जापान र कोलम्बियाबीचको खेल पहिलो हाफ बराबरीमा

काठमाडौं, असार ५ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा मंगलबार पनि तीवटा खेल हुँदैछन् । अहिले जापान र कोलम्बियाबीचको खेल जारी छ ।

खेलको पहिलो हाफमा दुबै देशले १-१ गोल गर्दै बराबरी गरेका छन् । खेलको ६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको जापानले पहिलो हाफको अन्त्यमा गोल खाएको हो ।

जापानका लागि सिन्जी कागवाले पेनाल्टीमार्फत गोल गरेका हुन ।

त्यस्तै कोलम्बियाका जुयान फर्नान्डोले खेलको ३९ औं मिनेटमा फ्रिकिक मार्फत सुन्दर गोल गरे ।

रसियाको मोर्डोभिया एरिनामा जारी खेल निकै प्रस्तिपर्धात्मक छ । रसिया विश्वकपमा समूह एचमा रहेका जापान र कोलम्बियाको यो पहिलो खेल हो ।

जापान ४ पटकको एसियन च्याम्पियन हो भने कोलम्बिया सन २०१४ मा विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको टोली हो ।

गृहमन्त्रीले मागे क्रसर उद्योगको विवरण

काठमाडौं, असार ४। गृहमन्त्री रामबहादुर थापाले मापदण्ड नपुगेका क्रसर उद्योगहरुको विवरण माग गरेका छन् । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले जिल्ला प्रशासनसँग क्रसरको विवरण पाँच दिनभित्र माग गर्ने निर्णय गरेको गृह मन्त्रीको सचिवालयले जनाएको छ । खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालिन जिल्ला विकास समिति, स्थानीय तहहरुले अनुमति दिए अनुसार मापदण्ड पुगेको वा नपुगेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग पाँच दिनभित्र विवरण माग गरेका हुन् । सो बैठकले किसानको उखुको मूल्य नदिने चिनी उद्योगकलाई पनि कारबाही गर्ने तयारी गरेको छ । सुनसरी, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासीलगायतका जिल्लामा उखुको रकम भुक्तानी नगर्ने उद्योगलाई प्रमुख जिल्ला अधिकारीले बोलाइ छलफल गरी तत्काल रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । उद्योगीहरुले तत्काल कृषकको रकम दिन नमानेमा कानुन कमोजिम कारवाही गर्नेबारेमा सात दिनभित्र गृह मन्त्रालयमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्जेन्टिनासामु आइसल्याण्ड बन्यो पर्खाल, चलेन स्टार मेस्सीको जादु

काठमाडौँ, विश्वकप फुटबलको शनिवारको दोस्रो खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई पहिलो पटक विश्वकपमा उपस्थिति जनाएको आइसल्याण्डले १-१ को बराबरीमा रोकिदिएको छ । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले २०१४ को उपविजेता अर्जेन्टिनालाई नाटकीय रूपमा जीतबाट टाढा राखिदिएको छ । खेलको १९ औं मिनेटमा सर्जियो आग्युएरोले १२ गजको दूरीबाट गोल हानेर अर्जेन्टिनालाई अग्रता दिलाए पनि उनीहरूको यो खुसी धेरै बेर टिक्न सकेन। त्यसको ४ मिनेटपछि नै अल्फ्रेड फिनबोगासनले खेललाई बराबरीमा ल्याइदिएका थिए । अर्जेन्टिनाले खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टीलाई लियोनेल मेस्सीले गोला परिणत गर्न नसकेपछि उसले बराबरीमा चित्त बुझाउनु परेको थियो । ह्यानेस पोर ह्यालडरसनले उनको पेनाल्टी प्रयासलाई रोकिदिएका थिए । सन् २०१६ को युरोपियन च्याम्पियनशिपको क्वाटरफाइनलमा पुगेर फुटबल विश्वलाई नै चकित तुल्याएको आइसल्याण्ड ग्रुप डी अन्तर्गतको यस खेलमा कतैबाट पनि अन्डरडग लागेन । आजको खेलमा कालो ड्रेसमा आएका अर्जेन्टिनीहरूले उसलाई खेलभरि निर्धो साबित गर्न सकेनन् । यो खेल रुसको राजधानी मस्कोस्थित स्पार्तक स्टेडियममा सम्पन्न भएको थियो ।

तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

काठमाडौँ । तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा तराईका जिल्लामा एक बैंक तथा वित्तीय संस्थाले १७ हजार ९७३ जनालाई सेवा दिनुपर्ने पाइएको हो । केन्द्रीय बैंकले गरेको वर्गीकरणका आधारमा क, ख र ग वर्गका वित्तीय संस्थाको प्रति शाखा जनसंख्याको स्थितिलाई हेर्दा प्रदेश नं २ मा सबैभन्दा बढी सेवा दिनुपर्ने पाइएको हो । सोही प्रतिवेदनका आधारमा प्रदेश नं ४ मा सबैभन्दा कम अर्थात् प्रति शाखा चार हजार ६४० जनालाई सेवा दिनुपर्ने हुन्छ । राष्ट्रिय औसत प्रति शाखा सात हजार ८४६ जनाभन्दा बढी रहेको प्रदेशमा कर्णाली प्रदेश पर्दछ । सो प्रदेशमा एक बैंक तथा वित्तीय संस्थाले १३ हजार ८३३ जनालाई सेवा दिनुपर्ने देखिएको छ । यस्तै प्रदेश नं ७ मा पनि तोकिएभन्दा बढी जनतालाई सेवा दिनुपर्ने अवस्था छ । उक्त प्रदेशमा एक शाखाले १३ हजार ३९ जनालाई समेट्नु परेको छ । यसैगरी, प्रदेश नं १ मा एउटा वित्तीय संस्थाले आठ हजार ६३७ जनालाई सेवा दिनु परेको छ । केन्द्रीय बैंकको यो तथ्यांकका आधारमा अझै पनि बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीमा सहज पहुँच पु¥याउनका लागि मेहनत गर्नुपर्ने देखिन्छ । सरकारले ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न बाध्यकारी व्यवस्था गरे पनि अझै अटेर गरिरहेको पाइएको छ । ग्रामीण क्षेत्रमा शाखा खोल्ने वित्तीय संस्थालाई विभिन्न सेवा तथा सुविधा दिइएको भए पनि अटेर गरेर सुगम र शहरी स्थानमा मात्रै रहने प्रवृत्ति देखिएको छ । स्थानीय तहमध्ये २०७५ वैशाख मसान्तसम्ममा ५१० तहमा मात्रै वाणिज्य बैंकले आफ्ना शाखा खोलेका छन् । अझै पनि २४३ स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलेका छैनन् । बैंक तथा वित्तीय संस्थाको शाखा नखुल्दा सेवाग्राहीलाई समस्या परेको छ । केन्द्रीय बैंकले शाखा विस्तार गर्न बाँकी रहेका स्थानीय तहमा बैंक तथा वित्तीय संस्थालाई यसै असार मसान्तसम्म शाखा विस्तार गर्न निर्देशन दिइएको छ । शाखा विस्तार गर्न कडा निर्देशन दिइएको भए पनि वित्तीय संस्थाले सो अवधिसम्म पनि आफ्नो जिम्मेवारी पूरा गर्ने अवस्था रहेको देखिएको छैन । प्रदेश नं ३ मा थुप्रिय वित्तीय संस्था संघीय नेपालको राजधानीसमेत रहेको प्रदेश नं ३ मा नै बैंक तथा वित्तीय संस्था थुप्रिएका छन् । २०७४ चैत मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका गरी कूल तीन हजार ६७३ शाखा प्रदेश नं ३ मा रहेका छन् । तीमध्ये यस प्रदेशमा ‘क’ वर्गका ९४१, ‘ख’ वर्गका २५२ र ‘ग’ वर्गका ७० शाखा सञ्चालित छन् । यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशमा वाणिज्य बैंकका शाखा रहेका छन् । उक्त प्रदेशमा ‘क’ वर्गका १०३, ‘ख’ वर्गका आठ र ‘ग’ वर्गका दुई गरी कूल ११३ वाणिज्य बैंकका शाखा रहेका छन् । त्यस्तै प्रदेश नं ७ मा ‘क’ वर्गका १६६, ‘ख’ वर्गका ४६ र ‘ग’ वर्गका तीन शाखा रहेका छन् । वित्तीय पहुँच पु¥याउनका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय निकायले पनि विशेष पहल गर्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले केही दिन पहिले एक कार्यक्रममा स्थानीय निकायमा वाणिज्य बैंकले अनिवार्यरुपमा शाखा विस्तार गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको बताउनुभएको थियो । सरकारले आगामी आवको बजेट वक्तव्यमा सबै नेपालीको बैंक खाता खोल्ने नीति लिएको सन्दर्भमा ‘क’ वर्गका बैंकले यही असार मसान्तभित्रै शाखा खोल्नुपर्ने नीतिलाई समेत कार्यान्वयन गर्नैपर्ने देखिन्छ । रासस

सडक खाल्डाखुल्डीले सदरमुकाममा सर्वसाधारणलाई सास्ती

गौशाला । चारैतिर खाल्डाखुल्डी र कच्ची बाटो रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर अहिले हिलाम्मे बनेको छ । जिल्लाको सदरमुकाम भए पनि यहाँको कुनै पनि स्थानमा पिच बाटो नरहेको अवस्थामा विगत दुई तीन दिनमा पटकपटक भीषण पानी परेको कारण जलेश्वरको प्रत्येक चौक चौराहा, हाट बजार र सार्वजनिक स्थलमा अहिले हिलैहिलो भएको हो । वर्षाको पानीले जलेश्वरको शंकरचोक, नगरपालिकाचोक, दुर्गाचोक, खैराचौक, बुद्धिजीवीचोक, अस्पतालचोक, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, मालपोत, महिला विकास, जिल्ला शिक्षा कार्यालय, कृषि कार्यालय, पशु कार्यालय र जिल्ला अस्पताल जस्ता ठाउँमा हिलैहिलो भएको छ, भने नगरभरि बाटोमा रहेका खाल्डाखुल्डीमा पानी जमेर सर्वसाधारणलाई निक्कै सास्ती भएको छ । त्यसैगरी वर्षाको पानीले सबैतिर हिल्लामे बनाएपछि जिल्लाको सदरमुकामस्थित विभिन्न हाटबजार, कार्यालयसहित सेवा पाउने स्थानमा सेवाग्राहीको चहलपहलमा कमी देखिएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आधा किलोमिटर पनि पक्की बाटो छैन भने केही दिनअघि नाला बनाउने नाउँमा नगरभरिको प्रत्येक बाटोकोबीच भएरै गहिरो खाल्डो खनिएपछि झन यहाँको कुनै पनि बाटो सुरक्षित र भरपर्दो छैन् । अहिले वर्षायाममा आएर जलेश्वरका मूल र सहायक सबै बाटो खनिएपछि विभिन्न स्थानमा मालबाहक तथा सवारी साधन फसेको छ, भने सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ । साथै बाटो खनेर जथाभावी छाडिएकाले प्रत्येक दिन मोटरसाइकल, ट्याम्पु र साइकल चढ्ने यात्रु दुर्घटनामा पर्ने गरेका छन् । यसैबीच रातिको बेला बाटो हिँड्ने बटुवा र चौपाया पनि नगरभित्रको खाल्डो खसेर दुर्घटनामा पर्ने गरेको नगरवासीले गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधि आएर विकास गर्ने, जनतालाई सुख हुने विश्वास लिएका नगरवासीले स्थानीय तह सहित प्रदेश र संघको चुनाव भएको पनि यतिका दिन वितिसक्दा पनि विकासको अनुभूति गर्न नसकेको भन्दै निराशा व्यक्त गरेका छन् । साथै सम्बन्धित माथिल्लो निकायलाई सदरमुकामको अवस्थाप्रति ध्यानाकर्षणको माग गरेका छन् । रासस

यन्त्रमा च्यापिएर मृत्यु

लहान, असार २ । सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको र शव परीक्षणका लागि लहानस्थित रामप्रसादउमा स्मारक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस

फिल्म ‘सञ्जु’ मा रणवीर र सलमानको यस्तो सवाल-जवाफ

अभिनेता सलमान खान अभिनित फिल्म ‘रेस ३’ जुन १५ मा प्रदर्शन भइसकेको छ । ‘रेस ३’ को जति चर्चा प्रदर्शन हुनुअघि भएको थियो, त्यसको तुलनामा प्रदर्शन पछि भने अपेक्षा अनुरुपको प्रतिक्रिया पाइरहेको छैन । फिल्म समिक्षक तरण आदर्शले यस फिल्मलाई निराशा जनक नै भनिदिएका छन । यही मौकालाई हेर्दै अभिनेता रणवीर कपूरले सलमानले यसअघि बोलेको कुराको जवाफ फर्काएका छन । किनकी सलमानले ‘रेस ३’ को प्रमोशन कार्यक्रमका बेला रणवीरको अभिनयमाथि सवाल उठाएका थिए । सलमानले बोलेको कुराले मिडियामा रामै्रसँग चर्चा पाएको थियो । चर्चाको विषय अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’ थियो । जसमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका थिए अभिनेता रणवीर कपूरले । प्रमोसनका क्रममा सलमानलाई फिल्म ‘सञ्जु’ का बारेमा सोधिएको प्रश्नमा अभिनेता सञ्जय दत्तको बायोपिकमा अन्य कुनै पनि कलाकारले अभिनय गर्न नसक्ने बताएका थिए । साथै अरु कसैले सञ्जय दत्त बन्नको लागि गरेको मेहनत व्यर्थ रहेको र ‘सञ्जु’ मा सञ्जय दत्तको पछिल्लो १० वर्ष यताको भूमिका सञ्जय आफैले गर्नु पर्ने बताएका थिए । फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तको भूमिकामा रहेका अभिनेता रणवीर कपूरले अहिले सलमानलाई कडा जवाफ दिएका छन । रणवीरले भने,‘मलाई लाग्छ, यस्तो कसैको पनि बायोपिकमा भएको छैन कि जसको जीवनीमा फिल्म बनिरहेको छ, उसैले त्यस फिल्ममा आफै अभिनय गरेको । यदि यस्तो भयो भने त्यो पात्रको प्रभाव बाँकी नै रहँदैन । मलाई पहिल्यै थाहा थियो व्यक्तिहरु मलाई स्क्रिनमा देख्ने बित्तिकै सञ्जय दत्तसँग तुलना गर्न थाल्नेछन् । त्यसैले मैले इमान्दारीका साथ आफ्नो भूमिका निर्वाह गरेको छु ।’ उनले अगाडि भने, ‘दर्शकले मलाई सञ्जय दत्तको ४० औं वर्षको अवतारमा देखुन वा २० औ वर्षको अवतारमा देखुन । उनीहरुलाई यस्तो लागोस् कि उनीहरुका अगाडि एक कलाकारले सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेको छ । यो सत्य हो कि म दास्रो सञ्जय दत्त बन्न सक्दिन । हाम्रो प्रयास भनेको सञ्जय दत्तको जीवनीलाई दर्शक माझ ल्याउनु हो ।’ यति बेला फिल्म ‘सञ्जु’ को प्रमोसनमा रणवीर कपूरलगायत अन्य कलाकारहरु व्यस्त छन । राजकुमार हिरानीको निर्देशन रहेको यस फिल्ममा अभिनेता रणवीरका साथै मनिषा कोइराला, दिया मिर्जा, सोनम कपूर, परेश रावल र विक्की कौशलको अभिनय रहेको छ । जुन २९ मा प्रदर्शन हुने यस फिल्ममा सञ्जय दत्तको जीवन कथा हेर्नका लागि दर्शकहरु व्यग्रताका साथ पर्खिरहेका छन । -एजेन्सी

हातहतियारसहित दुई पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ । पक्राउ उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

आधुनिक दासता र गरिबीविरुद्ध नयाँ कार्यक्रम

नुवाकोट, जेठ ३१ । जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘धुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु हिंसा, आर्थिक अवस्था कमजोर भएका एवं विद्यालयको पहुँच बाहिर रहेकाको जीवनस्तर सुधारगरी उनीहरुलाई प्रतिस्पर्धाको दायरामा सामावेश गर्न कार्ययोजनासहितको नयाँ कार्यक्रम शुरु गरेको शक्ति समूहका अध्यक्ष बलकुमारी रानाले जानकारी दिनुभयो । “दुई जिल्लाका साविक दश–दश वटा गाविसका १२ हजार ५०० भन्दा बढी लक्षित समुदायसमक्ष पुग्ने योजना बनाएका छौँ ।” रानाले भन्नुभयो, “यहाँको घ्याङफेदी, गाउँखर्क, राउतबँेशी, बेतिनी, बालकुमारी, समुन्द्रटार, शिखरबेँशी, रालुकादेवी, थप्रेक र तलाखु छनोटमा परेका छन् ।” उहाँका अनुसार सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका छनोटमा परेका छन् । अबको तीन वर्षसम्म चल्ने कार्यक्रमले अपांगता भएका व्यक्ति तथा बालबालिका, गरिबीको रेखामुनि रहेका समुदाय, जोखिम तथा बेचबिखन एवं हिंसाबाट प्रभावित बासिन्दा र सीमान्तकृत समुदायमा परिवर्तन ल्याउने लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक सरला तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले शिक्षा, जीविकोपार्जन र समुदायमा आधारित संरक्षण संयन्त्रमार्फत उनीहरुको दैनिकीमा परिवर्तन, क्षमता अभिवृद्धि तथा कमजोर अवस्थाविरुद्ध प्रतिरोध गर्न दक्ष बनाउने उद्देश्य राखिएको छ । मानव बेचबिखन तथा बालबालिका संरक्षणका लागि पछिल्लो दश वर्षदेखि क्रियाशील शक्ति समूहले यहाँको सरकारी संयन्त्रलाई अभिभावकत्व र सरोकार राख्ने संस्थाको सहयोगमार्फत समुदाय परिवर्तन गराउन शुरु गरेको जिल्ला सम्पर्ककर्ता सम्झना प्रसाईले बताउनुभयो । कार्यक्रम सञ्चालनपूर्व कार्यक्षेत्रमा गरिएको अध्ययनमा बालबालिका आफ्नो हकअधिकार प्राप्त गर्नबाट कुनै न कुनै रुपमा वञ्चित भएको र महिला हिंसा पीडित भएको तथ्यांक शक्ति समूहले सार्वजनिक गरेको छ । रासस

नक्कली बाबु खडा हुँदा वडाअध्यक्ष पक्राउ !

सिन्धुपाल्चोक, जेठ ३० । नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाणपत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका ६ साविकको इचोकका वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका छन् । मेलम्ची नगरपालिका-१० ज्यामिरे निवासी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका-६ इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । नक्कली बाबु खडा गरेर खुसी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए । नागरिकता सिफरिस पछि आशाराम दाइ बनेरै खुसीको नागरिकतासमेत बनाएको प्रहरीले जानकारी दिएको छ । नक्कली नागरिकता बनाएपछि उनीहरु दुवै जनालाई काठमाडौंको बौद्धमा प्रहरीले पक्राउ गरेर सिन्धुपाल्चोक पठाएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

मदिराले लियो युवकको ज्यान

राजविराज, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका-९ स्थित मलेठमा कुटपिटबाट बुधबार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हुँदा मृत्यु भएको हो । मण्डललाई कसले, किन हत्या गरेकोे भन्ने खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । यसैबीच कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी बेल्जियमले आफ्नो खेलाडीको नामको सूची धेरैबेर गोप्य राख्न सकेन

विश्वकपमा सहभागी हुने सबै टिमले अन्तिम खेलाडी सूची जारी गरिसकेका छन् । यसमा बेल्जियम पनि पर्छ, तर उसले आफ्ना खेलाडीको सूची भने लामो समय गोप्य राख्न सकेन । उक्त सूची पनि अनौठो तरीकाले बाहिर आयो । भएछ के भने बेल्जियमले आफ्नो टिम रहने रुसी होटलमा खेलाडी सुत्न आफ्नै ओछ्यान (म्याट्रेस) यो पठाएको रहेछ, त्यो पनि खेलाडीको नाम सहित । त्यसमा २३ जना खेलाडीको प्रत्येक म्याट्रेसमा उनीहरूको नामसमेत लेखिएको थियो । बेल्जियमका मिडियाले त्यहींबाट खेलाडीको सूची फुत्काइहाले । बेल्जियमको फुटबल संघले त्यसपछि मात्र खेलाडीको अन्तिम सूची जारी गर्‍यो ।

‘गोठ सफा नभएसम्म दूध सफा हुन सक्दैन’

नेपालका बजारमा बिक्रि गरिने पानी, दूध, मासु र अन्य खाद्य पदार्थहरूको गुणस्तर सुधार हुन नसकेको भनी चिन्ताहरू व्यक्त भइरहँदा त्यसको जाँच गर्न स्रोत र साधनको अभाव रहेको एक अधिकारीले बताएकी छन्। पानी, दूध र अन्य दैनिक उपभोग हुने खाद्य पदार्थको गुणस्तर सुधार्ने नेपाल सरकारको प्रयासको आलोचना भइरहेको बेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी उप महानिर्देशक मतिना जोशी-वैद्यले भनिन्, “विभागले सक्दो प्रयास गरिरहेको छ।” खाद्य पदार्थको नमुना परीक्षणको क्रममा दूध, पानी जस्ता बस्तुमा हानिकारक जिवाणुका साथै दूषित बस्तु मिसिएको पाइएको थियो। विभागले पानी र मासुको हकमा नयाँ निर्देशिका उद्योगीहरूलाई पठाइसकेको उनले बताइन्। उनका अनुसार अन्य खाद्य पदार्थको गुणस्तर सुधार गर्ने प्रयास भइरहेपनि राजधानी बाहिर स्रोत र साधनको अभाव छ भने कर्मचारीको न्यून उपस्थिति छ। उप महानिर्देशक मतिना जोशी-वैद्य भन्छिन्, “४०-४२ निरीक्षकहरुले ७७ वटै जिल्ला हेर्नु पर्ने स्थिति छ।” उनले सूचना, शिक्षा र सञ्चारको माध्यले जनचेतना जगाउनु जरुरी रहेको बताइन्। “दूधको कुरा गर्ने हो भने गाई भैंसी पाल्ने गोठको सफाइबाटै थालनी गर्नु पर्छ। गाईको थुन सफा नभएसम्म दूध कसरी सफा हुन्छ। “बजारमा फेरी चार डिग्री सेल्सियसको तापक्रममा बेच्न राख्नु पर्छ। त्यो पालना नगरेसम्म गुणस्तरमा सुधार हुन सक्दैन।” बीबीसी

किमलाई भटेपछि ट्रम्पको पहिलो प्रतिक्रियाः निकै प्रतिभावान र आफ्नो देशलाई एकदमै माया गर्ने व्यक्ति

काठमाडौं, जेठ २९ । अमरीकी राष्ट्रपति डोनल्ड ट्रंप र उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच एतिहासिक वार्ता सम्पन्न भएको छ । वार्ता निकै सकरात्मक भएको बताइएको छ । तर वार्तामा कुन कुन विषयमा सहमति भयो वा सहमति भयो यसबारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । र केही घण्टापछि दुबै नेता स्वदेश फर्किने तयारीमा छन् । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने,‘ आज जे भएको छ त्यसमाथि ठुलो गर्व महसूस गरिरहेको छु । उत्तर कोरिया र कोरियाली प्रायद्वीपमा हामीहरुबीच जुन पुरानो स म्बन्ध थियो त्यसमा अब ठूलो परिवर्तन हुनेछ ।’ ट्रम्पका अनुसार उनी र किमबीच एउटा राम्रो सम्बन्ध बनेको छ । ट्रम्पले किमको उच्च प्रशंसा गर्दै भने, ‘उनी निकै प्रतिभावान व्यक्ति छन् र आफ्नो देशलाई औधी माया गर्छन् ।’ पत्रकार सम्मेलनमा सर्वोच्च नेता किमले भने, ‘विश्वले अब एउटा ठूलो परिवर्तन देख्नेछ ।’ पत्रकार सम्मेलनमा सम्झैेतामा हस्ताक्षर गर्दै दुई नेताले मुस्कुराउँदै हात मिलाए । मानिसहरुले सोचे र अनुमान गरेभन्दा वार्ता निकै फलदायी भएको ट्रम्पको दाबी छ । जसका कारण अब हामी धेरै क्षेत्रमा सँगै अगाडि बढिरहेका छौं । तर अहिलेसम्म दुई नेताहरुबीच कुनकुन विषयमा हस्ताक्षर हुदै छ भन्नेबारेमा स्पष्ट पारिएको छैन ।

भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

काठमाडौं, जेठ २२ । भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दुरसञ्चार प्राधिकरणसँग भएको समझौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको हो । सिन्धुलीपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्वपुर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । कान्तिपुरमा समाचार छ ।

भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्वः प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताउनुभएको छ । आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभएको छ । सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाइ अभियान शुरु भएको देख्दा आफूलाई खुशी लागेको उल्लेख गर्दै उहाँले स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्पूर्ण नेपालीलाई हार्दिक आह्वान पनि गर्नुभएको छ । वातावरणीय प्रभाव मूल्यांंकन बिनागरिने विकास प्रयास दिगो हुँदैन । अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउँदैन, त्यस्तो अव्यवस्थाले बाढीपहिरो, सुक्खालगायतका ठूलो धनजनको क्षति हुने प्रकोपको सम्भावनासमेत बढाउँछ । वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्न पनि उहाँले आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ । रासस