लुटपाटको आर्जनले घडेरी र व्यवसाय !

काठमाडौं । चोरी, डकैती र लुटपाटजन्य अपराधबाट सङ्कलित रकमले राजधानी काठमाडौंमा घरजग्गा खरिद तथा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएको छ । प्रहरीका अनुसार सिक्री लुटपाटमा आरोपित ओखलढुङ्गा हर्कपुर गाउँपालिका घर भई हाल बूढानीलकण्ठ बस्दै आएका अभियुक्त ३९ वर्षीय टमबहादुर सुनुवारले टोखामा ‘तिर्थ–सपना’ नामको दुग्ध डेरी व्यवसाय गरेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार टमबहादुरले सडकमा सिक्री लगाएको एक्लोदोक्लो महिला देख्नेबित्तिकै मोटरसाइकल प्रयोग गरी लुट्ने कार्यलाई आयआर्जनको मुख्य पेसा बनाउँदै आएको प्रहरीको आरोप छ ।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार सुनुवारका सहयोगी रामेछाप मजुवा घर भई हाल भैँसेपाटी बस्दै आएका टलकबहादुर रायमाझीले घडेरी (जग्गा) खरिद गरेका छन् । सिक्री लुटपाट मुद्दामा पक्राउ परी तीन÷तीन वर्ष जेल सजाय भुक्तान गरी छुटेका अभियुक्तद्वय टमबहादुर र टलकबहादुरले हालसम्म १५ जना महिलाको करिब २० तोला सिक्री लुटेको बयान प्रहरीलाई दिएका हुन् ।

एक पीडित महिलाले दिएको घटना विवरणका आधारमा प्रहरीले गत २४ गते लुटपाटमा प्रयोग भएको मोटरसाइकल नम्बरको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको बयानका आधारमा भारत पश्चिम बङ्गाल घर भई हाल बालकुमारीमा सुन पसल सञ्चालन गर्दै आएका देवासिस दोलाही पनि पक्राउ परेका छन् ।

अभियुक्तहरूले लुटपाट गरेको सिक्री सुन व्यापारी देवासिसलाई बिक्री गर्दै आएका थिए । यसरी लुटपाटको सिक्री बिक्री गरेबापत प्राप्त भएको रकमले दुग्ध डेरी र घडेरी जोडेको जानकारी प्रहरीले दिएको छ । अभियुक्त टमबहादुरको कोठाबाट दुई लाख ५० हजार नगद, मोटरसाइकल, सुनका गरगहना, सुन जोख्ने तराजु, पाँचथान मोबाइल बरामद गरेको छ । यो समाचार आजको गोरखापत्र दनिकबाट लिइएको हो ।

अब साना हिमाल चढेपछि मात्र सगरमाथा आरोहण

काठमाडौं । आगामी सिजनदेखि सगरमाथा आरोहण गर्नुअघि ६ हजारदेखि ७ हजारसम्म उचाइ भएका हिमाल आरोहण गरेको अनुभव अनिवार्य गरिएको छ । सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो । प्रतिवेदन बुधबार साढे १ बजे मन्त्रालयले सार्वजनिक गर्ने कार्यक्रम छ। ‘पैसा हुनेले अब सोझै सगरमाथा आरोहण गर्न पाउने छैनन्,’ उच्च स्रोतले भन्यो, ‘अब स्वदेशी वा विदेशीले पहिले ६ हजार ५ सय हाराहारी उचाइको कुनै हिमाल आरोहण गरेको हुनुपर्नेछ।’ विदेशीहरूले सगरमाथामा आरोहण अनुमतिमा नियन्त्रण गर्नुपर्ने, सगरमाथालाई आराम दिनुपर्नेलगायत विषय उठाउँदै सरकारलाई दबाब दिँदै आएका थिए। तर प्रतिवेदनले सगरमाथा आरोहण अनुमति नियन्त्रण नगरिने र आराम पनि दिनु नपर्ने उल्लेख गरेको स्रोतले बतायो। ‘सिजनमा एक महिना मात्रै आरोहण हुन्छ। बाँकी ११ महिना सगरमाथाले आरामकै समय पाइरहेको हुन्छ,’ स्रोतले भन्यो, ‘त्यस्तै आरोहण अनुमति नियन्त्रण पनि गरिने छैन।’ आगामी सिजनदेखि आरोहण दलको लियाजन अफिसर (सम्पर्क अधिकृत) मा आरोही शेर्पाहरूलाई पनि समेटिने स्रोतको भनाइ छ। ‘यसअघि स्नातक पास गरेका आरोही शेर्पालाई लियाजन अफिसर तोक्न सकिने प्रावधान थियो। ‘एसएलसीसरह अध्ययन गरेको अनुभवी शेर्पालाई पनि लियाजन अधिकृतको समूहमा राख्न सकिनेछ,’ स्रोतले भन्यो। यसअघि संघ र आरोही संघको सिफारिसमा वर्षमा ४ जनासम्म स्नातक अध्ययन गरेका शेर्पालाई लियाजन अफिसरका रूपमा पठाउने व्यवस्था रहेको नेपाल पर्वतारोहण संघका एक पदाधिकारीले बताए। अब एसएलसी पाससरहको व्यवस्था हुँदा अत्यधिक आरोही शेर्पाहरूले सम्पर्क अधिकृतको भूमिका पाउनेछन्। त्यसैगरी प्रतिवेदनले आधार शिविरमा नपुग्ने निजामतीतर्फका सम्पर्क अधिकृतलाई सेवा अवधिभर रोक्न सक्ने प्रस्ताव गरेको छ। त्यस्तै चिकित्सकको स्वास्थ्य जाँच पनि अनिवार्य गरिएको छ। स्वास्थ्य परीक्षणमा अयोग्य देखिए आरोहण दलका सदस्य, गाइड, हेल्पर, भरिया आदि कुनै पनि भूमिकामा हिमाल चढ्न पाइने छैन। पछिल्लो पटक पर्वतारोहणका क्षेत्रमा देखापरेका नीतिगत, कानुनी र संरचनागत कार्यविधि सुधारका लागि सुझाव दिन प्रधानमन्त्रीस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको थियो। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कुलमानको कमालः एकै वर्ष प्राधिकरणले कमायो ७ अर्ब २० करोड

काठमाडौं । लामो समय घाटामा गएको नेपाल विद्युत् प्राधिकरणले केही वर्षयता निरन्तर नाफा कमाउन थालेको छ। प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ। ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर प्राधिरकणले कमाएको नाफाबारेमा जानकारी दिएका हुन्। कुलमान घिसिङले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेयता प्राधिकरणले लोडसेटिङ हटाएको छ। चुहावट नियन्त्रण गरेपछि तीन वर्षयता प्राधिकरणले लगातार नाफा कमाउन थालेको हो। प्राधिकरणले २०७४/७५ मा साढे २ अर्ब ९० करोड नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । प्राधिकरणले सावाँ, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटलाई पनि उल्लेख्यरुपमा घटाएको छ। अघिल्लो वर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ । बेचियो बिजुली प्राधिकरणले गत आर्थिक वर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा ऊर्जामन्त्री पुनले लामो समयदेखि रुग्न अप्पर त्रिशूली-३ ‘ए’ तथा काबेली करिडोर लगायतका उत्पादनतर्फ १, प्रशारणतर्फ ३ र वितरणतर्फ ३४ गरी ३८ वटा रुग्न आयोजना सम्पन्‍न भएको जानकारी दिए। उनले काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियान अन्तर्गत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए। विद्युत् चुहावटमा कमी ल्याउँदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दै अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ।

भारत र वेस्ट इन्डिज भिड्दै, प्लेइङ ११ मा को–कोले पाउलान् मौका?

