दीपक मनाङ्गेको मुद्दा फेरि सुनुवाइ हुने

काठमाडौं, मंसिर २८ । सर्वोच्च अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका राजीव गुरुङ भनिने दीपक मनाङ्गेको मुद्दा पुनः सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज मनाङ्गेका तर्फबाट दायर गरिएको पुनरावलोकन निवेदन सर्वोच्च प्रशासनले गरेको दरपीठ बदर गरेपछि पुनः सुनुवाई हुने भएको हो ।

तत्कालीन पुनरावेदन अदाललत पाटनले गरेको फैसलामा सर्वोच्च अदालतमा पुनरावलोकन गर्न पाउने अधिकार हुँदाहुँदै नपाएको उल्लेख गर्दै मनाङ्गेका तर्फबाट इन्दिरा गुरुङले पुनरावलोकन निवेदन दर्ता गराएकी थिइन् ।

विसं २०६१ मा महाराजगञ्जस्थित चुफाङ रेष्टुराँमा मिनल गुरुङ (चक्रे मिलन) को दायाँ हात पूरै काटेपछि मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दामा तत्कालीन पुनरावेलन अदालत पाटनले पाँचवर्ष जेल सजाय सुनाएको थियो ।

मनाङ्गे अहिले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलापछि कैद सजाय भुक्तान गर्दै जेलमा छन् । त्यसैसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनः सुनुवाई हुने भएको छ । रासस

एनआरएनले आधुनिक कृषि बजार बनाउने, कृषि मन्त्री खनालसँग भयो यस्तो छलफल

काठमाडौं ,  मंसिर २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो । एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन सेन्टर निर्माण गर्ने जनाएको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो । एनआरएन कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले एकदेखि डेढ अर्व रुपैयाँ लगानी गर्ने गरी ७ जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिए । कलेक्सन सेन्टरका लागि काठमाडौं बाहिर प्रदेश १ को सरकारसँग छलफल गर्ने उनले बताए । नाफामूलकभन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहात मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्म निर्भरताका लागि सहयोग पुग्ने एनआरएन उपाध्यक्ष आचार्यको भनाई छ । एनआरएनले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहनेछन् । जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने जानकारी दिन । एनआरएनलाई सहज हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाई छ । काठमाडौंमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीहरुले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले जानकारी दिए । कृषि मन्त्रालयले पनि काठमाडौं छिर्ने ५ वटा नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि ५ करोड रुपैयाँ छुट्टाइएको छ भने किसानलाई ५० प्रतिशत अनुदान हुनेछ । काठमाडौंमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने मन्त्री खनालको योजना छ । काठमाडौंको मलपोखरीमा खानेपानी मन्त्रालयको स्वामित्वमा रहेको ६ सय रोपनीको जग्गा उपयुक्त भएको भन्दै मन्त्रालयसँग छलफल चलिरहेको खनालले जानकारी दिए । त्यहाँको २ सय रोपनी जग्गा उपलब्ध भएमा तत्कालका लागि कालिमाटीको बजारलाई मलपोखरीमा सारेर कालिमाटीलाई कोल्ड स्टोर, पर्याप्त पार्किङ सहितको पाँच तले आधुनिक बजार बनाउने कृषि मन्त्री खनालको योजना छ । त्यसो गर्न अहिलेका कालिमाटीका तरकारी व्यवशायी अग्रिम रकम भुक्तान गर्न पनि तयार भएका छन् ।

एभरेष्ट प्रिमियर लिगः पोखरा र काठमाडौं भिड्दै [LIVE]

काठमाडौं, मंसिर २८ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं किंग्स(११ र पोखरा राइनोज भिडिरहेका छन् । टस जितेर काठमाडौंले फिल्डिङ रोजेको छ । काठमाडौंको कप्तान आज रोहन मुस्ताफले गरिरहेका छन् । नियमित कप्तान सोमपाल कामी घाइते भएपछि रोहतले कप्तानी सम्हालेका हुन् । अघिल्लो खेलमा काठमाडौंको कप्तानी केभिन ओब्राइनले गरेका थिए । मुस्ताफाको प्रतियोगितामा यो पहिलो खेल हो । काठमाडौंले २ मध्येको १ खेल जितेको छ । अघिल्लो खेलमा काठमाडौंलाई ललितपुर प्याट्रियटसले १० विकेटले पराजित गरेको थियो । पोखरा प्रतियोगितामा पहिलो विजय हात पार्ने आशामा छ । पोखराले पहिलो तीन खेल नै हारिसकेको छ । काठमाडौंसँग पराजित भए प्रतियोगिताबाट बाहिरिने छ ।

सुदूरपश्चिममा हिमपातका कारण जनजीवन प्रभावित

बैतडी, मङ्सिर २८ । मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात पनि भएको छ । दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउँमा समेत हिमपात भएको स्थानीय प्रेम चुनाराले जानकारी दिए । उनले भने, “दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।” डडेल्धुराको भीमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिए । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरू खुशी भएका छन् । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । बुधबारदेखि एक्कासी मौसम बदली भई पानी परेपछि विहीबार हिमपात भई यहाँका साधारण तथा स्थानीयवासी चिसोले प्रभावित बनेका हुन् । लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली बिग्रने चिन्तामा रहेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पुर्याएको छ । लामो समयको खडेरीपछि पानी परेकाले बाली सप्रिने दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । रासस

इपीएलः पोखरा र ललितपुर भिड्दै, हेर्नुस् लाइभ

काठमाडौं, मंसिर २४ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियिर लिग (इपीएल) अन्तर्गत आज दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच भिडन्त भइरहेको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले शानदार शुरुवात गरेको छ । अंक तालिकामा पोखरा पाँचौ स्थानमा र ललितपुर तेस्रो स्थानमा रहेको छ । ललितपुरले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । यस्तै, पोखारले भने पहिलो खेलमा हार बेहोरेको थियो ।

रक्सी खुवाएर १७ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

बागलुङ, मंसिर २४ । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला बागलुङमा १७ वर्षीया किरोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वषीएया किशोरीमाथि तीन जनाको समूहले बलात्कार गरेको घटना सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा तीन जना युवाले किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रधानमन्त्री भन्छन्, ‘हाम्रा लागि संघीयता नयाँ खेल हो, यसमा हामी च्याम्पियन सावित हुनेछौं’

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै उनले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकाले आफ्ना अनुभवबाट सिक्दै यसलाई बलियो बनाउने पहल गर्न सबै समक्ष आग्रह गरे । उनले संघीयता नेपालका लागि नयाँ विषय भएकाले यसलाई संरचनागतरुपमा बलियो बनाउन आफैँ लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता विषय केही समयअघिसम्म हाम्रो सोचमा थिएनन् । अहिले तिनलाई व्यावहारिकरुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौँला । खेलमा पस्नेबित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीययता त्यस्तै नयाँ खेल हो । यसमा हामी च्याम्पियन सावित हुनेछौँ ।’ सङ्घीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्नेमा चर्चा गर्दै उनले भने, “हामी गलत बाटोमा गएका छैनौँ । संघीयता कार्यान्वयनमा गति बढाउन बाँकी छ ।” आजको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्ना धारणा राखेका थिए । बाँकी तीन वटा प्रदेशका मुख्यमन्त्रीले सोमबारको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठकमा सङ्घीयता कार्यान्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामका विषयमा प्रधानमन्त्री कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, कानून न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवले जानकारी गराएका थिए । बैठक सोमबार १० बजे सिंहदरबारमा पुनःबस्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको हो । संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न परिषद्को बैठक माग गरिएको थियो । नेपालको संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषद्को व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्री तथा सचिव पनि आमन्त्रित हुन्छन् । रासस

निर्मला पन्तको हत्या घटनामा विशेषज्ञ अनुसन्धान टोली गठन गर्न गृहको तयारी

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । समाचारमा अगाडि उल्लेख छः प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो। मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र डा. इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको ‘तत्काल अनुसन्धानमा खटिएका प्रहरीमाथिको छानबिन तथा अनुसन्धान टोली’ ले अहिलेसम्म ठोस प्रतिवेदन दिएको छैन। देशव्यापी चासोको विषय बनेको निर्मला हत्या घटनाले यसले प्रहरीको विश्वसनीयतामा प्रश्न खडा गरेको र गृह मन्त्रालय तथा सरकारलाई नै दबाब महसुस भएकाले प्रहरीकै विशेषज्ञ टोली बनाएर अनुसन्धान गर्नुपर्ने मन्त्रालयको ठहर छ। गृहमन्त्री थापाले यो विषयमा सबै संयन्त्र परिचालन गरी हत्यारा पत्ता लगाउन विशेषज्ञ टोली बनाउने प्रस्ताव गरेका थिए। बैठक स्रोतका अनुसार मन्त्रीले नै सो प्रस्ताव गरेपछि त्यस विषयमा गृहसचिव राई तथा मन्त्रालयका प्रवक्ता सुवेदीले कसरी जान सकिन्छ भनेर आइजी खनाललाई प्रश्न गरेका थिए। तीन घण्टाभन्दा बढी चलेको सो छलफलमा प्रहरी महानिरीक्षक खनालले तत्काल सिआइबीबाटै अनुसन्धान भइरहेकाले यसलाई प्रभावकारी बनाइने बताए पनि बैठकमा सहभागीले मन्त्रीको प्रस्तावलाई नै जोड दिएको स्रोतले जनाएको छ। गृहमन्त्री थापाको प्रस्तावमा लामै छलफल भए पनि विशेषज्ञ टोली भने बनाइएको छैन। प्रहरी महानिरीक्षकले सो विषयमा प्रहरीकै अपराध अनुसन्धान विभागसँग समन्वय गरी गृह मन्त्रालयसँग छलफलमा बस्ने बताएपछि बैठक टुंगिएको मन्त्रालय स्रोतले जनाएको छ। देशव्यापी रुपमा सरकारको आलोचना भएको र प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठेको बेला अनुसन्धानको दायरा फराकिलो पार्ने उद्देश्यले गृह मन्त्रालयबाट यस्तो प्रस्ताव आएको स्रोतले बतायो। निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा देशव्यापी भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकृष्ट भएकाले निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा विशषेज्ञ टोली बनाउने जमर्को भएको हो। ‘अपराधको अनुसन्धान गर्ने प्रहरी नै भएकाले अहिले खटिएका भन्दा अब्बल प्रहरी खटाउन सकिन्छ कि भनेर छलफल थालिएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘यो विषयमा तीन चार दिन यता मन्त्रालयमा छलफल भइरहेको छ, छलफलमा मन्त्रीज्यू आफैं सहभागी हुनहुन्छ।’ यसअघि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनाएको छानबिन समितिले प्रहरीको लापरबाहीका कारण हत्यारा उम्किएको जनाउँदै दोषी प्रहरीमाथि प्रहरी नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी दिल्लीराज बिष्ट र इलाका प्रहरी कार्यालयका प्रमुख जगदीश भट्टलाई बर्खास्त गरिएको छ। अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकीन्द्र खड्का, सई हरिशरण धामी, असई रामसिंह धामी र चाँदनी सावदलाई निलम्बनमा राखिएको छ। प्रहरीले त्यसयता अनुसन्धानको क्रममा एसपी बिष्टसहित नौजनाको डिएनए परीक्षण गरिसकेको छ भने अनुसन्धानका लागि सिआइबीले कञ्चनपुरबाट केही दिनअघि सातजनालाई काठमाडौं ल्याएको थियो। अनुसन्धानपछि ६ जना फिर्ता भइसकेका छन भने एकजनालाई सिआइबीले थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। निर्मलाको भेजिनल स्वाब सुरक्षित भेटिएपछि प्रहरीले अनुसन्धानको दायरा डिएनए परीक्षणसम्म पु-याएको छ। हालसम्म डिएनए परीक्षण गरिएको व्यक्तिको रिपोर्ट भने नकारात्मक छ। मन्त्रालयका सहसचिव मैनाली संयोजकत्वमा बनेको समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको आंशका गरेको थियो। प्रहरी प्रधान कार्यालयले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनाक्रम १० साउन : निर्मलाको हत्या ११ साउन : शव भेटिएपछि कञ्चनपुर प्रहरीबाट अनुसन्धान सुरु १२ साउन : सिआइबीबाट डिएसपी अंगुर जिसी खेतृत्वमा खटिएको तीन सदस्यीय टोली कञ्चनपुरमा ४ भदौ : कञ्चनपुर प्रहरीले स्थानीय दिलीप बिष्टलाई दोषी भन्दै सार्वजनिक ७ भदौ : गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा सातसदस्यीय छानबिन समिति गठन ८ भदौ : सिआइबीका एसपी ठाकुर ज्ञवाली कञ्चनपुरमा ८ भदौ : आन्दोलनका क्रममा प्रहरी गोली लागेर सन्नी खुनाको मृत्यु २८ भदौ : एआइजी धिरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय छानबिन तथा अनुसन्धान टोली गठन

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

म्याग्दी, मङ्सिर ४ । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिने छ । बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नुपर्ने छ । साँझ साढे छ बजेदेखि निर्माण रोकिने र सडक खुला रहने छ । बेनी–जोमसोम सडक स्तरोन्न्तिका लागि चार प्याकेजमा काम भइरहेको छ । “स्तारोन्नतिको काम र यात्रुको आवतजावतलाई सहज बनाउनका लागि समय तालीका बनाइएको हो,” आयोजना प्रमुख नरेन्द्र सुवेदीले भने । लेते–जोमसोम खण्डमा वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना छैन । जोमसोम–कोरला ११० किलोमिटर लामो सडक स्तरोन्नतिको काम ७० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका इञ्जिनियर जगत प्रजापतिले बताए । दुई वडाको सीमा विवाद समाधान म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधानका लागि नक्सा संशोधन गर्न सिफारिश गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमाक्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद भएको थियो । विवाद समाधान गर्न गाउँसभाले नक्सा संशोधन गर्ने निर्णय गरेको छ । विसं २०४६ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रूटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर विवाद हुँदै आएको छ । सीमा क्षेत्रमा पर्ने बसाधारा, टोड्के, ओरालो खर्क, एकराते, मेलखर्क, चुरुङको वन र चरनलाई दुवै वडाका बासिन्दाले आफ्नो भूगोलमा पर्ने दाबी गर्दै आएका छन् । विवादित सीमाक्षेत्रको वन उपभोगका लागि दुवै वडाका उपभोक्तालाई समेटेर नयाँ साझा उपभोक्ता समूह गठन गर्ने र हालको नक्सा संशोधन गरी चलनचल्तीमा रहेअनुसार सिमाना कायम गर्न प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिश गरिएको भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । अँधेरीखोल्सा, झगटेभीर, रातोपहरा, देउराली, भसाडाँडा, नाङ्गीडाँडा, घाँटीखर्क, सुर्केमेला, सन्धिखर्क, शिरखर्क र पानीडाक्ने डाँडा हुने गरी नयाँ सिमाना कायम गर्न सिफारिश गरिएको छ । रासस

गन्तव्य मुलुकसँग श्रम समझदारीको प्रयास जारी छः श्रममन्त्री

काठमाडौं, मंसिर ३ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन गन्तव्य मुलुकसँग नयाँ उचाईबाट समझदारी गरिनुपर्ने बताएका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) र वीनरक इन्टरनेशनलद्वारा सोमबार आयोजित ‘वैदेशिक रोजगारीमा जाने कामदारको जिम्मेवारपूर्ण छनोट’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली श्रमिकको सेवा, सुविधा र हकअधिकारलाई स्थापित गर्न पूराना समझदारीलाई समयानुकूल बनाउँदै नयाँ गन्तव्य मुलुकसँग समझदारी कायम गर्ने प्रयत्न भइरहेको बताए । उनले भने, ‘श्रम र पुँजीका कारण दुनियाँ समृद्ध हुँदै गएको छ, श्रमिक पठाउने देशले हिनताबोध गर्नु छैन, आत्मसम्मान र गौरवका साथ गन्तव्य मुलुकसँग समझदारी गर्नु जरुरी छ । श्रमिकले मर्यादित जीवनका साथ काम गर्ने अवसर पाउनुपर्छ ।’ उनले सरकार, निजी क्षेत्र, नागरिक समाज र सरोकारवालाको संयुक्त प्रयत्नबाट मात्र सदाचारपूर्ण कामदार छनोट प्रक्रियालाई व्यवहारमा परिणत गर्न सक्ने बताए । उनले भने, ‘सदाचारपूर्ण कामदार छनोट प्रक्रिया वैदेशिक रोजगारीमा मात्र होइन, देशभित्र पनि हुनु आवश्यक छ । देशभित्रैको श्रमिक छनोटका क्रममा पनि अनियमितता देखिएका छन्, देशभित्र श्रमिक लिनेदिने प्रक्रियालाई पारदर्शी बनाउन सरकार गम्भीर रहेको छ ।’ आप्रवासन विश्वव्यापी प्रवृत्ति र संस्कृतिका रुपमा अघि बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले हरेक व्यक्ति तुलनात्मक लाभ र अवसरको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम विश्वव्यापी रुपमा तीव्र गतिमा विकसित भइरहेको बताए । मन्त्री विष्टले भने, ‘जुन गतिमा आप्रवासन अघि बढेको छ, त्यही अनुपातमा यससँग सम्बन्धित समस्या देखापरेको छ । आप्रवासनलाई सही ढङ्गबाट व्यवस्थापन गर्न नसकेको खण्डमा मानव ओसारपसार, मानवता विरोधी गतिविधि बढ्ने र मानवाधिकारको विश्वव्यापी मूल्य र मान्यतामाथि नै चुनौती पैदा हुने खतरा बढेको छ ।’ उनले आप्रवासनसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानका लागि हरेक मुलुकले आफ्नो सीमाभित्र, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सैद्धान्तिक, नीतिगत र कार्यक्रममा सहमति गर्नु जरुरी भएको बताए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल कृषिप्रधान मुलुक भए पनि कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा बढी भएकाले आप्रवासी श्रमिकको पक्षमा नीति बनाउन सरकारको ध्यानाकर्षण गराए । मुलुकको गरीबी निवारणमा विप्रेषणको योगदानलाई नकार्न नसकिने उनको भनार्इ थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले सदाचारपूर्ण कामदार भर्ना प्रक्रियाका सन्दर्भमा विश्वमा भइरहेका प्रयासलाई नेपाल सरकारले अवलम्बन गरिरहेको जानकारी दिए । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले निजी क्षेत्र र सरोकारवालासँगको सहकार्यमा अल्पकालीन, मध्याकालीन र दीर्घकालीन नीति बनाउनुपर्ने बताए । -रासस

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

चिप्लेढुङ्गा, कात्तिक २८ । हिंसापीडित महिलाका लागि सुरक्षित आवास गृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की, पोखराका अधिकारकर्मीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि सुरक्षागृह बनाउन पहल गरेता पनि सफल हुन नसकेको भन्दै मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएको कोपिला नेपालका कार्यकारी निर्देशक एवं अधिकारकर्मी बीना सिलवालले बताए । सिलवालले भने, “हामीले समस्याको बारेमा अवगत गरायौँ, उनले सकारात्मक जवाफ दिनुभएको छ । हामी काम हेर्न चाहन्छौँ ।” उनले यो गम्भीर भएको भन्दै प्रदेश सरकारले तुरुन्तै यस कार्यको थालनी गर्नुपर्ने बताए । इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिवप्रसाद खकुरेलले महिला तथा बालबालिका सुरक्षाका लागि सुरक्षा घर अत्यावश्यक रहेको बताउँदै स्वास्थ्य र सुरक्षाको दृष्टिकोणबाट पनि सहज हुने गरी स्थान छनोट गरिनुपर्ने बताए । महिला सुरक्षा गृह तथा बाल सम्पर्क गृह निर्माणका लागि ध्यानाकर्षण गराउन पुगेका नागरिक समाजको प्रतिनिधिसँग भेटका क्रममा मुख्यमन्त्री गुरुङले महिलामैत्री वातावरणका लागि आफू सकारात्मक रहेको भन्दै हिंसामा परेकाको लागि सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा सुरक्षा गृह प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष गिरधारी शर्माले नयाँ संरचना निर्माण गर्नेभन्दा पनि भएका संरचनालाई उपभोग गर्ने गरी स्थानको खोजी गरिने जानकारी दिए । शर्माले सुरक्षा गृह प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकार र गैरसरकारी संस्थाको समन्वयमा सुरक्षा गृह सञ्चालन गर्न सकिने धारणा राखे । रासस

उड्ने बाइक बन्यो, अग्रिम बुकिङ खुला !

काठमाडौं, कार्तिक २५ । अब बाइकमा चढेर उडने दिन पनि आइसकेको छ। रसियन टेक कम्पनी ‘होभरसर्फ’ चढेर उड्ने बाइकको व्यावसायिक उत्पादन र अग्रिम बुकिङ थालेको छ। कम्पनीले उत्पादन गरेको ‘होबरबाइक एसथ्री २०१९’ को प्रिअर्डर सुरु गरेको हो । यो बाइकको अधिकतम् गति ९६ किलोमिटर प्रति घन्टा रहेको छ। जमिनको सतहबाट ५ मिटर उचाईसम्म यसले उडान भर्न सक्छ । दुबई प्रहरी बलले यो क्राप्टको प्रयोग गर्ने योजना बनाई सकेको छ । उसले यसका लागि प्रशिक्षण पनि सुरु गरिसकेको छ । कम्पनीका अनुसार यो उड्ने मोटरसाइकलको मूल्य डेढ लाख अमेरिकी डलर तय गरिएको छ । आधा घन्टा भन्दा कम समय मात्र यसको उडने क्षमता छ । थोरै समयका लागि उडान भर्ने क्षमता रहेको यो बाइक मानिसका लागि ‘खतरनाक’ भएको विज्ञहरुले बताइरहेका छन् । ‘स्कर्पियन होभरबाइक’ नामले समेत परिचित यो बाइक दुबई प्रहरी बलले खरिद गरी परीक्षण समेत गरिसकेको छ । उसले परिक्षण उडानका क्रममा देखिएको कमजोरीहरु हटाउन सुझाव पनि कम्पनीलाई दिइसकेको छ। खासगरी ब्याट्री प्रणाली र कार्बन फाइबर फ्रेमका लागि सुझाव दिएको थियो । यो सुझाव अनुरुप होभरबाइकमा एउटा ‘हाइब्रिड लिथियम–म्याग्निज–निकेल’ ब्याट्री जडान गरिएको छ । यो ब्याट्री प्रयोग गरिएको होभरबाइकको उडान क्षमता मौसम र चालकको तौल अनुसार १० देखि २५ मिनेटसम्म रहेको जनाएको छ । रिमोट–कन्ट्रोल ड्रोन मोडमा यो बाइकको उडान समय ४० मिनेटसम्म बढाउन सकिने कम्पनीका इन्जिनियरहरुले जनाएका छन् । सामान्य पार्किङ स्थलहरुमा समेत उडान भर्ने र अवतरण गर्न सक्ने क्षमता यसको रहेको छ । ट्राफिक जाम हुने सहरहरुमा ट्राफिक प्रहरीले सजिलै प्रयोग गर्न सक्छन् । यसले यातायात सेवालाई सडकमा सुचारु गराउनमा पनि ट्राफिक प्रहरीलाई सहयोग गर्नेछ । कम्पनीका अनुसार क्रेताले एउटा होभरबाइक एसथ्री २०१९ का लागि प्रि–अर्डर स्वरुप तत्काल १० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने हुन्छ । एक लाख ५० हजार अमेरिकी डरल मूल्य राखिएको यो होभरबाइकको बुकिङ गरेको दुई देखि ६ महिनाभित्र डेलिभरी गरिने कम्पनीले जनाएको छ । अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रनले हालै एउटा कानुनी अल्ट्रालाईट भेहिकलको रुपमा वर्गीकरण गर्दै यसलाई मान्यता प्रदान गरेको छ । उसले यो बाइक चलाउनेलाई पाइलटको लाइसेन्स नचाहिने पनि भनेको छ । यसको उडान बेग ९६ किमीप्रति घन्टा भन्दा बढी गराउन नपाउने नियम छ । यो हरेक मुलुकका लागि उडानको कानुनी रुपमा वेग सीमा हो । यसमा चार वटा क्वाडकोपर ब्लेड जडान गरिएको छ । कान्तिपुर दैनिकबाट

तुलाधरको योगदान नेपालीले स्मरण गरिरहने छन्ः राष्ट्रपति

काठमाडौं, कार्तिक २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले स्व. तुलाधरकी धर्मपत्नी नीलशोभालाई आइतबार समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं पूर्वमन्त्री तुलाधरको असामयिक निधनले आफूलाई अत्यन्त दुखित तुल्याएको बताएकी छन् । समवेदना सन्देशमा राष्ट्रपतिले भनेकी छन्, ‘सदैव नागरिक स्वतन्त्रता, शान्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने उहाँ एक निर्भीक, लोकप्रिय र जनपक्षीय नेता हुनुहुन्थ्यो ।’ भाषा र संस्कृतिको उत्थान, संरक्षण एवं सम्वद्र्घनमा उनको अगुवार्इ र सक्रियता उल्लेखनीय रहेकाले तुलाधरको योगदान नेपाल र नेपालीले सदा स्मरण गरिरहने राष्ट्रपति भण्डारीले सन्देशमा विश्वास व्यक्त गरेकी छन् । ‘मुलुकलाई अपूरणीय क्षति पुगेको यस दुःखद क्षणमा स्वर्गीय तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु’ समवेदना सन्देशमा भनिएको छ । -रासस

श्रीमती हत्याका फरार अभियुक्त पक्राउ

रुपन्देही, कार्तिक २५ । श्रीमती हत्याका फरार अभियुक्त पक्राउ परेका छन् । रुपन्देही बुटबल उपमहानगरपालिका–७ घर भई पोखरा लेखनाथ महानगरपालिका–७ बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्ती शनिबार पक्राउ परेका छन् । गत कार्तिक २२ गते राती आफ्नै श्रीमती ३४ वर्षीया शर्मिला घर्ती जिसीलाई आफ्नै काठामा हत्या गरी दुर्गाबहादुर फरार रहेका थिए । उनलाई प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका (३ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमा प्रेम बस्यो, २० वर्षे ठिटोसँग भागिन् ५० वर्षीया महिला !

एजेन्सी । भारतमा ५० वर्षीया महिला २० वर्षे युवकसँग फरार भएको खबर बाहिर आएको छ । घटना त्यहाँको को मोदीनगरको हो । भारतीय सञ्चार माध्यमका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको छ ।   नवभारत टाइम्सका अनुसार महिलाका जेठो छोराले उनलाई ६ महिनाअघि मोबाइल दिएका थिए । त्यसपछि महिलाले ह्वाट्सएप र फेसबुक आइडी बनाएर चलाउन थालिन् । स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, ‘तीन महिनाअघि महिलाको फेसबुकमा युवकसँग दोस्ती भएको थियो । एक महिनादेखि दुबैजना फोनमा कुराकानी गरिरहेका थिए ।’   महिलाको फोन हेरेपछि यी दुईको प्रेमप्रसंगबारे खुलासा भएको बताइएको छ । युवक बीबीएका छात्र भएको बताइन्छ । पुलिस गजेन्द्रपाल सिंहले यी दुईको खोजी कार्य जारी भएको भारतीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

बलिउडका कसैलाई पनि निम्तो छैन प्रियंका र निकको विवाहमा !

एजेन्सी । बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको यही डिसेम्बर दुई तारिखमा विवाह हुँदैछ । विवाहमा कोकोलाई निमन्त्रणा होला ? अलि रुचिको विषय हुनसक्छ ।   उनी चलचित्र क्षेत्रकी चर्चित नायिका भएकाले चलचित्र सम्बन्धित व्यक्ति नै विवाहमा बढी होलान् । तर, अचम्म उनको विवाहमा चलचित्र क्षेत्रका कसैलाई पनि उपस्थितको लागि निम्तो दिइएको छैन ।   पिंकभिल्लाको एक रिपोर्ट अनुसार प्रियंका र निकको विवाह निकै नजिकका साथी र आफन्तका बीचमा निकै गोप्य तरिकाले गरिने बताइएको छ । उनीहरुको विवाहमा बलिउडका कसैलाई पनि आमन्त्रण नगरिएको रिपोर्टमा दाबी गरिएको छ ।   प्रियंका र निकको विवाह जोधपुरस्थित उमैद भवन प्यालेस होटलमा हुने बताइएको छ भने विवाह अघि आयोजना गरिने संगीतलगायतका कार्यक्रम नोभेम्बर ३० र डिसेम्बर एक तारिखमा मेहरानगर फर्टमा हुनेछ ।