साढे तीन किलो अफिमसहित युवक पक्राउ

भीमदत्तनगर, फागुन ३० । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा मुडा बजार क्षेत्रमा बाजुरा रुगिन–४ बस्ने वर्ष ३७ को बिर्ष कार्कीलाई खान तलासी गर्दा निजले बोकेको झोलामा उक्त परिणाममा अफिम भेटिएको ब्युरोले जनाएको छ ।

प्रहरीले अफिमसहित पक्राउ परेका कार्कीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुख्खडको जिम्मा लगाएको जनाएको छ । रासस

हलेसीमा दर्शन गर्न आएका एक विदेशीको मृत्यु

खोटाङ, फागुन २९ । प्रशिद्ध हलेसीमा दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । दर्शन गरेर फर्कन लागेका भुटान थिम्पुका साङ्गे छिरिङको शुक्रबार राति मृत्यु भएको व । शनिबारको बन्दका कारण राति नै फर्कन बसमा चढेको केही समयलगत्तै छिरिङको मृत्यु भएको प्रहरीले जनाएको छ । हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाउने समेत प्रहरीले जानकारी दिएको छ । हलेसी दर्शनका लागि शुक्रबार बिहान एक सय पाँच जना भुटानी बौद्धमार्गी आएका थिए । यो खबर आजको कान्तिपुरमा छ  ।

लाइभ: नेपालको चार विकेट गुम्यो, नेपाल दबाबमा १९ ओभरमा ५७ रन

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा नेपालले ५७ रन बनाएको छ । शनिबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले चार विकेट गुमाएर ५७ रन बनाएको हो । भरपर्दा व्याट्सम्यान शरद अाउट भएसँगै नेपाल थप दबाबमा छ । अहिले क्रिजमा बिनोद भण्डारी र दीपेन्द्रसिंह एेरी छन् । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन जोडेर आउट भएसँगै नेपालको व्याटिङ पारी धर्मराएको छ । सागर पुन पनि व्यक्तिगत १० रन जोडेर पवेलिएन पर्केपछि नेपाल केही दबाबमा देखिएको छ । वार्षका कारण ३८ ओभरमा छाट्याएको खेलमा केन्याका बलरले नेपाली खेलाडीलाई खुलेर व्याटिङ गर्न दिएका छैनन् । ओपनर सुनिल धमला व्यक्तिगत ३ रन बनाइ आउट भएका थिए ।

नेपाल र केन्याबीचको खेल सुरु, चार ओभरको खेल सकिँदा नेपाल २१ रन

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । त्रिवि मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले चार ओभरको खेल सहिँदा विना क्षतिमा २१ रन जोडेको छ । ओपनिङ व्याटिङमा रहेका कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाइ खेलिरहेका छन् ।

मौसममा सुधार अाएसँगै नेपाल र केन्याबीच क्रिकेट खेल हुँदै, टस गराउने तयारी

काठमाडौँ, फागुन २८ । काठमाडौंमा मौसममा सुधार आएसँगै बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल हुने भएको छ । बिहान साढे १० बजेबाट आकाश खुलेसँगै खेल हुने भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको क्रिजमा राखिएको पाल केहीबेरअघि हटाईएको छ भने टसको तयारी भईरहेको छ । मैदानमा जमेको पानी हटाउने काम सुरु भएको छ । अहिले टस गराउनको लागि अफिसियलहरुले ग्राउण्ड अबस्था हअध्ययन गरिरहेका छन् । हिजो अपराह्नबाट पानी परेपछि आजको खेल अनिश्चित बनेको थियो । आज बिहानभरी पनि हल्का बर्षा भएपछि त्रिबि क्रिकेट मैदानमा बिहान साढे नौ बजे सुरु हुने भनिएको खेल प्रभावित भएको थियो । लिगको पाँचौ स्थानमा रहेको केन्या र एक स्थान तल छैटौंमा रहेको नेपालबिचको खेल दुबैका लागी गर या मरको अवस्थामा छ । तालिकाको शीर्ष चारमा रहने टोलीले आसन्न वन डे क्रिकेटको बिश्वकप छनौट खेल्न पाउने भएकाले दुबै टोलीका लागी महत्वपुर्ण रहेको छ ।

नेपाल र केन्या भिड्दै, पुरानो हारको बदला लिन सक्ला त नेपालले ?

काठमाडौं, फागुन २८ । पुराना प्रतिद्वन्द्वी केन्या र नेपाल आज फेरी मैदानमा भिड्दैछन् । मौसलमले साथ दियो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेल निकै रोचक हुने छ । दुई वर्षअघि डिभिजन–२ मा केन्याबाट नेपालले पराजय भोगेको थियो । मौसम विभागले भने दिनभरी पानी पर्ने बताएको छ । यो स्थितिमा खेल स्थगित समेत हुन सक्ने सम्भावना प्रबल छ । आजको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन गइरहेको छ र खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा पुग्ने र यसबाट शीर्ष चारको सम्भावना जिवितै रहने छ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ । नेपालले केन्यासँग ५० ओभरको तीन खेल खेलेको छ र एउटा टी–२० पनि। ५० ओभरको ३ वटै खेल जितेको केन्याको यो ‘भर्सन’ मा बलियो उपस्थिति देखिन्छ। तर, टि–२० मा नेपालले केन्यालाई हराएको छ। आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । केन्या भन चार खेलमा जित हासिल गरेपनि ८ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ । नेपालले लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत कीर्तिपुरमा खेलेको खेल अहिलेसम्म हारेको छैन्। त्यसैले केन्यासँगको दुई खेलबाट नेपालले राम्रो नतिजाका साथ ४ अंक बटुल्नेमा नेपाली टोली धेरै हदसम्म विश्वस्त देखिन्छ। यस्तो भएको खण्डमा नेपालले अंक तालिकामा केन्यालाई २ अंकले पछि पार्ने छ। लिग क्रिकेट च्याम्पियनसिपमा अन्तिम ४ मा स्थान बनाउने टिमले आउँदो वर्ष बंगलादेशमा विश्व कपको छनोट खेल्न पाउने छ। खेलका सबै टिकट बिक्रिी भइसकेका छन् । आजको खेल मौसम सफा भए साढे ९ बजे सुरु हुने तालिका छ । तर आजको खेल हुन नसके आइतबारका लागि सारिने छ ।

कान्तिपुर दैनिकले भन्यो– दर्पणछाया–२ भुत्ते फिल्म

काठमाडौं, फागुन २८ । प्रख्यात निर्देशक तुलसी घिमिरेले निर्माण गरेको चलचित्र दर्पणछाया–२ रिलिज भएको छ । दर्पण छायाले कमाएको लोकप्रियता र चर्चाको तुलनामा भाग दुईले भने खासै असर पार्न सकेको छैन । समीक्षकहरुले समेत यो भाग २ लाई उत्कृष्ट निर्देशकको कमजोर चलचित्रका रुपमा ब्याख्या गरेका छन् । कान्तिपुर दैनिकले यसबारेमा उल्लेख गरेको समीक्षा यहाँ साभार गरिएको छ । नेपाली फिल्मका ‘ब्रान्डेड’ निर्देशक हुन्, तुलसी घिमिरे । जसको खातामा आधा दर्जन ज्यादा ब्लकबस्टर फिल्म छन् । कुसुमे रुमाल, बलिदान, चिनो, देवता, लाहुरे, दक्षिणा, दर्पणछायाँ आदि–आदि । त्यसो त पैसा कमाएर मात्र यी फिल्म सम्झनालायक मानिएको होइन, बरु हरेक फिल्ममा घिमिरेले निर्देशकीय क्षमताको नयाँ आयाम र विषयवस्तु समेटेकाले विशेष भएका हुन् । तर दर्पणछाँयापछि उनको लगाम फुत्केको–फुत्कै छ । जुन आफैँमा ‘फिल्मी’ लाग्छ ।  त्यसयता उनका सात फिल्मले न प्रसंशा कमाए, न पैसा । तीतो र अपत्यारिलो भए पनि सत्य हो यो । दर्शकलाई निराश तुल्याउने घिमिरेको यही शृंखलामा सूचीकृत भएको छ, दर्पणछायाँ २ । दर्पणछाँयामा मार्मिक प्रेम कथा देखाएर मन जितेका थिए उनले । यही नामको पछाडि २ झुन्डाएर बनाएको फिल्ममा दोब्बर आशा राख्नु अस्वाभाविक होइन तर कथादेखि कथा भन्ने शैलीसम्म अैँसतभन्दा तल छ । घिमिरेले संगीत र सर्जकप्रति अगाध स्नेह राख्नुपर्ने सकारात्मक सन्देश त दिन खोजेका छन् तर त्यो सुगारटाइ मात्र छ । त्यसमा कलात्मकता र रोचकता छैन । नाम दर्पणछायाँ २ भए पनि पुरानो दर्पणछायाँसँग यसले रत्तिभर सरोकार राख्दैन । मतलब सिक्वेल होइन । फिल्ममा तीन युवायुवतीको प्रेम कथा छ, सेक्सोफोन बजाउन माहिर आलाप (पुष्पल खड्का), नृत्यकी शौखिन सरगम (सहारा कार्की) अनि धनी बाबुकी छोरी निशा (श्रद्धा प्रसाईं) को । आलाप र सरगम एकअर्कालाई अौधि माया गर्छन् । तर आलापको आर्थिक हैसियत कमजोर भएकाले सरगमका बुबा यो सम्बन्धको विपक्षमा छन् । अमेरिकाबाट फर्किएकी निशाको मनमा पनि आलापको लागि माया छ । त्यो माया सहाराले गर्ने जस्तै हो कि फरक ? आलापको विगतसँग पनि निशा जोडिएकी छन् । त्यो के थियो ? सेक्सोफोन र संगीतप्रति आलापको प्रेम र सम्मान कुन हदसम्म हुन्छ ? यस्तै प्रश्नको वरिपरि घुमेको छ । क्लाइमेक्सले न भावुक बनाउँछ, न ‘अहो !’ । द्वन्द्व र दृश्यको वहाबबीच तालमेल नमिल्दा फिल्म खुकुलो हुन्छ । पर्दामा दृश्य सल्बलाउँछन् तर दर्शकको मन रम्दैन । उकुसमुकस हुन्छ । दर्पणछाँया २ मा यस्ता आँत नभरिने र कथाको ट्रयाक बिथोल्ने दृश्यको रास छ । सुरुआतबाटै निर्देशकले लामा र अप्रभावकारी दृश्यलाई प्राथमिकता दिएका छन् । कलेजका अधिकांश क्रियाकलाप, सांगीतिक कार्यक्रम, आलाप र साथीहरूको विवाद जर्बजस्ती तन्काइएको छ । कलेज भए पनि पढाइको माहोल शून्य छ । आलापलाई सेक्सोफोन दिलाउन खोज्दाखोज्दै मध्यान्तर हुन्छ । सहायक पात्रलाई अनावश्यक स्थान दिएकाले फिल्म थप नीरस लाग्छ । निशाको कलेजको ‘इन्ट्री’, दुर्घटनामा परेको बाबुलाई अस्पताल लैजानुको सट्टा आमालाई बोलाउन घर दौड्ने, दिवंगत प्रिय साथीको छोरोलाई सेक्सोफोन नदिने बडाको अड्डीलगायतका दृश्य अपरिपक्व छ । कलेजको आधुनिक माहौललाई ‘क्याप्चर’ गर्न पटकथाकारसमेत रहेका निर्देशक घिमिरे चुकेका छन् । उनले नयाँपुस्ताको नवीन शैली र व्यवहारलाई उधिन्न त खोजेका छन्, तर आफ्नो परम्परात ‘लिगेसी’भन्दा बाहिर निस्कन सकेका छैनन् । पर्दाबाहिरको निर्देशकको यही द्वन्द्वले पर्दामा आवश्यक द्वन्द्व फितलो बनाएको छ । सांगीतिक प्रेमकथा हुनुको नाताले मुखमा झुन्डने र श्रुतिमधुर गीतको खडेरी हुनुनपर्ने हो तर पुरानो दर्पणछाँयाको शीर्ष गीतको ‘रिरेकडेर्ड भर्सन’ले मात्र सान्त्वना दिन्छ । रामेश्वर कार्कीले खिचेका दार्जिलिङका मनोरम दृश्यले फिल्मलाई मनमोहक  बनाएको छ । पाश्र्वध्वनिले दृश्यको भावलाई आत्मसात् गरेको छैन । बरु पात्रहरूको ड्रेस डिजाइन प्रसंशनीय छ । मुुख्य कलाकारकै अस्वाभाविक अभिनय फिल्मको वजन घटाउने अर्को कारण हो । म्युजिक भिडियोमा राज गरेका पुष्पलको दर्पणछायाँ २ सोलो डेब्यु हो । तर हाउभाउ र संवाद बोल्ने शैली यति बनावटी लाग्छ कि यही ताल रहने हो भने ठूलो पर्दाका लागि उनी दुई दिनको पाहुना मात्र हुनेछन् । श्रद्धा चाहिँ ‘ओभर–एक्टिङ’बाट ग्रस्त छिन् । न उनी रिस पोख्दा जीवन्त लाग्छिन्, न आँसु चुहाउँदा । तुलनात्मक रुपमा सहारा अब्बल छिन् । अमेरिकामा नियमित बसोवास गर्ने भए पनि प्रस्ट नेपाली लवज, प्रभावकारी शारीरिक हाउभाउ र नृत्यमार्फत उनले पात्रलाई न्याय गरेकी छन् । शेरबहादुर केसी जर्बजस्त हसाँउनकै लागि राखिएका पात्र हुन् तर उनको चरित्र र थेगोले दर्शकको मुहारमा मुस्कान होइन, बरु दिगाग चाहिँ तताउँछ । क्लाइमेक्सतिर पृष्ठभूमिमा एउटा संवाद सुनिन्छ घिमिरेकै आवाजमा, ‘समयको दर्पणमा यस्तो छाँया छोडेर जानु कि पर्दा खसिसके पनि ताली बजिरहोस् ।’ तर विडम्बना ! दर्पणछायाँ २ सकिएपछि त परको कुरा फिल्म चलिरहँदा पनि ताली बज्दैन/बजाउन सकिन्न । लाग्छ, घिमिरेको निर्देशकीय क्षमता क्षीण भइसकेको छ, समयमै चार्ज नगरे अझ काम नलाग्ने भइजान्छ । http://bit.ly/2mJgBen

विवाहबिना शारीरिक सम्बन्ध राखेको आरोपमा युएईमा विदेशी जोडी जेलमा

अबुधाबी, फागुन २६ । विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई)मा विदेशी एक जोडीलाई हिरासतमा राखिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युएईमा काम गर्दै आएको सो जोडीलाई गत जनवरीदेखि नै हिरासतमा राखिएको भए पनि हालै यो मामला प्रकाशमा आएको हो । २९ वर्षीय दक्षिण अफ्रिकी नागरिक एमलिन कल्वरवेल र २७ वर्षीय युक्रेनी नागरिक इरिना नोहाइलाई विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको हो । यी दुबै आपसमा प्रेम सम्बन्धमा रहेको बताइएको छ । युएईमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु अपराध मानिन्छ । पेटमा समस्या भएका कारण स्वास्थ्य परीक्षण गराउन गएकी इरिना गर्भवती भएको रहस्य खुलेपछि उनी कानूनी कारवाहीको दायरामा तानिएकी हुन् । विवाहबिना नै गर्भवती भएका कारण उनी छानविनको दायरामा तानिएपछि एमलिन र उनीबीचको सम्बन्ध प्रकाशमा आएको हो । दुबैले आफूहरु प्रेमी–प्रेमिका रहेको बताए पनि विवाहपूर्व शारीरिक सम्बन्ध राख्न नपाउने कानूनी प्रावधान तोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको युएईका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एमलिनकी आमाले दुबैको रिहाई माग गरेकी छिन् । उनले भनिन्, ‘उनीहरु दुबैको कसुर भनेको नै प्रेममात्र हो ।’ दक्षिण अफ्रिकी विदेशमन्त्रालयले यसबारे आफूले केही गर्न नसक्ने बताइसकेको छ । युएईको कानून उल्लंघन गरेको आरोपमा उनीहरुमाथि युएई मै कारवाही भइरहेको भन्दै विदेशमन्त्रालयले आफ्नो भूमिका प्रभावकारी हुन नसक्ने जनाएको हो । उसले यसबारेमा कानूनी सहायत लिन दुबैलाई सल्लाह दिएको छ । एमलिन पाँच वर्षदेखि युएईमा काम गर्दै आएका थिए । उनकी आमा लिन्डाले दुबैलाई विचलित नहुन आग्रहसमेत गरेकी छन् । विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा युएईको कानूनअनुसार दुबैलाई लामो जेल सजाय हुन सक्छ । इमेजखबरबाट

सावधान ! सडकमा कार्यक्रम गरे तीन बर्ष जेल

काठमाडौं, फागुन २६ । सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ? सावधान, जेल पर्नुहोला ! सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ । व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्‍याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । विधायन समिति सदस्य रेवतीरमण भण्डारीका अनुसार उक्त विधेयक संसदको विधायन उपसमितिबाट पास भइ समितिमा आइसकेको छ। विधेयक २०७१ को दफा ६४ मा सार्वजनिक सडक अवरोध गर्न नपाइने व्यवस्था उल्लेख छ । यो व्यवस्था संसदबाट पारित भएसँगै पैदल यात्रु, सवारीसाधन र पशुको आवागमन नै बाधा पुर्याउन पाइँदैन । यो खबर आजको नागरिकमा छ ।

बालुवाटार बैठकमा कसले के भने ?

काठमाडौं, फागुन २६ । प्रमुख प्रतिपक्षी एमालेले सप्तरीको राजविराज घटनालाई आधार मानेर स्थानीय तहको निर्वाचन मिति नसार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । निर्वाचन सारिए आफूहरूलाई अमान्य हुने पनि एमालेको चेतावनी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताको टोलीले सप्तरी घटनासहित निर्वाचनको विषयमा छलफल गरेको छ । बालुवाटारमा भएको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘निर्वाचन तोकिएकै समयमा हुनुपर्छ, यताउति गरिए स्वीकार्य छैन । समयमै सम्पन्न गराउने कुरामा मात्रै हाम्रो समर्थन रहन्छ ।’ एमाले नेताहरूसँगको छलफलअघि प्रधानमन्त्री प्रचण्डलाई मधेसी मोर्चाका नेताहरूले सात दिनभित्र निर्वाचन मिति स्थगित गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका थिए । ओलीले सुरुमै भने : अभियान सुचारु हुन्छ, सुरक्षा प्रबन्ध होस् हेटौँडाबाट मेची–महाकाली अभियान सुचारु हुन्छ । शान्तिपूर्ण रूपमा जनतामा गएर आफ्ना कुरा राख्न पाउने प्रजातान्त्रिक अधिकारको रक्षा गर्ने जिम्मा सरकारको हो, त्यसमा अलिकति तलमाथि भए सरकार नै जिम्मेवार हुन्छ । राम्रो सुरक्षा प्रबन्ध होस्, हामी शान्तिपूर्ण रूपमा संयमतापूर्वक जनताको बीचमा जान्छौँ । प्रधानमन्त्रीको जवाफ : सुरक्षा दिन्छौँ, तर अभियान पुनर्विचार गर्दा उत्तम मोर्चाले सात दिनको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएको छ । यो अवस्थामा परिस्थिति भड्किन नदिन सरकारले पनि मोर्चासँग संवाद बढाउने प्रयास गरिरहेको छ । तपाईंहरूले फेरि अभियान सुचारु गर्दा सकारात्मक वातावरण बन्दैन । अभियानमाथि पुनर्विचार गरिदिँदा धेरै राम्रो हुन्थ्यो । ओलीको प्रतिप्रश्न : कसैलाई झोँक चल्दैमा निषेध गर्न पाइन्छ ? कसैलाई झोँक चल्यो, रहर लाग्यो भन्दैमा तिमी यो ठाउँमा आउन पाइँदैन भन्न पाइन्छ ? त्यही कुराको छिनोफानो गर्न अभियान सुचारु गर्छौँ । हाम्रो अभियान शान्तिपूर्ण हुन्छ । त्यत्रो पेट्रोल बम र ढुंगा प्रहार हुँदा पनि संयमता प्रदर्शन गर्यौँ‍ । हामी त्यस्तै कार्यक्रम गर्छौैँ, तपाईंहरूले सुरक्षाको प्रबन्ध गर्नुपर्छ । देउवाको टिप्पणी : राजविराज घटनामा सरकारको पनि कमजोरी छ राजविराजमा जे भयो त्यसमा सरकारको पनि कमजोरी छ । कुनै पनि दलले शान्तिपूर्ण रूपमा गतिविधि गर्न पाउने लोकतान्त्रिक अधिकारको रक्षा हुनुपर्ने कुरामा कांग्रेस प्रतिबद्ध छ । उक्त दुःखद घटनाको छानबिन हुनुपर्छ । तर, निर्वाचन गराउने वातावरण बनाउन एमालेले सहयोग गर्नुपर्छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

सप्तरी घटनामा बेलायतको चासो, सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह

काठमाडौं, फागुन २६ । सप्तरीमा सोमबार भएको हिंसात्मक घटनाबारे संयुक्त अधिराज्य बेलायतले समेत चासो व्यक्त गरेको छ । काठमाडौंस्थित बेलायती दूतावासले सो घटनामा निधन भएकाप्रति दुख व्यक्त गर्दै सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै सूरक्षा निकाय तथा राजनीतिक दलरुलाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढंगबाट अघि बढ्न आग्रह गरेको छ । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनबारे बेलायत पछिल्लो घटनाले गम्भीर चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

सप्तरी घटनाले मध्य तथा पूर्वी तराई तनावग्रस्त

काठमाडौं, फागुन २५ । सप्तरीमा भएको मधेसीमोर्चा र प्रहरीबीचको झडपमा प्रहरीको गोलीबाट हालसम्म चार जनाको ज्यान गएको घटनाले अहिले तराई तनावग्रस्त बनेको छ । घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिने तराई बन्दको आह्वान गरेको थियो । आज दोस्रो दिन पनि तराईका जिल्लाहरु तनावग्रस्त बनेको छ । बन्दकर्ताले बिहानैदेखि चोकचोकमा प्रदर्शन गरिरहेका छन् । बन्दका कारण जिल्लाको पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा ठप्प रहेको छ । बन्दका कारण तराईमा यातायात संचालनमा आउने सकेको छैन भने धेरै ठाउँहरुमा बजारसमेत बन्छ रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताहरुले प्रमुख ठूला तीन दल विरोधी नारावाजी गर्दै तराईमा प्रदर्शन गरिरहेका छन् । कपिलबस्तुको सदरमुकाम तौलिहवामा जुलुस प्रदर्शन समेत गरेका छन् । मोर्चाको बन्दले दुवै दिन कृष्णनगर भन्सार कार्यालय र सुठौली छोटी भन्सार नाकाबाट ठप्प भएको छ । त्यस्तै मधेसी मोर्चाको बन्दका कारण पूर्वी तथा मध्य तराईको शैक्षिक संस्थान, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना बन्द रहेका छन् । त्यस्तै मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलगायत एमाले नेताहरुको घर छानीछानी तोडफोड गरेका छन् । राजविराज–९ स्थित यादवको घरमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । त्यस्तै एमाले सांसद रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयामासमेत मोर्चाका कार्यकर्ताहरूले तोडफोड गरेका छन् । राजविराजस्थित एमाले पार्टीकार्यालयमा पनि मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् भने व्यानर र झण्डा जलाएका छन् । राजविराज–९ तेतरी गाछीस्थित ‘लिटिल फलावर’ सेकेन्ड्री स्कुलमा पनि तोडफोड गरिएका छन् । स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमासमेत तोडफोड गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज–४ स्थित घरमा पनि आन्दोलकारीले ढुंगामुढा गरिएको छ । निकै आक्रमक रुपमा देखिएका मधेसीमोर्चाका कार्यकर्ताहरुले पसल बन्द गराउँदै हिड्ने क्रममा वीरगन्जको घण्टाघरमा व्यवसायीमाथि हातपात गरेका छन् । पसलहरु बन्द नगरेको भन्दै व्यवसायीमाथि हातपात गरेपछि व्यवसायीहरुले प्रतिकार गर्दा केहीबेर झडप भएको हो । एमालेकाे मेची महाकाली अभियानलाइ विथाेल्न खाेज्दा प्रहरी र माेर्चाका कार्यकतार्बीच साेमबार झडप भएकाे थियाे । झडपमा प्रहरीले गाेली चलाउँदा तीन जनाकाे साेमबार नै र एक जनाले बुधबार ज्यान गुमाएका छन् । त्यसैकाे विराेधमा तराइमा अहिले माेर्चा अाक्राेसित बनेका हुन् ।

गोली चल्दा कहाँ थिए मोर्चा नेतृत्वकर्ता ?

काठमाडौं, फागुन २५ । गोली लागेर तीन जनाको ज्यान जाँदा कहाँ थिए एमालेको कार्यक्रम बिथोल्ने अभियानकर्ता ? सप्तरी मोर्चामा आबद्ध सघीय समाजवादी फोरमका केन्दी्रय सदस्य शैलेन्द्र साहले नागरिकको यो प्रश्नको जबाफ दिँदै भने, ‘मेरो नेतृत्वको टोलीलाई कार्यक्रमस्थलको केही टाढा पूर्वदक्षिणमै सुरक्षाकर्मीले रोकेपछि अघि बढ्न सकिएन् । गोली चल्न थालेपछि भागाभाग भयो । पछि थाहा पाएँ निर्दोष सुरक्षाकर्मीको गोलीको सिकार भए ।’ मोर्चाका सप्तरी संयोजक दिनेश यादवका अनुसार उनले अगुवाइ गरेको कार्यकर्ता टोली र एमाले कार्यक्रमस्थल सुरक्षार्थ अग्रपंतिमा रहेका सशस्त्र प्रहरीबीच धकेलाधकेल क्रममा अश्रुग्यास प्रहार भएपछि भीड तितरबितर भएको थियो । ‘प्रहरीले गोली चलाउन सुरु गरेपछि हामी ज्यान जोगाउँदै पूर्वदक्षिणतर्फ भाग्यौं,’ उनले भने, ‘केहि बेरपछि थाहा भयो बस्तीमा छिरेर सुरक्षाकर्मीको टोलीले चलाएको गोलीबाट निर्दोषले ज्यान गुमाएको ।’ आन्दोलनकारी भन्दा पनि गैरआन्दोलनकारी धेरैलाई प्रहरीको गोली लागेको स्थानीय बताउँछन् । स्थानीय यो घटनालाई सुरक्षाकर्मीको सनकको परिणामको रुपमा चित्रण गर्छन् । सोमबारको घटनापछि मलेठमा शोकसँगै आक्रोश थपिएको छ । स्थानीय प्रश्न छ, ‘उत्पात हाम्रो घर पसेको हो कि हामी उत्पातको घर पसेका हौं ? जसको अपूरणीय सजाय पायौं ।’ यो खबर आजको नागरिक दैनिकमा  छ ।

विधिविहीन बन्दै कांग्रेस

काठमाडौं,फागुन २५ । ‘पार्टी विधान अक्षरसः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउनु छ’, नेपाली कांग्रेस सभापतिमा भोट माग्दै शेरबहादुर देउवाले ठिक एक वर्षअघि भनेका थिए। तर, उनले पार्टी कमान्ड सम्हालेको एक वर्षमा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको छ। पार्टी मूल नेतृत्वमा निर्वाचित भएको एक वर्षमा सभापति देउवा विधानअनुसार सांगठनिक कार्यसम्पादन गर्न असफल बनेका छन् । विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने समिति र निकाय गठन भएको छैन । सभापतिको औपचारिक जिम्मेवारी सम्हालेकै दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले चारपटक गरी १२ केन्द्रीय सदस्य मनोनीत गरेका छन् । बाँकी नौ केन्द्रीय सदस्यसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयन भएको छैन भने संसदीय समिति, केन्द्रीय कार्यसम्पादन, विभाग, ज्येष्ठ राजनीतिज्ञ सभासहित समिति गठनमा नेतृत्व उदासीन देखिएको छ । केन्द्रीय सदस्य शेखर कोइरालाले महाधिवेशनपछिको एक वर्षमा पार्टीको सांगठनिक जीवनमा तात्विक अन्तर नआएको बताए । भ्रातृ संगठनहरूको महाधिवशेन हुनु सकारात्मक ‘इडिकेसन’ भएको धारणा राख्दै उनले भने, ‘व्यक्तिगत रूपमा कसले के ग¥यो त्यो फरक हो तर, संगठन चलायनमान भएन ।’ सभापति निकट केन्द्रीय सदस्य मीन विकले पार्टीको आन्तरिक व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरे । सबैको सहमतिमा पदाधिकारीसहित समितिलाई पूर्णता दिन खोज्दा विलम्ब भएको उनको तर्क छ । ‘आन्तरिक व्यवस्थापनमा केही कमजोरीजस्तो देखिएको छ’, सभापतिको बचाउ गर्दै उनले भने, ‘समकक्षी र प्रतिस्पर्धी नेताहरूको सहमति खोज्दा पदाधिकारीसहित निकाय गठनमा ढिलाइ भएको हो ।’ पदाधिकारी र समितिलाई पूर्णता दिन पार्टीको पहिलो तहका नेताबाट सभापतिलाई असहयोग भएको नेता विकले दाबी गरे । उनले भने, ‘अब दोस्रो र तेस्रो तहका नेताहरूसँग छलफल गरेर भए पनि अघि बढ्नुपर्छ भन्ने सकारात्मक दबाब र सुझाव हाम्रो छ ।’ सभापतिे देउवाले निकटहरूलाई मिलाउन नसक्दा उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा मनोनयन पछाडि धकेल्दै आएको असन्तुष्ट पक्षको आरोप छ । भ्रातृ संगठनको महाधिवेशनपछि पदाधिकारी मनोनयन गर्ने आश्वासन दिँदै आएका सभापति देउवा सरकार विस्तार, संविधान संशोधन हुँदै अब स्थानीय निर्वाचनपछि मात्र पदाधिकारी मनोनयनका पक्षमा छन् । निर्वाचनअघि नै पदाधिकारी मनोनयनले विवाद बढ्न सक्ने विश्लेषणसहित देउवा अझ केही समय पर सार्ने पक्षमा रहेको निकट स्रोतको दाबी छ । एक उपसभापतिमा सभापति निकट विमलेन्द्र निधि, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठको दाबी छ भने महामन्त्रीमा पनि ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्कालगायत आकांक्षी छन् । पदाधिकारी मनोनीत गर्ने सभापतिको पटकपटकको आश्वासन कार्यान्वयन नभएपछि आकांक्षी निकट नेताहरू पनि रुष्ट बनेका छन् । ‘बनाउँछु भनेपछि खै त भनेर भनिरहने कुरा भएन’, पदाधिकारीका एक आकांक्षीले नागरिकसँग भने, ‘उहाँ (सभापति) लाई पदाधिकारी कहिले मनोनीत गर्नुहुन्छ भनेर तपाईंहरूले सोध्नुप¥यो ?’ गुटबन्दी र भागबन्डाको राजनीतिको विरोध गर्दै आएका नेता रामचन्द्र पौडेल निकट नेताहरूले सहमहामन्त्रीमा भाग खोज्दै आएका छन् । सभापतिले निकट नेताहरूको व्यवस्था र विधानको जटिल प्रावधानका कारण पदाधिकारी मनोनयन हुन नसकेको शेखर कोइरालाको बुझाइ छ । पदाधिकारी मनोनयनको अधिकार सभापतिलाई दिने गरी पार्टी विधान संशोधन गर्नुपर्ने तर्क गर्दै कोइरालाले लोकतान्त्रिक पद्धति र सामूहिक नेतृत्वका नाममा पार्टीमा अराजकता बढेको तर्क गरे । संगठन चलाउन सभापतिलाई शक्तिशाली बनाउनुपर्ने जिकिर गर्दै उनले भने, ‘गिरिजाप्रसाद कोइरालालाई हेरेर सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलले एक मतले विधान संशोधन गर्नुभयो । अहिले उहाँहरू त्यसको मार खेपिरहनुभएको छ ।’ कांग्रेस विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले पदाधिकारीको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरी अनुमोदन गर्नुपर्ने व्यवस्था छ । समावेशीका नाममा महासमिति सदस्य नभई महाधिवेशन प्रतिनिधि पनि केन्द्रीय सदस्य उठ्न पाउने व्यवस्था पनि संशोधन गर्नुपर्ने कोइरालाको तर्क छ । ‘लोकतान्त्रिक आवरणमा हामीले पार्टीको धेरै सिस्टम भत्काएका छांै त्यसलाई सुधार गर्नुपर्छ,’ उनले भने, ‘पार्टीको होइन हामी व्यक्तिगत स्वार्थमा केन्द्रित बन्दा समस्या बढेको छ ।’ पार्टी विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । देउवा अघिल्लो वर्ष फागुन २४ मा सभापति निर्वाचित भएका हुन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

