“सय दिनमा के गरिस ? भन्नेलाई मेराे जवाफ” भन्दै हर्क साम्पाङले सार्वजनिक गरे विवरण

धरान, धरानका मेयर हर्क साम्पाङले सय दिने कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सय दिनमा के गरिस् भन्नेहरुलाई जवाफ दिएको बताएका छन् ।

यस्तो छ उनले सार्वजनिक गरेको कार्य विवरण

१। नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें १
२। ४ ठाउँबाट खानेपानीको मुहान थपे १
३। व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए १
४। ६ लाख विरुवा रोपे १
५। सरसफाइमा देखिने सुधार ल्याएँ १
६। प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ १
७। जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें १
८। बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन १
९। लागु औषध विरुद्धको अभियान शुरु गरें १
१०। योजनाहरुका लागि बजेटको जोहो गराएँ १
११। पारदर्शी हिसाब किताब सार्बजनिक गरें १
१२। पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ १
१३। शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ १

राष्ट्रपतिद्धारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ‚’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो । संघीय संसद्‌बाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो । हेर्नुस् विज्ञप्ति

प्रतिनिधिसभाले पारित गर्यो बीमा विधेयक

काठमाडौं। प्रतिनिधिसभा बैठकले बीमा विधेयक, २०७९ पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।जारी प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ। सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ।

चितवन पुगेर पौडेलले भने–‘गठबन्धन कांग्रेसका लागि डर र कर दुवै हो’

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । आइतबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे अरू पार्टीले गर्ने भन्दै सो कुरा बताएका हुन् । उनले भने, “कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन् । यसैले गठबन्धन कर पनि हो डर पनि हो ।” अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । उनले भने, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।” को कहाँबाट उमेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ, त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो । “तलको जनमत हेरेर निर्णय लिन्छौँ,” उनले थपे, “कुन उमेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ, त्यसलाई आधार मान्नुपर्छ ।” उनले कांग्रेसले कांग्रेसलाई जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, “कांग्रेसले कांग्रेसलाई जिताउने हो, हराउने होइन ।” आउँदो ‘निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो ?’ भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, “यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।” कांग्रेस देशमा राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उनले बताए । फरक प्रसंगमा उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताए ।

दर्ता भएको साढे पाँच महिनापछि प्रन्या राणाविरुद्धको महाअभियोगमाथि छलफल हुने

काठमाडौं । दर्ता भएको साढे पाँच महिनापछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको लागि प्रकाशन गरेको सम्भावित कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ । कार्यसूचीमा २०७८ फागुन १९ गते प्रतिनिधिसभामा सांसद देव गुरुङले प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुनेछ । अन्तिम कार्यसूची बनेपछि बैठकमा महाभियोगको प्रस्तावकले राणाविरुद्धको महाभियोगको प्रस्ताव टेबल गर्न समय पाउनेछन् । त्यसपछि सभामुखले उक्त प्रस्तावमा छलफल हुने समय तोक्नेछन् । छलफल सकिएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनेछन् । सिफारिस समितिले कारवाही अघि बढाएपछि प्रधानन्यायाधीशलाई सात दिनभित्र लागेको आरोपको सफाइ पेश गर्न मौका दिइनेछ । सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्याद भित्र आफैँ उपस्थित भई सफाइ पेश नगरेमा महाभियोग सिफारिस समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन संसद समक्ष पेश गर्नेछ । समितिले कारवाही प्रारम्भ गरेको मितिले बढीमा तीन महिनामा प्रतिनिधिसभामा सिफारिससहितको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । सभामुखले तोकेको मितिमा समितिका सभापति वा कुनै पनि सदस्यले प्रतिवेदनलाई प्रतिनिधिसभामा पेश गर्नेछन् । त्यसपछि बैठकमा छलफल प्रारम्भ हुनेछ । प्रतिवेदनमाथि छलफल भइरहँदा कुनै सदस्यले संशोधन पेश गर्न वा पुनः छानबिन गर्न फेरि समितिमा फिर्ता पठाउने प्रस्ताव पेश गर्न सक्नेछन् । उक्त प्रस्ताव स्वीकृत भएमा प्रतिवेदन समितिमा फर्किनेछ र समितिले सात दिनभित्र पुनः छानबिन गरी बैठकमा पेश गर्नेछ । पेश भएको प्रस्ताव वा संशोधनमाथि संक्षिप्त छलफलपछि सभामुखले सबै संशोधन निर्णयार्थ पेश गर्ने व्यवस्था छ । त्यसपछि प्रतिवेदनमा उल्लेखित सिफारिस बैठकमा पेश गरिनेछ । महाभियोग प्रस्तावमाथि सभाको निर्णय प्रतिनिधिसभा सदस्यको दस्तखतसहितको मत विभाजनबाट हुने व्यवस्था छ । महाभियोग सिफारिस समितिले पेश गरेको प्रतिवेदन प्रतिनिधिसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतले पारित भए मात्र प्रधानन्यायाधीश पदमुक्त हुनेछन् । गत फागुन १ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणाविरुद्ध महाअभियोग दर्ता भएको थियो । उक्त महाअभियोग प्रस्ताव फागुन १९ गते संसदमा दर्ता भएको थियो । महाभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायाधीश राणा निलम्बनमा हुनुहुन्छ । फागुन २२ गते प्रतिनिधिसभाले प्रधानन्यायाधीश राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो । समिति गठन गरे पनि छलफल अगाडि बढ्न सकेको थिएन । महाभियोग लगाएर प्रधानन्यायाधीश जबरालाई निलम्वनमा राखेको तर प्रक्रिया अघि नबढाएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संसददेखि सार्वजनिक सभामा विरोध गर्दै आएको थियो । नेपाल बार एसोसिएसनले पनि न्यायालयको प्रमुखमाथि महाभियोग लगाएर निलम्बनमा राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । संविधान र कानूनको गम्भीर उल्लंघन, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो । इमेजखबरबाट

नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने सभामुखको तयारी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने तयारी भएको कुराकानी गरेका छन् । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्ने तयारीमा जुटेको बताएका हुन् ।   उनले मन्त्री फेरबदल लगायतका कारणले विधेयकहरु पेश गर्न ढिलाइ भइरहेको पनि बताए । ‘नागरिकता लगायत विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छु । मन्त्री फेर बदल लगायत समस्या भएकाले ढिला भइरहेको छ’, उनले भने, ‘अरु महत्त्वपूर्ण विधेयकहरु पनि संसदमा पेश गर्ने योजनामा छु ।’

सभामुख सापकोटा र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको थियो । सभामुख सापकोटाले लामो अनुभव र महत्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे। नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं बर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं बर्ष मनाइरहेको सन्दर्भ स्मरण गरे। उनले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे। सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्याएको र नयाँ अध्यायको सुरुवात गरेको बताए। दुबै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाई थियो । भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यस विरुद्ध जुधिरहँदा समेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले जलवायु परिवर्तन लगायत विश्व राजनीतिक मञ्चमा देखा परेका संकट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने धारणा राखे। ‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नु पर्छ’ सभामुख सापकोटाले भने । उनले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको बताउँदै दुबै देशका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने धारणा राखे । सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान निकै चिन्तित रहेको बताउँदै भेटमा मलको विषयलाई महत्वका साथ उल्लेख गर्न चाहेको बताए । सभामुख सापकोटासँगको भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गरे। लामो र ऐतिहासिक सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राखे। जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नु पर्नेमा जोड दिए ।

मुलुकलाई संकटबाट जोगाउन वामपन्थी मिल्न आवश्यक छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरूलाई चुनावी तालमेल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरू तालमेल गरेर अघि बढ्नुपर्ने उनले तर्क गरे । शनिबार काठमाडौंमा नेपाल–चीन हिमालयन मैत्री समाजले आयोजना गरेको कार्यक्रममा उनले वामपन्थीले एकार्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै उनले सबै वामपन्थी नेताहरूले कमी–कमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । नेता श्रेष्ठले आफैँ सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले तत्काल पार्टी एकताका लागि आधार नबने पनि वामपन्थी दलहरूबीच तालमेल गरेर जान सकिने पटक–पटक दोहोर्‍याए । “वामपन्थीहरूको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यकता छ । तर, त्यसको निम्ति आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ, अरू नेताहरू बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु– तुम शेर तो, हम सवाशेर छोडिदिऊँ,” उनले भने, “घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौँ । कतिपय पछाडि गरौँला । जो अहिल्यै गर्नैपर्नेछ । कमी–कमजोरी भए आत्मालोचना गरौँ । म त आत्मालोचना गर्छु पार्टी एकता जोगाउन सकिनँ भनेर । सबै मिलौँ । प्रतिनिधिसभा विघटनमा के भयो, एमसीसीमा के भएको थियो, १९ बुँदे आरोपपत्रमा के भएको थियो ? पार्टी एकताका लागि तत्काल आधार नबन्ला । तर, तालमेल गरेर अघि बढ्न सकिन्छ ।” नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाइराख्न दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने पनि बताए ।

दिल्लीमा प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेट, आर्थिक सहकार्यमा केन्द्रित छलफल

काठमाडौं। भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्। अध्यक्ष प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै मन्त्री जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताए। शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुेरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन्। प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

अर्थ मन्त्रालयले रोक्यो ८४ करोडको हतियार खरिद प्रक्रिया

काठमाडौँ, नेपाल प्रहरीका लागि ८४ करोड बराबरको हतियार खरिदमा विचौलिया संलग्न भएको समाचार सार्वजनिक भएपछि अर्थमन्त्रालयल हस्तक्षेप गर्दै आफैंले रकमान्तर गरेको ८४ करोड रुपैयाँको निकासा रोकेको छ। प्रहरीले हतियार र गोलीगट्ठा खरिद गर्न २०७९ असार मसान्तभित्र एलसी खोल्ने गरी नेपाली बिचौलिया दीपक भट्टमार्फत चीन र हङकङका तीन कम्पनीसँग सम्झौता गरेको समाचार कान्तिपुर दैनिकले प्रकाशन गरेको थियो । भिडियोसहित प्रकाशित उक्त समाचारपछि मन्त्रालयले शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिलाई पत्र पठाएर हतियार खरिदको रकम प्रहरीलाई निकासा रोकेको जानकारी गराएको छ । यसअघि समितिले हतियार खरिदसम्बन्धी सम्पूर्ण कागजात छानबिनका लागि प्रहरी प्रधान कार्यालयबाट झिकाएको थियो ।

एमसिसीबारे अमेरिकी अभिव्यक्तिकाे चिनियाँ दूतावासद्वारा बिराेध

काठमाडौं । अमेरिकाका प्रस्तावित राजदूतले एमसीसीबारे आफ्नो देशलाई जोडेर दिएको अभिव्यक्तिप्रति नेपालस्थिति चिनियाँ दूतावासले आपत्ति जनाएको छ । दूतावास प्रवक्ताले प्रस्तावित राजदूत डिन थम्पसनको भनाइ चीनले नोटमा लिएको बताए । नेपाली मिडियामा थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको’ भन्ने समाचार आएकोबारे प्रवक्ताले प्रतिक्रिया दिएका हुन । थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएको भन्दै चीनले नेपालको संसदले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको र घोषणामा कम्प्याक्ट भन्दा एमसीसी माथि रहने उल्लेख भएको जनाएको छ । नेपाल अमेरिकाको कुनै सैन्य रणनीतिको अंग नहुने स्पष्ट पारेको भन्दै यो नेपाल सरकार र जनताले सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका निम्ति लिएको वैध कदम भएको चीनको तर्क छ । अमेरिकी पक्षबाट आएको प्रतिक्रिया आधारहीन रहेको भन्दै यसले चीनलाई मात्र आरोपित गरेको नभई नेपाल र नेपाली जनतालाई पनि अपमानित गरेको उसको भनाइ छ । चीनले यसलाई दृढतापूर्वक अस्वीकार गर्ने बताइएको छ । निकट छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षामा निरन्तर सघाउने तथा नेपाली जनतालाई उनीहरूको आफ्नो विकासको मार्ग स्वतन्त्रतापूर्वक पहिल्याउन सहयोग गर्ने चिनियाँ दुतावासले जनाएको छ ।

आज नागरिकता विधेयक निर्णयार्थ पेश गरिने

प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयकलाई निर्णायार्थ पेश गरिने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचिमा विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिने उल्लेख छ । आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।

बिजुली निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन् ।   नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युतको उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताइन् । उनले भनिन्, “बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन्, बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ ।” आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताइन् । देशभर गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचरनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उनले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गरिन् ।

मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । पाण्डेले शनिबार ११ बजे बस्नेगरी दलको बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले जानकारी दिए । सांसद कार्कीकाअनुसार समसामयिक विषयमा छलफल गर्न दलको बैठक आह्वान गरिएको हो । बागमती प्रदेशमा सत्ता गठबन्धन काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डे काठमाडौ आएर दलको बैठक बोलाएका हुन् । उनी गठबन्धनले निर्णय गरे सरकार छोड्न तयार रहेको बताइएको छ ।

पर्यटन विश्वविद्यालय स्थापनाका लागि छलफल चलाएको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्यटन विश्वविद्यालय स्थापनाको मागलाई आफुले गम्भिरतापूर्वक लिएको बताएका छन् । नेपाल पर्वत आरोहण संघले नुवाकोटको ककनीमा आयोजित कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले पर्वत आरोहण संघको योजनालाई साथ रहने बताए । उनले शिक्षा र पर्यटन मन्त्रालयका छलफलमा पर्यटन विकासमा र पर्यटन विश्वविद्यालय स्थापनाका लागि छलफल चलाएको बताए । त्यसका लागि आफ्नो ठाउँबाट पहल गर्ने बताए । प्रचण्डले कार्यक्रममा ककनीमा प्रकाश दाहाल(साकार)को सालिक अनावरण गरेका थिए । उनले प्रकाश दाहाल(साकार)को सालिक निर्माण गर्ने सन्दर्भमा यसको सन्देश नराम्रो नजाओस भनेको स्मरण गरे । पर्वत आरोहण संघले कसैको परिवारको सम्मान भन्दा पनि ८,००० भन्दा माथिका हिमाल आरोहण गर्नेहरुको सबैको सम्ममान गर्ने गरि कार्यक्रम गरिएको भनेपछि आफु सहमत भएको बताए । उनले कार्यक्रमा १० पटक सगरमाथा आरोहण गरेका आङदावा शेर्पा र सफल महिला पत्रकार आरोहिले पर्वत आरोहण मार्फत पर्यटन विकासमा योगदान पुर्याएको बताए । ककनीको विकासका लागि आफुले अर्थमन्त्री वर्षमान पुन र उर्जामन्त्री पोष्ट बहादुर बोगटी हुँदा बजेट विनियोजन गरेको बताए । फेरि पनि ककनीको विकासमा पहल गर्ने बताए । पर्वत आरोहीलाई सम्मान गर्ने र उनका परिवार सहयोग पुर्याउने गरि भुमिका खेल्न पर्वत आरोही संघलाई आग्रह गरे । अध्यक्ष प्रचण्डले देशको समग्र विकासको योजना र भिजन अनुसार काम गर्न लिडरसिपको भुमिका महत्वपूर्ण हुने भन्दै त्यहि अनुरुप माओवादीलाई जनताले साथ र सहयोग पुर्याउने विश्वास समेत व्यक्त गरे ।  

सार्वजनिक शौचालयलाई चिह्न दिदै काठमाडौं महानगर, मर्मत र सरसफाईको जिम्मा संस्थाकै

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न दिने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको हो । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागेको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । चिन्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जानकारी दिएको छ । सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालन आउनेछन् जसमा १०० मा चिन्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ । निर्णयअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्य र यसअघिकै कामपामा रहेका ५८ गरी अब कामपामा २५० शौचालय सार्वजनिक रुपमा प्रयोगमा ल्याउन आउन लगिएको पनि कामपाले जानकारी दिएको छ । बैंक, रेष्टुराँ, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्स होटलसहित छन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा संस्थाकै हुनेछ । यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक÷एक जना प्रतिनिधि तोकिएको छ र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन दिनेछन् ।