खाद्यान्न बोकेको मिनिट्रकबाट १ लाखको मदिरा बरामद

धनगढीः कैलालीमा खाद्यान्न बोकेको मिनिट्रकबाट १ लाख १५ हजार बराबरको मदिरा बरामद गरिएको छ ।

नुन लगायत खाद्यान्न बोकी धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ ख २०१० नम्बरको मिनिट्रकलाई चटकपुरमा रोकी चेक गर्दा १ सय २६ पेटी मदिरा बरामद गरिएको हो ।

चालक गोदावरी नगरपालिका-४ का नरेन्द्र सिंह महरालाई नियन्त्रणमा लिइएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए ।

उनले ट्रक र मदिरा धनी धनगढी उपमहानगर १३ बस्ने दिनेश पन्तलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको बताए ।

बरामद गरिएको मदिरा आन्तरिक राजस्व कार्यालय कैलालीमा बुझाइने उनले बताए ।

सापटी मागेर राउटेलाई भत्ता वितरण

सुर्खेतः कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीले समस्या भोगिरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीय व्यवसायीबाट सापटी मागेर भत्ता वितरण गरेको हो । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरु हाल यहाँको भेरीगङ्गा नगरपालिकाको छिन्चु नजिक बसाइँ सरेका छन् । गुराँस गाउँपालिकाले बस्तीमै पुगेर १५२ जना राउटेलाई चैत महिनाको भत्ता वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको खबर पाएपछि रु चार लाख ५६ हजार सापटी मागेर भत्ता वितरण गरेको बताए । सरकारले लोपोन्मुख जाति राउटेको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । काठका भाँडाकुँडा बिक्री गरेर गुजारा चलाउने यो समुदाय लकडाउनका कारण थप समस्यामा परेको थियो । लकडाउनकै अवधिमा भत्ता पाएपछि राउटेहरु खुशी भएका छन् । मुखिया सूर्यनारायण शाहीले गाउँ जान नपाएका कारण आफूहरुले बनाएको सामान बिक्री नभएको बताए । ‘सामान त्यत्तिकै थन्किएका छन्, परिवार ठूलो छ, रासन धेरै चाहिन्छ, गाउँपालिकाले भत्ता दिएपछि राहत मिल्यो, खुसी छौँ’ उनले भने । भेरीगङ्गा नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामका लागि राउटेहरुलाई आउजाउमा कडाइ गरेपछि खाद्यान्नको समस्या भएको थियो । रासस

कोरोना नियन्त्रण गर्न म्यादी प्रहरी परिचालन

कपिलवस्तुः जिल्लाको विजयनगर गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । ५० युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको पालिकाले जनाएको छ । सीमाको सुरक्षा तथा गाउँगाउँमा जनचेतना फैलाउन उनीहरूलाई परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । पालिकामा बन्दाबन्दीको पालना गराउन र सामाजिक दूरी कायम गर्न म्यादी प्रहरीले सहयोग गर्ने छन् । क्वारेन्टाइन सुरक्षाका लागि १२, सीमामा पैदल यात्रुको निगरानी गर्न २१, ठेक्का दिइएका नदी तथा खोलाको निगरानीका लागि ८ र गाउँटोलमा नौ जना म्यादी प्रहरी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी म्यादी प्रहरी परिचालन गरिएको उनको भनाइ छ । स्थानीय नागरिकलाई म्यादीमा भर्ना गरिएकाले समुदायको तल्लो तहसम्म पुगेर काम गर्न सहज हुने अध्यक्ष थापाको विश्वास छ । सुरक्षाका लागि जनशक्ति अभाव भएका बेला गाउँपालिकाले म्यादी प्रहरी परिचालन गरेकाले शान्तिसुरक्षा कायम गर्न सहज हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।

यी हुन् नेपालका ९९ जना कोरोना संक्रमित (सूचीसहित)

काठमाडौंः नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी उदयपुरमा २८ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ७२.७ प्रतिशत पुरुष र २७.३ प्रतिशत महिला रहेको छन् । पर्सामा २४ र बाँकेमा २३ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएकोछ । काठमाडौं, बागलुङ र कञ्चनपुरका सबै संक्रमित निको भइसकेका छन् । हालसम्म २२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । निको हुनेमा २२.७ प्रतिशत महिला रहेका छन् भने बाँकी पुरुष रहेको मन्त्रालयले जनाएको छ । जिल्लागत रुपमा संक्रमित र निको हुनेको संख्याः कोरोना संक्रमित (सूचीसहित): (८३-९९) २ महिना को शिशु देखि ६६ बर्षका, १० पुरुष, ७ महिला, १७ जना, बैशाख २४, पर्सा (७६-८२) २२, ३०, ४० बर्षका ३ पुरुष, ९, ३२, ३४, ५५ बर्षका ४ महिला, ७ जना, बैशाख २३, बाँके (७०-७५) १६, २१, ३४ बर्षका ३ पुरुष, ४०, ५५, ६० बर्षका ३ महिला, ६ जना, बैशाख २१, बाँके (६१-६९) ७ देखि ५८ बर्षका ५ जना पुरुष र ४ जना महिला, ९ जना, बैशाख २१, बाँके (६०) ३६ बर्षका पुरुष, बैशाख २१, पर्सा (५९) ६० बर्षका पुरुष, बैशाख २०, बाँके (५८) २५ बर्षका पुरुष, बैशाख २०, रुपन्देही (५७) ४६ बर्षका पुरुष, बैशाख १७, पर्सा (५५-५६) ४३ र ४१ बर्षका २ जना पुरुष, बैशाख १७, बारा (५३-५४) २४ र ३५ बर्षका २ जना पुरुष, बैशाख १६, रौतहट (५२) ५० बर्षका पुरुष, बैशाख १४, झापा (५०-५१) ५० बर्षका २ जना पुरुष, बैशाख १४, पर्सा (४९) ६२ बर्षका पुरुष, बैशाख १२, झापा (४८) २६ बर्षका पुरुष, साउदी अरब बाट, बैशाख ११, भोजपुर ४७) १४ बर्षका बलाक (पुरुष) बैशाख ११, धनुषा (४६) ५५ बर्षकी महिला, बैशाख ११,उदयपुर (४४- ४५) ६० र ७२ बर्षका २ जना पुरुष, बैशाख १०, उदयपुर (४३) २४ बर्षका भारतीय पुरुष, बैशाख १०, उदयपुर (३२- ४२) १८,१८, २०, ३३, ४९, ४१, ४१, ५२ र ५८ बर्षका पुरुष, ३६ बर्षकी महिला, र १ जना उमेर नखुलेको महिला, ११ जना, बैशाख ९, उदयपुर (३१) ६५ बर्षका पुरुष, बैशाख ६, उदयपुर (२९, ३०) २७* र ६३ बर्षका पुरुष, २ जना बेलायत बाट, बैशाख ५, चितवन (१७- २८) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका १२ जना भारतीय पुरुष भारत बाट, बैशाख ५, उदयपुर (१५, १६) ५८ बर्षका पुरुष* र ८१ बर्षकी महिला*, २ जना बेलायत बाट, बैशाख २, काठमाडौ (१४) १९ बर्षका पुरुष* भारत बाट, बैशाख १, रौतहट (१३) ६५ बर्षकी महिला, बैशाख १, कैलाली (१०,११,१२) ३७, ४४ र ५५ बर्षका ३* जना भारतीय पुरुष, भारत बाट, चैत ३०, पर्सा (९) ३४ बर्षकी महिला*, चैत २२, कैलाली (८) ४१ बर्षका पुरुष* भारत बाट, चैत २२, कञ्चनपुर (७) २१ बर्षका पुरुष* भारत बाट, चैत २२, कैलाली (६) ६५ बर्षकी महिला* दुबई बाट, चैत २०, बागलुङ (५) १९ बर्षकी महिला* बेल्जियम बाट, चैत १५, बागलुङ (४) ३४ बर्षका पुरूष* दुबई बाट, चैत १४, कैलाली (३) ३२ वर्षका पुरुष* दुबई बाट, चैत १२, काठमाडौ (२) १९ वर्षकी महिला* फ्रान्स बाट, चैत १०, काठमाडौ (१) ३२ वर्षका पुरुष* चीनबाट, काठमाडौ

कुखुरा चोर्न आएको चितुवाले मान्छेलाई आक्रमण गरेपछि…

तनहुँः भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवा मारिएको हो । स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो । सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिए । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि वन कार्यालयका प्रतिनिधि आइनपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उनले बताए । घटनाको जानकारी पाएसँगै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताए । केही समयअघि सोही वडाको लोहीपाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृतावस्थामा फेला परेको थियो । करिब पाँच÷छ वर्षको देखिने २५÷३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो । चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको १६ स्थानमा १६ वटा खोर निर्माण गरी पासो थाप्दै आएको छ । रासस साङ्कतिक तस्बीर ।

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

काठमाडौंः आज (बिहीबार) पनि देशभर केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको सुदुरपश्चिमीका भू–भागमा वर्षा भइरहेको र अन्य ठाउँमा मौसम सामान्यतया सफा रहेको छ । आज केही ठाउँमा सामान्य बदली हुने, एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान:  बैशाख २५गते (बिहीबार) दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू-भागका केहि स्थानहरूमा र मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशभर सामान्य बदली रहने छ। देशको मध्य/पूर्वी भू-भागका केहि स्थानहरूमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २६ गते (शुक्रबार) दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २७ गते (शनिबार) दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ ।देशको पश्चिमी /मध्य भू-भागका केहि स्थानहरूमा साथै पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  देशको पहाडी साथै पश्चिमी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

भावी प्रधानसेनापति बन्ने दौडमा रहेका शर्मा रथीमा बढुवा

काठमाडौंः उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ । आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका छन् । बलाध्यक्ष रथी गौरव तण्डुलले १९ वैशाखबाट अवकाश पाएका छन् । अर्का रथी शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अवकाश पाउँदैछन् । त्यसपछि प्रधानसेनापति थापामुनिको वरियतामा शर्मा उक्लने छन् । उनले भारतबाट नेश्नल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । हालका प्रधानसेनापति थापाले २०७८ भदौमा अवकाश पाउने छन् ।

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको दुवै अधिवेशन आह्वान

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आइतबार मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल वैशाख २६ गते शुक्रबारको दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले पत्रमा भनेका छन् । संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ। सरकारले जेठ १५ गते संवैधानिक प्रावधान अनुसार बजेट ल्याउनुपर्ने हुन्छ।

वामदेव गौतम पाल्पा–१ बाट चुनाव लड्ने

काठमाडौंः नेकपा उपाध्यक्ष वामदेव गौतम पाल्पा–१ बाट चुनाव लड्ने भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो । निर्णयसँगै गौतम पाल्पा–१ बाट चुनाव लड्ने सहमति भएको छ । २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए । रानाले राजीनामा दिएर गौतम उपनिर्वाचनमा उम्मेद्वार बन्नेछन् । आमनिर्वाचनमा तत्कालीन एमाले उम्मेदवार रानाले ३२ हजार ५ सय ४९ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९ सय ९३ मत पाएका थिए ।

नेकपा विवादः बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बस्ने

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बैशाख २४ गते बस्ने भएको छ । आज बसेको बैठकले २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यसअघि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका २० जना स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेका थिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन् । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीमा विवाद बढ्दै गइरहेको बेला बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । आजको बैठकले उक्त प्रस्तावबारे छिनोफानो गर्ने बताइएको थियो । तर, यसबारेमा आजको बैठकमा केही निर्णय भएन ।

नेकपा सचिवालय बैठक सकियो, बामदेवलाई प्रतिनिधिसभामा लगिने

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शनिबार साढे ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएको बैठक केहीबेर अघि सकिएको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको बताए । पार्टीमा विवाद बढ्दै गइरहेको बेला बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । आजको बैठकले उक्त प्रस्तावबारे छिनोफानो गर्ने बताइएको थियो । तर, अन्य निर्णय के भए त्यो बताइएको छैन ।

ताप्लेजुङ सदरमुकाममा आगलागीः ७ करोड बढीको क्षति

ताप्लेजुङः सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट ७ करोड रुपैयाँ बढीको क्षति भएको पाइएको छ । आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको हो । आगलागीबाट ८ घर जलेका छन् । अन्य केही घरमा आंशिक क्षति भएको थियो । ८ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । आगलागीले ८ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो । राति करिब १०ः३० बजेदेखि सुरू भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ ।

नेकपा सचिवालय बैठक शुरू

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरू भएको छ । बैठक केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएको हो । यसअघि बैठक ४ बजे बस्ने भनिएको थियो । नेताहरू आन्तरिक छलफलमा जुटेपछि बैठक डेढ घण्टा धकेलिएको थियो । आजको बैठकलाई नेकपाका नेताहरूले ‘निर्णायक’बैठक भनेका छन् । पार्टीमा विवाद बढ्दै गइरहेको बेला बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । आजको बैठकले उक्त प्रस्तावबारे छिनोफानो गर्ने सम्भावना छ । गौतमलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी शर्माको प्रस्तावमा प्रचण्ड र माधव नेपाल पक्ष सकरात्मक देखिएको छ । तर, प्रचण्ड–नेपाल पक्षले उक्त प्रस्तावबारे औपचारिक निर्णय हुनुपर्ने माग अगाडि सारेको छ ।

अहिले अध्यादेश ल्याउनु इतिहासकै दुःखद घटना र बेमौसमी बाँसुरी होः सभापति देउवा

काठमाडौंः प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज जारी भएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा हतारमा प्रमाणीकरण गरेको आरोप लगाएका छन् । देउवाले विज्ञप्ति जारी गर्दै नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरेको आरोप लगाएका हुन् । सरकारले सोमबार संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो । यस्तै, विपक्षी दलका नेताविना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि ल्याउने निर्णय गरेको थियो । सरकारले सिफारिस गरेको दुवै अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रमाणीकरण गरेकी छन् । कांग्रेस सभापति देउवाले भने विश्व एक भएर कोरोनाको संक्रमणसँग लडिरहेको बेला यसरी अध्यादेश ल्याउनु सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको प्रमाण भएको बताएका छन् । ‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो ।’ संविधान निर्माण गर्दा राजनीतिक स्थिरता र संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वका लागि गरिएका व्यवस्थाहरू सरकारले अध्यादेशमार्फत संशोधन गरेको भन्दै कांग्रेस सभापति देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दछ ।’ उनले अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई अपिलसमेत गरेका छन् ।

पार्टी फुटाउने भनेर अध्यादेश ल्याइएको हल्ला गलत, अध्यादेश नियमित प्रक्रिया होः उपप्रधानमन्त्री पोखरेल

काठमाडौंः उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले पार्टी विभाजनसम्बन्धी अध्यादेश नियमित प्रक्रिया रहेको बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयबारे मन्त्री ईश्‍वर पोखरेलले यस्तो बताएका हुन् । ‘पार्टी विभाजनसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गर्ने निर्णय भएको हो । पहिले र भन्‍ने व्यवस्था थियो, त्यसलाई संशोधन गरेर वा बनाएका हौं’, उनले भने, ‘यसलाई अन्यथा मान्‍नु जरुरी छैन। कोरोनाको संकटमा अन्य नियमित काम त चलिरहन्छन् नि, यो पनि त्यस्तै एउटा नियमित काम मात्रै हो।’ उपप्रधानमन्त्री पोखरेलले नेकपा नै विभाजन गर्ने गरी यो अध्यादेश ल्याउन लागिएको भन्‍ने कुरा गलत भएको बताए । उनले भने, ‘नेकपा फुटाउने भनेर अध्यादेश ल्याइएको हल्ला गलत हो । सामाजिक सञ्‍जालमा आएका हल्लाको कुनै अर्थ छैन ।’

पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याउने मन्त्रिपरिषद् निर्णय

काठमाडौंः सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरिएको हाे । यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो।