श्रममन्त्रीको ९० दिने कार्ययोजनाः विदेशबाट श्रम स्वीकृति, एक लाख सामाजिक सुरक्षामा

काठमाडौंः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता अत्यन्त निराशाजनक देखिएको बेला सरकारले रोजगारदाता र श्रमिकको सहभागिता बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज आगामी तीन महिनाको कार्ययोजना सार्वजनिक गर्दै १५ हजार रोजगारदाता र थप एक लाख योगादनकर्तालाई योजनामा आबद्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन गत मङ्सिर ११ गते योजना शुभारम्भ गरेको थियो । योजना घोषणा भएको एक वर्ष पार गरे पनि रोजगारदाता र श्रमिकको सहभागिता उत्साहजनक देखिएको छैन । सामाजिक सुरक्षा कोषका अनुसार सोमबारसम्म एक लाख ३५ हजार ७९३ श्रमिक र ११ हजार ९८० रोजगारदाता योजनामा सामेल भएका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाअनुसार नेपालमा सञ्चालित प्रतिष्ठानको सङ्ख्या नौ लाख २२ हजार ४४५ रहेको छ । यस्तै ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति सक्रियरूपमा लागेका छन् । विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि अझै निकै ठूलो सङ्ख्यामा रोजगारदाता र श्रमिक यो प्रक्रियामा सामेल भएका छैनन् ।

सोमबारसम्म सबैभन्दा बढी प्रदेश नं ३ बाट ९७ हजार ७८२ श्रमिक कोषमा सूचीकृत भएका छन् । यसैगरी प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट सात हजार ७६२, गण्डकी प्रदेशबाट पाँच हजार ५७, प्रदेश नं ५ बाट तीन हजार २४१, सुदूरपश्चिम प्रदेशबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ ।

कोषमा सूचीकृत हुने रोजगारदातामा प्रदेश नं ३ का बढी रहेका छन् । प्रदेश ३ का सात हजार ९९६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । यस्तै प्रदेश नं १ का एक हजार ८६०, प्रदेश नं ५ का ८५८, गण्डकी प्रदेशका ५४८, प्रदेश नं २ का ४७१, सुदूरपश्चिम प्रदेशका १२७ र कर्णाली प्रदेशका १२० रोजगारदाता कोषमा सूचीकृत भइसकेका छन् । कोषमा रु ३९ करोड ६५ लाख ४४ हजार योगदान रकम सङ्कलन भएको छ ।

बढीभन्दा बढी रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन रणनीतिक सञ्चारसहित आद्योगिक कोरिडोरमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ । यस्तै आर्थिक क्षेत्रका आधारमा उद्योग प्रतिष्ठानको वर्गीकरण गरी रोजगारदाता र श्रमिकसमेतको सहभागितामा १२ वटा त्रिपक्षीय अन्तरक्रिया एवं सामाजिक संवादको कार्यक्रम सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ ।

तीन महिनाभित्रै विदेशबाट श्रम स्वीकृति
कार्ययोजनामा विदेशस्थित कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याइने उल्लेख छ । मन्त्री यादवले तीन महिनाभित्र गन्तव्य मुलुकमा रहेको नेपाली नियोगबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी विदेशस्थित कूटनीतिक नियोगबाटै श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । ऐनको दफा २१ (ख) को उपदफा २ मा विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगबाट बढीमा दुई पटकसम्म श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ ।

गन्तव्य मुलुकमा काम गरिरहेका नेपाली कामदारले श्रम स्वीकृतिको अवधि सकिएर पुनः श्रम स्वीकृति लिनका लागि विभागको ताहाचल कार्यालय आउनुपर्ने अवस्था थियो । ऐन संशोधन भएको निकै लामो समय बिते पनि सो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसाल अब छिट्टै विदेशस्थित कूटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गरिने बताउँछन । ‘कामदारले तिर्नुपर्ने कल्याणकारी र बीमाबापतको शुल्क अनलाइन माध्यमबाट भुक्तानी हुने व्यवस्था भएलगत्तै यस प्रक्रिया शुरु हुन्छ,’ उनले भने, ‘बीमा कम्पनीले जतिसक्दो चाँडो प्रिमियम अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था गरिदिए विदेशबाटै श्रम स्वीकृति जारी हुन्छ ।’

कार्ययोजनामा बीमा र कल्याणकारी कोष बापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गरिने उल्लेख छ । यसैगरी वैदेशिक रोजगार विभागका सबै अभिलेखको विद्युतीय अभिलेखाङ्क गरिने छ । दुई वर्ष पूराना सबै संस्थागत उजूरीको छानबिन प्रक्रिया सम्पन्न गरिने छ ।

दक्ष जनशक्तिलाई श्रम बजारमा पठाउने नीति अख्तियार गरेको मन्त्रालयले तीन महिनाको अवधिमा थप १० हजारलाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क सीप तालीम प्रदान गर्ने लक्ष्य लिइएको छ । बोर्डले सीप तालीम सञ्चालन गर्ने संस्थासँग समझदारी गरिसकेको छ । वैदेशिक रोजगारबाट फर्केका कामदारको आर्थिक तथा सामाजिक पुनः एकीकरणको कार्यक्रम कार्यान्वय गरिने कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय आप्रवासन स्रोत केन्द्रमार्फत ३९ जिल्लामा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्श सेवा प्रदान, द्विपक्षीय श्रम सम्झौता÷समझदारीको नमूना दस्तावेज सार्वजनिक तथा ओमनसँग द्विपक्षीय श्रम समझदारी गरिने छ । यस्तै गन्तव्य मुलुकमा सञ्चालन गरिएका सुरक्षित गृहलाई स्तरोन्नति गर्नाका साथै अन्य गन्तव्य मुलुकमा सुरक्षित गृह खोल्न सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरिनेछ ।

वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस)मा सरोकारवालाको आबद्धता बढाउन थप परिमार्जन र परिष्कृत गरिने कार्ययोजनामा समावेश गरिएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन २०७५ असोजदेखि कार्यान्वयनमा ल्याइएको सो प्रणालीमा एक हजार ६०० बढी निकायको आबद्धता गराइएको छ । रासस

