विभिन्न हिमालमा दशकौंदेखि बेवारिसे शव, व्यवस्थापन नहुँदा आरोही त्रसित

काठमाडौं, चैत १ । दशकौंदेखि हिमालका रहेको बेवारिसे शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन् ।

आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल हिमाल आरोहणमा जाँदा बाटैभरी शव कुल्चिनुपर्ने बाध्यता छ ।

आठहजार माथिका अधिकांश हिमालमा बाटैभरी प्रशस्त शव भेटिन्छन् । चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किदैं खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष तथा आरोही गाइड लाक्पा नुर्बु शेर्पाले बताए ।

हिमपातले पुरिने र हिउँ पग्लिएपछि फेरि देखिने गर्दा शवको संख्या यकिन भएको छैन । पर्यटन विभागको निगरानी नपुग्दा विनाअनुमति हिमाल आरोहणमा जानेको मृत्यु भएको हुँदा शवको यकिन तथ्यांक विभागसँग समेत छैन । -अन्नपूर्ण पोस्ट दैनिकबाट

लोकतन्त्र मजवुत बनाउन प्रतिपक्ष दल जिम्मेवार हुनुपर्छ : देउवा

काठमाडौं, फागुन ३० । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि काँग्रेसद्वारा आज यहाँ आयोजित अभिमुखिकरण कार्यक्रममा उहाँले विपक्षमा रहेको बेला पार्टीको भूमिका सरकारमा रहेको भन्दा बढी सबल हुने बताउनुभयो । सभापति देउवाले विसं २००७ देखि प्रजातन्त्रका लागि लड्दै आएको काँग्रेस यतिखेर संघीय संसद् र प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै “संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणका लागि अहिले काँग्रेसको काँधमा महत्वपूर्ण चुनौती आएको छ, त्यसको सामना गर्न एकतावद्ध भएर र अध्ययनशील हुन आवश्यक छ,” भन्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा विपक्षीले कस्तो मुद्दा उठाए भनेर जनताले हेरिरहेका हुन्छन, त्यसैले अध्ययन गरेर तर्कका साथ प्रस्तुत हुनुहोला, त्यसैका आधारमा आगामी निर्वाचनमा जनमत बन्ने हो ।” कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा जनताका मुद्दा कसरी उठाउने त्यसका लागि अध्ययनको आवश्यकतापर्ने भन्दै विरोधका लागि विरोध नभइ तर्कका आधारमा जनसावलका मुद्दा उठाउन आग्रह गर्नुभयो । संसद् तथा प्रदेशसभाका प्रक्रियामा प्रभावकारी रुपमा प्रस्तुत हुन आग्रह गर्दै उहाँले भन्नुभयो— “लोकतन्त्र मजवुत बनाउन प्रतिपक्ष दल जिम्मेवार हुनुपर्छ ।” काँग्रेस महामन्त्री डा शशांक कोइरालाले संसद्मा प्रतिपक्ष दलको भूमिका महत्वपूर्ण हुने बताउँदै गुण र दोषका आधारमा मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघीय संसद् र प्रदेशसभाका काँग्रेसका १८९ सदस्य सहभागी हुनुहुन्छ । एक दिने सो अभिमुखीकरण कार्यक्रममा पार्टीका नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल र पूर्व सचिव ठाकुरप्रसाद बरालले प्रशिक्षण दिनुहुनेछ ।

अष्ट्रेलियामा समलिङ्गीहरुलाई विवाहको अनुमति पाइएपछि….

अष्ट्रेलिया । कैयनको आकर्षणको देश । अहिले भने यो देशमा एउटा बेग्लै रौनक देखिन्छ । अष्ट्रेलियाको सरकारले समान लिङ्ग भएका नागरिकहरुलाई एकअर्कामा विवाह गर्ने अनुमति दिएपछि यसको निकै ठूलो स्वागत भएको देखिएको छ । विश्वभरि नै समलैङ्गिक अधिकारका लागि लडिरहेकाहरुले दुखेसो सुनाइरहेको बेला यो नयाँ अनुमतिले अधिकारकर्मीहरुलाई समेत ठूलो राहत मिलेको छ । नेपालमा सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिएको नजिर रहेको छ । भारतलगायतका कतिपय देशमा भने यस्तो विवाह अप्राकृतिक मानिँदै आइएको छ । अमेरिकाका समेत केही राज्यले यसको अनुमति दिएका छन् । अष्ट्रेलियामा समलिंगी विवाहले मान्यता पाएपछि समलिंगीहरुको समर्थनमा ठूलो जुलुस निस्किएको छ । सिडनीमा मात्रै तीन लाख बढी गे (पुरुष समलिंगी) र लेस्बियन (महिला समलिंगी)हरु जुलुसमा सहभागी भएका थिए । त्यसो त यस्तो प्रदर्शन विगत ४० वर्षदेखि हुँदै आएको छ । तर यसपालि भने यो अधिकार पाएपछिको पहिलो भएकोले यसको बेग्लै महत्व रहेको थियो । प्रदर्शन टेलर्स स्क्वायरदेखि अक्सफोर्ड स्ट्रिटसम्म पुगेको थियो । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तीहरुको उपस्थिति थियो । योसँगै अष्ट्रेलिया समलिंगी बिहालाई अनुमति दिने २६ औं देश बनेको छ । सबैभन्दा पहिला सन् २००१ मा नेदरल्याण्डले यो अधिकार दिएको थियो । अन्य देशहरुमा बेल्जियम, स्पेन, क्यानाडा, जर्मनी, फिनल्याण्ड, नर्वे, स्वीडेन, बेलायत, फ्रान्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियालगायतका देश रहेका छन् । हेर्नुहोस् अष्ट्रेलियामा समलिङ्गीहरुबीच विवाह गर्ने अनुमति पाइएपछिको फोटोफिचर- 

पारस खड्का विश्वकप छनोट खेलका उत्कृष्ट १० खेलाडीको सूचीमा

काठमाडौं, फागुन २९ । जिम्बावेमा जारी एकदिवसिय विश्वकप क्रिकेटकाे छनाेटमा समूह चरणका सबै खेल सकिएको छ। समूह चरणको समाप्तीपछि समूह ए बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर सिक्समा पुगेका छन् भने समूह बी बाट जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर सिक्समा पुगेका छन्। नेदरल्याण्ड्स, पपुवा न्यू गिनी, नेपाल र हङकङ प्लेअफमा खेल्नेछन्। सुपर सिक्समा पुगेका ६ मध्ये शीर्ष दुई स्थान हात पार्ने टोली फाइनल पुग्दै सन् २०१९ को वर्ल्डकपमा छनोट हुनेछ। समूह चरणमा कूल २० खेल हुँदा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। आइसीसीले समूह चरणपछि उत्कृष्ट प्रदर्शन गर्ने ११ खेलाडीको लिस्ट तयार पारेको छ जसमा नेपालबाट कप्तान पारस खड्का पनि परेका छन्। यस्तै घरेलु टोली जिम्बावे र हङकङका २–२ तथा वेस्ट इन्डिजका, आयरल्यान्ड, पपुवा न्यू गिनी, स्कटल्यान्ड, युएई र अफगानिस्ताका १–१ खेलाडी छन्। नेदरल्यान्ड्सका भने कुनै पनि खेलाडी उक्त लिस्टमा समावेश छैनन्। आइसीसीले ब्याटिङ अडरमा तयार पारेका ११ खेलाडी यस्ता छन् विलियम पोटर्फिल्ड (आयरल्यान्ड) टोनी उरा (पपुवा न्यूगिनी) कलुम म्याक्लेओड (स्कटल्यान्ड) ब्रेन्डन टेलर (जिम्बावे) पारस खड्का (नेपाल) अंशुमान रथ (हङकङ) सिकन्दर राजा (जिम्बाबे) रोहन मुस्ताफा (युएई) मोहम्मद नावी (अफगानिस्तान) ज्यासन होल्डर (वेस्ट इन्डिज) एहसन खान (हङकङ)

पार्टीमा दण्डहीनता बढ्यो : एमाले अनुशासन आयोग

काठमाडौं, फागुन २९ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्बाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्यउपर छानविन नगरी दण्डहीनता मौलाइरहेको बताएको हो । बैठकले पार्टीमा दण्डहीनता मौलाइरहेकाले वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षणसमेत गराएको आयोगका अध्यक्ष अमृतकुमार बोहराले जानकारी दिनुभयो । यस्तै, बैठकले पार्टीका कमिटीहरु प्रायः निष्क्रिय रहेको र लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकसमेत राम्ररी नभएको समेत जनाएको छ । बैठकपछि आयोगका अध्यक्ष अमृतकुमार बोहराले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको बताइएको छ । त्यसैगरी, तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलाप, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यको यथासमयमा छानबिन भई कारवाही हुनुपर्नेमा अनेकौँ बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको अध्यक्ष बोहराले बताउनुभएको छ । यसैगरी, बैठकले सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी तथा अखिल नेपाल महिला संगठन, युवा संघ नेपाल र अनेरास्ववियुजस्ता पार्टीका जनसंगठन उदासीन, निष्क्रिय र मुकदर्शक बनिरहेका भन्दै आयोगले कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट विमुख बन्दै गरेको संकेत त होइन भन्ने प्रश्न खडा भएको पनि जनाएको छ । केही समयदेखि देशका विभिन्न भागमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक अपराधका घटना एकपछि अर्को गरी शृङ्खलाबद्ध बढिरहेकामा तीनलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकामा पनि बैठकले दुःख व्यक्त गरेको छ । यसैगरी, बैठकले आयोगको रिक्त सदस्यमा राजनारायण साहलाई मनोनयनसमेत गरेको छ ।

आठ महिनामा ३८ प्रतिशत मात्रै विकास बजेट खर्च

कैलाली । कैलालीमा चालू आर्थिक वर्ष २०७४–०७५ को दोस्रो चौमासिकसम्म पनि विकास बजेट न्यून खर्च भएको छ । फागुन महिना सकिन लाग्दा पनि जिल्लामा २ अर्ब २२ करोड ५८ लाख अर्थात् कूल विकास बजेटको ३८ प्रतिशतमात्रै खर्च भएको हो । यो अवधिसम्म कम्तीमा ५० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने थियो । तर, चालू आर्थिक वर्षमा पनि विगतको जस्तै विकासे अड्डाहरुले न्यून विकास बजेट खर्च गर्ने परिपाटी कायमै राखेकाले कम खर्च भएको हो । अहिलेसम्म पनि न्यून विकास बजेट खर्च भएकाले यो वर्ष पनि जिल्लामा ठूलो परिमाणमा बजेट फ्रिज जाने सम्भावना बढेको छ । अहिलेसम्म भएको बजेट खर्च सन्तोषजनक नरहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले बताएको छ । फागुन मसान्तसम्म कम्तीमा ५० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने भएपनि ३८ प्रतिशत मात्रै खर्च हुन सकेको कोष नियन्त्रक मदन पाण्डेले बताए । राष्ट्रिय गौरवका आयोजना रानी जमरा कुलरिया सिंचाइ र हुलाकी सडकबाहेक जिल्लामा रहेका अन्य ठूला आयोजनाहरुको प्रगति पनि निराशाजनक देखिएको छ । मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजनाले ५१ करोडको अख्तियारी पाएकोमा अहिलेसम्म २८ प्रतिशत खर्च गरेको छ । धनगढी–दिपायल फास्टट्रयाक योजनाले १५ करोडको अख्तियारी पाएकोमा ४६ प्रतिशत अर्थात् ६ करोड ९५ लाख खर्च गरेको कोष नियन्त्रक पाण्डेको भनाई छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका लागि १ अर्ब ४५ करोडको अख्तियारी आएकोमा अहिलेसम्म ४० करोड ८० लाख अर्थात् २८ प्रतिशतमात्रै बजेट खर्च भएको छ । सरकारले विकास खर्चमा देखिएको समस्या न्यूनीकरणका लागि संवैधानिक व्यवस्था अनुसार १५ जेठमै बजेट ल्याउने अभ्यास थालेपनि त्यसबाट खासै अन्तर नदेखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसले गर्दा यो आर्थिक वर्ष पनि ठूलो परिमाणमा बजेट फ्रिज जाने संकेत देखिएको छ ।

पर्वतमा गाउँपालिकाको अध्यक्ष चढ्ने गाडी मुनि प्रेसर कुकर बम फेला

कुश्मा, फागुन २९ । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी मुनि खतराको संकेत सहित राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको छ । गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मा नगरपालिका –१, पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकर बम भेटिएको हो । कालीगण्डकी क्रसर उद्योगका सञ्चालक समेत रहेका मल्लको सोमबार राति नै क्रसरको सामग्री उत्खनन क्षेत्र कालीगण्डकी नदी किनारको खनियाघाटमा जेसिबी कम्पनीको डोजरमा समेत आगजनी भएको छ । झण्डै १ करोड मूल्य बराबरको डोजरमा नचिनेको मान्छेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा विशेष कामको शिलशिलामा रहेका मल्लले आफूलाई कसैले पनि घटनाबारे जानकारी नगराएको बताउनुभयो । अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगे लगत्तै बम डिस्पोजका लागि बागलुङबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो ।

जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस् : पूर्वप्रम चन्द

भक्तपुर । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी स्कूलको ३५औँ वार्षिकोत्सवमा आज बोल्दै उहाँले भन्नुभयो, “अब जनताको घरदैलोमा सरकार पुगेको छ, विकास पनि पहिलाको तुलनामा बढेको छ, अब जनताले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विकासलाई तीव्रता दिनुपर्छ ।” पूर्वप्रधानमन्त्री चन्दले पुरानो ढर्राको शिक्षा अब काम नलाग्ने बताउँदै विदेशमा प्रतिष्पर्धा गर्न सक्ने र स्वदेशमै पनि आफँैले केही गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । किताबी ज्ञानले मात्रै अबको शिक्षा अगाडि नबढ्नेमा जोड दिँदै उहाँले संस्कृत, चरित्र निर्माण, इमान्दारिताको पाठ पनि विद्यार्थीले स्कूलबाटै सिक्नु पर्नेमा जोड दिनुभयो । सो अवसरमा प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले सरकारले निजी विद्यालय बन्द गराउनेभन्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेव, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, प्रिन्सिपल रत्नमान शंखदेवलगायतले निजी विद्यालयले शैक्षिक गुणस्तरलाई धानिरहेको चर्चा गर्नुभयो । कार्यक्रममा विद्यार्थीलाई पुरस्कार एवं सम्मान गरिएको थियो । रासस

पाइलट अवालेले जहाज उडाउन नपाउने

काठमाडौं, फागुन २८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ । निर्णयअनुसार उनले उक्त अभियोगमा सफाइ नपाएसम्म जहाज उडाउन पाउने छैनन्। फौजदारी अभियोग लागेपछि अवालेको स्वास्थ्य अवस्था जाँच गरी प्रतिवेदन बुझाउने जिम्मा पाएको समितिको सिफारिसपछि उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले उनलाई जहाज उडाउन दिन नमिल्ने निर्णय गरेको हो। प्राधिकरणका स्वास्थ्य सुपरीवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले महानिर्देशक सञ्जीव गौतमलाई अवालेको ताजा स्वास्थ्य अवस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ। प्राधिकरणले तोकेका चिकित्सकले क्याप्टेन अवालेको स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षण गरेका थिए । त्यसपछि उनलाई जहाज उडाउन दिन नमिल्ने निष्कर्षमा समिति पुगेको हो। ‘फौजदारी अभियोग लागेपछिको अवस्थामा क्याप्टेन सुवर्ण अवाले मानसिक तनाब र दबाबमा हुन सक्ने भएकाले यात्रु र जहाजको सुरक्षा दृष्टिले उडानजस्तो संवेदनशील कार्यमा उनलाई संलग्न गर्न नमिल्ने र उडान गर्न दिन नसकिने’ प्रतिवेदनको ठहर छ । ‘समितिबाट सिफारिसहितको प्रतिवेदन प्राप्त भएपछि क्याप्टेन अवालेलाई जहाज उडान गर्न दिन नमिल्ने निर्णय गरेका छौं,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले आइतबार नागरिकसँग भने, ‘हाम्रो निर्णयसम्बन्धी जानकारी नेपाल वायुसेवा निगमलाई पठाइसकेका छौं । अवालेले अभियोगबाट उन्मुक्ति नपाएसम्म जहाज उडाउन पाउँदैनन्।’यो आजको नागरिक दैनिकमा छ ।

प्रधानमन्त्री ओली ‘कम्तिमा दुर्इ वर्ष’ ढुक्क !

