एक महिनादेखि प्रमुख व्यापारिक रसुवागढी नाका ठप्प, करोडौं घाटा

रसुवा, भदौ १३ । नेपालको चीनसँगको प्रमुख व्यापारिक रसुवागढी नाकामा एक महिनादेखि ठप्प भएको छ ।

एक महिना अघिको भारी वर्षापछि आएको बाढीले भत्काएको पुल मर्मतमा हुन नसक्दा गएको साउन १२ देखि नाकामा यातायात ठप्प भएको छ । रसुवागढी नाका नजिकैको पहिरो, बाढी र गोसाइकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएपछि एक महिनादेखि नाका ठप्प भएको हो ।

नाकामा यातायात ठप्प भएपछि स्याउ, लसुनलगायत सामग्री कुहिन थालेका छन् । चाडबाडका लागि नेपाल ल्याउन लागिएका अर्बौं मुल्य बराबरका सामान चीनको केरुङमा थन्किएका छन् । करिब १ हजार २ सय कन्टेनर बराबरको सामान केरुङमा थन्किएपछि व्यवसायीले करोडौंको घाटा व्योहोर्नु परेको व्यवसायी बताउँछन् ।

यातायात अवरुद्ध भएपछि रसुवा भन्सारको कारोबार ठप्प भएको छ । दैनिक करोडौं राजस्व असुल हुने नाका सुनासान छ । जसले गर्दा राज्यलाई करोडौं घाटा भएको छ ।

रेमिटान्सले अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ : अध्यक्ष केसी

दोहा, साउन ३१ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको रेमिटान्सले अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताएका छन । कतार नेपाली एकता समाजको समाजको पाँचौं राष्ट्रिय सम्मेलनको लागि कतार आइपुगेका केसीले बुधबार कार्यकर्तासंग कुराकानी गर्दै भने बिदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सले घर परिवारको समस्या मात्र टरेको छैन यसले देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुगेको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले विभिन्न कार्यक्रमको सिलसिलामा धेरै देशको भ्रमणमा गएको भए पनि वैदेशिक रोजगारीको क्रममा ठुलो संख्यामा नेपाली कार्यरत रहेको कतारमा पहिलो पटक आएर प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुसीलागेको बताए । केसीले खाडी देशमा कार्यरत नेपालीले दैनिक कठोर मजदुरी गरेर नै आफ्नो जिबिकोपार्जनसंगै भिन्न सामाजिक कार्यमा सक्रिय रहेको भन्दै प्रसंशा गरे । नेपालमा संघीयताको निरन्तर बिरोध गर्दै आएका सादगी जिवन यापन गर्ने केसीले बैचारिक संगठ्नले बिदेशमा रहेका नेपालीलाई आफ्नो कार्य ब्यस्तताको बाबजुद पनि देशमा के भइरहेको छ भनी समसामयिक विषयमा जानकारी राखि चेतनाको स्तरलाइ माथी उठाउने काम गरेको बताए । नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले धन्यवाद ब्यक्त गरेका थिए भने महासचिब खेम बुढा संचालन गरेका थिए । कतार नेपाली एकता समाजको समाजको पाचौ राष्ट्रिय सम्मेलन इद अल अधाको दिन शालीमार रेस्टुरेन्ट नज्मा, दोहामा हुन लागेको र आवश्यक तयारी पूरा भएको समाजले बताएको छ ।

सुशीला कार्कीलाई लोकमानको १० करोड ‘गोडधुवा’

काठमाडौं, साउन २६ । अख्तिायार दुरुपयोग अनुसन्धान आयेगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूहरुविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो । नागरिक दैनिकमा खबर छ । ‘टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे ! अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ ।’ सुवेदीको पुस्तकमा उल्लेख छ, ‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।’ पुस्तकको यो प्रसंगले ठूलो मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ । प्रधानन्यायाधीश निवासमा बस्दा सबभन्दा ठूलो सकसचाहिँ लोकमानको मुद्दा आएपछि भएको सुवेदीले लेखेका छन् ।

नयाँ दल स्थापना हुँदै, पृथ्वीपथ र बीपीपथमा अगाडि बढ्ने

काठमाडौं, साउन २५ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस (बिपी) सँग चाँडो एकता हुने बताए । पार्टी निकट युवा शक्तिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रम’मा उनले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको बताउँदै ‘वैचारिक दृष्टिकोण नभएका र अवसरवादी चरित्र बोकेका’ कुनै राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट गरे । डा लोहनीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रिय उत्पादन, सन्तुलित वैदेशिक नीति, भ्रष्टाचारमुक्त समाज निर्माण (पृथ्वीपथ) तथा सबै जनताले दुई छाक खान पाउने बिपी कोइरालाको समाजवादको सिद्धान्त (बीपीपथ) का आधारमा एकीकृत नयाँ पार्टीलाई अगाडि बढाइने प्रष्ट पारे । मुलुकमा अहिले बलियो सरकार स्थापना भए पनि समाजमा हत्या, हिंसा र बलात्कारका घटना हुनाले शान्ति सुरक्षा कमजोर रहेको देखिएको बताउँदै उहाँले काला बजारीलाई दण्डित गर्न नसकेकाले जनता महंँगीको मारमा परेकाले अविलम्ब प्रशासनिक सुशासन कायम गर्न माग गरे । पार्टीले यसअघि हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (बीपी) सँग एकीकरणका लागि सैद्धान्तिक रुपमा सहमति गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । सो अवसरमा राप्रपाका प्रेम मगरका नेतृत्वमा राप्रपा र राप्रपा (प्रजातान्त्रिक) परित्याग गरी एक सय पाँच जना नेता तथा कार्यकर्ता एकीकृत राप्रपा (राष्ट्रवादी) मा प्रवेश गरेका थिए ।

बिम्स्टेक वरिष्ठ पदाधिकारीको विशेष बैठक भोलि काठमाडौंमा

काठमाडौं, साउन २५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीको विशेष बैठक शनिबार काठमाडौंमा बस्दैछ । आगामी भदौ १४ र १५ गते नेपालमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि एक दिवसीय सो बैठक बिहान ९ बजेदेखि शुरु हुँदैछ । बैठकमा सहभागी हुन बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु शुक्रबार साँझसम्म नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव आउन नसक्ने अवस्थामा बैठकमा सदस्य राष्ट्रकै अन्य उच्चस्तरीय प्रतिनिधित्व हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए । विशेष बैठकले शिखर सम्मेलन र त्यसअघि बस्ने मन्त्रिस्तरीय बैठकका लागि आवश्यक तयारी गर्नेछ । शिखर सम्मेलनअघि काठमाडौँमै भदौ १२ गते वरिष्ठ पदाधिकारीस्तरीय नियमित बैठक र भदौ १३ गते मन्त्रिस्तरीय बैठक हुने तय भएको छ । बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् । बिम्स्टेकमा व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् । विशेष बैठकमा शिखर सम्मेलनको तयारीको अवस्था र सदस्य राष्ट्रको आन्तरिक तयारीका बारेमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकको अध्यक्षको नाताले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई सहभागिताका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि सबै समकक्षीलाई निमन्त्रणा गरिसक्नुभएको मन्त्रालयले जनाएको छ । सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिताका लागि सुनिश्चितता हुने क्रम जारी रहेको सहप्रवक्ता ढकालले बताए । विशेष बैठकमा सहभागीले शिखर सम्मेलनका कार्यसूची बारेमा समेत छलफल र परामर्श गर्नुहुनेछ । “शिखर सम्मेलनलाई परिणाममुखी र सफल बनाउने सम्बन्धमा भोलि (शनिबार)को बैठकमा छलफल हुनेछ”, उनले भने । बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मामा सम्पन्न भइसकेको छ । त्यसैगरी हालसम्म बिम्स्टेकका परराष्ट्रमन्त्रीस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन् । चौथो शिखर सम्मेलनमा मुख्य गरी हालसम्मका शिखर सम्मेलनले गरेको निर्णयको कार्यान्वयनको समीक्षा तथा बिम्स्टेकको उद्देश्यानुरुप सदस्य राष्ट्रको आर्थिक–सामाजिक विकासमा सहयोगका क्षेत्रको प्रभावकारिताबारेमा छलफल हुने बताइएको छ । साथै सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार कार्यान्वयनको स्तर, सहयोगका क्षेत्रमा भएका प्रगति र यसमा देखिएका समस्या समाधान उपायका बारेमा समेत छलफल हुने मन्त्रालयले जनाएको छ । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । बिम्स्टेक क्षेत्रमा विश्व जनसङ्ख्याको झण्डै २१ प्रतिशत अर्थात् करीब डेढ अर्ब जनसङ्ख्याको बसोबास छ । सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको हो । सम्मेलनको पूर्वतयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ र गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, पारवहन तथा यातायात समिति गठन गरी तीव्र रुपमा तयारी भइरहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति र अन्य उपसमितिले शिखर सम्मेलनको आवश्यक तयारी द्रुत गतिमा गरिरहेका सहप्रवक्ता ढकालले बताए ।

पशुपतिमा शिव पुराण, गगन थापादेखि हिमानी शाहससम्म

काठमाडौँ, ७ साउन । हिन्दूधर्मावलम्वीहरुको आस्थाको केन्द्रविन्दु मानिने पाशुपत क्षेत्रमा आजबाट ११ दिवसीय संगीतमय शिव पुराण कथा प्रवचन कार्यक्रमको सुभारम्भ भएको छ । हरिशयनी एकादशीको पावन अवसर पारी पूर्व युवराज्ञी तथा हिमाली टष्टकी अध्यक्ष हिमानी शाहद्वारा सो शिव पुराणको उद्घाटन गरिएको हो । सो अवसरमा सभासद् गगन थापा, प्रतिनिधि सभा सदसय नरोत्तम वैध लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय ख्यातिप्रांप्त वाचन साधिका विदुषी माताश्री सपनादेवी श्रेष्ठको मुखारविन्दबाट संगीतमय शिव पुराण कथा श्रवण गर्न सकिने शिवपुराण आयोजक मूल समारोह समितिका संयोजक रामभक्त श्रेष्ठले बताउनुभयो । पशुपत क्षेत्र, इतापाखा चौतारा परिसरमा उक्त शिव पुराण कथा वाचन कार्यक्रम साउन १७ गतेसम्म रहने आयोजकले जनाएको छ । मध्यान्ह १२ः००० बजेदेखि ४ः०० बजेसम्म दैनिक सन्ध्या महाआरती एवं भक्ति संगीत र साँझ ५ देखि ८ बजेसम्म विविध पूजाआजासहित साउन १७ गते समापन गरिने शिवपुराण आयोजक मूल समारोह समितिका सचिव केदारमान भण्डारी जानकारी दिनुभयो । यो कार्यक्रम सम्पन्न गर्नका लागि सह–आयोजकको रुपमा स्थानीय संघसंस्थाहरु पशुपति इतापाखा उपभोक्ता समाज, जय बाबा पशुपति महिला विकास संस्था, पशुपति सिर्जनशील युवा क्लब, श्री शक्ति महिला समूह, टोल सुधार समिति– पशुपति, जयवागेश्वर युवा क्लब, गौरीनगर सुधार समिति, नवरस स्काउट ट्रुप, ताम्रेश्वर महिला परिवार, पशुपति बजार व्यवस्था समिति, श्री पशुपति नाथ भण्डारी महिला समूह, श्री गृहेश्वर मन्दिर व्यवस्था समिति, पशुपति नित्य ारती परिवार, पिंगला लायन्स क्लब, जनकल्याण सेवा संघ, किरातेश्वर संगीताश्रम, पशुपति गाइड एसोसिएसन, गुरुमार्ग युवा क्लब, श्री पशुपति इतापाखा टोल सुधार महिला समूह, श्री पशुपतिनाथ सेवक संघ, नव अमर कान्तेश्वर युवा क्लब, नाद स्रगीत पाठशाला, सन्ध्या पुस्तकालय, बाल सारथी एकेडेमी, श्री पशुपति क्लब, सफल महिला समूह–पशुपति, आमा समूह पशुपति, पशुपति फूल व्यापार परिवार, बुहारी महिला समूह, श्री रत्न महिला समूह गुहेश्वरी, श्री पशुपति शुभ भजन समूह, चारुमति मित्र समूह, गृहेश्वरी जनहित युवा क्लब, श्री पशुपतिनाथ संगीत कला प्रतिष्ठान, बालकुमारी चेलीवेटी समूह, पशुपतिनाथ गंगा आरती परिवार देउला समाज तिलगंगा

नेकपाको सचिवालय बैठक प्रधामन्त्री निवासमा, के विषयमा हुँदैछ छलफल ?

काठमाडौँ, साउन १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा चिकित्सा शिक्षा विधेयकमा गरिएको परिमार्जनको विरोधमा अनशनमा रहेका डा. गोविन्द केसीका मागका बारेमा छलफल भइरहेको बुझिएको छ । विधेयकमा गरेको परिमार्जनले जनताको हित भन्दा पनि माफियाको हित हुने भन्दै डा. केसी जुम्लामा अनशन बसीरहेका छन् । यस्तै संसदमा कांग्रेसले त्यसको विरोधमा प्रस्ताव दर्ता गरेको छ । यही कारणले संसद बैठक पनि अवरुद्ध हुने गरेको छ । यस्तै सचिवालय बैठकमा केही दिनअघि अनुमोदित पार्टीको नियमावली अनुसार पार्टीका सबै कमिटी र जनवर्गीय संगठनको सांगठनिक एकीकरणको योजना बनाउने विषयमा पनि छलफल हुँदैछ । गएको असार २७ गतेको सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको थियो ।

नायक बनेर फकिर्यो क्रोएसियाली टिम, यसरी भयो भव्य स्वागत [फाेटाेफिचर]

एजेन्सी । क्रोएसियाले रुसमा सम्पन्न २१औं संस्करणको विश्वपक जित्न नसके पनि लाखौं समर्थकको मन जित्यो । उसले उपाधि हासिल गर्न नसके पनि ऐतिहासिक सफलता भने अवश्य पाएको थियो । पहिलो पटक उपाधि नजिक पुग्नु नै रुसका लागि ठूलो सफलता थियो । उपविजेता बनेर घर फर्किएको क्रोएसियाली टोली सोमबार स्वदेश फर्किएको छ । टोलीको राजधानी जाग्रेबमा भव्य स्वागत भएको छ । कप्तान लुका मोड्रिक र टिमका खेलाडी तथा प्रशिक्षक ज्लाट्को डालिक राष्ट्रिय नायकका रुपमा घर फर्किएका हुन् । लुका प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेर गोल्डेन बल जित्ने कप्तान हुन् । फाइनल हेर्न मस्को पुगेकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचको स्नेह र माया पाएका क्रोएसियाली खेलाडीहरुले घर फर्किँदा हजारौँ समर्थकको साथ पाए । उनीहरुको स्वागतका लागि ४५ लाखको हाराहारीमा जनसंख्या रहेको देशका साढे दुईलाख मानिस पुगेका थिए । उपाधि जित्न नसके पनि क्रोएसियाली टिमले आफ्ना नागरिकबाट यसरी भव्य स्वागत पायो- याे पनि पढाै‌- विश्वकप सकियो, क्रोएसियाली राष्ट्रपतिको चर्चा चुलियो !  

स्कूल जाँदैनन् मन्त्री र मुख्यमन्त्रीले भर्ना गरेका बालबालिका !

काठमाडौं, साउन १ । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् । तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँकतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने । उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् । ‘मन्त्रीज्यूहरूको टोली काठमाडौं लाग्यो, बच्चाको टोली घरतिर लाग्यो । त्यसपछि दुवैतिरबाट विद्यालयमा सम्पर्क भएको छैन,’ प्रधानाध्यापक जिसीले भने । सरकारले दुई लाख ५३ हजार बालबालिका भर्ना गरेको दाबी गरेको छ, तर उनीहरू विद्यालय आए कि आएनन् भन्ने अनुगमन छैन । स्वयम् शिक्षामन्त्रीले भर्ना गरेका विद्यार्थी विद्यालय नजाँदासमेत अनुगमन नभएकाले भर्ना अभियान ‘सस्तो लोकप्रियता’मा सीमित भएको हो कि भन्ने प्रश्न उठेको छ । नयाँ पत्रिकामा खबर छ ।

नेपालमा बलात्कार गरि फरार अभियुक्त युएईबाट पक्राउ

युएई , असार ३२ । महोत्तरीकि एक महिलालाई जबर्जस्ती करणी गरि फरार भएका सिंह लाल थिङ लाई युएईमा पक्राउ गरि नेपाल लगिएको छ। झन्डै ९ महिना अघि बर्दिवास २१ महोत्तरीकि २५ वार्षिय एक महिला ९नाम परिवर्तन ०लाई बलात्कार गरि भागेर युएई आउन सफल भएका सिन्धुली मनिणठाकुर गाप वडा न ४ का ३१ बर्सिय सिंहलाल थिङ लाई नेपाल बाट आएको प्रहरी प्रधान कार्यलय इन्टरपोल साखाको टोलिले आइतबार युएई प्रहरीको सहयोगमा पक्राउ गरि नेपाल लैजान सफल भएको स्रोतले जानकारी दिएको छ। बिदेश बाट सामान ल्याइदिएको भन्दै फकाएर बर्दिवास स्थित एक होटेलमा पुर्याइ डर त्रास देखाइ जबर्जस्ति करणी गरि युएई भाग्न सफल भएका थिङ लाई पक्राउ गरि नेपाल लैजान प्रहरी सफल भएको हो । लामो समय देखि युएईमा लुकेर बसेका थिङलाई पक्राउ गर्न सफल भएपछी आबस्यक कारबाहीको लागि नेपाल लगिएको नेपाली दूतावास युएईले जनाएको छ ।

ओवामा केन्या भ्रमणमा

असार ३२। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या पुगेका छन् । दुईदिने भ्रमणका लागि उनी आइतबार केन्याको राजधानी नैरोबी पुगेको अधिकारीहरुले बताएका छन् । नैरोबीमा ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न गएका थिए । केन्यामा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ओबामाले विपक्षी दलका नेता राइला ओडिङ्गालाई पनि भेट्ने बताइएको छ । केन्यामा आफ्नी बहिनीले स्थापना गरेको एउटा सामाजिक संस्थाको कार्यक्रमकालागि ओबामा केन्या आएको बताइएको छ । उनको संस्थाले राष्ट्रपति ओबामा फाउण्डेसनले झै शैक्षिक र आर्थिक अवसर जुटाइदिन सहयोग पु¥याउने काम गर्ने समाचारमा उल्लेख छ ।

पूर्वराज्य मन्त्री मुस्ताक आलमको निधन

काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वराज्यमन्त्री मो. मुस्ताक आलमको निधन भएको छ । बाँसवारीमा रहेको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा शुक्रबार साँझ ६ बजे उनको निधन भएको हो । उनी २०७० सालको संविधान सभा निर्वाचनमा रौतहटबाट निर्वाचित भई स्वास्थ्य राज्यमन्त्री बनेका थिए। प्रधानमन्त्ती ओलीले एक शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको बताएका छन्। अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरिरलाई आज बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राखिने विज्ञप्तिमा जनाइएको छ।

गरिब परिचयपत्र वितरण शुरु

कपिलवस्तु, असार २९ । सरकारले कपिलबस्तुबाट गरिब घरपरिवार परिचय पत्र वितरण शुरु गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका ६ डुमरामा शुक्रबार गरिब घरपरिवार परिचय पत्र वितरण गरेर अभियान सुरु गरेका हुन । आजैबाट देशका २६ जिल्लामा पहिलो चरणमा घरपरिवार परिचयपत्र वितरण सुरु गरिएको छ । बाँकी ५१ जिल्लामा भने आगामी दुई वर्षभित्र परिचय पत्र वितरण गर्ने लक्ष्य सरकारले लिएको मन्त्री खनालले जानकारी दिए । अति गरिबका लागि रातो कार्ड, सामान्य गरिबका लागि पहेलो कार्ड र गरिबका लागि निलो कार्ड गरी तीन किसिमका कार्ड वितरण गरिएको छ । यो परिचय पत्र गर्नेले तत्काल कुनै सुविधा पाउने छैनन् । तर सरकारलाई नीति तथा कार्यक्रम बनाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

नेपालले ४४ देशबाट आयात मात्र गर्छ, निर्यात शून्य !

काठमाडौं, असार २९ । मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् । वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र गरेको छ, निर्यात शून्य छ । त्यसो त सानो संख्यामा भए पनि नेपालले निर्यात मात्र गर्ने मुलुकको संख्या ११ छ ।  यसैमा अर्को रोचक तथ्य के छ भने, नेपालले आयात मात्र गर्ने मुलुकको संख्या बढिरहँदा र निर्यातमात्र हुने देशको संख्या घटिरहेको छ । नागरिकमा खबर छ ।

८० न्यायाधीशको पद खतरामा !

काठमाडौं, असार २९ । उच्च अदालतका ८० जना न्यायाधीशको पद खतरामा परेको छ । ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद खतरामा परेको हो । सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा गर्न नमिल्ने बताउँदै पछि फैसला जस्तो पनि आउन सक्ने टिप्पणी गरे । ती न्यायाधीशहरूको नियुक्ति बदर हुनसक्ने र हुन नसक्ने दुवै सम्भावना रहेको तर्क गर्दै भने, ‘यथास्थितिमा रहेको यो मूद्दाको हार जीत जे पनि हुन सक्छ, यसअर्थमा उहाँहरूको पद संकटमा पर्न पनि सक्छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

भारतीय नक्सलवादीसँग मिलेर घनिभूत सशस्त्र संघर्षको तयारीमा विप्लव माओवादी

काठमाडौं । त्यसो त नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यसअघि पार्टीको नाम पछाडि राखेको माओवादी शब्द हटाएर नेपाल कम्युनिष्ट पार्टी मात्रै राखेको छ । तर विशेष सूत्रका अनुसार, विप्लव माओवादीले यतिखेर भने सशस्त्र संघर्षको घनिभूत तयारी गरिरहेको छ । र, उसको प्रत्यक्ष सम्बन्ध भारतमा सशस्त्र संघर्षको नेतृत्व गरिरहेको भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) पिप्ल्स वारसँग रहेको छ । भारतमा सशस्त्र संघर्ष चलाईरहेको यो पार्टी सन् २००४ मा भाकपा (माओवादी केन्द्र)सँग एकतापछि अहिले बलियो अवस्थामा रहेको छ । नेपालमा प्रचण्ड नेतृत्वको नेकपा माओवादीले सशस्त्र संघर्ष चलाएको बेला भाइचार संगठनका रुपमा पिपुल्स वार ग्रुपले नेपालमा चलेको जनयुद्दलाई प्रत्यक्ष सहयोग गरेको थियो । पछि नेकपा माओवादी सेना समायोजनसँगै शान्ति प्रक्रियामा आएपछि भने नक्सलवादीका रुपमा समेत परिचित भाकपा (पिपुल्स वार समूह) र नेकपा माओवादीबीच चर्को सैद्धान्तिक संघर्ष चलेको थियो । सोही बेला सन् २००६ मा उक्त पार्टीका महासचिव तथा प्रवक्ता आजादले नेपालको माओवादी आन्दोलनले संसदीय बाटो समातेको र वर्ग संघर्षलाई बिर्सेको भन्दै लामो अन्तर्वार्ता मार्फत असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि भने नेकपा (माओवाद)), माओवादी केन्द्र र मुपल्ला गणपत राव (क. गणपति) नेतृत्वको भारतको माओवादी आन्दोलनबीच सम्बन्ध विच्छेद भएको थियो । नेपालमा प्रचण्ड नेतृत्वसँग असहमति राख्दै विप्लव समूह अलग भएपछि भने विप्लव समूहले भारतमा रहेको आफ्नो संगठनमार्फ नक्सलवादीहरुसँग सम्बन्ध बढाएपछि नक्सलवादी र विप्लव समूहबीच भारतीय विस्तारवाद र नेपाली सत्ताविरुद्ध संघर्ष गर्ने कार्यगत समझदारी बनेको सूत्रले बतायो । यद्यपी विप्लव समूहलाई बिभिन्न बेला भारतीय सत्ताले प्रयोग गरिरहेको आरोप भने नलागेको होइन । त्यसो त यस्तै प्रकृतिको आरोप माओवादीले जनयुद्द सञ्चालन गर्दा समेत लागेको थियो । विशेष श्रोतले दिएको जानकारी अनुनसार, नेपालमा माओवादी केन्द्र र एमालेबीच एकता भएपछिको परिस्थितिमा माओवादी आन्दोलनलाई अघि बढाउन भारतीय कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुपले विशेष चासो लिएको छ । नेपालमा माओवादी आन्दोलन कमजोर पर्दा त्यसको सोझो असर भारतमा चलेको माओवादी सशस्त्र आन्दोलनमा पर्ने भएकोले विप्लव समूहसँग सहकार्य बढाएर नेपालमा रहेका अन्य माओवादी स्कूलिंगका पार्टीहरुलाई एकता गर्ने र एक अर्कालाई सहयोग गरेर सशस्त्र संघर्ष चर्काउने रणनीति भारतीय माओवादीहरुको छ । अपुष्ट जानकारी अनुसार, नेपालमा सशस्त्र संघर्षको पुनः थालनी, दक्षिण एशियामा नै हिजोका दिनमा प्रचण्डले अघि सारेको कम्पोसाको अवधारणालाई पुनः उठान गर्न र अन्तर्राष्ट्रिय माओवादी आन्दोलनलाई पुनर्जीवित गर्न विप्लव, भारतीय माओवादी र केही अन्य देशका माओवादी पार्टी नेतृत्वबीच औपचारिक तहमा नै छलफल भएको छ । गत साता मात्रै मोहन वैद्यले आफूहरु सशस्त्र संघर्षको तयारीमा रहेको खुलासा समेत गरेका थिए । विप्लप, मोहन वैद्य र मोहनबिक्रम नेतृत्वको कम्युनिष्ट पार्टीबीच एकताको समेत यसअघि चर्चा चलेको थियो । मोहन बिक्रमले भने कार्यगत एकताको तहमा मात्रै कुराकानी भएको र पार्टी एकताबाट भने आफूहरु टाढा रहेको स्पष्ट पारिसकेको छन् । मोहन वैद्य र नेत्र बिक्रम चन्दबीच भने पार्टी एकताकै लागि तयारी शुरु भएको बिभिन्न समयमा दुबै पार्टीका नेताले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । भारतीय माओवादी पक्षले भने यी दुबैको एकताका लागि विेशष जोड दिएको श्रोतले जनायो । खासगरी पेरुमा गोन्जालोको आन्दोलनले धक्का खाएपछि सेलाएको माओवादीहरुको अन्तर्राष्ट्रिय संगठन रिमलाई पुर्नजिवित गर्न समेत भारत र नेपालका माओवादीबीच यो बीचमा छलफल भएको छ । सम्भवतः छिट्टै नै संसारभरिका माओवादी पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन गरी वर्तमान परिस्थितिमा माओवादी आन्दोलनको कार्यदिशा र माओवादी आन्दोलनका बारेमा एकल कार्यदिशा र दृष्टिकोण निर्माणको तयारी समेत भइरहेको छ । श्रोतका अनुसार, यो आधारमा तत्काल नै हतियार नै उठाएर या २०५२ सालमा माओवादीले घोषणा गरेजस्तो जनयुद्दको शंघघोष नगरेपनि तयारीको चरण पुरा भएपछि स्थानीय प्रतिरोधको तहमा विप्लव माओवादीले केही गतिविधि गर्ने देखिन्छ । यसका लागि विप्लव माओवादीले सशस्त्र संघर्षका लागि आन्तरिक तयारीलाई तीब्र पारेको र कार्यगत एकताका लागि मोहन वैद्यलगायतका समूहसँग समते छलफल तीब्र पारेको छ। विप्लव समूहले हतियारबद्ध संघर्ष सुरु गर्ने औपचारिक घोषणा गरेको अवस्थामा वर्तमान सरकारका पूर्व माओवादी मन्त्रीहरुलाई समेत नैतिक संकट पर्ने, संसदीय सत्ताको चरित्रका आधारमा दमनमा उत्रिनैपर्ने र यसो गरिएमा एमालेसँग एकताका कारण रुष्ट भएका कार्यकर्ता र पूर्व जनमुक्ति सेनाको साथ पाइने आँकलन विप्लव समूहले गरेको छ । भारतीय माओवादीहरुसँगको सहकार्य र निरन्तरको छलफलका आधारमा वस्तुगत परिस्थिति तयार हुने बित्तिकै विप्लव समूहले संघर्षको घोषणा गर्ने गरी अहिले युद्दको तयारीका लागि दुबै देशका कम्युनिष्ट पार्टीबीचको सहकार्य झन बलियो भएको समेत श्रोतले बतायो । यद्यपी वामपन्थी सरकार देशमा विद्यमान रहेको अवस्थमा विप्लवल शुरु गर्ने भनिएको सशस्त्र संघर्षले उचाई लिने या नलिने भन्ने कुरामा भने अहिले नै केही भन्न सकिने अवस्था छैन ।