कोर्स एउटै भएकोले पार्टी एकता निश्चित: एमाले महासचिव पोखरेल

काठमाडौं, मंसिर ५ । नेकपा एमालेका महासचिव इश्वर पाेखरेलले चुबाब लगत्तै पार्टी सम्योजन समितिले काम सम्पन्न गर्ने र कोर्स एउटै भएकोले पार्टी एकता निश्चित भएकाे बताएका छन् ।

 

विवाह नै नगरी यसरी चार सन्तानको पिता बने रोनाल्डो ?

कार्तिक २८ । रियल म्याड्रिडका स्टार फुटबलर त्रिस्टियानो रोनाल्डो फेरि पिता बनेका छन् । उनकी गर्लफ्रेन्ड जार्जिना रोड्रिग्जले एक नयाँ छोरीलाई जन्म दिएकी छन् । रोनाल्डोले खुसी हुँदै सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘अलाना मार्तिनाको भर्खरै जन्म भएको छ । जियो र अलाना दुवै ठीक छन् । हामी धेरै खुसी छौं ।’ रोनाल्डो जुम्ल्याहा बच्चा इवा मातेओका पनि पिता हुन् । उनीहरुको जन्म यही वर्षको जुनमा भएको थियो । उनले आफ्नी गर्लफ्रेन्ड जार्जिना र ७ वर्षीय छोरा क्रिस्टियानो जूनियरको पनि तस्बिर ट्वीटरमा सेयर गरेका छन् । रोनाल्डो र स्पेनकी मोडेल जार्जिना रोड्रिग्ज विगत लामो समयदेखि सम्बन्धमा छन् । तर दुवै जनाले अहिलेसम्म विवाह गरेका छैनन् । यो भन्दा पहिलो जुन महिनामा रोनाल्डोका घरमा सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चा जन्मिएका थिए । नयाँ छोरीको जन्मसँगै रोनाल्डो ४ बच्चाका पिता बनेका छन् । रोनाल्डोका जेठा छोरा ७ वर्षका छन् । सन् २०१६ को यूरोकप विजेता पोर्चुगेली फुटबल टिमका कप्तान रोनाल्डो जुन २०१० मा पहिलोपटक पिता बनेका थिए । उनको पहिलो बच्चा पनि सरोगेट ९भाडामा लिइएकी० आमाबाट जन्मिएका हुन् ।

एमालेका पुर्वमन्त्री तथा उम्मेदवार रार्इको गाडीमा बम प्रहार

भोजपुर, कार्तिक २८ । भोजपुर प्रदेश खमा नेकपा एमालेबाट उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । ट्याम्म्के मैयुङ गाउँपालिका–६ कोट गुम्बा नजिकै बा १५ च ५६० ड नं को जीपमा १०ः३० बजे बम प्रहार भएको हो । बम प्रहारबाट गाडीको अगाडि क्षति पुगेको छ भने राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा सामान्य घाइते भएका छन् । नेकपाका कार्यकर्ताले बम प्रहार गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बम प्रहार गर्ने समूहको खोजी गरिरहेको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।

एसीसी यु १९ एसिया क्रिकेटः सन्दिपको उत्कृष्ट बलिङले मलेसिया ४५ रनमा समेटियो

काठमाडौं, कात्तिक २८ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक मलेसियालाई ४५ रनमा रोकिएको छ। वर्षाले प्रभावित भएर २४ ओभरमा छोट्याइएको खेलमा सन्दिप लामिछाने ५ विकेट लिएपछि मलेसिया १५।३ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा समेटिएको हो । नेपालका लागि सन्दिप लामिछानेले ४.३ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ५ विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र साहब आलमले २–२ र अनिलकुमार साहले १ विकेट लिए। टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली मलेसियाका लागि सैफ उल्लाह मल्लिकले १३ आजिद सायद मुबारकले १२ रना बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन् । समूह ‘ए’ कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। यो खेल पनि वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको थियो। खेल ३२ ओभरमा घटाइएको छ। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्ने छ। समूहका दुई चरणका खेलअघि अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपाल र भारतले समान १–१ खेलमा जित र हार ब्यहोरेका छन् । दुवै टिमको २–२ अंक छ। बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। नेपाल र भारतका लागि भने सेमिफाइनलमा स्थान बनाउन जित निकाल्नैपर्छ। बंगलादेशले जित निकालेमा नेपाललाई फाइदा हुनेछ। यो अवस्थामा नेपालले जित निकाले सेमिफाइनल पुग्ने पक्का छ। तर, भारत विजयी भएमा भने नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।

अाज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर गौचनको हत्यारा सार्वजनिक गर्दै

काठमाडौं, कार्तिक २८ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले कुनै परिचय खुलाएको छैन । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने प्रहरीको तयारी छ । स्रोतका अनुसार ती व्यक्ति हत्यामा प्रयोग भएको मोटरसाइकलको पछाडि बसेर भागेका थिए । असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । उक्त टोलीमा केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक इन्सपेक्टर छन् ।

नेकपाका जिल्ला नेता कटुवाल पक्राउ

उदयपुर, कात्तिक २६ । विप्लब नेतृत्वको नेपाल कम्युनिट पार्टीका उदयपुरका जिल्ला नेता पूर्णबहादुर कटुवाललाई पक्राउ गरेको छ। उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै घरमा कालोझण्डा राखेको अभियोग प्रहरीले नेकपाका जिल्ला नेता कटुवाललाई पक्राउ गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उदयपुर जिल्लाका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका ६ जना उम्मेदवारको घरमा कालो झण्डा राखेको छ । कटारी नगरपालिकाको मरुवाबाट घरमै बसिरहेको अवस्थामा कटुवाललाई आइतबार विहान प्रहरीले पक्राउ गरेको हो । नेकपाका कार्यकर्ताहरुले वाम गठबन्धनबाट उदयपुर १ की उम्मेदवार मञ्जु चौधरी, २ का उम्मेदवार सुरेशकुमार राई, प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की,रामकुमार खत्री, वाम गठबन्धनका उमेदवार नारायण बुर्जा मगर र प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका उम्मेददवार विष्णु राई दनुवारको घरमा कालो झण्डा राखेका छन्।

‘राजा–रानी’ को ‘चिप्पक–चिप्पक’ बोलको गीत सार्वजनिक

कार्तिक २६ । अभिनेता नाजिर हुसेनसँग अभिनेत्री केकी अधिकारीले पहिलोपल्ट जोडी बाँधेको चलचित्र ‘राजा–रानी’ को पहिलो गीत सार्वजनिक भएको छ । नेपाली चलचित्रको ‘चिप्पक–चिप्पक’ बोलको गीत सार्वजनिक गीतमा नाजिर र केकी दुवैलाई फरक रुपमा प्रस्तुत गरिएको छ । तराईको परिवेशमा बनेको उक्त गीतमा दीपक शर्माको सङ्गीत, राजेन्द्र थापाको शब्द तथा नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ । भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ । यम थापाको लेखन र निर्देशन रहेको चलचित्र राज्जा रानीलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

जनार्दन शर्मामाथि बम प्रहार गर्नेलाई छुटाउन मन्त्रीले दवाव दिनु डरलाग्दो संकेत–प्रचण्ड

भरतपुर, कात्तिक २५ । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेदवार प्रचण्ड शनिबार दिनभर आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट र अन्तरक्रियामा व्यस्त रहे । बिहान बाम गठबन्धनका नेता–कार्यकर्तासँग संक्षिप्त भेटघाटपछि प्रचण्डले ८ बजे शिबनगरका सुकुम्बासीसँग अन्तरक्रिया गरे । अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्याको स्थायी समाधानका लागि आफूले पहल गरेको बताए । अन्तरक्रियामा प्रचण्डले सुकुम्बासीका समस्याबारे चासो थप जिज्ञासा राखेका थिए । अन्तरक्रियापछि प्रचण्डले शिबनगर क्षेत्रका सुकुम्बासी क्षेत्रमा घरदैलो र अन्तरक्रिया गरे । घरदैलोपछि शिबनगर चोकमा आयोजित कोणसभालाई प्रचण्डले संक्षिप्त सम्बोधन गरे । कोण सभापछि अध्यक्ष प्रचण्डले राधापुर क्षेत्रमा घरदैलो गरे । त्यसपछि उनले सुन्दरबस्ती क्षेत्रमा आयोजित कोण सभालाई सम्बोधन गरे । कोण सभालाई सम्बोधनसँगै प्रचण्डले सुन्दर बस्तीमा सञ्चालन भएको साझा मेसमा खाना खाएर फेरि जनतासँग अन्तरक्रिया थाले। र दिउँसो २ बजे चितवनको रामनगरमा नेकपा एमालेसम्वद्ध पेशागत महासंघ नेपाल चितवन शाखाले आयोजना गरेको बनभोज कार्यक्रममा पुगेर प्रचण्डले संक्षिप्त सम्बोधन गरे । बनभोज कार्यक्रमलाई सम्बोधनपछि प्रचण्डले भरतपुरमै एमाले र माओवादी सम्वद्ध कानून व्यवसायीहरुसँग छोटो अन्तरक्रिया गरे । अन्तरक्रिया पश्चात् भरतपुर महानगर २२ का पदमपोखरी, बाक्लोटोल, टाउन, पटाहनी, बनकट्टा र बोटेटोलमा आयोजित ६ वटा कोण सभालाई सम्बोधन गरे । भने उक्त क्षेत्रका जनतासँग भेटघाट र घरदैलो कार्यक्रम सहभागी भए । घरदैलो, कोणसभा र अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले मूख्यतयः तीनवटा विषयमा आफ्नो धारणा राखेका थिए । कम्युनिष्ट एकता र तालमेलको औचित्यबारे प्रचण्डले भने, ‘देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने नेपाली जनताको सपना हामी साकार पार्दैछौं। यसबाट कोही पनि झस्कन आवश्यक छैन। अब देशमा बामपन्थीहरुको बहुमतको सरकार बन्छ, देशको विकास र समृद्धिले गति लिन्छ, देश अब समृद्धिको नयाँ युगमा प्रवेश गर्छ।’ समसामयिक राजनीतिबारे प्रचण्डले भने, ‘हिजो रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियो। आज वर्षामान पुन चढेको गाडी नजिक माइन बिस्फोट गराइयो। केही दिन अघि हतियारधारी समूह समातिए। अझ मूख्य कुरा त बहालवाला मन्त्रीले नै उनीहरुलाई छुटाउन विज्ञप्ति जारी गरेका छन्। यो सामान्य कुरा होइन। विभिन्न कसरतमा पनि निर्वाचन रोक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयोग गरेर चुनाव रोक्न त खोज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएको छ। चुनाव रोक्न खोजिए त्यो हाम्रा लागि मान्य हुन सक्दैन।’ चितवनको विकासबारे अध्यक्ष प्रचण्डले भने, ‘चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने सोच छ। चितवन जिल्लालाई नै अन्तर्राष्ट्रिय स्तरको शहर बनाउन सकिन्छ। यहाँका सडक, विद्यालय, खानेपानी लगायतका पूर्वाधार विकास मेरो प्राथमिकतामा छन्। चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिन्छ। नारायणी र राप्तीमा तटबन्ध गरेर रिङरोङ बनाउने अनि चितवनको पर्यटनमा क्रान्तिकारी विकास गर्ने सोच छ। कृषि र निकुञ्ज पीडित जनताका समस्या समाधानलाई मैले उच्च प्राथमिकतामा राखेको छु।’ दिनभरको घरदैलो र अन्तरक्रियामा चितवन ३ (ख) का उम्मेदवार रामलाल महतो, एमाले नेता देवी ज्ञवाली, राप्रपाबाट माओवादीमा प्रवेश गरेका नेता बद्री तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए । घर दैलोका क्रममा जनतामा निकै ठूलो उत्साह देखिएको थियो। अभियानमा स्थानीय जनताले प्रचण्डलाई माला र पुष्पगुच्छाले स्वागत गरेका थिए।

साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको हिज्बुल्लाह नेताको आरोप

