नेपालको खराब बलिङः ५ ओभरमा जिम्बावेले बनायो ५६ रन

काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटमा आयोजक टस जितेर पहिलो ब्याटिङ गरेको जिम्बावेले उत्कृष्ट सुरुवात गर्दै ५ ओभरमा विना विकेट ५६ रन बनाएको छ ।

जिम्बावेका ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट खेलेका छन् ।

नेपालका सोमपाल कामी, कप्तान पारस खड्का, बसन्त रेग्मीले सुरुवाती खराब बलिङ गरेका छन् ।

ब्लड बैंकको भवन प्रदर्शनी मार्गमै बन्ने

काठमाडौं, फागुन १८ । रक्तदाता र रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई सहज पहुँचको स्थान यहाँस्थित प्रदर्शनी मार्गमा नै केन्द्रीय रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ । विसं २०२३ देखि सुरक्षित र स्वच्छ रक्तसञ्चार सेवा तथा रगतको अनुसन्धानसमेत गर्दै आएको सो केन्द्रको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको थियो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सो केन्द्र हाल अस्थायी रुपमा ललितपुरको ग्वार्कोबाट सञ्चालित हुँदै आएको छ । विश्व स्वास्थ्य संगठनको भवन मापदण्ड एवं केन्द्रका लागि आवश्यक उपकरणका लागि नेपाल रेडक्रसलाई थाइल्याण्ड (थाई) रेडक्रसले करीव रु ४५ करोड आर्थिक सहयोग प्रदान गरेको छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपालका लागि थाई राजदूत भागवत तान्स्कुलले संयुक्त रुपमा भवनको आज शिलान्यास गर्नुभयो । सोसाइटीका प्रबन्ध निर्देशक एवं भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार पाँचतले अत्याधुनिक सो भवन १८ महिनाभित्र बन्नेछ । भवनमा रक्त सेवालगायत अनुसन्धान कक्षसमेत रहनेछ । भवन निर्माणको जिम्मा लामा कन्ट्रक्सन कम्पनीले पाएको छ । सर्वोच्च मानवीय संस्था नेपाल रेडक्रसका विभिन्न मानवीय कार्यक्रममध्ये रक्तसञ्चार सेवा उच्च प्राथमिकतामा छ । हाल यसले करीव सबै जिल्लामा रक्तसञ्चार सेवा पु¥याएको छ । केन्द्रीय रक्तसञ्चार केन्द्रमा दैनिक ४०० युनिटभन्दा बढीको रगत माग हुने गरेको र सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । गत वर्ष मात्र केन्द्रले करीव तीन लाख ३७ हजार ३२१ युनिट रगतको सेवा दिएको थियो । कार्यक्रममा सांसद जीपछिरिङ शेर्पाले मापदण्डअनुसारको भवन समयभित्र गुणस्तरीय र सुरक्षित रुपमा बन्ने जानकारी दिनुभयो । कामपाका प्रमुख शाक्यले सामाजिक संघसंस्थाको भवन निर्माण गर्दा नक्शा पासमा करको छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । सोसाइटीका अध्यक्ष थापा र महामन्त्री देवरत्न धाख्वाले रगतको सुरक्षा र स्वच्छतामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । थाई राजदूत तान्स्कुलले आगामी दिनमा नेपाल रेडक्रसलाई थप सहयोग गरिने जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्रका निर्देशक डा रेखा मानन्धर तथा थाई रेडक्रसका निर्देशक डा उबोनवोन चारुवाङग्रीटले रक्तसञ्चार सेवाको महत्वबारेमा बोल्नुभएको थियो । रासस

श्रीदेवीको शव दुबई प्रहरीले परिवारलाई बुझायो, भारत ल्याउने तयारी

काठमाडौं, फागुन १५ । श्रीदेवीको शवलाई दुबई प्रहरीले मंगलबार परिवारलाई सुम्पिएको छ। शव भारत ल्याउने तयारी भइरहेको बताइएको छ । स्थानीय कानूनका कारण श्रीदेवीको शव ल्याउन ढिलाई भएको हो । गएको शनिबार राति ११ बजे मृत्यु भएको भएपनि अहिले सम्म दुवई प्रहरी शव उनको परिवारलाई दिएको थिएन । दुबइको कानून अनुसार अस्पताल बाहिर भएको मृत्यु विभिन्न प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । जसका कारण ढिलाई भएको बताइएको छ । दुबई प्रहरीले शुरुमा श्रीदेवीको मृत्यु कार्डिक अरेष्टका कारण भएको बताएको थियो तर सोमबार सार्वजनिक गरिएको फोरेन्सिक रिपोर्टले उनको मृत्यु बाथटबमा डुबेर भएको पुष्टी गरेको छ । भारतमा श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने तयारी भएको छ ।

संघीय संसद्को ऐतिहासिक अधिवेशनको तयारी

काठमाडौं, फागुन १५ । नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते नेपालको संविधानको धारा ९३ ९१०० बमोजिम गर्नुभएको आह्वानअनुसार यही फागुन २१ गते अपराह्न ४ बजेका लागि दुवै सदनको बैठक बस्नेछ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले दुवै सदनका सदस्यको शपथ र पहिलो बैठकको तयारीमा आफूहरु रहेको जानकारी दिनुभयो । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुनुहुन्छ । दुवै सदनको संयुक्त रुपलाई संघीय संसद् भनिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ । गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ संघीय संसद्का नवनिर्वाचित सदस्यको पहिलो बैठकको अघिल्लो दिन फागुन २० गते शपथ ग्रहण कार्यक्रम हुनुपूर्व दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शीतल निवासमा शपथ लिनुहुनेछ । प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । उहाँहरुलाई सम्बन्धित सदनका ज्येष्ठ सदस्यले शपथ दिलाउनुहुनेछ । सभामुख अध्यक्षको निर्वाचन नभएसम्म उहाँहरुले नै बैठकको अध्यक्षता गर्नुहुनेछ । प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य हुनुहुन्छ । राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरुको शपथ नहुने भएको छ । अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्चमा रिट निवेदन परेको थियो । फौजदारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उहाँहरु आएमा शपथ लिन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताउनुभयो । फागुन २० गते सम्बन्धित सदनको बैठक कक्षमा प्रतिनिधिसभाका सदस्यले अपराह्न ४ र राष्ट्रियसभाका सदस्यले ५ बजे शपथ लिनुहुनेछ । थारुदेखि हिन्दी भाषामा शपथ संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले उक्त भाषाबारे जानकारी दिने क्रम जारी छ । संघीय संसद्का सदस्य अनिलकुमार झाले हिन्दी, प्रदीप यादव र हरिनारायणप्रसाद रौनियारले भोजपुरी, मोहमद इस्तियाक राईले अवधी तथा शान्ता चौधरी र गंगा चौधरी सत्गौवाले थारु भाषामा शपथ लिने जानकारी दिनुभएको छ । कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ । कार्यसूचीका लागि छलफल बुधबार प्रवक्ता डा गौतमका अनुसार पहिलो बैठकको तयारीका लागि बुधबार अपराह्न २ बजे सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्श हुनेछ । कार्यसञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने भएकाले सचिवालयले त्यसको मस्यौदा तयार गरेको छ । मस्यौदालगायत अन्य कार्यसूचीबारे दलसँग छलफलपछि कार्यसूची बन्नेछ । एकै दिन एकै समयमा दुवै सदनको बैठक आह्वान भए पनि ती सदनको बैठक अलग अलग रुपमा सम्बन्धित सदनको कक्षमा बस्नेछ । सभामुख–अध्यक्षको निर्वाचन तयारी संविधानमा संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष फरक दल र फरक लि¬ङ्गको व्यक्ति हुनुपर्ने प्रावधान छ । दुई दलको समर्थनमा प्रधानमन्त्रीको नियुक्ति भएकाले नियुक्तिको ३० दिनभित्र अर्थात् आगामी चैत ३ गतेभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि सचिवालयले आवश्यक तयारी गरेको प्रवक्ता डा गौतमले बताउनुभयो । व्यवस्थापनमा रु साढे तीन करोड सचिवालयले दुवै सदनको सभाकक्ष निर्माण, मर्मत र माइक व्यवस्थापनका लागि रु तीन करोड ५० लाख बजेट पाएको छ । सचिवालयले एक वर्षअघि नै अध्ययन गरी अर्थ मन्त्रालयसँग माग गरेबमोजिम सो रकम निकासा भएको हो । सचिवालयले सिट व्यवस्थापन, माइक प्रणाली व्यवस्थापन, सञ्चार कक्ष, राष्ट्रियसभाका अध्यक्ष÷उपाध्यक्षको कक्ष र कार्यव्यवस्था परामर्श समितिको बैठक व्यवस्थापन गरिसकेको छ । दुवै सदन सञ्चालनका लागि सचिवालयसँग हाल ३५० जनशक्ति कायम रहेको र थप ७५ कर्मचारी पदपूर्तिका क्रममा रहेकाले जनशक्तिको कमी नहुने उहाँले जानकारी दिनुभयो । रासस

यसरी पाए समलिंगी जोडीले भिसा

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतको फैसलापछि एक समलिंगी जोडीले वैवाहिक सम्बन्धका आधारमा गैर पर्यटकीय भिसा पाएका छन् । अध्यागमन विभागले समलिंगी विवाह गरेकी कञ्चनपुर घर भई भक्तपुर अनन्तलिंगेश्वर बस्ने सुमन पन्त र अमेरिकी युवती लेस्ली लुइक मेल्निकलाई शुक्रबार ६ महिनाको गैरपर्यटकीय भिसा दिएको हो । भिसा लिन दुवै जना शुक्रबार अपराह्न अध्यागमन विभाग पुगेका थिए । सुमन र अमेरिकी नागरिक लुइकले २०१५ डिसेम्बर १८ मा अमेरिकाको क्यालिफोर्नियामा ‘कोर्ट म्यारिज’ गरेका थिए । अध्यागमनले भिसा दरखास्त फारममा पति वा पत्नी उल्लेख भएकाले समलिंगी जोडीलाई भिसा दिन नमिल्ने भनेको थियो । त्यसपछि उनीहरू न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका थिए । लेस्लीले नेपालमा सुमनसँगै बस्न गैरपर्यटकीय अन्तर्गतको म्यारिज भिसाका लागि सन् २०१६ डिसेम्बर २९ अध्यागमन विभागमा निवेदन दिएकी थिइन् । भिसा लिने प्रक्रियामा गरिने सनाखतमा पति÷पत्नी शब्द प्रयोग नगरी अंग्रेजी भाषमा ‘स्पाउस’ शब्द प्रयोग गरिएको छ। सर्वोच्चको आदेशबमोजिम नै उनीहरूले भिसा पाएका हुन् । अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले गत कात्तिकको सर्वोच्चको आदेशबमोजिम पन्त र मेल्निकीलाई भिसा दिइएको बताए। निर्देशक निरौलाले अन्नपूर्णसँग भने, ‘उनीहरूलाई पहिलो पटकलाई ६ महिनाको भिसा दिएका छौं ।’ उनीहरूले भिसाका लागि अमेरिकामा दर्ता भएको विवाह प्रमाणपत्र, नेपालस्थित अमेरिकी दूतावासले दिएको प्रमाणपत्रलगायत कागजात पेस गरेका थिए। भिसा पाइसकेपछि उनीहरू निकै हर्षित मुद्रामा देखिन्थे । -अन्नपूर्ण पोस्टमा खबर छ ।

त्रिकोणीय श्रृंखला अस्ट्रेलियाको पोल्टामा, आइसीसी टी-२० वरियतमा पनि उक्लियो माथि

काठमाडौं । अस्ट्रेलियाले न्युजिल्याण्डलाई १९ रनले पराजित गर्दै त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि हात पारेको छ। ट्रान्स-तस्मान सिरिज नाम दिइएको इंग्ल्याण्ड, अस्ट्रेलिया र न्युजिल्याण्ड बीचको यो शृंखलाको फाइनल खेल वर्षाले बाधित भएपछि डकबर्थ लुइस नियम अनुसार अस्ट्रेलियालाई विजेता घोषित गरिएको हो । यसका साथै घरेलु जमिनमा यसअघि भएको एक दिवसीय शृंखलामा बेहोरेको लज्जास्पद हारको बदला पनि लिएको छ । हाल उत्कृष्ट प्रदर्शन गरिरहेको अस्ट्रेलियाको यो टि-२० अन्तर्राष्ट्रिय खेलमा लगातार छैठौं जित पनि हो। यसका साथै शृंखला सुरु हुनु अघि टि-२० अन्तर्राष्ट्रिय वरियतामा सातौँ स्थानमा रहेको अस्ट्रेलिया सिरिज जितसंगै दोस्रो स्थानमा उक्लिएको छ। पहिले ब्याटिंग गरेको घरेलु टोली न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रनको योगफल तय गरेको थियो। उसका रस टेलरले सर्वाधिक ४३ रनको योगदान दिए। पहिलो विकेटका लागि दुबै ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरोबीच ४८ रनको साझेदारीमा न्युजिल्याण्डले राम्रो सुरुवात गरेको भएपनि बिली स्ट्यानलेकको बलमा डेभिड वार्नरलाई क्याच थमाउँदै मार्टिन गुप्टिल(२१) प्याभेलियन फर्किएपछि भने न्युजिल्याण्डका ब्याटिंग पंक्ति तासको घर झैँ भत्किन थालेको थियो । एक छेउबाट लगातार रुपमा विकेट झरिरहे पनि अर्को छेउबाट टेलरले उत्कृष्ट ब्याटिंग गर्दै ३८ बलमा २ चौका र २ छक्काको मद्दतले ४३ रन जोडेका थिए। अस्ट्रेलियाली बलिंग आक्रमणमा एस्टन एगरको दबदबा रह्यो । उनले सर्वाधिक ३ विकेट तथा केन रिचर्डसन् र एन्ड्रीयु टाईले समान २-२ विकेट लिए। जवाफमा १५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कंगारु टोलिले उत्कृष्ट सुरुवात गऱ्यो । मात्र ७ ओभरमा पहिलो विकेटका लागि डार्सी शर्ट र डेभिड वार्नर बीच ७२ रनको ओपनिंग साझेदारी भयो। बिष्फोटक पारि खेलेका शर्ट मात्र ३० बलमा ६ चौका र ३ छक्का सहित ५० रन बनाएर आउट भए। अस्ट्रेलियाली ब्याट्सम्यानहरू १४.४ ओभरमा वर्षाले बाधा पुऱ्याए पछि खेल स्थगित भयो र डकबर्थ लुइस नियमानुसार अस्ट्रेलियालाई १९ रनले विजेता घोषित गरियो । न्युजिल्याण्डको बलिंगमा ईश सोढी, मिचेल स्यांटनर र कोलिन मुनरोले समान १-१ विकेट लिए। अस्ट्रेलियाका एस्टन एगर खेलको प्लेयर अफ दि म्याच घोषित हुँदा अस्ट्रेलियाकै ग्लेन म्याक्सवेल शृंखलाकै उत्कृस्ट खेलाडी घोषित भए। यसअघि भएको खेलमा इंग्ल्याण्डसँग हारे पनि नेट रन रेटका आधारमा न्युजिल्याण्डले फाइनल खेल्ने अवसर पाएको थियो ।  

माओवादीबाट उपप्रधान र गृहसहित बादलको नेतृत्व, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं, फागुन ९ । नेकपा माअाेवादी केन्द्र वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा  सरकारमा सहभागी हुने बारे छलफल चलिरहेकाे छ । तर अाैपचारिक रुपमा निर्णय भैसकेकाे छैन् । अध्यक्ष प्रचण्डको निवासमा बसेको बैठकले उपप्रधानसहित गृहमन्त्रीका रूपमा थापाको नेतृत्वमा सरकारमा सहभागी हुनेबारे छलफल भएकाे बताइएको छ । नेकपा एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलार्इ गृह मन्त्रालय दिने सहमति एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको स्रोतको दावी छ । सम्भवतः अाज साँझसम्म माओवादी केन्द्रका तर्फबाट बादलसहित अर्का एक नेता मन्त्रीपरिषदमा सहभागी हुनेछन् । आफूले पद सम्हालेकै दिन एमाले र माओवादी दुवैतर्फका २–२ जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल गठन गर्ने ओलीको चाहना थियो । पार्टी एकता र राजकीय भूमिका तथा सरकारका समग्र विषयमा प्याकेजमै सहमति नभर्इ माओवादीले मन्त्रीको नाम नदिएपछि ओली ३ सदस्यीय मन्त्रीमण्डलमा सीमित रहे । माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायतको नाम चर्चामा छ ।

अहिलेसम्म मुख्यमन्त्रीदेखि मन्त्रीसम्म कुनै निवास टुंगो लाग्न सकेन

कैलाली । प्रदेश नं ७ मा पनि मन्त्रीमण्डल गठन भइसकेसँगै मन्त्रालयको आवश्यक भौतिक संरचनाको निर्माण कार्य तीव्र भइरहेको छ । मुख्यमन्त्री, मन्त्री, सभामुख तथा उपसभामुखकोे निवासदेखि मन्त्रालयको अन्य भौतिक संरचना निर्माण कार्य तीव्र भइरहेको हो । अन्य प्रदेशमा अस्थायी मुकाम निश्चित हुने वित्तिकै मन्त्रालयलगायत अन्य व्यवस्थापन कार्य सुरु भएको थियो । तर, प्रदेश सातमा भने ढिलाइ हुँदा अहिलेसम्म मन्त्रीको निवासको समेत टुंगो लाग्न सकेको छैन । एक हप्ताभित्रै मुख्यमन्त्री, मन्त्री, सभामुख तथा उपसभामुखको निवासलगायत बाँकी पूर्वाधार निर्माण भइसक्ने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । अहिले तत्कालका लागि मन्त्रीको निवास कहाँ राख्ने भनेर खोजी भइरहेको उनको भनाई छ । अहिलेका लागि उद्योग वन पर्यटन, कृषि सहकारी तथा भौतिक पूर्वाधार विकासमन्त्रीको निवासका लागि साविकको सिंचाइ डिभिजनको कार्यालय हुने प्रजिअ रिजालले जानकारी दिए । त्यस्तै, सामाजिक विकास मन्त्रीका लागि सोही मन्त्रालय र अन्य मन्त्रीको आवासका लागि सरकारी भवन मर्मत भइरहेको उनले बताए । मन्त्री, सभामुख तथा उपसभामुखको निवासका लागि करिव टुंगो लागे पनि मुख्य मन्त्रीको लागि भने खोजी कार्य जारी छ । आवासको ठेगान नलाग्दासम्म अहिले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा उपसभामुख गेष्ट हाउसमा बसिरहेका प्रजिअ रिजालको भनाई छ ।

कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’ मिले एमाले-माओवादी केन्द्र

काठमाडौं, फागुन ८ । नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्।हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अठोटसहित नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद-लेनिनवाद बनाउने गरी दुई पार्टीले कम्युनिस्ट आन्दोलनकै इतिहासमा ‘आइस ब्रेक’ गरेका हुन्। कम्युनिस्ट पार्टी स्थापनाको ६८ वर्षको इतिहासमा एमाले-माओवादीको एकता ठूलो परिघटना हो। एकताको प्रारम्भिक आधारको सहमतिपत्रमा हस्ताक्षरपछि नेताहरूले यसलाई कम्युनिस्ट आन्दोलनमा मात्र नभई देशको सुशासन, स्थायित्व र विकासकै लागि ऐतिहासिक परिघटना भनेका छन्। २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। तर २०१९ सालको तेस्रो महाधिवेशनसँगै कम्युनिस्ट पार्टीमा विभाजनको शृंखला कोरिएपछि यी दुई पार्टीले फरक-फरक स्कुलिङमा पार्टी चलाउँदै आएका थिए। सोमबार एकताको घोषणा गरेका यी दुई पार्टीको ५५ वर्षपछि पुनर्मिलन भएको हो। संयुक्त नेतृत्व, आलोपालो प्रधानमन्त्री एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने भित्री समझदारी पनि यी दुई पार्टीले बनाएका छन्। लिखित समझदारीमा यो विषय उल्लेख नभए पनि नेताहरूबीच समझदारी भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्र्ने र सरकारमा साढे दुई-साढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति हामीबीच भएको छ,’ बैठकपछि नेता खनालले अन्नपूर्णसँग भने, ‘पार्टी एकताकै लागि यो एउटा महत्वपूर्ण ब्रेक थु्र हो।’ दुई कार्यदल गठन एमाले-माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल पनि सोमबारको बैठकबाटै गठन गरेका छन्। एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन भएको छ। समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।

एमाले–माओवादी एकताको खाकामा आजै हस्ताक्षर हुन सक्ने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियाको खाकामा आज साँझ बस्ने संयोजन समितिको बैठकमा हस्ताक्षर हुन सक्ने देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक भएका ‘वान टु वान’ वार्तामा एकता प्रक्रियाबारे सहमति भइसकेकाले आज साँझ वालुवाटारमा हुने बैठकमा एकताको खाकामा हस्ताक्षर हुने सम्भावना रहेको माओवादी निकट स्रोतले जनाएको छ । एकता संयोजन समितिको बैठक साँझ साढे ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । एमालेले अडान लिएको जनताको बहुदलीय जनवाद (जबज) र आगामी कार्यदिशाबारे सहमति भए एकताको खाकामा हस्ताक्षर हुनेछ । एकताको प्रक्रिया टुंग्याउन आज बिहान समेत ओली र प्रचण्डवीच ‘वान टू वान’ वार्ता भएको थियो । वार्तामा दुई पार्टीबीचको एकतामा देखिएको सैद्धान्तिक विवाद टुंगिएको जानकारी प्रचण्डले पार्टीका नेतासँगको अनौपचारिक बैठकमा बताएका छन् । शक्ति बाँडफाँडका धेरै विषयमा फागुन २ गते पार्टी एकता संयोजन समितिको बैठकमा नै सहमति जुटाएको दावी गरिएको थियो । पार्टी नेतृत्वमा ओली र प्रचण्ड समान हैसियतमा रहने, सरकारको नेतृत्व दुबै नेताले आलोपालो गर्ने तथा सैद्धान्तिक विषयलाई महाधिवेशनसम्म बहसमा लैजाने मोटामोटी सहमति भएको जनाइएको छ । सहमति अनुसार प्रधानमन्त्री हुने नेता पार्टीको सेरमोनियल अध्यक्ष र अर्को नेता अधिकारसम्पन्न अध्यक्ष हुनेछन् । अर्थात्, सुरुमा ओली प्रधानमन्त्री र सेरमोनियल अध्यक्ष तथा प्रचण्ड अधिकारसम्पन्न अध्यक्ष हुनेछन् । दोस्रो कार्यकालमा ओली अधिकारसम्पन्न अध्यक्ष र प्रचण्ड प्रधानमन्त्री एवं सेरमोनियल अध्यक्ष हुनेछन् । सुरुकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुबै आधा–आधा समय प्रधानमन्त्री हुनेछन् । सहमति अनुसार राष्ट्रपति र उपसभामुख एमालेलाई तथा उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई हुनेछ । एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने एक सयभन्दा कमको केन्द्रीय समिति बनाउने सहमति छ । त्यस्तै संगठनात्मक संरचनाबारे गृहकार्य गर्न र पार्टीको अन्तरिम विधानका लागि कार्यदल गठन गरिने छ । एकता संयोजन समितिले दुई पक्षबीच भएको सहमतिलाई अन्तिम रुप दिने तयारी छ ।

जलविद्युतमा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

काठमाडाैं । सरकारले विद्युत् आयोजनाका काम गर्न आउने परामर्शदाता, विदेशी प्राविधिक तथा प्रवद्र्धकलाई विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न ‘विद्युत् आयोजनाका लागि विदेशी विनिमय सुविधा सिफारिससम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयनमा ल्याएको छ । ऊर्जा मन्त्रालयले गत माघको अन्तिम सातादेखि उक्त कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । मुलुकमा निर्माणाधीन र निर्माणका क्रममा आउन लागेका आयोजनामा कार्यरत विदेशी नागरिकले पारिश्रमिकबापत लिने रकम विदेशी मुद्रामा नै भुक्तानी दिने व्यवस्थाका लागि उक्त कार्यविधि कार्यान्वयनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेका अनुसार सबै प्रकारका करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक ड्राफ्ट, प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र र क्रेडिट कार्डलाई जनाउने गरी कार्यविधि ल्याइएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रकम झिक्न विशेष अधिकार दिएका निकाय, एशियन करेन्सी युनिट, यूरोपियन करेन्सी युनिट तथा बैंकले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य उपकरणसमेतलाई जनाउने गरी कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिअनुसार परामर्श सेवाका लागि चाहिने विदेशी विनिमय सुविधा लिनका लागि विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीको बहाल रहेको सर्वेक्षण अनुमतिपत्रको प्रतिलिपि, सम्झौतामा उल्लेखित कार्यको प्रगति विवरण, सम्झौता बमोजिम सम्पन्न कार्यको प्रवद्र्धकबाट जारी स्वीकारपत्रको प्रतिलिपि, सम्झौता बमोजिम कार्यका लागि आवश्यक विदेशी विनिमयको अधिकतम रकम उल्लेख भएको आवश्यक कागजात, विदेशी मुद्रा अपचलन नगर्ने कबुलियतनामा र अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणित प्रतिलिपि र भुक्तानीका लागि सिफारिस माग भएको रकमको कर कट्टा गरी कर दाखिला गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि जरुरी रहने कार्यविधिमा समावेश गरेको छ । विद्युत् आयोजनाको विकास गर्न चाहने प्रवद्र्धकले विद्युत्को उत्पादन, प्रसारण तथा वितरणसम्बन्धी निर्माण कार्यको परामर्श सेवाबापत गर्नुपर्ने भुक्तानीका प्रचलित कानून बमोजिम सम्झौतामा उल्लेख भएको रकम उल्लेख गर्नुपर्ने जनाइएको छ । नेपालमा विशेष गरी जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), सुरुङ निर्माण तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल कार्यमा विदेशी परामर्शदाताले काम गर्दै आएका छन् । केही परियोजनामा त इन्जिनियर तथा प्राविधिकसमेत विदेशी नागरिक कार्यरत छन् । कार्यविधिको अभावमा केही आयोजनामा कार्यरत विदेशी प्राविधिक पर्यटक प्रवेशाज्ञामा आउने, काम गर्ने र सकिएपछि पुनः म्याद थप गर्ने गरिएको छ । नेपालमा काम गर्न आउने प्राविधिक तथा अन्य कामदारले श्रम स्वीकृतिसमेत लिनुपर्ने प्रावधान रहेको छ । यस्तै आयोजनाका लागि आवश्यक पर्ने मालसामान खरिदका लागि चाहिने विदेशी विनिमय सुविधाका लागि पनि नयाँ कार्यविधि सहायक सिद्ध हुने ऊर्जा मन्त्रालयले जनाएको छ । विद्युत्को उत्पादन, प्रसारण तथा वितरणको सर्वेक्षण तथा निर्माण, मर्मत एवं सम्भारकार्य, मालसामान आपूर्तिकर्तासँग सम्झौताको नोटरी पब्लिकबाट प्रमाणित कागजात, भुक्तानीका लागि जारी भएको बिल बिजक, सम्झौता बमोजिमको कार्यका लागि आवश्यक विदेशी विनिमयको अधिकतम रकम उल्लेख भएको कागजात जरुरी पर्नेछ । विगतमा प्राप्त गरेको विदेशी विनिमय सुविधाको प्रमाण खुल्ने कागजात तथा विद्युत् उत्पादन तथा वितरणको सञ्चालित आयोजनाको मर्मत सम्भारको कागजात जरुरी पर्नेछ । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र, २०७२ व्यवस्था भएअनुसार विद्युत् उत्पादन, प्रसारण तथा वितरणसम्बन्धी आयोजनाको सर्वेक्षण कार्य र परामर्श सेवासँग जोडिएका विषयलाई उक्त कार्यविधिले सम्बोधन गरेको छ । कार्यविधिले जलविद्युत् आयोजनालाई सहज रुपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

घरजग्गाको मूल्य आकासियो

तेह्रथुम, फागुन ४ । ग्रामिण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनसंरचना गरेपछि घरजग्गाको मूल्य आकासिएको छ । गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका क्षेत्रमा हाल घर घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रुपमा हुन थालेका छन् । फलस्वरुप जग्गा र घडेरीको मूल्य पहिलेको भन्दा दोब्बर तेब्बरले बढेको छ । पुनर्संरचनापछि सदरमुकाम म्याङलुङमा मात्रै केन्द्रित भएको सरकारी सेवा सुविधा गाउँ गाउँमा रहेका बजारसम्म पुगेको छ । केही महिनाअघिसम्म असुविधायुक्त भनिएका बजारहरु नै अहिले सेवाग्राहीको गन्तव्य बनेको खबर आजको कारोबारमा छापिएको छ । केन्द्र तोकिएका बजारमा चहल पहल बढ्दो छ । ती बजारमा घरजग्गाको कारोबारसमेत आकासिएको छ ।

सेक्स सम्बन्धी दश रोचक तथ्य

काठमाडौं । यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन सम्बन्धि विभिन्न मानवीय गुण एवं व्यवहार र तथ्यको बारेमा जानकारी नहुन सक्छ । जसको प्रमुख कारण हो सेक्सका विषयमा खुलेर कुरा गर्न हाम्रो समाजमा बर्जित गरिएको छ । त्यसैलेहामीले यहाँ पुरुषका यौन सम्बन्धी दश रोचक तथ्य प्रस्तुत गरेका छौँ । जुन यसप्रकार छन : १. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघरसम्म पुग्छन् । तर एउटा शुक्रकिटले मात्र डिम्बसँग मिल्ने मौका पाउँछ । २. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले उक्त हर्मोनले महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँने र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्ने बताएको छ । ३. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको शरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । शरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ । ४. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ । ५. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् । ६. जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा हुन्छ । ७. साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ । ८. सयौं प्रेम जोडीबीच गरिएको एक अध्यया अनुसार महिला भन्दा पुरुष छिटो प्रेममा फस्छन् । ९. पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ । १०. खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।

वाल विवाह र बैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढायाे

झापा, माघ २५ । झापामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । सानै उमेरमा विवाह गर्ने र वैदेशिक रोजगारीम जाने गरेका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएको बताइएको छ । गत आर्थिक वर्ष २०७३/७४ मा ६ सय ७१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७४/७५ को हालसम्ममा ३ सय ३२ मुद्दा दर्ता भएको जिल्ला अदालत झापाले जनाएको छ । २०७४/७५ को माघ २३ गते सम्ममानै ३ सय ३२ मुद्दा अदालतमा आउनु उच्च भएको जिल्ला अदालत झापाका शाखा अधिकृत इन्द्रबहादुर योङ्हाङले बताए । यही अनुपातमा मुद्धा दर्ता हुँदै गए गत वर्षको तुलनामा यस आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा उच्च हुने उनको भनाई छ । सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३५ वर्ष उमेर समूहका छन् । ग्रामीण क्षेत्रका परिवारमा कम चेतना, कम उमेरमानै विवाह हुनु, सम्पत्ति तथा अंश, श्रीमान् वैदेशिक रोजगारीमा जानु, घरेलु हिंसा सहन नसक्नुलगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढेको बताइएको छ ।

दक्षिण अफ्रिकासामु भारतले दियो ३०४ को लक्ष

काठमाडौँ  । दक्षिण अफ्रिकाको केप टाउनमा  भइरहेको वान डे म्याचमा भारतले दक्षिण अफ्रिकासामु तीन सय चार रनको लक्ष दिएको छ । ओपनिंग ब्याट्सम्यान रोहित शर्मा शून्य रनको व्यक्तिगत स्कोरमा रबाडाद्वारा आउट भएपछि शिखर धवन र क्याप्टेन विराट कोहलीले पारीलाई सम्हालेका थिए । धवनले १२ चौका सहित ६३ बलमा ७६ रन बनाए भने कोहलीले १५९ बलमा १२ चौका र दुई छक्काको मद्दतले नटआउट १६० रन बनाएर आफ्नो वान डे क्यारियरको ३४ औँ शतक लगाए । दक्षिण अफ्रिकी बलरहरूले छ भारतीय ब्याट्सम्यानहरूलाई प्याभेलियन पठाएका थिए । यस क्रममा जेपी डुमिनीलाई दुई र रबाडा, क्रिस मोरिस, ताहिर र फेह्लुक्वायोले एक-एक विकेट लिएका थिए । समाचार तयार हुँदासम्म दक्षिण अफ्रिकाले छ ओभरको खेलमा एक विकेटको क्षतिमा २८ रन जोडेको छ । उसले हासिम आमला (२ बलमा १) का रुपमा विकेट गुमेको छ । छ वान-डे म्याचहरूको शृंखलाको यो तेस्रो म्याच हो । शृंखलामा भारत २-० ले अगाडि छ ।  

गायक युवराजको ‘मनको सुन्दर फुलबारीमा’ गीतको भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

गायक युवराज चौलागाईको स्वरको नयाँ गीत ‘मनको सुन्दर फुलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विपिन किरणको शब्द तथा लक्ष्मण श्रेष्ठको संगीतको सो गीत आधुनिक शैलीको छ । विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको विचलनलाई चित्रण गरिएको छ । गितको एरेन्ज सचिन सिंहले गरेका हुन । म्युजिक भिडियोमा अनु शाह, प्रविन ठकुरी र दिपक श्रेष्ठले अभिनय गरेका छन् । मायाको फुलबारी भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन् । हेर्नुहोस म्युजिक भिडियोः