२१ दिनपछि खुल्यो गाउँपालिकाको ताला

बैतडी । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ ।

विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो । जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नु्भयो, “गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सञ्चालन हुने भएका छन् ।”

जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष बिष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र सङ्घर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो ।

तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका बिषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुङ्गो लगाउने सहमतिसहित ताला खुलेको उपाध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गत असोज २८ गते झडपसमेत भएको थियो । सो झडपमा गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टसहित १४ जना घाइते भएका थिए ।

गाउँपालिकाले पबितामा केन्द्र सार्न लागेको भन्दै स्थानीयवासीहरुले सङ्घर्ष समिति बनाएर गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

असोज २८ गते ताला खोल्ने क्रममा अध्यक्ष बिष्टसहितका व्यक्तिमाथि ढुङ्गा प्रहार भएको थियो । हाल गाउँपालिकाको वडा नं ५ कठेगौडमा गाउँपालिका कार्यालय रहेको छ ।

उक्त कार्यालय सोही वडाको पबिता सार्ने निर्णय गाउँपालिकाले गत वर्ष नै गरेको थियो । स्थानीयवासीहरुले केन्द्रका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले केही निर्णय नगर्न माग गरेका छन् ।

यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पनि भएको सर्वपक्षीय छलफलबाट ताला खोल्ने निष्कर्ष निकालेको थियो ।

सुर्नया गाउँपालिकाका जनप्रतिनिधि, प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्ट, नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति नरेन्द्र थापा, नेकपाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागितामा बसेको बैठकले ताला खोल्ने निर्णय गरेको थियो ।

सैनिक जवानमाथि निर्घात कुटपिट

काठमाडौं : अफ्रिकी राष्ट्र कंगोमा शान्ति स्थापनार्थका लागि खटिएका एक जना नेपाली सैनिक जवानलाई क्याप्टेनले निर्घात कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन सुरु गरेको छ । तीजना क्याप्टेन (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेका हुन् । मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार एक विज्ञप्ति जारी गरी घटनाप्रति मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै छानबिनको प्रकृया सुरु भईसकेको जनाएको छ । निर्देशनालयका अनुसार छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको छ ।

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र९सिसीएमसी० का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् । स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ । फर्कने मध्ये ८हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

कैद सजाय छुट हुने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी कारागार नियमावली, २०२० को नियम २९ बमोजिम सर्वोच्च अदालतले दिएको आदेशको विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरे । आयोगले कैदीबन्दीको स्वास्थ्यलगायत समग्र मानव अधिकार अवस्थाका सम्बन्धमा आयोगको वाग्मती प्रदेश कार्यालयबाट कारागार व्यवस्थापन विभागलाई पत्राचार गरेको जनाएको छ । कोभिड–१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको अधिकार सम्बन्धमा आयोगले आजदेखि अनुगमन शुरु गरेको छ । अनुगमन टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतको सहभागिता रहेको छ । टोलीलाई आवश्यक सहयोग पु¥याइ मानव अधिकारको सम्मान र संरक्षणमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आयोगले आग्रह गरेको छ । यसअघि आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली गत भदौ ५ गतेदेखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न जिल्लाको कारागार अनुगमनका लागि खटिएको थियो ।

खुर्पा प्रहार गरी ससुराको हत्या

कावासोतीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गएराति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् । उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएका थिए । घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आइपीएल : ‘सुपर ओभर’मा पञ्जाबलाई हराउँदै दिल्लीको विजयी सुरुवात

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्स सुपर ओभरमा विजयी भएको छ । सुपर ओभरमा पञ्जाबले दिएको ३ रनको लक्ष्य दिल्लीले दोस्रो बलमै पूरा गर्‍यो । उसका लागि ऋषभ पन्तले ३ रन बनाए । खेल सुपर ओभरमा धकेलिएपछि ब्याटिङ गर्न आएका पञ्जाबका कप्तान केएल राहुलले २ र निकोल पूरनले शून्यमै आउट भए । बलिङमा कागिसो रबाडाले २ विकेट लिए । अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि १३ रन चाहिएको थियो । तर, उसले १२ रन मात्र बनाउन सक्यो । दिल्लीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि ओपनर मयंक अग्रवालले शानदार ब्याटिङ गरे । उनले ६० बलमा ४ छक्का र ७ चौकासहित ८९ रन बनाए । पञ्चाबका अन्य ब्याट्सम्यानले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा दिल्लीका रविचन्द्रन आश्विन, कागिसो रबाडा, मार्कस स्टोइनिसले २/२, मोहित शर्मा र अक्षर पटेलले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि मार्कस स्टोइनिसले शानदार ब्याटिङ गरे । उनले २१ बलमा २ छक्का र ७ चौकासहित ५३ रन बनाए । त्यस्तै, कप्तान श्रेयस अय्यर ३९, ऋषभ पन्त ३१, शिमरन हेटमायर ७, रविचन्द्रन आश्विन ४, अक्षर पटेल , पृथ्वी शा ५ र शिखर धवन शून्य रनमा आउट भए । बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले ३, सेल्डन कोट्रेलले २ र रबि बिश्नोई एक विकेट लिए ।

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

काठमाडौंः मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो । मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए । तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति पनि मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए । यसैगरी सभाले गत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पुर्याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ । विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो । विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो । विसं २०१३ मा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ लाई पुरस्कार प्रदान गरेको थियो । यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो ।

नीजि कम्पनीको दबाबपछि पछि हट्यो पर्यटन मन्त्रालय, अब सबै सीटमा यात्रु राखिने

काठमाडौँ, सरकारले कोरोना संक्रमणलाई ध्यानमा राखेर जहाजमा ५० ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम खारेज गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले बुधबार तोकिएको ‘आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उड्नुपर्ने नियम’ हटाउने निर्णय गरेको थियो । तर शुक्रबारका दिन यो निर्णय हटाइएको हो । यसअघिको निर्णयको बिरोध गर्दै निजी वायुसेवा कम्पनीहरुले असोज १ गतेदेखि उडान गर्न मानेका थिएनन । कम्पनीको दबाबपछि मन्त्रालयले आफ्नो निर्णय खारेज गरेको हो । अब आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिट भर्न पाउने भएका छन् मन्त्रालयले प्राधिकरणलाई लकडाउनअघिको बजार हिस्साका आधारमा वायुसेवाहरुलाई २५ प्रतिशत उडान हुने गरी उडान तालिका स्वीकृत गर्न निर्देशन दिएको छ । आन्तरिक उडानबाट यात्रा गर्ने यात्रुले आफू स्वस्थ रहेको हेल्थ डिक्लेरेसन फाराम अनिवार्य भर्नु पर्ने छ । मन्त्रालयले आन्तरिक उडानको माग र औचित्य हेरि अक्टोबर १ ९असोज १५ गते० तारिखपछि उडान तालिका थप गर्न निर्देशन दिएको छ । यसैबीच संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका स्वास्थ्यसम्बन्धी नियमपूर्ण परिपालना गर्दै ६ महिनादेखि बन्द आन्तरिक नियमित उडान सोमबारदेखि उडान सुचारु गर्ने जनाएका छन् ।

आजदेखि लाइसेन्स वितरण हुने

काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण आजबाट वितरण हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ । लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ। यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरुमा पठाइसकेको छ। निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गतेबाट धेरैजसो कामकारबाहीहरु सुचारु हुने भएका छन् ।

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडाैं : डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार पेट्रोलको मूल्य भने यथावत राखिएको छ । इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ । हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । यसअघि भदौ १६ मा निगमले पेट्रोल दुई रुपैयाँ मूल्यवृद्धि गरिएको थियो ।

सिरहा कारागारमा एकैदिन २५९ जनामा कोरोना संक्रमण

सिरहा : कोरोनाको हटस्पट बनेको सिरहा कारागारमा बुधबार २ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड स्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका २ सय ५९ जना कोरोना सङ्क्रमित भएको हो । कारागारमा रहेका २ सय ६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २५९ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ । दुई आश्रितसहित ५ सय ९७ कैदीबन्दी रहेको सिरहा कारागारमा यो सङ्ख्यासहित ५०७ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । सङ्क्रमितमध्ये सात जना कैदीबन्दी निको भएको कारागार प्रमुख बबिता महतोले जानकारी दिए । सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा समेत कारागारमा अधिकांश कैदीबन्दी सङ्क्रमित भएको उनको भनाइ छ । ‘

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६८ जना निको हुँदा ८ जनाको मृत्यु भएको छ । नेपालमा ह्वात्तै बढ्यो कोरोना, फेरि नयाँ रेकर्ड कुन जिल्लामा कति संक्रमित थपिए ?  

चीनले भन्यो- कोरोनाविरुद्ध गर्न केके चाहिन्छ, लिष्ट पठाउ, हामी सामान दिन्छौं

बेइजिङ : चीनले नेपालमा देखिएको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची पठाउन आग्रह गरेको छ । आज बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत एसियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईसँग भएको भेटवार्तामा नेपालमा देखिएको कोरोना महामारी नियन्त्रण गर्न चीनले यस्तो आग्रह गरेको हो । यसअघि चीनले नेपाल, पाकिस्तान, अफगानिस्तानसँगको भिडियो कन्फ्रेन्समा १० मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको थियो । ‘महामारीले नेपालको अवस्थामा गम्भीर असर परिरहेका बेला चीनले ढाडस दिएको छ, आवश्यक स्वास्थ्य सामग्रीको सूचि पनि मागेको छ,’ राजदूत पाण्डेसँगै भेटवार्तामा सहभागी दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए । नेपालमा महामारी फैलिएदेखि नै चीनले सहयोग गर्दै आएको छ भने नेपालले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेकोमा दुवै देशले आभार प्रकट गर्दै यसबीचमा आपसी सहयोगलाई अझै द्रूत बनाउने प्रतिबद्धता चीनले दोहोर्‍याएको छ ।

हवाई उडान र सार्वजनिक यातायात पर्सिदेखि शुरू हुने

काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन् । त्यसका लागि केही मापदण्ड तोकिएका छन् । स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको हो । भाडादर ५० प्रतिशत बढाइएको छ । यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ । एउटा लहरमा एउटामात्र यात्रु बस्नु पर्नेछ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ । ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ । बैठकले आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । असोज १ गतेदेखि नै होटल पनि खुल्नेछन् ।

रजिष्टर्डदेखि उपकूलपतिसम्मको यात्राः २६ वर्षमा वैध भन्दा अवैध सम्पति बढी !

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५० असार २७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गतेसम्मको अवधिमा ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ । आयोगका अनुसार दासको वैध आय रु सात करोड ६० लाख १० हजार ४८९ आर्जन गरेको देखिएको छ । तर, सो अवधिमा १५ करोड ३२ लाख तीन हजार ३५० रुपैयाँ खर्च तथा लगानी भएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यो पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापनसमेत गरेको देखिएकोले दासले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

मेलम्चीको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो

काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढीरहेको हो । आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडबक्स’ निर्माणसमेत अघि बढिरहेको छ । निर्धारित अवधि आगामी वैशाखसम्ममा निर्माण सम्पन्न भइसक्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । उनले भने, ‘यही गतिमा काम भइरहँदा समयमै सकिने देखिन्छ ।’ सुरुङ निर्माण सकिएर परीक्षणका क्रममा दुर्घटना भएपछि अहिले यसको गेटमा रहेको त्रुटि सच्याउने काम भइरहेको छ । आगामी मङ्सिर, पुससम्ममा त्रुटि सच्याउने काम सकिएर पुनः सुरुङको परीक्षण हुने उनले बताए । सो समयमा पनि ‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ । परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण हुने बताइएको छ । उनले भने, ‘हेडबक्स सकिएपछि मात्रै त्यसबाट पठाइनेछ ।’ दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ । आयोजनामा यसअघि काम गरेको इटालियन निर्माण कम्पनी सिएमसिले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनामा यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।