फेवातालकाे १६ सय ९२ रोपनी व्यक्तिका नाममा

कास्की , साउन २० ।  फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ ।

फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो ।

 समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ ।त्यसमध्ये ७ सय जनाको जमिन संरक्षणा क्षेत्रभित्र पर्ने समितिको तत्कालीन संयोजक लामिछानेले बताए ।

व्यक्तिका नाममा दर्ता भएको यो जमिन खारेज गर्न समितिले ०६९ जेठमा सरकारलार्इ सिफारिस गरे पनि चार वर्ष बितसक्दा पनि कार्यान्वयन हुन नसकेको लामिछानेको भनाइ छ ।, नागरिक मा खबर छ ।

राजपालाई चुनावमा जान पार्टीभित्रैकाे दबाब थेगिनसक्नु !

काठमाडाैं ,साउन १९ ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई पार्टीभित्रै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन दबाब परेको छ । बबरमहलस्थित वन कार्यालयमा स्थापना गरिएको नयाँ पार्टी कार्यालयमा बुधबारदेखि सुरु भएको पदाधिकारी बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान संशोधनको परिणाम स्वीकार गरी चुनावमा जान दबाब दिएका छन् । अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबारदेखि प्रारम्भ भएको बैठकमा सहभागी १२ जना पदाधिकारीमध्ये अधिकांशले ०७२ असोज ३ मा जारी संविधानका पक्षमा ९० प्रतिशत सांसद रहेको दाबी गर्नेहरूविरुद्ध संशोधनका पक्षमा सके दुईतिहाइ अन्यथा बढीभन्दा बढी प्रतिशत मत ल्याई संविधान सर्र्वसम्मत नरहेको प्रमाणित गर्ने हिम्मत गर्न माग गरेका थिए । संशोधनको खेलमा जाँदा परिणाम स्विकार्न नसक्ने नेतृत्वको आलोचना गर्दै केही पदाधिकारीले भनेका थिए, ‘खेल खेल्न जाने तर नियम स्वीकार गर्दिनँ भन्ने नेतृत्वले मधेस र मधेसीको माग सम्बोधन गर्ने र राजपालाई बचाउने सम्भावना देखिँदैन ।’ ‘संशोधनको पक्षमा सके दुईतिहाइ, नसके बढीभन्दा बढी मत ल्याउनुको अर्थ सत्ता समीकरणमा गम्भीर र निर्णायक प्रभाव पार्न सक्नु हो’, उनीहरूले जोड दिएका थिए, अन्नपूर्णमा खबर छ । ‘राजपा संशोधनको खेलमा जानै पर्छ । खेलमा गएपछि त्यसको परिणाम जे भए पनि स्विकार्नै पर्छ’, उनीहरूको नेतृत्वलाई दबाब थियो । ती सदस्यहरूले एकै पटक शतप्रतिशत माग पूरा भएको इतिहासमा कहीँ-कतै नभएको स्मरण गराउँदै अध्यक्ष ठाकुरसहितका पदाधिकारीलाई चुनौती दिएका थिए । ‘जिम्मेवार नेतृत्वको कर्तव्य निकासविहीन आन्दोलनमा मुलुकलाई अल्झाउनु होइन । समग्र समस्याबाट अल्झेको मुलुकलाई निकास दिँदै अघि बढाउनु हो’, उनीहरूको सुझाव थियो । संशोधन नभएसम्म चुनाव बहिष्कार भन्ने नीतिलाई कहिलेसम्म लैजाने प्रश्न गर्दै उनीहरूले अध्यक्ष मण्डलसँग जवाफ मागेका थिए । असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनमा पार्टी निर्णयविरुद्ध प्रदेश नं. १, ५ र ७ मा उम्मेदवारी दिनेविरुद्ध कारबाही गर्न नसक्ने, नेतृत्व तहकै नेताबाट पूर्व र पश्चिमी भेलाद्वारा शीर्ष नेतृत्वका आलोचना गर्दै राजपलाई कमजोर बनाउन गरिएको षड्यन्त्रकारीविरुद्ध किन कारबाही नगरिएको भन्दै अविलम्ब कारबाही माग गरेका थिए । पदाधिकारी बैठकमा राजपाका महासचिव केशव झाले प्रदेश नं. २ का आठ जिल्लाका १२७ स्थानीय तहमा ६ हजार पाँच सय ७८ जनप्रतिनिधि निर्वाचित हुने अवस्थामा राजपा चुनावबाट भाग्न नमिल्ने तर्क गर्दै प्रदेश नं. २ को चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्न सुझाव दिएका थिए । निर्वाचित प्रतिनिधिले अदालत, प्रमुख जिल्ला अधिकारी, २५ प्रतिशतभन्दा बढी सिंहदरबारको अधिकार पाउने अवस्था रहेको औंल्याउँदै निर्वाचन बहिष्कारको अर्थ नरहनेमा झाको जोड थियो । ‘आमकार्यकर्ता र मधेसी मतदाता निर्वाचनमय भएको अवस्थामा चुनाव बहिष्कार गर्नु भनेको अन्य दलमा कार्यकर्तालाई प्रवेश गर्न निर्देशन दिनुभन्दा अरू केही होइन । यो बैठकले चुनावमा सहभागिताको निर्णय गर्नुपर्छ’ बैठकसमक्ष उनको माग थियो । सांसद जंगीलाल रायले आफ्नो जिल्ला सर्लाहीमा मात्र राजपाले १७ मध्ये ११ वटा स्थानीय निकाय जित्ने दाबी गर्र्दै त्यस्तै स्थिति अन्य जिल्लामा समेत रहेको जिकिर गरेका थिए । उनले भने, ‘प्रदेश नं. २ को चुनावमा सहभागी होऔं, पार्टीलाई कार्यकर्ता र मतदाताबीच बचाऔं ।’ हामी चुनावमा नजाने चुनावका लागि कार्यकर्ता पार्टी छाड्दै जाने स्थितिमा आगामी आन्दोलन राजपाले कसको बलबुँतामा गर्ने भन्ने प्रश्न उनले राखेका थिए ।बैठकमा अनिलकुमार सिन्हाले बहुर्राष्ट्रिय राज्यको माग राख्दै मधेस प्रदेशका लागि लड्न प्रस्ताव गरेको जानकारी स्रोतले दिएको छ । सिंहदरबारले युगौंयुगदेखि खोसेको अधिकार मधेस र मधेसीबीच लग्न मधेस प्रदेशको मागसहितको आन्दोलनको विकल्प नरहेकोमा उनको जोड थियो । बैठकमा अर्का सहभागी कौशलेन्द्र मि श्रले संविधान संशोधन नभएसम्म स्थानीयलगायत कुनै पनि चुनावमा सहभागी हुनुको अर्थ नहुने तर्क गरेका थिए। बैठकमा सन्तोषकुमार मेहता, सुरेन्द्र पटेल, रामआशिस गुप्ता, रितेशकुमार सिंह रंगीलाल लोढलगायतले बोलेका थिए । पदाधिकारी बैठकको प्रारम्भमा राजपा अध्यक्ष ठाकुरले संक्षिप्त धारणा राख्दै संविधान संशोधन दुईतिहाइ मतले पारित नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने पार्टी अडान यथावत् रहेको बताएका थिए ।