बुहारीसँगको हिमचिमले जेल पुर्‍यायो

तनहुँः तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई जन्मकैदको फैसला सोमबार सुनाएको हो। सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई तीन वर्ष कैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो। प्रहरीले अभियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो। हत्यामा संलग्न रहेका भारती मृतकका बुहारी र दमै भान्जा हुन्। मृतकका श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान् सुकबहादुर मङ्गलबहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकामा बेपत्ता भएकाले अनुसन्धान गरी पाऊँ भनी विसं २०७१ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय निवेदन दिएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्दा मृतक रामबहादुरको हत्या भारतीको योजनामा भएको पत्ता लगाएको थियो। भारतीले सुकबहादुर र मङ्गलबहादुरलाई पाँच÷पाँच हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जेठाजु–बुहारी नाता पर्ने भारती र रामबहादुरबीच हिमचिम रहेको, घुम्‍नका लागि काठमाडौंसम्म जाने गरेको र घरपरिवारका अन्य सदस्यले सो कुरा थाहा पाएका कारण आफ्नो पतिसँग सम्बन्ध बिग्रने डरले भारतीले रामबहादुरको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुकबहादुर र मङ्गलबहादुरले मृतक रामबहादुरलाई विसं २०६८ साउन ९ गते दुलेगौडा पारी रहेको दिदीको घरमा जाउ भनी बोलाइ ठाउँ–ठाउँमा मादक पदार्थ सेवन गराउँदै शुक्लागण्डकी नगरपालिका–४ र ८ को सिमानामा पर्ने सेती नदीमाथिको पुलबाट धकेलेर हत्या गरेका थिए। रामबहादुरको हत्या गरेपछि सुकबहादुर परियार भारततर्फ काम गर्न भागेका थिए। मङ्गलबहादुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका थिए। मङ्गलबहादुर २०७२ मा नेपाल फर्केर चितवनतिर बस्दै आएका थिए। रासस

इटालियन सिरिएमा रोनाल्डोको पहिलो ह्याट्रिकसँगै युभेन्टसको सहज जीत

काठमाडौंः इटालियन सिरिएमा क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गर्दा युभेन्टसले काग्लियारीमाथि ४–० को सहज जीत निकालेको छ । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफको सुरुवतामा रागनार क्लाभानको गल्तीको फाइदा उठाउँदै रोनाल्डोले साबिक विजेतालाई अग्रता दिलाएका थिए । खेलको ६७ औँ मिनेटमा मार्को रोगले पाउलो डिबालालाई फल गरेपछि युभेन्टसले पेनाल्टी पायो जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे । रोनाल्डोले त्यसपछि गोन्जालो हिग्वाइनका लागि गोलको अवसर सृजना गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए । त्यसको केही मिनेटपछि नै रोनाल्डोले तेस्रो गोल गर्दै करियरको ५६ औँ ह्याट्रिक पूरा गरे । योसँगै रोनाल्डो युरोपको शीर्ष तीन लिगमा ह्याट्रिक गर्ने एलेक्सिस सान्चेज पछि दोस्रो खेलाडी बनेका छन् । रोनाल्डोले इङ्ग्ल्याण्ड, स्पेन र इटालीमा ह्याट्रिक गरेका छन् । रियल म्याड्रिडबाट सन् २०१८ मा युभेन्टस आएपछि रोनाल्डो यतिबेला उत्कृष्ट फर्ममा रहेका छन् । उनले लिगका पछिल्ला ५ खेलमा गोल गरेका छन् । जीतपछि केही समयका लागि युभन्टेस लिगको शीर्ष स्थानमा उक्लिए पनि इन्टर मिलानले नापोलीलाई ३–१ ले हराउँदै गोल अन्तरको आधारमा पुनः शीर्ष स्थानमा उक्लियो । १८ खेलपछि इन्टर र युभे दुवैको समान ४५ अङ्क रहेको छ । इन्टरको जीतमा रोमेलु लुकाकुले दुई गोल गरे भने लाउटारो मार्टिनेजले एक गोल गरे । नापोलीका लागि आर्काडिउस मिलिकले एक गोल फर्काए । म्यान्चेस्टर युनाइटेडबाट इन्टर आएपछि लुकाकुले लिगमा १४ गोल गरिसकेका छन् । उनीभन्दा अघि १९ गोलसहित लाजियोका सिरो इमोबाइल मात्र रहेका छन् । १३ गोलसहित रोनाल्डो तेस्रो स्थानमा रहेका छन् । उता, ज्लाटान इब्राहिमोविचको पहिलो खेलमा एसी मिलान साम्पडोरियासँग गोलरहित बराबरीमा रोकियो । सोमबार भएका अन्य खेलमा फ्लोरेन्टिना र बालोग्नाले १–१ को बराबरी खेल्यो, एटलान्टाले पार्मालाई ५–० ले हरायो भने उडिनेजेले लिसलाई १–० ले पराजित गर्यो । एजेन्सी

