कैहिले गाडीको कैहिले मानिसको पालो !

संखुवासभाको खाँदबारीबाट धनकुटाको हिले जाने क्रममा लेगुवा खोला नजिक यात्रु बस फसेपछि धकेलेर निकाल्दै नेपाल प्रहरी ।

तस्बिर : सुजन बज्राचार्य, संखुवासभा

बर्दिया जिससमा माओवादी केन्द्रका शंकरबहादुर चौधरी निर्वाचित

बर्दिया, भदौ १०। जिल्ला समन्वय समितिमा माओवादी र नेकपा एमाले गठबन्धनको संयुक्त प्यानल विजयी भएको छ । जिससको सभापतिमा माओवादी केन्द्रका शंकरबहादुर चौधरी र उपसभापतिमा एमालेका मानबहादुर विष्ट निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयका अधिकृत पवनकुमार शाहीका अनुसार सदस्यमा माओवादी केन्द्रका शान्ति चौधरी, कल्पना चौधरी, भक्तिराम अधिकारी र सूर्यबहादुर सुनार निर्वाचित भएका छन् भने एमालेबाट शान्ति चौधरी, धनबहादुर सुनार र राम सुमिधन यादव निर्वाचित भएका छन् ।

पढाैँ नेपाल र भारतको ४६ बुँदे संयुक्त वक्तव्य

 प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ४६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । दुई देशका प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा भेट भएको साँझ नै संयुक्त वक्तव्य आएको हो । संयुक्त वक्तव्यको पूर्णपाठ   India-Nepal Joint Statement during the State Visit of Prime Minister of Nepal to India.pdf – Google Drive

वैदेशिक रोजगारीमा गएका ५,९३५ नेपाली कामदारको मृत्यु

काठमाडौं, भदौं ८ । वितेको ९ वर्षमा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुक गरी ५ हजार ९ सय ३५ जना नेपाली कामदारको मृत्यु भएको छ । यो संख्या वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका कामदारहरूको मात्रै हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार भदौ ०६५ देखि हालसम्म सबैभन्दा बढी मलेसिया, साउदी अरब र कतारमा नेपाली कामदारको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी मलेसियामा २ हजार १ सय ५२ जनाको मृत्यु भएको छ । त्यसपछि क्रमशः साउदीमा १ हजार ६ सय ३७ र कतारमा १ हजार १ सय ९९ कामदारको मृत्यु भएको छ । युएई, कुबेत, बहराइन, दक्षिण कोरिया, ओमानलगायतका देश पनि नेपाली कामदारहरूको बढी मृत्यु हुने मुलुकहरूमा पर्छन् । उल्लिखित तथ्यांकमा श्रमस्वीकृति नलिई गएका, करार अवधि समाप्त भएका, अवैध रूपमा बसेका र अन्य भिसामा गएकाहरूको विवरण समावेश गरिएको छैन ।

बाढीले भारत पु¥याएका चार गैँडा निकुञ्जमा ल्याइयो, आज थप एक ल्याइने

चितवन, ८ भदौ । अविरल बर्षा पछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पु¥याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ । थप एक गैँडा भेटिएपछि ल्याउने प्रयास शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा पुगेको एउटा र वाल्मीकि टाइगर रिजर्भमा पुगेका तीन गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको हो । रिजर्भमा नै थप एउटा गैँडा भेटिएपछि बुधवार ल्याउने प्रयास गरिएको भए पनि असफल भएको अर्यालले बताउनुभयो । आज बिहानैबाट गैँडा नियन्त्रणको प्रयास शुरु गरिएको उहाँले बताउनुभयो । भारतीय अधिकारीहरु सँगको समन्वयमा डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाएर) गैँडा नेपाल ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती र गैँडालाई नियन्त्रणमा लिन रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ । अहिले नियन्त्रण गर्न लागिएको गैँडा वयस्क रहेको छ । लिङ्ग यकिन भइनसकेको भए पनि पोथी भएको अनुमान गरिएको अर्यालले बताउनुभयो । बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पु¥याएको छ । नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र वाल्मीकि आश्रममा एउटा गैँडा भेटिएका छन् । यी गैँडाहरु जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने उहाँले बताउनुभयो । हालसम्म पहिचान भएकामध्ये एउटा गैँडा मृत भेटिएको थियो । रासस