छिटै बाटाे बनाउनुस् !

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नारायणघाट–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन निरीक्षणपछि सडक निर्माण चाँडो सक्न निर्देशन दिँदै । तस्बिर : रोशन सापकोटा, चितवन

‘हेलो सरकार’ अब सरकारी ‘कल सेन्टर’

काठमाडौं ,साउन १८ ।  जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो । गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन ‘कलसेन्टर’ ल्याउन थालिएको ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी गराए । कलसेन्टरबाट सर्वसाधारणले आफ्नो गुनासाको प्रत्यक्ष समाधान हुनेछ । कल सेन्टर स्थापना भएपछि हेलो सरकारका कर्मचारीले जनताका गुनासा फोनमार्फत टिपिरहनु पर्ने झन्झट पनि हराउनेछ । यसका लागि हेलो सरकारले ‘अमीयो’ नामक नयाँ सफ्टवेयर ल्याएर कलसेन्टरको शुरुवात गर्न थालेको हो । हेलो सरकारका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले कलसेन्टरमा आएका सर्वसाधारणको गुनासो सिधै सम्बन्धित अधिकारीलाई जान्छ र ती अधिकारीले गुनासोलाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्ने बताए। हेलो सरकारले सबै निकायका सम्बन्धित अधिकारीको मोबाइल नम्बरमा ती गुनासो सिधै कलसेन्टरमार्फत पुर्याउने गर्दछ र पुगेका गुनासोलाई सम्बन्धित अधिकारीले तत्काल सम्बोधन गर्ने व्यवस्था कलसेन्टरमा राखिएको छ । यसरी कलसेन्टरमार्फत प्रधानमन्त्री, मन्त्री, सचिवको मोबाइल नम्बरमा समेत गुनासो पुग्ने गर्दछ र उनीहरुले पनि तत्कालै गुनासोलाई सम्बोधन गर्नुपर्दछ । “सर्वसाधारणका गुनासा कलसेन्टरमा आउँछन् र हामीले कुन निकायको गुनासो हो । त्यो निकायका आधिकारिक व्यक्तिलाई तत्कालै फोनबाट आएका गुनासा  कलसेन्टरमार्फत फरवार्ड गरेर पुर्याउछौँ” उनले भने ,– “ती गुनासोलाई सम्बन्धित अधिकारीले तुरुन्तै समस्या समाधान गर्नुपर्दछ ।” यदि प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी निकायका अधिकारी व्यस्त भए उनको मोबाइलमा कलसेन्टरमार्फत सर्वसाधारणको गुनासो ‘रेकर्ड भ्वाइस’ पठाइन्छ र व्यस्ततापछि उनीहरुले ‘रेकर्ड भ्वाइस’ सुनी समस्या सम्बोधन गर्नेछन् । यसरी पछि पठाइएको गुनासोको सम्बोधन गुनासो गर्ने व्यक्तिको मोबाइल नम्बरमा जान्छ र उनीहरुले आफ्नो गुनासोको सम्बोधन सुन्नेछन् । सूचना प्रविधि निर्देशक रेग्मीले अहिले कलसेन्टर परीक्षणका क्रममा रहेको बताए । “अहिले सवैको मोबाइल नम्बर लिएर परीक्षण गर्ने तयारीमा रहेका छौँ” उनले भने,– “अबको एक डेढ महिनापछि हामी पूर्णरुपमा कलसेन्टरमार्फत जनताका गुनासो सम्बोधन गर्नेछाँै ।” यसैगरी, कलसेन्टरबाट नै हेलो सरकारले राष्ट्रपति र प्रधानमन्त्रीका राष्ट्रका नाममा सम्बोधन भएको पनि प्रत्यक्षरुपमा सर्वसाधारणको मोबाइलमा सुन्न सकिने व्यवस्था पनि गर्ने तयारी गरेको छ । “अहिले हामीले गुनासो गर्ने सबैको नम्बर टिपिरहेका छौँ” रेग्मीले भने– “ती नम्बरमा राष्ट्रपति र प्रधानमन्त्रीले गरेका सम्बोधन तुरुन्तै पठाएर प्रत्यक्षरुपमा उनीहरुले सुन्न सक्नेछन् ।” ती सर्वसाधारणले प्रत्यक्ष सम्बोधन सुनेको मोबाइलमा पैसा तिर्नुपदैन । हेलो सरकारले अहिले पाँच विकास क्षेत्रमा नै यसको शुरुवात गर्ने योजना बनाएको छ । २०६८ कात्तिक १९ गतेदेखि शुरु भएको हेलो सरकारमा अहिलेसम्म ६४ हजार २५० गुनासामध्ये ५६ हजार ७५९ गुनासो फछ्र्योट भएका छन् । रासस

