यस्तो छ आज विदेशी विनिमयदर (सूचीसहित)

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३२.४८ रुपैयाँ रहेको छ । बिक्री दर भने १३३.०८ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४२.२५ रुपैयाँ रहेको छ । बिक्री दर भने १४२.८९ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ रहँदा बिक्री दर ३५.४८ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहँदा बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

आजको विनिमयदर

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

सिन्धुपाल्चोक। दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ । रासस

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

काठमाडौं । सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदमा डा. सनत कुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी छन् । यसैगरी, बैठकले नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा कैलाश कुमार पनेरुलाई नियुक्त गरेको छ । सञ्चारमन्त्री शर्माले नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिइन् । यसैगरी, नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णय बैकले गरेको छ । सञ्चार मन्त्री शर्माले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०८१ का लागि जम्मा ३८ राजपत्राङ्कित अधिकृतस्तरका अस्थायी दरबन्दी स्वकृत गर्ने निर्णय पनि बैठकले गरेको बताइन्। त्यस्तै मन्त्रिपरिषद् बैकले अन्य विभिन्न २० वटा निर्णय गरेको छ ।

सार्क राष्ट्रबीच समझरी आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्क राष्ट्रहरूबीच आपसी समझदारी र सहकार्य आवश्यक भएको बताएका छन् । सार्कका महासचिव इसला रुवान विराकुनले गरेको बिदाइ भेटका क्रममा राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सार्कका महासचिव इसला रुवान विराकुनले शिष्टाचार बिदाइ भेट गर्नुभयो,” राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, “सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको कुरा बताउनुभयो ।”

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

रोम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताएका हुन् । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए । जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए। “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए। “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”,उनले भने । प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उनले भने । नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताए। पछिल्लो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न जसरी भए पनि नेपाल र नेपालीको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिए यसको औचित्य सावित नहुने बताए। “हामीले नेपालमा राजनीतिक परिवर्तन राजनीतिका लागि मात्र ल्याएको होइन, राष्ट्र र जनताको वृहत्तर हित हुने गरी पविर्तन ल्याउने भनेका हौँ”, उनले भने, “यदि जनताको जीवनस्तरमा परिवर्तन हुँदैन भने यसको दिगोपन र औचित्य पनि इतिहासमा सिद्ध हुँदैन ।” आफूले यसपटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प लिएको उल्लेख गर्दै उनले सोही सङ्कल्पअनुसार मुलुकको अवस्था बदल्न लागि परेको बताए। “जसले परिवर्तन ल्याउन लड्यो, त्यही पार्टी, विचार र नेतालाई चिन्ता हुन्छ”, उनले भने, “यो परिवर्तनले जनतालाई राम्रो गर्यो कि गरेन । यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा गरेको सङ्कल्प त्यही नै हो ।” सात दशक लडेर ल्याएको परिवर्तनले राष्ट्र र जनताको हित गर्न सकेन भने त्यो दुर्भाग्य पूर्ण हुनेछ भन्दै उनले परिवर्तन असफल भयो भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको औँल्याए “यो परिवर्तन असफल भयो भने राजनीतिक परिवर्तन मात्रै असफल हुँदैन, नेपाल राष्ट्र नै असफल हुने र दुर्घटनामा पर्ने खतरा रहन्छ”, उनले भने, “त्यसकारण देश र जनतालाई दुर्घटनाबाट बचाउन पनि यस पटक सरकारको नेतृत्वको हैसियतले कठोर कदम चाल्नै पर्छ भनेर महत्त्वपूर्ण काम थालिएका छन् ।” नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ थियो । “कानूनी तथा संरचनात्मक जटिलतालाई हल गरेर यी विषयमा सरलीकरण गरिन्छ”, उनले भने । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनले आयोजना गरेको कार्यक्रमको दौरानमा इटालीका प्रधानमन्त्री र राष्ट्रसङ्घका महासचिवसँग अनौपचारिकरुपमा महत्त्वपूर्ण कुराकानी भएको जानकारी दिँदै उनले आफूले औपचारिक कार्यक्रममा दिएको वक्तव्यपछिको प्रतिक्रिया पनि निकै सकारात्मक भएको पाएको बताए । “अब इटाली सरकारसँग नेपाल सरकारको सम्बन्ध अझ गहन हुने र अगाडि बढ्ने विश्वास लिएको छु”, उनले भने, “तपाईंहरु (एनआरएन०ले उठाएका विषय सम्बोधनको पहलका लागि आधार मिलेको छ ।” इटालीमा रहेका नेपालीले यहाँ आइपुग्दा र यहाँ रहँदा भोगेका समस्या बारेमा आफूले नजिकबाट जान्ने मौका पाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारकातर्फबाट सक्दो सहयोग गर्ने बताए । “मैले यहाँ बस्ने नेपालीका समस्या, यहाँ आइपुग्दा भोगेका समस्या, यहाँ पुगेपछि भोगिरहेका समस्याबारे प्रत्यक्षरुपमा बुझ्ने मौका पाएँ”, उनले भने “इटालीमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारबाट के गर्न सकिन्छ, त्यसका निम्ति पहल गर्नेछु ।” परराष्ट्र सचिव भरतराज पौडेलले गैरआवासी नेपालीको नागरिकतासम्बन्धी विषय सम्बोधन भएको बताए । अस्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले आफूहरु इटालीमा रहेका नेपाली समुदायसँग अत्यन्त नजिक रहेको उल्लेख गर्दै नेपालीले भोग्दै आएका समस्यालाई नेपाल सरकारसमक्ष पुर्याउने गरेको बताए। कार्यक्रममा सहभागी मुलुकबाहिर रहेका नेपालीले आफ्नो परिवारको भन्दा पनि मातृभूमिको माया गरी आएको उल्लेख गर्दै सहभागीले गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने वातावरण बनेकामा सरकारलाई धन्यवाद दिएका थिए । पछिल्लो दुई वर्ष गैरआवासीय सङ्घका लागि सुखद नरहेको भन्दै उनीहरुले विभाजित एनआरएनएलाई प्रधानमन्त्रीको उपस्थितिमा एक ठाउँमा ल्याउने सम्झौता भएकामा आभार व्यक्त गरेका थिए ।

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठक साउन १८ गते बिहान ७ बजे काठमाडौंमा बस्ने यादवले जानकारी दिए। बैठक क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बस्ने छ। केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको छ ।

प्रधानमन्त्रीको गुनासो -‘ठूला उपलब्धि छाडेर मुर्रा राँगो कि भैंसी भन्ने विवादमा संसदको लामो समय खर्चनु राम्रो भएन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌का कतिपय गतिविधिहरूबाट आफु सन्तुष्ट हुन नसकेको बताएका छन् । संसदमा विनियोजन विधयेकबारे उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले संसदमा मुख्य विषयभन्दा ससाना विषयले बढी समय लिएकोप्रति पबताएका हुन् । उनले सासंदहरुमा विकास भएको सतहि सस्ता र बजारु विषयले राजनीतिको चेहेरा प्रदुषित गराउँने तर्फ चिन्ता समेत व्यक्त गरे । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् । सार्वजनिक बहसको स्तर खस्केको भन्दै उनले चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको पनि आरोप लगाए । ‘संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो ।’ उनले भने, ‘भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेकथ्रु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं ।’ यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे संसद गम्भीर हुन जरुरी रहेको उनले बताए ।

नेदरल्याण्ड्ससामु नेपालको फितलो प्रर्दशन, १ सय ६७ रनमै अलआउट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्ड्ससामु नेपालले फितलो प्रर्दशन गरेको छ । आज जारी खेलमा नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ। जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४।३ ओभरमा १ सय ६७ रन बनाउँदा अलआउट भयो। खराब प्रर्दशन गरेको नेपालले एक सय रन कटाउन २९ ओभरमा ५ विकेट गुमाएको थियो। नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओडिआइमा ५० औं खेल खेलिरहेका कुशलले ५५ बलमा ३ चौका र १ छक्का हान्दा क्याच आउट भए। नेपालबाट ५० औं ओडिआइ खेल खेल्ने रोहित पहिलो खेलाडी हुन्। कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे। कुशल मल्लले १२ रन बनाए। आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के। सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए। सन्दीप ३३ बलमा ४ चौका हाने। ललित राजवंशी शुन्य रनमा नटआउट रहे। नेपालले नेदरल्याण्डस्विरुद्ध २ छक्का र ११ चौका मात्र प्रहार गर्यो। किफायती बलिङ गरेका नेदरल्याण्ड्सका बलरसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

बेपत्ताको शव नभेटिएपछि कुशको प्रतीक बनाएर दाहसंस्कार

ताप्लेजुङ । गत शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए । पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता भएका थिए ।

काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

वातावरणलाई असर नपर्ने गरी ढुङ्गा र गिट्टी निर्यात गरिने

काठमाडौं । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ढङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरेका छन् । ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आएपनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न सकेको छैन ।

वातावरणीय प्रभाव मूल्यांकन कार्य छरितो बनाइने

काठमाडौं । जेठ १४ अर्थमन्त्री डा.प्रकाशशरण महतले विस्तृत परियोजना प्रतिवेदन, वातावरण प्रभाव मूल्यांकन जग्गा प्राप्ति लगायतका कुरा सम्पन्न भइ साइट क्लियरनेस भएका तथा खरिद योजना मात्रै सम्झौता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने बताएका छन् । वातावरणीय प्रभाव मूल्यांकन गर्न बन क्षेत्रमा प्रवेश गर्दा कटान हुने रुखको संख्या तथा जात अनुमानित बनको क्षेत्रफल एकिन गर्ने लगायतका कार्य एकै पटक सम्पन्न गर्ने गरि व्यवस्था मिलाइने भएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि रितपूर्वक पेश भएकाका आयोजना एक महिना भित्रै वातावरण मन्त्रालयले निर्णय दिनुपर्ने व्यवस्था गरिने पनि उनले बताएका छन् । वातावरणीय प्रभाव मूल्यांकनमा १० प्रतिशत फरक परेमा पुरक वातावरणीय प्रभाव मूल्यांकन नगरिने व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्री महतले बताएका छन् ।

प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीले जवाफ दिंदै (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ । त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिइरहेका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने छ ।

अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरे । प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरे। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिए। भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गरे। उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिए ।

प्रहरीले संसद सचिवालयलाई दियो रायमाझी पक्राउ परेको जानकारी

काठमाडौं । प्रहरीले फरार एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयलाई दिएको छ। कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ। प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसद पक्राउ परेको सूचना सभामुखले सदनलाई जानकारी दिनुपर्ने व्यवस्था छ। भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए। उनलाई आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए ।