राष्ट्रियसभा निर्वाचनः दाजु विजयी, भाइ फेरि पनि पराजित

जनकपुरधामः राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्वाचनमा दाजु विजयी हुँदा भाइ भने पराजित भएका छन् । एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव निर्वाचित हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका हुन्।

बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए। प्रदेश २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनीहरुमध्ये नेकपा–राजपा गठबन्धनबाट उठेका मृगेन्द्रले जित निकाले। उनले ५४ सय मत ल्याउँदै राष्ट्रिय सभा सदस्यको पद पक्का गरे।

पराजित उनका भाइ अनिरुद्धले ४ हजार ५ सय १२ ल्याए। उनी कांग्रेस–समाजवादी गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए। सप्तरीको बोदेवसाइन नगरपालिकाका अनिरुद्र सिंह यादव राजपाबाट र अनिरुद्रका भाई मृगेन्द्र सिंह समाजवादी पार्टीबाट उम्मेदवार थिए।

यसअघि पनि यी दाजुभाइ फरक–फरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिसकेका थिए। तर, दुवै भाई पराजित भएका थिए। यो पटक भने दाजुलाई नेकपा-राजपा गठबन्धनले जिताएको हो।

२०७० सालको संविधानसभाको चुनावमा दाइ अनिरुद्र तत्कालीन मधेसी जनाधिकार फोरमबाट र भाई मृगेन्द्र तत्कालीन मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट चुनावी प्रतिस्पर्धामा थिए। तर, त्यो बेला दुवै पराजित भएका थिए। उनीहरु चुनाव लडेको क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए।

होटल सञ्चालकसहित प्रहरीद्वारा एक जोडी पक्राउ

जनकपुरधामः धनुषामा होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडीलाई पक्राउ गरिएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित पेपरमिल रोडमा सञ्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छापा मारी प्रहरीले गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ । पक्राउमा परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रदेश ३ को नाम वाग्मती

काठमाडौंः प्रदेश ३ को नाम वाग्मती राखिएको छ । आइतबारको प्रदेशसभामा प्रदेश ३ को नाम वाग्मती राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो । प्रदेश नाम वाग्मती राखियोस् भन्ने कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १ सय ८ मत परेको थियो । विपक्षमा कुनै पनि मत परेन । यसअघि स्थायी राजधानी हेटौंडाको पक्षमा दुईतिहाइ मतदान भएसँगै प्रदेश नंम्बर ३ को स्थायी राजधानी हेटौंडा कायम भैसकेको छ ।

जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गरेरै छाड्छुः खानेपानीमन्त्री मगर

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिकामा थारू समुदायले आयोजना गरेको माघी मेलामा खानेपानीमन्त्री बिना मगर थारू पहिरनमा सजिदा धेरै जनाले अचम्म मानेर हेरिरहेका थिए । चौधरी समुदायले मनाउने माघी पर्व मेलाको उद्घाटनमा प्रमुख अतिथिका रूपमा खानेपानी मन्त्री मगर कार्यक्रममा सहभागी भएकी थिइन् । माघी पर्व थारू समुदायको महान चाड हो । खानेपानी मन्त्रीको यो पहिरनमा चौधरी थारु समुदायको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । मन्त्री मगरले थारू महिलाहरुले लगाउने गोन्या, ब्लाउज, कालो सल र कानमा सेतो झुम्का लगाएकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारू समुदायको कला, संस्कृति र परम्पराको जगेर्ना गर्न आफू प्रतिबद्ध रहेको बताइन् । देशभर रहेका यस्ता थुप्रै जातजातिको कला संस्कृति र परम्पराको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । थारूको ड्रेसमा सजिँदै खानेपानी मन्त्री मगरले भनिन्, ‘कञ्चनपुरको पछाडि परेको दक्षिण भेगको यो निर्वाचन क्षेत्र हिजोका दिनमा ओझेलमा थियो । यस अघिका नेतृत्व तथा जन प्रतिनिधिहरुले किन त्यतिबेला ध्यान दिएनन्, प्रश्न गर्न चाहन्छु ।’ ‘यस क्षेत्रमा विकासले गति लिन सकेन भनेर हाम्रो आलोचना भएको सुनेको छु ।’ उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘जनताका अगाडि जे प्रतिबद्धता व्यक्त गरेको छु त्यो पूरा गरेरै छाड्ने हो । विकास मैले नै गर्ने हो, हामी जनप्रतिनिधिले नै गर्ने हो ।’ हुलाकी सडक लगायत अन्य बाटो घाटो, पुल पुलेसादेखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे र केही कामहरु अगाडि बढाइएको उनले स्पष्ट पारिन् । बेलौरी भन्सारलाई मुख्य भन्सारका रूपमा अगाडि बढाउन प्रक्रिया अघि बढेको उनले जानकारी दिइन् । उनले यो क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि महत्त्वपूर्ण कामहरु अगाडि बढेको बताइन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेकी मन्त्री बिना मगरले जनताबाट प्रत्यक्ष निर्वाचित भएर आफ्नो निर्वाचन क्षेत्रको विकासको जिम्मेवारी अहिलेका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधिलाई भएकोले सके सहयोग गर्न, नसके अवरोध नगर्न सुझाव दिइन् । उनले निर्वाचनको समयमा गरेका प्रतिवद्धता क्रमिक रूपमा पूरा गरिरहेको दाबी गरिन् । कार्यक्रममा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका व्यक्तिहरुलाई मन्त्री मगरले सम्मान गरेकी थिइन् । कार्यक्रमको उद्घाटन अघि खानेपानी मन्त्री मगर थारू ड्रेसमा झाँकी सहित र्‍यालीमा सहभागी भएकी थिइन् । कार्यक्रमको आयोजना र व्यवस्थापन थारू कल्याणकारिणी सभा बेलौरीले गरेको थियो ।