पर्वतमा विश्वकै कीर्तिमानी अग्लो र लामो पुल निर्माण हुँदै

बागलुङः पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ । करिब पाँच सय २५ मिटर लम्बाइ र २०० मिटर उचाइमा निर्माण हुने पुलको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सर्वेक्षण गरेको हो । कुश्माको तीन स्थानमा सर्वेक्षण गरिएकोमा उपयुक्त स्थानमा पुलको लागत निकालिने सर्वेक्षणमा खटिएका इञ्जिनीयर हेमराज शर्माले जानकारी दिए । “तीनवटै स्थानबाट ५०० मिटरभन्दा धेरै लम्बाइ देखिएको छ”, उनले भने, “उपयुक्त स्थान छनोट गरेर खाका दिन्छौँ ।” शर्माले कुश्माका विभिन्न स्थानमध्ये लभ्लीडाँडास्थित माउण्टेट भ्यू होटल साइडको क्षेत्र उपयुक्त हुनसक्ने जानकारी समेत दिए । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर केसीका अनुसार कुकुरगाढे क्षेत्रको स्थानको क्षेत्र विभिन्न व्यक्तिको आवादी क्षेत्र भएकोले पुल त्यहीँ उपयुक्त हुन्छ । “पुल बनिसकेपछि बस्ती विस्तार र अरु विकास पनि चाहिन्छ”, उनले भने, “अन्यत्र सार्वजनिक जग्गा छ । हामीले व्यावसायिक र बस्ती विस्तारका लागि उपयुक्त जग्गा छनोट गर्नुपर्छ ।” कुश्मा–५ की अध्यक्ष चित्रकला भारती शर्माले पनि सबै कुश्मालाई समेट्ने गरी पुल बनाउन जमिनको छनोट भइरहेको जानकारी दिए । “बलेवाको विमानस्थललाई समेट्नुपर्‍यो”, उनले भने, “कुश्माको व्यावसायिक हितमा पनि सोच्नुपर्छ ।” यो पुल निर्माण भए कुश्मा बजार बागलुङ नगरपालिकाका दुई वडासँग प्रत्यक्ष जोडिने छ । करिब ३० हजार सर्वसाधारण लाभान्वित हुनेछन् । पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण मानिने भएकोले पुल आवश्यक भएको स्थानीय अगुवाले बताएका छन् । “अहिलेसम्म बनेका भन्दा यो पुल अग्लो र लामो हुन्छ”, बलेवाका बलबहादुर पाठकले भने, “बागलुङ र कुश्मामा पर्यटनबाट समृद्धि चाहनेले यो पुललाई प्राथमिकतामा राख्नुपर्छ ।” बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद सूर्य पाठकको सक्रियतामा पुलको खाका तयार हुन लागेको जनाइएको छ । दुई ठूला नदीले घेरिएको कुश्मालाई अग्ला पुलले वारीपारीका बस्तीसँंग नजिक बनाउने क्रम अग्ला पुलकै कारण बढ्दो छ । दशकअघि बनेको कुश्मा–ज्ञादी पुलले कुश्मा र कटुवाचौपारी आसपासका बासिन्दालाई सुविधा पुगेपछि अहिले कुश्मामा आधा दर्जन आकाशे पुल बनिसकेका छन् । कालीगण्डकी र मोदी खोलाको बीचमा पर्ने कुश्मालाई एकातर्फ बागलुङ र अर्कोतर्फ कुश्माकै अन्य वडाका साथै फलेवास नगरपालिका जोड्न धमाधम पुल बनिरहेका छन् । मुलुककै अग्लो दाबी गरिएको ३४४ मिटर लम्बाइ र १३५ मिटर उचाइको कुश्मा–ज्ञादी पुल बनेको दशक नबित्दै कुश्मा आसपासमा उस्तै प्रकृतिका आधा दर्जन पुल बनिसकेका छन् । कुश्मा–मुडिकुवा, कुश्मा–कैया, खरेहा–अधिकारीफाँट पुल बनेर सञ्चालनमा आइसकेका छन् । कुश्मा–कैयाले कुश्मालाई बागलुङ नगरपालिकाको वडा नम्बर १४ लाई जोडेको छ । कुश्मा–मुडिकुवाले कुश्मा र फलेवास नगरपालिका जोडेको छ । कुश्मा–अधिकारीफाँटले कुश्माकै वडा नम्बर १० पिपलटारी जोडेको छ । कुश्माकै उपल्लो बजारबाट बञ्जीजम्पसहितको झोलुङ्गे पुल निजी क्षेत्रबाट बन्दैछ । स्थानीय व्यवसायीले करिब रु १५ करोडको लगानीमा पुल निर्माण गरेर बन्जी र स्काइ साइक्लिङलगायतका पर्यटकीय खेल सञ्चालनको तयारी थालेका हुन् । कुश्मा–७ खरेहा र कुश्मा–९ कटुवाचौपारीस्थीत अधिकारीफाँट जोड्ने गरी मोदीखोलामा पुल निर्माण भइसकेको छ । पर्वतकै कुश्मा–१ पाङबाट बागलुङ बजार जोड्न ५४४ मिटर लामो र १६० मिटर उचाइको पुलको काम शुरु भइसकेको कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए । उनका अनुसार यो पुल सिङ्गल स्पानबाट बन्ने पुलमा विश्वकै कीर्तिमानी पुल बन्नेछ । पाँच करोडको स्टमेट अनुमान गरिएको यो पुल बनेपछि कुश्मा र बागलुङवासीलाई यात्रामा सहज मात्रै नभएर जीविकोपार्जनमा पनि धेरै सुधार आउने अपेक्षा गरिएको छ । नयाँ पुलसहित कुश्मा बजार आसपासमा अग्ला पुलको सङ्ख्या आठ पुग्ने छ । रासस  

आउँदो सिजनको आइपीएलका लागि सीएसकेको बेस्ट प्लेइङ ११

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्स ९सिएसके० सर्बाधिक सफल टिम मध्येको एक हो । उसले १२ औँ संस्करणसम्म आइपुग्दा ३ पटक उपाधि जित्न सफल भएको छ । चेन्नई टिमको नेतृत्व भारतीय क्रिकेट टिमका अनुवभी एवं चर्चित विकेटकीपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीले गर्दै आएका छन् । उनकै कप्तानीमा चेन्नईले हरेक सिजनमा शानदार प्रदर्शन गर्दै आएको छ । आगामी सिजनमा पनि चेन्नईले उत्कृष्ट प्रदर्शन गर्नका लागि तयारी सुरु गरिसकेको छ । चेन्नई गत संस्करण आइपीएलमा मुम्बई इन्डियन्सविरुद्ध झिनो रन अन्तरले पराजित हुन पुगेको थियो । योपटक पनि चेन्नईले टिममा खासै खेलाडी परिवर्तन गरेको छैन । उसले आइपीएल २०२० का लागि स्पिनर पियूष चावला, साम करन, जोस हेजलउड, आर किशोरलाई ‘अक्सन’बाट खरिद गरेको छ । धेरै खेलाडी परिवर्तन नगरेको सिएसकेको टिम योपटक पनि सन्तुलित देखिन्छ । भारत सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आइपीएल २०२० का लागि सिएसकेको ‘बेस्ट प्लेइङ ११’ यस्तो हुनसक्छ– शेन वाट्सन, फाफ डुप्लेसिस, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी, केदार जाधव, रवीन्द्र जडेजा, डिजे ब्रावो, दीपक चाहर, लुंगि एन्गीडी र पियूष चावाला । सिएसकेसँग अरभजन सिंह, मिचेल सान्टनर, इमरान ताहिर, सार्दुल ठाकुर, साम करन, जोस हेजलउड लयाग स्टार क्रिकेटर पनि छन् ।  

‘काँधभरी फुली लगाएका नालायकहरु स्वीकार्य छैनन्, संगठनमा दाग लगाई बसिरहन्न’

काठमाडौंः महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निष्पक्ष भएर काम गर्न निर्देशन दिएका छन् । मंगलबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उनले काँधभरी फुली लगाएका नालायकहरु स्वीकार्य नहुने चेतावनी दिए । उनले कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्न निर्देशन दिए । ‘म उच्च व्यावसायिक क्षमता र ईमान्दारीता बोकेको, जनभावना अनुरूपमा कार्य गर्ने सिपाहीलाई पनी सलाम गर्छु सम्मान गर्छु,’ उनले चेतावनी दिँदै भने, ‘तर, काँधभरी फुली लगाएर जनताको आशाभरोसा भएर पनी लोभ–लाभ र कमजोर, तुच्छ व्यावसायिकता बोकेका नालायकहरु स्वीकार्य छैनन् ।’ उनले भने, ‘म तपाई दशौं हजार मेरो प्रत्यक्ष निगरानीमा छु । तपाईहरुको आँखाले म कहीँ कुनै लोभ–लाभमा परेको देखे औंल्याउनुस्, तपाईहरुलाई नै स्यालुट गरेर बिदा हुन्छु, यो संगठनमा दाग लगाई बसिरहन्न ।’ उनले आफू महानगरीय प्रहरी कार्यालयको प्रमुख भएर आए देखिनै एक्स्क्युज भन्ने शब्द व्यक्तिगत शब्दकोषबाट हटाएकोले गल्ती गर्ने प्रहरी कर्मचारीलाई एक्स्क्युज नहुने गरी कारवाही गर्ने चेतावनी दिए । समाजमा शान्ति सुरक्षा कायम गरी अपराधको अनुसन्धान गर्ने क्रममा कसैको पनि अनुहार नहेरी कानूनअनुसार सबैलाई कारवाही गर्न उनले निर्देशन दिएका छन् ।

छाउगोठमा राख्नेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको निर्देशन

काठमाडौंः गृह मन्त्रालयले महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोक्का गर्न निर्देशन दिएको छ । मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र गर्दै महिलाहरुलाई छाउगोठमा राख्नेहरुको बृद्धसहित सबै सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्न निर्देशन दिएको हो । गृहले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हरेक जिल्लामा समिति बनाउन र छाउगोठ नष्ट गर्न पनि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

दाङका अधिकांश गाउँपालिका सचिवविहीन

दाङः दाङका अधिंकाश गाउँपालिका सचिवविहीन छन्। बबई, दंगीशरण, गढवा, राजपुर गाउँपालिकाका केही वडामा सचिव छैनन्। तर, बंगलाचुली गाउँपालिकाको आठवटै वडा कार्यालयमा वडा सचिव छैनन्। दुर्गम स्थानमा रहेको बंंगलाचुलीमा वडा सचिव नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन्। चार गाविस मिलाएर निर्माण गरिएको गाउँपालिकामा साविकका गाविस सचिवहरुले आठवटै वडा कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। तर, कर्मचारी समायोजनमा उनीहरुको पनि अन्यत्र सरुवा भएकाले वडा कार्यालय सचिवविहीन भएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए। वडा सचिव नहुँदा समयमै काम नभएकाले गाँउपालिकाका कार्यालय धाउनु परेको कमला पुनले गुनासो गरिन्। वडा सचिव नहुँदा गाउँपालिकाबाट प्रदान गरिने प्रशासनिक कार्यमा लामो समयदेखि प्रभाव परिरहेको नागरिकहरुको गुनासो छ।

वामदेवलाई उपाध्यक्ष बनाउने नेकपाको निर्णय

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ । एकहप्तासम्म चलेको स्थायी कमिटी बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । पुस २३ गते बस्ने केन्द्रीय कमिटी बैठकले यो प्रस्ताव पारित गरेमा गौतम नेकपा उपाध्यक्ष हुनेछन् । साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

२५ ठाउँमा सभा गर्दै सीके राउतको जनमत पार्टी

काठमाडौंः सीके राउत नेतृत्वको जनमत पार्टीले तराई–मधेसका सबै जिल्लामा आमसभा गर्ने भएको छ। पर्सामा भएको केन्द्रीय समिति बैठकले पुस पहिलो सातादेखि फागुनभित्र आमसभा गर्ने कार्यतालिका तय गरेको छ। पूर्वको झापाबाट पश्चिमको कञ्चनपुरसम्म आमसभा गर्ने गरी ७ पुसदेखि १७ फागुनसम्मको कार्यतालिका सार्वजनिक पार्टी अध्यक्ष राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तराईका स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको उक्त पार्टीले संगगठन विस्तारलाई तीव्रता दिँदै आएको छ। आगामी निर्वाचनमा देशभर उम्मेदवारी दिने उक्त पार्टीले जनाएको छ। जनमतले ७ मंसिरमा काठमाडौंमा आमसभा गरेको थियो। राउत गत फागुनमा शान्तिपूर्ण राजनीतिमा आएका थिए। उनले वैशाखमा विगतका संगठन विघटन गरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। ‘हामी पूर्णरूपमा संगठन विस्तारमै छौ’, जनमतका नेता चन्दन सिंहले अन्नपूर्णसँग भने। राम्रो मत नल्याए पनि उपनिर्वाचन ‘सही प्रयोग भएको’ निष्कर्ष बैठकले निकालेको छ। मधेसकेन्द्रित अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने रणनीति जनमतले लिएको छ। बैठकले मधेस नेतृत्व पुञ्ज गठन गर्ने निर्णयसमेत गरेको छ। पुञ्जको संयोजकमा केन्द्रीय सदस्य ललित मल्लिक ‘सानु’ छन्। समाजवादी र राजपामा असन्तुष्ट बनेका छुट्टै मञ्च उपलब्ध गराउन यो गठन गरिएको एक नेताले बताए। अन्नपूर्ण पोष्ट् दैनिकबाट

नेकपा स्थायी कमिटी बैठकः पार्टी पुनर्निर्माणबारे यस्ताे छ भुषालको बेग्लै प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेता घनश्याम भुसालले पार्टी पुनर्निर्माणसम्बन्धि बेग्लै प्रस्ताव पेश गरेका छन् । आइतबारदेखि शुरुभएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले लिखित प्रस्ताव पेश गरेका हुन् । नेता भुसालले पार्टी एकता र सरकार गठनको दुई वर्ष सन्तोषजनक नभएको भन्दै नेतृत्वलाई धरातलमा उभ्भिन आग्रह गरेका छन् । पार्टी पुनर्निर्माणबारे यस्ताे छ भुषालको प्रस्ताव : कमरेड अध्यक्ष, क्रान्तिसम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नु पथ्र्यो त्यो हुन सकेन । त्यसले गर्दा सबै क्षेत्रमा नयाँ नयाँ समस्याहरु देखा पर्दैछन् । एउटा राजनीतिक पार्टीले सामना गर्नु पर्ने अनगिन्ती समस्या हुन्छन् तर तिनको अध्ययन र समाधान भने विचार र सङ्गठनको एउटा निश्चित ढाँचाबाट गर्छ । अहिले समस्या नयाँ नयाँ रुपमा आएका छन् तिनको समाधान पुरानै ढाँचाबाट समाधान खोज्दा हामी अझ समस्याग्रस्त हुँदै जानेछौँ । त्यसर्थ, हामीले आफुलार्ई नयाँ ढाँचामा उभ्याउन हिम्मत गर्नै पर्छ । आज नेपाल कम्युनिष्ट पार्टी जुन ऐतिहासिक जहाँ उभिएको छ त्यो असाधारण सम्भावना र चुनौतिको बिन्दु हो । हामीले जे गर्दै छौँ त्यो विश्वकै कम्युनिष्ट आन्दोलनमा मौलिक छ । जसरी हाम्रा उपलब्धीहरु हाम्रो आफ्नो बाटो र अनुभवमा आधारित छन् त्यसैगरी हाम्रा चुनौति पनि अरुका भन्दा फरक छन् । राजनीतिक पार्टीहरु सत्तामा पुगेपछि जनतासँग आफैले गरेका बाचाहरुको कठिनतम परिक्षामा सामेल हुन्छन् । आज हामी त्यहि परिक्षामा छौँ । गएका दुई बर्ष हामी अलमलिएको जस्तो देखिएका छौँ । बाँकि समयको हरेक क्षण हाम्रालागि असाधारण महत्वका छन् । नेपालको कम्युनिष्ट पार्टीको मौलिकता के छ भने हामीले अन्य बुर्जुवा पार्टीहरुसँग सहकार्य गरेर जनवादी क्रान्ति सम्पन्न गरेका छौँ, हाम्रै नेतृत्वमा संविधान घोषणा गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका छौँ र कम्युनिष्ट पार्टीको बहुमतका साथ संघीय, प्रादेशिक र स्थानीय तहमा पर्याप्त बहुमतका साथ सरकार बनाएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको आवश्यकता अनुरुप कैयन् कानूनहरु बनाइएका छन् । विदेश सम्बन्धमा हामीले, हाम्रो सरकारले जुन बाटो तय गरेको छ त्यो ऐतिहासिक महत्वको छ । आगामी दिनमा त्यसको महत्ता अझै स्पष्ट हुँदै जानेछ । सङ्क्षेपमा, हामीले गणतन्त्रलाई संस्थागत गरेका छौँ, राजनीतिक स्थीरता कायम गरेका छौँ र लामो समयपछि वैदेशिक मामिलामा मुलुक ठिक ठाउँमा उभिन शुरु गरेको छ । हरेक क्रान्तिको वास्तविक अनुहार क्रान्तिपछि देखिन्छ । क्रान्तिका उपलब्धिबाट बढी उत्साहित क्रान्तिकारीहरुले भविष्यका चुनौतिलाई नजरअन्दाज गर्दा र झन् ठूला कार्यभार नदेख्दा क्रान्तिहरु ओरालो लाग्न थाल्छन् । अर्थात् क्रान्ति गर्नु महत्वपूर्ण छ तर क्रान्तिलाई जोगाउनु अझ महत्वपूर्ण छ । किनकि क्रान्तिकारी हुनु भन्दा क्रान्तिकारी भैरहनु धेरै गाह्रो हुन्छ ।क्रान्तिबाट आएको हाम्रो पीँढीले अझ बढी त्याग गर्न आफु तयार भएको र त्यसका लागि तयार रहन आम जनतालाई आह्वान गर्नु पथ्र्यो । किनकि त्यसले हामीलाई क्रान्तिमाथि खेलबाड हुनसक्ने खतराबाट जोगाउँछ । क्रान्तिले इतिहासका सबै गल्तीको हिसाब–किताब चुक्ता गरिहाल्दैन बरु खातामात्रै खोल्छ । यस कुरामा भने हाम्रा विगत दुइवर्ष सन्तोषजनक रहेनन् । यी दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौँ भन्ने देखिन्छ । कमरेडहरु ! खासगरी नेतृत्वका कमरेडहरु ! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ति टेकौँ ! गएको दशवर्षदेखि नेपाली जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षले हाम्रो आन्दोलनलाई सैद्धान्तिकरुपमा डो-याएको छ । सामन्तवाद अन्त्य भएको र समाज पुँजीवादी भएको तथ्यलाई हामीले देखेको हुँदा त्यो निष्कर्षमा पुगेका थियौँ । तर त्यस सैद्धान्तिक निष्कर्षको महत्वलाई हामीले राजनीति र सङ्गठनका क्षेत्रमा स्थापित गर्न सकेनौँ । पूर्व नेकपा एमाले र नेकपा माओवादी मात्रै होइन आजको एकिकृत पार्टीले पनि त्यो काम जिम्मेवारी पूर्वक गर्न सकेन । सिद्धान्तको सत्यतालाई सैद्धान्तिकरुपले मात्रै पुष्टि गर्ने पद्दति माक्र्सवादी पद्दति होइन । माक्र्सवादले हरेक सैद्धान्तिक निष्कर्षको परिक्षण वास्तविक जीवनमा खोज्छ । हामीले अहिले ‘नेपाल अर्ध सामन्ती–अर्ध औपनिवेशिक रहेन, यो पुँजीवादी भैसक्यो, जनवादी क्रान्ति सम्पन्न भयो, हाम्रो आगामी कार्यभार समृद्धि र समाजवाद हो’ जस्ता पदावलीहरुलाई दोहोर्‍याइरहेका छौँ, त्यसै वरिपरी चक्कर लगाइरहेका छौँ । त्यस बाहिर हेर्नै छोडेका छौँ । त्यसले गर्दा सिद्धान्त, राजनीति र सङ्गठनका क्षेत्रमा एकसाथ गतिरोध, अस्पष्टता र अराजकता देखिँदैछ । नेपाली समाज पुँजीवादी हो तर यो उत्पादक÷राष्ट्रिय पुँजीको वर्चस्व भएको समाज होइन । बरु यो अनुत्पादक÷दलाल पुँजीको वर्चस्व भएको पुँजीवाद हो । राष्ट्रिय पुँजीको विकास नगरी समाजवादको आधार तयार हुँदैन तर राष्ट्रिय पुँजीको विकासले मात्रै समाजवादको ग्यारण्टी गर्दैन । त्यसैले हाम्रा अगाडि राष्ट्रिय पुँजीको विकास गर्ने र अर्कोतर्फ समाजवादको आधार तयार गर्ने कार्यभार छ । यो कार्यभार नै आज बाँचेको हाम्रो पीढीको अभिभारा हो । यसलाई आवश्यकरुपले विस्तार गर्दा रणनीति, कार्यनीति, कार्यभार, न्यूनतम र अधिकतम कार्यक्रमजस्ता विषय स्वतः समाधान हुनेछन् । यो पुुँजीवादको खास चरित्र दलाल पुँजीवादी छ भन्नुको अर्थ के हो भने आर्थिक क्षेत्रमा मात्रै होइन, त्यसले आफुजस्तै राजनीति, कानूनी तथा न्यायिक व्यवस्था, कर्मचारीतन्त्र, बौद्धिक तथा नागरिक समाज, संस्कृति र सामाजिक चेतनाका बहुविध रुपहरु बनाएको छ । हरेक उत्पादन पद्धतिले आफुलार्ई निरन्तर पुनरुत्पादन गरिरहन्छ । दलाल पुँजीवादले पनि आफु अनुकुलका पार्टी, नेता, मन्त्री, सांसद, बौद्धिक, पत्रकार, कर्मचारी, सामाजिक अभियानकर्ताहरु पनि जन्माइरहन्छ । आजको कम्युनिष्ट पार्टीले पनि राष्ट्रिय पुँजी र समाजवादको राजनीति, अर्थतन्त्र र संस्कृतिको पुनरुत्पादन गर्नु पर्छ, र अझ बढी मात्रामा उत्पादन गरेर मात्रै क्रान्तिले जित्छ । नत्र दलाल पुँजीवादले कम्युनिष्ट पार्टी स्वयंलाई निलिदिनेछ । कमरेडहरु ! गम्भिरतापूर्वक विचार गरौँ, हामी कता जादैछौँ ! आजको मार्क्सवादी सिद्धान्तको आँखाले हाम्रो इतिहास र आजको समाजलाई हेर्दा समाजवादको हाम्रो बाटो निशन्देह यस्तो हुनेछ : पार्टीका हरेक सदस्य आजको क्रान्तिकारी विचार–सिद्धान्तले सचेत हुन्छन्, ती सदस्यहरु सङ्गठित हुन्छन् र त्यो सङ्गठनले आफ्नो सम्पूर्ण पङ्तिलाई समाजका सबै क्षेत्रमा योजनाबद्धरुपले परिचालित गर्छ । पार्टीका सबै सदस्यहरुको परिचालनले समाजमा गति पैदा हुन्छ, घटनाहरु उत्पन्न गर्छ, ती घटनाहरुले आम नागरिकमा पार्टीको पक्ष–विपक्षमा बहस सिर्जना गर्छ । पार्टीको पक्षमा रहनेहरुलाई क्रमशः सङ्गठित गरिन्छ । अब हिजोको भन्दा सङ्गठन फैलिन्छ, बलियो हुन्छ । अब फेरि हिजोभन्दा ठूलो दायरामा पार्टीको गतिविधि हुन्छ र फेरि नयाँ र ठूला घटनाहरु पैदा हुन्छन् । यो क्रममा हाम्रो पार्टीको विचार, सङ्गठन र परिचालनले दलाल पुँजीलाई साँघुु-याउने, राष्ट्रिय पुँजीको विस्तार गर्ने र सामाजिक न्यायलाई जोड दिँदै समाजवादका आधारहरु तयार गर्ने काम गर्छ । ज्ञातव्य के छ भने पार्टीले यो काम लोकतान्त्रिक बाटो र पद्दतिभित्रै गर्छ । यही र मूलभूतरुपमा यहि बाटो नै नेपालका माक्र्सवादी वा समाजवादीहरुको बाटो हो । लेनिनले करिब सवासय वर्ष पहिले पार्टी सदस्यको योग्यताबारे छलफल गर्नु भएको थियो । आज हामीले क्रान्तिको उपरोक्त प्रक्रियामा अगाडि बढ्ने पार्र्टीका हरेक सदस्यको आधारभूत योग्यता तोक्नु पर्र्ने भएको छ । पार्टीका विचारप्रति सचेत हुनुका साथै राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको आधार तयार गर्ने पार्टीका ‘हरेक सदस्य नकमाएको सम्पत्तिमा बाँच्दैनन वा आफ्नै कमाइमा बाँच्छन्, राज्यले तोकेको कर तिर्छन् र नागरिकले तिरेको राजस्व राज्यले दुरुपयोग नगरोस्् भन्ने कुरामा हरबखत सचेत रहन्छन्’ जस्ता प्रावधानहरु विधानमै उल्लेख गर्नु पर्छ । त्यसले पार्टीलाई र पार्टीमार्फत् राज्य र समाजलाई राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने दिशामा अगाडि बढाउने छ । आज नेकपा जुन शक्तिका साथ उपस्थित छ यसलाई उपरोक्त प्रक्रियाअनुसार अगाडि बढाउने हो भने हरेक वर्ष पार्टीले असाधारण उपलब्धिहरु प्राप्त गर्न सक्छ । हाम्रो केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्म आठलाख सदस्यलाई सङ्गठित गरेर, त्यसका वरिपरी जनसङ्गठनसमेत अन्य संरचनामा रहेका अरु १०/१५ लाख सङ्गठित व्यक्तिहरु संघीय, प्रादेशिक र स्थानीय सरकार र जनप्रतिधि संस्था, जनसङ्गठनहरु र अन्य सामाजिक संघ–संस्थामार्फत् परिचालित हुँदा जुन उर्जा पैदा हुन्छ त्यसले मात्रै सामाजिक रुपान्तरणको आजको कार्यभार पूरा गर्न सकिनेछ । यस क्रममा पार्टीको हरेक व्यक्ति र कमिटीको काम राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्न व्यक्ति वा कमिटीले गरेको योगदानका आधारमा मूल्याङ्कन हुनेछ । त्यस्तो मूल्याङ्कन गर्ने परिपाटी स्थापित भएको पार्टीमा मात्रै आन्तरिक लोकतन्त्र र सदस्यको क्रान्तिकारी योग्यताको ग्यारण्टी गर्न सकिने छ र त्यस्तो पार्टीले मात्रै क्रान्तिको ग्यारण्टी गर्छ । कमरेड अध्यक्ष पार्टी स्थायी कमिटीको चालु बैठकमा तपाईँले प्रस्तुत गर्नुु भएको प्रतिवेदनमा कैयन् महत्वपूर्ण विषयहरु समेटिएका छन् । खास गरी ‘पार्टीका आगामी कार्यक्रमका रुपरेखा’ अन्तरगत उल्लेख गरिएको कार्य योजना पार्टी कमिटी र सदस्यहरुको परिचालन र विभिन्न तहका अधिवेशनमा केन्द्रित छन् । ती सबै आफैमा उपयुक्त छन् । उहि काम दोहोर्‍याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिए झैँ, आजकै वैचारिक र साङ्गठानिक अस्पष्टता, गुटबन्दी र विधिहीनता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नआउने कुरा स्पष्ट छ । बरु यथास्थितिकै विस्तार हुनेछ । त्यसैले मेरो के प्रस्ताव छ भने केन्द्रिय कमिटीको आगामी बैठकभन्दा अघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यका बीच ‘आजको पार्टी’ वा ‘कम्युनिष्ट पार्टीको आजको कार्यभार’ वा यस्तै कुनै उपयुक्त शिर्षकमा ५–७ दिनको कार्यशाला आयोजना गरियोस् । त्यस कार्यशालामा पार्र्टीका सैद्धान्तिक, राजनीतिक र साङ्गठानिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकालियोस् र केन्द्रिय कमिटीमा ती निष्कर्षहरु पेश गरियोस् । केन्द्रीय कमिटीमा पनि त्यसैगरी विस्तारपूर्वक छलफल गर्ने व्यवस्था गरियोस् । पार्टी बैठकको मर्यादाक्रमको ढाँचामा सबै विषयमा त्यहि गम्भीरताका साथ छलफल नै नहुने हुँदा कार्यशाला नै उपयुक्त हुनेछ । यो कामले केहि समय लिए पनि एक पटक पार्टीका विचार, सङ्गठन र कार्यक्रमका बारेमा छलफल गर्न र आम सहमति कायम गर्न सकियो भने पार्टी वास्तविक अर्र्थमा पुनर्गठन हुनेछ र क्रान्तिका चौतर्फी कार्यभार बहन गर्न सक्षम हुनेछ । घनश्याम भूसाल

अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको वैचारिक पक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट आन्दोलनमा दशकौंदेखि भिन्न वैचारिक धारको नेतृत्व गरिरहेका दुई कम्युनिष्ट पार्टी एकीकरण भएपछि दोश्रोपटक बसेको स्थायी समितिको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनले अहिले चर्चा बटुलेको छ । कार्यकारी अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिस्थिति, विश्व परिस्थिति, आम निर्वाचनको समिक्षा, संगठनात्मक समिक्षा तथा आगामी कार्यभारको संक्षिप्तमा चर्चा गरेको छ । जारी स्थायी समितिको बैठकमा यो प्रतिवेदनमाथि छलफल शुरु भएको छ । प्रतिवेदनको वैचारिक पक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले सबै विषयबस्तुलाई संक्षिप्तमा समेटेको हुँदा यसले विषयबस्तुको बृहत सैद्धान्तिक व्याख्या नगरेपनि यसले पार्टीको भविष्य र पार्टीको कार्यदिशाको बारेमा मोटामोटी दृष्टिकोण सार्वजनिक गरेको छ । यसलाई यसरी लिन सकिन्छ । १. शान्ति र क्रान्तिको प्रश्न : नेकपा एमाले र नेकपा माओवादीबीच एकता हुने समयमा सबैभन्दा ठूलो संशय दुबै पार्टीको कार्यदिशा र विचारलाई लिएर देखिएको थियो । पार्टी एकतापछिको यो कालखण्डमा समेत पार्टीको राजनैतिक कार्यदिशा र विचारमा कैयन फरक मत देखा परे । कतिपय पूर्व एमाले समूहबाट पार्टीको विचारका हकमा फरक मत समेत सार्वजनिक भए । स्थायी समितिको बैठकमा प्रस्तुत प्रतिवेदनले ‘सशस्त्र क्रान्तिको युग’ सकिएकोतर्फ संकेत गर्दै शान्तिपूर्ण प्रतिष्पर्धामा संविधानसम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले राष्ट्रियको पूँजिको विकास गर्ने कुरा स्पष्टरुपमा अगाडि सारेको छ । प्रतिवेदनमा भनिएको छ– “लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा शान्तिपूर्ण प्रतिश्पर्धा मार्फत लोकप्रिय मत प्राप्त गरी झण्डै दई तिहाईको नेतृत्व गर्ने स्तरमा कम्युनिष्ट पार्टीलाई पुर्याउन पार्टी एकताले निर्णायक भूमिका खेलेको ऐतिहासिक तथ्यलाई दह्रोसँग आत्मसाथ गर्दै सिंगो पार्टी पक्ति र जनसमुदायलाई यो तथ्यद्वारा निरन्तर प्रशिक्षित गरिरहनुपर्दछ। शान्तिपर्ण र बहदलीय प्रतिष्पर्धा मार्फत संविधान सम्मत वैधानिक र लोकतान्त्रिक तरिकाले सामाजिक न्याय सहित राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको आधार तयार पार्ने विषयमा रहेको आधारभत वैचारिक समानता एवम पार्टी नेतत्वको समचित निर्णय र भूमिका सहित यो ऐतिहासिक एकता सम्भव भएको हो ।” यो प्रतिवेदनले यसअघि जारी भएको प्रतिवेदनलाई नै आधार मान्दै शान्तिपूर्ण प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्थाको समर्थन गरेको छ । भविष्यमा यो शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा परम्परागत संसदीय व्यवस्था भन्दा के अर्थमा फरक हुन्छ र पार्टीले यही बहुदलीय प्रतिष्पर्धामार्फत समाजवादमा पुग्ने कार्यनीतिक चरणहरु कसरी अगाडि बढाउँछ भन्ने विषयमा बहस चल्न सक्छ । यो कुरा पार्टीको महाधिवेशनपूर्व तयार हुने दस्तावेजले स्पष्ट पार्ने छ । यसका साथै वर्गको अस्तित्व भएको समाजमा वर्ग संघर्ष र शान्तिपूर्ण तरिकारले राज्यसत्ता उपयोग गर्ने बीचको अन्र्तसम्बन्धलाई समेत भविष्यमा स्पष्ट गर्नुपर्ने आवश्यकता प्रतिवेदनले अघि सारेको छ । यसका साथै पार्टीले एकतापूर्वका दुबै समूहका विचारलाई समेत संश्लेषणमा जोड दिँदै भनेको छ– पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवसको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिन्पर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ। २. विश्व अन्तरविरोधबारे प्रतिवेदनले एकाधिकार पूँजिवादसँग विश्वका जनताको अन्तरविरोध रहेको तथ्यलाई आत्मसात गरेको देखिन्छ । खासगरी वित्तिय एकाधिकारवादी पूँजिवादले तेश्रो विश्वमा शोषण बढाएकोले संसारभरीका मुक्ति आन्दोलनसँग ऐक्यबद्धता गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको देखिन्छ । प्रतिवेदनमा उल्लेख छ– घटनाक्रमले आज पनि एकाधिकार पंजीवादको नव(औपनिवेशिक शोषण(उत्पीडनका विरुद्ध उत्पीडित राष्ट्रका जनताका राष्ट्रिय मुक्ति आन्दोलनका बीचको अन्तरबिरोध विश्वका प्रधान अन्तरविरोधका रुपमा प्रकट भइ नै रहेको छ । यति नै बेला चीन लगायतका देशहरूले भने अर्थतन्त्रको क्षेत्रमा ठूल्ठूला उपलब्धीहरू हासिल गरिरहेका छन् । यसै सन्दर्भममा प्रतिवेदनले चीनले अघि सारेको बिआरई परियोजनालाई एकाधिरका पूँजिवादविरुद्धको सचेत प्रयत्नका रुपमा चित्रण गरेको छ । त्यसो त बिआरई र समाजवादी आन्दोलनका बारेमा खासै बहस भएको छैन । तर केन्द्रीकृत एकल ध्रुवीय वित्तिय पूँजिवादका विरुद्ध बिआरई एउटा चुनौती बन्ने कुरालाई भने नकार्न सकिन्न । प्रतिवेदनले बिआरआईबारे संक्षिप्त चर्चा गर्दै यो परियोजना अमेरिकाको वित्तिय एकाधिकारका लागि चुनौती बन्न अघि सारिएको परियोजनका बारेमा उल्लेख गरेको छ । यसले अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक रणनीति र बिआरआईका बारेमा नेकपाका सदस्यहरुले निर्माण गर्नु पर्ने धारणाका बारेमा समेत संकेत गरेको छ । वर्तमान विश्वमा अमेरिकाले एकाधिकारवादी वित्तिय पूँजिवादलाई प्रश्रय दिएको सन्दर्भममा बिआरआई नेपालको समाजवादको यात्राका लागि सहयोगी बन्न सक्नेतर्फ संकेत गरेको छ । ३. संगठनात्मक कार्यशैलीका बारेमाः एकीकृत पार्टीमा पूर्ववत गुटहरुको अस्तित्व कायमै रहेको सन्दर्भममा जनवादी केन्द्रीयता छिन्नभिन्न भएको तर्फ प्रतिवेदनले विशेष संकेत गरेको छ । पार्टीभित्र अराजकतावादी प्रवृत्ति बढदै गएकोतर्फ चिन्ता गर्दै प्रतिवेदनले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्यौलग्रस्त अवस्थाम रहेको उल्लेख गरेको छ । “पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन् । पार्टी भित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । अलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील कम्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन ।” एउटा जीवित कम्युनिष्ट पार्टीभित्र फरक विचार, फरक शैली र फरक मत स्वभाविक हुने भएपनि त्यसलाई व्यवस्थित तवरले सञ्चालन गर्न नसक्दा अराजकतावादी प्रवृत्ति हावी हुने र बिरेधी तत्वहरुले फाइदा उठाउनेतर्फ प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ । यो नेकपाभित्र अहिलेको प्रमुख समस्या पनि हो । खासगरी पाटीृ एकताले तलसम्म पूर्णता नपाएको अवस्था र दुई पार्टीको पुरानो मनोविज्ञान कायम रेको अवस्थामा अनुशासनहीनताको यो अवस्थाले जनतामा पार्टीप्रति वितृष्णा बढने खतरा बढेको अवस्था विद्यमान छ । प्रतिवेदनमा अगाडि भनिएको छः पाटीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटिहरूको नियमित बैठक सञ्चालन गर्न, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटिको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामुहिक र संस्थागत बनाउन विशेष जोड गर्न आवश्यक छ। ४.समाजवादोन्मुख कार्यक्रमका पक्षमा दृढता प्रतिवेदनले बिस्तृत विवेचना नगरेपनि पार्टीले जनतासँग जोडिएका जनजीविकाका समस्या र समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि पहल गर्न विशेष जोड दिएको छ । प्रतिवेदनमा भनिएको छ– सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जन(सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना(ठूला परियोजनाका सञ्जाल निर्माण गर्न पर्दछ । स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ । यसरी हेर्दा प्रतिवेदनले नेकपाभित्र वैचारिक बहसका लागि बाटो खुला गरेको छ । पार्टीभित्र विचार संश्लेषणको प्रक्रिया अझै गति नलिएको र एकता प्रक्रियाले पूर्णता अझै नपाएको अवस्थामा कार्यदिशा नै झल्किने गरी प्रतिवेदन सार्वजनिक हुने अवस्था देखिँदैन । यो अवस्थामा यो प्रतिवेदनले नेकपाले आगामी दिनमा लिनुपर्ने बाटो र संगठनात्मक कार्यशैलीमा गर्नुपर्ने सुधारका बारेमा मार्ग निर्देशन गरेको देखिन्छ । प्रतिवेदनको अन्तिम प्याराले समग्र प्रतिवेदनको सारलाई यसरी प्रस्तुत गरेको छ ः “यतिबेला हामी इतिहासकै महत्वपूर्ण मोडमा उभिएका छौं । नेपाली जनताबाट हामीमाथि अपार विश्वास र भरोषाका साथ मुलुकको नेतृत्वको वैधानि अख्तियारी प्राप्त भएको छ । तुलनात्मक रुपमा प्रतिकुल अन्तराष्ट्रिय बीचमा नेपाली जनताले हामीलाई गरेको विश्वास प्रति हामी आभारी छौं र हामी गम्भीर पनि छौं । एक अर्थमा हामी इतिहास के सौभाग्यशाली पुस्ता हौ, जसलाई आफ्नै कार्यकालमा देशको मुहार बदल्ने र समृद्धिको नयाँ उचाईमा पुर्याउने अभूतपूर्व अवसर प्राप्त छ । तर यो हाम्रो अग्निपरिक्षा पनि हो। इतिहासले सुम्पेको यस विरल अवसर सदुपयोग गर्न र जिम्मेवारी वहन गर्न सफल नहुने हो भने हामी मात्रै असफल हुने छैनौं, यसले समग्र कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रलाई नै संकटमा पुर्याउने छ । निश्चय नै, युगौंदेखि एउटा मानसिकता, एउटा गति र संरचनामा अभ्यस्त राज्य संरचना एवम् पार्टी पंक्तिको रुपान्तरण सहज छैन, तर हामीले रुपान्तरण गर्ने पर्छ र सबैको साथ लिएर यो अभिभारा प्राप्त गर्नुपर्छ । हाम्रो एकतालाई सदृढ गरौं र इतिहासले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गरौं ।”

कुरिनटारमा बलेरो दुर्घटना हुँदा ३ घाइते, १ जनाको अवस्था गम्भीर

कुरिनटारः कुरिनटारमा बलेरो दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । मुग्लिन तर्फबाट कुरिनघाट जादैँ गरेको ना ४ च ६९४० नम्बरको बोलेरो पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा अनियन्त्रित भई पल्टिदाँ तीन जना घाइते भएका हुन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ । उनिहरुलाई शसस्त्र प्रहरीले उद्धार गरि ट्रमा सेन्टर पुर्याएका थिए । गम्भिर घाइते दुई जनालाई भरतपुर र काठमाण्डौं पठाइएको छ । बलेरो कुरिनटारमा बिहान करिव १० बजेर १५ मिनेटमा सडकमा पल्टिएको थियो । घाइतेहरुको परिचय खुल्न सकेको छैन । उक्त बलेरो बिरामी बोकेर कुरिनघाट पोलिक्लिनिक तर्फ जादैँ गर्दा दुर्घटना भएको बुझिएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

सस्तियो प्याज

काठमाडौंः उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्र्याउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ । यो सातादेखि उपत्यकावासीको प्याजको माग चीनले धानेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०/४५ टन प्याज चीनबाट भित्रिन थालेको छ । अघिल्लो सातासम्म भारतबाट दैनिक ४५/५० टन प्याज आएकोमा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

इंग्लिस प्रिमियर लिगः टोटनह्याम ५ औं स्थानमा उक्लियो

काठमाण्डौः इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम पाँचौं स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बर्नलेमाथि ५–० को फराकिलो जित दर्ता गरेको टोटनह्याम २३ अंकसहित पाँचौं स्थानमा उक्लिएको हो । टोटनह्यामको जितमा हेरि केनले २ तथा लुकास मौरा, सन मिन र मौसा सिसिकोले एक एक गोल गरे । घरेलु मैदानमा टोटनह्यामका लागि हेरि केनले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । नवौं मिनेटमा लुकास मौराले गोल गर्दै अग्रता दोब्बर बनाए । सुरुदेखि नै बर्नलेमाथि दबाब दिएको टोटनह्यामले तेस्रो गोल ३२ औं मिनेटमा गरेको थियो । पहिलो हाफमा ३ गोल गरेको टोटनह्यामले दोस्रो हाफमा अरु २ गोल थप्न सफल भयो । ५४ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । ७४ औं मिनेटमा सिसिकोले टिमका लागि पाँचौं गोल थप्दै फराकिलो जित दर्ता गरे । शनिबार राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेस र वाटफोर्ड भने गोलरहित बराबरीमा रोकिएका छन् ।

चितवनमा अटो पल्टिँदा ५ को मृत्यु, १ जना गम्भीर घाइते

चितवनः अटो पल्टिँदा चितवनमा पाँच जनाको ज्यान गएको छ । जिल्लाका राप्ती नगरपालिका–४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ज्यान गुमाउनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका–३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए । अन्य चारजनाको परिचय खुल्न बाँकी रहेको जनाइएको छ । साँझा ६ः१५ बजे भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा ३ पुरुष र २ महिला रहेको जनाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा अटोका चालकसहित ६ जना गम्भीर घाईते भएका थिए । तीन जनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एक अन्दाजी २५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।