पोखराबाट ५ लाखसहित दश जुवाडे पक्राउ

पोखरा,भदौ ८ । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट रु चार लाख ७९ हजार ६३५ सहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद रानाभाटले संचालन गरेको शिशा होटल एण्ड रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पाँच बुक ताससहित पोखरा २७ का सइबहादुर दुरा, निराजन बराल, नवराज श्रेष्ठ, बुद्ध गुरुङ, निरज बराल, जीवनाथ ढकाल, राजकुमार गुरुङ र मादी गाउँपालिका–१२ का प्रकाश ढकाललाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

१० दिनभित्र बक्यौता नबुझाए विद्युत लाइन काट्न मन्त्रीको निर्देशन

काठमाडौं, भदौ ७ । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणलाई १० दिनभित्र बिजुलीको बक्यौता रकम उठाउन निर्देशन दिएका छन् । लामो समयसम्म महसुलको बक्यौता रकम नउठाउँदा प्राधिकरणले बर्सेनि घाटामा जानु परेको भन्दै तत्काल बक्यौता उठाउन उनले निर्देशन दिएका हुन् । ‘कुनै पनि संघसंस्था वा सरकारी कार्यालयले तिर्नुपर्ने रकम नतिरे लाइन काटिन्छ,’ शाहीले भने, ‘सिंहदरवार होस् या कुनै गाउँ, बस्यौता नतिर्नेको लाइन काटिन्छ ।’ मन्त्री शाहीले प्राधिकरणलाई पत्रमार्फत १० दिनभित्र सम्पूर्ण वक्यौता उठाइसक्न र त्यसो नगरे कारवाहीको भागिदार हुनुपर्ने निर्देशन दिएका छन्,नयाँ पत्रिकामा खबर छ ।

बक्यौता रकम उठाउन उर्जामन्त्रीको कडा निर्देशन

काठमाडौं, भदौं ६ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत महशुलको बक्यौता रकम उठाउन विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन । विद्युत प्राधिकरणलाई आर्थिक भार कम गर्न र बक्यौता नतिर्ने प्रवृतिको अन्त्य गर्न ऊर्जामन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन । ऊर्जा मन्त्रालयले आज नेपाल बिधुत प्राधिकरणलाई एक पत्र पठाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले पत्रमार्फत निश्चित समयसीमा तोकेर सुचना जारी गर्न र तोकीएको समय सीमा भित्र बक्यौता रकम बुझाउन आनाकानी गर्नेलाई आबश्यक कारबाही प्रक्रिया अगाडी बढाउनपनि निर्देशन दिएको छ ।

४ घण्टा बाढीमा बगेर पनि बाच्न सफल सानुमाया

बर्खाको बाढीमा चार घन्टा लगातार बगेर पनि जीवित रहनु असम्भव नै हो । बाढीले झन्डै १० किलोमिटर टाढासम्म बगाउँदा साहस र संयोगले साथ दियो, त्यसैले बाँचिन् सानुमाया राई । तर, त्यही घटना उनका दिदी–भिनाजुका लागि दुर्भाग्य बन्यो । दिदीको शव भेटिएको छ भने भिनाजु अझै बेपत्ता छन् । इटहरी गैरीगाउँकी सानुमायालाई इटहरीकै जनता बस्तीस्थित दिदीको घरमा मध्यरातमा सुतिरेहकै वेला बाढीले बगाएको थियो । सानुमाया छुट्टीका वेलामा दिदीको घर जान्थिन् । यसपालि पनि दिदीका तीन वर्षीय छोरा निमेशको शनिबार बर्थ डे मनाउने भनेर अघिल्लै दिन दिदीको घर पुगेकी थिइन् । अर्को दिन ‘बर्थ डे’ मनाउने तयारी गरेर राति ११ बजे उनीहरू सुतेका थिए । रातको १२ बजे सुसाउँदै खोला आयो । बाढी आइरहेकाले बाहिर मान्छेहरू चिच्याइरहेका थिए । तर, आफूहरू सुरक्षित रहनेमा सानुमाया ढुक्क थिइन् । टिनको छानो र इँटाको गारो भएकाले घर दरिलै छ भन्ने उनको सोचाइ थियो । बाढी घरमा पसेको सबैभन्दा पहिले आफूले नै थाहा पाएको उनले बताइन् । थाहा पाउन्जेल बाढी घरको माथि–माथिसम्म पुगिसकेको थियो । हेर्दाहेर्दै बाढीले घरको गारो भत्कायो । उनीहरू अत्तालिए । बचाउ–बचाउ भन्दै गुहार मागे । तर, कसैले सुनेनन् । टोल सुनसान थियो । कसले सहयोग गर्नू ? बाढीले उनीहरूलाई बगाउँदै लग्यो । बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । अब बाँचिन्छजस्तो भएको थियो, त्यसैले रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा चढेर बाँच्न सफल भएको जानकारी दिएकी थिइन् । तर, त्यही रूखले पनि बाढीको वेग थाम्न सकेन र केहीबेरमै ढल्यो । अब बाढीले रूखसँगै सानुमायालाई पनि बगाउन थाल्यो । सानुमायालाई पौडी खेल्न आउँदैन । तर, बाढीमा फसेपछि रूखका हाँगाबिँगा समाउँदै उनले पौडने कोसिस गरिन् । ‘मलाई बाँच्न लेखेको रहेछ,’ सानुमायाले भनिन्, ‘जे–जे भेटेँ, समात्दै हातखुट्टा चलाउँदै गएँ ।’ उनलाई बाढीले ठुल्ठूलो झड्काका साथ बगाएको थियो । बाढीमा आएका मुढा पटक–पटक उनको खुट्टामा नराम्रोसँग ठोक्किए । तैपनि, त्यस्तै मुढाको भरमा उनले आफूलाई किनारसम्म पुर्याउन सकिन् । सानुमायालाई शनिबार बिहान साढे पाँच बजे हात्तीमुडाको खोलामा दाउरा टिप्न आएका स्थानीय बिरुऋषि देवले उद्धार गरेका थिए । यतिन्जेलसम्म उनी १० किलोमिटर तल पुगकी थिइन् । ‘मेरा आँखामा बालुवा परेर हेर्न सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘आफू कहाँ छु भन्ने पनि थाहा पाइनँ । मान्छेहरू बोलेको सुनेँ, मलाई कसैले बचाउन लागेको छ भन्ने लाग्यो । त्यसैले थप गुहार पनि माग्न खोजेँ, तर मुखमा माटो र बालुवा भरिएकाले बोल्न सकिनँ ।’ उद्धारपछि दुहबीको सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । भित्री चोट नदेखिएकाले उपचारपछि उनी घर फर्केकी छिन् । डाक्टरले उनलाई एक महिनाको औषधि दिएका छन् । त्यति लामो समयसम्म बाढीमा बग्दासमेत आफूलाई मर्छुजस्तो नलागेको उनी बताउँछिन् । दुईपटक भुमरीमा पर्दाचाहिँ निकै डर लागेको उनले सुनाइन् । ‘धन्न बाँचेँ’, उनले भनिन्, ‘नयाँ जीवन पाएकी छु । भगवान्ले हात थापिदिए ।’ आत्मविश्वासले आफूलाई बचाएको बताउने उनी इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत छिन् । उनकी दिदीकी छोरी कमला पनि रातभरि रूखमा चढेर बाँचिन् । कमलाका आमा (सानुमायाकी दिदी) आशादेवीको शब विराटनगरमा भेटियो । कमलाका बाबु राजकुमार र भाइ निमेष अझै बेपत्ता छन् । नयाँ पत्रिकाबाट  

शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउनुस् : आयोग

काठमाडौं भदौ २। निर्वाचन आयोगले प्रदेश नं २ अन्तर्गतका आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन अवधिमा शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउन गृह मन्त्रालयलाई भनेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले निर्वाचनका समयमा कुनै विष्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । अनुमति प्राप्त व्यक्तिका नाममा रहेको बन्दूक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउन तथा निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र बिक्री वितरण कार्यमा पूर्ण बन्देज गर्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई भनेको छ । आयोगले निर्वाचन बिथोल्न सक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिलाई केही सार्वजनिक (अपराध र सजाय) ऐनबमोजिम प्रहरी निगरानीमा राखी आवश्यकतानुसार नियन्त्रण गर्न पनि सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुवै मिर्गाैला फेल भएकी मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