गोरखाका ४ स्थानीय तहमा पृथ्वी जयन्तीमा बिदा दिइने

गोरखाः पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् । चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् । आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।

सौतेनी आमासँगको अवैध सम्बन्धका कारण बाबुको हत्या

भोजपुरः छोराले सौतेनी आमासँग मिलेर बाबुको हत्या गरेको खुलेको छ । भोजपुर नगरपालिका–११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको हत्या गरेको खुलेको हो । हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी थिची हत्या गरेको डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए । दलबहादुरको शव गत मंसिर १ गते आम्तेककै टारबारीस्थित सोहन खोलामा सडेको अवस्थामा फेला परेको थियो । शव शंकास्पद रुपमा भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले हरिबहादुर र कर्णशोभालाई पक्राउ गरेको थियो । आरोपित हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको शव डोकोमा हालेर फ्याँक्न लगाएको डिएसपी मगरले बताए । प्रहरी अनुसन्धानको क्रममा कान्छी आमा कर्णशोभासँग हरिबहादुरको अवैध सम्बन्ध रहेको खुल्न आएको छ। ‘घटनाको प्रकृतिबाट सोधपुछ गर्ने क्रममा अभियुक्त आमा छोराबीच अवैध सम्बन्ध रहेको पाइएको छ’, डिएसपी मगरले भने, ‘हत्याको कारण अवैध सम्बन्ध भएको खुल्न आएको छ।’ अभियुक्त हरिबहादुर र कर्णशोभालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। त्यस्तै घटनामा संलग्न विकद्वयलाई पनि कर्तव्य ज्यान मुद्दा अन्तर्गतको मतिहारको अभियोगमा पुर्पक्षका लागि राखिएको छ । कान्छी श्रीमती कर्णशोभासँग दसैंको टीका लगाउन आम्तेकको बाँसबोटे गएका दलबहादुर असोज २५ गतेदेखि सम्पर्कविहीन थिए । यो समाचार आजको अन्न्पूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।  

इपीएलः सोमपाल चितवनबाट, दीपेन्द्र काठमाडौंबाट खेल्ने

काठमाडौंः आउँदो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) मा तीव्र गतिका बलर सोमपाल कामी चितवन टाइगर्समा ‘ट्रेड’ भएका छन् । गत सिजन काठमाडौं किंग्स–११ बाट खेलेका सोमपाल यो वर्षको सिजनको लिगका लागि भने चितवनमा ‘ट्रेड’ भएका हुन्। चितवनबाट दीपेन्द्रसिंह ऐरी काठमाडौं आएका छन् । दुवै खेलाडीको मूल्य कम्तिमा २ लाख रुपैयाँ तोकिएको थियो । यो भन्दा बढी जतिसुकै मूल्यमा पनि खरिद गर्ने नियम बनाएको थियो । यद्यपि इपीएलले दुवै खेलाडीको बिक्री मूल्य भने खुलाएको छैन । काठमाडौंले नरेश बुढाऐरको स्थानमा सुवास खकुरेल र सुशील कँडेलको स्थानमा आकाश चन्दलाई अनुबन्ध गरेको छ । पोखरा राइनोजले शक्ति गौचनको स्थानमा लोकेश बमलाई टिममा भित्र्याएको छ ।

घरमै झ्यालबाट छिरेर किशोरीको बलात्कार

काठमाडौंः पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।” गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन् । रासस

काठमाडौंमा सटर फुटाएर चोरी गर्ने एक समूह लागूऔषधसहित पक्राउ

काठमाडौंः काठमाडौंमा पसलका सटर फुटाएर चोरी गर्ने किशोरहरूको एक समूह नै सक्रिय रहेको फेला परेको छ । प्रहरीले यस्ता कार्यमा संलग्न ५ किशोरलाई काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेसँगै यस्तो तथ्य सतहमा आएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालका अनुसार, सटर फुटाएर चोरी गर्ने कार्यमा संलग्न ५ समाएिका छन् । पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भई कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखा घर भई कपन बस्ने १७ वर्षीय आयुष थापा मगर, दोलखा स्थायी ठेगाना भएका १७ वर्षीय लालक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमला रहेका छन् । डीएसपी लम्सालका अनुसार, किशोरहरूले लागूपदार्थको नसामा लठ्ठिएर रातको समयमा चोरी गर्ने गरेका थिए । प्रहरीले उनीहरूको साथबाट नगद ५ हजार रुपैयाँ, विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरेको छ । त्यस्तै, आधा किलो गाँजा र निट्राभेट ८० ट्ब्यालेटसमेत बरामद गरेको डीएसपी लम्सालले जानकारी दिए । डीएसपी लम्सालका अनुसार, उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।

फेरि ट्रोलको सिकार बनिन् सोनाक्षी

काठमाडौंः अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरमा ट्रोलको सिकार बनेकी छन् । केही समयअघि मात्रै अभिनेत्री सोनाक्षीले ट्वीटरमा आफ्नो तस्वीर सेयर गरेकी छन्, जहाँ उनले क्याप्सनमा ‘नोथिङ टु हाइड, नोथिङ टु फियर, नोथिङ टु स्टप’ लेखेकी थिइन् । त्यस्तै सोनाक्षीले सेयर गरेकी टि–शर्टमा पनि कालो अक्षरमा ‘लुकाउनका लागि केही छैन’ लेखिएको छ । यसै ट्वीटका कारण सोनाक्षी ट्रोलको सिकार बनेकी हुन् । फ्यानहरुले यस्तो ट्वीर गरेर के साबित गर्न चाहेकी ? भन्दै प्रश्न गर्न सुरु गरिसकेका छन् । यसैबीच एक युजरले लेखेका छन्, ‘नोथिङ टु शो’ भनेर अर्को एक लाइन पनि थपिदिनुस् ।’ Nothing to hide, nothing to fear, nothing to stop me. pic.twitter.com/QVlFQ13pho — Sonakshi Sinha (@sonakshisinha) January 8, 2020 त्यस्तै अर्को एक युजरले अशिलता फैलाएकी भन्दै सोनाक्षीको उक्त ट्वीटमाथि आपत्ति नै जनाएका छन् । उनले भनेका छन्, ‘तपाई जस्तो ठूलो मान्छेहरुले ट्वीट गर्नुपूर्व किन सोच्नुहुन्न, यसको प्रभाव कस्तो पर्छ भनेर ?’ यस अगाडि पनि सोनाक्षी केबीसीमा एक प्रश्नको उत्तर दिन नसक्दा ट्रोलको सिकार बनेकी थिइन् ।

श्रममन्त्रीको ९० दिने कार्ययोजनाः विदेशबाट श्रम स्वीकृति, एक लाख सामाजिक सुरक्षामा