जनजाति महासंघको आन्दोलनमा गठबन्धनले सहयोग गर्ने

काठमाडौं, फागुन २३ । संघीय गठबन्धनले नेपाल आदिवासी जनजाति महासंघले ५ बुँदे माग राख्दै सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघको आन्दोलनलाई सक्रियताका साथ सहयोग गर्ने भएको छ । गठबन्धनका प्रवक्ता डा.ओम गुरुङले आइतबार चार बुँदे प्रेस विज्ञप्ती जारी गर्दै महासंघको आन्दोलनमा गठबन्धनको सहयोग हुने जनाएको हुन् । गठबन्धनले तराई मधेसमा जारी पहिचान र संघीयताविरोधी खबरदारी अभियान र भण्डाफोर आन्दोलनमा सहभागी हुन आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, थारु लगायत समुदायसँग अपिल समेत गरेको छ । गठबन्धनले काठमाडौंको शंखरापुर नगरपालिका कायम हुनुपर्ने पक्षमा महिनौंदेखि भइरहेको आन्दोलनमा पनि ऐक्यवद्धता जनाएको छ । गठबन्धनले छिटै अर्को बैठक बसी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

एमालेको अभियानमा अवरोध नगर्न आयोगको आग्रह

काठमाडौँ, फागुन २३ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपु¥याउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको हो । विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबाट एमालेका नेतामाथि आक्रमण गर्नु मानवअधिकारको मूल्यमान्यताविपरीत देखिएकाले त्यस्ता कार्य नगर्न मोर्चाका कार्यकर्तालाई आग्रह गरिएको छ । आगोगले विज्ञप्तिमा कुनै पनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा कार्यकर्तामाथि अमर्यादित र मानवअधिकारको मर्म विपरीतको कार्य भएकाले यस्ता व्यवहार तुरुन्त रोक्न र कुनै पनि राजनीतिकदलको पूर्व निर्धारित कार्यक्रमलाई प्रत्यक्ष अवरोध हुनेगरी कुनैपनि राजनीतिक गतिविधि नगर्न नगराउन मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरिएको छ । “एउटा दलले आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेपछि सो कार्यक्रम बिथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन” विज्ञप्तिमा भनिएको छ– “हिंसात्मक बाटो अपनाउँदा विसं २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई बिर्सन सकिँदैन ।” यसैबीच, अभियान क्रममा एमाले नेता तथा सांसद रन्जुकुमारी झा चढेको जीपमाथि ढुङ्गामुढा भएको घटनाका साथै फागुन १५ गते रौतहटको गौरमा मधेसीमोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुवै पक्ष केही घाइते भएको र शुक्रबार एमाले सप्तरी जिल्ला समितिका सचिव शम्भु यादव र सहसचिव प्रतापनारायण चौधरीलाई राजविराज–१, अदालत रोडमा मोर्चाका कार्यकर्ताले हातपात गरी कालोमोसो दलेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको समेत प्रवक्ता अन्सारीले विज्ञप्तिमा जनाउनुभएको छ । कालोमोसो दली दुव्र्यवहार गरिएको तथा गाडी तोडफोड गरिएको उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न र व्यक्तिको जीवन रक्षा गर्नका साथै आगामी दिनमा हुनसक्ने झडप रोकी सामाजिक सद्भावलाई कायम राख्न आयोगले सरकारलाई आग्रह पनि गरेको छ । रासस