काठमाडौं । वर्षैपिच्छे नयाँ–नयाँ सरकार देख्नुपर्ने अवस्थाबाट आजित मतदाताले राजनीतिक स्थिरताको नारासहित चुनावमा होमिएको वाम गठबन्धनलाई बहुमत दिए । अपेक्षाकृत विकास हुन नसक्नुको कारण पनि राजनीतिक अस्थिरता नै भएको धेरैले मान्छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको वाम गठबन्धनको सरकार स्थिर होला कि विगतका सरकारजस्तै अस्थिर ? यो जिज्ञासा र आशंका कतिपय सर्वसाधारणमा कायमै छ । वाम गठबन्धन धेरै नटिक्ने षड्यन्त्रमूलक प्रचारवाजी समेत हुने गरेका छन् । तर, प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिइसकेकाले संविधानमा भएको व्यवस्था अनुसार नै कम्तिमा २ वर्ष ओली सरकारलाई कसैले हल्लाउन सक्ने छैन । हेर्नुस् संविधानको धारा ७६ मा भएको व्यवस्था : संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रधानमन्त्री ओलीले ‘नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त’ गरेका छन् । ओलीका पक्षमा २०८ मत र विपक्षमा ६० मत परेको छ । नयाँशक्ति पार्टी नेपालका एक मात्र सांसद डा बाबुराम भट्टराई आजको संसद बैठकमा अनुपस्थित थिए । ओलीलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपा र राष्ट्रिय जनमोर्चाले मत दिएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरिसकेकाले कम्तिमा २ वर्ष उनले ढुक्क भएर काम गर्न सक्ने छन् । संविधानको धारा १०० को उपधारा ४ मा भएको व्यवस्था अनुसार प्रधानमन्त्री नियुक्त भएको पहिलो २ वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न मिल्दैन । संविधानको उक्त धारामा लेखिएको छ, ‘प्रधानमन्त्री नियुक्त भएको पहिलो २ वर्षसम्म र १ पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको १ वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।’ हेर्नुस् संविधानको धारा १०० मा भएको व्यवस्था : वाम गठबन्धनलाई पार्टी एकीकरणमा रुपान्तर गरेर सरकार चलाउन सके ओलीले ५ वर्षे स्थिर सरकारको नमूना जनतासामु पेश गर्न सक्ने छन् । संसदमा भारी बहुमत प्राप्त भएकाले चुनाव प्रचारका क्रममा गरिएका वाचा पूरा गर्ने चुनौति प्रधानमन्त्री ओलीसामु रहेको छ । वाम गठबन्धनले चुनावका बेला राजनीतिक स्थायित्व, विकास, समृद्धि, सुशासन लगायतका प्रतिवद्धता सार्वजनिक गरेको थियो ।

प्रम ओलीको बोलीमा बलात्कृत ८ वर्षे बालिका र बोक्सीको आरोपमा पीडित युवती

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपीट गर्नेमाथि कारवाहीको चौतर्फी माग उठिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा उक्त विषयमा गम्भीर चासो व्यक्त गरेका छन् । विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै ओलीले नेपाली समाजमा अहिले पनि महिलामाथि हिंसाका घटना भइरहेको उल्लेख गर्दै सामाजिक जागरण र रुपान्तरणको गम्भीर जिम्मेवारी सबैका अगाडि रहेको बताए । “क्याम्पस पढ्ने केटीलाई खुल्लमखुल्ला रुपमा समाजका अगाडि यातना दिइयो । हाम्रा समाज अहिले पनि कहाँ छ रु भन्ने कुरा यी घटनाले बताउँछन् । समाज भगवान, अन्धविश्वासले ग्रसित छ अहिले पनि त्यसलाई बदल्नु छ अब हाम्रा समाज र हाम्रो अवस्था । अहिले पनि आठ वर्षीय बालिका बलात्कृत भएर अस्पतालमा भर्ना हुनुपर्ने अवस्था रहेको उल्लेख ओलीले कुनै पनि बहानामा हिंसालाई बढावा दिने जनताले आशा गरेको लोकतन्त्रको बाटोमा हातेमालो गर्दै अघि बढन् जोड दिए ।

सबै विश्वविद्यालयमा स्ववियू निर्वाचन गर्न प्रमुख तीन विद्यार्थी संगठनको माग

काठमाडौं, फागुन २७ । एमाले, माओवादी र कांग्रेस निकट प्रमुख तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयलगायतका सवै विश्वविद्यालयका आङ्गिक तथा सम्वन्धन प्राप्त कलेजहरुमा स्ववियु निर्वाचन गर्न माग गरेका छन् । आइतबार राजधानीमा बसेको तीन विद्यार्थीको संयुक्त वैठकपछि अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गरेका छन्। वैठकपछि प्रकाशित विज्ञप्तिमा भनिएको छ,’त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविधद्यालय, नेपाल सस्कृत विश्वविद्यालय लगायतका सम्पूर्ण विश्वविद्यालय अन्तर्गतका सम्वन्धन प्राप्त तथा आंगिक कलेजहरुमा विद्यार्थीहरुको हकहितका लागि साझा, स्वतन्त्र र निर्वाचित मञ्चको रुपमा अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्न सम्पुर्ण विश्वविद्यालयका उपकुलपति ज्युहरुलाई जोडदार माग गर्दछौं । ’ प्रमुख तीन विद्यार्थी संगठनले नेपालको संविधान अनुरुप शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न यसै शैक्षिक सत्रबाट लागु हुने गरी आधारभुत तथा माध्यामिक तहसम्म निःशुल्क शिक्षाको ग्यारेण्टी गर्न सरकारलाई ध्यानाकर्षण गर्ने भएका छन् । उनीहरुले आगामी बजेटमा शिक्षा क्षेत्रको समग्र पुनः संरचनाका लागि कम्तिमा २० प्रतिशत बजेट ग्यारेण्टि गर्न पनि सरकारसंग माग गरेका छन् ।’ विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने सहमति र निर्णय तत्काल कार्यान्वयन गरियोस् ।’ जारी विज्ञप्तिमा भनिएको छ। ‘हाम्रा मागहरु तत्काल सम्वोधन नगरिए कडा संघर्षमा उत्रन वाध्य हुनेछौं ।’ क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने ।

उपत्यकामा फेसबुक चलाउने बालबालिका ७२ प्रतिशत

ललितपुर, फागुन २७ । सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ । फेसबुकपछि बालबालिकाहरुको रोजाइमा ‘युट्युब’परेको छ । ‘भ्वाइस अफ चिल्ड्रेन्ट’ले आयोजना गरेको एक कार्यक्रममा प्रतिमिनेट संसारभरका सात लाख मानिसले फेसबुक लगइन गर्ने र यसमा बालबालिका पर्ने तथ्य सार्बजनिक गरेको छ । ‘इन्टरनेटमा घन्टौं विताउने बालबालिका नजानिंदो शैलीमा यौनशोषणमा परेको देखिएको छ’, सर्बेक्षणमा सामेल सोही संस्थामा कार्यरत कृति भट्टराईले भनिन । -अन्नपूर्णपोष्ट दैनिकबाट

इलाममा विस्फोट, एक युवकको मृत्यु

इलाम, फागुन २७ । इलाममा शनिबार विस्फोट भएर एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, पुवाजुङ घर भइ भन्ज्याङमा होटल गर्ने २८ वर्षीय विकास राईको मृत्यु भएको हो । भन्ज्याङमा विस्फोट भएको र विस्फोटकाक्रममा ठूलो आवाज आएको स्थानीयहरुले बताएका छन् । राईको शनिबार साँझ इलाम अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटना भएको आसपासमा सलाईका काँटी र जीआई पाइपका टुक्राहरुसमेत फेलापरेको बताइएको छ । विस्फोटको कारण खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

नेपाल र अफगानिस्तानबीचको खेल शुरु, नेपाल व्याटिङ गर्दै

काठमाडौं, फागुन २६ । आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाल आज बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग भिडिरहेको छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजको छ। जिम्बावेको बुलावायो एथलेटिक मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण छ। किनकी यही वर्ष टेस्ट मान्यता प्राप्त अफगानिस्तानका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठको लडाइँ मात्र हुनेछैन। नेपालविरुद्ध जित हात पारे अफगानिस्तानको सुपर सिक्समा पुग्ने झिनो आशा बाँकी रहन्छ।अफगानिस्तान सुरुवाती ३ खेलमा पराजित भएको थियो। त्यसैगरी नेपाल पनि शुरुका दुई वटा खेलमा पराजित भएको छ । र अगाडिको यात्राका लागि जित्नै पर्ने दवाव छ । त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।  

कर्णाली प्रदेशका कानूनमन्त्री बाढीपीडित बस्तीमा

सुर्खेत, फागुन २६ । सुर्खेत पञ्चपुरी नगरपालिका– १० गल्फगाउँका बाढीपीडितको अवस्था बुझन कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित पत्रकारको टोलीले त्यहाँको स्थलगत भ्रमण ग¥यो । कानूनमन्त्री भण्डारी पुगेपछि कलेटी परेका ओठ, चाउरी परेका गाला र निन्याउरो अनुहारमा थोरै खुशी लिएर पालमुनिबाट बालबालिकासहित महिला र पुरुषको समूहले रुखका पातको माला बनाएर उहाँलाई स्वागत गरे । मन्त्री तहको मान्छे पहिलो पटक पालको बास खोजेर आउँदा गल्फवासीको खुशीको सीमा रहेन । पालका बस्तीमा आफूसँग दुःख साट्ने मन्त्री पाएको भन्दै स्थानीय दुर्गा नेपालीले गर्व लागेको बताउनुभयो । यद्यपि मन्त्रीको आगमनमा देखिएको खुशीभित्र दुर्गालगायतका सबै बाढीपीडित गल्फवासीका लुकेका पीडा पोखिने बेला खोजिरहेका थिए । एकैछिनपछि गल्फकै स्थानीय महिला बिन्द्रा जैसीले भन्नुभयो, “सरकार घरदैलो पुगेको छ, अब हामीले हाम्रा समस्या बताउनु पर्दैन ।” स्थानीय राजु विकले विसं २०७१ साउनमा भेरी नदीमा आएको बाढीले पञ्चपुरी नगरपालिका–१० ९साविक तातोपानी गाविस ६० गल्फका मात्रै १०७ घरधुरी बगाउँदा २९ मान्छे र सयौँ पशुवस्तुको क्षति हुनुका साथै आफू घरबारविहीन भएको दुःख व्यक्त गर्नुभयो । “बाढीको बज्रपातका बेला सरकारभन्दा निजी क्षेत्रले लत्ताकपडा, चामल र पाल दिएर सहयोग ग¥यो”, उहाँले भन्नुभयो । सोही वडाकै रतन कामीले भन्नुभयो, “सहयोगका नाममा सरकारले एकपटक रु ४० हजार ५०० दिएको थियो । आखिर त्यसले के पुग्छ र रु” एक मिटर जमिन किन्दा रु तीन लाख पर्ने ठाउँमा रु ५० हजारले घर जग्गा किन भन्ने सरकारका नागरिक भएर बाँच्न नसकिने अवस्था आइलागेको उहाँले बताउनुभयो । सरकार अरु चाहिँदैन, बास भए पुग्छ कानूनमन्त्री भण्डारीसँग पञ्चपुरी नगरपालिकाका सबै बाढीपीडितको एउटै माग थियो, सरकार हामीलाई अरु चाहिँदैन, बासको व्यवस्था गरिदेऊ । सरकारले बासको मात्र व्यवस्था गरिदिए गास र कपासका आफैँ संघर्ष गर्ने उनीहरुले बताएका छन् । सामुदायिक जंगलमा बस्दा समितिका मान्छेले रुख त के हाँगासमेत काट्न नदिएको उनीहरुको गुनासो थियो ।