयमा पेस गरेका कुनै पनि बिलमा राज्यकोषमा कर दाखिला गरेको कागजात छैनन्। ‘हाम्रो निर्वाचन खर्च वास्तविकताको नजिक छ। निर्वाचन कार्यालयले मागेको खर्च विवरणको फम्र्याटमा कतिपय खर्च शीर्षक नै छैनन्। नमागेको खर्च विवरण किन दिनु ?,’ एमाले निर्वाचन आर्थिक परिचालन संयोजक राजकुमार थापाले भने, ‘व्यवसायमा कानुनअनुसार लाग्ने कर, भ्याट तिर्ने दायित्व व्यवसायीको हो। सेवाग्राहीले जान्ने विषय होइन।’ – कान्तिपुरबाट

पूर्व जनमुक्तिसेना सुनिलकुमार जेल चलान

विराटनगर, पुस २६ । यति बेला शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दश वर्षे जनयुद्धका क्रममा नेपाली सेनाले तत्कालिन जनमुक्ति सेनाका एक जवानलाई पक्राउ गरी कारबाही गरेको छ । सशस्त्र युद्धको बेला नेपाली सेनाबाट विद्रोह गरेर हतियारसहित माओवादी सेनामा प्रवेश गरेका मोरङ ग्रामथान गाउँ पालिकाका सुनिककुमार भगतलाई नेपाली सेनाले सैनिक ऐन अन्तर्गत पक्राउ गरी कारागार चलान गरेको हो । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा मोरङ प्रहरीले घरबाटै गिरफ्तार गरेर सार्वजनिक अपराधको मुद्दामा कारवाही गरिपछि प्रहरीले भगतलाई नेपाली सेनाको जिम्मा लगाएको थियो । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले नेत्रविक्रम चन्द विप्लव समर्थित कार्यकर्ताहरुबाट चुनाव विथोल्ने काम भइरहेको बेला पक्राउ गरेको र पछि नेपाली सेनाले थाहा पाएर पत्र पठाएपछि आफुले सेनालाई बुझाएको बताए । उनले भने, ‘नेपाली सेनाले आफ्नो भगौडा पक्राउ परेको जानकारीमा आएकोले कारवाहीका लागि बुझाउन भनेपछि सार्वजनिक अपराधमा कारवाही टुंगिएपछि सेनालाई बुझाएका हौं, द्वन्दकालिन मुद्दामा कारवाही गर्न भनेर पठाएको होइन ।’ भोजपुरको बिष्णुदल गणमा सैनिक जवान पदमा कार्यरत रहेको बेला भगत दुई थान राइफल, त्यसमा लाग्ने ५ थान म्याग्जीन र ९ सय थान गोलीसहित २०६२ साल साउन ८ गते तात्कालिन माओवादी सेनामा प्रवेश गरेका थिए । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपाली सेनाको भगौडा सिपाहीको रुपमा भगतलाई कारवाही गरिएको बताए । उनले भने, ‘भगत हाम्रो सदस्य भएको र हतियारसहित भागेकोले कोट मार्सल गरेर कारवाही गरेका हौं, त्यसलाई शान्ति सम्झौतासँग जोडनु हुँदैन ।’ भगत पक्राउको विषयलाई माओवादी केन्द्रले शान्ति सम्झौता विपरितको कार्य भनेको छ । समाचार दैनिकसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले भनिन्, ‘द्वन्द्वकालिन हरेक प्रकारका मुद्दा हेर्ने सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हो, अहिले शान्ति प्रकृयालाई प्रभावित गर्ने गरी कसैले पनि गतिविधि गर्नु उचित हुँदैन ।’ उनले भगतमाथि भएको कारवाहीको विषयमा पार्टीमा छलफल गरी धारणा सार्वजनिक गर्ने बताइन् । भगतलाई कोर्ट अफ इन्क्वाइरी गरी कारागार व्यवस्थापन विभाग जगन्नाथ देवलमा राखिएको छ । समाचारदैनिकबाट साभार

