तीन दिनसम्म वर्षा हुने

काठमाडौं, चैत ४ । देशका पहाडी भूभागमा सोमबारदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित हल्का पानी पर्ने संभावना रहेको जल तथा मौसम नुमान शाखाले जनाएको छ ।

सोमबार, मंगलबार र बुधबारसम्म देशका पुर्वी भू–भाग र पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । सोमबार देशको पूर्वी भागमा हल्का बर्षा हुने, मंगलबार पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको उनको भनाई छ ।

यद्यपी आज काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको उनले बताइन् । उनले भनिन– ‘छाता बोक्यो भने घाम पानी दुबैलाई काम लाग्छ, ठूलो पानी पर्ने अवस्था नभएपनि छिटपुट बर्षा हुने संभावना छ ।’ आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

यस्तै मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ । बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

इथियोपिया विमान दुर्घटनाः ज्यान गुमाउनेको अवशेष चिन्न ६ महिनासम्म लाग्ने

चैत ३ । इथियोपियन एअरलाइन्सले गतहप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कार उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट संकलित डढेको माटो दिन लागेको विवरण प्राप्त भएको छ । समाचार संस्था रोएटर्सका अनुसार आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको हो । शारीरिक अवशेषको परीक्षण गरेर दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न छ महिनासम्म लाग्ने उनीहरूका परिवारलाई बताइएको छ। मार्च १० मा दुर्घटनामा परेपछि बोइङ कम्पनीले निर्माण गरेको ७३७ म्याक्स ८ र ९ मोडलका विमानहरूलाई संसारभरि सबै वायुसेवाले उडानबाट हटाएका छन् । दुर्घटनामा परेर संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रममा कार्यरत नेपालकी एकता अधिकारीको पनि मृत्यु भएको थियो। कारण पत्ता लगाउन समय लाग्ने इथियोपियाका यातायातमन्त्रीले सो विमान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूलाई धेरै समय लाग्न सक्ने बताएका छन् । विमान दुर्घटना शनिवार आयोजित पत्रकार सम्मेलनमा ड्यागमाविट मोगेसले भने, ूत्यो स्तरको अनुसन्धानका लागि सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ र केही ठोस ृनिष्कर्षे निकाल्न धेरै समय लाग्छ।ू ज्यान गुमाउने व्यक्तिको पहिचान गर्न सजिलो होस् भनेर आफन्तहरूसँग डीएनएको नमुना मागिएको छ। उनीहरूले नमुना इथियोपियन एअरलाइन्सको आदिस अबाबा वा अन्य देशमा रहेका कार्यालयमा बुझाउन सक्छन् । मृत्युको प्रमाणपत्र भने दुई हप्ताभित्र उपलब्ध गराउने अपेक्षा गरिएको छ। एक किलो माटो समाचार संस्था एपीका अनुसार आइतवार इथियोपियाको राजधानीमा आयोजना हुन लागेको विशेष श्रद्धाञ्जलिसभाका लागि शोकसन्तप्त परिवारलाई एक(‍‍एक किलो डढेको माटो भएको झोला दिन लागिएको छ। ‘शरीर चिन्न र अवशेष परिवारलाई बुझाउन असम्भवजस्तै भएकाले माटो दिइएको हो’, एक आफन्तलाई उद्धृत गरिएको समाचारमा भनिएको छ, ‘हामीलाई आफ्ना प्रियजनको शव वा अंग नदिइएसम्म हामी आराम गर्दैनौं ।’ दुर्घटनामा विभिन्न ३५ देशका नागरिक परेका थिए । विमान इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबीका लागि उडेको थियो। तर केही मिनेटभित्रै दुर्घटनामा पर्‍यो । दुर्घटनाबारे अनुसन्धान गर्न अमेरिका, फ्रान्स र अन्य देशका विशेषज्ञहरूले इथियोपियालाई सघाउँदै छन् । विमानको फ्लाइट डेटा रेकर्डर र ब्ल्याक बक्स अर्थात् ककपिट भ्वाइस रेकर्डर फेला परिसकेका छन्। बीबीसीबाट

माछापोखरी सुक्न थालेपछि कृषक चिन्तित

इनरुवा, चैत ३ । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भएपनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताए । मेहताको पाँच पोखरी रहेकामा सबै सुकेका छन् । यसबाट रु चार लाख बराबरको घाटा भएको उनले बताए । त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताए । मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै रु ३० देखि ४० लाखसम्मको घाटा भएको छ । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह पनि घटेका कारणले माछा पोखरी सुकेको उनले बताए । रासस

श्रीलंका विरुद्धको ‘वान डे सिरिज’ दक्षिण अफ्रिकाले जित्यो

काठमाडौं, चैत ३ । श्रीलंकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले ५–० ले जितेको छ । शनिबार राती भएको अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४१ रनले विजयी भएसँगै श्रीलंका विरुद्धको सिरिज अफ्रिकाले जितेको हो । श्रीलंकाले दिएको २२६ रनको लक्ष्य पक्ष्याउने क्रममा १३५ रन बनाउन २ विकेट गुमाउँदा खराब फ्लडलाइटका कारण खेल रोकिन पुगेको थियो । अफ्रिकाको जितका लागि एडेन मार्करामले नटआउट ६७, रस्सी भान डर डुसेनले अविजीत २८, फाफ डुप्लेसीले २४ र क्विन्टन डी ककले ६ रन बनाए । बलिङंमा श्रीलंकाका लाथिस मलिङ्गा र थिसेरा परेराले एकएक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २२५ रन बनायो । उसका लागि कुसल मेन्डीसले ५६, प्रिमिअल पेरिराले ३३, एन्जेलो पेरेराले ३१, इसुरु उडानाले ३२, ओसाडा फर्नाडोले २२ र धनन्जय डी सिल्भाले १२ रन बनाए । बलिङमा अफ्रिकाका कागिसो रबाडाले ३, इमरान ताहिर, एनरोच नोर्टजले २–२, लुंगी एन्गीडी र फेलकवायोले १–१ विकेट लिए ।

अमेरिका विरुद्धको टी–२० सिरिज यूएईले जित्यो

काठमाडौं, चैत २ । अमेरिका विरुद्धको टी-२० सिरिज यूएईले जितेको छ । अन्तिम खेलमा अमेरिकालाई २४ ले हराउँदै यूएईले २ खेलको सिरिज जितेको हो । यूएईले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो । उसका लागि स्टेभिन टेलरले ४९, जेभियर मार्शलले ३१, जोसरन मल्होत्राले २१, एलमोर हचिन्सनले १६ रन बनाए । बलिगंमा यूएईका सुल्तान अहमदले ३, जाहूर खानले २ र रोहन मुस्तफाले १ विकेट लिए । यसअघि, टस जितेर ब्याटिगं रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । उसका लागि साइमन अनवारले ६२, रोहन मुस्तफाले ४५, मोबम्मद बुटाले १७, सीपी रिजवानले १२ र अहमद राजाले नटआउट १३ रन बनाए । बलिङमा अमेरिकाका टिमिल पटेल, हेडन वेल्डसौरभ नेटवर्वालले दुईदुई र जसदीप सिंहले एक विकेट लिए । यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

न्यूजिल्याण्डको गोलीकाण्डमा मारिएकाप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं, चैत २ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँकी प्रधानमन्त्री जसिन्दा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री अर्डेनलाई आज एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा त्यस्ता अमानवीय र पाशविक कृत्यलाई न्यायसङ्गत मान्न नसकिने बताएका छन् । उनले आतङ्कवादका जस्तोसुकै रुप र प्रकटीकरणको साहसपूर्वक सामना गर्नुपर्नेमा जोड दिएका छन् । न्यूजिल्याण्ड सरकार, त्यहाँका जनता तथा आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनमा प्रधानमन्त्री ओलीले गहिरो दुःखका साथ हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

शहीद गंगालाल श्रेष्ठको जन्मशताब्दी भोलि, प्रचण्डले संवोधन गर्ने

काठमाडौं, चैत २ । शहीद गङ्गालाल श्रेष्ठ जन्मेको एकसय वर्ष पूरा भएको अवसरमा अवसरमा आइतबार काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड, नेकपाका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधव नेपाल र कांग्रेस सभापति शेर बहादुर देउवाले संवोधन गर्ने छन् । मध्यान्ह १ बजे बसन्तपुरमा जन्म शताब्दी सभा हुनुअघि रामेछाप–काठमाडौं सम्पर्क मञ्च र संघीय जनसम्पर्क मञ्च रामेछापले विशेष झाँकी सहित र्याली निकाल्ने आयोजकमध्येका ईलक सिंह तामाङले जानकारी दिए । उनका अनुसार सभा हुनुअघि गंगालाल श्रेष्ठको प्रतिमा भएको स्थान शोभा भगवतीमा माल्यार्पण गरिने छ । वि.सं. १९७५ सालमा रामेछापको भँगेरीमा जन्मेका शहिद गङ्गालाल श्रेष्ठलाई राणा शासन बिरोधी गतिविधी गरेको भन्दै १९९७ साल माघ १५ गते सेन्ट्रल जेलबाट घरछेउको बाटोहुँदै विष्णुमती किनारमा रहेको शोभा भगवतीमा गोली हानेर मृत्युदण्ड दिईएको थियो । नेपालको राजनीतिक परिवर्तनको आन्दोनमा एक धरोहर गङ्गालालको जन्म शताब्दी मनाउनका लागी ‘शहीद गंगालाल श्रेष्ठ जन्मशताब्दी आयोजना समिति’ बनेको छ ।

अष्ट्रेलियाविरुद्ध विराट कोहलीको लगातार शतक

काठमाडौं, फागुन २४ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि भारतीय कप्तान विराट कोहलीले शतक प्रहार गरेका छन् । आज उनले १४ चौकाको मद्दतमा ८५ बलमा शतक प्रहार गरेका हुन् । विराटले आज संकटबाबीच शतक पूरा गरे । सस्तैमा ४ विकेट गुमाएको भारतका लागि विराट र केदार जाधवले इनिङ उकासे । तथापि, भारतले पाँचौ विकेटका रुपमा केदारलाई २६ रनमा गुमाएको छ । यो समाचार तयार पार्दासम्म क्रिजमा विराट र विजय शंकर छन् । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनायो । उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए । बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

भारतको खराब शुरुवात, शिखर १ रनमै आउट !

काठमाडौं, फागुन २४ । एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा शिखर धवन (१) लाई गुमाएको हो । उनलाई ३.३ ओभरमा अष्ट्रेलियाका जय रिचडसनले ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट भए । टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३१३ रन बनायो । उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए । बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

सिके राउतसँग सरकारले गरेको सहमतिको कांग्रेसद्वारा स्वागत

काठमाडौं, फागुन २४ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले गरेको सहमतिको नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सिके राउतको रुपान्तरण र सम्झौता स्वागतयोग्य भएको बताएका छन् । प्रवक्ता शर्माले भनेका छन्, ‘सिके राउतको रुपान्तरण र सम्झौतालाई हार्दिक स्वागत र नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने रास्ट्रीय प्रयत्न जायज छ ।’ शर्माले अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु जरुरी रहेको बताए । ‘अनेक रंगको अतिवादबाट विगतदेखि नै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य नै हो,’ उनले भने ।

अष्ट्रेलियाको उत्कृष्ट शुरुवात, १९३ रनमा पहिलो गुम्यो विकेट

काठमाडौं, फागुन २४ । भारत विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाका कप्तान आरोन फिंच शतक प्रहार गर्नबाट चुकेका छन् । ९९ बल खेलेर ९३ रन बनाएर खेलिरहेका फिंचलाई भारतका कुलदीप यादवले आउट गरे । आज अष्ट्रेलियाले उत्कृष्ट शुरुवात गर्यो । ३२ ओभरमा अष्ट्रेलियाले १ विकेटको क्षतिमा १९४ रन बनाएको छ ।

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रप्रमुखद्वारा शुभकामना व्यक्त

काठमाडौं, फागुन २४ । शुक्रबार १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नारा तय गरिएको छ। दिवसका अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख र राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेका छन् । उनले सबै महिलाको हक अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छन् । ‘संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमको समेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्ने छ’ राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् । १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताएका छन् । उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, ‘जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ । संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो । संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु।’ संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेकोे भनाइ छ। उपराष्ट्रपतिले आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्न नविनतम पहल जरुरी रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा शुभकामना दिएका छन् । स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दे मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन् । ‘हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । काङ्ग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ। महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्याउने छ भन्ने मैले विश्वास लिएको छ’, विज्ञप्तिमा उल्लेख छ। नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति उच्च सम्मान प्रकट गगरेका छन् ।

दाङमा शहीद परिवारलाई अभिनन्दन

उमेश बञ्जाडे, लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमही नगरकमिटिको आयोजनामा शहीद परिवार अभिनन्दन कार्यक्रम सप्पन्न भएको छ। बिहीवार देउखुरीको कान्तिपुरमा सम्पन्न अभिनन्दन कार्यक्रममा लमही नगरपालिका अन्तर्गतका २१ जना शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरियो । नेकपा लमहीका प्रमुख कुलबहादुर केसीको अध्यक्षता एवं प्रदेश सभा सदस्य रेवतिरमण शर्माको प्रमुख आतिथ्यता र प्रदेश कमिटी सदस्य लेखराज रेग्मीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताहरुले शहीदका सपनामाथि विभेद नगर्न नेतृत्वलाई सचेत गराएका थिए। पहुँचको भरमा शहिदका सपनाहरू वर्गिकृत गर्न नहुनेमा उनीहरुले जोड दिए । कार्यक्रममा नेकपाका नेता निर्मल आचार्य, प्रस्तावित जिल्ला सदस्य ओम प्रकाश सुवेदी ‘सागर’, शहीदद्वय विकास शर्मा र प्रकाश शर्माका पिता नारायण प्रसाद शर्मा, वडा सदस्य नुमराज पौडेल, स्थानीय नेतृ मिना गुरुङ, नेता नारायण डिसि ‘छम्पाली’ लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा लहमी नगर कमिटीका सचिव बसन्त शर्मा ‘विक्रान्त’ ले गरेका थिए ।

आइपीएलः के–के हुन् सन्दीपको दिल्लीले उपाधि जित्ने ४ आधार?

काठमाडौं, फागुन २३ । इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २३ देखि भारतका विभिन्न सहरमा सुरु हुँदैछ । ८ फ्रेन्चाइच टोली रहेको प्रतियोगितामा होम अवे मैदानमा गरि हरेक टिम एक अर्कासँग २ पटक भिड्नेछन् । डवल राउण्ड रोविनपछि शिर्ष चार टोली प्ले अफमा पुग्ने छन् । दिल्ली क्यापिटल्स आईपीएलको सबैभन्दा असफल फ्रेन्चाइज टोलीमा गनिन्छ । सन् २००८ देखि सुरु भएको आईपीएलको ११ औं संस्करण सम्म आइपुग्दा दिल्लीले फाइनल यात्रा तय गर्न सकेको छैन । त्यसैकारण पनि दिल्लीले १२ औं संस्करण अघि आफ्नो नाम, लोगो र जर्सी परिवर्तन गरेको छ । स्वंय दिल्ली पनि यसअघिको प्रर्दशन सम्झन चाहादैन । यसअघि जीएमआरसँग शत प्रतिशत स्वामित्वमा रहेको दिल्लीको टोलीमा यस सिजन जीएसडब्लू समुहले आधा स्वामित्व लिएको छ । दिल्लीले सम्भवत हाल सम्मकै उत्कृष्ट र सन्तुलित टोली निर्माण गरेको छ । त्यसैले पनि यस पटक दिल्लीलाई उपाधिको दावेदार रुपमा हेरिएको छ । नाम, लोगो र जर्सी परिवर्तन गरेको क्पापिटल्स भाग्यको बलमा पनि उपाधि जित्नेमा आशावादी छ । दिल्लीले मुम्बई इन्डियन्सँग २४ मार्चमा पहिलो खेल खेल्दै दिल्लीले प्रतियोगितामा पाईला अघि बढाउने छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको हुँदा पनि नेपाली दर्शकले अन्य फ्रेन्चाइज टोलीको तुलनामा दिल्लीलाई विशेष महत्वका साथ हेरेका छन् । अहिलेसम्म फाइनलमा पुग्न नसकेको दिल्लीले १२ औं संस्करणको आईपीएलको उपाधिनै जित्न सक्ने प्रबल सम्भावना छ । दिल्लीले उपाधि जित्न सक्ने यी ४ बलिया आधार पनि छन् । १. रबाडा र बोल्टको गति टि–२० मा पावर प्ले र डेथ ओभरमा बन्ने रन र गुम्ने विकेटले खेलमा निकै प्रभाव पार्ने गर्दछ । पावर प्ले अर्थात पहिलो ६ ओभर भित्र कुनै टिमको सुरुवाती विकेट गुम्छ भने पक्कै त्यो टिम सस्तैमा समेटिने उच्च सम्भावना रहन्छ । अन्तिम ओभरतिर रन कम बन्नेसँगै विकेट गुम्दा तुलानात्नक रुपमा फरक पर्ने गर्दछ । प्रायजसो सुरुवाती र अन्तिमका ओभर तीव्र गतिकै बलरबाट गरिन्छ । यद्यपी पछिल्लो समय स्पिनरहरुले पनि सुरुवातका ओभर फ्याँक्ने गरेको प्रयोग विश्व क्रिकेटमा देख्न थालिएको छ । दिल्लीमा तीव्र गतिका बलरका रुपमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र दक्षिण अफ्रिकाका कागिसो रवाडा छन् । यी दुवै खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जसको फाइदा दिल्लीलाई पुग्नेछ । गत वर्ष बोल्टले १४ खेलमा १८ विकेट लिँदा रवाडाले चोटका कारण प्रतियोगिता नै गुमाए । यस सिजन दुवै बलरले उत्कृष्ट प्रर्दशन गर्दै दिल्लीको उपाधि जित्ने सपना सहज बनाउन सक्छन् । २. ओपनिङ जोडी कुनै पनि टोलीलाई विशाल योगफल तयार पार्न र पुरा गर्न ओपनर जोडीको राम्रो सुरुवात आवश्यक पर्दछ । राम्रो सुरुवात विना विशाल योगफल बनाउन र पूरा गर्न कठिन छ । विश्व क्रिकेटमा बनेका उच्च स्कोरमा सामान्यतया ओपनर जोडीको साझेदारी पनि उत्कृष्ट रहन्छ । दिल्लीमा ओपनरको रुपमा शिखर धवन र पृथ्वी शा रहेका छन् । सनराईजर्स हैदरावाद छाडेर धवन दिल्लीमा आएसँगै दिल्लीको ब्याटिङ झनै बलियो हुनुको साथै ओपनिङ जोडी उत्कृष्ट बन्नेको छ । न्यूजिल्यान्डका ओपनर कोलिन मुनरो पनि दिल्लीमै छन् । पछिल्लो समय भारतबाट शिखर र न्यूजिल्यान्डबाट मुनरोले लगातार ओपनिङ गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । शिखर धनव टी–२० क्रिकेटमा सन् २०१८ मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । धवनले सन् २०१८ मा १८ अन्तर्राष्ट्रिय टी–२० खेलमा ६ अर्ध शतक सहित कुल ६८९ रन बनाएक थिए । गत वर्ष हैदरावादबाट धवनले ओपनिङ गर्दै १६ खेलमा ४९७ रन जोडेका थिए । विश्व टी–२० वरियतामा दोस्रो स्थानमा रहेका मुनरोले सन् २०१८ मा न्यूजिल्यान्डबाट १२ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ शतक,४ अर्धशतक सहित १७८.५७ को स्ट्राईक रेटमा कुल ५०० रन बनाएका थिए । त्यस्तै भारतलाई यू–१९ विश्वकप जिताएका युवा ओपनर पृथ्वी शा पनि दिल्लीमै छन् । शाले टेस्ट डेब्युमै शतक प्रहार गर्दै सनसनी मच्चाएका थिए । शाको खेल्ने शैलीलाई धेरै विज्ञले भारतीय पूर्वकप्तान सचिन तेन्दुल्करसँग मिल्दो रहेको बताउँछन् । गत वर्ष दिल्लीबाटै डेब्यू गर्दै शाले ९ खेल खेल्दै २४५ रन जोडेका थिए । यी तीन खेलाडी मध्य दुईले ओपनिङ गर्ने छन् । जसले गर्दापनि दिल्लीको ओपनिङ बलियो बन्ने देखिन्छ । ओपनरको उत्कृष्ट प्रर्दशनमा दिल्लीको उपाधि जित्ने सपना साकार हुन सक्छ । ३. बलियो स्पिन अट्याक दिल्लीको अर्को बलियो हतियार हो स्तरीय स्पिनर । भारतीय मैदानपनि स्पिनर बलरलाई बढि उपयोगी मानिन्छ । पछिल्लो एक वर्षमा निरन्तर रुपमा विश्वका फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीका प्रमुख खेलाडी हुन्। अनुभवी स्पिनर अमित मिश्रा र सन्दीपको जोडीले तहल्का पिट्ने अनुमान गरिएको छ । गत वर्ष दिल्लीबाट अन्तिम ३ खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिँदै सनसनी मच्चाएका थिए । मिश्राले १० खेलमा १२ विकेट लिएका थिए । यी दुवै लेग स्पिनरले आफ्नो गुगलीमा विपक्षी ब्याट्सम्यानलाई सहजै फसाउन सक्छन् । जसको फाइदा दिल्लीलाई पुग्ने छ । दिल्लीले अक्षर पटेललाई पनि अक्सनमा ५ करोड खर्चेर किनेको थियो । भारतीय राष्ट्रिय टोलीबाट खेली सकेका पटेल स्पिन अलराउन्डर हुन् । पटेल आईपीएलमा पनि अनुभवी खेलाडी हुन् । पार्ट टाइमको रुपमा राहुल टेवाटिया पनि राम्रो स्पिनरमा गनिन्छन् । सन्दीप र मिश्रा प्रमुख तथा पटेल र टेवाटिया विकल्पका रुपमा दिल्ली अझ बलियो बनेको छ । जसको कारण उपाधि जित्न सहज हुन सक्छ । ४. सुदृढ मध्यक्रम टिमको जित वा हार मध्यक्रमको ब्याटिङ प्रर्दशनमा बढि भर पर्ने गर्दछ । युवा खेलाडी कप्तान श्रेयस अय्यर र ऋषभ पन्तले दिल्लीको मध्यक्रम सम्हाल्ने छन् । यी दुई खेलाडीको प्रर्दशन नै दिल्लीले उपाधि जित्ने वा कुन स्थानमा पुग्ने भन्ने बढि निर्भर रहनेछ । यी दुवै खेलाडीले भारतीय टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरि सकेका छन् । दुबै ठूला ठूला शट खेल्न माहिर छन् । ऋषभ पन्त पन्तले गत वर्ष दिल्लीबाटै १४ खेलमा १ सय ७० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै कुल ६८४ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । त्यस्तै श्रेयरले १४ खेलमा ४११ रन जोडे । पन्तले पछिल्लो समय भारतीय टिमबाट टेस्ट, वान डे र टी–२० तीनैमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । यी दुईबाहेक मध्यक्रममा कोलिन इन्ग्राम, अलराउण्डर किमो पाउल, हनुमा विहारी, अक्षर पटेल, राहुल टेवाटिया, हर्षल पटेल जस्ता खेलाडी छन् । जसले गर्दा पनि मध्यक्रम मजबुत देखिन्छ । यो सामग्री हाम्रो खेलकुद डट.कमबाट साभार गरिएको हो । दिल्लीको पूर्ण टोली : श्रेयर अय्यर (कप्तान), ऋषभ पन्त, अमित मिश्रा, सन्दीप लामिछाने, शिखर धवन, पृथ्वी शा, आवेश खान, हर्षल पर्टेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, कागिसो रबाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, इशान्त शर्मा, अन्कुश वेन्स, नाथसिंह, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, किमो पल र जलज सक्सेना

वामदेव भन्छन्, ‘पार्टीले निर्णय गरेपनि म रविन्द्रको क्षेत्रबाट उम्मेदवार बन्दिनँ’

काठमाडौं, फागुन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले रविन्द्र अधिकारीको निधनपछि खाली भएको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । शुक्रबार अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा पुगेका गौतमले रविन्द्रको क्षेत्रबाट चुनाव उठ्ने आशा राखेको आरोप लगाई आफू विरुद्ध कुप्रचार गरिएको आरोप लगाए । शनिबार प्रेस विज्ञप्ति जारी गरेर गौतमले भने ‘पार्टीले निर्णय गरेपनि म रविन्द्र अधिकारीको क्षेत्रबाट उम्मेदवार बन्दिनँ ।’ ‘नेपाली राजनीतिक आकाशमा उज्जवल भविष्य सहित उदाएका प्रीय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ। यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कु-चार मात्र हो ।’ उनले जारी गरेको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

गोदामचौर बलात्कार प्रकरणः संलग्न तीनै जनालाई १० वर्ष कैद

ललितपुर, फागुन १७ । गोदामचौरका सामूहिक बलात्कार घटनाका तीनै जनालाई दस वर्ष कैद सजाय तोकिएको छ । बलात्कारमा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रधु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई ललितपुर जिल्ला अदालतले दोषी ठहर गर्दै न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार उक्त फैसला गरेको हो । अदालतका अनुसार दोषी तीनै जनालाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत १० वर्ष कैद र जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको छ।उनीहरुले०७४ मंसिर २ मा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेका थिए। ज्यान मार्ने उद्योग तर्फ पनि तीनै जनालाई १०-१० वर्ष कैद सजाय तोकेको छ। चोरीको बिगोबराबर ३ हजार रुपैयाँ तिराउने फैसला भएको छ। चोरीतर्फ ६० दिन कैद सजाय तोकेको छ।