काठमाडौं, कात्तिक २५ । लेबनानका हिज्बुल्लाह नेता हसन नसरल्लाहले साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको आरोप लगाए । लेवनानका प्रधानमन्त्री साउद अल हरिरीले राजीनामा दिएपछि हिज्बुल्लाह नेताले यो आरोप लगाएका हुन् । लेवनानी प्रधानमन्त्री हरिरीले साउदी अरबको राजधानी रियादबाटै आफ्नो राजीनामा दिएका थिए । प्रधानमन्त्री हरिरीले एक टेलिभिजन सम्बोधनमार्फत् पदत्याग गरेको घोषणा गरेका थिए । उनले आफ्नो ज्यानको खतरा भएकाले राजीनामा दिएको उल्लेख गरेका थिए । आफ्नो सम्बोधनका क्रममा उनले इरान र हिज्बुल्लाहलाई निशाना बताएका छन् । हिज्बुल्लाह नेता नसरल्लाहले भने साउदी अरबले हरिरीलाई जबरजस्ती रोकेर राखेको आरोप लगाएका छन् । उनले साउदी अरबले लेवनानविरुद्ध इजरायललाई पनि भड्काइरहेको आरोप लगाए । हिज्बुल्लाह शिया आन्दोलनलाई इरानले साथ दिंदै आएको छ । लेवनानसहित त्यस क्षेत्रमा तनाव बढाउन साउदी अरब जिम्मेवार रहेको निष्कर्ष हिज्बुल्लाहको छ । लेबनानी राष्ट्रपति मिसेल आउनसहित अन्य वरिष्ठ राजनीतिज्ञहरुले उनलाई फिर्ता आउन अपील गरेका छन् । लेवनानले हरिरीलाई साउदी अरबको एक घरमा नजरबन्द गरिएको र उनमाथि दबाब दिइएको जनाएको छ । लेवनानका राष्ट्रपतिले हरिरीको राजीनामा स्वीकृतसमेत गर्नुभएको छैन । जबकी हरिरीले टेलिभिजन सम्बोधनबाट राजीनामा घोषणा गरेपछि सार्वजनिकरुपमा केही पनि प्रतिक्रिया दिएका छैनन् शुक्रबारको टेलिभिजन सम्बोधनमा हिज्बुल्ला नेता नसरल्लाहले साउदी अरबले लेवनानविरुद्ध भित्रभित्रै संघर्षका लागि उक्साइरहेको आरोप लगाएका छन् । उनले साउदी अरबका अधिकारीहरुले लेवनानका हिज्बुल्लाहविरुद्ध युद्ध गरिरहेको र यसलाई आफूले लेवनानविरुद्धकै युद्धको रुपमा लिएको बताए । साउदी अरबले लेवनानमा हमला गर्न इजरायललाई अर्बौ डलर दिने तयारी गरेको आरोप पनि उनले लगाए

इटाली विश्वकप फुटबलमा छनोट नहुने सम्भावना बढ्यो

काठमाडौं, कात्तिक २५ । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा इटाली छनोट नहुने सम्भावना बढेको छ । विश्वकप छनोटका लागि भएको प्ले–अफको पहिलो लेगमा गएराति स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको विश्वकपमा छनोट नहुने सम्भावना बढेको हो । घरेलु मैदानमा भएको खेलमा स्वीडेनले पहिलो हाफमा इटालीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा भ्रमण टोली इटालीले गोल खायो । ६१ औं मिनेटमा याकोव याहानसनले गरेको गोल नै स्वीडेनको जितमा निर्णायक बन्यो । पहिलो लेगमा जित निकालेको स्वीडेनको छनोट हुने सम्भावना बलियो भएको छ । दोस्रो लेग आगामी सोमबार इटालीमा हुनेछ । इटालीका लागि विश्वकपमा स्थान बनाउका लागि दोस्रो लेगमा जित अनिवार्य छ । स्वीडेन भने बराबरी गर्न सकेमा मात्रै पनि विश्वकपका लागि छनौट हुनेछ ।

शुरू भयो घरदैलो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घरदैलो अभियान शुरू गरेका छन । चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका प्रचण्डले चितवनको वडा नम्बर १३ स्थित उज्ज्वलनगरमा स्थानीय जनतासँग भेटघाट गरे ।

नेपाल ओमानसँग ५–० ले पराजित

काठमाडौं, कात्तिक २२ । एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत बुधबार भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो । च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहोर्‍यो । चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन । नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग १–० ले गोलअन्तरको हार ब्यहोर्न पुगेको थियो । रासस

अमेरिकी राष्ट्रपतिको उत्तर कोरियालाई चेतावनी

काठमाडौं, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियाको संसदमा बोल्दै उत्तर कोरियाका नेता किम जङ अन विरुद्ध चर्को चेतावनी दिएका छन्। ट्रम्पले भने, ‘हामीलाई कम नआँक्नु। हामीमाथि प्रयोग नगर्नु,’उनले भाषणमा किमलाई सम्बोधन गर्दै भने, ‘तपाईँसँग भएका हतियारले तपाईँलाई सुरक्षित बनाउँदैनन्। त्यसले तपाईँको सत्तालाई ठूलो खतरा पुर्याएको छ।’ अमेरिकी नेता एशिया भ्रमणक्रममा दक्षिण कोरियाको दुई दिने भ्रमणमा छन्। ट्रम्पले सोलमा सांसदहरुलाई सम्बोधन गर्दै कोरियाली युद्ध यता उत्तर कोरियाको तुलनामा दक्षिण कोरियाको प्रगतिको प्रशंसा गरे। उनले उत्तर कोरियालाई ‘इतिहासको प्रयोगशालाको दुःखदायी प्रयोग’ भने। ट्रम्पले प्योङयाङलाई चेतावनी दिँदै भने, ‘यस अघिको अमेरिकाको व्यवहारलाई उसले कमजोरी भन्ठानेको होला अब अमेरिकामा फरक प्रशासन छ।’ उनले आणविक कार्यक्रम त्याग्न उत्तर कोरियालाई आग्रह गरे। ‘उत्तर कोरिया तपाईँको हजुरबाले सोचेको जस्तो स्वर्ग छैन। यो कुनै पनि व्यक्तिले भोग्नु नपर्ने नर्क छ,’ ट्रम्पले उत्तर कोरिया स्थापना गरेका किम इल सङ जो किम जङ अनका हजुरबा हुन्, लाई उल्लेख गर्दै भने। ट्म्पले बाँकी विश्व खासगरी चीन र रुसलाई प्योङयाङमाथि उसका आणविक हतियार त्याग्न दबाब बढाउन आग्रह गरे। ट्रम्प एशियाका पाँच मुलुकको भ्रमण क्रममा छन्। जापानबाट भ्रमण शुरु गरेका ट्रम्प दक्षिण कोरिया पुगेका छन् त्यहाँबाट उनी बुधबार चीन पुग्दैछन्। बिबिसी

सपोर्ट माइक्रोफाइनान्सको कति पर्यो शेयर, हेर्नुस यसरी !

काठमाडौं, कार्तिक २२ । सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयर बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १ लाख ८० हजार कित्ता साधारण शेयर बुधबार बाँडफाँड गरिएको हो । शेयर माग गरेकामध्ये ज्यादै न्यून आवेदकले मात्र १० कित्ता शेयर पाएका छन् । माइक्रोफाइनान्सको साधारण शेयरका लागि २ लाख ३७ हजार ६ सय १७ वटा आवेदन परेको थियो । जसमा २ हजार ३ सय ९६ आवेदन रद्द भएका छन् । बाँकी रहेका २ लाख ३५ हजार २ सय ४८ आवेदनलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागी गराइएको छ । सोही अनुसार लघुवित्तको सेयर १६ हजार ७ सय ४० जनाले प्राप्त गरेका छन् । उनीहरुलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । आईपीओ नतिजा हेर्न मेरो लगानीको आइपीओ रिजल्टमा गएर आइपीओ  ( IPO RESULT ) जारी गर्ने कम्पनीको नाम र आफ्नो डिम्याट नम्बर भरेर सर्च गर्नुहोस् । तपाईले शेयर परे नपरेको नतिजा थाहा पाउनुहुनेछ ।

चारकिलो गाँजासहित युवक पक्राउ

लहान,  कात्तिक २० । प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो । आइतबार साँझ यादवलाई चेक गर्दा साइकलको पछाडि झोलामा प्लाष्टिकले बेरी ल्याएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन

नुवाकोट, कात्तिक १९ । नुवाकोटमा रहेका बाह्र स्थानीय तहमध्ये पाँच स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सरकारले सबै स्थानीयतहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तीय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीयतहमा जानुपर्ने बाध्यता रहेको छ । बैंकको काम लिएर जिल्लाका पाँच गाँउपालिकाको स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउन बाध्य भएका छन् । जिल्लामा रहेका निजी क्षेत्रका अधिकांश बैंकले सस्तो ब्याजदरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाहभन्दा पनि नाफामुखी कार्य गरेका छन् ।