वाम एकता अप्ठ्यारो मोडमा

काठमाडौं, वैशाख १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया दुई पार्टी अध्यक्ष मै पुगेर अड्किएको छ ।

यसअघि एकता घोषणा मितिसमेत तय गरेका दुई अध्यक्षबीच पछिल्ला दिन एकता प्रक्रिया अप्ठ्यारो मोडमा पुगेर अड्किएको छ ।

दुवै पार्टीद्वारा एकताको खाका तयार गर्न गठित कार्यदल हुँदै अध्यक्षद्वयसहित दुवै पार्टीका वरिष्ठ नेता सम्मिलित एकता संयोजन समितिमा सहमति हुन बाँकी विवादित विषयको टुंगो लगाउने जिम्मा दुई अध्यक्षमा पुगेर अड्किएको छ ।

विवादित विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक छलफल भए पनि त्यसले ठोस निष्कर्ष लिन सकेको छैन । –राजधानी दैनिकबाट

वन्यजन्तु चित्तल मार्ने छ जना पक्राउ

कैलाली, १८ वैशाख । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ का गोरखबहादुर सिंह, भक्तबहादुर थापा, रनबहादुर थापा, पदम विक, छत्रबहादुर शाही र बाजु चौधरी रहेका छन् । पक्राउ परेकामाथि कानूनी कारबाहीका लागि कैलालीको लम्कीस्थित सेक्टर वन कार्यालयमा पठाइएको छ । यसैबीच, भारतको लखिमपुर निवासी अंकित बिच्छोतलाई त्रिनगर भन्सार सीमानाकाबाट सोमबार लागूऔषध नाइट्रोभेट ९२ ट्याब्लेट र स्पास्मो प्राक्सोभन २९ ट्याब्लेटसहित पक्राउ गरी अनुसन्धान थालिएको पनि जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी, फोरमको पनि गुनासो

काठमाडौं, वैशाख १८ । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थिति बनाएको छ । आफूहरुलाई वेवास्ता गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अवस्था आएको राजपाले जनाएको छ । संविधान संशोधन, मुद्दा फिर्ता लगायतका आफ्ना मागमा सरकार गम्भीर बनेको राजपाको आरोप रहेको छ । राजनीतिक समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्नबारे निर्णय गर्ने राजपाका सहमहामन्त्री सुरेन्द्र झाले जानकारी दिनुभयो । राजपाकै महामन्त्री मनिष सुमनले पनि १० दिनभित्र नै समर्थन फिर्ता लिइने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन २७ गते राजपाका १७ प्रतिनिधिसभा सांसदले विश्वासको मत दिएका थिए । सरकारले भने मधेसवादी दलहरुसँग निरन्तर संवाद भएको भन्दै वार्ता नटुटेको बताएको छ । उता संघीय समाजवादी फोरमले पनि सरकार आफ्ना मागप्रति गैरजिम्मेवार बनेको आरोप लगाएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागिता निश्चित नभएको बताउनुभयो । उहाँले सरकारले ठोस सहमतिका लागि चासो नदेखाएको आरोप समेत लगाउनुभयो । सरकारले मधेसवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको धेरै समय भइसक्यो । तर, यसले मूर्त रुप पाउन सकेको छैन ।