भरतपुर–१९ मा साउन २० गते पुनः मतदान हुने

चितवन, साउन १७ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा आगामी शुक्रबार (साउन २० गते) मतदान हुने भएको छ ।मंगलबार भरतपुरमा बसेको सर्वपक्षीय बैठकले साउन २० गते चुनाव गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले आइतबार पुन निर्वाचन गराउन आदेश दिएपछि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको मिति तोक्न सोमबार चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार चितवनका मुख्य निर्वाचन अधिकृत न्यौपानलेले मंगलबार सर्वपक्षीय बैठक आह्वान गरेर चुनावको मिति तोकेका हुन ।

प्रेमगीत २ मा अाेइरिए दर्शक, नायक नायिकालार्इ भीडबाट निस्किनै मुश्किल (भिडियाे)

काठमाडौं, साउन १४ । निकै प्रतिक्षित प्रेमगीत २ ले पहिलो दिन निकै सुखद प्रतिक्रिया पाएको छ । रिलिज भएकै दिन काठमाडौंका बिभिन्न हलमा चलचित्र हेर्न दर्शकहरुको ओइरो लागेको थियो । सन्तोष सेनको निर्माणमा रामशरठ पाठकले निर्देशन गरेको यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ । भिडियोमै हेरौँ  

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

पर्सा, साउन ६ । सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका भारत बिहार रक्सौलको जोखियाडी निवासी दीपक ठाकुर र वीरगन्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरीलाई सार्वजनिक गरेको हो । प्राप्त सूचनाको आधारमा बिहीबार बेलुका रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा चालक अनुमति पत्र बनाउन प्रयोग हुने सामग्री बरामद भएकाले अनुसन्धानका लागि दुबैजनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए । छानबिनका क्रममा दीपक र उमेशबाट विभिन्न व्यक्तिको लाइसेन्स चार थान, होलो ग्राम स्टिकर ६ थान, विभिन्न व्यक्तिको फोटो ३८ थान, राजश्व तिरेको रसिद पाँच थान, तयार भएको नक्कली लाइसेन्स एक थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकोपि चार थान लगायतका सामग्री बरामद भएको उपरीक्षक गिरीले बताए । पक्राउ परेका दीपक सरकारी कागज तथा छाप किर्ते मुद्दामा २०६६÷६७मा पक्रउ परी एक वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् । पक्राउ परेका दुबैअभियुक्तका सम्बन्धमा अनुसन्धन भइरहेको र तीनलाई सरकारी कागज किर्ते सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरुले वीरगन्जस्थित नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा लेखापढी व्यवसायीको काम गर्दै आएका थिए । रासस

अब यूकेमा “धनपति”

साउन ६ । नेपालमा दोस्रो हप्तामा प्रदर्शन भैरहेको नेपाल फिलिम “धनपति” अब विदेशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुने भएको छ । नेपाल रिलिज अगाडि अमरिकामा प्रदर्शन गरिएको फिल्म “धनपति”ले नेपालबाट प्रदर्शनको दुईदिनमा करोड विजनेश गरेको खबर बाहिर आएको थियो । नेपालमा निकै रुचाइएको फिल्म “धनपति” अब यूकेका विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ । यूकेमा सबै शहरहरुमा प्रदर्शन गर्ने अनुमती पाएको ३२ बक्सका एलबिजेट गुरुङका अनुसार, फोल्कस्टोनस्थित टावर थ्रिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लन्डन सफारी सिनेमा हलमा २०१७ अगस्ट १९ मा फिल्म “धनपति” रिलिज हुनेछ । अल यूके फिल्म “धनपति” प्रदर्शन गर्न ३२ बक्सलाई जी नाइनले सहयोग गरेको छ । “पशुपतिप्रसाद”को सफलतापछि टुकी आर्ट्स प्रालिले दीपेन्द्र के. खनालको निर्देशनमा यो फिल्म निर्माण गरेको हो । खगेन्द्र लामिछानेको लेखन रहेको फिल्मको प्रमुख भूमिकामा पनि लामिछाने नै देखिएका छन् । खगेन्द्र लामिछाने बाहेक फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । “धनपति” को सहायक निर्माता ओम गुरुङ, सह–निर्माता रजना नापित, समिर देवकोटा रहेका छन् । निर्माता भने रोजिना सिटौला रहेकी छन् ।

भारतीय प्रहरीको हिरासतमै नेपालीको ‘हत्या’

काठमाडौं ,साउन ६ ।  भारतीय प्रहरीको हिरासतमै नेपालीको ‘हत्या’ भएकाे छ । प्रहरी हिरासतमै नेपाली युवकको मृत्यु भएपछि भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा हिंसा भडि्कएको छ । दुई महिनाअघि सिमला नजिकैको कोथ्काईमा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा स्थानीय प्रहरीले गम्भीर त्रुटी गरेको देखिएपछि राज्यको प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले बन्द आहृवान गरेको छ ।प्रदर्शनका कारण शहरको सबै पसलका साथै स्कुल र कार्यालयहरु समेत बन्द गरिएको छ । यो प्रदर्शन सामूहिक बलात्कारपछि १० वर्षीया बालिकाको हत्यासँग पनि जोडिएको छ बलात्कार घटनाको छानविनका क्रममा प्रहरीले दुई नेपालीसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये नेपाली नागरिक सुरज कुमारको बुधबार शंकास्पद मृत्यु भएको छ । बलात्कार घटनाका मुख्य अभियुक्त मानिएका राजेन्द्र सिंहले जेलमै सुरजको टाउको भूईमा ठोक्कएर हत्या गरेको स्थानीयको दाबी छ । सुरजको हत्या भएको खबर सार्वजनिक भएलगतै आक्रोसित स्थानीयले कोथाई भन्ने स्थानमा पुलिस स्टेशनमा प्रवेश गरेर प्रहरीमाथि नै हातपातको प्रयास गरेका छन् । बलात्कार घटनाका मुख्य अभियुक्त राजेन्द्र धनाड्य परिवारका भएकाले प्रहरीले राम्रो अनुसन्धान नगरेको स्थानीयको आरोप छ । बुधबार मात्र हिमाञ्चल प्रदेशको उच्च अदालतले यो विषय केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले हेर्न आदेश दिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार पक्राउ परेका दुबै नेपाली कामदार हुन् । उनीहरुलाई दोषी देखाएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बीजेपीको दाबी छ ।

‘जोवन ढल्काउने’ समाचारले माओवादीमा बबाल, आरोप प्रत्यारोपको बाढी

काठमाडौं, साउन ७ । नेकपा माओवादी केन्द्रका केही नेताहरुका बारेमा प्रकाशित समाचारले पार्टीभित्र ठूलो हलचल मच्चाएको छ । पार्टीका जिल्ला इन्चार्जसहितले रिपोर्टिङ गर्ने सचिवालयको बिस्तारित बैठकमा अध्यक्ष प्रचण्डले ‘जोवन ढल्काउने गरी बसेर पार्टी र संगठन बन्दैन’ भन्ने अभिव्यक्तिमाथि प्रकाशित समाचारलाई लिएर विवाद शुरु भएको हो । एक समाचार अनलाईनमा पार्टीका १२ जना नेताको नाम उल्लेख सहित ‘माखो नमार्ने र पार्टी सिध्याउने’ आरोप लगाउँदै समाचार प्रकाशन भएपछि यसले पार्टीभित्र आरोप प्रत्यारोप शुरु भएको हो । निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्ने विषयमा गत सोमबारदेखि चलिरहेको माओवादी सचिवालयको विस्तारित बैठकमा नेताहरुका विषयमा समाचार प्रकाशन भएपछि केही नेताहरुले अध्यक्ष प्रचण्डलाई नै निशाना बनाउँदै सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषयमा झनै विवाद बढेको छ । बैठकको उद्घाटन मन्तव्यका क्रममा प्रचण्डले पार्टीभित्र गुटैगुट देखिएकोमा बताउँदै गुटहरुको विघटन गरी जनताको पार्टी बनाउन आव्हान गरेका थिए । प्रचण्डले पार्टी जनतासम्म जान नसकेको बरु गुटहरु मौलाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर अनलाइनले केही नेताहरुको नाम उल्लेख गर्दै “को को हुन प्रचण्डले भनेका जोवन ढल्काउने माओवादी नेता, १२ नेताको रामकहानी’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । यद्यपी प्रचण्डले भने कुनै नेतालाई लक्षित नगरी पार्टीभित्रको प्रवृत्तिको आलोचना गरेका थिए । पार्टी र जनताबीचको सम्बन्ध टुटेको अवस्थामा समूह र गुट बनाएर नहुने बरु सबै नेता युद्दकालको जस्तो सक्रिय भएर जनतामाझ जानुपर्ने उनको आशय थियो । बैठक चलिरहेकै बेला एक अन्य अनलाईनमा समेत “माओवादीभित्र गुट चलाएर पार्टीलाई विघटनको खतरामा पु¥याउने को को हुन ?” भन्ने शीर्षकमा अर्को समाचार समेत प्रकाशन भएको थियो । उक्त समाचारमा समेत पार्टीका केही नेताहरुको नाम उल्लेख गरेर उनीहरुले गुट चलाएको उल्लेख गरिएको थियो । समाचार प्रकाशन भएपछि विगतमा पार्टीसँग असन्तुष्टि राखेर काभ्रेमा कालो धानको उत्पादनमा लागेका नेता लोकेन्द्र विष्टले उक्त समाचार प्रचण्डकै इशारामा लेखिएको आशयको स्टाटस आफ्नो फेसबुकमा लेखे । एकीकृत माओवादी र नेकपा माओवादीबीच एकतापछि संगठनमा सक्रिय देखिएका विष्टले ‘महाराज’ भन्ने शब्द उल्लेख गर्दै अध्यक्ष प्रचण्डलाई नै संकेत गरेर सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय तरंगित बनेको हो । नेता लोेकेन्द्र विष्टले सामाजिक सञ्जालमा “महाराज, यहाँकै वरिपरीबाट यहाँको र संस्थाको सारा कामकाज चौपट भइरहेछ÷हुने भो, अरुलाई दोष दिनु नर्क गएर आची तुरी हसुर्न नै हो” लेखेका थिए । लगत्तै माओवादी नेतृ सत्या पहाडीले समेत नेता शक्ति बस्नेतको समेत समाचारमा नाम उल्लेख भएपछि प्रतिक्रिया लेखिन । पहाडीले भने महाशय भनेर सम्बोधन गर्दै कर्णालीले सधैं केन्द्रको उपनिवेश नसहने आसयको अभिव्यक्ति सार्वजनिक गरेकी थिइन । विष्टले लगातार दुई अभिव्यक्ति सार्वजनिक गरेपछि प्रचण्ड सचिवालयले त्यसको खण्डन गरेको छ । सचिवालयका प्रेस संयोजक मनहरी तिमिल्सिनाले विष्टलाई लक्षित गर्दै प्रत्युत्तरमा लेखेका छन्– आफ्नो व्यक्तिगत आग्रह र द्वेषकै आधारमा ‘जोवान ढल्काउने १२ माओवादी नेता’ शीर्षकमा प्रकाशित समाचारबारे कसैमाथि अनुमानित र नियोजित आरोप लगाउनु शोभनीय हुँदैन। कसैका बारेमा कुनै कुरा भन्नू नै छ भने खुलेखाम छलफल गरिन्छ, त्यहाँ कुनै लिपापोती जरुरी छैन। सबैका गुण(दोष अवश्य छन्। तर, माओवादी आन्दोलनक, नेतृत्व र सम्पूर्ण नेताहरुप्रति हिजो पनि उच्च सम्मान थियो, आज पनि छ र भोलि पनि हुनेछ। तसर्थ, व्यक्तिगत आग्रग्रहका आधारमा कुनै एक नेताले लगाएको आरोपबाट भ्रमित नहुन सम्पूर्णमा अनुरोध छ। यो सँगै सामाजिक सञ्जालमा यो विषयमा चर्चा र टिप्पणीहरुको बाढी लागेको हो । सामाजिक सञ्जालमा ‘प्रचण्डले साँच्चिकै जनताको पार्टी बनाउन गुटहरु भत्काउन आव्हान गर्नु र लगत्तै सोही विषयमा केही नेताको नामसहित समाचार प्रकाशन हुनुलाई जोडेर पार्टी नेतृत्वमाथि नै आक्षेप लगाउन गलत भएको’ केहीले टिप्पणी गरेका छन् । कतिपयले भने पार्टीभित्र अराजकता मौलाएको र अराजकता रोक्न अध्यक्षले निष्क्रियतालाई चिनुपर्ने बताउँदा त्यसबाट तिल्मिलाउनु आवश्यक नभएको लेखेका छन् । केहीले पार्टीभित्र सबै नेताको यो वा त्योरुपमा कमजोरी भएपनि समाचारमा १२ जना नेताको मात्रै नाम उल्लेख गरिनु नियोजित भएको समेत टिप्पणी गरेका छन् । १२ जनामध्ये लोकेन्द्र विष्ट भने यसअघि पनि आलोचनामा पर्दै आएका नेता हुन । माओवादीका एकजना पोलिटब्यूरो सदस्य भने पार्टी अध्यक्षलाई नियोजित तरिकाले विवादमा ल्याउन उक्त समाचार र त्यसको बिरोध भइरहेको दावी गर्छन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, “अध्यक्षलाई एकलरुपमा कुनै व्यक्तिको बिरोध गर्नुपर्ने आवश्यकता छैन । उनले प्रवृत्ति लक्षित गरेका हुन । अध्यक्षलाई यसमा मुछिनु आफ्ना कमजोरी लुकाउनु मात्रै हो । हिजो बाबुराम, किरणहरुसँग त्यति ठूलो संघर्ष चल्दा त वहाँ व्यक्तिगत आलोचनामा उत्रिनु भएन, अहिले त झन..” प्रदेश नं. ७ बाट कार्यक्रममा भाग लिन आएका एकजना जिल्ला इन्चार्ज भने प्रचण्डले जोवन ढल्काउन गरेको कुरा तीतो यथार्थ भएको बताउँछन् । “त्यहाँ १२ जना मात्रै होइन, ५० जनाको नाम लेखिनुपथ्र्यो” उनी भन्छन्, “दोश्रो चरणको निर्वाचनमा भाषण गर्ने नेता नपाउनुको पीडा हामीले भोगेका छौं । कहाँ हराएका थिए त्यतिबेला अध्यक्षको आलोचना गर्ने यी नेता ?” आक्रोश पोख्दै उनले भने । सात नम्बर प्रदेशका केही पहाडी जिल्लामा लिलामणी पोखरेल मात्रै दुइचार दिनका लागि गएको उनले बताए । “केन्द्रमा पटकपटक सहयोगका लागि अनुरोध ग¥यौं, तर न सेती महाकालीमा कालो धान फलेन, न राता स्याउ नै ।” उनले नेता विष्टप्रति संकेत गर्दै भने, “जहिले पनि सुदूरपश्चिम या कर्णाली भनेर बार्गेनिङ गरेर हुन्छ ? हिजो टाउकोमा कफन बाँध्दा कर्णाली या सुदूर भने बाँधिएको थियो र ?” सामाजिक सञ्जालमा टिप्पणीहरुको ओइरोबीच केहीले सन्तुलित प्रतिक्रिया समेत दिएका छन् । पार्टीभित्रका समस्या पार्टीभित्रै समाधान हुनुपर्ने र फरक विचार भए पनि अन्तर्पार्टी जनवादको अभ्यास गरिनुपर्नेमा सार्वजनिक आरोप प्रत्यारोपले पार्टीलाई हानी हुने आशयका टिप्पणीहरु समेत देखिन्छन् । कतिपयले यसप्रकारका समाचार प्रकाशन हुने अवस्थाको अन्त्य गर्न समेत गुटहरु भत्किएर सबै नेता सक्रियरुपमा पार्टी निर्माणमा लाग्नुपर्ने सुझाव दिएका छन् । एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “यस्तो समाचार आउने अवस्था तपाई हामीले नै सिर्जना गरेको होइन र ? एमालेलाई हेर्नुस्त, कुन चैं नेताले अर्को नेताको यसरी बिरोध गरेका छन् ? सिक्नुपर्दैन ? फेसबुक छ भन्दैमा मुख आयो लेख्दिने ?” पार्टीभित्रको यो बहस अहिले बैठकमा समेत प्रवेश गरेको छ । पार्टीका शीर्ष नेताहरुले भने यसप्रकारको बहस अनावश्यक भएको बताएका छन् । केही दिन पार्टी प्रवक्ता पम्फा भुसालबारे समाचार प्रकाशित हुनु र अहिले जोवन ढल्काउने विषयमा समाचार र त्यसमाथि नेताहरुले सार्वजनिक गरिरहेका अभिव्यक्ति अराजकताको पराकाष्ठा भएको उनीहरुको ठहर छ ।

भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा,

साउन ६ । भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति इंग्ल्याण्डको डर्बीमा भएको खेलमा भारतीय महिला टिमले अस्ट्रेलियाको महिला टिमलाई ३६ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रन बनायो । उसका लागि एजे ब्ल्याकवेलले ९० तथा इजे भिल्लानीले ७५ रनको योगदान दिएपनि हार टार्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको भारतीय महिला टिमले निर्धारित ४२ ओभरमा ४ विकेटको क्षतिमा दुई सय ८१ रन बनायो । भारतको जितमा हिरो बनिन् हरमनप्रित कौर । उनले एक सय १५ बलमा नटआउट एक सय ७१ रन बनाइन् । यसक्रममा उनले ७ छक्का र २० चौका प्रहार गरिन् । फाइनलमा अब भारतले आइतबार लर्ड्समा इंग्ल्याण्डसँग खेल्नेछ ।

दार्जिलिङ आन्दोलन अब दिल्ली केन्द्रित, बन्द हड्ताल कायमै

काठमाडौं, साउन ४ । गार्खाल्याण्ड राज्यको माग गर्दै दार्जिलिङमा जारी आन्दोलन अब दिल्ली केन्द्रित गरिने भएको छ । तर, पहाडको बन्द हड्ताल भने कायमै रहनेछ । मंगलबार कालेम्बुङ्गमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटीको बैंठकले दार्जिलिङ आन्दोलनलाई जारी राख्दै केन्द्रिय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको छ । १५ दल र आन्दोलनलाई समर्थन गर्ने बुद्धिजीवीहरुको सहभागिता रहेको बैंठकले कमिटीले दिल्लीमै धर्ना, अनशन, सेमिनार गर्नुका साथै सरकारका मन्त्रीहरुलाई भेटेर गोर्खाल्याण्डको पक्षमा लबिङ्ग गर्ने निर्णय गरेको छ । बैंठकले आन्दोलनलाई थप सशक्त बनाउनका लागि दुई वटा समिति बनाउने निर्णय गरेको छ । एउटा समितिले सिक्किमसँग सहयोगका लागि लबिङ गर्ने र अर्को समितिले पश्चिम बंगाल सरकारलाई भेटेर दबाव दिने र पहाडमा गरिएको खाद्यान्न नाकाबन्दी हटाउन माग गर्ने छ । आन्दोलनलाई मार्ग दर्शन गर्ने एक उच्चस्तरीय बुद्धिजीवीहरुको समिति पनि बनाउने कमिटिले निर्णय गरेको छ । दार्जिलिङलगायत पहाडमा भइरहेको आम हड्ताल र प्रदर्शन जारी राख्ने आन्दोलनकारीहरुको निर्णय छ । छुट्टै राज्य गार्खाल्याण्डको माग गर्दै पाँच हप्ताअघिदेखि शुरु भएको आन्दोलनमा नौं जना आन्दोलनकारीको ज्यान गइसकेको छ । ३५ दिनदेखि दार्जिलिङलगायत पहाडी क्षेत्रमा आम हड्ताल जारी छ ।

भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाडौं, साउन ४ । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ।  भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो, कारोबारमा खबर छ ।

कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठक बिहान ९ बजे

काठमाडौं, साउन ४ ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपाको बैठक बिहान ९ बजे बस्दै छ ।  बालुवाटारमा बस्ने बैठकमा सरकार विस्तार,   निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन, संविधान संशोधन लगायतका बिषयमा  छलफल  हुने माओवादी अध्यक्ष प्रचण्डको निजि सचिवालयले जनाएको छ । यसअघि नै सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने सहमति गरिसकेका छन् । सत्तारुढ दुई दलबीच प्रदेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति पनि भैसकेको छ ।

माओवादीभित्र गुटैगुट, के-के हुन् स्वार्थी गुटका उद्देश्य ?

