३०८ परिवारलाई १२ हजार फलफूलका बिरुवा नि:शुल्क वितरण

रसुवा । जिल्लामा विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार पहिलो चरणमा बाढी पहिरोपीडित कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकाका ३०८ परिवारलाई १२ हजार ७०० फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ ।

कागती, सुन्तला, अम्बा र अलैँचीका बिरुवा वितरण गरिएको हो । बिरुवा संरक्षण गर्न किसानलाई प्राविधिकले आग्रह गरेका छन् । उत्तरी रसुवाको स्याफ्रुबेँसीमा अहिले अम्बाका साथै सुन्तलासमेत उत्पादन हुन थालेको छ ।

यस्तै चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कृषि कार्यालयले ८१ मौरीको घार वितरण गरेको छ । मौरीसहित रु १० हजार मूल्य पर्ने घार र प्रतिघार रु पाँच हजार ढुवानी भाडा किसानलाई उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताउनुभयो । कार्यालयले हालसम्म एक हजार ५५६ मौरीका घार वितरण गरेको छ । किसानलाई एपिस सेरेना जातको मौरी उपलब्ध गराइएको हो ।

गत वर्षको तथ्याङ्क अनुसार परम्परा र आधुनिक ढंगबाट पालिएका मौरीले १८ क्विन्टल मह उत्पादन गरी कूल रु एक करोड ८० लाखबराबर आम्दानी गरेको कार्यालयले जनाएको छ । मह प्रतिकिलो रु ६०० मा बिक्री गरिएको थियो । रासस

विश्वकप फुटबलः पहिलो क्वाटरफाइनल खेल्ने टिम को-को ? शुक्रबार भिडन्त

मस्को । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलमा भिड्ने टोलि फ्रान्स र उरुग्वे बनेका छन्। दुवैले हिजो (शनिबार)का खेल जितेसँगै फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा भिड्ने पहिलो टोल बनेका हुन् । फ्रान्सले अन्तिम १६ को पहिलो खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गरेका युवा फरवार्ड केलियन एमबाप्पेले २ गोल गरेका थिए। यता उरुग्वेले युरोपियन च्याम्पियन पोर्चुगललाई २-१ गोलले पाखा लगाएर अन्तिम ८ मा फ्रान्ससँगको भेट पक्का गर्‍यो। उरुग्वेका लागि दुवै गोल इडिन्सन काभानीले गरेका थिए। अब दुई टिमबीच आगामी शुक्रबार प्रतिस्पर्धा हुनेछ। -एजेन्सी

विवेकशीलका संयोजकसहित नेता कार्यकर्ता पक्राउ

काठमाडौं, असार १ट । राजधानीका माइतीघरसहित देशभरका निश्चित स्थानबाहेक अनेत्र सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकारको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन गर्न पुगेका विवेकशील साझाका नेताहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । यसअघि सरकारले राजधानीका विभिन्न सात स्थानमा मात्र प्रदर्शन गर्न पाउने सूचना जारी गरको थियो । सरकारले निषेधित क्षेत्र कडाइका साथमा कार्यान्वयन गराउने बताएको थियो । विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले विना कारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत रहेको बताएका छन् ।

विश्व कपका ४ स्टारमध्य आज २ घर फर्किदै

काठमाडौं, असार १६ । लियोनेल मेसी, एन्टोइन ग्रीजमैन, लुइस सुआरेज र क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका चर्चित नाम हुन । यी चार जना चर्चित खेलाडी रसियामा जारी विश्वकपको नकआउट चरणमा आज भिड्दै छन् । आज राति मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले ग्रीजमैन नेतृत्वको फ्रान्सको सामना गर्दै छ भने रोनाल्डोको पोर्चुगलले सुआरेजको उरुग्वेसँग । नकआउट चरणका आज हुने पहिलो दुई खेलबाट चार मध्ये दुईले अघिल्लो चरणको यात्रा तय गर्ने छन् भने दुईले घरको यात्रा । फुटबलका फ्यानहरुले अर्जेन्टिना र पोर्चुगलको जितको कामना गरिरहेका छन् । किनकी क्वार्टर फाइनलमा बर्तमान विश्व फुटबलका चर्चित दुई खेलाडी मेसी र रोनाल्डोको भिड्न्त हेर्ने अवसर मिलोस । फ्रान्स भर्सेस अर्जेन्टिनाः मेसीको जादू या ग्रीजमैनको जलवा लीग चरणमा मेसी र उनी नेतृत्वकोे अर्जेन्टिनाको प्रदर्शन हेर्दा फ्रान्सविरुद्ध दक्षिण अमेरिकी टीमको यात्रा थ्यति सहज देखिदैन । उनीहरुबीचको खेल शनिबार राति पौने ८ बजे कजान रङशालामा हुने छ । यदि अर्जेन्टिनालार्य अगाडि जानु छ भने मेसीले फ्रान्सविरुद्ध आफ्नो जादूमय खेल दिखाउनु पर्ने छ । जसका बारेमा मेसी जानकार छन् । यधपि युवा खेलाडीको बाहुल्यता रहेको फ्रान्स पनि जारी विश्वकपमा राम्रो लयमा छैन । दुबै टोलीले रसियामा जारी विश्वकपमा सोचे अनुरुपको खेल प्रदर्शन गर्न सकेका छैनन् । र अहिलेसम्मको विश्वकप यात्रामा यी दुई टोलीबीच ठूलो फरक छ । फ्रान्सले लीग चरणका तीन खेलमध्य दुईमा जित र एकमा बराबरी गरेको थियो तर अर्जेन्टिनाले भने एकमा जित एक बराबरी र एकमा नराम्रो हार व्योहोरेको थियो । बढी उमेरका खेलाडी बढी उमेरका खलाडी र असन्तुलित टीम अर्जेन्टिनाको मुख्य समस्या देखिएको छ । विशेष गरी लीग चरणको क्रोएसियाविरुद्धको खेलमा त्यो प्रस्ट रुपमा देखिएको थियो । सो खेलमा अर्जेन्टिनाले ३–० को लज्जास्पद हार व्योहोर्नु पर्यो । तर मेसीले लीग चरणको नाइजेरियासिवरुद्धको अन्तिम खेलमा विश्वकपमा आफ्नो खाता खोलेका छन् । जसले टीमलाई विश्वकपमा पहिलो जित निकालयो त्यो अर्जेन्टिनाका लागि शुभ संकेत पनि हो ।अर्कोतिर फ्रान्स लीग चरणमा अपराजित रहे पनि सुस्त देखिएको छ । स्ट्राइकर ग्रीजमैनले अहिलेसम्म आफ्नो लय समात्न सकेका छैनन् । टीमका प्रशिक्षक डिडिए देशौं भने नकआउट चरणमा आफ्नो टोलीले लय समात्ने कुरामा ढिक्क देखिन्छन् । पोर्चुगल भर्सेस उरुग्वेः रोनाल्डोविरुद्ध सुवारेजसुआरेज पोर्चुगल उरुग्वेविरुद्ध जब मैदानमा उत्रिने छ उसको फ्यानहरुको मनमा एउटा जिज्ञासा उत्पन्न हुने छ यदि आज रोनाल्डो चलेनन् भने के होला ? रोनाल्डोको एकल प्रयासले पोर्चुगल नकआउट चरणसम्म पुगेको फुटबलका जानकार बताउँछन् । उनको प्रदर्शनलाई अगल गर्ने हो भने पोर्चुगलको प्रदर्शन विर्सन लायक देखिन्छ । उता दुई पटकको विजेता उरुग्वेले भने लीग चरणका खेलमा टीम वर्क गजबको देखायो वा समग्रमा सामूहिक खेल प्रदर्शन गर्यो । जसमा लुइस सुआरेज, ऐन्डिसन कभानी र कप्तान डिएगो गोडिनले टोलीको जितका लागि अहम भूमिका निभाए । उरुग्वेको बलियो रक्षापक्ति उरुग्वे जारी विश्वकपमो एउटामात्र यस्तो टीम हो जसले एउटा पनि गोल नआएर नकआउट चरण पुगेको छ । गोडिन एटलेटिको क्लबबाट खेल्छन् । जसको रक्षापक्ति युरोपभरको क्लबमा सबैभन्दा बलियो मानिन्छ । यसैको प्रभाव हुनसक्छ उरुग्वेले सन २०१८ को छ वटा खेलमा एउटा पनि गोल खाएको छैन । रोनाल्डोले जारी विश्वकपमा चार गोल गरिसकेका छन् । जसमा स्पेनविरुद्धको बराबरी खेलमा ह्याट्रिक गर्दै तीन गरे । उनको नाम युरोपबाट ८५ अन्तराष्ट्रिय गोल गर्ने कीर्तिमान छ ।

४० हजार अमेरिकी डलरसहित युवक पक्राउ

धादिङ । नेपाल प्रहरीले ४० हजार अमेरिकी डलरसहित एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गको सिम्लेमा स्थानीय पसलेसँग सस्तो दरभाउमा डलर साट्‌ने क्रममा प्रहरीले शंका गरी पक्राउ गरेको थियो । पक्राऊ पर्नेमा नवलपरासी जिल्ला सरावल गाउँपालिका–३ निवासी २८ वर्षीय आनन्दप्रसाद कलवारलाई पक्राउ गरेको हो । कलवारसँग एक सय दरका ४ सय थान अमेरिकी डलर बरामद भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । कलवारले आफूसँग रकम नभएर खाना नखाएको भन्दै सस्तोमा डलर साटी दिन पसलेसँग आग्रह गरेका थिए । त्यति ठूलो मात्रामा नगद बोकेर सस्तो दरभाउमा साट्‌न खोज्नुले नक्कली डलरको आशंका भएपनि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको  कान्तिपुर दैनिकको अनलाईनले उल्लेख गरेको छ ।

विश्वकप फुटबलः गुगलमा खोजिने पहिलो नम्बरमा नेइमार, दोस्रोमा को ?

मस्को । विश्वकपअघि अन्तर्राष्ट्रिय र चाखलाग्ने घटना विश्व राजनीतिकै हुने गर्दथ्यो । ‘सर्च इन्जिन गुगल’ मा अघिकांश दर्शकले इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, अमेरिका र उत्तर कोरियाबीचका घटना र राजनीतिक विषय बढी रुचि राख्दथे । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ । अझ, गुगलमा ब्राजिल फुटबल टोलीको बढी खोजी भइरहेको छ । विश्वकप सुरु भएयता गुगलमा सबैभन्दा धेरै खोजिने टोलीको पहिलो सूचीमा ब्राजिल देखिएको छ । पाँच पटकको विश्वविजेता ब्राजिल छैटौं पटक उपाधि जित्ने अभियानमा छ । यद्यपि, समूह चरणको पहिलो खेलमा ब्राजिलले स्विट्जरल्यान्डसँग बराबरी खेलेपछि निकै आलोचित भएको थियो । दोस्रो खेलमा कोस्टारिकालाई २-० गोलले हराएपछि ब्राजिल लयमा देखिएको छ । गुगलमा ब्राजिलका नेमारलार्इ खोज्नेको संख्या एक अरबभन्दा बढी छ । समूहको अन्तिम खेलमा बुधबार ब्राजिलले सर्बियासँग खेल्नेछ । विश्व समाचार संस्था बीबीसीको एक अध्ययनअनुसार गुगलमा सबैभन्दा बढी ब्राजिललाई खोजिएको उल्लेख छ । यसैगरी खोलीमा अर्जेन्टिना दोस्रो, साबिक विजेता जर्मनी तेस्रो र फ्रान्स चौथो टोली बनेका छन् । खेलाडीको रूपमा पनि ब्राजिलका नेमारलाई खोल्नेको संख्या धेरै छ । नेमारलाई एक अरबभन्दा बढीले खोजेका छन् । गुगलमा अर्जेन्टिनी स्टार लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान, ओउसमाने डिम्बालेलगायत खेलाडीको पनि खुबै ‘सर्च’ गरिएको छ । -एजेन्सी

असार मसान्तभित्र स्थानीय तहमा कर्मचारीहरुको समस्या समाधान हुने

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान कुरा गर्दै उहाँले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्नेछन् भन्नुभयो । मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले तोकिएको स्थानमा कार्य गरिरहेको बताउँदै केही खरदार र सुब्बासरहका कर्मचारीमात्र अपुग रहेको बताउनुभयो सरकारले खटाएको ठाउँमा जानुबाहेक कर्मचारीसँग अर्को विकल्प नभएको भन्दै मन्त्री पण्डितले क्यान्सर, मुटुका बिरामी र सुत्केरी वा सुत्केरी हुन लागेकाबाहेक अन्य सबै कर्मचारीले तोकिएको स्थानमा कार्य गरी जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पण्डितले कर्मचारी अभावका कारण कोही कसैले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको बताउँदै संघीयता कार्यान्वयनमा शुरुवात भएको बुझ्नु पर्नेमा जोड दिनुभयो । उहाँले ट्रेड युनियनमा रहेका कर्मचारीलाई काज फिर्ता गरी कार्यमा खटाइएको बताउँदै अब कर्मचारीले हाजिर गरेर मन्त्रालयमा बस्ने कार्यमा कुनै छुट नदिने बताउनुभयो । मन्त्री पण्डितले सबै कर्मचारीका लागि एउटा ट्रेड युनियन निर्माण गर्ने सम्बन्धमा आवश्यक मस्यौदा कानून मन्त्रालय पठाएको जानकारी दिनुभयो । मन्त्री पण्डितले निर्वाचित जनप्रतिनिधि वा अन्य कसैले भाइभतिजालाई करार, ज्यालादारी कर्मचारीको नियुक्ति गर्ने कार्य रोक्नुपर्ने बताउँदै संघीय सरकारले आवश्यक प्राविधिक कर्मचारी स्थानीय निकायमा केही समयका लागि करारमा नियुक्ति पठाउने बताउनुभयो । संघीय सरकारले प्रदेशिक लोक सेवा चाँडै नै स्थापना गरी माण्डदण्डअनुसारको राष्ट्रसेवक कर्मचारी चयन गरिनेछ उहाँले भन्नुभयो । रासस

घरमा राखिएको ११२ किलो गाँजा नष्ट !

चितवन, असार ११ । इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ । एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो । खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–११ स्थित ठूलीमाया तामाङको घरमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा नष्ट गरिएको हो । गाँजा भण्डारण गरेको आरोपमा ठूलीमाया तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो । लागूऔषध (नियन्त्रण) ऐनबमोजिम गाँजा सञ्चय गर्ने व्यक्तिलाई दुई वर्षदेखि १० वर्षसम्म कैद तथा रु १५ हजारदेखि एक लाख जरिवाना हुनसक्ने प्रहरी निरीक्षक विष्टले बताउनुभयो । चितवनको राप्ती र खैरहनी नगरपालिकाको पहाडी क्षेत्रमा बढी गाँजाखेती हुने गरेको छ । यता जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिट गरी अंगभंग मुद्दाका फरार अभियुक्त जिल्ला चितवन भरतपुर महानगरपालिका–११ का २० वर्षीय नेप्टे भनिने नवीन गुरुङलाई पक्राउ गरेको छ । उनीसहितका केही व्यक्तिले भरतपुरका देवेन्द्रबहादुर गौतमलाई कुटपिट गरी अंगभंग गराएको आरोप लागेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भरतपुरका स्थानीय राजन गौतम भने यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन् । आइतबार पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पठाइने आचार्यले जानकारी दिनुभयो । -रासस

मोहम्मद सलाह राष्ट्रिय टिम छोड्न चाहन्छन् !

एजेन्सी । इजिप्टको फुटबल एसोसिएसनले आफू र स्टार खेलाडी मोहम्मद सलाहबिच कुनै किसिमको समस्या नरहेको बताएको छ । सलाहले राष्ट्रिय टिम छोड्न सक्ने खबर आइरहेका बेला इएफएले खेलाडी र आफूबीच कुनै समस्या नरहेको बताएको हो । तर इएफएसँग लगातार असहमति भइरहेको र विवादको क्रम चलिरहेकाले सालहले राष्ट्रिय टिम छोड्ने बारेमा सोचिरहेको खबर सिएनएनले प्रकाशित गरेको थियो । चेचन लिडर रामाजान काडिरोभसँग तस्बिर खिचाउन लगाएपछि सलाह बेखुशी भएको खबरमा उल्लेख गरिएको छ । तर इएफएले भने सलाहले राष्ट्रिय टिम छोड्न लागेको भन्ने खबर पूर्णरुपले असत्य रहेको बताएको छ । उसले भनेको छ, ‘यो खबर पूर्ण असत्य हो । सलाह हामीसँगै छन् र प्रशिक्षण क्याम्पमा खुशी छन् । उनी साथी खेलाडीसँग रमाइरहेका छन् । उनले राम्रोसँग प्रशिक्षण पनि गरिरहेका छन् ।’ खेलाडीलाई राजनीतिक प्रोपोगाण्डाका लागि प्रयोग गरेको आरोप लागेका काडिरोभसँग सलाहले तस्बिर खिचाएका थिए । इजिप्ट विश्वकप फुटबलको क्रममा चेचेन्यामा आधारित छ । शनिबार सलाहका एजेन्ट रामी अब्बासले गरेको ट्वीटले पनि सलाह र इएफएबिच समस्या रहेको संकेत गरेको थियो । काडिरोभमाथि मानवअधिकारको उल्लंघन गरेको आरोप लाग्ने गरेको छ, जुन आरोप उनले अस्वीकार गर्दै आएका छन् । सलाह र इएफएबिच गएको अप्रिलमा तस्बिरको अधिकारका बारेमा विवाद भएको थियो । सलाहको तस्वीर इएफएले आफ्नो प्रायोजकको प्रोसनका लागि प्रयोग गरेको थियो । तर सलाहले भने आफ्नो तस्वीरको अधिकार आफैसँग हुनु पर्ने बताउँदै आएका छन् ।

इग्ल्याण्डविरुद्ध पानामाको विश्वकपमा पहिलो गोल

काठमाडौं, असार १० । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत आज ११औं दिन पनि तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा अहिले इंग्ल्याण्ड र पानामा भिडिरहेका छन् । खेलको शुरुदेखिनै दवावमा रहेको पानामाले खेलको ७८ मिनेटमा इग्ल्याण्डविरुद्ध पहिलो गोल गरेको छ । पानामाको विश्व कपमा पहिलो गोल हो यो । पानामाका लागि फेलिपे वाउलेले विश्वकममा पहिलो गोल गरेका हुन । इंग्ल्याण्डका लागि जोन स्टोनस्ले खेल शुरु भएको ८ मिनेटमै गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका छन् । त्यसपछि खेलको कप्तान ह्यारी केनले खेलको २२ औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । त्यसलगत्तै खेलको ३६ मिनेटमा जेसस् विन्गार्डले इग्ल्याण्डका लागि तेस्रो गोल गरे चर त्यसको चार मिनेट वित्न नपाउदै इग्ल्याण्डका लागि जोन स्टोनस्ले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललार्इ ५–० को अवस्थामा पुर्याए । त्यसकपछि कप्तान केनले ने खेलको ६२ औं मिनेटमा तेस्रो गोल गर्दै टोलीलाई ६–० को अवस्थामा पुरयाए । इंग्ल्याण्ड पहिलोपटक विश्वकप खेलिरहेको पानामालाई हराउँदै प्री क्वाटरफाइनलमा आफ्नो स्थान बनाउनेलक्ष्यका साथ मैदान उत्रने छ ।

नेइमारले गरे ब्राजिलका लागि अर्को गोल

रसियामा जारी २१ औं संस्कारणको विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ का ब्राजिल र कोष्टारिकाबीचको खेल जारी छ । दोस्रो हाफ अक्रामक रुपमा प्रस्तुत भएको ब्राजिलका लागि खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दौ टोलीलाई २–० को अग्रता दिलाए । त्यअघि खेलको ९० मिनेटमा फिलिपोले गोल गर्दै टीमलाई अग्रता दिलाएका हुन । विश्वकपको दावेदार मानिएको ब्राजिलले गोलको प्रयास गरे पनि त्यो प्रयाप्त भएन । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा सुरु भएको खेलमा बलियो टिम ब्राजिल जित हात पार्दै नकआउट चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यता, कोष्टारिका पनि ब्राजिललाई रोक्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोष्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।

८ प्रहरीलाई काठमाडौं पुलिस अवार्ड

काठमाडौं, असार ७ । महानगरीय प्रहरी परिसरले ८ जना प्रहरीलाई पुरस्कृत गरेको छ । जेठ महिनाको कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ८ जना प्रहरी कर्मचारीलाई शुक्रबार पुरस्कृत गरिएको हो । काठमाडौं पुलिस अवार्डबाट प्रहरी नायब उपरीक्षकहरु योगेन्द्रसिह थापा र विश्वराज खड्का, प्रहरी निरीक्षकहरु राजु लामा र केशवदत्त भट्ट, प्रहरी नायब निरीक्षकहरु अजयजंग थापा र धनसिंह ऐरी, प्रहरी हवल्दार ढालबहादुर क्षेत्री र प्रहरी जवान केशव महतरा पुरस्कृत भएका हुन् । प्रहरी नायब उपरीक्षकहरुको पुरस्कार राशी ५० हजार, निरीक्षकको ३५ हजार, नायब निरीक्षकको २५ हजार, हवल्दारको १५ हजार र जवानको १० हजार रुपैयाँ रहेको छ । बंगलादेश बैंकको सहकार्यमा हरेक महिना कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका अधिकृत तथा जवानलाई छनोट समितिको सिफारिसको आधारमा पुरस्कार दिने गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । उनीहरुलाई परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पुरस्कार वितरण गरे । परिसरले प्रहरी नायब उपरीक्षक दीपक पोखरेल, महेन्द्र नेपाल र अपिलराज बोहरालाई पनि नगद पुरस्कार प्रदान गरेको छ ।

ब्राजिल र कोष्टारिकाबीचको खेल शुरू, नेइमारले आज कति गोल गर्लान ?

एजेन्सी । रसियामा जारी २१ औं संस्कारणको विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ का ब्राजिल र कोष्टारिकाबीचको खेल सुरु भएको छ । विश्वकपको दावेदार भनिएको ब्राजिलका लागि आजको खेल निकै महत्वपूर्ण छ । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा सुरु भएको खेलमा बलियो टिम ब्राजिल जित हात पार्दै नकआउट चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यता, कोष्टारिका पनि ब्राजिललाई रोक्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोष्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।

वाम एकतामा तुलाधरको योगदान महत्वपूर्ण

काठमाडौ‌ं, असार ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले कम्युनिष्ट पार्टीबीच एकता गराउन राजनीतिज्ञ तथा मानवअधिकारकर्मी पद्यमरत्न तुलाधरको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । लैनचौरस्थित तुलाधरको निवासमा पुगी आज नेकपाका महासचिव पौड्यालले वामपन्थी राजनीति र कम्युनिष्ट पार्टीबीच एकता गर्न तुलाधरले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँको सुस्वास्थ्य र निरोगिताको कामना गर्नुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरक व्यक्तित्वका रुपमा रहनुभएका ७८ वर्षीय तुलाधर नेपालका कम्युनिष्ट एक हुनुपर्छ भन्ने आवाज निरन्तर उठाउने र त्यसका लागि भूमिका खेल्ने व्यक्तित्व हुनुभएको भेटमा सहभागी नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताउनुभयो । तुलाधरले जतिसुकै कठिन तथा प्रतिकूल समयमा पनि समन्वय गरेर पार्टीलाई एकतासम्म ल्याउन पु¥याएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । वामपन्थी नेता तथा मानवअधिकारकर्मी तुलाधरले कम्युनिष्ट पार्टीबीच एकता हुँदा आफू असाध्यै खुशी भएको र कम्युनिष्ट एकता भएको हेर्ने आफ्नो सपना नै रहेको सुनाउनुभयो । नेपालमा मानवअधिकारको क्षेत्रमा निकै क्रियाशील तुलाधरले तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन निकै ठूलो योगदान पु¥याउनुभएको थियो । नेकपाका नेतासँगको भेटमा तुलाधरले आफ्नो पार्टी एकताको प्रयास सफल भएको र अब समृद्ध नेपाल हेर्न चाहेको बताउनुभएको थियो ।

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

मस्को । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलअन्तर्गत बुधबार भएको पहिलो खेलमा मोरक्कोलाई पोर्चुगलले १–० गोल अन्तरले पराजित गरेको छ । खेल शुरु भएको चौथो मिनेटमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टोलीलार्इ अग्रता दिलाएका थिए । टोलीको जितका लागि त्यही एक गोल प्रयाप्त भयो । जारी विश्वकपमा यो उनको चौथौ गोल हो । यसअघि स्पेनसँगको पहिलो खेलमा उनले ह्याटिक गरेका थिए । स्पेनसँगको पहिलो गोलमा पोर्चुगल ३ ३ गोलको बराबरीमा रोकिएको थियो ।

प्रदेश सरकार केन्द्रमै निर्भर, २ खर्बको बजेट, २५ अर्ब आम्दानी

काठमाडौं, असार ६ । २ खर्बभन्दा बढीको बजेट ल्याएका प्रदेश सरकारहरूको आन्तरिक स्रोतबाट आम्दानी भने न्यून देखिएको छ । प्रदेश सरकारहरूले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटअनुसार सातवटै प्रदेशले २५ अर्ब ६३ करोड रुपैयाँमात्र आन्तरिक स्रोत परिचालन गर्नेछन् । ७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ । सार्वजनिक गरिएको बजेटअनुसार सबैभन्दा बढी आन्तरिक राजस्व उठाउनेमा ३ नम्बर प्रदेश छ । राजस्व संकलन लक्ष्य ९ अर्ब ३३ करोड रुपैयाँ राखेको ३ नम्बर प्रदेशले ३५ अर्ब ६१ करोडको बजेट ल्याएको छ । यस्तै, सबैभन्दा कम राजस्व उठाउनेमा कर्णाली प्रदेश छ । आगामी आर्थिक वर्षमा ५० करोड रुपैयाँमात्र राजस्व परिचालनको लक्ष्य लिएको कर्णालीले प्रदेशले २८ अर्ब २८ करोड रुपैयाँको बजेट ल्याएको छ । यस्तै, १ नम्बर प्रदेशको राजस्व परिचालनको लक्ष्य २ अर्ब ६६ करोड छ । यो प्रदेशको बजेटको आकार सबैभन्दा बढी ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, २९ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको २ नम्बर प्रदेशकोे आन्तरिक स्रोत परिचालनको लक्ष्य १ अर्ब ४८ करोड रहेको छ । यता, आगामी आर्थिक बर्षकालागि सबैभन्दा कम बजेट विनियोजन गरेको प्रदेश नम्बर ४ ले १ अर्ब ६९ करोड आन्तरिक स्रोत परिचालन गर्ने लक्ष्य लिएको छ । यस्तै, ५ नम्बर प्रदेशले २ अर्ब ४० करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको छ । यो प्रदेशले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाको बजेट बिनियोजन गरेको छ । प्रदेश नं ७ को सरकारले २४ अर्ब ६ करोडको बजेट विनियोजन गरेको छ । यो समेत गरी केन्द्र र प्रदेशको ८ सरकारको गरी १५ खर्ब २१ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । ७ सय ५३ स्थानीय तहको बजेट भने आउदो १५ गते सार्वजनिक हुदैछ । आन्तरिक राजस्व उठाउने लक्ष्य हेर्दा प्रदेश सरकार अझै केन्द्रमा निर्भर रहनु पर्ने अवस्था आएको भन्दै विज्ञहरूले प्रदेश स्थानीय सरकारको स्रोत परिचालनमा बजेट केन्द्रित हुनुपर्ने बताउँदै आएका छन् । संघीय सरकारले संबैधानिक व्यवस्थाअनुसार गत जेठ १५ गते १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेको छ । कारोबार दैनिकमा खबर छ ।