३३ वर्षपछि अभियुक्त पक्राउ

नुवाकोट, पुस २६ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीनजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालवहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी आज नुवाकोट जिल्ला अदालत बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो । अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई छ÷छ महिना कैदको सजाय तोकेको थियो । अदालतले तीनैजनालाई आजै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ । रासस

गगनले दिए विश्‍वप्रकाशलाई वधाई, देउवालाई धन्यवाद

काठमाडौं, पुस २६ । युवा नेता विश्‍वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएसँगै गगन थापाले शुभकामना दिएका छन् । गगनले मंगलवार साझ सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिएका हुन् । गगनले विश्वप्रकाशले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै नयाँ पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारी प्रति धन्यवाद दिएका छन् । उनले ट्विटमा ‘विश्वप्रकाश दाइ नेपाली कांग्रेसको प्रवक्ता हुनु भएकोमा बधाई तथा प्रभावकारी कार्यसम्पादनको शुभकामना ।नयाँ पुस्तालाई जिम्मेवारी दिनुभएक‍ोमा पार्टी सभापतिलाई धन्यवाद !’ लेखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेकेका हुन् । देउवाले पार्टीको १३औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् । काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका काँग्रेसका दुई भरपर्दा नेता शर्मा र थापाले गत प्रतिनिधि सभा निर्वाचनमा एक अर्कालाई मतमागेका थिए । नेपाल विद्यार्थी संघको सभापति हुँदा उपसभापति बनेर काम गरेका थापालाई शर्माले पूर्वको झापाबाटै मत मागेका थिए । भने थापाले शर्माको विजयको लागि मत मागेका थिए । सो समय नेपाली राजनीतिक इतिहासमा आफुलाई प्रमाणित गरिसकेका यी दुई नेताको आपसी सहकार्य नौलो अम्यास देखिन्थ्यो। विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट चुनाव लडेका थिए । यद्यपि, उनी माओवादी केन्द्र एवं वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग पराजित भए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा। राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका थिए । विश्वप्रकाश शर्माले गगन थापालाई भाईमात्र नभई आफ्नो भरोसा समेत भन्ने गरेका छन् । उनले गणतन्त्र स्थापनाका बखत राज दरबारको अगाडि पट्टी हजारौँको नेतृत्व गरेका थापालाई एक कुशल हिरोको संज्ञा दिने गरेका छन् । लोकमानसिंह कार्कीलाई पदमुक्त गर्नु पर्छ भन्ने सडकको आवाजलाई संसद सम्म पुर्‍याउने मूल प्रतिनिधि गगन थापा रहेको शर्माले भन्दै आएका छन् । गगन थपाले आफुलाई शर्माकै कार्यकर्ता हुँ भन्दा गौरव लाग्ने समेत बताउने गरेका छन् । विश्वप्रकाशसँग काम गर्दा समस्यामा केन्द्रित नभई विश्वप्रकाश समाधान खोज्नमा केन्द्रित हुने गरेको समेत उनले भन्दै आएका छन् । शर्माले मतगणना नसकिँदै हार स्वीकार गरेर कार्कीलाई सबै भन्दा पहिले विजयको माला लगाएर लोकतान्त्रिक अभ्यासको संस्कार झल्काएका थिए । त्यहाँबाट शर्मालाई विपक्षी पार्टीका नेताहरुले समेत रुचाउँछन् । प्रखर वक्ता शर्मा ०४६ सालमा मेची बहुमुखी क्याम्पसका सभापति, नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । हाम्राकुरा डटकमबाट

बैँकक उड्नुअघि प्रचण्ड र ओलीबीच विशेष भेटवार्ता जारी

काठमाडौं, पुस २६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैँकक उड्नुअघि माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग विशेष भेटवार्ता गरेका छन् छ । वालकाेटमा भेट जारी छ । ओली नियमित स्वास्थ्य परीक्षणका लागि अाज थाइल्याण्डको बैंकक जाँदै छन् । पार्टी एकता गर्न माओवादी केन्द्र र एमालेका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको हिजाेकाे बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको थियाे । बैठकले पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र जनतालाई अपील गरेको छ । बैठकले प्रतिनिधि सभाको पूर्णता, राष्ट्रिय सभाको गठन र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न ६ सदस्यीय संयुक्त कार्यदल गठन गरेको छ ।