काठमाडौं, साउन ४ । ‘पार्टीभित्र गुट उपगुट अझै हटेन, कि सल्लाह नै गरेर गुट चलाऊँ होइन भने गुट त्यागेर माथि उठौं,’ यो आक्रोशित भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्ला इन्चार्जसमेत सहभागी पार्टी सचिवालय सदस्यहरूको विस्तारित बैठकमा भनिएको विषय हो । अध्यक्ष प्रचण्डले सोमबार बैठकको सुरुवातमा गुट उपगुटकै कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाअनुसार जित नभएको र गुट उपगुट बढ्दै गए पार्टी विघटनको खतरामा पुग्नेसमेत औंल्याए । पार्टीकै अस्तित्व खतरामा पर्ने र निर्वाचनमा समेत हारमा पु¥याउने के र कस्तो हो त माओवादीभित्रको गुट ? माओवादी हेडक्वार्टर सदस्य मणि थापा भन्छन्, ‘अध्यक्षसँग बार्गेनिङ गर्ने, शक्ति र सत्ता प्रयोग गर्ने, अझ भन्दा राजनीतिक केन्द्र्र बनाएर स्वार्थ समूहहरू खोलिनु गुट हो ।’ माओवादीभित्र अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने तर जनता र कार्यकर्तामा कम मात्रमा जाने, फाइदा भने बढी लिने एक किसिमको समूह रहेको छ । पछिल्लोपटक क्षेत्रीय र जिल्लास्तरीय गुटसमेत माओवादीभित्र झांगिएर गएको छ । अझ रमाइलो त ‘जनयुद्ध’को उद्गमस्थल मानिएको रुकुम र रोल्पासमेत गुट उपगुटले चोखो छैन । रुकुमले रोल्पाका नेतालाई नमान्ने र रोल्पाकाले रुकुमका नेतालाई नमान्ने संकीर्ण सोचाइ पछिल्लोपटक ह्वात्तै बढेर गएको छ,राजधानी मा खबर छ । कस्ता छन् माओवादीभित्रका गुट ? माओवादी केन्द्रभित्र विभिन्न किसिम र उद्देश्यले खोलिएका स्वार्थ समूह रहेका छन् । यही समूह निर्वाचन तथा पार्टी महाधिवेशनका बेला सबैभन्दा बढी सक्रिय हुने गरेका छन् । त्यस्ता समूह कतिपय शक्ति र सत्ताको बार्गेनिङका लागि खोलिएका स्वार्थ समूह रहेको पाइएको छ भने कतिपय विचार सिद्धान्तमा आधारित समूह रहेका छन् । अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने प्रधान समूह रहेको छ, त्यही समूहबाट गुट उपगुटले प्रश्रय पाउने र क्षेत्रीय, जिल्लास्तरीय हुँदै तल्लो तहसम्म झर्ने गरेको छ । जसमा नारायणकाजी समूह, वर्षमान पुन समूह, महरा समूह, जनार्दन समूह भनेर नामकरण गरिएको पाइएको छ । त्यसो त अध्यक्ष प्रचण्डले सोमबार मौखिक प्रस्ताव राख्ने क्रममा रोल्पाको गुट, रुकुमको गुट, सिरहाको गुट, सप्तरीको गुट, सिन्धुलीको गुट, रामबहादुरको गुट, श्यामबहादुरको गुट भइराख्ने हो भने पार्टीलाई विघटन गरेर गुट चलाउँदा हुन्छ भन्दै केही गुटहरूको नाम नै लिएर आक्रोश पोखेका थिए । स्रोतका अनुसार माओवादीभित्र केन्द्रीय तहमा हर्ताकर्ता गर्नेमा पछिल्लोपटक नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा रहेका छन् । दोस्रो तहमा शक्ति बस्नेत, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरू रहेको बताइन्छ । अध्यक्षप्रचण्डले सरकार विस्तार तथा कुनै पनि राजनीतिक नियुक्तिका क्रममा नारायणकाजी समूहलाई छुटाउने गरेका छैनन् । कुनै कारणवश छुट्न गए पनि श्रेष्ठको आपत्तिसँगै प्रचण्डले सच्याउने गरेका छन् । कुनै निर्णय लिँदा अध्यक्ष प्रचण्डले वर्षमान पुनको सल्लाह छुटाउने गरेका छैनन् । अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने नेताहरूद्वारा क्षेत्र र जिल्ला तहमा पनि आफूअनुकूल संगठन नेतृत्व बनाउने र सञ्चालन गर्ने परिपाटीको विकास बढेर गएको छ ।माओवादीभित्र ‘जनयुद्ध’ लडेकाहरूले श्रेष्ठलाई स्थायी गुटको नामकरणसमेत दिने गरेका छन् । तर ‘जनयुद्ध’कै उद्गमस्थल रुकुम र रोल्पाका नेताहरूसमेत एक हुन सकेका छैनन् । रुकुमका नेताहरूले रोल्पाका नेताहरूको अस्तित्व नस्विकार्ने र रोल्पाले रुकुमका नेताहरूको अस्तित्व नस्विकार्ने संस्कृतिले बढुवा पाएको त्यहाँका नेता कार्यकर्ता बताउँछन् । नजिकैका दुई जिल्लाका नेताहरूले एकजुट हुनुको सट्टा गुट उपगुट बनाउनेमा लाग्दा कार्यकर्ताहरू भने चिन्तित छन् । माओवादी केन्द्रमा ६ जेठ २०७३ बाट विभिन्न १० माओवादी घटकले एकता गरेका छन् । जसमा रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको माओवादीलगायत घटकले एकता गरेका थिए । उनीहरू अध्यक्ष प्रचण्डसँग राजनीतिक विषयमा नजिक–टाढा रहे पनि शक्ति, सत्ता र पहुँचका हिसाबमा बार्गेनिङ गर्नेमा आफू नलागेको तथा अलग्गै स्वार्थ समूह खडा नगरेको दाबी गर्छन् । माओवादीको जारी सचिवालय बैठकमा रिपोर्टिङका क्रममा जिल्ला इन्चार्जहरूले बढ्दो गुटबन्दी अन्त्य गर्न जोडदार माग गरेका थिए । उनीहरूले ४ हजार सदस्यीय जम्बो महाधिवेशन आयोजक समितिको औचित्य नदेखिएको भन्दै खारेज गर्नसमेत माग गरेका छन् । सोमबार प्रदेश २ का इन्चार्ज मातृका यादवले त अध्यक्ष प्रचण्डले नै गुट अन्त्यको घोषणा गर्नुपर्ने भन्दै गुट उपगुट चलाउन अध्यक्षबाटै सहयोग पुगेको घुमाउरो पारामा आरोप लगाएका थिए ।माओवादीनिकट बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारी व्यक्तिगत स्वार्थ पूरा गर्न गुट खोलिने गरेको भन्दै पार्टीलाई सुदृढ बनाउने हो भने पहिलो नम्बरमा गुट अन्त्य गर्नुपर्ने बताउँछन् । ‘व्यक्तिगत स्वार्थ पूरा गर्ने मेकानिजम र मेसिन अन्त्य गर्नुपर्छ, गुटको खेती गर्ने र कल्पनामा रमाउने परिपाटी हटाउनुपर्छ,’ उनी भन्छन्, ‘नेतृत्व तहले संरक्षण नगर्ने हो भने गुट त त्यसै पनि हट्छ ।’

निवार्चन आयोग: बसेको स्थानबाट फोटोसहितका मतदाता नामवली दर्ता

काठमाडौं, साउन ३ । फोटासहितको मतदाता नामवली संकलन कार्य अस्थायी बसोवास गरेको स्थान र स्थानीय तहबाट गर्ने निवार्चन आयोगले आज निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको आयोगको बैठकले राजनीतिक दलको आग्रहमा पहिलेको निर्णय परिवर्तन गरि आगामी साउन १६ गतेबाट गाउँपालिका र नगरपालिकामा टोली खटाई नामवली संकलन गर्ने र अस्थायी बसोबास भएकाहरुले जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयमा गएर आफ्नो नाम दर्ता गर्न सक्ने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले एभेष्ट दैनिकलाई जानकारी दिए । यसअघि साउन १ गतेदेखि आयोगले जिल्ला निर्वाचन कार्याललयबाट मात्रै फोटोसहितको मतदाता नामवली संकलन कार्य शुरु गरेको थियो ।