हिजोको हावाहुरीले गोरखा र पर्सामा दुईजनाको ज्यान लियो

काठमाडौं । बिहीबार  साँझ आएको हावाहुरीले गोरखा र पर्सामा एक/एक जनाको गरी २ जनाको ज्यान लिएको छ ।

हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय  गिरबहादुर राना मगर  मृत्यु भएको वडा अध्यक्ष  यम बहादुर थापाले जानकारी दिए। गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको  मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ।  हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमासमेत  धेरै क्षति पुगेको छ।

यस्तै  वर्षासँगै आएको हावाहुरीले पर्सामा एक जना वृद्धको मृत्यु भएको छ। 

पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १०७ वर्षीय  वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए।

संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको बताएको छ ।  मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो। मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको उनले बताइन्।  बैठकमा बजेट अधिवेशनको प्रभावकारिता र वैशाख १५ मा सम्पन्न उपनिर्वाचनबारे समेत समीक्षा भएको बताइएको छ ।

विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चीनमा सम्झौता

विराटनगर । चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने तयारी गरेको छ।चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । नेपालमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। लगानी सम्मेलन चलिरहेको समयमा सोमबार चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् । एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको  छ ।कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार उत्पादन सुरु भए कोशी मोटर्स ठूला सवारी उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ ।  

वाइवाई चाउचाउविरुद्ध झुटा प्रचार भएको चौधरीको दावी

काठमाडौं । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो उत्पादन वाइवाई चाउचाउलाई बदनाम गराउने हर्कत भइरहेको दावी गरेका छन्। यसविरुद्ध गरिएको गलत प्रचार गरिएको जिकिर गर्दै उनले भ्रममा नपर्न उनले आम उपभोक्तालाई आग्रह पनि गरेका छन्।   केही दिनअघि वाइवाई चाउचाउमा अखाद्य वस्तु भेटिएको चर्चा चर्चा चलेको थियो।  चौधरीले आफूहरूले आईपीओमा जाने घोषणा गर्नासाथ वाइवाई ब्रान्डलाई बदनाम गर्न झुटा प्रचार सुरु गरिएको दाबी गरेका छन्।   वाइवाई चाउचाउ उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील रहेको उनको दावी छ।  उनले भनेका छन्, ‘अचम्मकै कुरा भन्नुपर्छ– वाइवाई विश्वभर लोकप्रिय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून् ।’  निर्देशक चौधरीले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दै यदि कसैलाई कारखानामा भ्रमण गर्न मन भए स्वागत गरिने उल्लेख छ । चौधरीको वक्तव्यको पूर्णपाठः  वाइवाई नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्रान्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरूमा फैलिँदै गएको छ। हालै जब हामीले आईपीओमा जाने घोषणा गर्‍यौँ, त्यसपछि वाइवाई ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरूप केही गलत हर्कतहरू भइरहेका छन् भन्नेमा कुनै शंका छैन। चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन्। जसमा वाइवाईलाई निशाना बनाइएको छ। हामीले पटकपटक भनेका छौँ कि वाइवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाइवाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्। अचम्मकै कुरा भन्नुपर्छ वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छरु हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून्। त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।

ओलीको स्वास्थ्यमा समस्या भएपछि परिषद बैठकमा अनुपस्थित, समापन पोखरेलले गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अनुपस्थित भएका छन् ।  उनी बैठकमा नगएपछि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक चलिरहेको छ । आफुलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए । राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने समेत जानकारी गराएका थिए । ओली आज भने गोदावरी नै गएका छैनन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष ओलीले निवासमै आराम गरिरहेको जानकारी दिए । अध्यक्ष ओलीले गोदावरीमा जारी बैठकको समापन वरिष्ठ उपाध्यक्ष पोखरेलबाटै हुने सूचना पनि पठाएका छन् । तर, भोलिको हिरक उत्सवमा भने अध्यक्ष ओली गोदावरी जाने तय भएको छ । एमालेले गोदावरीको सनराइज हलमै भोलि प्रधानमन्त्री सहित अरु पार्टीका प्रमुखहरुलाई समेत बक्ता बनाएर कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष उत्सव मनाउँदैछ ।

सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पनि काम गर्नु कानुनविपरित भएको जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसो नगर्न आग्रह गरेका हुन् । “मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी बिदा स्वीकृत गराइ वा नगराइ स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, अपिलमा भनिएको छ, “यसरी काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने हुँदा यससम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई संयमित तथा कानुनसम्मत क्रियाकलाप गरिदिन हुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।”

इलाम २ मा राप्रपा उम्मेद्वार लक्ष्मी गुरुङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने भएको छ।  आज बसेको राप्रपा संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो । ‘राप्रपाले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ’, एक नेताले भने ।

काठमाडौं विधिविज्ञान प्रयोगशालाको रिपोर्ट : सुसाइड नोट शालिनकै अक्षर

काठमाडौं । चितवन स्थित एक विद्यालयको होस्टेलमा १३ वर्षीया नाबालिका शालिन पोखरेलको शवसँगै फेला परेको सुसाइड नोट उनैले लेखेको अक्षर पुष्टि भएको छ।  अक्षर म्याचिङका लागि प्रहरीले सुसाइड नोट र उत्तरपुस्तिका काठमाडौं विधिविज्ञान प्रयोगशाला पठाएको थियो। प्रयोगशालाको परीक्षणबाट नोट शालिनले नै लेखेको पुष्टि भएको हो। यसअघि पोस्टमार्टम रिपोर्टमा पनि शालिनको मृत्यु झुन्डिर नै भएको आएको थियो। भने बलात्कार नभएको मेडिकल रिपोर्ट आएको थियो। उनका परिवारले भने शालिनको बलात्कारपछि हत्या भएको भन्दै प्रदर्शन गरेका थिए। प्रहरीले स्कुलका प्रध्यानाध्यापकसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । १२ फागुनमा उनी स्कुलकै होस्टलभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।  

निजामती विधेयक संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयक संसदमा लैजाने तयारी भइरहेको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयकलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारी भैरहेको बताएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले भने संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिएका छन् । उनले अगाडि भने, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारीमा छौँ ।’

हिन्दु राष्ट्रका लागि १०६३ हस्ताक्षर देउवालाई

ललितपुर, १० फागुन । हिन्दु राष्ट्रका लागि भन्दै नेपाली काङ्ग्रेसका एक हजार ६३ जना महासमिति सदस्यहरुको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि संकलन गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका हुन । बिहीबार गोदावरीस्थित महासमिति बैठकमा एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाएको भण्डारीले बताए। भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्। सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने उनले बताए। उनले धर्म निरपेक्ष खारेज गरी हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने बताए। कांग्रेसको ०७५ मा भएको महासमिति बैठकमा पनि हिन्दु राष्ट्र घोषणा माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो।  त्यतिबेला ७१७ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए। तर पार्टीले आधिकारिकता दिएको थिएन। कांग्रेसमा झण्डै २३ सय महासमिति सदस्यहरू छन्। महासमिति सदस्यहरूले हिन्दु राष्ट्रका बारेमा हस्ताक्षर गरेर बुझाए पनि कांग्रेसले यसअघि नै यसले आधिकारिकता नपाउने बताएको थियो।  फागुन ३ र ४ गते सानेपामा बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन माग गर्दै पुरक प्रस्ताव ल्याएका थिए।  शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, शुक्रराज शर्मा, पुष्प भुसाल, शारदा पौडेल, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डिला संग्रौला सहितले पुरक प्रस्ताव पेश गरेका थिए। महासमिति सुरू हुनुअघि गोदावरीमा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले एकल धर्म राज्यको शासन नेपाली कांग्रेसलाई स्वीकार्य नभएको बताएका थिए।  ‘नेपाली कांग्रेस कुनै पनि एकल विचारको पक्षमा छैन। त्यसैले हामीले बहुलवादमा आधारित बहुदल भन्यौं। एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासन नेपाली कांग्रेसका लागि स्वीकार्य छैन,’ महासमितिस्थल ललितपुरको गोदावरीमा पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भनेका थिए।  उनले कांग्रेस जातीय, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक पार्टी नभएको बताएका थिए। फागुन ७ गतेदेखि सुरू भएको महासमिति बैठक आज समापन गर्ने तयारी छ। उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्‍वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत लगायतले पेश गरेका प्रस्तावमाथि चार समूहमा छलफल भएको थियो । महासमितिमा प्रदेश सभापतिहरूले छलफल गरेपछि समापन कार्यक्रम सुरू हुनेछ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले फाल्गुन ८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामका बारेमा छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।  सचिवालय बैठकले केन्द्रीय कमिटीको एजेण्डा तयार गरेको उनले बताए । मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लगायतका विषयमा पनि केन्द्रीय कमिटीमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिए । बैठकले केही विभागहरूमा मनोनयन गर्ने निर्णय गरेको छ ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

त्रि.वि सुधारको माग गर्दै विद्यार्थीहरू धर्नामा,यस्ता छन् माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका छन् । त्रिवि सुधारको आफ्ना माग ३ दिन भित्र पुरा गर्न माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका हुन् । त्रिभुवन विश्व विद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विश्वविद्यालय र आम विद्यार्थीहरुको भविष्य धरापमा पारेको आन्दोलनरत विद्यार्थी प्रविन दाहालले बताउनुभयो । उहाँले विद्यार्थीका जायज माग ३ दिन भित्र सम्बोधन नभए आन्दोलनका तर्फबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार त्रि.वि. स्वयं हुने चेतावनी समेत दिनुभयो । यस्ता छन् विद्यार्थीका मागहरू  १) आजसम्म  year Gap र Year Overlapping(एकै वर्षमा २ वर्षको परीक्षा)  का कारण ट्रान्स्कृप्ट नपाएका सम्पुर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउने सम्बन्धि निर्णय गर्नुपर्ने ।  २) नियम विपरित रहेर विद्यार्थीको भलाे गराउने क्याम्पस र परिक्षा दिलाउने प.नि.का. का सम्बन्धित पक्षहरुलाई कानून अनुसार कारबाही गरिनुपर्ने ।  ३) प्राज्ञिक परिषद्‌ले मिति २०१०-१२-०४ गते विद्यार्थीलाई ट्रान्स्कृप्ट उपलब्ध गराउने सम्बन्धि गरेको निर्णयको स्पष्टिकरण दिनुपर्ने । ४) विद्यार्थीको भविष्य अन्धकार बनाउने सबै निति  नियमहरु यथासिघ्र सिनेट बैठक राखि सच्याउनु पर्ने ।  

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु

महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ। बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ । उहाँले रुपान्तरण संभव भएको र यसको विकल्प नभएको बताउनुभयो । ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ’– उहाँले भन्नुभयो– ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन।’ उहाँले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । आज र भोलि अब मधेश प्रदेशको बैठक सम्पन्न भएपछि केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग पाकिस्तानी राजदूत एच हाश्मीको शिष्टाचार भेट

काठमाडौं, भदौ २४ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत हाश्मीले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो। भेटमा अध्यक्ष दाहालले नेपाल-पाकिस्तान कूटनीतिक सम्बन्ध ६ दशक पूरा भए पनि जनस्तरको सम्बन्ध वर्षौं पुरानो रहेको बताउनु भयो। विभिन्न क्षेत्रीय र बहुपक्षीय फोरमहरुमा नेपाल-पाकिस्तान मिलेर काम गरिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को अध्यक्षको हैसियतले नेपालले पाकिस्तानलाई अध्यक्षता सुम्पिन आतुर रहेको बताउनु भयो। “सार्कको अध्यक्षता नेपालले गरिरहेको सन्दर्भमा यसको सक्रियताका लागि हामी निकै गम्भीर छौं”, उहाँले भन्नुभयो, “सार्कलाई क्रियाशील बनाउन पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा म आशावादी छु। हामी पाकिस्तानलार्इ अध्यक्षता सुम्पन आतुर छौं।” दुई देशबीच संयुक्त आर्थिक आयोग, द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र लगायतका विभिन्न फोरमहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले तिनको क्रियाशीलताले मात्रै दुई देश बीचको आपसी सहयोग र सहकार्य थप मजबुत र बिस्तार हुने बताउनु भयो। नेपालको संघीय संसदले नेपाल-पाकिस्तान मैत्री समूह गठन गरेको जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास अनुभव आदान प्रदान र सहकार्यका लागि संसदीय समूहको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिनुभयो। पाकिस्तानले प्राविधिक सहायता कार्यक्रममार्फत् नेपाली विद्यार्थीलाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा छात्रवृत्तिको संख्यामा वृद्धि हुनेमा आफूहरु आशावादी रहेको बताउनु भयो। नेपाल-पाकिस्तान लगायतका हिमाली तथा कम विकसित मुलुकहरु जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको भन्दै अध्यक्ष दाहालले पर्यावरणीय संकटको सामना गर्न सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताउनु भयो। जनताको ठूलो बलिदान र सङ्घर्षपछि नेपाल शान्ति प्रक्रिया टुङ्ग्याएर आर्थिक समृद्धिको बाटोमा लागिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले पाकिस्तान सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरुलाई नेपालको जलविद्युत, पर्यटन, आइसिटी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो। उहाँले हालै सम्पन्न पाकिस्तानको संसद सिनेटको अध्यक्षमा निर्वाचित युसुफ रजा गिलानीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दुई देशबीच कृषि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य फलदायी हुने बताउनु भयो। उहाँले नेपालमा साहसिक पर्यटन, सांस्कृतिक, पर्यावरणीय पर्यटनको अथाह सम्भावना रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवर्द्धनका कामहरु गर्न सके जनस्तरको झनै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो। सार्कको गतिशीलता आफूहरुको पनि चाहना रहेको भन्दै राजदूत हाश्मीले त्यसको पुनर्ताजगीकरण गर्न जरुरी रहेको र त्यो निकै महत्त्वपूर्ण रहेको बताउनु भयो। इन्टरनेट प्रविधिको विकासले नयाँ आयाम थपिएको भन्दै राजदूत हाश्मीले ई-कमर्श, आइसिटीका क्षेत्रमा दुई देशले आपसमा सहयोग र सहकार्य गर्न सक्ने बताउनु भयो।