टेस्ट वरियतामा माथि उक्लियो अस्ट्रेलिया, भारत हारेर पनि शीर्षमै

काठमाडौं, पुस २४ । इङ्ल्याण्ड विरुद्ध  पाँचौं र अन्तिम टेस्टमा एक पारी र एक सय २३ रनको फराकिलो अन्तरले जीत हासिल गरेपछि अस्ट्रेलिया आइसीसी टेस्ट ऱ्यांकिङ्मा दुई स्थान माथि उक्लेर तेस्रो स्थानमा पुगेको छ । यस म्याचका पराजयका साथै इङ्ल्याण्डले एक स्थान खस्केर चौथो स्थानमा चित्त बुझाउनु परेको छ । अस्ट्रेलियामा जारी एसेज सिरिजको पाँच म्याचको शृंखला अस्ट्रेलियाले ४-० ले आफ्नो पक्षमा पारे पछि ऊ माथि उक्लेको हो । पहिले टस जितेर ब्याटिङ् गर्न मैदानमा आएको इङ्ल्याण्डको टीमले पहिलो पारीमा तीन सय ४६ रन बनाएको थियो । जवाफमा मैदानमा उत्रेको अस्ट्रेलियाली टोलीले सात विकेटमा छ सय ४९ रनको भारी स्कोरमा पारी समाप्तिको घोषणा गरेको थियो । दोस्रो पारीमा साह्रै कमजोर प्रदर्शन गरेको इङ्ल्याण्डको टीम मात्र एक सय ८० रनमा अल आउट हुँदा अस्ट्रेलिया दोस्रो पटक मैदानमा उत्रिएरै विजेता भएको थियो । अब आइसीसी टेस्ट वरियतामा अस्ट्रेलियाको कुल अंक ९७ बाट बढेर एक सय चार पुगेको छ भने हारका साथै इङ्ल्याण्डको अंक एक सय पाँचबाट घटेर ९९ पुगेको छ । नघट्ने भारतको ऱ्यांकिङ् अहिले टेस्ट ऱ्यांकिङ्मा  भारत एक सय २४ अंकका साथ शीर्षमा रहेको छ भने दक्षिण अफ्रीका एक सय ११ अंकका साथ दोस्रो स्थानमा रहेको छ । हाल यी दुई शीर्ष टोलीहरू बिच पनि दक्षिण अफ्रिकामा तीन टेस्ट म्याचको शृंखला जारी छ जसको पहिलो खेलमा भारत ७२ रनले पराजित भइरसकेको छ । विश्लेषकहरूका अनुसार भारत यो शृंखला ३-० ले हारेको खण्डमा उसको एक सय अठार दशमलव ४७ र दक्षिण अफ्रिकाको एक सय १७ दशमलव ५३ अंक पुग्नेछन् । यस अवस्थामा पनि उसको शीर्ष वरीयता कायम नै रहिरहने छ ।

एयर एसियाले तिर्‍यो २ करोड, थप १० करोड आज तिर्ने

काठमाडौं, पुस २४ । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ । बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धता उसले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० करोड रुपैयाँ तिर्ने मौखिक सहमति गरेको जानकारी दिए । केही वायुसेवा कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क लामो सयमदेखि तिरेका छैनन् । सबैभन्दा बढी बक्यौता रहेको एयर एसियाको २३ करोड रुपैयाँ बक्यौता छ । ‘एयर एसियाले सोमबार १० करोड बुझाएको अवस्थामामात्र अन्य रकम मासिक रुपमा लिने हो,’ उनले भने, ‘मौखिक प्रतिबद्धताअनुसार रकम नतिरे सोमबार काठमाडौंमा जहाज ल्यान्ड भएपछि उड्न पाउने छैन ।’ –अन्नपूर्ण पोस्टबाट

खुल्यो एमबिबिएस भर्नाको बाटो, लामो दबाबपछि त्रिविले सदर गर्‍यो मेडिकल कलेजको कोटा