काठमाडौंः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता अत्यन्त निराशाजनक देखिएको बेला सरकारले रोजगारदाता र श्रमिकको सहभागिता बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज आगामी तीन महिनाको कार्ययोजना सार्वजनिक गर्दै १५ हजार रोजगारदाता र थप एक लाख योगादनकर्तालाई योजनामा आबद्ध गराइने प्रतिबद्धता व्यक्त गरे । सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन गत मङ्सिर ११ गते योजना शुभारम्भ गरेको थियो । योजना घोषणा भएको एक वर्ष पार गरे पनि रोजगारदाता र श्रमिकको सहभागिता उत्साहजनक देखिएको छैन । सामाजिक सुरक्षा कोषका अनुसार सोमबारसम्म एक लाख ३५ हजार ७९३ श्रमिक र ११ हजार ९८० रोजगारदाता योजनामा सामेल भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाअनुसार नेपालमा सञ्चालित प्रतिष्ठानको सङ्ख्या नौ लाख २२ हजार ४४५ रहेको छ । यस्तै ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति सक्रियरूपमा लागेका छन् । विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि अझै निकै ठूलो सङ्ख्यामा रोजगारदाता र श्रमिक यो प्रक्रियामा सामेल भएका छैनन् । सोमबारसम्म सबैभन्दा बढी प्रदेश नं ३ बाट ९७ हजार ७८२ श्रमिक कोषमा सूचीकृत भएका छन् । यसैगरी प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट सात हजार ७६२, गण्डकी प्रदेशबाट पाँच हजार ५७, प्रदेश नं ५ बाट तीन हजार २४१, सुदूरपश्चिम प्रदेशबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । कोषमा सूचीकृत हुने रोजगारदातामा प्रदेश नं ३ का बढी रहेका छन् । प्रदेश ३ का सात हजार ९९६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । यस्तै प्रदेश नं १ का एक हजार ८६०, प्रदेश नं ५ का ८५८, गण्डकी प्रदेशका ५४८, प्रदेश नं २ का ४७१, सुदूरपश्चिम प्रदेशका १२७ र कर्णाली प्रदेशका १२० रोजगारदाता कोषमा सूचीकृत भइसकेका छन् । कोषमा रु ३९ करोड ६५ लाख ४४ हजार योगदान रकम सङ्कलन भएको छ । बढीभन्दा बढी रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन रणनीतिक सञ्चारसहित आद्योगिक कोरिडोरमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ । यस्तै आर्थिक क्षेत्रका आधारमा उद्योग प्रतिष्ठानको वर्गीकरण गरी रोजगारदाता र श्रमिकसमेतको सहभागितामा १२ वटा त्रिपक्षीय अन्तरक्रिया एवं सामाजिक संवादको कार्यक्रम सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ । तीन महिनाभित्रै विदेशबाट श्रम स्वीकृति कार्ययोजनामा विदेशस्थित कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याइने उल्लेख छ । मन्त्री यादवले तीन महिनाभित्र गन्तव्य मुलुकमा रहेको नेपाली नियोगबाट पुनः श्रम स्वीकृति प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी विदेशस्थित कूटनीतिक नियोगबाटै श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । ऐनको दफा २१ (ख) को उपदफा २ मा विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगबाट बढीमा दुई पटकसम्म श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ । गन्तव्य मुलुकमा काम गरिरहेका नेपाली कामदारले श्रम स्वीकृतिको अवधि सकिएर पुनः श्रम स्वीकृति लिनका लागि विभागको ताहाचल कार्यालय आउनुपर्ने अवस्था थियो । ऐन संशोधन भएको निकै लामो समय बिते पनि सो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन । वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसाल अब छिट्टै विदेशस्थित कूटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गरिने बताउँछन । ‘कामदारले तिर्नुपर्ने कल्याणकारी र बीमाबापतको शुल्क अनलाइन माध्यमबाट भुक्तानी हुने व्यवस्था भएलगत्तै यस प्रक्रिया शुरु हुन्छ,’ उनले भने, ‘बीमा कम्पनीले जतिसक्दो चाँडो प्रिमियम अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था गरिदिए विदेशबाटै श्रम स्वीकृति जारी हुन्छ ।’ कार्ययोजनामा बीमा र कल्याणकारी कोष बापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गरिने उल्लेख छ । यसैगरी वैदेशिक रोजगार विभागका सबै अभिलेखको विद्युतीय अभिलेखाङ्क गरिने छ । दुई वर्ष पूराना सबै संस्थागत उजूरीको छानबिन प्रक्रिया सम्पन्न गरिने छ । दक्ष जनशक्तिलाई श्रम बजारमा पठाउने नीति अख्तियार गरेको मन्त्रालयले तीन महिनाको अवधिमा थप १० हजारलाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क सीप तालीम प्रदान गर्ने लक्ष्य लिइएको छ । बोर्डले सीप तालीम सञ्चालन गर्ने संस्थासँग समझदारी गरिसकेको छ । वैदेशिक रोजगारबाट फर्केका कामदारको आर्थिक तथा सामाजिक पुनः एकीकरणको कार्यक्रम कार्यान्वय गरिने कार्ययोजनामा उल्लेख छ । राष्ट्रिय आप्रवासन स्रोत केन्द्रमार्फत ३९ जिल्लामा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्श सेवा प्रदान, द्विपक्षीय श्रम सम्झौता÷समझदारीको नमूना दस्तावेज सार्वजनिक तथा ओमनसँग द्विपक्षीय श्रम समझदारी गरिने छ । यस्तै गन्तव्य मुलुकमा सञ्चालन गरिएका सुरक्षित गृहलाई स्तरोन्नति गर्नाका साथै अन्य गन्तव्य मुलुकमा सुरक्षित गृह खोल्न सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरिनेछ । वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस)मा सरोकारवालाको आबद्धता बढाउन थप परिमार्जन र परिष्कृत गरिने कार्ययोजनामा समावेश गरिएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन २०७५ असोजदेखि कार्यान्वयनमा ल्याइएको सो प्रणालीमा एक हजार ६०० बढी निकायको आबद्धता गराइएको छ । रासस

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै

काठमाडौंः दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्रमिक रुपमा क्षमता विस्तारको काम भइरहेको छ । हालको अन्तर्राष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९० हजार यात्रु क्षमताको हुन्छ । पछिल्ला वर्षमा हवाई यात्रुको चाप बढेसँगै विमानस्थल पनि साँघुरो हुँदै गइरहेको छ । अहिले विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय गरी वार्षिक ७२ लाख यात्रु पुगेका छन् । विमानस्थमा दुवैतर्फ गरी दैनिक पाँच सय हाराहारी जहाजको ओहर दोहर हुने गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २००९ को तुलनामा सन् २०१८ मा दुई गुणा यात्रुको सङ्ख्या बढेको छ । यसले आगामी दिनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप बढ्ने अनुमान गर्न सकिन्छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्ला १० वर्षमा यात्रुको चाप निरन्तर बढ्दै गएको र हालको विमानस्थलले धान्न नसक्ने बताउनुभयो । सन् २०२१ सम्म यात्रुको वार्षिक सङ्ख्या ९० लाख पुग्ने देखिएको छ । बढ्दो चापलाई व्यवस्थापन गर्न वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलको अति आवश्यक भएको महानिर्देशक पोखरेलले बताए । विमानस्थलमा बढ्दो यात्रुको चापसँगै थपिएका वायुसेवाको सहज व्यवस्थापनका लागि प्राधिकरण लागि परेको छ । विमानस्थलको क्षमता अभिवृद्धि गर्ने र हवाई उडानलाई सहज बनाउने उद्देश्यका साथ काम भइरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलको क्रमिकरुपमा क्षमता विस्तारको काम भइरहेको तथा धावनमार्ग र टयाक्सी वे जीर्णोद्धारको काम सकिएलगत्तै अहिले धावनमार्गसँै प्यारालल ट्याक्सी वेको बोलपत्र प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उक्त काम सकिएपछि जहाजलाई मुख्य धावनमार्गमा जान सहज र छिटो हुनेछ । जसले उडान चापलाई न्यूनीकरण गर्नेछ । अन्तरराष्ट्रिय टर्मिनल भवनमा डिपार्चर हल थपिँदैछ । विमानस्थलको आवागमनतर्फ थप दुई ‘कन्भेर वेल्ट’ थपिँदै छन् । हाल चार मात्र छन् । यसले यात्रुलाई ब्यागेज लिन छिटो हुनेछ । हाल आधा घण्टादेखि ४५ मिनेटभित्र यात्रुले ब्यागेज लिइसक्छन् । महाप्रबन्धक केसीले ‘बुटिक एयरपोर्ट’ को अवधारणाअनुरुप विमानस्थलको सौन्दर्यकरणसँगै क्षमता अभिवृद्धिको काम पनि साथसाथै भइरहेको बताए । पछिल्ला दिनमा विमानस्थलको मर्मत र क्षमता वृद्धिपछि अहिले उडान व्यवस्थापनमा धेरै सहजता आएको उनको भनाइ छ । धावनमार्ग स्तरोन्नतिका साथै जहाज पार्किङ विस्तार तथा यात्रु कक्षको क्षमता बढाउनेलगायत कार्यमा विमानस्थल निरन्तर लागि परेको छ । मुलुकको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग र ‘ट्याक्सी वे’ को जीर्णोद्धारको काम सम्पन्न भएको छ । योसँगै अहिले अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१८ अन्तर्राष्ट्रिय उडानतर्फ ४३ लाख ४२ हजार ४८६ यात्रुको आवागमन भएको छ । सन् २०१७ मा कूल ३८ लाख ८७ हजार ८४५ यात्रुको आवागमन भएको थियो । आन्तरिकतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रुको आवागमन भएको थियो । सन् २०१७ मा २४ लाख ५१ हजार ३९० पुगेको थियो । सन् २०१९ को अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रुको आवागमन भएको देखिन्छ । यो वर्ष करिब ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान गरिएको छ । विमानस्थमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ अबको दुई महिनाभित्रै सञ्चालनमा आउनेछ । प्राधिकरणका महानिर्देशक पोखरेलका अनुसार फेब्रुअरीको अन्तिमसम्म रिमोट पार्किङको काम सकिनेछ । यो स्थानमा दुई वाइडबडी र दुई न्यारो बडी जहाज पार्किङ गर्नसकिने छ । प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ)को रु एक अर्ब छ करोडको लागतमा विमानस्थलमा दुईवटा ‘पार्किङ वे’ निर्माण गरिरहेको हो । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको चाप नियन्त्रण गर्न सघाउ पुग्ने प्राधिकरणले जनाएको छ । दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । उक्त पार्किङ क्षेत्रमा दुई वाइडबडी र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । अन्तर्राष्ट्रिय टर्मिनलमा नौवटा जहाज मात्र पार्किङ क्षमता छ । उत्तरपूर्वी पार्किङ वे सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय पार्किङ वेको सङ्ख्या ११ पुगेको छ । विमानस्थलको उत्तरतर्फ पनि पाकिङ क्षेत्र निर्माणको प्रक्रिया अघि बढेको विमानस्थलले जनाएको छ । आन्तरिक उडानतर्फ २२ साना जहाज राख्न सकिने क्षमताको उक्त पार्किङको बोलपत्र आह्वान भइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । करिब रु आठ अर्बको बोलपत्र आह्वान भएको छ । यो तीन वर्षभित्र निर्माण सकिनेछ । हाल आन्तरिकतर्फ १७ जहाजको पार्किङ क्षमता भए पनि ३५ सम्म जहाज अटाइँदै आइएको छ । रिमोट पार्किङ वे सञ्चालनले विमानस्थलको चाप हटाउन तथा विमानस्थलमा आइ पर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए । ‘अहिले विमानलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ, यसले त्यो समस्या समाधानमा सहयोग गर्नेछ, यस्तै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न पनि यसको उपयोग हुनेछ,’ उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २८ र आन्तरिकमा १० हेलिकप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

नारायणगढ–बुटवल सडक विस्तार तीव्र

चितवनः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ । सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजान शुरु गरिएको वडाध्यक्ष कोपीसरा रानामगरले बताए । शनिबारदेखि माटो निकालेर लैजान शुरु गरिएको उल्लेख गर्दै उनले त्यहाँको माटो सडक विस्तारभन्दा अन्य काममा प्रयोग गर्न नपाउने गरी सहमति भएको जानकारी दिए । भागरको पहाड नै काटेर सडक विस्तारका लागि माटो लैजान शुरु गरिएको उनले बताए । रुख बिरुवा नभएको पहाडको ढिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमिन बनाउने उद्देश्यले माटो बिक्री गरेको स्थानीय चन्द्रमान गन्द्रमाले बताए । उनका अनुसार प्रतिटिपर रु ५२५ मा माटो बिक्री गरिएको हो । पहाडमा कुनै पनि खेतीबाली नहुने तर सरकारलाई राजश्व मात्रै बुझाउनु परेकाले माटो बिक्री गरेर खेतीयोग्य जमिन बनाउन लागिएको उनले बताए । सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालिले पहाड काटेर माटो लैजान शुरु गरेको हो । माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले कर दिन सहमत भएपछि माटो लैजान दिइएको नगरप्रमुख छत्रराज पौडेलले बताए । उनले माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्ने लगायतका विभिन्न सहमति भएको जानकारी दिए । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएकाले सम्झौतालाई प्रभाव पार्ने गरी माटो खन्ने काम भएमा ठेक्का रद्द गरेर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको पौडेलले बताए । सो स्थानको माटो नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले सहमति गरेको थियो । कावासोती नगरपालिकाअन्तर्गत पर्ने जङ्गल क्षेत्रबाट नारायणगढ–बुटवल सडकखण्ड चार लेनको हुने गरी सडक विस्तारको काम भइरहेको छ । रासस

कांग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै

काठमाडौंः नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत धु्रवीकरण पनि बढ्दै गएको छ । पार्टीमा मुख्यगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सतहमै देखि नै गरी आफ्ना गतिविधि गर्न थालेका छन् । यसैको पछिल्लो शुङ्खलास्वरुप वरिष्ठ नेता पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको भेलामा जिल्ला सभापतिहरुले यही पुस ११ गते काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय सच्याउन माग गरेका छन् । वरिष्ठ नेता पौडेल समूह अनुपस्थित रहेको सो बैठकले बहुमतका आधारमा चौधौं महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गरेको थियो । त्यसअघि वरिष्ठ नेता पौडेल समूहले १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दललगायत पार्टीका आन्तरिक समस्या तत्काल समाधान गर्नुपर्ने विषयका माग गर्दै केन्द्रीय समिति बैठक नै बहिष्कार गर्दै आएको थियो । गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा आफ्नो मागअनुसार कार्यसूची ल्याउन नेतृत्व तयार नभएको भन्दै वरिष्ठ नेता पौडेल पक्षका नेताहरु उपस्थित भएनन् । त्यसपछि दुवै समूहबाट उपसभापति निधि र नेता प्रकाशमान सिंहले पटक–पटक सहमति जुटाउने प्रयास गर्नुभएको थियो । कांग्रेसको वर्तमान ८५ सदस्यीय केन्द्रीय समितिमा करीब ५० पदाधिकारी र केन्द्रीय सदस्य संस्थापन पक्षका छन् । बहुमतको निर्णय सच्याउन माग सहमति जारी रहेकै बेला संस्थापन पक्षले यही पुस ११ गते पार्टीको चांैधौ महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो । त्यसपछि झनै असन्तुष्ट बनेको वरिष्ठ नेता पौडेल समूहले आगामी रणनीति तय गर्न जिल्ला सभापतिको भेला बोलाएको जनाएको छ । ‘जिल्ला सभापति परामर्श बैठक’ नाम दिइएको भेलामा वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराएको नुवाकोटका सभापति जगदिशनरसिंह केसीले बताए । उनीहरूले विधानका केही दफा निलम्बन गरिएका, एकता र सहमतिका साथै पारदर्शी रूपमा महाधिवेशनका निर्णय हुनुपर्नेमा एकलौटी ढङ्गले निर्णय गरिएको बताउँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका थिए । बैठकमा पूर्वमहामन्त्री सिंहले वार्तामा भएका सहमतिका प्रयास बारेमा जानकारी गराएका थिए । प्यूठानका सभापति अमरप्रसाद भण्डारीले पार्टी विधानसम्मत र सर्वसम्मत नचलेको भन्दै पार्टीलाई एक ढिक्का बनाउन भेला बोलाइएको बताए । उनले केन्द्रीय समिति बैठकमा एक पक्ष बाहिरिने अवस्था आएको भन्दै विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने र निलम्बन गरिएका पार्टी विधान दफा फुकुवा गर्नुपर्ने माग गरे । त्यस्तै सिन्धुपाल्चोका सभापति विकास लामाले पार्टी विधानले पूर्णता नपाउँदै नेतृत्व तहबाटै विधान मिच्ने काम भएको, विशेष परिस्थिति नभए पनि केन्द्रीय समितिको एक वर्ष म्याद थपेको, भ्रातृ र शुभेच्छुक संस्थाको समयमै महाधिवेशन नगरेको आरोप लगाउँदै पार्टी विधानतः चल्नुपर्ने माग गरे । भेलामा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी थिए । मंगलबार सकिने भेलामा थप ११ जिल्ला सभापति सहभागी हुने रोल्पाका सभापति अमर पुनले दाबी गरे । भेलामा नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित छन् । थपिएको एकवर्ष अघि नै महाधिवेशन गर्न सुझाव भेलामा सहभागी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले केन्द्रीय समितिको थपिएको एक वर्षको अन्तमा नभइ त्यसअघि नै महाधिवेशन तोकेर महाधिवेशनको सुनिश्चितता गर्नुपर्ने बताए । कुनै समस्या आएर निर्धारित समयमा महाधिवेशन हुन नसके पार्टीका लागि नै खतरा हुने उल्लेख गर्दै उनले सहमतिका साथ महाधिवेशन मिति तोक्नुपर्ने र पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बारेमा छलफल भइरहेको जानकारी दिए । यस बाहेक सरकारले संविधानको भावना प्रतिकूल हुने र नागरिक अधिकार कुण्ठित हुने गरी विभिन्न विधेयक ल्याएको, जनअपेक्षा अनुसार काम गर्न नसकेकोलगायत विषयमा पनि छलफल भएको नेता जोशीले जानकारी दिनुभयो । लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार हुने चुनौतीको सामना गर्न कांग्रेस एक ढिक्का र सशक्त हुनुपर्ने बारेमा छलफल भएको उनले बताए । कांग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । कांग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ । रासस

बुहारीसँगको हिमचिमले जेल पुर्‍यायो

तनहुँः तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र मङ्गलबहादुर दमैलाई जन्मकैदको फैसला सोमबार सुनाएको हो। सोही अभियोगमा थुनामा रहेका सुकबहादुर परियारलाई तीन वर्ष कैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए। विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो। प्रहरीले अभियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो। हत्यामा संलग्न रहेका भारती मृतकका बुहारी र दमै भान्जा हुन्। मृतकका श्रीमती सनिसरा परियारले आफ्ना श्रीमान् सुकबहादुर मङ्गलबहादुरसँग घरबाट दुलेगौडा जान भनी हिँडेकामा बेपत्ता भएकाले अनुसन्धान गरी पाऊँ भनी विसं २०७१ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय निवेदन दिएकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्दा मृतक रामबहादुरको हत्या भारतीको योजनामा भएको पत्ता लगाएको थियो। भारतीले सुकबहादुर र मङ्गलबहादुरलाई पाँच÷पाँच हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जेठाजु–बुहारी नाता पर्ने भारती र रामबहादुरबीच हिमचिम रहेको, घुम्‍नका लागि काठमाडौंसम्म जाने गरेको र घरपरिवारका अन्य सदस्यले सो कुरा थाहा पाएका कारण आफ्नो पतिसँग सम्बन्ध बिग्रने डरले भारतीले रामबहादुरको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुकबहादुर र मङ्गलबहादुरले मृतक रामबहादुरलाई विसं २०६८ साउन ९ गते दुलेगौडा पारी रहेको दिदीको घरमा जाउ भनी बोलाइ ठाउँ–ठाउँमा मादक पदार्थ सेवन गराउँदै शुक्लागण्डकी नगरपालिका–४ र ८ को सिमानामा पर्ने सेती नदीमाथिको पुलबाट धकेलेर हत्या गरेका थिए। रामबहादुरको हत्या गरेपछि सुकबहादुर परियार भारततर्फ काम गर्न भागेका थिए। मङ्गलबहादुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका थिए। मङ्गलबहादुर २०७२ मा नेपाल फर्केर चितवनतिर बस्दै आएका थिए। रासस

इटालियन सिरिएमा रोनाल्डोको पहिलो ह्याट्रिकसँगै युभेन्टसको सहज जीत

काठमाडौंः इटालियन सिरिएमा क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गर्दा युभेन्टसले काग्लियारीमाथि ४–० को सहज जीत निकालेको छ । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफको सुरुवतामा रागनार क्लाभानको गल्तीको फाइदा उठाउँदै रोनाल्डोले साबिक विजेतालाई अग्रता दिलाएका थिए । खेलको ६७ औँ मिनेटमा मार्को रोगले पाउलो डिबालालाई फल गरेपछि युभेन्टसले पेनाल्टी पायो जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे । रोनाल्डोले त्यसपछि गोन्जालो हिग्वाइनका लागि गोलको अवसर सृजना गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए । त्यसको केही मिनेटपछि नै रोनाल्डोले तेस्रो गोल गर्दै करियरको ५६ औँ ह्याट्रिक पूरा गरे । योसँगै रोनाल्डो युरोपको शीर्ष तीन लिगमा ह्याट्रिक गर्ने एलेक्सिस सान्चेज पछि दोस्रो खेलाडी बनेका छन् । रोनाल्डोले इङ्ग्ल्याण्ड, स्पेन र इटालीमा ह्याट्रिक गरेका छन् । रियल म्याड्रिडबाट सन् २०१८ मा युभेन्टस आएपछि रोनाल्डो यतिबेला उत्कृष्ट फर्ममा रहेका छन् । उनले लिगका पछिल्ला ५ खेलमा गोल गरेका छन् । जीतपछि केही समयका लागि युभन्टेस लिगको शीर्ष स्थानमा उक्लिए पनि इन्टर मिलानले नापोलीलाई ३–१ ले हराउँदै गोल अन्तरको आधारमा पुनः शीर्ष स्थानमा उक्लियो । १८ खेलपछि इन्टर र युभे दुवैको समान ४५ अङ्क रहेको छ । इन्टरको जीतमा रोमेलु लुकाकुले दुई गोल गरे भने लाउटारो मार्टिनेजले एक गोल गरे । नापोलीका लागि आर्काडिउस मिलिकले एक गोल फर्काए । म्यान्चेस्टर युनाइटेडबाट इन्टर आएपछि लुकाकुले लिगमा १४ गोल गरिसकेका छन् । उनीभन्दा अघि १९ गोलसहित लाजियोका सिरो इमोबाइल मात्र रहेका छन् । १३ गोलसहित रोनाल्डो तेस्रो स्थानमा रहेका छन् । उता, ज्लाटान इब्राहिमोविचको पहिलो खेलमा एसी मिलान साम्पडोरियासँग गोलरहित बराबरीमा रोकियो । सोमबार भएका अन्य खेलमा फ्लोरेन्टिना र बालोग्नाले १–१ को बराबरी खेल्यो, एटलान्टाले पार्मालाई ५–० ले हरायो भने उडिनेजेले लिसलाई १–० ले पराजित गर्यो । एजेन्सी