मेलम्ची ठेकेदारलाई फर्काउन खानेपानी मन्त्री सफल, अब अदालतको खडको मात्र बाँकी

काठमाडौं, पुष ९ । निरन्तर छलफल र कुटनीतिक पहलको लामो प्रयासपछि मेलम्चीका ठेकेदारले काम शुरु गर्ने प्रतिबद्धता जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको इटालियन निर्माण कम्पनी सीएमसीले गत १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो ।

मेलम्चीको कामबाट हात झिक्ने घोषणापछि अन्यौल र अनिश्चिता चुलिएपछि खानेपानी मन्त्रीले विशेष चासो लिँदै सरोकारवाला सबैसँग सघन छलफल शुरु गरेकी थिइन ।

संसदीय समितिदेखि अन्य सरोकारवाला राज्यका निकायले समेत मेलम्चीमाथि ठूलो चासो लिएपछि मन्त्री मगर निकै दबाबमा परेकी थिइन । तर मेलम्चीका ठेकेदार तथा इटाली सरकारसँग कुटनीतिक पहल गर्न सफल भएपछि ठेकेदारले काम नरोक्ने वाचा गरेको मन्त्रालय श्रोतले जनाएको छ ।

पछिल्लो घटनाक्रम अनुसार, मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको छ । ‘उसले काममा फर्किन्छु भनेर पत्र दिएको छ ।”

यद्यपी अझै पनि विश्वास गर्ने आधार भने कमै छन । तर नयाँ प्रक्रियामा जानुभन्दा अहिलेकै ठकेदारबाट बाँकी काम गराउन सहज हुन्छ भनेर मन्त्री लागिरहनु भएको छ । सम्भवतः अहिलेको समस्या हल हुने आशा राखेका छौं ।” मन्त्रालय श्रोतले बतायो ।

देश नै छोडेर हिँडन लागेको ठेकेदारलाई यो अवस्थामा ल्याउन खानेपानी मन्त्रीले इटालीको सरकारसँग समेत पहल गरेकी थिइन । इटालीको भारतस्थित राजदूतावासमा सम्पर्क गरेपछि दूतावासले एकजना उच्च प्रतिनिधिलाई नेपाल पठाएको थियो ।

मन्त्रालय श्रोतका अनुसार, राजदूतावासका प्रतिनिधिको रोहबारमा काम सुचारु गर्ने शर्तमा ठेकेदार कम्पनीका कर्मचारीलाई स्वदेश फर्किन दिने सहमति जुटेको थियो । “यही आशयको पत्र दूतावासले मन्त्रालयलाई समेत दिएको छ । निर्माण कम्पनीले समेत फर्किने भनेर पत्र दिएको छ।” श्रोतले बतायो ।

ठेकेदार कम्पनीले यसअघि पनि काम छोडने धम्की दिँदै आएको थियो । गत वैशाख महिनामा एशियाली विकास बैंक, मेलम्ची खानेपानी आयोजना विकास समिति, खानेपानी मन्त्रालय तथा परामर्श दाता कम्पनी इप्टिसाबीच मेलम्चीको काम समयमा नै सम्पन्न गर्न तालिका निर्माण भएको थियो । शुरुमा ठेकेदारले सोही अनुरुप काम गरेपनि पछि बीचमा आएर काम गर्न नसक्ने भन्दै काम ठप्प पारेको थियो ।

त्यतिखेर डिसिजन बोर्डको निर्णयलाई प्रभावित पार्न ठेकेदारले आनाकानी गरेको थाहा पाएपछि मन्त्री मगरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर कुटनीतिक पहलको आग्रह गरेकी थिइन ।

“मन्त्रीले गम्भीरतापूर्वक चासो लिएपछि त्यतिखेर कम्पनीको हेडक्वार्टरबाट प्रतिनिधि बोलाइएको थियो ।” श्रोतले भन्यो, “उच्चस्तरको छलफलपछि डिसिजन बोर्डको निर्णयबाट प्रभावित नभई काम सम्पन्न गर्न ठेकेदार सहमत भएको थियो । पैसाको कुरा पनि हामी आफै मिलाउँछौ भनेर लिखित प्रतिबद्धता गरेको थियो ।”

त्यसपछि दु्रत गतिमा अघि बढेको काम अहिले एकाएक नगर्ने निर्णय गरेपछि मन्त्रालयमाथि दबाब परेपनि त्यसलाई हल गर्न अथक प्रयास गरिएपछि अहिले यही ठेकेदारबाट काम गर्ने वातावरण बन्न सक्ने अवस्था देखिएको हो ।

अदालतको खडको
ठेकेदारलाई पुनः काम फर्काउन सफल भएपनि धरौटीको रोक्का रकमबारेको विवाद भने कायमै छ । यसबारेमा मन्त्रालयले गम्भीरतापूर्वक सबैपक्षसँग छलफल गरिरहेको जनाएको छ ।

सीएमसीले काम छाडेपछि सरकारले उसको २ अर्ब धरौटी रकम रोक्का गरेपछि अदालत पुगेको ठेकेदार पक्षको निवेदनमा उच्च अदालत पाटनले तत्कालका लागि स्टे अर्डर जारी गरेको छ ।

आगामी बुधबारका दिन यसबारेमा सुनुवाई हुने छ । इटालियन कम्पनी सीएमसीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतको टोली र नेपाल सरकारको तर्फबाट पूर्वन्यायाधीवक्ता रमण श्रेष्ठ, सतिश खरेल लगायतको टोलीले बहस गरिरहेका छन ।

सीएमसीको पछिल्लोपटक थपिएको म्याद यही डिसेम्बर महिनामा सकिने भएकोले यो अवधिमा नै ठेक्का नवीकरण गर्ने या धरौटी रकम रोक्का गर्नुपर्ने अवस्था रहेको र क्रिसमसको विदा पनि यही बेला परेकोले यसबारेमा के कसरी अघि बढने भन्ने विषयमा मन्त्रालयले कानुनी र योजना परामर्शदाताहरुसँग सल्लाह लिइरहेको श्रोतले बतायो । उच्च अदालतको फैसलाले के निर्देशन दिन्छ, त्यही आधारमा अबको कदम अघि बढने पनि श्रोतले बतायो ।

अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैनः न्यायाधीश मल्ल

काठमाडौं, पुष ६ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताएकी छन्। महिला, कानून र विकास मञ्चले आज ललितपुरमा आयोजना गरेको घरेलु तथा यौन हिंसासम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक कार्यक्रममा न्यायाधीश मल्लले कुनै पनि कुराको पूर्णता तथा पर्याप्तता नहुने तर त्यसबाट अवसरको सिर्जना हुने धारणा प्रस्तुत गरिन् । पीडितलाई न्याय तथा क्षतिपूर्तिमूलक न्यायलय रहेको भन्दै न्यायाधीश मल्लले कुनै पनि काम गर्ने तथा निर्देशन दिने प्रणाली सत्य र तथ्य हुनुपर्नेमा जोड दिइन् । उनले महिला, यौनजन्य हिंसा तथा मानव बेचबिखनसम्बन्धी कानूनअनुसार मुद्दा नै दर्ता नभएकाले कानून कार्यान्वयन गर्न कठिनाइ भइरहेको बताइन् । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विश्वभक्त पोखरेलले घरेलु तथा यौन हिंसाविरुद्धको नयाँ कानूनमा क्षतिपूर्ति पाउने हक उल्लेख गरेको जानकारी गराए । उनले पीडकको तर्फबाट क्षतिपूर्ति पाउन नसक्ने अवस्था भए पनि पीडितका लागि पीडित सहायता कोष बनाउने पनि उल्लेख छ तर पीडित कोष बनिनसकेको बताए । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतमले संविधानअनुसार कानून निर्माणको क्रम अझै जारी छ, न्यायको क्षेत्रमा महत्वपूर्ण पक्ष कानूनी सहायतालाई परियोजनाको रूपमा नभई दिगो सेवाका रूपमा विस्तार गर्नुमा जोड दिए । मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले देशका पाँच जिल्लामा उक्त अध्ययन गरिएको जानकारी गराए । उनले अध्यन नगरिएका जिल्लामा नवलपरासी, ललितपुर, बाँके, मकवानपुर, मोरङ रहेको बताए । रासस

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, यस्तो छ प्रगति विवरण !

काठमाडौ‌ पुस १ । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समतिको ४३२ औं बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । हाल ८ अर्ब ४ करोड ६९ लाख ०५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पाँच प्रतिशत (४० करोड २३ लाख ४५ हजार २५०) बोनस पश्चात ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। गत आर्थिक वर्षमा बैंकले एक अर्ब ३४ करोड ५ लाख ६५ हजार रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको थियो भने बैंकको खुद नाफा भने एक अर्ब ८७ करोड ६५ लाख ०७ हजार रूपैयाँ रहेको थियो । अघिल्लो वर्ष बैंकले १५.४२ प्रतिशत बोनस तथा ०.८१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले थोरै लाभांश घटाएको हो । यस्ताे छ प्रथम त्रैमास  एसबिआई बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानीका सूचकहरुमा सुधार भएको छ। बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११.६० प्रतिशतले बढेर ४८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । फ्रि प्रोफिट २७ करोड ९७ लाख रुपैयाँ मात्र चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा २० करोड ५५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय बैंकले २७ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १३.९७ प्रतिशतले घटेको हो। गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ३२ करोड ५१ लाख रुपैयाँ थियो । एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । नेपाल एसबिआई बैंकको खुद नाफा ४८ करोड ९७ लाख, अन्यमा यस्तो छ प्रगति नेपाल एसबिआई बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानीका सूचकहरुमा सुधार भएको छ। बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११.६० प्रतिशतले बढेर ४८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । फ्रि प्रोफिट २७ करोड ९७ लाख रुपैयाँ मात्र चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा २० करोड ५५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय बैंकले २७ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १३.९७ प्रतिशतले घटेको हो । गतवर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ३२ करोड ५१ लाख रुपैयाँ थियो । एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड यस अवधिमा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड दिएको देखिन्छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले निक्षेप संकलन बढाएको हो भने २४ प्रतिशत धेरैले कर्जा परिचालन गरेको छ । चालू आवको पहिलो त्रैमासमा ९४ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८४ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । खुद ब्याज आम्दानी एक अर्ब ६ करोड यस अवधिमा एसबिआई बैंकले एक अर्ब ६ करोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा १७.५३ प्रतिशत धेरै हो । गत अवको प्रथम त्रैमासमा बैंकले ९० करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । प्रतिशेयर आम्दानीमा सामान्य संकुचन नेपाल एसबिआई बैंकको पूँजी वृद्धिको अनुपातमा आम्दानी वृद्धिको अनुपात बढ्न नसक्दा बैंकको प्रतिशेयर आम्दानी केही घटेको छ । समिक्षा अवधिमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३५ पैसा कायम छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १८ पैसा थियो । खराब कर्जा बढ्यो व्यवसायको आकारमा बढोत्तरी भएसँगै बैंकको खराब कर्जा अनुपातमा केही बढोत्तरी भएको छ । गत आवको प्रथम त्रैमासमा बैंकको खराब कर्जा ०.१३ प्रतिशतबाट ०.२० प्रतिशतमा बढेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३८ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.२१ गुणा बढी छ । पूँजीसँगै जगेडा कोष पनि सुधारियो चुक्ता पूँजी ८ अर्ब ४ करोड ६९ लाख रुपैयाँ भएको बैंकको जगेडा कोषमा ५ अर्ब २६ करोड ८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले १५.४२ प्रतिशतले चुक्ता पूँजी बढाउँदा जगेडा कोषमा २०.९३ प्रतिशतले सुधार गरेको हो । मेरोलगानीबाट

निर्मला पन्तलाई न्याय माग्दै मेलिनाले सार्वजनिक गरिन भिडियो 

गितकार प्रलाद शाहको शब्द रहेको मेरी आमा बोलको गितको भिडियो सार्बजनिक गरिएको छ । मेलीना राईको आवाज रहेको गितमा संगीत नबिन कार्कीको रहेको छ । पछिल्लो समयमा नेपालमा बतात्कार पछि हत्याका घटना सार्बजनिक भइरहेको अबस्थामा निर्देशक बिकाश सुबेदीले यसै बिषयमा भिडियोलाई केन्द्रित गरेका छन् । रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । भिडियोले निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरेको छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडीयो मनोरन्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनता संग प्रत्यक्ष जोडिने बिषय भएकाले गहन बिषयमा भिडियो तयार गरेको निर्देशक सुबेदीले बताए ।

दीपक मनाङ्गेको मुद्दा फेरि सुनुवाइ हुने

काठमाडौं, मंसिर २८ । सर्वोच्च अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका राजीव गुरुङ भनिने दीपक मनाङ्गेको मुद्दा पुनः सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज मनाङ्गेका तर्फबाट दायर गरिएको पुनरावलोकन निवेदन सर्वोच्च प्रशासनले गरेको दरपीठ बदर गरेपछि पुनः सुनुवाई हुने भएको हो । तत्कालीन पुनरावेदन अदाललत पाटनले गरेको फैसलामा सर्वोच्च अदालतमा पुनरावलोकन गर्न पाउने अधिकार हुँदाहुँदै नपाएको उल्लेख गर्दै मनाङ्गेका तर्फबाट इन्दिरा गुरुङले पुनरावलोकन निवेदन दर्ता गराएकी थिइन् । विसं २०६१ मा महाराजगञ्जस्थित चुफाङ रेष्टुराँमा मिनल गुरुङ (चक्रे मिलन) को दायाँ हात पूरै काटेपछि मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दामा तत्कालीन पुनरावेलन अदालत पाटनले पाँचवर्ष जेल सजाय सुनाएको थियो । मनाङ्गे अहिले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलापछि कैद सजाय भुक्तान गर्दै जेलमा छन् । त्यसैसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनः सुनुवाई हुने भएको छ । रासस

स्थानीय खाद्य पदार्थ अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउछौंः राज्यमन्त्री चौधरी

काठमाडौ, मंसिर २८। कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री राम कुमारी चौधरीले परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थ अन्तर्राष्ट्रिय बजारीकरणको लागि भरपुर पहल गर्ने बताएकी छन्। शुक्रबार नेपालगन्जको राम लिला मैदानमा खाद्य मेला उदघाटन गर्दै मन्त्री चौधरीले भनिन्, ‘हाम्रो परम्परागत खाद्य पदार्थहरु बजारीकरणको अभावले लोपहुँदै गैइरहेका छन् । यसकारण, आवश्यक प्रचार प्रसारको लागि कृषि मन्त्रालय खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभागले मेलाको आयोजना गरेको हो । सामाजिक, परमपरागत र स्थानीय खानेकुराहरु स्वच्छ र पोषिलासमेत हुने गरेका छन्, यसमा हामीले जोड दिनुपर्छ ।’ बिदेशी खाद्य पदार्थको अनावश्यक प्रचारबाजीले उपभोक्ता भुलभुलयामा परी मिसावट र अस्वच्छ खाद्य पदार्थ उपभोग गर्न बाध्य भएको बताउदै स्वच्छ खाद्यपदार्थका लागि यस्ता मेला हर्यक जिल्लामा आयोजना गर्नुपर्ने र सबैलाई यसबारे जानकारी दिनुपर्ने मन्त्री चौधरीको भनाइ छ। मन्त्री चौधरीले मेलामा विभिन्न जिल्लाहरु बाट आएका स्थानिय उपजहरुको स्टलहलेको अवलोकन समेत गरेकी थिइन् । कार्यक्रममा कृषि मन्त्रालयका सचिव युबक ध्वज जिसी र खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक सनजिव कर्णको विशेष उपस्तिथि रहेको थियो । गुण नियन्त्रण कार्यलय नेपालगन्ज र सह-आयोजक बाके चेम्बर अफ कमर्सियलको आयोजनामा सुरु गरिएको मेला मंसिर २८,२९ र पौष १ गते सम्म लाग्ने कार्यलय प्रमुख जोसना श्रेष्ठले बताएका छन ।

सप्तरीमा आगलागीबाट १३ घर जले, ४० लाखको क्षति

सप्तरी, मंसिर २८ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक एक बाछी र बोका, रु एक लाख, भाँडाबर्तन, चामललगायत जलेर नष्ट हुँदा करीब रु ४० लाख मूल्य बराबरको क्षति भएको बताए । बिन्देश्वर साफीको घरबाट सल्केको आगोले उहाँसहित आनन्द साफी, मन्नु साफी, प्रयाग साफी, प्रसाद साफीलगायतको घर जलेको स्थानीयवासीले जानकारी दिएका छन् । राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ । रासस

अब भीमदत्त र परशुरामले सहकार्य गर्ने, यस्तो भयो समझदारी

कञ्चनपुर, मंसिर २८ । कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पर्यटन प्रवद्र्धन, अनुभवन आदानप्रदान , विकास निर्माण कार्यमा सहकार्यका लागि दुबै नगरपालिकाले सहकार्यका लागि सम्झौता गरेका हुन् । भीमदत्त नगरपालिका कार्यालयमा शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुबै नगरपालिकाका प्रमुखले समझदार पत्रमा हस्ताक्षर गरी समझदारी पत्र एक आपशमा आदानप्रदान गरेका छन् । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरप्रसाद शर्मा र परशुराम नगरपालिकाका सूचना प्रविधि अधिकृत हरिश ठगुन्ना रोहवरमा गरिएको समझदारी पत्र ९ खण्डमा विभाजन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, विकास निर्माणमा सहकार्य र आपशी अनुभव आदानप्रदानका लागि परशुराम नगरपालिकासित सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए । ‘दुबै नगरपालिका प्राकृतिक रुपमा स्रोत साधन सम्पन्न छन्, मुलुक, नगर, गाउँ समृद्धिका लागि स्रोत साधनको परिचालन आवश्यक छ’ हस्ताक्षर कार्यक्रममा नगर प्रमुख विष्टले भने, ‘जनताको अपेक्षा अनुसार विकास निर्माणका कार्य अपघ बढाई रहेका छौ, समृद्धिका विभिन्न आधार पहिचान गरी अघि बढेका छौ, आपशी सहकार्य र समन्वयमा पर्यटन प्रवद्र्धन पूर्वाधार विकास लगायतका कार्य गर्न समझदारी गर्न समझदारी गरिएको छ ।’ विकासका लागि सहकार्य आवश्यक भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले परशराम नगरपालिकाका नगर प्रमुख साउँदले सहकार्यको प्रस्ताव सहर्ष स्वीकार गरेकोमा धन्यवाद दिए । ्‘अब समझदारी अनुसार हस्ताक्षर गरिएका प्रतिवद्धता पूरा गर्न लाग्छौ’ नगर प्रमुख विष्टले भने, ‘धार्मिक, साँस्कृतिक, ऐतिहासिक परशुराम क्षेत्रका भ्रमण, अवलोकन, प्रचारप्रसार र पूर्वाधार विकासका लागि तयारी गरेर जानु पर्छ ।’ महाकाली नदीको बहु उपयोगका लागिका लागि दुबै नगरपालिकाले सहकार्य गरी अघि बढ्ने उल्लेख गर्दै उनले महाकाली नदीमा साहसिक जलयात्रा (र्याप्टीङ) सञ्चालनका लागि छलफल अघि बढेको बताए । चुरे क्षेत्रमा पर्ने बड्डी मलास क्षेत्रलाई अध्ययन केन्द्र बनाउन सकिने नगर प्रमुख विष्टले बताए । ‘बड्डी मलास क्षेत्र अध्ययन केन्द्र हुन सक्छ, त्यहाँसम्म बाटो पुगाउन आवश्यक छ’ नगर प्रमुख विष्टले भने, ‘झिलमिला ताल, दरबारका भग्नावशेष संरक्षण लगायतका कार्य गरिनु पर्छ, त्यसका लागि पनि सहकार्य गरेर जान्छौ ।’ सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्य गरिने नगर प्रमुसख विष्टले बताए । भीमदत्तले नगरसित सीमा जोडिएका वा नजोडिएका स्थानीय तहसित सहकार्यका लागि समझदारी गरी जाने नगर प्रमुख विष्टले बताए । परशुराम नगरपालिकाका नगर प्रमुख साउँदले सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षरपछि पर्यटन, पूर्वाधार, विकास निर्माण, वन पैदावार, जैविक विविधता संरक्षण, चोरी शिकारी नियन्त्रण लगायतका कार्यमा सहकार्य गरिने बताए ।

एनआरएनले आधुनिक कृषि बजार बनाउने, कृषि मन्त्री खनालसँग भयो यस्तो छलफल

काठमाडौं ,  मंसिर २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो । एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन सेन्टर निर्माण गर्ने जनाएको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो । एनआरएन कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङले एकदेखि डेढ अर्व रुपैयाँ लगानी गर्ने गरी ७ जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिए । कलेक्सन सेन्टरका लागि काठमाडौं बाहिर प्रदेश १ को सरकारसँग छलफल गर्ने उनले बताए । नाफामूलकभन्दा पनि सामाजिक उत्तरदायित्वका लागि गर्न लागिएको उक्त कामले किसानलाई ठूलो राहात मिल्ने र तरकारी, फलफूल र मासुजन्य पदार्थको आयात न्यून गर्दै आत्म निर्भरताका लागि सहयोग पुग्ने एनआरएन उपाध्यक्ष आचार्यको भनाई छ । एनआरएनले निर्माण गर्ने उक्त बजार सरकारको स्वामित्वमा रहनेछन् । जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने जानकारी दिन । एनआरएनलाई सहज हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाई छ । काठमाडौंमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीहरुले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले जानकारी दिए । कृषि मन्त्रालयले पनि काठमाडौं छिर्ने ५ वटा नाकामा कृषि बजार निर्माण गर्ने योजना बनाएको छ । त्यसका लागि ५ करोड रुपैयाँ छुट्टाइएको छ भने किसानलाई ५० प्रतिशत अनुदान हुनेछ । काठमाडौंमा उपयुक्त जग्गा प्राप्त भएमा कालिमाटीको फलफूल तथा तरकारी बजारलाई त्यहाँबाट विस्थापित गर्ने मन्त्री खनालको योजना छ । काठमाडौंको मलपोखरीमा खानेपानी मन्त्रालयको स्वामित्वमा रहेको ६ सय रोपनीको जग्गा उपयुक्त भएको भन्दै मन्त्रालयसँग छलफल चलिरहेको खनालले जानकारी दिए । त्यहाँको २ सय रोपनी जग्गा उपलब्ध भएमा तत्कालका लागि कालिमाटीको बजारलाई मलपोखरीमा सारेर कालिमाटीलाई कोल्ड स्टोर, पर्याप्त पार्किङ सहितको पाँच तले आधुनिक बजार बनाउने कृषि मन्त्री खनालको योजना छ । त्यसो गर्न अहिलेका कालिमाटीका तरकारी व्यवशायी अग्रिम रकम भुक्तान गर्न पनि तयार भएका छन् ।

एभरेष्ट प्रिमियर लिगः पोखरा र काठमाडौं भिड्दै [LIVE]

काठमाडौं, मंसिर २८ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं किंग्स(११ र पोखरा राइनोज भिडिरहेका छन् । टस जितेर काठमाडौंले फिल्डिङ रोजेको छ । काठमाडौंको कप्तान आज रोहन मुस्ताफले गरिरहेका छन् । नियमित कप्तान सोमपाल कामी घाइते भएपछि रोहतले कप्तानी सम्हालेका हुन् । अघिल्लो खेलमा काठमाडौंको कप्तानी केभिन ओब्राइनले गरेका थिए । मुस्ताफाको प्रतियोगितामा यो पहिलो खेल हो । काठमाडौंले २ मध्येको १ खेल जितेको छ । अघिल्लो खेलमा काठमाडौंलाई ललितपुर प्याट्रियटसले १० विकेटले पराजित गरेको थियो । पोखरा प्रतियोगितामा पहिलो विजय हात पार्ने आशामा छ । पोखराले पहिलो तीन खेल नै हारिसकेको छ । काठमाडौंसँग पराजित भए प्रतियोगिताबाट बाहिरिने छ ।

सुदूरपश्चिममा हिमपातका कारण जनजीवन प्रभावित

बैतडी, मङ्सिर २८ । मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात पनि भएको छ । दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउँमा समेत हिमपात भएको स्थानीय प्रेम चुनाराले जानकारी दिए । उनले भने, “दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।” डडेल्धुराको भीमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिए । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरू खुशी भएका छन् । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । बुधबारदेखि एक्कासी मौसम बदली भई पानी परेपछि विहीबार हिमपात भई यहाँका साधारण तथा स्थानीयवासी चिसोले प्रभावित बनेका हुन् । लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली बिग्रने चिन्तामा रहेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पुर्याएको छ । लामो समयको खडेरीपछि पानी परेकाले बाली सप्रिने दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । रासस

इपीएलः पोखरा र ललितपुर भिड्दै, हेर्नुस् लाइभ

काठमाडौं, मंसिर २४ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियिर लिग (इपीएल) अन्तर्गत आज दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच भिडन्त भइरहेको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले शानदार शुरुवात गरेको छ । अंक तालिकामा पोखरा पाँचौ स्थानमा र ललितपुर तेस्रो स्थानमा रहेको छ । ललितपुरले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । यस्तै, पोखारले भने पहिलो खेलमा हार बेहोरेको थियो ।

रक्सी खुवाएर १७ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

बागलुङ, मंसिर २४ । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला बागलुङमा १७ वर्षीया किरोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वषीएया किशोरीमाथि तीन जनाको समूहले बलात्कार गरेको घटना सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा तीन जना युवाले किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रधानमन्त्री भन्छन्, ‘हाम्रा लागि संघीयता नयाँ खेल हो, यसमा हामी च्याम्पियन सावित हुनेछौं’

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै उनले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकाले आफ्ना अनुभवबाट सिक्दै यसलाई बलियो बनाउने पहल गर्न सबै समक्ष आग्रह गरे । उनले संघीयता नेपालका लागि नयाँ विषय भएकाले यसलाई संरचनागतरुपमा बलियो बनाउन आफैँ लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता विषय केही समयअघिसम्म हाम्रो सोचमा थिएनन् । अहिले तिनलाई व्यावहारिकरुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौँला । खेलमा पस्नेबित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीययता त्यस्तै नयाँ खेल हो । यसमा हामी च्याम्पियन सावित हुनेछौँ ।’ सङ्घीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्नेमा चर्चा गर्दै उनले भने, “हामी गलत बाटोमा गएका छैनौँ । संघीयता कार्यान्वयनमा गति बढाउन बाँकी छ ।” आजको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्ना धारणा राखेका थिए । बाँकी तीन वटा प्रदेशका मुख्यमन्त्रीले सोमबारको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठकमा सङ्घीयता कार्यान्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामका विषयमा प्रधानमन्त्री कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, कानून न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवले जानकारी गराएका थिए । बैठक सोमबार १० बजे सिंहदरबारमा पुनःबस्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको हो । संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न परिषद्को बैठक माग गरिएको थियो । नेपालको संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषद्को व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्री तथा सचिव पनि आमन्त्रित हुन्छन् । रासस

निर्मला पन्तको हत्या घटनामा विशेषज्ञ अनुसन्धान टोली गठन गर्न गृहको तयारी

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । समाचारमा अगाडि उल्लेख छः प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो। मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र डा. इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको ‘तत्काल अनुसन्धानमा खटिएका प्रहरीमाथिको छानबिन तथा अनुसन्धान टोली’ ले अहिलेसम्म ठोस प्रतिवेदन दिएको छैन। देशव्यापी चासोको विषय बनेको निर्मला हत्या घटनाले यसले प्रहरीको विश्वसनीयतामा प्रश्न खडा गरेको र गृह मन्त्रालय तथा सरकारलाई नै दबाब महसुस भएकाले प्रहरीकै विशेषज्ञ टोली बनाएर अनुसन्धान गर्नुपर्ने मन्त्रालयको ठहर छ। गृहमन्त्री थापाले यो विषयमा सबै संयन्त्र परिचालन गरी हत्यारा पत्ता लगाउन विशेषज्ञ टोली बनाउने प्रस्ताव गरेका थिए। बैठक स्रोतका अनुसार मन्त्रीले नै सो प्रस्ताव गरेपछि त्यस विषयमा गृहसचिव राई तथा मन्त्रालयका प्रवक्ता सुवेदीले कसरी जान सकिन्छ भनेर आइजी खनाललाई प्रश्न गरेका थिए। तीन घण्टाभन्दा बढी चलेको सो छलफलमा प्रहरी महानिरीक्षक खनालले तत्काल सिआइबीबाटै अनुसन्धान भइरहेकाले यसलाई प्रभावकारी बनाइने बताए पनि बैठकमा सहभागीले मन्त्रीको प्रस्तावलाई नै जोड दिएको स्रोतले जनाएको छ। गृहमन्त्री थापाको प्रस्तावमा लामै छलफल भए पनि विशेषज्ञ टोली भने बनाइएको छैन। प्रहरी महानिरीक्षकले सो विषयमा प्रहरीकै अपराध अनुसन्धान विभागसँग समन्वय गरी गृह मन्त्रालयसँग छलफलमा बस्ने बताएपछि बैठक टुंगिएको मन्त्रालय स्रोतले जनाएको छ। देशव्यापी रुपमा सरकारको आलोचना भएको र प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठेको बेला अनुसन्धानको दायरा फराकिलो पार्ने उद्देश्यले गृह मन्त्रालयबाट यस्तो प्रस्ताव आएको स्रोतले बतायो। निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा देशव्यापी भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकृष्ट भएकाले निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा विशषेज्ञ टोली बनाउने जमर्को भएको हो। ‘अपराधको अनुसन्धान गर्ने प्रहरी नै भएकाले अहिले खटिएका भन्दा अब्बल प्रहरी खटाउन सकिन्छ कि भनेर छलफल थालिएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘यो विषयमा तीन चार दिन यता मन्त्रालयमा छलफल भइरहेको छ, छलफलमा मन्त्रीज्यू आफैं सहभागी हुनहुन्छ।’ यसअघि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनाएको छानबिन समितिले प्रहरीको लापरबाहीका कारण हत्यारा उम्किएको जनाउँदै दोषी प्रहरीमाथि प्रहरी नियमावलीअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी दिल्लीराज बिष्ट र इलाका प्रहरी कार्यालयका प्रमुख जगदीश भट्टलाई बर्खास्त गरिएको छ। अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकीन्द्र खड्का, सई हरिशरण धामी, असई रामसिंह धामी र चाँदनी सावदलाई निलम्बनमा राखिएको छ। प्रहरीले त्यसयता अनुसन्धानको क्रममा एसपी बिष्टसहित नौजनाको डिएनए परीक्षण गरिसकेको छ भने अनुसन्धानका लागि सिआइबीले कञ्चनपुरबाट केही दिनअघि सातजनालाई काठमाडौं ल्याएको थियो। अनुसन्धानपछि ६ जना फिर्ता भइसकेका छन भने एकजनालाई सिआइबीले थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। निर्मलाको भेजिनल स्वाब सुरक्षित भेटिएपछि प्रहरीले अनुसन्धानको दायरा डिएनए परीक्षणसम्म पु-याएको छ। हालसम्म डिएनए परीक्षण गरिएको व्यक्तिको रिपोर्ट भने नकारात्मक छ। मन्त्रालयका सहसचिव मैनाली संयोजकत्वमा बनेको समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको आंशका गरेको थियो। प्रहरी प्रधान कार्यालयले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनाक्रम १० साउन : निर्मलाको हत्या ११ साउन : शव भेटिएपछि कञ्चनपुर प्रहरीबाट अनुसन्धान सुरु १२ साउन : सिआइबीबाट डिएसपी अंगुर जिसी खेतृत्वमा खटिएको तीन सदस्यीय टोली कञ्चनपुरमा ४ भदौ : कञ्चनपुर प्रहरीले स्थानीय दिलीप बिष्टलाई दोषी भन्दै सार्वजनिक ७ भदौ : गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा सातसदस्यीय छानबिन समिति गठन ८ भदौ : सिआइबीका एसपी ठाकुर ज्ञवाली कञ्चनपुरमा ८ भदौ : आन्दोलनका क्रममा प्रहरी गोली लागेर सन्नी खुनाको मृत्यु २८ भदौ : एआइजी धिरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय छानबिन तथा अनुसन्धान टोली गठन

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

म्याग्दी, मङ्सिर ४ । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७ः३० देखि ११ः३० बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिने छ । बेनीबाट मुस्ताङ जाने यात्रुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउने यात्रुले गलेश्वर पार गरिसक्नुपर्ने छ । साँझ साढे छ बजेदेखि निर्माण रोकिने र सडक खुला रहने छ । बेनी–जोमसोम सडक स्तरोन्न्तिका लागि चार प्याकेजमा काम भइरहेको छ । “स्तारोन्नतिको काम र यात्रुको आवतजावतलाई सहज बनाउनका लागि समय तालीका बनाइएको हो,” आयोजना प्रमुख नरेन्द्र सुवेदीले भने । लेते–जोमसोम खण्डमा वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना छैन । जोमसोम–कोरला ११० किलोमिटर लामो सडक स्तरोन्नतिको काम ७० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका इञ्जिनियर जगत प्रजापतिले बताए । दुई वडाको सीमा विवाद समाधान म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधानका लागि नक्सा संशोधन गर्न सिफारिश गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमाक्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद भएको थियो । विवाद समाधान गर्न गाउँसभाले नक्सा संशोधन गर्ने निर्णय गरेको छ । विसं २०४६ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रूटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर विवाद हुँदै आएको छ । सीमा क्षेत्रमा पर्ने बसाधारा, टोड्के, ओरालो खर्क, एकराते, मेलखर्क, चुरुङको वन र चरनलाई दुवै वडाका बासिन्दाले आफ्नो भूगोलमा पर्ने दाबी गर्दै आएका छन् । विवादित सीमाक्षेत्रको वन उपभोगका लागि दुवै वडाका उपभोक्तालाई समेटेर नयाँ साझा उपभोक्ता समूह गठन गर्ने र हालको नक्सा संशोधन गरी चलनचल्तीमा रहेअनुसार सिमाना कायम गर्न प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिश गरिएको भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । अँधेरीखोल्सा, झगटेभीर, रातोपहरा, देउराली, भसाडाँडा, नाङ्गीडाँडा, घाँटीखर्क, सुर्केमेला, सन्धिखर्क, शिरखर्क र पानीडाक्ने डाँडा हुने गरी नयाँ सिमाना कायम गर्न सिफारिश गरिएको छ । रासस