वरिष्ठ साहित्यकार शर्माको निधन

काठमाडौँ, वैशाख २४ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए ।

शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएक थिए ।
प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ः०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३ः०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।

 गच्छदारकाे चेतावनी सरकारबाट बाहिरिन सक्छौँ

काठमाडौं, बैशाख १९। प्रधानमन्त्री प्रचण्डसँग सोमबार साँझ भेटेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग तत्काल फिर्ता नलिए वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनसक्ने चेतावनी दिएका छन् । गच्छदारले महाभियोगजस्तो प्रस्ताव संसद्मा दर्ता हुँदा सरकारलाई समर्थन दिएका दलहरूसँग परामर्श नगर्नुको उद्देश्य स्पष्ट गर्नसमेत दाहालसँग माग गरेका अन्नपूर्ण पोस्टमा खबर छ । फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने “सरकारलाई दिएको समर्थन आजको दिनसम्म जारी छ । भोलिका दिनमा उसको गतिविधिमा भर पर्छ ।” सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नभएमा कडा प्रतिरोधको चेतावनी दिएको छ ।

Breaking News: प्रधान न्यायाधिश कार्कीविरुद्ध महाअभियोग दर्ता, कार्की निलम्बित

काठमाडौं, वैशाख १७ । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रियामा प्रधान न्यायाधिश सुशिला कार्की विवादमा तानिएकी थिइन । कार्कीले प्रहरी महानिरीक्षकका दावेदार डिआइजी नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको नक्कली फाइललाई मान्यता दिएको भन्दै सरकार र सर्वोच्च अदालतबीच विवाद चुलिएको थियो । कांग्रेस र माओवादी केन्द्रका २५९ सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो । महाभियोग प्रस्ताव दर्ता गराउन कांग्रेस सांसद मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सांसद संसद सचिवालय पुगेका थिए । इतबार दिउँसो सत्तारुढ दलका सांसदहरुले संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावमा प्रधान न्यायाधीश कार्कीले प्रहरी ऐनअनुसार प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न खोजेको, डिआइजी नवराज सिलवालको कार्य सम्पादन फाइल नक्कली भएको प्रमाणित हुँदा पनि सदर गरेको, स्वतन्त्र न्याय प्रणालीलाई प्रभावित गर्न १९ जना न्यायाधीश हुँदाहुँदै पनि पटकपटक आफू अनुकूलका न्यायाधीशहरुको मात्रै इजालास खडा गरेको, न्यायाधीशहरुलाई आफ्नो स्वार्थ अनुकूलको फैसला गर्न दवाव दिने गरेको र त्यसले स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी मान्यता र नेपालको न्यायालयको गरिमामाथि गम्भीर आँच पुगेको कुरा उल्लेख छ । कार्य सम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नवराज सिलवालभन्दा अगाडि भएपछि सिलवालले नक्कली कार्य सम्पादनको फाइल पेश गरेको सरकारले बताएको छ । तर, कार्कीले नक्कली कार्य सम्पादन मूल्याङ्कन नम्वर भएको प्रमाणित हुँदासमेत सिलवालको फाइल सदर गर्न दवाव दिएको प्रस्तावक सांसदहरुले बताए । महाअभियोग प्रस्ताव पेश गर्नेमध्येका एक सांसद भन्छन्, प्रहरी महानिरीक्षक नियुक्तिको अधिकार अदालतको होइन, यो सरकारको क्षेत्राधिकारको कुरा हो । त्यसमा प्रधान न्यायाधीशबाट क्षेत्राधिकार मिचेर हस्तक्षेप भयो, प्रहरी अधिकृतहरुको कार्य सम्पादन र नियुक्तिको अधिकार पनि अदालतलाई छैन, अझ किर्ते कागज सदर गरिएको छ, त्यो पनि न्यायाधीशहरुलाई अनुचित दवाव दिएर । स्वतन्त्र न्यायपालिकाको गरिमा र विश्वव्यापी प्रचलनविरुद्ध गरिएका गतिविधि हामीले चुपचाप सहन सकेनौं र महाअभियोग प्रस्ताव दर्ता ग¥यौं ।’ सरकारद्वारा सुशीला कार्कीमाथि लगाइएका ९ आरोप  १. प्रधानन्यायाधी कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको । २. आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको । ३. न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको । ४. कार्यविधि र कानुनको पालना नगरेको । ५. न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको । ६. शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको । ७. सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको । ८. न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको । ९. खराब आचरण गरेको ।

फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न

काठमाडौं, वैशाख १४ । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विशेष कार्यक्रममा विभिन्न १३ विधामा उत्कृष्ट मनोनयनमा परेका फोटो पत्रकारहरुलाई पुरस्कार वितरण गरिएको थियो । फोटो पत्रकार दिवस तथा राष्ट्रिय फोटो पत्रकार समूहको २० औं वर्ष गाँठमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– २०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको थियो । समारोहमा वनमन्त्री शङ्कर भण्डारी र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले ५०,००० (पचास हजार रुपैयाँ) राशिको सो अवार्ड प्रदान गरेका थिए । त्यसैगरी पहिलोपटक सुरू गरिएका मेगा बैकं नेपाल वर्ष उत्कृष्ट फोटो पत्रकार दि काठमाडौं पोष्टका फोटो पत्रकार निमेश जंग राईले बाजी मारे भने उनले ‘थाहा अध्ययन प्रतिष्ठान राजनीतिक फोटो पत्रकारिता अवार्ड–२०७३’ पनि जित्न सफल भए । ‘एनटिसी डेली लाइफ फोटो पत्रकारिता अवार्ड–२०७३’ दि हिमालय टाइम्सका फोटो पत्रकार स्कन्द गौतमलाई प्रदान गरिएको थियो । ‘श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटो पत्रकारिता अवार्ड–२०७३’ नेपाल साप्ताहिकका पत्रकार लक्ष्मीप्रसाद नाखुसी, र ‘कङ्गारु एजुकेशन अनलाइन फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु.२५ हजार रहेको छ । त्यसैगरी ‘पाटन प्याथ ल्याब स्वतन्त्र फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र फोटो पत्रकार राम गुरूङ र ‘ग्लोबल आइएमई बैंक विजनेश फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बालकृष्ण थापालाई प्रदान गरियो । ‘हेभी हेल्प लिङ्क महिला फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बीजु महर्जन, ‘ओल्ड दरबार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड–२०७३ पत्रकार महेशमान प्रधान, ‘मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार कृष्णमणि बराल र ‘ग्रेस इनटरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार सुदर्शन रञ्जीतलाई प्रदान गरियो । ‘भ्याली ग्रुप एनएफपिजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको समूहका अध्यक्ष ध्रुव आलेले जानकारी दिए। पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

रेबिजको जोखिम बढेपछि गोठमा तारजाली लगाउन आग्रह

चितवन, वैशाख १४ । चितवन जिल्लामा रेबिज रोगको सङ्क्रमण बढ्ने सङ्केत देखिएपछि जिल्ला पशु सेवा कार्यालयले किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको छ । कार्यालयका अनुसार विगत एक महिनाको अन्तरालमा जिल्लामा रेबिज रोगका कारण चार वटा पशुको मृत्यु भएको छ । कार्यालयले गोठ सुधार कार्यक्रम अन्तर्गत व्यावसायिकरुपमा पशुपालन गर्दै आएका र अन्य किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको हो । जिल्लामा बढी मात्रामा जङ्गलको छेउछाउमा पशुपालनका लागि गोठ बनाइनु र बढ्दो गर्मीका कारण रेबिज सङ्क्रमण बढ्न सक्ने भन्दै किसानलाई यस्तो आग्रह गरेको कार्यालयका प्रमुख डा डिल्लीराम सेडाईंले बताउनुभयो । गोठ खुल्ला हुँदा रेबिज रोग लागेका कुकुर, स्याललगायतका जनावारले पशु चौपायलाई टोक्ने र रेबिज रोग लाग्न सक्ने भन्दै गोठमा तारजाली लगाएर सुरक्षित गर्नका लागि आग्रह गरेको उहाँले बताउनुभयो । जिल्लामा अहिले रेबिजको सङ्क्रमण देखिन लागेपछि ४०० ‘डोज’ सुई प्रयोगमा आइसकेको कार्यालयले जनाएको छ । जिल्लामा व्यावसायिक गाई भैँसी पाल्ने कृषक फर्म ६९२ वटा रहेका छन् जहाँ चार हजार २०० गाई भैँसी व्यावसायिक रुपमा पालिएको छ । केही पशुको बिमा गरिएको भए पनि सबैको बिमा नभएको कार्यालयले जनाएको छ । यस्तै बाख्रा फर्म २२७, बङ्गुर फर्म २२०, कुखुरा फर्म २२७ र ह्यचरी १०३ वटा रहेको कार्यालयले जनाएको छ । व्यावसायिक पशुपालन गर्ने किसानको सङ्ख्यामा वृद्धि भए पनि बिमा गर्नेको सङ्ख्यामा भने उत्साहजनक सहभागिता नहुँदा किसान समस्यामा पर्ने गरेको कार्यालयले जनाएको छ ।

अभिनेता विनोद खन्नाको निधन

काठमाडौं, वैशाख १४ । बलिउडका चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ । मुम्बईको हस्पितलमा उपचारका क्रममा रहेको बेला उनको निधन भएको हो । बलिउडमा अमिताभ बच्चानसँग छोटो समयमा अयिन गरेर पनि निकै चर्चित र उत्कृष्ट कलकाकारकारुपमा चर्चित खन्नाकले सन् १९७५ मा चलचित्रबाट सन्यास लिएका थिए । पछि ‘एक थी रानी’ र २०१५ मा शाहरुख खान अभिनित चलचित्र ‘दिलवाले’ मा पनि उनले अभिनय गरेका थिए । त्यसपछि उनी ओशो रजनीशका अनुयायी बनेर उनीसँगै अमेरिका बसोबास गरेका थिए । केही समय अघि खन्ना क्यान्सरबाट पीीडत भएको तस्वीर सार्वजनिक भएको थियो । खन्नाले ‘मनका मीत’ बाट अभिनय यात्रा शुरु गरेका थिए । सुरुवातमा खलनायकको भूमिकामा रहेका खन्ना ‘मेरा गाँव मेरा देश’ बाट पनि चर्चित स्टार बने । उनले अहिलेसम्म १२१ वटा बलिउड चलचित्रमा अभिनय गरी विभिन्न अवार्ड पनि जितिसकेका छन् । अभिनेता विनोद खन्ना गुरुदासपुरबाट सांसद समेत थिए । उनको निधनमा विभिन्न सञ्चारमाध्यमदेखि, बलिउडका कलाकार तथा क्रिकेट खेलाडीसम्मले दुःख व्यक्त गरिरहेका छन् ।

होला त सहमति ?

काठमाडौँ, वैशाख १३ । संविधान संशोधन प्रस्ताव र निर्वाचनबारे सहमती खोज्न मुख्य दलका शीर्ष नेताहरू छलफलमा । संसद बैठक अघि संसद भवन बानेश्वरमा चार दलका शीर्ष नेताबीच वार्ता भईरहेको छ । तस्वीर: प्रधानमन्त्री सचिवालय

जङ्गली च्याउ खाँदा एकै परिवारका छ जना बिरामी

इलाम,  वैशाख १२ । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाँदा देउमाई नगरपालिका–१० का ४६ वर्षीय देउमान लिम्बू, ५५ वर्षीय सुकपाल लिम्बू, २४ वर्षीय शेसे लिम्बू, २० वर्षका साङ्बो लिम्बू, १७ वर्षीया तेरुहाङ लिम्बू र ७५ वर्षीया दलहाङमा लिम्बू सिकिस्त भएका हुन् । सोमबार आफ्नै घरको बारीमा फलेको च्याउको तरकारीसँग खाना खाएपछि उनीहरु बिरामी परेका हुन् । च्याउ खाएर बिरामी भएका सबैको अवस्था गम्भीर रहेको इलाम अस्पतालका हेल्थ असिस्टेन्ट टिका लुइँटेलले जानकारी दिनुभयो । उनीहरूलाई इलाम अस्पतालमा सामान्य उपचार गरेर सोमबारै थप उपचारका लागि धरानतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ । रासस

नेपाल फुटबल च्याम्पियनसिप २०१८ छनौट स्पर्धाको कठिन समूहको लिष्टमा

काठमाडौँ, वैशाख ९ । नेपाली टिम शुक्रबार भएको एएफसी यू–१६ र यू–१९ फुटबल च्याम्पियनसिप २०१८ छनोट स्पर्धाको कठिन समूहमा परेको छ । शुक्रबार मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र’ मा अनुसार नेपालले यू–१६ छनोटको समूह ‘डी’ मा डिफेन्डिङ च्याम्पियन इराक, भारत र प्यालेस्टाइनसँग खेल्नुपर्ने भएको छ । यो समूहको खेल सेप्टेम्बर १६–२४, २०१७ मा नेपालमा हुनेछ । १० समूहका विजेतासँगै उत्कृष्ट पाँच उपविजेता फाइनल चरणलाई छनोट हुनेछन् । त्यसमा एक आयोजक पनि हुनेछ । नेपाल यू–१९ मा बहराइन, युएई, ओमान र कीर्गिस्तानसँगै समूह ‘ए’ मा परेको छ । छनोटका खेलहरू नोभेम्बर ३१ देखि अक्टोबर ८ सम्म कीर्गिस्तानले आयोजना गर्नेछ । यसमा १० समूहका विजेता र दोस्रो हुनेमध्ये उत्कृष्ट पाँच टिम तथा आयोजक एक गरी १६ देशले फाइनल चरण खेल्नेछन् ।

चाहिन्छ कि तपाईलाई पनि ?

इटहरीमा बिक्रीका लागि राखिएका घरायसी सामग्री कुच्चाेलगायत । तस्बिर : याम प्रधान, इटहरी

नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

चितवन,  वैशाख २। नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो पन्छाइएपछि राति ११ बजेदेखि आवागमन सञ्चालनमा आएको हो । सोही स्थानमा पहिरो खस्दा शुक्रबार बिहान तीन घन्टा सडक अवरुद्ध बनेको थियो । राति पहिरो खसेपछि यात्रु अलपत्र परेका थिए । स्थानीय प्रशासनले सो ठाउँमा पटक पटक पहिरो खसेपछि दुर्घटनाको जोखिम भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ । सडक विस्तारका क्रममा रहेको सो सडक खण्डको भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किमी नारायणगढतर्फ पर्छ । यसैगरी पहिरो खसेको स्थल नजिकै सडकबाट गए राति त्रिशूलीमा खसेका एक व्यक्तिको उद्धार गरिएको छ । नाम थर नखुलेका अन्दाजी ३५ वर्षीय ती पुरुषको टाउकामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति ८ बजेतिर पहिरो खसेको स्थलबाट करिब १०० मि मुग्लिनतर्फ पैदल हिँड्दै गर्दा उनी चिप्लिएर त्रिशूलीमा खसेका थिए । रासस

यसकारण भए अर्याल आईजीपी

काठमाडौं, चैत २९ । सर्वोच्च अदालतको आदेशलाई ‘सम्मान गर्दै’ मन्त्रिपरिषद्ले सोमबार डीआईजी प्रकाश अर्याललाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । अर्यालले सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीद्वारा गृह मन्त्रालयमा दज्र्यानी चिह्न ग्रहण गरी प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दोस्रो वरियताको दाबी गर्दै क्याबिनेट बहिष्कार गरेका कारण झन्डै तीन सातासम्म बैठक बस्न नसकी अन्ततः सोमबार साँझ उनकै अनुपस्थितिमा भएको बैठकले विगत चार वर्षको कार्यसम्पादनका आधारमा अर्याललाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद्ले अर्का डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक पदमा नियुक्त गरेपछि वरियतासँगै आफ्नो पात्रतालाई अवमूल्यन गरेको दाबीसहित सर्वोच्च पुगेका डीआईजी नवराज सिलवालले चन्दको नियुक्ति रद्द गराउन सफल भए पनि क्याबिनेटले अर्याललाई कार्यसम्पादनअनुसार अगाडि ठहर्याएको हो । सरकारको निर्णयपछि सिलवालले अदालतको अपमान भएको उल्लेख गर्दै यसपल्ट पनि न्यायालयको ढोका ढक्ढक्याउने मनस्थिति बनाएका छन् । ‘कानुन र अदालतको सर्वोच्चताका लागि म फेरि सर्वोच्च जानैपर्छ,’ सिलवालले सोमबार राति अन्नपूर्णसँग भने, ‘को भयो भने मेरो चासो होइन, म न्यायका लागि अन्तिमपटक अदालत जान्छु ।’ सिलवाल र चन्द दुवै अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा सहभागी भएनन्। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेस गर्न समिति गठन गरेको थियो । उक्त समितिमा गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख थिए । समितिले पेस गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको हो । कार्यसम्पादनमा नवनियुक्त आईजीपी अर्यालको चार वर्षको औसत १५४ अंक छ । समितिले पेस गरेको मूल्यांकनअनुसार सिलवालको १५२.४ अंक मात्र छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले जानकारी दिएको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले कार्यसम्पादनका आधारमा बढी अंक भएका अर्याललाई सरकारले सर्वोच्चको फैसलाको मर्मअनुसार नै आईजीपीमा नियुक्त गरेको बताए । ‘सर्वोच्चको फैसलाको मर्मअनुसार कार्यसम्पादनमा औसत रुपमा बढी भएकाले अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय सरकारले गरेको हो,’ कार्कीले मन्त्रिपरिषद् बैठकपछि संवाददातासँग भने । सरकारले फागुन १ गते डीआईजी चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरे पनि उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएर नियुक्ति बदर गरेको थियो । सर्वोच्चले चैत ८ गते गरेको फैसलामा चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । सर्वोच्चले चार वर्षको कार्यसम्पादनमा सिलवाल नै पहिलो नम्बरमा देखिएको जिकिर गर्दै सिलवाललाई नै प्रहरी प्रमुख बनाउनुपर्ने आशयसहितको परमादेश दिएको थियो । तर कार्यसम्पादनमा अर्याल अघि देखिएपछि उक्त फैसलामा नै प्रश्न उब्जिएको छ । यसअघि चन्दलाई आईजीपी बनाउने निर्णयमा सर्वोच्चले रोक लगाएपछि सरकारले प्राविधिकतर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो । २०४४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा प्रवेश गरेका अर्यालले त्यतिबेला १ नम्बरमा थिए । डीएसपी र एसपी हुँदा पनि एक नम्बरमै बढुवा भएका उनी तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारको पालामा दुई नम्बरमा पुगेपछि सिलवाल एक नम्बरमा उक्लिएका थिए । निधि बैठकमा गएननउपप्रधानमन्त्रीको वरियताक्रममा असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री निधि सोमबारको मन्त्रिपरिषद बैठकमा सहभागी भएनन् । उनी अर्का उपप्रधानमन्त्री थापाभन्दा तल्लो वरियतामा नबस्ने घोषणा गर्दै बैठकमा सहभागी नभएका हुन् । उनीनिकट स्रोतका अनुसार निधिले अब कुनै पनि मन्त्रिपरिषद् बैठकमा सहभागिता जनाउने छैनन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

डिपिएलमा सिवाईसी अत्तरिया र रुपन्देही च्यालेन्जर्सको विजयी सुरुवात

कैलाली, चैत २९ । सगमाथा सिमेन्ट धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा सिवाइसी अत्तरिया र रुपन्देही च्यालेन्जर्सले विजयी सुरुवात गरेका छन् । सोमबार भएको खेलमा सिवाइसीले काठमाडौं गोल्डेन्सलाई ४० रनले हराएको हो । यस्तै, अर्को खेलमा रुपन्देहीले कञ्चनपुर आइकोनिकलाई १४ रनले पाखा लगाएको छ । एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । सिवाइसीका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिनुभयो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सक्नु भएन । पहिले ब्याटिङ गरेको सिवाइसीले ६ विकेटको क्षतिमा एक सय ४६ रन बनायो । उसका लागि योगेन्द्र सिंह कार्कीले ५७, ज्ञानेन्द्र कुँवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाउनुभयो । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । सिवाइसी ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् । सोमबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ । रुपन्देहीको जितमा हरिश साहले ३३ र प्रकाश केसीले २६ रन बनाउनुभयो । निर्धारित २० ओभरमा आठ विकेट गुमाएर रुपन्देहीले १४५ रन जोड्दा शङ्कर रानाको ब्याटबाट १९, कप्तान शक्ति गौचनको ब्याटबाट १६ रन बनेको थियो । विक्रम सोबले नटआउट १५ रनको पारी खेल्नुभयो । कञ्चनपुर आइकोनिकका कुशल भुर्तेलले चार र अविनाश कर्णले दुई विकेट लिएका थिए । जवाफी ब्याटिङ्गमा उत्रेको कञ्चनपुरले निर्धारित ओभर खेल्दै नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । कञ्चनपुरका लागि सागर पुनले सर्वाधिक ३९, सुनिल धमलाले २८, कुसल भुर्तेलले २७ र अविनाश कर्णले अविजित १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बटुल्न सकेनन् । कञ्चनपुरलाई रोक्ने क्रममा रुपन्देहीका कृष्ण कार्की र साहब आलमले समान तीन÷तीन विकेट लिए पनि कार्की म्यान अफ द म्याच भए । कप्तान शक्ति गौचनको भागमा दुई विकेट परेको थियो । प्रतियोगिता अन्तर्गत आज राटनगर किङ्स र धनगढी टिम चौराहाबीच पहिलो तथा काठमाण्डौं गोल्डेन्स र कञ्चनपुर आइकोनिकबीच दोस्रो खेल हुने छ । प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले सात लाख रुपिया पुरस्कार प्राप्त गर्नेछन् ।

संसदीय समितिको निश्कर्षः सीमा विवाद नटुंग्याए अन्य भागमा पनि पुनर्वास घटना दोहोरिने

नेपाल–भारत सीमा विवादकै कारण कञ्चनपुरको पुनरवास नजिक घटना भएको संसदीय समितिले निष्कर्ष निकालेको छ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गत घटनाको अध्ययन गर्न गठित उपसमितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनाको प्रमुख कारण सीमा विवाद देखाएको खबर आजको कान्तिपुरमा छ । प्रतिवेदनमा सरकारले सिमा विवाद तत्काल नटुंग्याए अन्य भागमा समेत यस्ता घटना दोहोरिन सक्ने सुझाव दिइएको छ । सीमा क्षेत्रमा फागुन २६ मा भएको घटनामा गोविन्द गौतमको भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर मृत्यु भएको थियो । टिकाराम चापागाईं गम्भीर घाइते भएका थिए । समितिले भोलिपल्टै धनबहादुर रायमाझीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सदस्यमा कमलाकुमारी घिमिरे, प्यारेलाल राना र राममाया बोगटी छन् । उपसमितिले चैत ९ देखि ११ सम्म कन्चनपुरको पुनरवास क्षेत्र, सदरमुकाम महेन्द्रनगरलगायतको स्थलगत अवलोकन गरेको थियो । उपसमितिले सीमा विवाद समाधान गर्न तत्काल दुई पक्षीय संयन्त्र परिचालन गर्नु पर्ने सुझाव दिएको छ । स्थानीय सर्वसाधारणको आक्रोस न्यूनीकरण गर्न राजनीतिक दल परिचालन गर्नु पर्ने धारणा राखेको छ । विभिन्न ठाउँका अवैध नाकाहरुबन्द गर्न र आवश्कता अनुसार वैधानिक नाकाहरु राख्न सरकारलाई निर्देशन दिनसमेत सुझाव दिएको छ । प्रतिवेदनमा नेपालको सार्वभौमिकतामा खलल पुग्ने गरी विना अनुमति नेपालको सीमा भित्र हतियारसहित प्रवेश गर्ने भारतीय सुरक्षा कर्मीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने जनाइएको छ । सीमा विवादको घटनामा परि घाइते भएका राष्ट्रसेवक र नागरिकहरुको सम्पूर्ण उपचार खर्च सरकारले उपलब्ध गराउनु पर्ने उपसमितिको निष्कर्ष छ । नेपालीहरुको घर, पसल र अन्य सामाग्रीहरुमा भारतीय सुरक्षा कर्मीहरुले पुर्‍याएको क्षतिको क्षतिपूर्ति भारतबाटै उपलब्ध गराउन सरकारले पहल गर्नु पर्ने भनिएको छ । उपसमितिले त्यस्ता सीमा क्षेत्रमा भरपर्दो सुरक्षा व्यवस्थाको लागि यथासक्य चाडो र धेरै सीमा सुरक्षा बेसक्याम्प नेपालतर्फ राख्न सरकारले तत्काल कार्यारम्भ गर्नु पर्ने सुझाव दिएको छ । भारतको तर्फबाट गोली चलाएको स्वीकार नगरेको भएता पनि भारतीय एसएसबीले चलाउने हतियारमा प्रयोग हुने गोली लागेर शहिद गोविन्द गौतमको मृत्यू भएको पुष्टी भएको र त्यसको प्रमाण भारतीय अधिकारीलाई उपलब्ध गराई सकेको प्रमुख जिल्ला अधिकारीको भनाईले पुष्टि भएकोले आवश्यक क्षतिपूर्ति भारतको तर्फबाट उपलब्ध गराउन सरकारले पहल गर्नु पर्ने सुझाव दिएको छ । हाल सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सशस्त्र प्रहरी बलको ४६ जनाको टोली सीमा नजिक राखिएको सुरक्षा क्याम्प स्थायी रुपमा नै त्यस ठाउँमा राख्न र विवादित र मानव वस्ती नजिक रहेका अन्य स्थानको नेपाल–भारत सीमा क्षेत्रमा समेत यथासक्य चाडो सुरक्षा बेस क्याम्प राख्न नेपाल सरकार गृह मन्त्रालयले तत्काल आवश्यक गृहकार्य प्रारम्भ गर्नु पर्ने सुझाव छ । सन् १९१६ को सुगौली सन्धीदेखि नेपाल–भारत सीमा निर्धारणको कार्यारम्भ भएको, सन १९८१ देखि २००७ सम्ममा धेरै पटक सीमा निर्धारण सम्बन्धी दुई पक्षीय बैठकहरु बसेको र अधिकांश स्थानहरुमा सीमा निर्धारण समेत भई सकेको तर कन्चनपुरको पुनरवास क्षेत्र सहित केहि स्थानहरुमा विवादका कारण सीमा निर्धारण हुन नसकेको उपसमिति बुझाएको प्रतिवेदनमा उल्लेख छ । समितिका सभापति सुशील कुमार श्रेष्ठले सीमा विवादका कारण भइरहेका यस्ता घटनाहरुलाई दीर्घकालीन रुपमा रोख्न प्रतिवेदनलाई आधार मानेनर गृह, परराष्ट्र र भूमि सुधार मन्त्रालयसँग छलफल गर्ने र त्यसपछि निष्कर्षमा पुग्ने बताए । उनले भने,‘छलफलपछि यसलाई निष्कर्षमा पुग्ने गरि निर्णय गरेर अघि बढ्ने छौं ।’

अब फरक रक्त समुहबाट पनि मृगौला प्रत्यारोपण सम्भव

काठमाडौं , चैत १९ । नेपालमा पहिलोपटक फरक रक्त समुहबाट मृगौला प्रत्यारोपण सफल भएको छ । यसअघि एउटै रक्त समुह भएकाहरुको मात्रै मृगौला प्रत्यारोपण गर्न मिल्थ्यो । त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक एबीओ इन्कम्प्याटिबल मृगौला प्रत्यारोपण भएको हो । काठमाडौं सीतापाइलाकी सुलोचना श्रेष्ठमा १२ दिनअघि गरिएको प्रत्यारोपण सफल भएको मृगौला रोग विशेषज्ञ डा. दिव्यसिंह शाहले बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

हामी त माओवादी प्रवेश गर्याैं

सिन्धुपाल्चोक लिसङखुमा एमाले र नयाँ शक्ति समर्थक युवा नेताहरु माओबादी केन्द्रमा प्रवेश गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।