उर्लाबारी (मोरङ), २ भदौ । दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया मञ्जु धिमाललाई उर्लाबारी परिवार, हङकङले रु दुई लाख ८१ हजार आर्थिक सहयोग गरेको छ । धिमालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले हङकङमा रहेका नेपालीले संकलन गरेको सो रकम बिहीबार बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । उर्लाबारी परिवार हङकङका अध्यक्ष विकास लिम्बूले उक्त रकम मञ्जुकी आमा हेलेन धिमाललाई हस्तान्तरण गर्नुभयो । हङकङमा उर्लाबारी हङकङ परिवारका अध्यक्ष लिम्बूसहित सुष्मा वाइवा, लिलम भुजेल, प्रेमरोज राई, जितेन चोङबाङलगायतले त्यहाँ रहेका नेपालीसँग आर्थिक सहयोग संकलन गर्नुभएको थियो । हालसम्म विभिन्न संघसंस्था तथा सहयोगीदाताबाट धिमालको उपचारका लागि रु नौ लाखभन्दा बढी सहयोग जुटेको र बिरामीको उपचारमा सहजता हुँदै गएको मञ्जु धिमाल बचाऊ अभियानका सदस्य एवं सञ्चार क्लब उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो । छ महिनाअघि श्रीमान्को मृत्यु भएपछि दैनिक गुजारा गर्नसमेत सकस परिरहेकै अवस्थामा मिर्गाैलामा खराबी देखिएपछि मञ्जुमाथि थप पीडा थपिएको छ । दुई सन्तानकी आमासमेत रहेकी मञ्जुलाई उपचार खर्च जुटाउन र लालाबालाको पालनपोषण गर्न यतिबेला धौधौ परेको छ । उनको मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचार भइरहेको छ । रासस

त्रिभुवन विश्वविद्यालयमा पञ्चायतदेखिकै बेरुजु उठन बाँकी

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फस्र्योट नहुँदा आर्थिक वर्ष ०७३-७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकमा राखेर यस्ता काममा सक्रिय हुने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बेरुजु फर्स्योट गर्ने कर्मचारीलाई प्रोत्साहन गरी आर्थिक एकाइलाई कारोबार रकमका आधारमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ । त्रिविले बेरुजु फर्स्योटलाई प्राथमिकता दिए पनि आव ०७३/७४ सम्मको बेरुजुको रकम ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुगेको हो । रजिस्ट्रार उप्रेतीका अनुसार त्रिविमा सैद्धान्तिक बेरुजु धेरै रहेको बताए । त्रिविका आंगिक क्याम्पसले पहिले बजेटमा नराखेर पछि खर्च गरेको र पछि केन्द्रबाट अनुमोदनसमेत नगरेकाले बेरुजुको आकार ठूलो भएको हो । आन्तरिक कार्यक्रमलगायतमा सैद्धान्तिक बेरुजु आंगिक क्याम्पसका अधिकांश रहेको छ । पञ्चायतदेखिको बेरुजु त्रिविमा पञ्चायतकालदेखिको बेरुजु रहेको त्रिविका आर्थिक प्रमुख कुमार हुमागाईंले बताए । पञ्चायतकालमा अध्ययन संस्थानहरूले विभिन्न प्रोजेक्ट ल्याएर काम गरेको, तर त्यसको रेकर्डसमेत पाउन कठिन भएको उनले बताए । पञ्चायतकालमा विद्यार्थीलाई खुवाउने गरेको खानाको विषयमा समेत बेरुजु देखिएको छ । हुमागाईंले यो आर्थिक वर्षमा बेरुजु फस्र्योटको वर्षका रूपमा मनाउने बताए । ‘कसरी हुन्छ हामी बेरुजु फर्स्योट गर्ने तयारीमा छौँ,’ उनले भने । अधिकांश बेरुजु सैद्धान्तिक रहेको, केही असुलउपर गर्नुपर्ने र केही पेस्की लगेको रकममा बेरुजु रहेको हुमागाईंको भनाइ छ । त्रिविले इकाइगत बेरुजु फर्स्योटलाई समेत अघि बढाएको छ ।

