शनिबारदेखि सुविसु गल्फ प्रतियोगिता सुरु

काठमाडौं, माघ ७ । नेपालको अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले भोलीदेखि (२१ जनवरी, २०१७)बाट ‘सुविसु इन्भाइटेशनल गल्फ प्रतियोगिता–२०१७’ आयोजना गर्दैछ ।

शनिबारदेखि रोयल नेपाल गल्फ क्लब काठमाडौंमा उक्त प्रतियोगिता शुरु हुने सुविसुले जनाएको छ । पहिलो पटक आयोजित प्रतिगोगितामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कर्पोरेट तथा व्यपारीक पृष्ठभुमिका लगभग ६० गल्फ खेलाडीहरु भाग लिदै छन । ‘प्रतियोगिता आयोजना गर्नुको प्रमुख उद्देश्य भनेको नेपालमा कर्पोरेट क्षेत्रमा गल्फको प्रचार र विकास गर्नु हो’, सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले प्रतियोगिता सम्बन्धी जानकारी दिंदै भने ।

‘स्टेबल फोर्ड फर्मेट’मा हुने प्रतियोगितालाई महिला र पुरुष गरी दुई विधामा विभाजन गरिएको छ । अतिथि तथा गल्फमा र्यकिङ् नभएका अर्थात नन् गल्फरका लागि छुट्टै प्रतियोगिताको समेत आयोजना गरिएको छ । गल्फरहरुका लागि मात्रै नभई विभिन्न क्षेत्रका कर्पोरेटका प्रतिनिधि, अतिथिहरुसँग अन्र्तक्रियासँगै मनोरञ्जनका लागि समेत आयोजना गरिएको सुविसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विजयी गल्फरहरुलाई ट्रफी सहित पुरस्कार प्रदान गरिने छ । सुबिसु केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएल एस भि पिएन एस, व्यानएथर्नेट, होलसेल आइपि ट्रान्जिट, एम भि पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन नेपालमा प्रदान गर्ने अग्रणी कर्पोरेटको रुपमा स्थापित छ ।

कश्मिरमा हमला, तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारत शासित कश्मिरको अखनुर जिल्लामा भएको एक हमलामा भारतीय सेनाका २ जवान मारिएका छन् । सेनालाई लक्षित गरि गरिएको हमलामा ३ जनको मृत्यु भएको हो । हमलाकारी भने भाग्न सफल भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । यो हमला चरमपन्थीले गरेको बताइएपनि सेनाले भने आधिकारीक रुपमा हमला गर्नेबारे केही बोलेको छैन । पुरै इलाकामा अहिले हमलाकारी पत्ता लगाउन छानविन सुरु भएको छ । यो भन्दा अगाडि पनि भएको यस्तै हमलामा ३ जना घाइते भएका थिए । र हमलाकारी भाग्न सफल भएका थिए ।

‘सुल्तान’लाई ‘दंगल’ले पछार्यो, १३ दिनको कमाई ४८७ करोड

एजेन्सी । बलिउड अभिनेता आमिर खानको चलचित्र दंगल रिलिज भएकोे दुइ हप्ता भइसकेको छ । दंगलले तीन दिनमै एक सय करोड कल्वमा सामिल भइसकेको छ । १३ दिनभित्र करीब ५ सय करोड रुपैया कमाइ गरिसकेको छ । दंगलले १३ दिनमा घरेलु बक्स अफिसमा ४८७ करोड रुपैया कमाइ गरेर सलमान खान अभिनित चलचित्र सुल्तानको रेकर्ड तोडिदिएका छ । दंगल चलचित्र हेर्ने दर्शकको भिड अहिले पनि उस्तै छ । यही कारण दंगलले नयाँ रेकर्ड राख्न सक्ने विष्लेषकहरुको दावी छ । सन् २०१४ मा आमिरको पिके र सलमान खानको बजरंगी भाइजान र सुल्तानपछि दंगलले घरेलु बक्स अफिसमा ४८७ करोड कमाउन सफल चलचित्रमा चौंथो नम्वरमा परेको छ । २३ डिसेम्बरमा रिलिज भएको दंगल भारतको राष्ट्रिय स्तरको पहलवान भइसकेका महावीर सिंह फोगटेको कथामा आधारीत छ । जसले आफ्नो छोरी गीता र बबितालाई कुस्तीमा अन्र्तराष्ट्रिय गोल्ड मेडल जित्नसक्ने बनाएका थिए ।

जिपको ठक्करबाट चितवनमा प्रहरीको मृत्यु, एक गम्भीर घाइते

रत्ननगर (चितवन), पुस २० । तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत ३३ वर्षीय सुमन घिमिरे गम्भीर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौँ जाँदै गरेको ना ३ च ८३१ नंको बोलेरो जिपले साइकलमा सवार प्रहरीलाई ठक्कर दिएको हो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

“लाहुरेको छोरा”

उसले – सुनेको छ, बुझेको छ पढेको छ बाउ बाजेको बहादुरी सत्रु सामु कहिल्यै नझुक्ने, बरु ज्यानको बाजी थाप्ने “बहादुर गोर्खाली” अरुले यसो भन्दा – छाती फुल्छ गर्बले उसको । लाहुरेको छोरा उ आलिसन महल छ उसँग महलभित्र नोकर चाकर छन् बाउ बाजेको बहादुरीको तक्माहरु छन् मान्छेहरु – इर्स्या गर्छन् उसको महल हेरेर जिब्रो टोक्छन् बाउबाजेको बिरताको गाथा सुनेर छक्क पर्छन्  ऐश आरामको जिन्दगी देखेर । लाहुरेको छोरा उ बाउ बाजेको बहादुरी मात्र पढेको, सुनेको र बुझेको एकदिन- झुक्किएर उसले नेपालको ईतिहास पल्टायो नेपालभित्रको भुगोल र भुगोल भित्रको भुमी पुत्रहरुको कथा पढ्यो बाइसे-चौबिसे राज्य र ति राज्यहरु गुमिदाका ईतिहास पढ्यो अनी पढ्यो ति गुमाइएका राज्यका रैतीहरुको जिन्दगीको कथा । जती पढ्यो- बढ्दै गयो कौतुहलता जब, आफु को हुँ ? लाहुरे को  हो ? बहादुरीको पगरी के हो ? बुझ्यो उसले भारी लाग्यो उसलाई बहादुरीको पगरी र गिज्याए झै लाग्यो “बहादुर गोर्खाली” भन्ने शब्दले । यथार्थमा – अलिकति पैसाको लागि कुनै मालिकलाई करारमा बेचिएको गुलाम शिवाय केही होइन रहेछ “लाहुरे” अनि मालिकको लागि बगाएको त्यो गुलामको पसिना र रगतको मुल्य शिवाय केही होइन रहेछ “बहादुरीको पगरी” । सोच्दैछ उ – के लाउरे मात्रै हुने त  अझै नि हामीहरु ? के लाहुरे मात्रै बनाउने त अझै नि भावी सन्ततिलाई ? लाहुरेको छोरा उ खाली भित्तालाई हेरेर एककोहोरो टोलाईरहेछ  आज  । शायद, त्यो खाली भित्तामा उ आफ्नो पुर्खाहरुको बेचिएको जवानी खोज्दैछ लुटिएको ईतिहास खोज्दैछ फोक्ल्याण्ड र कार्गिलमा बगेको रगतको मुल्य खोज्दैछ  । शायद, त्यो खाली भित्तामा उ आफ्नो नाम खोज्दैछ आफ्नो तस्बिर खोस्दैछ आफ्नो मुस्कान खोज्दैछ आफ्नो सन्ततिको भबिस्य खोज्दैछ । शायद, त्यो खाली भित्तामा उ खोज्दैछ आफ्नो देशको मानचित्र र त्यो मानचित्र भित्र खोज्दैछ आँफैलाई ।                   सुन्दर गुरुङ                   छिनामखु -8, काङ्काङ, भोजपुर                  हाल : बहराईन ।

अवैधस्वास्थ्य संस्थामाथि कडा निगरानी, फागुनभित्र दर्ता गर्न अन्तिम मौका

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले अनुगमन गर्दा निजी अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका संशोधनसहित जारी गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याएको हो । नयाँ निर्देशिका लागू भएपछि निजी स्वास्थ्य क्षेत्रको भद्रगोल अवस्था व्यवस्थित भई उनीहरुबाट भइरहेको लापरवाही नियन्त्रण हुनुका साथै स्वास्थ्य प्रणालीमा सुधार हुने स्वास्थ्यमन्त्री गगन थापाले विश्वास गर्नुभएको छ । निर्देशिका लागू भएपछि राज्यको ढुकुटीमा करोडौँ राजस्व पनि थपिने भएको छ । देशभरका निजी स्वास्थ्य संस्थाको यथार्थ तथ्याङ्क आउने र उनीहरुलाई सामाजिक तथा व्यावसायिक दायित्व लागू गराउन सकिने भएकाले पनि निर्देशिका अत्यावश्यक भएको मन्त्री थापाले स्पष्ट पार्नुभयो । निर्देशिका जारी भएपछि हरेक निजी स्वास्थ्य संस्थाका १० प्रतिशत शै्यया निःशुल्क गराउन पनि सजिलो हुने उहाँको भनाइ छ । कात्तिकको अन्तिम हप्तादेखि काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा भएका अनुगमनमा झन्डै आधाजसो स्वास्थ्य संस्थाले कानुनी प्रक्रिया पूरा नगरेको पाइएपछि तिनीहरुलाई कानुनी दायरामा ल्याउन तथा भविष्यमा खुल्ने स्वास्थ्य संस्थालाई नियमन गर्न निर्देशिका संशोधन गरिएको मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा कुनै पनि सरकारी निकायमा दर्ता नभएका, एउटा निकायमा दर्ता भए पनि स्वास्थ्य मन्त्रालय र मातहतमा दर्ता नभएका, नवीकरण नभएका र दर्ताका लागि निवेदन दिए पनि अनुमति नपाएका स्वास्थ्य संस्था पनि सञ्चालनमा रहेको पाइएको थियो । अनुमगनमा सञ्चालनमा रहेका अस्पताल क्लिनिकलगायत स्वास्थ्य संस्थामध्ये आधाजसोले कानुनी प्रक्रिया पूरा नगरेको पाइएको पौडेलले बताउनुभयो । दर्ता तथा नवीकरण नभएका निजी अस्पताल, शिक्षण अस्पताल, क्लिनिक, पोलीक्लिनिक, फार्मेसी, प्रयोगशाला, नर्सिङहोम, स्वास्थ्य अनुसन्धान केन्द्रलगायतका स्वास्थ्य संस्थाले आगामी फागुनभित्रमा दर्ता तथा नवीकरण नगरेमा खारेज हुने निर्देशिकामा व्यवस्था गरिएको छ । उनीहरुलाई स्वास्थ्य मन्त्रालयले अनुमति लिन वा नवीकरण गर्न एक पटकका लागि आउँदो फागुन मसान्तसम्मको अवधि दिएको छ । निर्देशिकामा अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा कानुनी कारबाहीका लागि गृह मन्त्रालयमार्फत वा सोझै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउने व्यवस्था गरिएको छ । साथै त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा स्वास्थ्य संस्था सञ्चालन अनुमति प्रदान नगर्ने गरी अभिलेख राख्ने कडा व्यवस्थासमेत निर्देशिकामा गरिएको छ । निर्देशिका प्रारम्भ हुने बेलामा संस्था दर्ता गर्ने निकायमा दर्ता भएको तर अनुमतिका लागि निवेदन नदिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाले नियमित दस्तुरको अतिरिक्त पाँच गुणा बढी दस्तुर बुझाएर एकपटकका लागि सञ्चालन अनुमति लिन पाउने भएका छन् । रासस

चुट्किलाः मेकअप गरेर युवती आत्महत्या गर्न हिंडेपछि

एउटा केटी अति नै सजिएर पुलबाट हाम फाल्न लाग्दै थिई । अचानक एउटा केटाले देखेर दौडदै बचाउन दौड्यो । यो के गर्न लाग्या तिमीले भन्दै केटाले तान्यो र केटीलाई बचायो । अनि केटीले भनीः देखेनौं, म आत्महत्या गर्न लाग्दैछु । केटो दंग पर्दैः अनि यती राम्री भएर पनि कोही आत्महत्या गर्छन त ? केटीः भोलि पत्रिकामा मेरो राम्रो तस्वीर छापिन्छ की भनेर नी । केटो बेहोस ।

अशोक केसीको मार्मिक लोक एल्बम

स्वर्गीय गायिका शान्ता रोका मगरप्रति समर्पित उनकै स्वरमा सजित अशोक केसीको दोस्रो मार्मिक लोक एल्बम

रिमालले जिते राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण !

इटहरी, । सातौं राष्ट्रिय खेलकुल प्रतियोगितको एथलेटिक्स तर्फको पहिलो स्वर्ण धावक हरिकुमार रिमालले जितेका छन् । शनिबार इटहरीको ट्रयाक एण्ड फिल्डमा भएको पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेर उपाधि हात पारेका हुन् । रिमाल नेपाली सेनाका धावक हुन् । १३ धावक सहभागी खेलमा नेपाली सेनाकै अर्का धावक छत्रबहादुर दाहालले रजत पदक जिते ।  त्यस्तै नेपाल पुलिसका तर्फबाट करण खड्काले कास्य पदक हात पारेका छन् ।

सुविधा सम्पन्न गुप्तेश्वर क्याम्पस

पोखरा, ६ पुस । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस भौतिकरुपमा सुविधा सम्पन्न हुने भएको छ । ‘प्राकृतिक स्रोतको आम्दानी शैक्षिक विकासमा लगानी’ भन्ने मुख्य लक्ष्यका साथ २०६४ सालदेखि सञ्चालित सो क्याम्पसमा अहिले रु पाँच करोड ७६ लाखको लागतमा दुईवटा पक्की भवन निर्माण भइरहेका छन् । विश्वविद्यालय अनुदान आयोगको रु। ३५ लाख र गुप्तेश्वर गुफा व्यवस्थापन समितिको रु ४१ लाख गरी कूल रु। ७६ लाखको लागतमा दुई तल्ले १० कोठे भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला विकास समिति कास्कीको प्राविधक एवम् भारतीय राजदूतावासको रु पाँच करोड आर्थिक सहयोगमा दुई तल्ले २१ कोठे भवन निर्माण भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिलक आचार्यले जानकारी दिए। गुप्तेश्वर गुफा व्यवस्थापन समितिले पर्यटकीय क्षेत्र पातले छाँगो (डेभिजफल) नजिक खरिद गरी क्याम्पसलाई हस्तान्तरण गरेको करिब ६ रोपनी जग्गामा एकै पटक २९ वटा कोठेका दुईवटा सुविधा सम्पन्न भवन निर्माण भइरहेको जानकारी दिँदै उनले भने– ‘क्याम्पस भौतिकरुपमा सम्पन्न हुँदै गएपनि गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी भर्नादर वृद्धि गर्नु अहिलेको चुनौती रहेको छ ।’ सञ्चालक समितिका अध्यक्ष आचार्यकाअनुसार यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, वुद्धिजीवी एवम् विभिन्न सरोकारवालाको सामूहिक प्रयासबाट २०६५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको सो क्याम्पस निकट भविष्यमा आप्mनै भवनमा सर्ने तयारीमा जुटेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवर्षे बीबीएस तर्फ वित्तशास्त्र, लेखाशास्त्र र बजारशास्त्र विषय तथा शिक्षाशास्त्र संकायका चार वर्षे स्नातक तहमा वीएडतर्फ अङ्ग्रेजी र नेपाली शिक्षा मूल विषयमा पठनपाठन भइरहेको निमित्त क्याम्पस प्रमुख मनोरञ्जन शर्माले बताए । उनले क्याम्पसको विभिन्न सङ्कायतर्फ कुल दुईसय ९२ जना अध्ययनरत विद्यार्थीमध्ये ७५ प्रतिशत छोरीबुहारी रहेको जानकारी दिए । क्याम्पस सञ्चालनका लागि हालसम्म जग्गाबाहेक भवन निर्माण र प्रशासनिक खर्चमा मात्र रु.पाँच करोडभन्दा बढी लगानी भइसकेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए । उनका अनुसार क्याम्पस स्थापनाकालदेखि विद्यार्थीबाट उठेको रकम बाहेका सम्पूर्ण खर्च गुफाले बेहोर्दै आएको छ भने यसवर्ष क्याम्पस सञ्चानार्थ रु.५० लाख प्रदान गरिएको छ । क्याम्पसमा विद्यार्थीलाई आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोग एवम् झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको रु.१५ लाख ६७ हजार ४०५ रुपैयाँको लागतमा ३९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको इन्जिनियर पदम गुरुङले जानकारी दिए । क्याम्पसले विभिन्न संकायमा नियमितरुपमा अध्ययनरत जेहेन्दार, दलित, जनजाति तथा आर्थिक रुपमा विपन्न विद्यार्थीका लागि छात्रवृित्तको समेत व्यवस्था गरिएको जानकारी दिँदै उनले यसवर्ष ४३ जना विद्यार्थीलाई रु.दुई लाख दुई हजार ५०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ भने । क्याम्पसमा हाल विभिन्न विषयका ११ जना पूर्णकालीन र छ जना आंशिक प्राध्यापक र पाँचजना कर्मचारी कार्यरत छन् ।

चुनाव स्थानीय तह कि निकायको ?

काठमाडौं, पुस  १ ।  स्थानीय चुनाव गर्न प्रमुख दल सहमत भए पनि नयाँ संरचनाअनुसारको तह वा पुरानै निकायको भन्नेमा अन्योल देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहकै निर्वाचन गराउने गरी मध्यमार्गी प्रस्तावको तयारी गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू स्थानीय चुनाव गर्नेमा सहमति भए पनि नयाँ संरचनाको स्थानीय तह वा पुरानै स्थानीय निकायको भन्नेमा अलमलिएका वेला प्रधानमन्त्रीले नयाँ प्रस्तावको तयारी गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख दलहरूबीच अहिलेकै गाविसलाई गाउँपालिका बनाएर स्थानीय तहको चुनाव गर्ने सहमति भएको दाबी गरेका छ । एमाले महासचिव इश्वर पोखरेलले पार्टी स्थानीय तहकै पक्षमा रहेको बताए । यो खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती

अछाम, मंसिर ३०  । अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन्। ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन्। तर, उनीहरू सबै एक/दुई सन्तानका आमा बनिसकेका छन्। जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ। ‘केटाहरू धेरै हुन्छन्,’ राउटेका महामुखिया महिनबहादुर शाहीले भने, ‘बिहे (विवाह) गर्न वर्षौं कुर्नुपर्छ। तर पनि कत्ति केटाको त निकै मुस्किलले मात्रै पालो आउँछ।’ केटी नपाउँदा धेरैजसो पुरूषको त ४० वर्ष काटेपछि मात्रै बिहे हुने गरेको उनको भनाइ छ। ‘केटी नपाउँदा धेरैजसो केटाको त ४० पार गरेपछि मात्रै लगन जुर्ने गरेको छ,’ महामुखिया शाहीले भने। पुरूष लामो समय कुर्नुपर्ने तर महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुपर्ने बाध्यता परम्परा नै बनेको छ यो बस्तीमा। ‘महिलाले १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुपर्ने बाध्यता अहिले परम्पराजस्तै बन्न थालेको छ,’ किशोरी आमा किताब शाहीले भनिन्। शाहीका अनुसार छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा। ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ उनले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ। उमेरको कुनै वास्ता हुन्न।’ सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन्। त्यसरी ज्यान गुमाउनेको कुनै तथ्यांक नै छैन राउटे समुदायमा। उमेर पुगेर मात्र आमा बन्ने जन्मान्तरका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने र प्रजनन स्वास्थ्यबारे खुलेर बहस गर्ने राउटे महिलाहरूको चाहना छ। तर, पुरुषहरू त्यसो गर्न मान्दैनन्। जसका कारण परिपक्व भएर सन्तान जन्माउने र सुरक्षित रूपमा सुत्केरी हुने उनीहरूको रहर अधुरै रहने गरेको छ। पछिल्लो समयमा आधुनिक जीवनशैली अँगाल्न युवाहरूले पटकपटक प्रयास भने गरेका छन्। तर, युवा पुस्ताको प्रयासमा अघिल्लो पुस्ता बाधक बन्दै आएको छ। युवाहरूको यस प्रयासप्रति अघिल्लो पुस्ता क्रोधितसमेत देखिएका छन्। ‘हाम्रो बस्तीमा यस्तो भन्न हुन्न, जनताहरू बिग्रन्छन्,’ रासकोटी समुदायका मुखिया सूर्यनारायण शाहीले भने, ‘हाम्रो पुर्खाले नमानेसम्म यो परम्परा बदल्न मिल्दैन, यस्तो हुन्न।’ यद्यपि, एकसरो गादो मात्र लगाउने राउटे समुदायमा पुरुष टोपी, जुत्ता, चप्पल, कमिज, टिसर्ट र महिलाहरू गुन्यूचोलो, पटुकी र गलामा पोते लगाउन भने थालेका छन्। यो खबर आजको राजधानी दैनिकमा छ  ।

प्रहरीभित्रका यी बाघ : जसले हाँसी हाँसी बर्दी फुकाले

काठमाडौं, मंसिर ३० ।  नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन। अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्यालयमै बसेर कार्यालयकै काम गर्नुपर्ने वा कुनै युटिमा सहायक भएर बस्नुपर्ने हुन्छ। प्रहरी प्रधान कार्यालयले अवकाश पाउने अधिकृतबाट सेवा प्रदानमा कमजोरी हुने अवस्था आउनसक्ने र जिम्मेवारी बोध पनि नगर्ने हुनाले इन्चार्जको जिम्मेवारी नदिने रणनीति अख्तियार गरेको हो। तर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाको हकमा भने यो लागू भएन। ३० वर्षे प्रहरी सेवाको अवधिमा उनले २५ वर्ष युनिट इन्चार्जमै बिताए। १५ महिनाअघि काठमाडौं परिसरको जिम्मेवारी पाउँदा अन्य अधिकृतहरुलाई जस्तै उनलाई पनि तीन महिनामै काठमाडौंबाट फिर्ता गर्ने सम्भावना थियो। तर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काठमाडौंको जनजीवन सामान्य बनाउन उनले खेलेको भूमिकाका कारण अवकाशको अन्तिम दिनसम्म पनि उनलाई फिर्ता बोलाएनन्। फलतः अवकाशको अघिल्लो दिन २९ मंसिर (हिजो) सम्म उनी परिसकै कुर्सीमा बसेर मातहत निकायलाई निर्देशन दिइरहेका थिए। जागिरे जीवनकालमा सयौं दबाब झेल्नुपरे पनि सत्यका अघि कोही कसैसँग नझुकेकै कारण उनले अन्तिम अवस्थामा पनि काठमाडौं जस्तो जिल्लाको इन्चार्ज भएर अवकाश पाएको गर्व बोध गरे। अवकाश पाउनु अघि सञ्चारकर्मीहरुसँग उनले काठमाडौं परिसरकै कार्यकक्षमा बोल्दै अब आउने परिसर प्रमुखले शक्तिकेन्द्रको दबाब झेल्न नसक्ने हो भने त्यो नेपाल प्रहरीकै नामर्द प्रहरी अधिकृत हुने दावी समेत गरे। जागिरको शुरुवातमै उनी वडा प्रहरी कार्यालय गौशालाको इन्चार्ज हुँदा त्यहाँका टोले दादाहरुलाई तह लगाएर चर्चामा आएका थिए। त्यसयता उनले सबैजसो प्रहरी महानिरीक्षकहरुको मन जिते। सोही क्रममा उनको काठमाडौं परिसर २५ औं युनिट हो। ५४ वर्षीय एसएसपी थापाले त्यसक्रममा पहुँच, प्रभाव र प्रलोभनलाई परास्त गर्नसके मात्रै प्रहरीले जनताको मन जित्न सक्ने आफ्नो अनुभव समेत शेयर गरेका थिए। सञ्चारकर्मीहरुमाझ शक्तिकेन्द्र, अपराधी, माफिया र व्यापारीलगायतले कसरी आफ्ना स्वार्थ पूरा गर्न प्रलोभन दिन्छन् भन्नेबारे पनि उनले खुलेरै धारणा राखेका थिए। ‘चुनौतीको सामना गर्न नसक्ने, कसैले दबाब दियो भनेर पन्छिनु, प्रहरीको चेनअफ कमाण्डलाई अटेर गर्नु र सीमित माफियागिरीसँग रमाउने हो भने त्यसको समय क्षणिक मात्र हुन्छ,’ उनले सञ्चारकर्मी माझ बोल्दै भने, ‘अब म खुला आकाशमा जाँदैछु, मलाई कुनै प्रकारको बन्धन छैन तपाईंहरुसँगै रमाउछु।’ बाँकेमा भगत सिंहलगायत आपराधिक व्यक्ति तथा समूहको आतंक नियन्त्रण, बहुचर्चित युनिटी ठगी काण्डको सफल अपरेसन, रुपन्देहीमा नदी तथा प्राकृतिक सम्पत्तिको दोहन, भूकम्प र नाकाबन्दीका बेला काठमाडौंमा मौलाएको कालोबजारी नियन्त्रणजस्ता विषयले उनलाई प्रहरीभित्रैका बाघको सन्तान डमरुको संज्ञा दिइन्थ्यो। २०५७ सालपछि उनी नाफाकै जिन्दगी बिताइहेका छन्। उनी आफै पनि यो जिन्दगी नाफाको जिन्दगी हो भन्छन्। नुवाकोटमा प्रमुख हुँदा तारुकेस्थित चौकीमा कार्यरत प्रहरीलाई मद्दत गर्न टोलीसहित जाँदा माओवादीको एम्बुसमा परेका थिए उनी। सो एम्बुसबाट घाइते भएका थापाको दुवै कानको श्रवण शक्ति गुमेको थियो। ‘माओवादीको एम्बुसमा परी दुवै श्रवणशक्ति नै गुमाए, तर मलाई रत्तिभर गुनासो छैन,’ त्यतिबेलाको घटना सम्झदै एसएसपी थापाले भने, ‘संगठन, संगठनप्रमुख, राष्ट्र र जनताको मायाले आजसम्म कसैले मेरो काममा औँला ठड्याउन सकेका छैनन्, यो मेरो सफलता र सम्पत्ति हो।’ आफू बाचेपनि तत्कालीन चौकी इन्चार्ज बचाउन नसकेकोमा उनले दुःख व्यक्त गरे। भने, ‘उनीहरुको आत्माले शान्ति पाओस्।’ विदाइको अन्तिम समयमा परिसरसँगै रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले कार्यकक्षमै पुगेर विदाई गरेका थिए। उनले परिसरका निमित्त एसपी प्रमुख प्रधुम्न कार्कीलाई सञ्चार सेट, हतियारलगायतका कार्यालयका सबै सामान बुझबुझारथ गरेका थिए। उनीसँगै बुधबारबाट भुपाल भण्डारी, उत्तमकुमार सिंह, योगेश्वर रोमखामी पनि ३० बर्षे सेवाहदका कारण अवकाश पाउँदै छन्। यो खबर आजको राजधानी दैनिकमा छ  ।

ट्याक्सी चालक लामाको मृत्यु मापसेबाट होइन, हत्या नै हो : प्रहरी

काठमाडौं, मंसिर २९ । काठमाडौंको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ। प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक पदार्थ सेवन गरेको नदेखिएपछि उनको हत्या भएको निकर्षमा प्रहरी पुगेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा बनेको छानबिन समिति रक्सी खाएको भनिए पनि उनको मृत्यु हत्याबाटै भएको निष्कर्षमा पुगेको हो । छानबिन समितिका संयोजक एसएसपी खनालले अनुसन्धान टुंगिनसकेको जनाउँदै थप अनुसन्धान भइरहेको र केही शंकास्पद अवस्था आएकाले छानबिन त्यतातिर मोडिएको बताए । स्रोतका अनुसार ट्याक्सी भाडाको विषयमा कुरा नमिल्दा लामालाई इटा प्रहार गरी हत्या गरिएको हो । सो घटनाको विषयमा अनुसन्धानका लागि मंलगबार साँझ प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । तर यसलाई प्रहरीले गोप्य नै राखेका छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाका नेपालीलाई के हुन्छ?

काठमाडौं, मङ्सिर २१।  अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजयपछि नेपालीलगायत अमेरिकामा रहेका आप्रवासीहरूको भविष्यबारे अनेक अड्कलबाजी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित अमेरिकी राजदूतसँग त्यसबारे चासो र चिन्ता व्यक्त गरेका छन् । आफूलाई भेट्न सोमबार बालुवाटार आएकी नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको भेटमा दाहालले बदलिएको परिस्थितिमा अमेरिकी सरकारको धारणा मागेका हुन् । प्रधानमन्त्री दाहालको निजी सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री दाहालले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीको भविष्यबारे पनि चासो व्यक्त गरेका थिए । जबाफमा राजदूत टेप्लिजले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिएकी थिइन् । प्रधानमन्त्री दाहालले राजदूत टेप्लिजलाई राखेको जिज्ञासा उद्धृत गर्दै उनका परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारीले अन्नपूर्णसँग भने, ‘नयाँ राष्ट्रपति निर्वाचित भएपछि अमेरिकाको विदेशनीतिमा असर पर्ला कि नपर्ला ? अमेरिकामा रहेका नेपालीप्रति कस्तो असर पर्ला ? ‘ राजदूत टेप्लिजले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले कार्यभार समालेपछि पनि नेपाल र नेपालीप्रति अप्ठ्यारो नपर्ने प्रस्ट पारेको जानकारी उनले दिए । अमेरिकामा करिब पाँच लाख नेपाली अध्ययन र रोजगारी सिलसिलामा वैध तथा अवैध रूपमा बसोबास गर्दै आएका छन् । निर्वाचन अभियानक्रममा ट्रपले अमेरिकी स्थानीयको हकअधिकार संरक्षण गर्न अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्ने चेतावनी दिएका थिए । अधिकारीका अनुसार राजदूत टेप्लिजले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित हुनेनहुने अवस्था र प्रदेश सीमांकन हेरफेरप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलले गरेको विरोध प्रदर्शनबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेकी थिइन् । नेपालको राजनीतिक प्रयास सकारात्मक रूपमा अगाडि बढोस् भन्ने शुभेच्छा राजदूतले व्यक्त गरेको जानकारी अधिकारीले दिए । राजदूत टेप्लिजले अमेरिका सधैं नेपालको शान्ति र प्रगतिका पक्षमा रहेको धारणा प्रधानमन्त्रीसमक्ष व्यक्त गरेकी थिइन् । उनले संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापनबारे पनि जिज्ञासा राखेकी थिइन् । प्रधानमन्त्री दाहालले मुलुकलाई निर्वाचनको दिशामा लैजान सरकारले गम्भीर रूपमा सहमति प्रयास गरिररहेको जानकारी गराउँदै सबै पार्टीको समझदारीमा संविधान कार्यान्वयन हुने बताएका थिए । उनले नेपालको शान्तिप्रक्रिया र द्वन्द्व व्यवस्थापन मौलिक भएको भन्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्याय व्यवस्थापन गरिने जानकारी दिएका थिए । दुवै आयोगको म्याद सकिँदै गएको तर प्रगति नदेखिएको बेला अमेरिकी राजदूतले प्रधानमन्त्रीसमक्ष चासो व्यक्त गरेकी हुन् । माओवादी नेतृत्वमा भएको १० वर्ष लामो सशस्त्र द्वन्द्वक्रममा राज्य र विद्रोही पक्षबाट भएका हत्या र बेपत्ताका घटना छानबिन गर्न गठन भएका ती आयोगका पदाधिकारी स्वयं पनि असन्तुष्ट छन् । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।

नेपालको मौसममा पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । कोसी, मधेस र वाग्मती प्रदेशमा बिहान साधारणतया बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।