काठमाडौं- त्रिवि कार्यकारी परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले मातहतका मेडिकल कलेजहरुलाई निर्धारण गरेको सिट संख्यालाई सदर गरेको छ। विद्यार्थी भर्नाका लागि सिट संख्या बढाउने खेलमा लागेका त्रिवि पदाधिकारीले चौतर्फी दबावपछि आइओएमले सिफारिस गरेको सिट संख्यालाई नै सदर गरेको हुन्। कार्यकारी परिषद्को यो निर्णयसँगै एमबिबिएस अध्ययनका लागि नयाँ भर्नाको बाटो खुलेको छ। आइओएमले निर्धारण गरेको सिट संख्यामा पुनर्विचार गराउन त्रिवि पदाधिकारीले लामो समय यसलाई रोकेर राखेका थिए। नियम अनुसार आइओएमको फ्याकल्टी बोर्ड सिट निर्धारण गरेर मेडिकल काउन्सिलमा पठाउँछ र काउन्सिलले निरीक्षणका आधारमा त्यसलाई स्वीकृत गर्छ। त्यसपछि अनुमोदनका लागि त्रिविमा पठाइन्छ। आइओएमले एमबिबिएसमा महाराजगञ्ज मेडिकल कलेजको ७६, किष्ट मेडिकल कलेज ललितपुरको ९०, गण्डकी मेडिकल कलेज पोखराको ९०, नेसनल मेडिकल कलेज वीरगञ्जको ९०, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १००, चितवन मेडिकल कलेजको ९०, युनिभर्सल मेडिकल कलेज भैरहवाको १०० र जानकी मेडिकल कलेज जनकपुरको ८० सिट निर्धारण गरी त्रिविमा पठाएको थियो। कार्यकारी परिषदले सोही सिट संख्या स्वीकृत गरेको हो। आइओएमले नयाँ विद्यार्थी भर्नाका लागि ‘ओपन हाउस काउन्सिलिङ’ सुरु गर्ने भन्दै सार्वजनिक सूचना समेत निकालिसकेको छ। आइओएमले पुस २६ गतेदेखि विद्यार्थीसँग प्रवेश परीक्षाको योग्यताक्रम (मेरिट)मा अगाडि रहेकालाई परामर्श दिने भएको हो।   स्वास्थ्यखबरबाट

जनताले चाहेको विकास तुहिने पो हो की !

निरोजकुमार थापा/ विकास भन्ने वित्तिक्कै बाटो, कुलो, पुलपुलेसा, खानेपानी तथा अन्य पूर्वाधारहरु आम सर्वसाधारण नागरिकले उपभोग गर्न पाउने गरी उपलब्ध छन भन्ने बुझिन्छ । विकास गर्न भन्दै राज्यले कुनै अध्ययन विना नै संघियताको परिकल्पना गरेर मुलुकमा ७ सय ६३ स्थानीय तहको व्यबस्था गरेको छ । एकातिर स्थानीय सरकार बस्ने घर नै छैन, अर्कोतिर बजार, दुवै अभाव छ । अत्याबश्यक पर्ने उपभोग्य सामान उपलब्ध छैन, सडक कच्ची त्यही पनि कुनै स्टेमेट विना खनिएको । संविधानले परिकल्पना गरेको ३ नम्बर प्रदेश अन्र्तगत पर्ने रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तह रहेका छन् । निर्वाचन सम्पन्न भएको ७ महिना वितिसक्यो, सरकारले प्रत्येक स्थानीय तहमा नै बजेट पठाएको छ । गाउँमा विकासको काम सुरु नहुनुमा को दोषी ? स्थानीय सरकारका टाउके, कर्मचारी वा आम नागरिक ? जिल्ला सदरमुकामबाट ० किलोमिटर सडक लगभग कालोपत्रे भएपनि त्यहाबाट पालिकाको केन्द्रसम्म पुग्ने सडक सबै कच्ची र धुले छन् । असारमा सरकारले छुट्याएको बजेट कुनै नगर र गाउँपालिकाले वडावडामा खन्याए भने कुनै पालिका आफैले खर्च गर्ने गरी निश्चित रकम वडामा पठाए । यसरी सरसर्ती हेर्दा सरकारले विनियोजन गरेकको विकासे बजेट बालुवामा पानी सरह छताछुल्ल पोखिएको छ, यसको उपलब्धि शून्य हुने निश्चित नै छ । स्थानीय निर्वाचन सकिएको र सरकारले बजेट पठाएको समयको तुलनामा काम सुरु मात्रै भएको भएपनि नागरिकमा आशाको किरण पैदा हुन्थ्यो, काम भईरहेको छ भन्ने बाटो हुन्थ्यो । बजेट सडकमा खन्याईएको छ, काम सुरु भएको छैन । तत्कालिन जिल्ला विकासे पारा भन्दा अलिकति पनि फरक देख्न पाईएको छैन । उही असारको सुरुमा काम सुरु गर्यो, असार मसान्तमा निकाशा लियो, साउनमा फेरी बजेट आउछ, सोही ठाउँमा खन्यायो । यस्तै यस्तै प्रक्रिया चलिरहेको छ । गाउँमा विकासको काम सुरु नहुनुमा को दोषी ? स्थानीय सरकारका टाउके, कर्मचारी वा आम नागरिक ? प्रत्येक पालिकामा अत्याधुनिक सुविधासम्पन्न अस्पताल, सोही खालको प्राविधिक विद्यालय लगायतका नारा हिजो चुनाव ताका खुब गुन्जिए अहिले सकिए । अब फेरी अर्को चुनावमा यस्तै नारा फेरी गुन्जिन्छन अनि हामी नागरिकले वाहा ! वाहा ! कति राम्रो गित फलानो पार्टीको भन्दै फेरी तालि पिट्नुपर्ने दिन दोहोरिने निश्चित छ । पैसा नभएको होईन, खर्च गर्न नजान्दा वष्र्यौनी फ्रिज भएको उदाहरण यसवर्ष देखि सकियो भन्ने थियो अब यही तौरतरिकाले गर्दा यसवर्ष राज्यले पठाएको बजेट फ्रिज त नहोला तर सही ठाउँमा खर्च भने पक्कै हुँदैन । स्थानीय सरकारमा निर्वाचितले आफ्ना कार्यकर्तालाई ठेक्काको नाममा बाढेर भएनि पैसा त सक्लान तर सही सदुपयोग नहुँदा नागरिकको विकास हेर्ने चाहाना पूरा हुनेमा शंका छ । स्थानीय सरकारको आफ्नो आम्दानी छैन, भएका खानी तथा अन्य आम्दानी हुने स्रोतको उत्खनन र उपभोगमा खासै कोही कसैले चासो दिएको पाईदैन । पर्यटन व्यबसायको दर्बिलो सम्भावना भएपनि जनशक्तिको अभावमा हाम्रा सम्पदाहरु प्रयोग विहिन भएका छन् । जिल्लाको उत्तरी भेगमा होमस्टे सञ्चालन गरी पर्यटन प्रवद्धन मार्फत जिल्लाको आर्थिक अबस्था उकास्न सकिन्छ । यति धेरै सम्भावना भएर पनि भुगोल अध्ययन नगरेका र विकास नबुझेका जनप्रतिनिधि भईदिदा विकासले भरिपूर्ण रामेछाप हेर्ने आम जिल्लाबासिको चाहाना तुहिनेवाला छ । हर हिसाबमा दक्ष र सबल व्यक्तिलाई काही न काही व्यबस्थापन गरेर उनीहरुको सिप र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन तर्फ अब ध्यान नदिने हो भने विकासले कोल्टे फेर्ने कुरामा सत्रै शंका रहन्छ नै । साँझ परेपछि महङ्गा विदेशी रक्सिको स्वादमा लठ्ठ भएर कुखुराका फिला लुछ्न तल्लिन हुनेले विकास गर्छ भनेर सोच्नु पनि दुर्भाग्य नै हो । आफू अनुकुलका वडाध्यक्षहरु राख्यो, टन्न रक्सि खायो । यसरी कहाँको अध्ययन हुनु, अनि कसरी विकास बजेट सही ठाउँमा पुग्नु । जिल्ला सदरमुकामबाट गाउँपालिका जाने सडक तत्काल कालोपत्रे गर्नुपर्ने, जिल्लाका महत्वपूर्ण धार्मिक स्थल र पर्यटकिय स्थलको स्तरोन्नति गर्नुपर्ने अहिलेको महत्वपूर्ण आवश्यता हो । जिल्लाका महत्वपूर्ण योगदानदाता जसले राष्ट्र निर्माणमा आफ्नो आहुति दिए, उनीहरुको सम्झनाका पार्क निर्माण, ठूला ठूला बगैँचा निर्माण जसले अहिले बढिरहेको ग्लोबल वार्मिङ को समस्या समाधानमा केही टेवा पुगोस यस्ता काम गर्न हामीले जनप्रतिनिधिलाई आग्रह गरेका हौँ । हर हिसाबमा दक्ष र सबल व्यक्तिलाई काही न काही व्यबस्थापन गरेर उनीहरुको सिप र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन तर्फ अब ध्यान नदिने हो भने विकासले कोल्टे फेर्ने कुरामा सत्रै शंका रहन्छ नै ।

सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिम सम्पन्न

काठमाडौं, पुस २० । नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंकले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ पुस १६ देखि १८ गतेसम्म विरगञ्जमा तीन दिने ‘सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिम’ सम्पन्न गरेको छ । परवानीपुर, विगञ्ज, प्रसौनी र कलैया शाखाका २५ जना ग्राहक सदस्य तथा अभिभावकहरु तालिममा सहभागी भएका थिए । बैंकले आफनो ग्राहक सदस्यहरुको सहभागितामा तालिम सम्पन्न भएको बैंकका विरगञ्ज क्षेत्रीय कार्यालयका निमित्त क्षेत्रीय प्रमुख हरेराम राउतले जानकारी गराएका थिए । डा.ईन्द्रनारायण शाहले प्रशिक्षक रहेको उक्त तालिममा विरगञ्ज क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत अजीमुल्लाह दर्जी, लेखापाल मकबुल खान, विरगञ्ज शाखाका शाखा प्रमूख दामोदर पाठकले आ–आफनो मन्तब्य राखेका थिए । समापन कार्यक्रममा परवानीपुर शाखाका अभिभावक जनक मोहन मल्लिकले बैंकले समय–समयमा आफनो ग्राहक सदस्यहरुलाई तालिम संचालन गरी नयाँ–नयाँ सिक्ने अवसर प्रदान गरेकोमा बैंक व्यवस्थापनलाई धन्यवाद दिएका थिए । त्यसैगरी विरगञ्ज शाखाकी सदस्य श्रीमती सुनिता गुप्ताले तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न सकेमा तालिमको औचित्य रहने कुरामा जोड दिएका थिए साथै हामीले सिकेका कुराहरु हामीले अन्य सदस्यहरुलाई सिकाउनु पर्ने कूरामा जोड दिएका थिए । त्यसैगरी कलैया शाखाकी सदस्य श्रीमती मिनादेवी मण्डलले तालिम ब्यवहारिक रहेकोले हामीलाई यस तालिमले अझै आत्मनिर्भर बनाउन सहयोग पूग्ने जानकारी गराएका थिए । प्रसौनी शाखाकी सावित्री यादवले बैंकले सदैव आफनो ग्राहक सदस्यहरुको हितलाई मध्यनजर गरी यस्तो किसिमको ब्यवहारिक तालिमहरु प्रदान गर्दै आई रहेकोमा खुसी व्यक्त गरेका थिए । तालिमका समापनमा बिरगञ्ज क्षेत्रीय कार्यालयका निमित्त क्षेत्रीय प्रमुख हरेराम राउतले तीन दिनसम्म संचालन भएको तालिममा ग्राहक सदस्यहरु तथा अभिभावकको सक्रिय सहभागिता भएकोमा उपस्थितमा सबैलाई धन्यवाद दिँदै यस तालिमबाट सिकेका कुराहरुलाई सदुपयोग गर्ने आशा राखेका थिए । यस तालिमले ग्राहक सदस्यहरुको आय वृद्धिमा थप सकरात्मक भूमिका निर्वाह गर्ने अपेक्षा राखेका थिए । सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिमबाट सहभागी ग्राहक सदस्यहरुको आयस्तरमा वृद्धि हुने विश्वास राख्दै तालिमको समापन गरेका थिए ।

प्रधानमन्त्री हुँदा ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले पार्टी एकताबारे के भने यस्तो ?

यतिखेर विष्णु रिमाल चर्चामा छन । एमाले नेता योगेश भट्टराईलाई माकाफुई भनेर आलोचना गरेपछि रिमाल चर्चामा छन । पार्टी एकताबारे एमालेभित्र थरिथरिका चर्चा चलिरहेको बेला रिमालले भने एकताको पक्षमा तर्क दिएका छन । केपी ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार बनेका विष्णु रिमालले ओलीकै भनाई सापटी लिँदै भनेका छन्, ‘अहिले हामी के गर्छौँ भने, माओवादी माओवादी रहँदैन । एमाले एमाले रहँदैन । जसरी कालीगण्डकी र त्रिशुली मिसिएर नारायणी बन्छ । त्यसरी हामी पहिले नारायणी बनाउँछौँ । अनि ढुंगा कसले र गिट्टी कसले खोज्ने भन्ने टुंगो लगाउँछौँ ।’ उनले पार्टी एकता भएरै छाड्ने बताए । माओवादी अध्यक्ष दाहालले बैठकमा नगरेका कुरा सञ्चारमाध्यममा आएको भन्दै उनले थपे, ‘पार्टी एकताबारे उब्जिएका शंका प्रचण्डले मेटाउनु भएको छ । उहाँले म ओलीलाई पर्खिरहेको छुँ भन्नु भएको छ । पार्टी एकता संयोजन समितिको बैठक कुरिरहेको कुरा उहाँले सुनाउनु भएको छ ।’ रिमालले आफुहरु छलफलमै रहेको बताए । उनले भने, ‘शनिबारसम्म धेरै कुरा थाहा भइसक्छ ।’ रिमालले पदीय बाँडफाँडको विषय बाहिर आएजस्तो पेचिलो नभएको पनि बताएका छन् ।

माओवादीका सचिवालय सदस्य उर्मिला र विजयलाई पार्टीबाट निष्कासन,विज्ञप्तिसहित

पर्सा, पुस १२ । पर्सामा नेकपा माओवादी केन्द्रको असन्तुष्ट पक्षले बुधबार पत्रकार सम्मेलन गरेर पार्टी केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज उर्मिला अर्याल र जिल्ला अध्यक्ष विजय महतोलाई कारबाही गरेको घोषणा गरेको छ । वीरगंजमा पत्रकार सम्मेलन आयोजना गरेर दुवै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको माओवादी केन्द्रले जनाएको छ । पार्टीका केन्द्रीय सल्लाहकार जालिम मिँया र जिल्ला अध्यक्ष बाबुराम कौशीकले जारी गरेको विज्ञप्तिमा स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भएको पराजयको कारण महतो र अर्याल रहेको भन्दै कारवाही गरिएको उल्लेख छ । यस अघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उर्मिला अर्याललाई हराउन लागेको भन्दै जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ र पार्टी अध्यक्ष र अवैध रुपमा चन्दा असुल गरेर पार्टीको हित विपरीत कार्य गरेको भन्दै जिल्ला नेता बाबुराम कौशीकलाई पार्टीबाट निष्काशन गरिएको थियो । उनीहरुलाई पार्टी सचिवालय सदस्य तथा पर्सा इन्चार्ज पोलिटब्यूरो सदस्य छोटेलाल यादव र जिल्ला अध्यक्ष महतोले कारवाही गरेका थिए । अर्याल पक्षले कार्वाही गरिएको भनिएका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ पार्टीको केन्द्रीय सल्लाहाकार समिति सदस्य समेत रहेकोले उनलाई जिल्ला कमिटिले कारवाही गर्नु विधान विपरित रहेको मियाँ पक्षको दाबी छ । पार्टीमा उर्मिला अर्याल, जालिम मियाँ, बाबुराम कौशिक तीनै जना प्रचण्ड पक्षकै नेताहरु मानिन्छन् । हेर्नुहोस विज्ञप्ति: