ट्रक र जीप ठोक्किएर ट्रकमा आगलागी, आगो निभाउने प्रयास जारी

धादिङ, जेठ २१ । धादिङमा ट्रक र जीप ठोक्किएर ट्रकमा आगजनी हुँदा ३ जना घाइते भएका छन् ।

साेमबार साँझ  चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ८७७० नम्बरको सिमेन्ट बोकेको ट्रक र बा१७च १०९३ नम्बरको बोलेरो जीप को थाक्रे गाउँपालिका–७ सातकिलोमा एकआपसमा ठोक्किएका थिए ।

ट्रकको ट्याङ्कीबाट आगो सल्केर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी र स्थानीय वासिन्दा मिलेर आगो निभाउने प्रयास गरिरहको बताइएको छ ।

दुर्घटनामा बोलेरो जीपमा सवार ३ जना घाइते भएका छन् । घाइतेको महादेववेसी पोलिक्निकमा उपचार भइरहेको छ ।

ट्रकका चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि राजमार्ग बन्द भएको छ ।

वृद्ध भत्ता बढेन

सरकारले बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ बजेटमा यसबारेमा केही उल्लेख गरिएको छैन । तर ७० वर्षभन्दा माथिका बृद्धबृद्धालाई एक लाखको बिमा सरकारले गर्ने उल्लेख गरिएको छ । यसअघि चुनाव ताका बृद्धबृद्धाको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएइको थियो । भने शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको भनिएको भत्ता पाउने उमेर र रकममा लागु गरिएको छैन ।

हामीले जनता र जमिनलाई न्याय गर्नपर्छ : कृषिमन्त्री खनाल

काठमाडौं, जेठ १४ । कृषि, भूमि व्यवस्थापन र सहकारीमन्त्री चक्रपाणि खनालले भूमि प्रशासनका सेवा प्रदान गर्ने सन्दर्भमा जनतालाई झण्झट दिने र अल्मल्याउने काम नगर्न निर्देशन दिनुभएको छ । नापी विभागको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “नापी र मालपोतका विषयमा आउने गुनासोलाई न्यूनीकरणका लागि सीप र चेतनालाई सही ठाउँमा लगाएर कार्य सम्पादन गर्नुहोस् ।” मन्त्री खनालले भन्नुभयो, “हामीले जनता र जमिनलाई न्याय गर्न पर्छ, भूउपयोग नीतिलाई जति सक्यो छिटो कार्यान्वयनमा ल्याइनेछ, अहिलेको काम गर्ने शैलीमा परिवर्तन गर्न वैज्ञानिक विधि र प्रक्रिया अपनाउनै पर्छ ।” “भूमि प्रशासनमा अहिलेको चुनौती भनेको सेवा प्रवाहमा सुधार ल्याउनु हो, सेवा प्रवाहलाई सरल र सहज तुल्याउन आवश्यक छ, वैज्ञानिक नाप नक्साका लागि तपाईहरु मानसिक र भैतिकरुपमा तयार रहनुस्”, उहाँले भन्नुभयो । समारोहमा कृषि, भूमि व्यवस्थापन र सहकारीराज्यमन्त्री रामकुमारी चौधरीले जनतालाई भूमि प्रशासनसम्बन्धी सेवा सरल र सहजरुपमा प्रवाह गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । सो मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मुलुकको आर्थिक समृद्धि र विकासका लागि नापी विभागको महत्वपूर्ण योगदान रहने भएकाले भूमि व्यवस्थापनमा आधुनिक र वैज्ञानिक विधि अपनाउने विषयमा प्रेरणा दिन आवश्यक छ भन्नुभयो । विभागका महानिर्देशक गणेश भट्टले नापीको काम चुनौतीपूर्ण भएपनि जनता र राज्यबाट आवश्यकरुपमा विश्वास प्राप्त गर्न र स्थलगत कार्य क्षेत्रमा खटिने कर्मचारीलाई भत्ता दिन नसक्नु विभागका लागि चुनौती रहेको धारणा व्यक्त गर्नुभयो । मुलुकभित्रका जमिनका अत्याधुनिकरुपमा लगत र नक्सा तथा छिमेकी दुवै देशबीच सीमाका डिजिटल नाप नक्सा तयार भएको सो अवसरमा जानकारी दिइयो । विभागले ७५३ वटै स्थानीय तहले आफ्नो क्षेत्रको स्थलरुप नक्साको डिजिटल डाटा मागेमा उपलब्ध गराउन सक्ने पनि सो अवसरमा जानकारी दिइयो । मुलुकमा ६० लाख ७५ हजार ९८३ हेक्टर जमिनमध्ये ३४ लाख २१ हजार ९८८ हेक्टर जमिन आवादी रहेको जनाइएको छ । आवादी जमिन २८ लाख ६८ हजार ४५७ को स्वामित्वमा रहेको जनाएको छ ।

गुण्डा, तस्कर र अपराधी विकास र समृद्धिका प्रमुख बाधक : गृहमन्त्री बादल

काठमाडौं, जेठ १४। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गुण्डा, तस्कर र अपराधी विकास र समृद्धिका प्रमुख बाधक रहेको बताए । साथै बलियो र स्थिर सरकार बनेपछि अब तिनीहरुको दिनगन्ती शुरु भएको पनि उनले दाबी गरे । सोमबार चन्द्रागिरि नगरपालिका २ लाई फ्री वाइफाइ वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको सबै मिलेर दण्डीत गर्नु पर्ने बताए । सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । ‘आर्थिक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डिकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन,’ गृहमन्त्री बादलले भने,’ सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ।’ अर्को फरक प्रशंगमा मन्त्री थापाले काममा आलटाल गर्ने ठेकेदारलाई सरकारले कारबाही अघि बनाइसकेको भन्दै सरकार त्यतिकै नबस्ने बताए । साथै उनले अहिले चन्दा्रगिरिका मानिसलाई जागिर नदिने कथा बन्न लागेको बताउदै उनले भने, ‘ठेकेदारले समयमा कंलकी नागढुंगा सड्क निर्माण कार्य नगर्दा यहाँका नागरिकलाई कलंकी पुग्न २/३ घण्टा लाग्छ ।’ ठेक्का लिएर निर्माण कार्य समयमा नसक्ने ठेकेदारलाई पनि अब नछोडिने बताउँदै कलंकी नागढुंगा सडक छिट्टै बनाएर सक्नु पर्ने उनको भनाई थियो ।

ढुंगेलको विषयमा सरकारले आज सर्वोच्चलाई के जवाफ दिन्छ होला ?

काठमाडौं, जेठ १४ । सरकारले बालकृष्ण ढुंगेललाई आम माफी दिने तयारी गरे नगरेकोबारे आज सर्वोच्च अदालतलाई जवाफ दिँदैछ । सर्वोच्च अदालतले व्यक्ति हत्याको अभियोग पुष्टि गर्दै जन्मकैद तोकका ढुँगेलको चालचलन असल रहेको भन्दै थुनामुक्त गराउने तयारी गरे नगरेकोबारे २४ घण्टामा जवाफ दिन गएको शुक्रबार सरकारलाई निर्देशन दिएको हो । सरकारले हिजै जवाफ पेश गर्ने तयारी गरे पनि पालो नआएकाले आज जवाफ पेश गर्न लागेको हो । आज दुवै पक्षको सुनुवाई गराउने तयारी रहेको सर्वोच्च प्रशासनले जनाएको छ । कारागार विभागले गणतन्त्र दिवसका दिन कैद मिनाहा गर्ने कैदीको नामको सूचिमा ढुंगेलको नाम पनि सिफारिस गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो । दुवै पक्षको बहस सुनेपछि आजै सर्वोच्चले यसबारेमा निर्णय सुनाउनेछ । सर्वोच्चले आज निर्णय नगरे सरकारले भोली गणतन्त्र दिवसका दिन ढुंगेललाई माफी दिन अवरोध हुने छैन ।

ठूलो दुर्घटनाबाट जोगियो यति एयरलाइन्सकाे विमान

चितवन, जेठ १३ ।भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिनुभयो । यति एयरलाइन्सको 9N AIS कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराउनुभएको थियो । समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । यात्रुहरु सकुशल रहेका छन् । उनीहरुलाई अर्को जहाज झिकाएर काठमाडौँ पठाइएको सिंहले बताउनुभयो । अर्को जहाजमा इन्जिनियर पनि आएका छन् । चरा ठोक्किएको जहाजको परीक्षण गरेपछि तत्काल उडान गर्न सकिने कि नसकिने भन्ने यकिन हुने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताउनुभयो । यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो ।

प्रहरीका उच्च अधिकारी र ठूला नेताको सेटिङमा सुन तस्करी : गोरे

विराटनगर, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपी गोरे भनिने चुडामणि उप्रेतीले सुुन तस्करीमा आफ्नो संलग्नता भएको तर आफु नाइके नभएको दाबी गरेका छन् । गएको आइतबार राजधानीबाट पक्राउ गरिए सुन तर्स्कीका प्रमुख आरोपी गोरेसँगको थुनछेक बयान आज सकिएको छ । र अहिले जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुराको खुलासा गरेका छन् । गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ । आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’ छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गर्छ । कोको संलग्न छन् यकिन भन्न सक्दिनँ ।’

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध

चितवन, जेठ ३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ ।

फेरि रेडियो पत्रकारको हत्या

मेक्सिको, जेठ २ । मेक्सिकोमा एक रेडियाे पत्रकारको हत्या भएको छ । मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । जुआन क्यार्लोस् हुएर्टा स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत हुनुहुन्थ्यो । हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको थियो । उहाँ ४५ वर्षको हुनुहुन्थ्यो । विश्वको अन्य देशको तुलनामा मेक्सिकोमा पत्रकारको हत्या बढी हुने गर्दछ । यस वर्षको शुरुदेखि हालसम्म मेक्सिकोमा तीन जना पत्रकारको हत्या भइसकेको छ । तर यहाँका पत्रकारका हत्यारामाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताइन्छ ।

‘नागरिक वचतपत्र २०८०’ को बिक्री खुला, कति पाइन्छ ब्याज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८०’ को विक्री खुला गरेको छ । नेपाल राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो। वचतपत्रमा जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बोलपत्र पेश गर्न सकनेछ । जसको निष्काशन जेठ २८ गते गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको सावाँ फिर्ता २०८० जेठ २८ गते हुने छ। प्रत्येक छ महिनामा व्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरुबाट बचतपत्रमा आवेदन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । खरिद आवेदन नेपाल राष्ट्र बैंकको वेवसाइट  www.nrb.org.np बाट पनि डाउनलोड गरी आवेदन दिन सकिने व्यवस्था छ । आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको व्याज लिन सकिनेछ । उक्त वचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । सो वचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने बताइएको छ । मेरोलगानीबाट साभार

बिहे नगरे पनि अब प्रजनन् अधिकार

काठमाडौं, जेठ २ । संसारभरीका महिलाले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो– आफ्नो शरीर, आफ्नै हक । जुन यौन तथा प्रजनन् हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ । विवाह गरेर पनि आफ्नो इच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने कानुन त नेपालमा पनि बनिसकेको छ । अब भने पश्चिमा मुलुकमा झैं नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन् सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । –कान्तिपुर दैनिकबाट

प्रभु बैंकका चारवटा शाखा एकैसाथ सञ्चालनमा

काठमाडौं । प्रभु बैङ्कले आइतबारदेखि एक साथम ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका–४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका– १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका– २ र दैलेख जिल्ला गुराँस गाउँपालिका–४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैङ्कका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखाको उद्घाटन सम्बन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेमराज ओलीले गरेका हुन् ।

आज आइपिएलमा सन्दीप लामिछाने पहिलोपटक खेल्दै

नयाँ दिल्ली, नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले आज आइपिएलमा पहिलो खेल खेल्दै छन् । रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सञ्जिबको डेब्यू खेल हुने छ । भर्खर शुरु भएको खेलमा दिल्लीले अहिले ब्याटिङ गरिरहेको छ । आइपिएल खेलमा पहिलो नेपाली खेलाडी बनेका सन्दीपले यसअघिका खेलमा भने खेल्न पाएका थिएनन । दिल्ली डेयरडेभिल्स टीममा आबद्ध सन्जीबको खेल आज नेपाली समय  आठ बजेबाट शुरु हुने छ । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । ११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।

सन्नी लियोनीपछि पार्दै अर्की पोर्नस्टार बलिउडमा

मुम्बई, वैशाख २९ । चर्चित पोर्नस्टार सन्नी लियोनीको बलिउड आगामनको चर्चा सेलाउन नपाउदै अर्की पोर्नस्टार भारतीय फिल्म उद्योगमा भित्रिएकी छिन्। चर्चित निर्माता रामगोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्। मियाले केही समय अगाडि ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्साहित भएको बताएकी छन्। ‘भारतीय फिल्म निर्माता रामगोपालले युरोपमा म सँग एक भिडियो ‘गड, सेक्स एण्ड ट्रुथ’ शुट गरेका छन्’, उनले भनेकी छन्– ‘म सन्नी लियोनीपछि भारतीय फिल्म निर्देशकसँग काम गर्ने दोस्रो अडल्ट स्टार हुँ।’ उनले रामगोपाल बर्मालाई धन्यवाद पनि भनेकी छिन्। रामगोपालले मियालाई ट्वीटरमै जवाफ दिँदै भनेका छन्– हे मिया ‘गड, सेक्स एण्ड ट्रुथ’मा फिल्मी दुनियाँको उच्चकोटीको विचारणीय अनुभव रह्यो। रामगोपालले आफूले कहिलेपनि सन्नी लियोनीसँग काम गर्ने अवसर नपाएको उल्लेख गर्दै भने– मैले सन्नी लियोनीसँग अहिलेसम्म काम गर्न पाएको छैन्। तर म ‘गड, सेक्स एण्ड ट्रुथ’को अनुभव कहिल्यै भुल्न सक्दिन।

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौं, वैशाख २९ । नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । केही समयअधि उनी नेपाल भ्रमणको अन्तिम औपचारिक कार्यक्रमका रूपमा काठमाडौं महानगरपालिकाको अभिनन्दन ग्रहण गरेपछि भारतका प्रधानमन्त्री मोदी स्वदेश फर्केका हुन । शुक्रबार साढे १० बजे जनकपुर ओर्लिएका मोदीले जानकीको दर्शनसँगै नेपाल भ्रमण औपचारिक रुपमा शुरु गरेका थिए । तेस्रो नेपाल यात्राका क्रममा जनकपुरमा अभिनन्दन गरिएको थियो । त्यसपछि अपरान्ह काठमाडौं आइपुगेका मोदीले राजनीतिक भेटघाट र वान टु वान वार्ता हुदैं साँझ दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त पत्रकार सम्मेलन गरेर सहमतिका विषयहरू सार्वजनिक गरे । शनिवार विहान मुक्तिनाथको दर्शन गरेर फर्के मोदी त्रिभुवन विमानस्थलबाट सिधैपशुपतिनाथको दर्शन र पूजा गरे । औपचारिक भारतका प्रधानमन्त्रीका रूपमा पहिलोपटक उनी सन् २०१४ मा नेपाल आएका थिए । यसपाली पनि मोदीले एउटा अर्का चाहान प्रकट गरेर गएका छन् । उनले भने ‘अर्का पटक आउँदा बुद्ध भूमि लुम्बिनी जाने छु ।’ नेपाल भ्रमणका क्रममा मोदी र प्रधानमन्त्री केपी ओलीले संयुम्त रुपमा बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो र जनकपुर अयोध्या सिधा बस सेवाको शिलान्यास र शुभारम्भ गरे ।

समाजवादको ठूलो कुरा गरेर विकास हुँदैन : डा बाबुराम

काठमाडौं, वैशाख २७ । पूर्वप्रधानमन्त्री एंव नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले समाजवादको कुरा गरेर मात्र विकास नहुने बताएका छन् । साथै उनले भौतिक र सामाजिक पूर्वाधार विकास गर्नु सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैकठमा प्रिबजेटमाथिको छलफलमा बोल्दै डा. भट्टराईले भने,’आगामी बजेटको प्राथमिकता र वित्तीय संरचनाको कुरा गर्दा समाजवादको ठूला कुरा गरेर हुँदैन, भौतिक र सामाजिक पूर्वाधार तयार गर्नुपर्छ ।’ देशको विकास र समृद्धिको सपना पूरा गर्न भौतिक र सामाजिक पूर्वाधार विकासको विषयलाई बजेटमा मुख्य प्राथमिकतामा राख्न सुझाव दिएका छन् । पूर्वपश्चिम सडक, रेल मार्ग, जल मार्ग, हवाइ मार्ग लगायत कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरे मात्र समृद्धिको लागि मार्ग प्रशस्त हुने उनको भनाई छ । सामाजिक पूर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उनले शिक्षामा क्रान्ति ल्याउनुपर्ने बताए । अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउनुपर्ने संयोजक भट्टराईले बताए । उनले कृषिको आधुनिकीकरणका लागि सिँचाइको उपयुक्त व्यवस्था गरी बैज्ञानिक बाली प्रणाली अपनाउनुपर्नेमा जोड दिए । पर्यटनलाई प्राथमिता दिदै रोजगारीको अवसर श्रृजनाको लागि तुलनात्मक लाभको क्षेत्र पहिचान गरी उद्योग विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिदै उनले बैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने आवश्यकता औल्याए । उनले सबैलाई खुसी पार्ने प्रयत्न भन्दा पनि प्राथमिकताको निर्धारणमा ध्यान केन्द्रित गर्नुपर्ने पर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यस्तै भूमि व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गर्दै संयोजक भट्टराईले सामान्य निरन्तरतामा मात्रै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरे विकासको गति पहिल्याउन नसकिने बताए । उनले दुवै छिमेकी मुलुकसँग मित्रवत सम्बन्ध कायम राखेर लगानी भित्र्याउन सरकारलाई सुझाव दिए । भ्रष्टाचार निवारण गर्ने निकाय नै भ्रष्टाचारमा लागेको देखिएको उल्लेख गर्दे उनले भ्रष्टाचार निवारणमा आमुल परिर्वतन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरे ।