सीमामा पर्खाल बनाउने खर्च दिन अमेरिकी सर्वोच्च अदालतको अनुमति

बीबीसी । अमेरिकाको सर्वोच्च अदालतले दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल ठड्याउन राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागन कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने बताएको छ।

क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा ५ मत र पक्षमा ४ मत परेको थियो।

अमेरिका र मेक्सिकोलाई विभाजन गर्ने पर्खाल ट्रम्पको सन् २०१६ को निर्वाचनको प्रमुख चुनावी नारा थियो। डेमक्र्याटहरूले त्यसको कडा विरोध गर्दै आएका छन्। सर्वोच्च अदालतको निर्णयको अर्थ उक्त कोष क्यालिफोर्निया, एरिजोना र न्यू मेक्सिकोमा पर्खाल बनाउने योजनामा प्रयोग हुनेछ।

क्यालिफोर्नियाको अदालतले उक्त कोषलाई पर्खाल निर्माणमा लगाउनेबारे कङ्ग्रेसले विशेषाधिकार नदिएको तर्क गरेको थियो।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सर्वोच्च अदालतको आदेशलाई “ठूलो जित” भनेका छन्।
शुक्रवार अमेरिका र ग्वाटेमालाले एक सहमतिमा हस्ताक्षर गरेका छन् जसमा हुन्डुरस र एल साल्भाडोरबाट ग्वाटेमाला हुँदै जाने आप्रवासीहरूले सुरुमा ग्वाटेमालामा शरण खोज्नुपर्ने व्यवस्था गरिएको छ।

आदेशमाथिको प्रतिक्रिया
अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले भनिन्, “आज साँझ सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पलाई सैनिक कोषबाट चोरेर व्यर्थको, निष्प्रभावी र कङ्ग्रेसले अस्वीकार गरेको सीमा पर्खाल बनाउनमा खर्च गर्न दिएको अनुमति गम्भीर रूपमा त्रुटिपूर्ण छ। हाम्रा संस्थापकहरूले जनताद्वारा शासित प्रजातन्त्रको निर्माण गरेका हुन् न कि राजतन्त्र।”

द अमेरिकन सिभिल लिबर्टीज युनियनले ट्रम्पको सीमा पर्खालले गर्ने क्षति रोक्नका लागि नाइन्थ सर्कीट कोर्ट अफ अपील्स समूहबाट तत्काल निर्णय आउनुपर्ने आग्रह राखेको छ।

उक्त कोषको उपयोग रोकियोस् भनेर मुद्दा हालेकी वातावरणीय समूह द सीरा क्लबकी न्यायाधिवक्ता ग्लोरिया स्मिथले भनिन्, “आजको निर्णयले सैनिक कोषलाई सीमा पर्खाल बनाउनमा प्रयोग गर्न अनुमति दिएको छ जसले समुदाय, सार्वजनिक जमिन तथा क्यालिफोर्निया, न्यू मेक्सिको र एरिजोनाको पानी समाप्त पार्नेछ।”

यो वर्षको सुरुमा सङ्कटकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको महत्त्व बनेको उक्त पर्खाल बनाउन ६.७ अर्ब डलर रकम आवश्यक परेको बताएका थिए।

३,२०० किलोमिटर सीमामा पर्खाल लगाउने कुल खर्च २३ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ।
डेमोक्र्याटहरूले सङ्कटकाल लगाउने राष्ट्रपतिको निर्णय संविधानमा व्यवस्था गरिएको भन्दा बाहिर रहेको दाबी गरेका छन्।

करिब २० राज्यहरू र कैयौँ समूहले कङ्ग्रेसलाई छलेर सङ्कटकाल घोषणा गरेको भन्दै राष्ट्रपतिको कदम रोक्न मुद्दा हालेका छन्।

वातावरणवादी समूहहरूले पर्खालविरुद्ध अभियान चलाउँदै त्यसले जङ्गली वन्यजन्तुमाथि नकारात्मक असर पार्ने दाबी गर्दै आएका छन्।

गत फेब्रुअरी महिनामा कङ्ग्रेसले टेक्ससमा रियो ग्र्यान्डी भ्यालीमा “पदयात्रीका लागि बार” बनाउन १.३८ अर्ब रकम अनुमोदन गरेको थियो जुन ट्रम्पले चाहेको भन्दा निकै कम रकम थियो।

तल्लो सदनले पनि पर्खाल योजनाका लागि अरू रकम पठाउनमा रोक लगाउन भन्दै कानुनी बाटो अवलम्बन गरिरहेको छ।

सीमामा अहिले के भइरहेको छ?
अमेरिकी अधिकारीहरूका अनुसार गत जुन महिनामा अनधिकृत रूपमा सीमा काट्न चाहने मानिसहरूको सङ्ख्या २८%ले घटेको छ।

ट्रम्प प्रशासनले मेक्सिकोप्रति लिइएको नयाँ नीतिका कारण त्यसरी सङ्ख्या घटेको दाबी गर्दै आएको छ।

संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगका अनुसार अमेरिका मेक्सिको सीमामा सन् २०१९ मा मात्र १३ जना बालबालिकासहित १७० जनाको मृत्यु भएको छ। बीबीसी नेपालीबाट

एनसेल बम काण्डमा अाराेपित विप्लव नेता पक्राउ

काठमाडौं, साउन १० । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको छ । महानगरीय अपराध महाशाखा काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा ‘विप्लव’ समूहका युवा संगठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाकाअनुसार उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए । उक्त दिन शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसी क्यामेराबाट पत्ता लागेको थियो । घटनाका दोषीहरुलाई खोज्नेक्रममा काभ्रेको काफलडाँडामा प्रहरीले चलाएको ‘अपरेसन’बाटसमेत उनी उम्कन सफल भएको थापाले बताए । गत साल फागुन १० गते राति भएको बम विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते भएका थिए । उक्त घटनामा ८ जनाको संलग्नता रहेकोमा सातजना यसअघि नै पक्राउ परिसकेका छन् । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहको गतिविधि विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयौं नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । रासस

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

बेत्रावती, साउन १० । त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले जानकारी दिए । बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पु¥याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए । नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि यहाँबाट काठमाडौँ पठाएको थियो । बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले बताए । “सामान्य अवस्थामै बच्चा जन्मिएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै चासो दिएका थिएनन् ।” उनले भने, “चिकित्सकको बेवास्ता र सुत्केरीकक्षमा हेरचाहका लागि आफन्तलाई प्रवेश गर्न नदिँदा अत्यधिक रक्तश्राव र अर्धचेत भएको एक घण्टापछि मात्र थाहा भएको थियो ।” चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाउनुभएकी वस्तीको शव काठमाडौंबाट अन्तिम संस्कारका लागि बिहीबार राति नै नुवाकोट ल्याएर विरोधस्वरुप त्रिशूली अस्पतालमा राखिएको छ । सुत्केरी भएपछि चिकित्सकले उनको उपचारमा चासो नदिँदा घटना भएको भन्दै शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु अस्पतालमा परिसर भेला भएर विरोध जनाइरहेएका छन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुत्केरीलाई जतिसक्दो चाँडो काठमाडौं लैजानुपर्ने भए पनि नुवाकोट ‘सुगम’ जिल्लामा पर्ने भन्दै सरकारीस्तरबाट हेलिकप्टर उपलब्ध गराउन नमिल्ने जनाइएकाले निजीस्तरको हेलिकप्टरमार्फत अस्पताल पुर्याउन ढिलाइ भएको थियो । समयमै उपचार नपाएर सुत्केरीको मृत्यु भए पनि नवजात शिशुको काठमाडौंस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै आएको बताइएको छ । रासस

अन्तिम खेलमा मलिंगालाई कीर्तिमान बनाउने मौका

काठमाडौं, साउन ९ । बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेलेसँगै श्रीलंकाका चर्चित बलर लसिथ मलिंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदै छन् । उनले आफ्नो अन्तिम खेल भोलि (शुक्रबार) बंगलादेशविरुद्ध खेल्न लागेका हुन् । यदि आफ्नो अन्तिम खेलमा मलिंगाले ३ विकेट लिए विशेष उपलब्धि हासिल गर्ने छन् । बंगलादेश विरुद्धको खेलमा उनले ३ विकेट हासिल गर्न सके भारतीय पूर्वक्रिकेटर अनिल कुम्बलेलाई पछि पार्ने छन् । अन्तर्राष्ट्रिय वान डे क्रिकेटमा कुम्बलेले ३३७ विकेट लिएका छन् । यस्तै मलिंगाको खातामा ३३५ विकेट छ । श्रीलंकाका मुथैया मुरलीधरण सर्बाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छन् । उनको नाममा ५३४ र चामिन्डा वासको खातामा ३९९ विकेट रहेको छ । योर्करका राजा मानिने मलिंगाले हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न वान डे विश्वकपमा शानदार प्रदर्शन गरेका थिए । यद्यपि उनको टिम सेमिफाइनलसम्म पुग्न सकेन । ३५ वर्षीय मलिंगाले अन्तर्राष्ट्रिय क्रिकेटमा ८१४ विकेट लिएका छन् । जसमा वान डेमा ३३५, टि–२० मा ३७८ र टेस्ट क्रिकेटमा १०१ विकेट हासिल गरेका छन् ।

इंग्ल्याण्डलाई तेस्रो झड्का, ज्याक लिच ९२ रनमा आउट

काठमाडौं, साउन ९ । आयरल्याण्डसँगको एक मात्र टेस्ट क्रिकेटमा इंग्ल्याण्डका ओपनर ज्याक लिच शतक बनाउन चुकेका छन् । लड्स क्रिकेट मैदानमा भइरहेको खेलमा उनी ९२ रनमा आउट भएका हुन् । १६ चौकाको मद्दतमा १६२ बलमा ९२ रन बनाएका लिचलाई टिम मुर्टगले क्याचआउट गराएका हुन् । यसअघि इंग्ल्याण्डले दोस्रो विकेटको रुपमा जसन रोयलाई ७२ रनमा आउट गुमाउन पुग्यो । १ छक्का र १० चौकाको मद्दतमा ७८ बलमा ७२ रन बनाएका उनलाई स्टुअर्ट थोम्पसनले ‘क्लिनबोल्ड’ गरे । रोय बुधबार ५ रनमा आउट भएका थिए । टेस्ट क्रिकेटमा उनको यो डेब्यू खेल हो । टेस्ट क्रिकेटः शतक बनाउन चुके रोय रोय र ज्याक लिचबीच १४५ रनको साझेदारी भएको थियो । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले ४७ ओभरमा ३ विकेट गुमाएर १८५ रन बनाएको छ । पहिलो इनिङमा इंग्ल्याण्ड ८५ रनमै समेटियो । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्ड ६३ रनले लिड गरिरहेको छ । आयरल्याण्डले पहिलो सेसनमा २०७ रन बनाएको थियो । यो पनि टेस्ट क्रिकेटः रोयको पहिलो शानदार अर्धशतक

टि–२० क्यानडा लिगः सन्दीपको टिममा को–को छन् स्टार क्रिकेटर?

काठमाडौं, साउन ९ । नेपालका २ क्रिकेटर आवद्ध ग्लोबल टि–२० क्यानडा लिग आजदेखि सुरु हुँदैछ । लिगको पहिलो खेलमा नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टो नेसन्स र भाकुंभर नाइट्स खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि क्यानडाको ब्रमाटोनमा हुँदैछ । टोरन्टोमा भारतीय पूर्वक्रिकेटर युवराज सिंह र भाकुंभरमा क्रिस गेल कप्तान रहेका छन् । टोरोन्टो नाइट्सः युवराज सिंह (कप्तान), ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस । सन्दीप र साेमपालले २ वटा खेल गुमाउने सन्दीपले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाउने भएका छन् । उनी आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाउने भएका हुन् । यस्तै अर्का नेपाली बलर सोमपाल कामीले पनि लिगका शुरुवातका २ खेल गुमाउने छन् । उनको टिम विनिपेग हक्सले पहिलो खेल शनिबार मोन्टेरियल टाइगर्सविरुद्ध खेल्दैछ । यो पनिः आजदेखि ग्लोबल टि–२० लिग, युवराज सिंह र क्रिस गेलको टिम भिड्दै

४ दिनदेखि बेपत्ता भएका इन्जिनियर भेटिए

सिमकोट, साउन १ । ४ दिनदेखि बेपत्ता भएका इन्जिनियर वसन्त रावत आज दिउँसो १२ बजे भेटिएका छन् । उनलाई अदानचुली गाउँपालिका वडा नम्बर तीनको मेल्चौरमा ढुङ्गामा बसेको अबस्थामा सिमकोटबाट खोजीमा गएको टोलीले भेटाएको हो । सिमकोटबाट खोजीमा गएको टोलीले सामान्य अबस्थामा भेटाएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । सामान्य अबस्थामा भेटिएका रावतको स्थानीय स्वास्थ्य चौकीमा जाँच गर्दा अबस्था सामान्य भएको र अहिले बोल्न नचाएको उनीसँगै काम गर्ने सव–इन्जिनियर जीवन रोकायाले बताए । ८ छाक खाना नखाएको कारण एकदम कमजोर अबस्थामा रहेकोले थप उपचारपछि उनलाई सिमकोट ल्याईने छ । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतका छोरा समेत रहेका इन्जिनियरलाई खोजीका लागि आफन्तसहित सिमकोटबाट २० जनाको टोली त्यता लागेका थिए । ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आर.सि.आइ.डब्लु) मा कार्यरत रावत सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा रहेको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कार्यालयको कामका सिलसिलामा आईतबार बस्ने होटेलमा एक कप चिया बिहान खाएर निस्किएपछि हालसम्म सम्पर्कमा आएका थिएनन् । खोजीका लागि सिमकोटबाट हेलिकोप्टरमा दाई ज्ञानेन्द्र रावतको टोली पनि घटनास्थलतर्फ गएको थियो । यस अघि तीन दिनसम्म चारदेखि पाँच जनाको टोली बनाएर दशवटा टोली खोजीका लागि बस्ती, गोठ, खर्क, बन जंगल, ओढार लगायत सबैतिर परिचालन गरिएको थियो ।

अमेरिकी राष्ट्रपति विरुद्ध संसदमा खेद प्रस्ताव; ट्रम्पको अभिव्यक्ति ‘रंगभेदी’ भएको आरोप

काठमाडौँ,  साउन १ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चार जना महिला सांसदप्रति लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्ति ‘जातीय’ भएको भन्दै त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटि‍भ्सका सदस्यहरूले साङ्केतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन् । सांसदहरूले उक्त अभिव्यक्ति ‘रंगभेदी’ भएको र त्यस्ता अभिव्यक्ति अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले शृङ्खलावद्ध रूपमा ट्वीट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै पुरानै स्थानमा फर्किन भनेका थिए । ट्रम्पले भने आफ्नो भनाइ विभेदकारी नभएको भन्दै बचाउ गर्दै आएका छन्। उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवम् घृणालाई वैधता दिएको संसदको मत छ। ट्रम्पकै पार्टीका सांसद उभिए उनको विपक्षमा   विपक्षी डेमोक्र्याटका सबै सांसदले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए। उनीहरूले सत्ताधारी रिपब्लिकन दलका समेत चार जना सांसदको समर्थन प्राप्त गरेका थिए। उक्त निन्दा प्रस्तावमा भनिएको छ: ट्रम्पका रङ्गभेदी प्रतिक्रियाले मानिसहरूको रङ्ग र नवअमेरिकीहरूमाथिको भय एवम् घृणालाई प्रश्रय दिएको छ। ट्रम्पले कसैको पनि नाम नलिए पनि पछिल्ला घटनाक्रमहरूको सन्दर्भमा उनले कसको बारेमा कुरा गरिरहेका छन् भन्ने कुरा प्रस्ट भएको थियो। अनवरत आलोचना ट्रम्पको भनाइको विपक्षी दलका नेताहरूले चर्को आलोचना गर्दै आएका छन्। रिपब्लिकन पार्टीका केही सदस्यहरूले मात्र टिप्पणी गरे पनि सिनेटर सुजन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी छन्। पछिल्लो राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिद्वन्दी रहेकी हिलरी क्लिन्टनले समेत अमेरिकाका सीमामा रहेका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यानाकर्षण गरेकाले ती सांसद्हरूमाथि आक्रमण गरिएको बताएकी छन्। ती सांसदहरूले स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका थिए। ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका हुन्। ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन्। ट्रम्पले भने उक्त भनाइको बचाउ गर्दै आफूमा विभेदकारी भावना नरहेको बताएका छन्। मतदानअघि तल्लो सदनकी सभामुख न्यान्सी प्यालोसीले ट्रम्पका भनाईलाई अपमानजनक र घृणित भनेकी थिइन्। बिबिसी  

विपी राजमार्गमा एक पुरूषको शव फेला

बर्दिवास, श्रावण १ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए । प्रहरीले अवस्था यकिन गर्न शव तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटना सडक दुघर्टना वा नियोजित नै पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। रासस

कोसीमा वर्षकै उच्च बहावः ३० ढोका खुला, सजग रहन एमएमएसबाट सूचना

राजविराज, असार २८ । सप्तकोसी नदीमा यस वर्षकै सबभन्दा उच्च पानीको सतह बढेको छ । सप्तकोसी नदीको शनिबार बिहान ९ बजे मापन गरिएको बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक प्रति सकेन्ड रहेको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको बताइएको छ । ब्यारेजमा ५२ ढोका रहेको छ । बाढी खतराको तहभन्दा माथि रहेको बाढी पूर्व अनुमान महाशाखाको बुलेटिनमा उल्लेख गर्दै कोसी ब्यारेजको नियमित अनुगमन गर्न सुझाव पनि दिएको छ । बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको बताइएको छ । रातो बत्ती बालिएको छ भने सजग रहन तटबन्धबासीलाई एसएमएसमार्फत सूचना पठाइएको उल्लेख छ ।

बाढी–पहिरोको वितण्डाः मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिइने

धनुषा, असार २८ । प्रदेश नम्बर २ सरकारले बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रत्येक मृतक परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही दिन यताको अविरल वर्षाले प्रदेशको ८ वटै जिल्लाको जनजीवन आक्रान्त भएको बेला आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १० दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद्को बैठकले हाल सम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ । बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भईरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

पारसको बिस्फोटक ब्याटिङमा नेपालको शानदार जित

काठमाडौं, असार २८ । टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । कप्तान पारस खड्काको शानदार व्याटिङमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान खड्काले ५ छक्का र ८ चौकाको मद्दतमा ५० बलमा नट आउट ८६ रन बनाए । यस्तै शरद भेषवाकरले (अविजित) १७, प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७ र रोहितकुमार पौडेलले ५ रन बनाए । बलिङमा मलेसियाका अनवार रहमानले २ र फित्री सामले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए । बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा को-कोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

सिङ्गो बस्तीमा झाडापखाला

पाल्पा, असार २८ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन् । तल्लो घाटाखोलाको पानी प्रयोग गर्ने सबै ५३ जनामा झाडापखाला फैलिएको हो । रैनादेवी छहरा गाउँपालिका–१ का वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार दूषित पानीका कारण झाडापखालाबाट बिरामी परेका हुन् । दुई जनाको बिरामी तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । केही बिरामीको गुल्मी क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष दर्लामीले बताए । चार दिनदेखि पखाला, बान्ता, ज्वरो आउने लक्षण बिरामीमा देखिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए पनि झाडाबान्ताका बिरामी बढ्दो छन् । जिल्ला अस्पताल पाल्पाका चिकित्सक गगन अधिकारीको नेतृत्वमा छ स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । शुक्रबार ५ बजेसम्म ३० जनाको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको महामारी नियन्त्रण पाल्पाका फोकलपर्शन ईश्वरी न्यौपानेले जानकारी दिइन्। चार दिनदेखि झाडाबान्ताग्रस्त बने पनि स्वास्थ्य कार्यालय, रैनादेवी छहरा गाउँपालिकाको बेवास्ताका कारण समयमा उपचार पाउन नसक्दा थप समस्या हुन पुगेको स्थानीयवासीको गुनासो रहेको छ । जिल्लाको स्वास्थ्यको टोलीमा जनप्रतिनिधि, प्रहरी अहिले प्रभावित क्षेत्रमा पुगेर बिरामीको उद्धारमा जुटेको वडाध्यक्ष दर्लामीले बताए । रासस

मलेसियालाई तेस्रो झड्का, बसन्तलाई पहिलो सफलता (LIVE)

काठमाडौं, असार २८। मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएका नेपालले तेस्रो विकेट लिएको छ । नेपाललाई तेस्रो सफलता दिलाउने क्रममा बसन्त रेग्मीले विरन्दीप सिंहलाई ५७ रनमा आउट गरे । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिइसकेका छन् । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी । https://www.youtube.com/watch?v=gG0UnRsWObA

ऋण उपलब्ध गराइदिने बहानामा बैंक प्रबन्धकद्वारा महिला बलात्कृत

मोरङ, असार २३ । विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । बलात्कार आरोपमा धनपालथान गाउँपालिका–४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोला पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी मोरङले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले ४ लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा करणी गरेको खुलेको छ । पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७ बाट पक्राउ गरी जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए ।

डोटीमा जीप दुर्घटनाः ६ घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं, असार १६ । डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। जिल्लाको आदर्श गाँउपालिकाबाट सायल जादै गरेको से १ च ९१७ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाईते भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्बर ७ साईली गाड नजिक पर्ने गजेडा भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी सायल गाउँपालिका १ का २७ वर्षीय राजु दमाई, १५ वर्षीया बाटुली नेपाली, टीका नेपाली रहेका छन्। यस्तै आदर्श गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय रमेश नेपाली, सोही ठाँउको सातलाका १२ वर्षीय महेश नेपाली, वडा नम्बर ६ गिरि चौकका चालक कटक सिलाल पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। चालक सिलाल र बाटुलीको अवस्था गम्भीर रहेको उनले बताए। घाईतेहरुलाई उपचारका लागि दिपायलको शैलेश्वरी अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक धामीले बताएका छन्। तर उनीहरुलाई अस्पताल भने पुर्याईएको छैन्। जीप सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।