वातावरणीय प्रभाव मूल्यांकन कार्य छरितो बनाइने

काठमाडौं । जेठ १४ अर्थमन्त्री डा.प्रकाशशरण महतले विस्तृत परियोजना प्रतिवेदन, वातावरण प्रभाव मूल्यांकन जग्गा प्राप्ति लगायतका कुरा सम्पन्न भइ साइट क्लियरनेस भएका तथा खरिद योजना मात्रै सम्झौता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने बताएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन गर्न बन क्षेत्रमा प्रवेश गर्दा कटान हुने रुखको संख्या तथा जात अनुमानित बनको क्षेत्रफल एकिन गर्ने लगायतका कार्य एकै पटक सम्पन्न गर्ने गरि व्यवस्था मिलाइने भएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि रितपूर्वक पेश भएकाका आयोजना एक महिना भित्रै वातावरण मन्त्रालयले निर्णय दिनुपर्ने व्यवस्था गरिने पनि उनले बताएका छन् ।
वातावरणीय प्रभाव मूल्यांकनमा १० प्रतिशत फरक परेमा पुरक वातावरणीय प्रभाव मूल्यांकन नगरिने व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्री महतले बताएका छन् ।

भत्किएको पुलमुनि सांसद गौतमको अनशन

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा कांग्रेस नेता सञ्जयकुमार गौतमले आमरण अनशन थालेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री गौतम बर्दियाको विकासका लागि भन्दै १५ बुँदे मागसहित भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका हुन्। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि उनी नदी तटमा अनशन बसेका हुन्। जब्दीघाटको भत्किएको पुल हटाएर तुरुन्त नयाँ पुल निर्माण गर्नुपर्ने गौतमको पहिलो माग छ। बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो।

मन्त्री यादवको जिम्मेवारी हेरफेर हुने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवको जिम्मेवारी हेरफेर हुने भएको छ । उनलाई वन तथा वातावरण वा खानेपानीमध्ये एक मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले जानकारी दियो । नयाँ मन्त्री नियुक्त र यादवको जिम्मेवारी परिवर्तन गर्न लागिएको हो । वर्तमान सरकारमा नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री बन्दै छन् । स्रोतका अनुसार उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको हो । उनलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । उनको पद तथा गोपनीयताको शपथ पनि आजै दिउँसो साढे १२ बजेका लागि निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । उनको नियुक्तिसँगै मन्त्री यादवको जिम्मेवारी हेरफेर गरिनेछ ।

वैदेशिक लगानी भित्र्याउन तेस्रोपल्ट लगानी सम्मेलन गर्दै नेपाल

काठमाडौं । नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ । २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रोपल्ट लगानी सम्मेलन आयोजना गर्ने भएको हो। यतिखेर विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षा र प्रतिफल ग्यारेन्टीमार्फत आफूप्रतिको विश्वनीयता देखाउने चुनौती सरकारसामु छ। यस्तो परिवेशमा अन्तर्राष्ट्रिय लगानीकर्तामाझ देशको सम्भावना उजागर गर्दै नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाएर सरकारले वैदेशिक लगानी भित्र्याउन फेरि पनि लगानी सम्मेलन गरिन लागेको हो। लगानी बोर्ड नेपालको ५३ औं बैठकले २०८० मै आयोजना हुन लागेको लगानी सम्मेलनको अवधारणपत्र स्वीकृति गर्नुको साथै सम्मेलन आयोजना गर्ने आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिइसकेको छ। जसअनुसार बोर्डले आवश्यक तयारी पनि थालिसकेको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भाषणमा लगानी सम्मेलन आयोजनाको उद्घोष गर्ने तयारी गरेको छ। त्यसपछि सम्भव भए २०८० चैत अगावै र नभए पनि आव २०८०र८१ भित्र ९२०८१ अगावै० लगानी सम्मेलन गर्ने तयारी अगाडि बढाइएको हो। यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला २०७३ फागुन १९ र २० तथा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७२ चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना भएको थियो। यो अन्नपूर्ण पोस्टमा आज प्रकासित समाचार हो ।

एयरपोर्टमा उत्रीए लगत्तै चन्द्र भण्डारीले भने– आगलागी सुरक्षा पाठ्यक्रममै समेट्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगलागी सुरक्षाको विषयमा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् । भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचार गराएर आइतबार साँझ स्वदेश फर्किएका भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग गाउँगाउँमा विद्युत तथा ग्यास पुगे पनि त्यसअनुसार पाठ्यक्रम परिमार्जन गर्न नसकेको बताए । ‘हामीले जसरी प्रविधिको विकास भयो, गाउँगाउँमा विद्युत पुग्यो, गाउँगाउँमा ग्यास पुग्यो, त्यो अनुसार हामीले पाठ्यक्रममा कसरी सिकाउने भनेर राख्दै राखेनौँ । त्यसको सिकार म त भइसकेँ पनि अरूलाई कस्तो भएको होला । यस्ता विषयमा जनरल नलेज हामीले दिनुपर्दो रहेछ । हामी ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्ने, मसिना कुरा हेर्दै नहेर्ने गर्नाले आज प्रत्येक ठाउँमा यस्तो दुर्घटना भइरहेको छ,’ उनले भने । नेता भण्डारीले आफू थप उपचारका लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किएका हुन् । उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सोही घटनामा घाइते भएकी नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।

चितवन क्षेत्र नं. २ मा विवाद हुँदा मतदान प्रभावित

चितवन । चितवन विवाद हुँदा दुई केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले बताए । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

समाजवादी केन्द्र छिट्टै घोषणा हुन्छ : प्रधानमन्त्री प्रचण्ड (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै समाजवादी केन्द्र घोषणा हुने बताएका छन् । नेकपा एकीकृत समाजवादीले नेपाल कम्युनिष्ट पार्टी स्थापनाका सन्दर्भमा आज आयोजना गरेको विचार गोष्टिमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले विगतमा नेकपा बनाउँदाका तिता मिठा अनुभवलाई आधार मानेर समाजवादी केन्द्र घोषणा गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने,‘कम्युनिष्टहरु मिलेर चुनाव लडौं भन्ने उतिबेला पनि प्रस्ताव मैले नै राखेको थिए । कम्युनिष्टहरु मिलेर अघि बढ्दा राम्रो सन्देश जानेछ भन्ने कुरा सकारात्मक थियो । अहिले पनि यो देशको राष्ट्रिय एकता र सुदृढिकरणका लागि कम्युनिष्टहरु एक हुन जरुरी छ । आउनुस छलफल गरौं र वातावरण बनाऔं ।’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता र जनतन्त्रका समालमा समेत अघि बढ्न कम्युनिष्टहरुको एकता आवश्यक रहेको उनले बताए ।‘राष्ट्रियता जनतन्त्र र जनजिविकाका सवालमा एक हुनेहरु सवै मोर्चामा आवद्ध होऔं, फेरि एकताबद्ध हुन सम्भव छ भन्ने सन्देश दिऔं । राम्रो आधार बनाएर पार्टी एकतामा जाऔं । केही दिन भित्रै समाजवादी केन्द्र घोषणा हुँदैछ । फेरि नेकपा घोषणाको आधार तयार हुन लागेको छ । देशको आवश्यकता र जनताको चाहनालाई हेरौं । अहिले आन्दोलनका उपलब्धिहरु उल्ट्याउने प्रयास भईरहेको छ,’ प्रधानमान्त्री प्रचण्डले भने ।

आईपीएल : राजस्थान रोयल्समाथि लखनऊको रोमान्चक जित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्समाथि १० रनको सानदार जित हात पारेको छ । लखनउले छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा सवाई मानसिंह स्टेडियम जयपुरमा साबिक उपबिजेता राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको हो । लखनउले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ३५ बलमा सर्वाधिक ४४ रन बनाए । अर्का ओपनर जोस बटलरले ४१ बलमा ४० रन बनाए । पहिलो विकेटका लागि यशस्वी र बटलरले ८७ रनको साझेदारी गरेका थिए । देवदत्त पाडिकलले २१ बलमा २६ रन बनाए । लखनउका लागि आभेस खानले ३ र मार्कस स्टोइनसले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन बनायो । लखनउका लागी ओपनर केल मेयर्सले ४२ बलमा ४ चौका तथा ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर तथा कप्तान केएल राहुलले ३२ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । यि दुईले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरे । मार्कस स्टोईनसले १६ बलमा २१ रन बनाउँदा निकोलस पुरनले २० रन बनाए । कुर्नाल पान्ड्या २ बलमा ४ रन बनाउँदै अविजित रहे । राजस्थानका लागि रविचन्द्रन आश्विनले २ तथा सन्दीप शर्मा,जेसन होल्डर र ट्रेन्ट बोल्टले समान १–१ विकेट लिए । राजस्थान ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमा छ । लखनऊ ६ खेलमा ४ मा जित २ मा हाखरसहित ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । राजस्थानले अव आइतबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । लखनऊले शनिबार गुजरातसँग खेल्नेछ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७९ पैसा र बिक्री दर १६३ रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आज रुस जाँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन् । रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन् । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन्। अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन सहित वर्षाको संभावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको संभावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ । राती भने देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित क्षणिक वर्षाको संभावना रहेको छ।

एसीसी प्रिमियर कप :  मलेसियाद्वारा नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ए को पहिलो खेलमा नेपाललाई मलेसियाले २ सय ३६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए । दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे । ३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो । विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए । यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए । उपाधि दाबेदार नेपाल आज मलेसियालाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । मलेसिया पनि नेपाललाई हराएर प्रतियोगिताको जितबाट प्रतियोगिताको सुरुआत गर्ने योजनामा छ । नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन ।

फास्टट्रयाक अनुगमनमा निस्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फास्टट्रयाक अनुगमनमा निस्केका छन् । उनी फास्टट्रयाक अनुगमन गर्न बाराको निजगढ पुगेका हुन् । तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड निजगढ पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले जानकारी दिए । विकास निर्माण कार्यमा ढिलाई नहोस् भनेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरबका आयोजनाहरू अनुगमन गर्दै आइरहेका छन् । उनी आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ८६ पैसा र बिक्री दर १३१ रूपैयाँ ४६ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७४ पैसा र बिक्री दर १४४ रूपैयाँ ४० पैसा रहेको छ। जापानीज यानका १० बराबर ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, कुवेत दिनार एक दिनार बराबर ४ सय २७ रुपैयाँ २८ पैसा र विक्रीदर ४ सय २९ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३६ पैसा र बिक्री दर १६३ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

भिजिट भिसामा रोजगारीमा हिँडेकालाई फर्काउने क्रम बढ्दै

काठमाडौँ । भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ । विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको छ । चैत २७ गते मात्र विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका ८३ महिला र चार पुरुषलाई ब्युरोले परामर्श दिएर फर्काएको छ । माघमा महिला र पुरुष गरी २ सय ५०, फागुनमा महिला ५ सय ५७ र चैत २७ सम्म महिला पुरुष गरी ६ सय १२ जनालाई भिजिट भिसामा विदेश जान रोकिएको ब्युरोले जनाएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेकालाई नै आफू कुन देश जान लागेको, नै गएर के काममा गर्नुपर्ने हो भन्ने विषयमा थाहा नभएको पाइएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार उनीहरूमा आफू जान लागेको देशको भाषासम्बन्धी ज्ञान र सीपको पनि अभाव रहेको देखिएको छ । बैंक स्टेटमेन्ट, श्रम स्वीकृति, भिजिट भिसा र शैक्षिक प्रमाणपत्र नक्कली भएकालाई फर्काउने गरिएको ब्युरोको भनाइ छ । यो नागरिक दैनिकमा प्रकासित समाचार हो ।

सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति अभाव छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालमा पूर्वाधारको अभाव नभए पनि त्यसलाई सञ्चालन गर्ने जनशक्ति अभाव रहेकाले अब जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छन् । सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको सरकारी एकीकृत डाटा केन्द्र तथा डिजास्टर रिकभरी केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन ग्रहण गर्दै उनले सरकारी निकायमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेको पनि बताइन् । उनले भनिन्, ‘‘हामीसँग उपकरण भए पनि दक्ष जनशक्ति नहुनु ठूलो समस्या बनेको छ, सरकारी निकायमा सूचना प्रविधिका दक्ष जनशक्ति कसरी भित्र्याउने र भएको जनशक्तिलाई कसरी दक्ष बनाउने भन्ने चुनौतीको रूपमा देखिएको छ, यसमा हामीले प्राथमिकताका साथ गृहकार्य गर्नुपर्ने भएको छ ।’’ सूचना प्रविधि निरन्तर बदलिने रहने क्षेत्र भएकाले यसमा कार्यरत जनशक्तिलाई नियमित तालिम प्रशिक्षणमार्फत बदलिँदो प्रविधिसँग अपडेट गराउनुपर्नेमा मन्त्री शर्माले जोड दिइन् । भौतिक सुरक्षाजस्तै साइबर सुरक्षा पनि अनिवार्य पक्ष बन्न गएकाले सरकारले साइबर सुरक्षा कार्यक्रम सबै निकायमा लागू गरेर लैजाने सोच रहेको पनि उनले जानकारी दिएको जानकारी सञ्चारमन्त्रीको निजी सचिवालयले जनाएको छ । तोकिएको समयभन्दा अगाडि नै प्रतिवेदन बुझाएकोमा समितिलाई धन्यवाद धन्यवाद दिँदै मन्त्री शर्माले प्रतिवेदनमा आएका विषयवस्तुलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरिन् । साइबर सुरक्षा धेरै नै महत्त्वपूर्ण भए पनि नेपाल यसमा पछाडि रहेको स्वीकार गर्दै उनले आफूले पद सम्हालेकै समयदेखि यसलाई महत्त्वका साथ लिएको बताइन् । मुलुक सञ्चालनका लागि राजश्व सङ्कलनदेखि राष्ट्रियताको रक्षा गर्नेसम्मका काम सूचना प्रविधि महत्त्वपूर्ण रहेको र यसको सुरक्षा प्राथमिक एजेण्डा भएकाले गत फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको र कार्यदलले काम थालेको २६ दिनमै प्रतिवेदन दिएको उनले जानकारी दिइन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साइवर सुरक्षा र सेवा प्रवाहलाई सहज बनाउन संरचनात्मक परिवर्तन आवश्यक रहेकोमा जोड दिँदै प्रतिवेदनलाई योजनाबद्धरुपमा कार्यान्वयन गरिने बताइन् । सेवा प्रवाहको माध्यम विद्युतीय भइरहेकाले साइबर सुरक्षामा जोड दिनुपर्ने अवस्था आएको उनले स्पष्ट पारिन् । उच्चस्तरीय समितिका संयोजक जुद्धबहादुर गुरुङले तत्कालीन र दीर्घकालीनरुपमा लागू गर्ने गरी राय सुझाव दिइएको बताइन्। उनले समयतालिकासहित कार्ययोजना नै बनाएर काम गर्ने गरी सुझाव दिइएको पनि बताइन् । समितिलाई साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको थियो । सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको कार्यदल सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहेका छन् । कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ सदस्यको रूपमा रहेका छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिको रूपमा सहसचिव अनिलकुमार दत्त रहेका थिए ।