काठमाडौंः  भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिजको दोस्रो खेल आज हुँदैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ । पहिलो खेल वर्षाका कारण रद्द भएकाले आज भारत–वेस्ट इन्डिजबीचकोे खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । यो पनि पढ्नुहोस् आज विराट र गेलले पूरा गर्न सक्लान् यो कीर्तिमान? बाँकी रहेका दुवै खेलमा जीत हासिल गरेर सिरिज जित्ने लक्ष्यमा रहेका भारत र वेस्ट इन्डिज विश्वकप २०१९ पनि पहिलो पटक वान डे श्रृंखला खेल्न लागेका हुन् । तीन खेलको टि–२० सिरिज ०–३ ले जीतेको भारत वान डे सिरिज पनि क्लिन स्विप गर्न चाहन्छ । भारतको सम्भावित प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त, केदार जाधव, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, खलील अहमद, मोहम्मद शामी र कुलदीप यादव । वेस्ट इन्डिजको सम्भावित प्लेइङ–११ः इभन लुईस, क्रिस गेल, शाई होप, निकोलस पूरन, शिमरन हिटमायर, रोस्टन चेज, जसन होल्डर (कप्तान), कार्लोस ब्रार्थवेट, फबियन एलेन, शेल्डन कट्रेल, र केमार रोच।

अन्त्येष्टिका लागि खाल्डोमा राख्ने क्रममा शिशु चल्मलाएपछि…

चितवन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो । मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको उनले जानकारी दिए। अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शङ्कास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन् । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको मल्लले बताए । घटना शुक्रबार भएको हो । बिहीबार ती बच्चा जन्मिएका थिए । गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो । रासस

गुल्मीमा जीप दुर्घटना, ५ जना गम्भीर घाइते

बुटवलः शुक्रबार साँझ गुल्मीको गुल्मीदरवार गाउँपालिका–३ गौडाकोटमा बुटवलबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्वरको जीप दुर्घटना भएको छ । दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालका अनुसार कति तल खसेको छ भन्ने कुरा एकिन भइसकेको छैन । घटनाको थप विवरणका लागि प्रहरी खटिएको छ । ‘वारी गौडाकोट र पारी गौडाकोटको पँधेरोजस्तो देखिने खोल्साबाट धेरै तल खसेको भन्ने सुनेर जाँदैछु’ गुल्मीदरवार गाउँपालिका प्रमुख अशोककुमार थापाले भने । उनले भने, ‘क्षति विवरण त्यहाँ नपुगे सम्म भन्न सक्दिन ।’ जीपमा ६ जना यात्रु सवार रहेको बुझिएको छ । दुर्घटनामा गम्भीर घाइते ५ जनालाई पाल्पा पठाइएको छ भने १ जना बेपत्ता भएका छन् ।

सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँ

काठमाडौंः  सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ वृद्धि भएको कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् । कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर पाँच करोड रुपैयाँबाट घटाएर दुई लाख ६६ हजार रुपैयाँमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोड रुपैयाँको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको ५० करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अघिल्लो वर्ष नै ३० करोड ४० लाख ७३ हजार रुपैयाँ फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो । उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी ‘क’ वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा ४५ करोड रुपैयाँ राजश्व दिँदै आएको बताइएको छ । उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक पाँच अर्ब रुपैयाँ खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक छ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको बताइएको छ ।

चुम्बन गरेको फोटो बाहिरिएपछि काठमाडौंमा युवक-युवतीले नै गरे आत्महत्या

काठमाडौं, साउन २१ । चुम्बन गरको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले काठमाडौंको कपनमा आत्महत्या गरेका छन्। अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि आत्महत्या गरेको अनुमानत गरिएको छ। सोताङ गाउँपालिका–४ नाम्लुङका २१ वर्षका अरिमचन्द्र नाछिरिङ अविवाहित हुन् भने माप्य दूधकोसी गाउँपालिका वाकुकी निर्मला खालिङ विवाहित हुन्। पति वैदेकि रोजगारीमा रहेकाले निर्मलाले अरिमसँग गोप्य सम्बन्ध रोखेका र त्यो सम्बन्ध बाहिरिएपछि सँगै झुन्डिएर आत्महत्या गरको हुनसक्ने प्रहरीको अनुमान छ। आइतबार साँझ ७ बजेर ३१ मिनेट जाँदा सोताङकै भीम राई सोलु नेपाल प्रयोगकर्ता रहेको फेसबुक आइडीबाट चुम्बन गरेको दृश्य अपलोड भएको थियो। भीम राई सोलु नेपालले भने फोटो अर्कै फेसबुक प्रयोगतकर्ताबाट प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनी पनि विदेशमै छन्। घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

एशेज सिरिजः पहिलो टेस्टमा अष्ट्रेलियाको शानदार जीत

काठमाडौं, साउन २० । इंग्ल्याण्डबीचको एशेज क्रिकेटको पहिलो टेस्ट अस्ट्रेलियाले २५२ रजले जितेको छ । अन्तिम खेलमा ३८५ रनको लक्ष्य पाएको इंग्ल्याण्डले सम्पूर्ण विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । उसका लागि दोस्रो इनिङमा क्रिस ओक्सले सर्बाधिक ३७ रन बनाए । बलिङमा नाथन लायनले ६ र प्याट कमिन्सले ४ विकेट लिए । दोस्रो इनिङमा स्टिभ स्मिथ र म्याथ्यु वाडेले शतक बनाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३८५ रनको विशाल लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २८४ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा पनि स्मिथले १४४ रन बनाएका थिए । इंग्ल्याण्ड पहिलो इनिङमा २७४ रन बनाउँदा अल आउट भएको थियो । इंग्ल्याण्डका लागि रोरी ब्रुन्सले १ सय ३३ साथै बेन स्टोक्सले ५० रन बनाएका थिए । अस्ट्रेलियाले दोस्रो इनिङमा ४ सय ८७ रन बनाएर खेल छाडेको थियो । जसमा स्मिथले १ सय ४२ रन साथै वाडेले १ सय १० रन बनाएका थिए ।

नक्कली राहदानी चिन्दैन अध्यागमन

काठमाडौं, साउन १६ । रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन अधिकारीहरुसँग नक्कली राहदानीवाहक व्यक्तिलाई किन आगमन छाप दिएको भनेर सोध्दा एउटै जवाफ दिन्छन्, ‘अध्यागमनको प्राविधिक पक्ष कमजोर छ । फादेबारे पनि त्यही भयो ।’ अध्यागमनको कर्मचारीको भनाइ एउटा सीमासम्म सत्य छ । ‘बायोमेट्रिक्स’ सहितको सप्टवेयर प्रणाली छैन । गतिलो प्रविधि नहुँदा अवाञ्छित विदेशीले सहजै प्रवेश पाउने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

आज – १६ साउन २०७६ बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । अरुको मन जित्न सकिनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख मिल्नेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज समाज सेवा गरे लोकमा प्रसिद्ध भईनेछ । स्वास्थ्यमा सुधार आउला । तिर्थाटनको योगछ । आफन्त संगको सम्बन्धपनि गाढा र सुमधुर रहनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेको आटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एक अर्कासंग केहि न केहि आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । -ज्यो.प. नारायणप्रसाद दुलाल

व्यापार युद्धको असरः आइफोनको बिक्री घटेसँगै कम्पनीको नाफा १३ प्रतिशतले घट्यो

काठमाडौं । प्रख्यात कम्पनी एप्पलको नाफा गत दुई महिनामा निकै घटेको छ । एप्पलले जारी गरेको त्रैमासिक रिपोर्ट अनु्सार, गत अप्रिल र जुनमा कम्पनीको नाफा १३ प्रतिशतले घटेर १०.०४ अरब डलरमा सीमित भएको हो । गतवर्ष जुन त्रैमासिकमा यसलाई ११.५ अर्ब डलरको नाफा भएको थियो । एप्पलको सर्वाधिक बिक्री हुने उत्पादन आईफोनको बिक्रीमा १२ प्रतिशतले ले ह्रास आएको कारण नाफा कम भएको बताइएको छ । यो वर्ष त्रैमासिकमा एप्पल आइफोनको बिक्रीबाट २५.९९ अर्ब डलरको आय थियो । जबकी गतवर्ष भने एप्पलको आइफोनको बिक्रीबाट कम्पनीले २९.४७ रुपैयाँ आय गरेको थियो । कुनै बेला प्रमुख बजारका रुपमा चिनिने चीनमा एप्पलका सामानको बिक्री ४ प्रतिशतले घटेको छ । गत जनवरी मार्चमा भने यो बिक्रि २० प्रतिशतले घटेको थियो । अमेरिकासँग चीनको व्यापार विवाद चुलिँदै गएपछि एप्पल कम्पनीलाई समेत सो को असर परेको बताइन्छ । एप्पलले आउँदो अगस्तमा एप्पल क्रेडिट कार्ड बजारमा ल्याउँदै छ । एप्पल र गोल्डमेन स्याक्सले संयुक्तरुपमा कार्ड लन्च गर्ने भएका हुन ।

विराट काेहली नयाँ कीर्तिमान नजिक, होला त पूरा?

काठमाडौं, साउन १५ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अर्को नयाँ कीर्तिमान रच्ने सम्भावना बढेको छ । यदि वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज २–० ले जितेमा विराटले नयाँ कीर्तिमान बनाउने भएका हुन् । वेस्ट इन्डिजसँगको टेस्ट सिरिज भारतले जितेमा विराट सबैभन्दा बढी ‘टेस्ट सिरिज’ जिताउने कप्तान बन्ने छन् । यो सिरिज जिते उनको नेतृत्वले २८ टेस्ट खेल जितेको कीर्तिमान बनाउने छन् । हालसम्म भारतका लागि सबैभन्दा बढी टेस्ट सिरिज महेन्द्रसिंह धोनीले जिताएका छन् । उनले ६० टेस्ट म्याचमा सर्बाधिक २७ म्याच जिताएका हुन् । विराटले ४६ म्याचमा २६ खेल जिताएका छन् । यदि विराटले वेस्टइन्डिजसँगको सिरिज ‘क्लि स्विप’ गरे भारतका लागि सर्बाधिक टेस्ट म्याच जिताउने कप्तानको कीर्तिमान बनाउने छन् । टेस्ट क्रिकेटमा हालसम्मका सफल कप्तान महेन्द्रसिंह धोनी– ६० टेस्ट म्याचमा २७ जीत विराट कोहली– ४६ टेस्ट म्याचमा २६ मा जीत सौरव गांगुली– ४९ टेस्ट म्याचमा २१ मा जीत यस्तै, वान डे र टेस्ट वरियतामा शीर्ष स्थानमा रहेको विराटले वेस्ट इन्डिजविरुद्ध ८८ रन बनाउने वित्तिकै अर्को कीर्तिमान बनाउने छन् । विराटले ८८ रन पूरा गरेसँगै वेस्ट इन्डिजविरुद्ध २ हजार रन पूरा गर्ने उनी पहिलो क्रिकेटर बन्ने छन् । हालसम्म वेस्ट इन्डिजविरुद्ध २ हजार रन कुनै पनि खेलाडीले बनाएका छैनन् ।

मानिसले विज्ञानमा विश्वास गरेका कारण स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धीः प्रधानमन्त्री

काठमाडौं, साउन ११ । काठमाडौंको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा शनिवारबाट नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले भगवान् माथिको विश्वास तथा भगवानमा भर परेको भए आज स्वास्थ्य क्षेत्रमा जटिल प्रकारको रोगको उन्मूलन तथा औषधिको विकास सम्भव नरहेको उल्लेख गरे । भगवान् बुद्धको उपदेशको स्मरण गर्दै उनले बुद्धले पनि पात तथा जडीबुटी छोएको र त्यस बेलादेखि नै जडीबुटी औषधि विज्ञानको गौरवपूर्ण इतिहास रहेको चर्चा गरे । ओलीले गङ्गालाल हृदय केन्द्रको स्थापनापछि हालसम्म १७ हजार बिरामी मुटुको शल्यक्रिया गरेकामा त्यहाँका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै गङ्गालाल हृदय केन्द्रले मुटुरोग लाग्न नदिन जनसाधारणमा सक्दो सचेतना फैलाउन जरुरी भएको बताए । ‘यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई समान भावले उपचार गर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानवजातीका रुपमा उपचार गर्नुपर्दछ ।’ कार्यक्रममा शहीद गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगीको उपचारलाई ध्यानमा राखेर स्थापना गरेको यो केन्द्रको स्थापनापछि धेरै मुटु रोगीले स्वास्थ्य उपचार र नयाँ जीवन पाएका बताए। समारोहको सभापतित्व स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गरेका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको समेत उपस्थिति थियो ।

भोलिको खेलबारे के भन्छन् कप्तान खड्का? (भिडियो)

काठमाडौं, साउन ११ । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गत कुवेतविरुद्ध ७ विकेटले विजयी भएपछि अब नेपालले भोलि सिंगापुरविरुद्ध अन्तिम खेल खेल्दैछ । आज बलरले राम्रो खेलेको र ब्याटिङमा पनि सबैले उत्कृष्ट प्रदर्शन गर्दा कुवेतलाई सजिलै हराएउनल सफल भएको कप्तान पारस खड्काले बताएका छन् । अब नेपालका लागि सिंगापुरविरुद्ध आइतबार हुने खेल नै मुख्य रहेको र त्यसका लागि टिमले उत्कृष्ट प्रदर्शन गर्ने कप्तान खड्काले बताए । उनले बलिङमा बसन्त रेग्मी र सन्दीप लामिछानेको योगदानको प्रशंसा गरे । विश्वकप छनोट खेल्ने नेपालको सपना पूरा गर्न सिंगापुर वरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताउँदै पारसले ‘बेस्ट क्रिकेट’ खेल्ने बताए । सिंगापुर टिम पनि बलियो रहेको र उसको होम मैदान रहेकाले टिमले पनि त्यहीअनुसारको योजना बनाएर खेल्ने उनको भनाइ थियो । ‘हामीले अहिलेसम्म बेस्ट अफ् द बेस्ट क्रिकेट खेलेका छैनौ, त्यो खेल सिंगापुरविरुद्ध देखाएमा विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेमा हामी विश्वस्त छौँ’, कप्तान पारसले भने । आइतबारको खेलमा सिंगापुरलाई हराएमा नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ ।

सीमामा पर्खाल बनाउने खर्च दिन अमेरिकी सर्वोच्च अदालतको अनुमति

बीबीसी । अमेरिकाको सर्वोच्च अदालतले दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल ठड्याउन राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागन कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने बताएको छ। क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा ५ मत र पक्षमा ४ मत परेको थियो। अमेरिका र मेक्सिकोलाई विभाजन गर्ने पर्खाल ट्रम्पको सन् २०१६ को निर्वाचनको प्रमुख चुनावी नारा थियो। डेमक्र्याटहरूले त्यसको कडा विरोध गर्दै आएका छन्। सर्वोच्च अदालतको निर्णयको अर्थ उक्त कोष क्यालिफोर्निया, एरिजोना र न्यू मेक्सिकोमा पर्खाल बनाउने योजनामा प्रयोग हुनेछ। क्यालिफोर्नियाको अदालतले उक्त कोषलाई पर्खाल निर्माणमा लगाउनेबारे कङ्ग्रेसले विशेषाधिकार नदिएको तर्क गरेको थियो। राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सर्वोच्च अदालतको आदेशलाई “ठूलो जित” भनेका छन्। शुक्रवार अमेरिका र ग्वाटेमालाले एक सहमतिमा हस्ताक्षर गरेका छन् जसमा हुन्डुरस र एल साल्भाडोरबाट ग्वाटेमाला हुँदै जाने आप्रवासीहरूले सुरुमा ग्वाटेमालामा शरण खोज्नुपर्ने व्यवस्था गरिएको छ। आदेशमाथिको प्रतिक्रिया अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले भनिन्, “आज साँझ सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पलाई सैनिक कोषबाट चोरेर व्यर्थको, निष्प्रभावी र कङ्ग्रेसले अस्वीकार गरेको सीमा पर्खाल बनाउनमा खर्च गर्न दिएको अनुमति गम्भीर रूपमा त्रुटिपूर्ण छ। हाम्रा संस्थापकहरूले जनताद्वारा शासित प्रजातन्त्रको निर्माण गरेका हुन् न कि राजतन्त्र।” द अमेरिकन सिभिल लिबर्टीज युनियनले ट्रम्पको सीमा पर्खालले गर्ने क्षति रोक्नका लागि नाइन्थ सर्कीट कोर्ट अफ अपील्स समूहबाट तत्काल निर्णय आउनुपर्ने आग्रह राखेको छ। उक्त कोषको उपयोग रोकियोस् भनेर मुद्दा हालेकी वातावरणीय समूह द सीरा क्लबकी न्यायाधिवक्ता ग्लोरिया स्मिथले भनिन्, “आजको निर्णयले सैनिक कोषलाई सीमा पर्खाल बनाउनमा प्रयोग गर्न अनुमति दिएको छ जसले समुदाय, सार्वजनिक जमिन तथा क्यालिफोर्निया, न्यू मेक्सिको र एरिजोनाको पानी समाप्त पार्नेछ।” यो वर्षको सुरुमा सङ्कटकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको महत्त्व बनेको उक्त पर्खाल बनाउन ६.७ अर्ब डलर रकम आवश्यक परेको बताएका थिए। ३,२०० किलोमिटर सीमामा पर्खाल लगाउने कुल खर्च २३ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। डेमोक्र्याटहरूले सङ्कटकाल लगाउने राष्ट्रपतिको निर्णय संविधानमा व्यवस्था गरिएको भन्दा बाहिर रहेको दाबी गरेका छन्। करिब २० राज्यहरू र कैयौँ समूहले कङ्ग्रेसलाई छलेर सङ्कटकाल घोषणा गरेको भन्दै राष्ट्रपतिको कदम रोक्न मुद्दा हालेका छन्। वातावरणवादी समूहहरूले पर्खालविरुद्ध अभियान चलाउँदै त्यसले जङ्गली वन्यजन्तुमाथि नकारात्मक असर पार्ने दाबी गर्दै आएका छन्। गत फेब्रुअरी महिनामा कङ्ग्रेसले टेक्ससमा रियो ग्र्यान्डी भ्यालीमा “पदयात्रीका लागि बार” बनाउन १.३८ अर्ब रकम अनुमोदन गरेको थियो जुन ट्रम्पले चाहेको भन्दा निकै कम रकम थियो। तल्लो सदनले पनि पर्खाल योजनाका लागि अरू रकम पठाउनमा रोक लगाउन भन्दै कानुनी बाटो अवलम्बन गरिरहेको छ। सीमामा अहिले के भइरहेको छ? अमेरिकी अधिकारीहरूका अनुसार गत जुन महिनामा अनधिकृत रूपमा सीमा काट्न चाहने मानिसहरूको सङ्ख्या २८%ले घटेको छ। ट्रम्प प्रशासनले मेक्सिकोप्रति लिइएको नयाँ नीतिका कारण त्यसरी सङ्ख्या घटेको दाबी गर्दै आएको छ। संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगका अनुसार अमेरिका मेक्सिको सीमामा सन् २०१९ मा मात्र १३ जना बालबालिकासहित १७० जनाको मृत्यु भएको छ। बीबीसी नेपालीबाट