एमाले र माओवादीबीच हुन लागेको एकताले चीन खुशी : नेता नेपाल

काठमाडौं, चैत २७ । नेकपा एमाले नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताउनुभएको छ ।

नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन जानुभएका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने बताउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

‘वान बेल्ट एण्ड रोड’ मा नेपालले सम्झौता गरिसकेको उल्लेख गर्दै एमाले विदेश विभागका प्रमुखसमेत रहनुभएका नेता नेपालले यसबाट नेपालले लाभ लिने बताउनुभयो ।

उच्च अधिकारीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र बीच हुन लागेको एकताले चीन खुशी भएको उहाँले बताउनुभयो । “दुई पार्टीबीचको एकताको कुरालाई उहाँहरु निकै खुशी हुनुभयो । एकता घोषणासभाका लागिसमेत चिनियाँ प्रतिनिधिलाई निम्ता दिएका छौँ”, उहाँले भन्नुभयो, “उहाँहरु एकताको बेला नेपाल आउने कुरा गर्नुभएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको नेता नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणका बारेमा पनि चिनियाँ उच्च अधिकारीसँग छलफल भएको जानकारी दिनुभएको सचिवालयले जानकारी दिएको छ ।

यस्तै नेता नेपाललाई नेपाल–चीन सम्बन्धमा अतुलनीय योगदान पु¥याएबापत त्यहाँको नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्राध्यापक (प्रोफेसर) को उपाधिसमेत प्रदान गरेको छ । नेता नेपालले सो अवसरमा सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नुभयो ।

उहाँले नेपाली युवाले वाल छिमेकी राष्ट्र चीनमा गरेको प्रगतिबारे खुशी व्यक्त गर्नुभयो । नेता नेपाल शुक्रबार स्वदेश फर्कने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।

हरिण मार्दा सलमान गए ५ वर्ष जेल, केही सिक्ने कि नेपालका नेता र न्याय संरचनाले ?