टिकट वितरणमा विवाद, एमाले बैठकमै कुटाकुट

जनकपुर, साउन २८ । टिकट वितरणको विषयलाई लिएर नेकपा एमाले धनुषाको बैठकमै कुटाकुट भएको छ । जनकपुर उपमहानगरपालिकाको प्रमुख पदका लागि टिकटको टुंगो लगाउन बसेको बैठकमा एमालेभित्रका दुई समूहबीच कुटाकुट नै भएको भएको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । उक्त पत्रकार सम्मेलनमा नेकपा एमाले लेखा समिति धनुषाका अध्यक्ष सहदेव मुखियाले एमालेका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज श्रीप्रसाद साहले बाहिरका मान्छे लगाएर आफूहरुलाई कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उनले नेकपा एमाले धनुषाको इन्चार्ज श्रीप्रसाद साहले गुट–उपगुट चलाएको तथा आफ्नै श्रीमती पिंकी साहलाई जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । २५ साउन बिहीबार राती जनकपुरस्थित सीता प्यालेस आयोजना गरिएको उम्मेदवार छनोट बैठकको क्रममा दुई पक्षबीच कुटाकुट भएको थियो, ततपश्चात बैठक स्थगित भएको थियो । पार्टीको हितविपरीत हेकमवादी प्रवृत्तिले काम गर्न खोजी रहेका भन्दै रघुवीर महासेठ पक्षधरहरुले साहको राजीनामाको माग गरेका छन् । लामो समयदेखि पार्टीमा लगानी भएका व्यक्तिहरुलाई पाखा लगाएर आर्थिक प्रलोभनमा परी दीपु यादवलाई टिकट दिन लागेको भन्दै बिहीबार बसेको नगर कमिटीको बैठकमा विवाद भएको थियो । जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको लागि पाँचजना आकांक्षी उम्मेदवार देखिएका छन् । जिल्ला समिति सदस्यहरु लक्ष्मी नारायण भगत, श्याम पूर्वे, अमरनाथ गुप्ता, दीपु यादव र शुद्धोधन यादव लगायतका छन्।

सगरमाथा चढेको दावी झुठो भएपछि भारतीय दम्पती प्रहरी सेवाबाट बर्खास्त

एजेन्सी, साउन २४ । सर्वोच्च शिखर सगरमाथा चढेको भनी सार्वजनिक गरिएका तस्वीर झुठो प्रमाणित भएपछि एक भारतीय जोडीलाई भारतीय प्रहरीले सेवाबाट बर्खास्त गरेको छ । गएको वर्ष दिनेश र तारकेश्वरी राठौड नाम गरेका एक भारतीय जोडीले सगरमाथा चढेर सार्वजनिक गरेका तस्बीरहरु झुठो भएको भन्दै भारतीय प्रहरीले ती जोडीलाई आफ्नो सेवाबाट बर्खास्त गरेको छ। उनीहरुले गरेको दावीमा आशंका भएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त जोडीले सार्वजनिक गरेका तस्वीरहरु जोडजाड गरेर बनाएको निष्कर्ष निकालेको बीबीसीले जनाएको छ। दिनेश र तारकेश्वरी राठौडले सगरमाथाको सफल अरोहण गरेर सगरमाथा चढ्ने भारतको पहिलो जोडी बनेको दावी गरेका थिए। तर उनीहरुसँगै आरोहण गर्ने व्यक्तिहरुले ती जोडीले सगरमाथाको सफल अरोहण गरेको बारेमा प्रश्न उठाएपछि आशंका बढेको थियो। छानबिन गर्दा उनीहरुले आरोहण गर्दा लगाएको कपडा, जुत्ता र तस्वीरमा देखिएको कपडा फरक भएको पाईएको थियो।

सडक दुर्घटनामा घिमिरेको मृत्यु

काठमाडौँ, २४ साउन । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । रासस

राष्ट्रपतिद्वारा समवेदना प्रकट

काठमाडौं, साउन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटको गरुडा नगरपालिका क्षेत्रमा सडक निर्माणका क्रममा बनेको खाडलमा परी चार बालिकाको मृत्यु भएका शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन । भोजपुर जिल्लामा तीन बालबालिका पानीमा डुबेर मृत्यु भएको र अबोध बालकको अपहरणजस्ता घटना भएका सन्दर्भमा बालबालिकाको यथोचित सुरक्षाको प्रत्याभूति गर्न सरकार र सरोकारवाला सबै निकाय गम्भीर र सचेत हुन पनि राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्ति भनिएको छ ।