आईपीएल : चेन्नेइको छैटौँ जित, दिल्लीको छैटौँ हार

काठमाडौं, वैशाख १८ । आईपीएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । पुणेमा भएको सोमबार रातिको खेलमा २ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि टिमको जितका लागि पर्याप्त भएन । ऋषभले ४५ बलमा ७ चौका र ६ छक्कासहित ७९ रन बनाएका थिए । ७४ रन बनाउँदा ४ विकेट गुमाएको दिल्लीका लागि ऋषभ र विजयले पाँचौ विकेटका लागि ८८ रनको साझेदारी गर्दै टिमलाई जितको आशा देखाएका थिए । विजयले ३१ बलमा ५ छक्का र १ चौकासहित विष्फोटक ब्याटिङ गरेका थिए । उनी ५४ रनमा नटआउट रहे पनि टिमलाई जिताउन भने सकेनन् । १८ औँ ओभरको चौथो बलमा ऋषभ आउट हुँदा दिल्ली १ सय ६२ रन बनाएको अवस्थामा थियो । १९ औँ ओभरमा विजयले ३ छक्का प्रहार गर्दै टिमलाई जिताउने लक्षण देखाए । उनले ड्वेन ब्राभोलाई १९ औ ओभरमा अन्तिम तीन बलमा छक्कासहित ओभरबाट २१ रन बटुले । अन्तिम ओभरमा जितका लागि दिल्लीलाई २८ रन चाहिएको थियो । तर दिल्लीका ब्याट्स्म्यानले १४ रनमात्र जोड्न सकेपछि चेन्नई १३ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको चेन्नइले शेन वाटसनको ७८ तथा कप्तान महेन्द्रसिंह धोनीको नटआउट ५१ रनको मद्दतमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । अम्बाती रायडुले ४१ रनको योगदान गरेका थिए । वाट्शनले ४० बलमा ७ छक्का र ४ चौकासहित ७८ रन बनाए भने कप्तान धोनीले मात्र २२ बलमा ५ छक्का र २ चौकासहित नटआउट ५१ रन बनाए । २४ बलबाट ४१ रन जोड्ने क्रममा रायडुले ५ चौका र १ छक्का प्रहार गरेका थिए । जितसँगै ८ मध्ये ६ खेल जितेको चेन्नइ अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । ८ मध्ये ६ खेल हारेको दिल्ली भने पुछारमा छ ।

सरकारले मानव अंग दानबारे उच्चस्तरीय समिति निर्माण गर्ने

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अंग प्रत्यारोपणका सम्बन्धमा बनेका नीति छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव अंग प्रत्यारोपणसम्बन्धी शुक्रबार साँझ काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव अंग प्रत्यारोपणका लागि सरकारले गम्भीर भएर सहयोग गर्ने बताएका हुन् । उनले आफूले पनि मिर्गौला प्रत्यारोपणबाट नयाँ जीवन पाएको भन्दै मानव अंग प्रत्यारोपण गर्न सरकार र मेडिकल क्षेत्र मिलेर काम गर्ने बताए । प्रधानमन्त्री ओलीले मृत्युपछि मानव अंग दानबारे उच्चस्तरीय समिति निर्माण गर्ने घोषणासमेत गरे । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मानव अंग प्रत्यारोपणबारे जनचेतना अभिवृद्धि गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

पत्नी-पीडित पति रुँदै प्रहरीको शरणमा पुगेपछि

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा महिला हिँसाका घट्ना दिनहुँ जस्तो सुनिन्छन्। कार्यान्वयन पक्ष जतिसुकै फितलो भएपनि यसको न्यूनीकरणका निम्ति कानुन छ। तर हाम्रो जस्तै सामाजिक परिवेश भएको देशमा कुनै महिलाले लगातार पुरुषमाथि हिंसा गरेर उसलाई प्रहरीको शरणमा जान वाध्य पर्दाछिन् भने अचम्म नै मान्नु पर्ने हुन्छ। यस्तै घटना घटेको छ भारतको उत्तर प्रदेश राज्यमा। त्यहाँको ग्रेटर नोएडा क्षेत्रको दनकौर प्रहरी चौकीमा एकजना पुरुष रुँदै प्रहरीको शरणमा पुगेका छन् र यसको कारण थियो उनकी श्रीमतीद्वारा उनलाई दिइएको प्रताडना । तीन वर्ष अघि ती महिलासँग विवाह गरेका उनले त्यहाँ पुगेर आफ्नी पत्नीलाई कारबाही गरिदिनु पर्ने माग गरेका थिए । ती पतिले रुँदै रुँदै आफ्नी पत्नीले घरको सारा काम लगाएर आफू मालिक्नी बन्ने गरेको गुनासो गरे । बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् । पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् । यस कुराको गुनासो ससुरालीमा गर्दा आफूमाथि झनै हिंसा बढेको गुनासो ती पुरुषले गरेका छन् । उनले ससुरालीमा यस्तो गुनासो गरेपछि पत्नीले घर पनि आफैँलाई पुछ्न लगाएर थप सास्ती दिएको दाबी गरेका छन् । यतिमै पत्नीको हिंसा रोकिएन, उनले पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् । घरको काम गर्नुपरेपछि कार्यालयमा जान ढिलो हुँदा जागिर पनि गुमाउनुपरेको गुनासो उनले प्रहरीसँग गरेका छन् । पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ।  

आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ : गृहमन्त्री बादल

भक्तपुर, वैशाख १३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पु¥याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताउनुभएको छ । आज मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते हुनुभई उपचार गराइरहनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पु¥याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौँ ।” नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उहाँले आक्रमणकारी जो कोही भएपनि कारबाही गर्ने दृढता प्रकट गर्नुभयो । भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाका बारेमा उहाँले जानकारी लिनुभएको थियो । उहाँले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्यसमेत हेर्नुभएको थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराउनुभएको थियो । उहाँले अस्पतालका बारेमा समेत जिज्ञासा राख्नुभएपछि नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाद्वारा सञ्चालित अस्पतालको अवस्था र प्रगतिबारे समेत अवगत गराउनुभएको थियो । अस्पतालमा सहभागी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणबारे जिज्ञासा राखेका थिए । मन्त्री थापाले पार्टी एकीकरण कुनै हालतमा नरोकिने बताउनुभएको थियो । उहाँले जनताको चाहना पार्टी एकीकरण भएर जाने भएकाले जनचाहनाअनुरुप नै दुई पार्टी एक भएर जाने बताउनुभयो । जनप्रतिनिधि र प्याब्सनद्वारा दबाब आजै भक्तपुरका जनप्रतिनिधि र प्याब्सन भक्तपुरले प्रमुख जिल्ला अधिकारी पोखरेललाई भेट गरी जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिन तथा नगर प्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको नेतृत्वमा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, जिसस उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिन र आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेको थियो । आजै प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीको नेतृत्वमा गएको प्याब्सनको टोलीले प्रजिअ पोखरेललाई ज्ञापनपत्र दिँदै नगर प्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेको छ । प्रजिअ पोखरेलले भने आक्रमणकारीको पहिचान भइसकेकाले जुनसुकै कुनामा लुके पनि पक्राउ गरेर कारवाही अगाडि बढाउने आश्वासन दिनुभयो । आक्रमणकारीलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

पसिना गन्हाउने समस्या छ ? यस्ता खानेकुरा त्यागौँ

हामी जे खान्छौँ त्यसको असर शरीरमा पर्छ । यसको असर हाम्रो शरीरबाट आउने गन्धमा अर्थात् सुगन्ध वा दुर्गन्ध दुवैमा पर्छ । कुनै खानेकुरा खाँदा शरीरबाट दुर्गन्ध आउँछ, बढी खाइयो भने शरीरबाट सदैव त्यस्ते दुर्गन्ध फैलिरहन्छ । विभिन्न अनुसन्धानले बताएअनुसार केही खानेकुरा त्यस्ता छन् जसलाई गर्मी मौसममा सकेसम्म खानु हुँदैन, खाए पनि थोरै मात्र खानुपर्छ । गर्मी मौसममा त्यस्ता खानेकुराले पसिनाबाट बढी दुर्गन्ध पैदा हुन्छ, पसिना बढी गन्हाउँछ । खानेकुरामा सावधानी अपनाएर पनि पसिनाको दुर्गन्धबाट छुटकारा पाउन सकिन्छ । साथै केही त्यस्ता खानेकुरा पनि छन् जसको सेवनले पसिनाको दुर्गन्ध कम गर्न सघाउ पुर्‍याउँछन् । कुनै कुनै खानेकुराले त शरीर तथा मुखबाट सुगन्ध फैलाउनसमेत सहयोग पुर्‍याउँछन् । दूधः दूधमा कोलिन नामक तत्व पाइन्छ जसले दुर्गन्ध पैदा गर्दछ । दूधको सेवनबाट शरीर गन्हाउने दुष्प्रभावबाट बच्न दही खानुपर्छ । दहीमा त्यस्तो सक्रिय तत्व पाइन्छ जसले दुर्गन्ध फैलाउने तत्वको प्रभाव कम गर्न सहयोग गर्छ । अल्कोहलः अल्कोहलको सेवनले मुख, शरीर तथा पसिना सबैतिर दुर्गन्ध फैलाउँछ । यसको असर कम गर्न कागतीपानी पिउनुपर्छ जसले शरीरबाट टक्सिन निकाल्न मद्दत गर्छ भने अल्कोहलको प्रभाव कम गरी दुर्गन्ध फैलनसमेत रोक्छ । कफीः कफीले शरीर तथा सासको दुर्गन्ध बढाउने काम गर्छ । यसको प्रभाव कम गर्न हर्बल टी पिउनुपर्छ । यसमा हुने एन्टी अक्सिडेन्टले शरीरको टक्सिन बाहिर निकाली दुर्गन्ध कम गराउँछ । काउलीः काउलीमा कोलिन तथा भिटामिन बी पाइन्छ जसले पसिनामा दुर्गन्ध पैदा गराउँछन् । यसको प्रभाव कम गर्न ताजा स्याउको सेवन गर्नुपर्छ । लसुन र प्याजः लसुन तथा प्याजमा सल्फर नामक तत्व पाइन्छ जसको सेवनले पसिना धेरै नै गन्हाउँछ । यसको प्रभाव कम गर्न दालचिनी तथा सुकुमेल खानुपर्छ । फर्सीः फर्सीमा पनि कोलिन पाइन्छ जसले पसिना गन्हाउने समस्या बढाउँछ । यसको प्रभाव कम गर्न सुन्तला खान सकिन्छ । सुन्तलाको सेवनले शरीरमा सुगन्ध फैलाउनसमेत सहयोग गर्छ ।

अव बंगलादेश–भारत–नेपाल सीधा बससेवा

काठमाडौं, वैशाख १३ । बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् । नेपाल प्रवेशपछि बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यलगायतले उनीहरूलाई स्वागत गरेका हुन् । बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका सात गरी ५७ अधिकारी छन् । ती बस सोमबार बिहान ८ बजे ढाकाबाट हिँडेका थिए । बस हिँड्नेबित्तिकै ढाकाको जाममा फस्दा आउन ढिला भएको एक नेपाली अधिकारीले बताए । बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आइपुगेको थियो । पहिलो रात ढाकाको रंगपुरमा वास बसको थियो । दोस्रो रात भारतको सिलगुढीमा बसेको बस तेस्रो रात बुधबार सौराहामा बसेको छ । बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौताअनुरूप त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु गरिएको हो । सम्झौता भएको ३ वर्षपछि रुट परीक्षण सुरु गरिएको छ । ढाकाबाट छुटेका श्यामोली परिवहनका ती बस बिहीबार काठमाडौं पुग्नेछन् ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

गृहमन्त्री थापा भन्छन्– प्रदेश २ को सुरक्षा अवस्था चुनौतीपूर्ण छ

बारा, वैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले २ नं प्रदेश संवेदनशील प्रदेश भएकाले त्यसैअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताएका छन् । २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बुधबार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री थापाले अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीरताका साथ अघि बढ्नुपर्ने बताए । खुला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या २ नम्बर प्रदेशमा बढी देखिएको भन्दै उनले सुरक्षा गोष्ठीको सुरुआत पनि यसै प्रदेशबाट गरिएको बताए । गोष्ठीले २ नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको विषयमा कार्ययोजनासहितको निष्कर्ष निकाल्ने बताइएको छ । यसअघि, बुधबारै सिमरा विमानस्थलमा पत्रकारहरुसँग गृहमन्त्री थापाले भूमिगत भएर तराईमा आपराधिक गतिविधि गर्नेले उन्मुक्ति नपाउने चेतावनी दिए । तराईमा हुने अपराधिक घटनाप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

विवाह गरेको २५ वर्ष हुँदासम्म नागरिकताविहीन

गौशाला । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । धनुषा जिल्लाको खरिहानी माइती रहेकी ललिताले २०५० सालमा शत्रुघन पासवानसँग विवाह भएको र सोही बेलादेखि नागरिकता बनाइदिन पतिलाई पटकपटकभन्दा पनि आज, भोलि भन्दाभन्दै २५ वर्ष बितिसकेको ललिताले बताइन् । किन नागरिकता नबनाइदिएको भन्ने कारण खुल्न सकेको छैन । गरीब र दलित परिवारकी ललिताले नागरिकताको अभावमा आफूले गाउँमा दलितका लागि आउने विभिन्न कार्यक्रममा सहभागी हुन नपाएको, छोराछोरीले स्कूल पढ्न नपाएको तथा अन्य विभिन्न सुविधाबाट समेत वञ्चित भएको गुनासो सुनाइन् । ललिताको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता किन नबनाइदिएको भनी उनका पति शत्रुघनसँग सोध्दा उनले पुनः आउँदो १५ दिनभित्र बनाइदिने बताए । रासस

कतिले घट्यो ग्लोबल आईएमईको नाफा ?

काठमाडौं । ग्लोबल आइएमई बैङ्कको चैत मसान्तसम्ममा नाफा २ प्रतिशतले घटेर रू.१ अर्ब ४४ करोडमा सीमित भएको छ । बैङ्कको सञ्चालन नाफा घटेकाले र खर्च बढेकाले नाफामा कमी आएको हो । चैत मसान्तसम्ममा बैङ्कको चुक्तापूँजी २२ प्रतिशतले बढेर रू। ८ अर्ब ८८ करोड पुगेको छ भने रिजर्भ कोषमा रू. ३ अर्ब ८६ करोड छुट्याएको छ । बैंकको लगानी रू. १८ अर्ब ४० करोडभन्दा बढी रहेको छ । वैदेशिक मुद्रा विनिमयबाट बैंकले रू. १ अर्ब २२ करोड आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी रू.२ अर्ब ६१ करोड, कर्मचारी खर्च रू. ७२ करोड ७९ लाख, अन्य सञ्चालन नाफा रू. ७८ करोड ८२ लाख र सञ्चालन नाफा रू. १ अर्ब ८१ करोड पुगेको छ । चैत मसान्तसम्ममा बैङ्कले रू. १ खर्ब २ अर्ब निक्षेप सङ्कलन गरी रू. ८९ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैङ्कले रू। ३५ करोड ६१ लाख खराब कर्जा उठाउन सफल भएको छ भने निष्क्रिय कर्जा १ दशमलव २९ प्रतिशत रहेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २१ करोड ६९ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. २१ दशमलव ६७, मूल्य आम्दानी अनुपात १४ दशमलव ३५, तरलता अनुपात २६ दशमलव ९५ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४३ दशमलव ४४ रहेको छ ।

४ दशकपछि फेरि शुरु भयाे बागमती यात्रा

काठमाडौं । ४ दशकपछि बाग्मती यात्रा सोमबारदेखि शुरु भएको छ । बाग्मती नदीको कटुवाल दहदेखि बाघद्वारसम्मको १८ कोशको यात्रा ४ दशकपछि शुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको यो यात्रा एक साता सम्म जारी रहनेछ । १७ दिनसम्म बाग्मती नदीको किनारै किनार गरिने यात्रा यसपाली भने ७ दिनमा समापन गर्ने लक्ष्य राखेको छ । धार्मिक रुपमा महत्व रहेको बाग्मती नदी मानब सभ्यता संग पनि जोडिएकाले यसको संरक्षणका लागि वैदिक र तान्त्रिक दुवै बिधिबाट यात्रा सुरु गरिएको यात्राका संयोजक तथा पशुपति आगमघरका पुजारी मदन भट्टले बताए । पहिलो दिन सोमबार बिहान पशुपतिनाथबाट सुरु गरिएको यात्रा कार्यबिनायक र दक्षिणकाली गोपालेश्वरको पूजा गरी कटुवाल दहमा पुगेर त्यहा ध्वजा कलश स्थापना गरिनेछ । पहिलो दिन कटुवालदहको यात्रा गरी त्यही शिखर नारायणमा बास बस्नेछ । दोस्रो दिन सुन्दरीघाट बल्खुमा स्नान गरेर टेकु दोभानमा पञ्चलिंगेश्वर र पचली भैरबको पुजा गर्दै बाटोमा पर्ने २७ तीर्थस्नान गरेर शंखमुलमा बिश्राम लिइनेछ । तेस्रो दिन शंखमुलबाट प्रयागघाटमा स्नान गरी बाटोमा पर्ने ४० भन्दा बढी तीर्थस्नान गर्दै कोटेश्वर महादेबको पूजा गरीनेछ । यसरी नै ७ दिनसम्म कोटेश्वर महादेव , गुहेश्वरी , सुन्दरीजल , बुढानिलकण्ठ, बज्रयोगिनी हुदै चागुनारायण , शंखतीर्थ , गुहेश्वरी , मृगेश्वर बिरुपाक्ष हुदै अन्तिम दिन रुद्रगाडेश्वर पुगेर बाग्मती यात्रा समापन हुनेछ । यो अबधिभर बाग्मती नदीको आसपासका करीब १ सय ७० तीर्थस्नान गरिनेछ । यो यात्रामा सहभागीहरुले जमिन , हीरा, मोती लगायतका बिभिन्न द्रब्य सामग्री दान दिने गर्छन ।

आइपिएल : कृष्णप्पा गोथमले हारेको खेलमा राजस्थानलाई जिताए  

काठमाडौं, वैशाख १० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार बेलुका भएको खेलमा राजस्थान रोयल्सले रोमाञ्चक जित दर्ता गरेको छ । जयपुरमा भएको खेलमा राजस्थानले दुई बाँकी हुँदा मुम्बई इन्डियन्समाथि ३ विकेटको जित दर्ता गरेको हो । मुम्बईले प्रस्तुत गरेको १६८ रनको लक्ष राजस्थानले १९ ओभर चार बलमा सात विकेटको क्षतिमा भेट्टायो । राजस्थानको जितमा कृष्णप्पा गोथम नायक बने । उनले हारको नजिक पुगेको टिमको पारी सम्हाले । उनले ११ बलमा चार चौका र दुई छक्काको सहयोगमा नटआउट ३३ रन बनाएकाले नै राजस्थान विजयी भयो । यस्तै राजस्थानका लागि सञ्जु सामसोनले ३९ बलमा ५२ तथा बेन स्टोक्सले २७ बलमा ४० रन बनाए । त्यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले सात विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि सूर्यकुमार यादवले ४२ बलमा ७२ तथा इशान किशनले ४२ बलमा ५८ रन बनाए पनि हार टार्न सकेनन् । जितपछि ६ खेलबाट ६ अंक जोडेको राजस्थान पाँचौँ स्थानमा छ । पाँच खेलमा चौथो हारसहित मुम्बई २ अंक जोडेर सातौँ स्थानमा छ ।

चेल्सी फाइनलमा, हुने भयो घोर विरोधी प्रशिक्षकबिच प्रतिस्पर्धा

काठमाडौं, वैशाख १० । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० ले हराउँदै चेल्सीले म्यानचेस्टर युनाइटेडसँगको फाइनल भेट पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा ओलिभर जिरउड र अल्भारो मोराटाले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । ४६ औँ मिनेटमा जिरउडले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । खेल सकिन ८ मिनेट हुँदा मोराटाले गोल गरे र टिमलाई २–० को जित दिलाए । मोराटा जिरउडलाई रिप्लेस गर्दै खेलको १० मिनेट बाँकी हुँदा मैदान छिरेका थिए । साउथह्याम्पटनका नाथन रेडमोण्डले गोल गर्ने राम्रो मौका बनाएका थिए । यस्तै चार्ली अस्टिनको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । चेल्सीले अब उपाधिका लागि आउँदो मे १९ मा वेम्बलीमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । म्यानचेस्टर युनाइटेड शनिबार राति भएको खेलमा टोटनह्यामलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ। चेल्सीको जितको अर्थ एफए कपको फाइनलमा दुई यस्ता प्रशिक्षकबिच भेट हुने भएको छ, जसको सम्बन्ध निकै तितो छ । एक अर्काका घोर विरोधी हुन् युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो र चेल्सीका प्रशिक्षक एन्टोनी कोन्टे । मोरिन्हो चेल्सीका पूर्व प्रशिक्षक पनि हुन् । यो सिजनभर मोरिन्हो र कोन्टेले एक अर्काको उछितो निकै काटेका छन् । सन् २००७ मा मोरिन्हो चेल्सीका प्रशिक्षक थिए र त्यसबेला एफए कपको फाइनलमा युनाइटेडसँग भेट भएको थियो । त्यसबेल उनले टिमलाई १–० ले जितएका थिए ।

छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय गोष्ठी’ नामक पुस्तकको सार्वजनिक गर्दै उहाँले सार्क राष्ट्रबीच देखिएका असमझदारीलाई न्यूनीकरण गरी आपसी विश्वास, सहयोग र सहकार्यका सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, छिमेकीसँग झगडा भएमा राम्ररी सुत्न सकिँदैन, छिमेकीसँग विश्वासिलो, सुमधुर सम्बन्ध जरुरी छ ।” उहाँले मुलुकको शान्ति र समृद्धिका लागि छिमेकीसँग नेपालको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । नेपाल सार्कको संस्थापक र सक्रिय सदस्य रहेको र सार्क मुलुकको स्रोत र साधनको विकास गर्न सार्कको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालले सार्कको अध्यक्षता गरिरहेको छ, अहिले केही राष्ट्रबीच असमझदारी भएको छ, राष्ट्रबीच आपसी वातावरण अनुकूल पार्न जरुरी छ ।” प्रधानमन्त्री ओलीले सार्कजस्ता राष्ट्रबीच कहिलेकाहीँ आपसमा मतभेद, असमझदारी भए पनि त्यसलाई घटाएर लगी फलदायी बनाउनुपर्नेमा जोड दिनुभयो । सार्कको प्रभावकारिता र क्षेत्रीय सम्मेलनका संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्कको आवश्यकता सबै राष्ट्रमा भएको र सबै राष्ट्रले आपसमा मिलेर लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पुस्तकका रुपमा सार्वजनिक गर्न केही ढिलाइ भए तापनि धेरै मेहनत गरेर निकै उपयोगी पुस्तकका रुपमा प्रकाशन गरेको जानकारी दिनुभयो । सभामुख कृष्णबहादुर महराले नेपालले सार्क राष्ट्रको अध्यक्षता गरिरहेको उल्लेख गर्दै दुई÷दुई वर्षमा हुनेपर्नेमा ढिलाइ भएकोप्रति दुःख व्यक्त गर्दै सार्कलाई क्रियाशीलरुपमा अगाडि बढाउनुनपर्ने धारणा राख्नुभयो । पुस्तकका सम्पादक लालबाबु यादवले सार्कको दुईदिने गोष्ठीमा भएका सम्पूर्ण गतिविधि सबै राष्ट्रलाई उपयोगी हुने तरिकाले पुस्तकका रुपमा प्रकाशन गरेको बताउनुभयो । कार्यक्रममा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेस नेत्री सुजाता कोइराला, सार्क सचिवालयका महासचिव अम्जाद हसैनको उपस्थिति थियो । पुस्तकमा जनतादेखि जनतासम्मको सम्बन्धलाई अगाडि बढाउने, वैदेशिक रोजगार, आर्थिक विकास तथा संस्कृतिको विकासलगायतका गोष्ठीमा प्रस्तुत विषयवस्तुलाई समावेश गरिएको उल्लेख छ ।