काठमाडौं, निकै विवादित र चर्चित मामिलामा बलिउडका सबैभन्दा चर्चित र लोकप्रिय अभिनेता सलमान जेल गएका छन् । सलमान खानमाथि कालो हरिण मारेको आरोप प्रमाणित भएपछि उनलाई पाँच वर्ष जेल सजाय तोकिएको हो । सलमान खान, भारतका नेतादेखि नेपालमा समेत कैयन् युवाहरुको मनपर्ने नायक । रियालिटी शो ‘बिग बोस’मा सलमानको प्रस्तुतका लाखौं फ्यान छन भने उनले खेलेका सबैजसो फिल्महरु सुपरहिट छन् । तर कानुनका अगाडि यो सबै व्यक्तित्वले कुनै अर्थ राख्न सकेन । आज भन्दा २० वर्ष अघि “हम साथ साथ हैं” नाम चलचित्रको छायांकनका क्रममा उनले कांकाणी गाउँमा कालो हिरण मारेको आरोप लागेको थियो । २० वर्षको लामो लडाईपछि सलमान खानले आफूलाई निर्दोष साबित गर्न सकेनन् । जोधपुरको स्थनीय अदालतले गरेको यो फैसलालाई उच्च अदालतमा चुनौती दिने सम्भावना नभएको होइन, तर यो फैसलाले न्यायपालिकाले धर्म, जात, लिंग, पेशा र प्रभावभन्दा पर रहेर न्याय दिनुपर्छ भन्ने मान्यतालाई झनै बलियो बनाएको छ । यो घटनामा सलमान खानसँगै जोडिएका थिए कलाकार सैफ अलि, सोनाली बेन्द्रे, तब्बु र निलम । अरु सबै भने दोषि ठहर्याएनन् । सलमान खानलाई पाँच वर्ष जेल र दश हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । र, हामी यता वारिपट्टिका छिमेकी नेपाली । हामीकहाँ ‘मोष्ट वान्टेड’ भनेर प्रचार गरिएकाहरुलाई जनताले जिताउँछन, उनीहरु निर्धक्क संसद भवन छिर्छन र हत्या आरोपी मानिएका र जेलमा रहेका आरोपीहरुलाई गृहमन्त्रीले जुस पिलाउँछन् । बलात्कार गर्नेहरु अनुसन्धानको प्रतिवेदन नआउँदै रिहा हुन्छन् र राजनीतिक दल प्रवेश गर्छन् । आन्दोलनका नाममा गरिने हिंसालाई राजनीतिकरण गरिन्छ र त्यसले उन्मुक्ति पाउँछ । कसैको नाम नलिउँ, तर नेपालमा अपराधको राजनीतिकरणको लामो श्रृंखला रहेको छ । अर्कोतर्फ यसमा मिसिएको न्यायालयमा राजनीतिकरण । जसले गर्दा बलात्कारी, चेली बेचुवाहरु, हत्या गर्नेहरुले राजनीतिक संरक्षण पाएका हुन्छन् भने सोझा साझा जनता अन्यायमा परेका हुन्छन् । बलात्कार गर्नेहरुलाई अनुसन्धानको प्रतिवेदन नआउँदै अदालतले रिहा गर्छ भने न्याय नपाएर मानिसहरु आत्महत्या गर्न विवश बन्ने घटना समेत नेपालमा रहेका छन् । सलमान खानले कालो हरिण मारेका हुन । दिनहुँ जसो हजारौं पशुहरुको धर्मका नाममा बली दिइने भारतमा एउटा जंगलमा डुलिरहेको हरिण मार्नु ठूलो कुरा नहुन सक्थ्यो । तर पनि सलमान खानको प्रभाव र उनको सेलिब्रिटी स्टाटसले यो न्याय प्रक्रियालाई प्रभावित पार्न सकेन । अझ २० वर्ष लामो यो कानुनी लडाईंमा कैयन् साक्ष्य र प्रमाणहरुसँगै सलमानले आफू निर्दोष भएको प्रमाणित गर्ने कोशिस समेत नगरेका होइनन् । तर उनी दोषी ठहरिए । भारतीय न्याय प्रणाली राम्रो भन्न खोजेको होइन । त्यहाँ पनि न्यायालयबाट आम जनताले न्याय नपाउने कुरा सामान्य नै हो । र कतिपय अवस्थामा न्यायालयले आफ्नो गरिमा बचाउने गरेको छ । यस्तै घटना हो सलमान खानमाथिको फैसला । न्यायपालिका भनेको कार्यपालिका र व्यवस्थापिका भन्दा स्वतन्त्र निकाय हो, यसले अन्य दुबै निकायका काम र कारवाही कानुनसम्मत भए नभएको चेकजाँच गर्नुपर्दछ । न्यायालय नै प्रभावित भए आम जनताका लागि गुहार्ने ठाउँ कतै पनि हुँदैन । विगतमा जे भएपनि अबको समाजवादी यात्रामा न्यायालय पनि साँच्चिकै समाजवादी बन्नैपर्ने आवाज अहिले सर्वत्र उठेको छ ।

सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज छ : कांग्रेस प्रवक्ता

काठमाडौं, चैत्र २२ । यातायात क्षेत्रको सिन्डिकेट तोड्न नेपाल सरकारले देखाएको सक्रियताको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रशंसा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्, ‘राम्रो कामको समर्थन जरुरी ।’ यायायात व्यवस्था विभागले मयुर यातायातलाई अरनिकको राजमार्गमा सञ्चालनका लागि रुटपरमीट दिएपछि सो क्षेत्रमा सञ्चालित विभिन्न यातायात समितिले बुधबार सवारी आवागमनमा अवरोध गरेपछि सरकारले एकै दिन सो रुटमा नयाँ पाँच कम्पनीलाई अस्थायी अनुमति दिएर सिन्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । सरकारको कामको समर्थन गर्दै शर्माले यस्तो ट्वीट गरेका छन्ः

रहबर अन्सारीले गराए चार सय कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं । चर्चित युवा नेता तथा वीरगञ्ज महानगरका मेयरका प्रत्यासी रहबर अन्सारीले ४०० कार्यकर्ता माओवादीमा प्रवेश गराएका छन् । बुधबार वीरगञ्जको छप्कैयामा आयोजित कार्यक्रममा अन्सारीले ४०० कार्यकर्ता माओवादीमा प्रवेश गराएका हुन् । उनले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेता–कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन् । विभिन्न पार्टी परित्याग गरेका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै युवानेता अन्सारीले भने– ‘मुलूक निर्माणको अभियानमा जोडिन लाग्नुभएकोमा तपाईहरुलाई हृदयदेखि स्वागत गर्दछु । बिरामी समाज र राष्ट्रको उपचार गर्ने वास्तविक हैसियत वाम सरकारले राख्दछ’, अन्सारीले थपे, ‘२ नम्बर प्रदेशमा वामपन्थीको जित हुन नसक्नु जनताको हार हो । देशमा स्थिरता, विकास र समृद्धिका लागि वाम शक्तिलाई बलियो बनाउँ ।’ कार्यक्रममा कांग्रेस र फोरमबाट माओवादी प्रवेश गरेका नेताहरुले नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण र समृद्धिका लागि आफूहरु माओवादीमा आएको बताए ।

ग्रामीण भेगमा महिलाहरु सुरक्षित गर्भपत गराउन पाउँदा निकै हर्षित

डडेल्धुरा । केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन् । विभिन्न खाले औषधि तथा घरेलु साधन तथा जटीबुटीे प्रयोग गरी गर्भपतन गराउँदा विभिन्न समस्या भोगिरहेका महिला अहिले जिल्लामा रहेका स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गराएपछि गर्भपतन गराउनेकोे संख्या वृद्धि भएको हो । विसं२०७३ मंसिरदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवा लागू भएपछि यसलाई अझ प्रभाबकारी बनाउन आइपास नेपालले जिल्लाको भागेश्वरगाउँपालिका, परशुराम नगरपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु र गन्यापधुराका विभिन्न स्थानमा समूह गठन गरी सुरक्षित गर्भपतनबारे जनचेतना जगाउन थालेकाले खुलेर गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको कार्यक्रम अधिकृत हीरा ऐरले जानकारी गराउनुभयो । यो आर्थिक वर्षबाट बहुउद्देश्यीय विकास समाजको आइपास नेपाल परियोजनाबाट शुरु गरिएको हेयभाव लान्छाना न्यूनीकरण कार्यक्रम संचालन भएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै आएको छ । सामाजबाट लान्छना हुनसक्ने भयका कारण लुसकछिपी असुरक्षित गर्भपतन गराउँदै आएका महिला कार्यक्रम लागू भएपश्चात् खुल्न थालेको बगरकोट स्वास्थ्य चौकीका सेवप्रदायक आरती बोहराले बताउनुभयो । यो वर्षदेखि सामाजिक सचेतना कार्यक्रम र सुरक्षित गर्भपतनका बारेमा समुदायस्तरमा नै सडक नाटक, तालीमपश्चात् गाउँमै गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जोगबुढा अस्पताले जनाएको छ । सन्तानको इच्छा नभएका उमेर नपुगेका वा अवैध तरिकाले गर्भ रहन गएमा आधिकारिक वा तोकेको स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन गराउने व्यवस्था गरेसँगै ग्रामीण भेगमा पनि गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दिलबहादुर शाहीले बताउनुभयो । डडेल्धुरा जिल्लामा १२ वटा स्वास्थ्य संस्थामा निःशुल्क सेवा दिँदै आएको र नौ हप्तासम्मको गर्भपतन स्वास्थ्य संस्थामा नै हुने र १२ हप्तासम्मको जिल्ला अस्पताल र जोगबुढा अस्पतालबाट यो सेवा उपलब्ध भइरहेको सरोकारवालाले जनाएका छन् । रासस

कमसल भारतीय सुन नेपाली भन्दै बिक्री गरेको खुलासा

गौशाला । महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम नछाप्ने शर्तमा एक सुन व्यापारीले बताएका छन् । महोत्तरीको सीमा नाकासँग जोडिएको सदरमुकाम जलेश्वरसहित सम्सी, मटिहानी, खैरबन्नी, रघुनाथपुरलगायतका बजारमा भारतीय १८ र २० क्यारेटका सुन २२ र २४ क्यारेट भन्दै उपभोक्तालाई बेच्ने काम भइआएको छ । यसका अलावा सुन तस्करले जिल्लाको गौशाला, बर्दिबास, औरही, बलवा, पिपरा र भ्रमरपुरा बजारमा पनि भारतीय सुन पु¥याउने गरेको उनले बताए । साधारणतया उपभोक्तालाई सुनको गुणस्तरबारे थाहा नहुने भएका कारण पसलेले सोझासाझा नेपाली ग्राहकलाई भारतीय सुन नै नेपाली मूल्यमा बिक्री गरिरहेको बताइन्छ । सुनचाँदी पसलेले ग्राहकको बिलमा सुनको क्यारेट उल्लेख नगरी केवल परिमाण मात्र उल्लेख गर्ने गर्दछन् । नेपाली सुनको मूल्यमा भारतीय सुन बिक्री गर्दा मूल्यमा ठूलो अन्तर रहने र धेरै मुनाफा हुने नाम उल्लेख नगर्ने शर्तमा अर्का एक व्यापारीले बताए । जिल्लाको ग्रामीण भेगमा त झन् बढी ग्राहक ठगीमा पर्ने गरेको छ । अहिले नयाँ सुनचाँदी पसलले मात्रै नभएर जिल्लाको विभिन्न बजारमा ख्याति कमाएर बसेका पुराना सुनचाँदी पसल समेत यस अवैध धन्धामा संलग्न रहेको दाबी ती व्यापारी गरेका छन् । महोत्तरीको विभिन्न बजारमा गरी दैनिक १० किलोग्रामभन्दा बढी सुन बिक्री हुने गरेको छ । रासस

सभापति पक्राउको विरोधमा नेविसंघद्वारा मन्त्रीकाे गाडी तोडफोड

२१ चैत, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् । नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् । ताेडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । प्रहरीका अनुसार उनी सकुशल छन् । विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमा अहिले प्रदर्शन जारी राखेका छन् । विद्यार्थीहरुको प्रदर्शनमा तोडफोड हुन थालेपछि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय मध्यपश्चिमाञ्चलका विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलित हुँदै आइरहेका छन् । स्ववीयू र नेविसंघले राखेको मागको विपक्षमा एमाले र माओवादीनिकट विद्यार्थी उत्रिएपछि केही दिनअघि यहाँ दुई पक्षबीच झडप नै भएको थियो ।

विप्लवको खोजी कार्य तीव्र

काठमाडौं – प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ । एक महिना पहिले जिल्ला अदालत भोजपुरले विप्लवविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा म्यादपुर्जि जारी गरेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विप्लवलाई पक्राउ गर्न मातहतका निकायलाई आदेश दिएको थियो । तर पछिल्लो समय विप्लवले आफ्ना गतिविधिलाई तीव्रता दिन थालेपछि प्रहरीले देशभर नै उनको खोजी तीव्र बनाएको छ । एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबैतिर खोजिरहेको छ, भेट्ने वित्तिकै हामी पक्राउ गर्छौं ।’ आजको नागरिक दैनिकमा खबर छ ।

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं, चैत्र २० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा २र२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । मंगलबारदेखि लागु हुने नयाँ मूल्यअनुसार पेट्रोल १०५ रुपैयाँ भएको छ भने , डिजल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ। निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टिटेलमा ९६ पैसा घाटा भएको छ। निगमलाई अब पाक्षिक नाफा २० करोड ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ। भारतभन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा सस्तो छ।

प्रधानमन्त्रीसँग महानायक हमालसहित काे काे जादैं छन भारत भ्रमणमा ?

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा अभिनेता राजेश हमाल पनि सामेल हुने भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहने भएका छन् । कलाकार मध्ये राजेश हमाल त्यो टोलीमा रहने बताइएको छ । नयाँ दिल्लीमा रहादा प्रधानमन्त्रीको बलिउडका प्रतिष्ठित कलाकारसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको बताइएको छ । प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार प्रम ओलीले भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने आज सााझसम्म लाग्नेछ । गत साता राजधानीमा सम्पन्न फान अवार्ड उद्धघाटनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि समावेश गर्ने बताएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनौठो शैलीबाट सुन तस्करी

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कम्मरमा बाँध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने एक भारतीय नागरिक  पक्राउ परेका छन् । प्रहरी र भन्सार कार्यालयले दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको हो । हरिफले धुलो बनाएर पेटीभित्र करिब २ केजी सुन लुकाएका थिए । उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले बताए । पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन्। केरला घर भएका भारतीयहरु नेपालको विमानस्थलमा पटक पटक सुनसहित पक्राउ पर्दै आएका छन्।

खानेपानी मन्त्री बीना मगरको क्षेत्रमा पाठेघरको मुख र स्तन क्यान्सर जाँच शिविर

पुनर्वास, चैत्र १८ । खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जित्नुभएको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबारे प्रारम्भिक जाच शिविर सुरु गरिएको छ । पुनर्वास नगरपालिका ३ कालिका बजारको श्री जनकल्याण माविमा आईतबार सुरु गरिएको शिविर १ नम्बर निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाडीमा समेत भोलि र पर्सि सञ्चालन गरिने छ । शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले क्यान्सरबाट आफ्नो क्षेत्रका महिलाले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर स्वास्थ्य अवस्थाबारे जान्न शिविर सञ्चालन गरिएको बताउनुभयो । ‘हामी स्थानीय चुनाव लगत्तै शिविर सञ्चालन गर्न चाहन्थ्यौ । तर, व्यवस्थापन नमिलेका कारण मिति सर्दै गयो,’ उहाँले भन्नुभयो, ‘एक पटक जाच गरे ५ वर्ष ढुक्क बस्न सकिन्छ । फेरि यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिने छन् ।’ दुर्गम क्षेत्रमा आएर शिविर सञ्चालनमा सहयोग गरिरहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टिमलाई मन्त्री मगरले धन्यवाद दिनुभयो । मन्त्री मगरको परिवारकै दिवङ्गत सदस्य प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको हो । ‘क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा प्रीय प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो’, मन्त्री मगरले भन्नुभयो, ‘उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।’ शिविर सञ्चालन समितिकी संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निशुल्क औषधिको समेत व्यवस्था रहेको बताउनुभयो । ‘पोखरा र काठमाडौबाट औषधि संकलन गरेर ल्याएका छौ,’ उहाँले भन्नुभयो, ‘जटिल अवस्था भएका बिरामीलाई सेती अञ्चल अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि समन्वय गरिने छ ।’ शिविरमा एकै पटक ४ ठाउँमा जाचको व्यवस्था गरिएको र दैनिक ६/७ सय महिलाको जाँच गरिने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै क्यान्सर अस्पतालका निर्देशक डा विजय चन्द्र आचार्यले पाठेघरको मुख र स्तनको क्यान्सर हुनुअघि नै जाच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट वचन सकिने बताउनुभयो । ‘अहिले कुनै समस्या नदेखिएपनि भोलि ज्यान जान सक्छ, त्यसैले समय(समयमा जाच गरेर सावधानी अपनाउनुपर्छ’ उहाँले भन्नुभयो । शिविर सञ्चालनमा अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा, नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीरबहादुर थापाको समेत सहभागिता छ । पुनर्वास, बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकामा हुने शिविरमा २ हजारभन्दा बढी महिलाले क्यान्सर जाच गर्ने अनुमान गरिएको छ । शिविरबाट लाभ लिन बिहानैदेखि महिलाहरु स्कुलमा जम्मा भएका छन् ।

द्वन्द्वमा सुरक्षा फौजले बेपत्ता पारेकाको शव खोतल्दै आफन्त, १४ वर्षपछि दाहसंस्कार

दैलेख, चैत्र १८ । माओवादी सशस्त्र द्वन्द्वको समयमा हत्या गरेर गाडिएका व्यक्तिका आफन्तले शव खोज्न थालेका छन् । उनीहरू गाडिएको सम्भावित ठाउँमा आफैँ उत्खनन गर्न थालेका हुन् । शनिबार दैलेखको महाबु गाउँपालिका–६ का ऐनबहादुर शाहीका आफन्तले शव उत्खनन गरेका छन् । द्वन्द्वको समयमा संयुक्त सुरक्षा फौजले पक्राउ गरेको थियो । बेपत्ता पारिएका उनका विषयमा कुनै जानकारी दिइएको थिएन । सुरक्षा फौजले मारेर शवसमेत दिएको थिएन । त्यसको १४ वर्षपछि आफन्तजनले शनिबार शव उत्खनन गरेका हुन् । काजकिरिया गर्न उत्खनन वैदेशिक रोजगारीबाट फर्किएका दुई छोराले काजकिरिया गर्न शव उत्खनन गरेका हुन् । ऐनबहादुरकी आमा तुलसी शाहीले नातिलाई काजकिरिया गर्न बारम्बार आग्रह गर्न थालेपछि उत्खनन गरिएको हो । ‘बज्यैले जोड गर्नुभयो, त्यसैले उत्खनन गर्न बाध्य भयौँ,’ ऐनबहादुरका माइला छोरा बृखबहादुरले भने । शव उत्खननपछि शनिबार नै दाहसंस्कार पनि गरिएको छ । ऐनबहादुरको हत्यापछि परिवारको आर्थिक अवस्था नाजुक भएपछि विदेश जानुपरेको बृखबहादुरले बताए । यसअघि दैलेखकै नारायण नगरपालिका–३ का उदय रेग्मी र सुकुल सिंहको शव पनि आफन्तजनले उत्खनन गरेका थिए । दुवैलाई ०६२ मा सुरक्षा फौजले नियन्त्रणमा लिएर मारेको थियो । उनीहरूको शव आफन्तलाई नबुझाएर जंगलमा गाडिएको थियो । दैलेखमा राज्य र विद्रोही पक्षबाट हत्या गरेर शव नदिएकाहरूको संख्या तीन सयभन्दा बढी छ । यस्तो थियो घटना १७ साउन ०६० मा दैलेखको धरमपोखराबाट ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको थियो । ११ लाई छाडेको थियो भने उनलाई चरम यातना दिएर हत्या गरेको थियो । त्यसपछि उनको शव धरमपोखरा जंगलमा गाडेको थियो । उनको हत्यापछि परिवार विस्थापित भएको थियो । गाउँमा बस्ने अवस्था नभएपछि तीनै छोराले गाउँ छाडेका थिए । उनीहरूमध्ये एक नेपाली सेनामै कार्यरत छन् भने दुई वैदेशिक रोजगारीमा गएका थिए । नयाँपत्रिकाबाट

बार्सिलोना र सेभिया बराबरीमा, रियल मड्रिड विजयी

काठमाडौं, चैत १८ । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अंक बाँडेको छ । रियल मड्रिडले भने सहज जित निकालेको छ । सेभियाले लिएको दुई गोलको अग्रतामा मेस्सी र स्वारेजले ८० सेकेण्डमा दुई गोल गरेर अपराजित यात्रा कायम राख्न सफल भएपनि जीत निकाल्न भने सकेन । सेभियाको मैदानमा भएको खेलमा फ्राङ्को भाज्क्वेज र लुइस मुरियलले गोल गरेका थिए । ला लिगा तालिकामा बार्सिलोनाको ७६ अंक छ भने सेभिया ४६ अंकसहित छैटौं स्थानमा छ । उता, रियल मड्रिडले भने लास पाल्मासलाई ३–० ले हरायो । जसमा ग्यारेथ बेलले दुई गोल गरे भने करिम बेन्जेमाले एक गोल गरेका थिए ।

ईयूको प्रतिवेदनप्रति चुपचाप छ माओवादी ?

काठमाडौं – नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियन (ईयू)ले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्र मौन देखिएको छ । जब कि यसको सर्वत्र विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाट नै उक्त प्रतिवेदनमाथि आपत्ति जनाउँदै त्यसलाई सच्याउन आग्रह गरेका थिए । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विज्ञप्तिमार्फत उक्त प्रतिवेदन सच्याउन आग्रह गरेको छ । प्रतिवेदनले नेपालको संविधानका प्रावधानका लागि ठाडो चुनौती दिएको उल्लेख गरेको छ । धेरै नागरिक पक्षले समेत यसको विरोध गरिरहेका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । तर माअाेवादी केन्द्रका नेताहरुले स‌सदमा यसकाे विराेध गरेका छन् ।

कांग्रेसभित्र ‘वक्तव्य दिने’ होडबाजी

काठमाडौं ।  निर्वाचनको समीक्षा गर्न जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा लिखित वक्तव्य दिने होडबाजी चलेको छ। गत निर्वाचनमा पार्टी पराजयलाई लिएर कांग्रेसभित्र एकआपसमै आरोप–प्रत्यारोप चलिरहँदा पार्टी बैठकमा लिखित धारणा राखेर पार्टी सभापतिलाई दिने प्रचलन पछिल्लो समय बाक्लिएको छ। फागुन १३ गतेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो लिखित धारणा राख्दै पार्टी नेतृत्वप्रति गहिरो असन्तुष्टि राखेका थिए। ९ चैतदेखि सुरु भएको जारी केन्द्रीय कार्यसमिति बैठकमा पूर्वमहामन्त्री प्रकाशमानसिंहसहित आधा दर्जनभन्दा बढी नेताले लिखित सम्बोधन गरिसकेका छन् भने अन्य थपले बैठकमा लिखित सम्बोधन दिने तयारी गरिरहेका छन्। शुक्रबार भएको छैटौं दिनको बैठकसम्म पूर्वमहामन्त्री सिंहसहित नरहरि आचार्य, डा. शेखर कोइराला, डिला संग्रौला र अर्जुननरसिंह केसीले लिखित सम्बोधन दिएका छन्। गगन थापासहितका केही युवा नेताले पनि लिखित सम्बोधन दिने तयारी गरिरहेको बताइएको छ। पूर्वमहामन्त्री सिंहले आफूले सभापतिलाई लिखित दस्ताबेज दिएको र पार्टी परिमार्जनमा त्यसको प्रयोजन रहने बताएका थिए। बैठकमा लिखित वक्तव्य दिने नेताहरूले पार्टीभित्र आफ्नो फरक धारणा रहेको र परिवर्तित समयमा पार्टी परिमार्जनमा आफ्नो भूमिका रहने मनसायले लिखित वक्तव्य दिने गरेको बताउँछन्। लिखित वक्तव्य दिने तयारी गरिरहेका युवा नेता थापाले पार्टीमा पछिसम्म दस्ताबेजका रूपमा आफ्नो धारणा रहोस् भन्ने उद्देश्यसाथ लिखित सम्बोधनको तयारी गरिरहेको बताए। उसो त थापा सहितको युवा नेताले बैठकमा संयुक्त रूपमा लिखित धारणा पेस गर्ने तयारी गरेको थियो। तर, संयुक्त रूपमा युवाहरूको तर्फबाट धारणा नआउने संकेत देखेपछि थापासहितका युवा नेता प्रदीप पौडेल, चन्द्र भण्डारीलगायत नेताले आ–आफ्नै तरिकाले बैठकमा सम्बोधनको तयारी गरिरहेको बताएका छन्। यो समूहमा रहेका नेता नवीन्द्रराज जोशीले बैठकमा बोलिसकेका छन्। उनले भने मौखिक रूपमै आफ्नो धारणा व्यक्त गरेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस पटकको बैठकदेखि बोल्ने सबैको धारणालाई टिपोट गरेर पार्टीमा सुरक्षित राख्ने काम भएको बताए। उनले भने, ‘लिखित वक्तव्य दिने नेताले दस्ताबेजसँगै मौखिक बोल्नेहरूको पनि हामीले टिपोटको व्यवस्था गरेका छौं।’ व्यवस्थित दस्ताबेजीकरणले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा हुन्छ भन्ने उद्देश्यसाथ टिपोटको व्यवस्था गरिएको र सबैको दस्ताबेजीकरण गरेर पार्टी कार्यालयमा सुरक्षित राख्ने काम गरिने प्रवक्ता शर्माको भनाइ छ। अहिलेसम्म लिखित वक्तव्य दिने सबैले सभापति देउवाको कडा आलोचना गर्नुका साथै पार्टीको व्यापक सुधारका लागि महासमिति बैठक र अग्रिम महाधिवेशनको माग गरेका छन्। बैठकमा सभापति देउवानिकट नेत्री डिला संग्रौलाले भने पार्टीको केन्द्रीय पदाधिकारीदेखि तल्लो तहसम्मको समितिमा ३३ प्रतिशत महिला सहभागिताको माग गरेकी छन्। शुक्रबारको बैठकमा केसीसहित एनपी साउद, सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ र राघेचन्द्र यादवले धारणा व्यक्त गरेका थिए। लिखित वक्तव्य दिएका केसीले पार्टी निर्वाचनमा पराजयका जिम्मेवारी सभापतिदेखि पदाधिकरीले सामूहिक रूपमा लिनुपर्ने भन्दै महासमिति भेलामा गएर पार्टीलाई महाधिवेशनको बाटोमा अगाडि बढाउन माग गरेका थिए। केसीले भने, ‘निर्वाचनमा उम्मेदवार छान्दा व्यापक अनियमितता देखियो, शीर्ष नेता चरम गुटबन्दीमा लागे।’ सभापति देउवाले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिँदा सार्वजनिक गरेको आफ्नो प्रतिबद्धताविपरीत पार्टी चलाएको केसीले दाबी गरे। केसीले १३औं महाधिवेशनमा सभापति देउवाकै प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएका थिए। उतिखेर केसी पौडेल समूहका शशांक कोइरालासँग पराजित भएका थिए। पछिल्लो समय उनी पार्टीभित्रका पौडेल र सिटौला समूहलाई एक गराउने आन्तरिक कसरतमा जुटेको सूचना सार्वजनिक भएको थियो। शुक्रबारको बैठकमा पेस गरेको लिखित वक्तव्यमा पनि उनले पौडेल र सिटौला समूहलाई खासै आलोचना गरेका छैनन्। बैठकमा नेता साउद, पाण्डे र यादवले सभापति देउवाको बचाउ गरेका थिए भने नेता चिनकाजी श्रेष्ठले आलोचना गरे। पार्टी सभापतिको विरोध गरेर केही नेता आफ्नो शक्ति बलियो बनाउने दाउमा रहेको साउदले आरोप लगाए। उनले पार्टी सुधारमा सबै नेता सामूहिक रूपमा लाग्न सुझाए। देउवा निकटका साउदलगायतले अग्रिम महाधिवेशनको विरोध गर्दै आइरहेका छन्। महासमिति भेलामा गएर पार्टी विधान परिवर्तन गर्दै पार्टीलाई नयाँ संरचनामा अगाडि बढाउनुपर्ने उनीहरूको मत छ। जारी केन्द्रीय कार्यसमितिको अर्को बैठक पर्सि आइतबार बस्ने कांग्रेसले जनाएको छ।   अन्नपूर्ण पोस्टबाट