भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको प्रतिवेदन सर्वसम्मत अनुमोदन

चितवन। भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाले चैत्र १६ गते (हिजो)चितवन उद्योग संघको सभाहलमा भ्रमण वर्ष–२०२४ मूल समारोह समितिको बैठकमा फागुन १८ गते नारायणी नदी किनार प्रर्दशनी किनारमा भएको उद्घाटन कार्यक्रमको प्रतिवेदन पेश गरेको थियो ।

 बैठकले उद्घाटन कार्यक्रम अभूतपूर्वरुपले सम्पन्न भएको निष्कर्ष निकाल्दै पेश भएको प्रतिवेदन सर्वसम्मतरूपले अनुमोदन गरेको थियो। कार्यक्रमको समुद्घाटन हुनुपूर्व महानगरका विभिन्न वडाहरूबाट विविध समूहको सहभागिता रहेको बृहत् ¥यालीसहित झाँकी प्रदर्शन भएको र विहान ११।०० बजेबाट शुरु भई दिउँसो ३ः०० बजेसम्म जारी ¥यालीमा महानगरको विविधता झल्कने गरी उत्साहजनक सहभागिता रहेको थियो । 

करिब एक लाख भन्दा बढी भरतपुर महानगरवासीको उपस्थितिमा “भरतपुर भ्रमण वर्ष, २०२४” को उद्घाटन समारोह सञ्चालन भएको महानगरले विज्ञप्तीमा उल्लेख गरेको छ ।

पर्यटन पूर्वाधारको विकास र पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनबाट यस क्षेत्रको आर्थिक गतिविधिलाई गति प्रदान गर्ने, कोरोना कहरबाट शिथिल पर्यटन व्यवसायलाई क्रियाशील तुल्याउने, भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अभिवृद्धि गर्ने तथा प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको व्यापक प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाइ अवधि बढाउने उद्देश्यले भरतपुर महानगरपालिकाको ७७ औं नगर कार्यपालिकाको वैठकले निजी क्षेत्र लगायत पर्यटन सम्बद्ध सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०२४ लाई “घुमौं भरतपुर” भन्ने मूल नाराका साथ भरतपुर भ्रमण वर्षको कार्यक्रममार्फत् बृहत् प्रवर्द्धनात्मक महाभियान सञ्चालन गर्ने निर्णय भए पश्चात सम्बद्ध क्षेत्रसँगको सहकार्यमा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिंदै आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।

यस्तै, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूबाट पूर्व प्रधानमन्त्रीज्यूहरु, पूर्व उपप्रधानमन्त्री, प्रतिनिधि सभा राष्ट्रिय सभा तथा  प्रदेशका माननीय सदस्यहरू लगायत विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थितिका बीच “भरतपुर भ्रमण वर्ष, २०२४” को भव्य र सभ्य रुपमा समुद्घाटन भएको कुरा सर्वविदितै छ–विज्ञप्तीमा भनिएको छ ।  

समुद्घाटन कार्यक्रममा  देखिएको अभूतपूर्व उल्लास र उत्साहलाई कायम गर्दै भरतपुर भ्रमण वर्ष  २०२४ लाई आगामी दिनमा पनि सोही रुपले निजी क्षेत्र, आम महानगरवासी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा रहेका शुभचिन्तकहरूको साथ, सहयोग र सक्रियताका लागि हार्दिक अपिल गर्दछौं–महानगरद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

काठमाडौंसहित केही स्थानमा वर्षा, यस्तो रहनेछ दिनभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै, बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ । अहिले काठमाडौं उपत्यकासहित देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । महाशाखाका अनुसार आज दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । बागमती, कोशी, र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी, आज राति बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

सहमतिका लागि जुटे कार्यदल सदस्य

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो। कार्यदलको बैठक यसअघि पनि पटक–पटक बसेको थियो । तर, सदस्यहरूले आफ्नो दलीय अडान कायमै राख्न सहमति हुन सकेको छैन। 

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

संविधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार विश्वासको मत लिंदै

जापानी विदेशमन्त्री कामिकावा र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट

काठमाडौं ।जापानी विदेशमन्त्री योको कामिकावाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटका लागि कामिकावा प्रधानमन्त्री कार्यालय सिंहदरबार आएकी थिइन् । भेटका क्रममा दुई देशबीचको मित्रता र आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।  जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आएकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आएकी हुन् ।

सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौं  : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा नेकपा एकीकृत समाजवादी नभएको बताएका छन्।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरी उनले वामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन् ।  उनले पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने भनाइ राखेका छन् ।खनालले अहिले पार्टीको ध्यान सत्तामा भन्दा पनि महाधिवेशनतर्फ रहेको बताए ।  

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ।  यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बालुवाटारमा ४ दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ४ दलको बैठक बस्ने भएको छ ।  सोमबार बिहान १०ः३० मा बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो ।  बैठक नयाँ सत्ता समीकरण बनाउने विषयमा केन्द्रीत हुनेछ ।नयाँ समिकरणको तयारी गरेका ४ दलले आ-आफ्नो दलको सचिवालय बैठक सम्पन्न गरी बैठक बस्न लागेका हुन् ।

टेरामक्स खरिद प्रकरण अनुसन्धानको रिजल्ट छिट्टै आउँछ  : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको बताएका छन् । उनले केही समयमा नै आयोगले मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिए ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले टेरामक्स खरिदको विषय अन्तिम चरणमा पुगेको बताएका हुन् । टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन संचारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो । अख्तियार प्रमुख राईले आयोगमा २८ हजार उजुरी रहेको जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका थिए भने अन्यले सम्मान र प्रमाणपत्र पाएका थिए। वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको थियो ।

सरकार गम्भिर नभए संसद्को विषेश अधिवेशन बोलाउने विपक्षी दलहरुको तयारी

काठमाडौँ । विपक्षी दलहरुको बैठकले सरकार गम्भीर नभए संसद्को विषेश अधिवेशन बोलाउने निर्णय गरेको छ । आज बसेको विपक्षी ६ दलहरुको बैठकले बाढी पहिरो पीडितको राहत र पुनस्र्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभएकाले पहिलो चरणमा ज्ञापन पत्र बुझाउने र सुनुवाई गर्नेबारे सरकार गम्भिर नबने विशेष अधिवेशन बोलाउने निर्णय गरेको बैठकमा सहभागी माओवादी नेता शक्ति बस्नेतले जानकारी दिएका छन् ।  बैठकले ओली सरकारको तीन महिना असफल रहेको निष्र्कश निकालेको बैठकमा सहभागी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले बाढी पहिरो पीडितलाई राहत, पुनस्र्थापना, जनजीविका, सुशासन, सामाजिक न्यायको विषयमा सरकार गम्भीर नभएकाले विशेष अधिवेशन बोलाउने समेत निर्णय भएको जानकारी दिए ।

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

अध्यक्ष प्रचण्डसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गरेकी छिन् । अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अष्ट्रेलिय फिर्ता हुनुपूर्व अध्यक्ष निवास खुमलटारमा भेट पुगी भेट गरेकी हुन् । भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताइन् । सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

लुम्बिनीमा पोखरेल पक्षीय आचार्य अघि सारिएपछि दल नेता गिरी ‘रिङ आउट’

काठमाडौं । नेपाली कांग्रेस र एमालेबिच केन्द्रमा भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले पाउने भएसँगै एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएका छन् । एमाले संसदीय दलका नेता लीला गिरी सोमबार बिहान मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनकहाँ जान तयारी अवस्थामा बसेका थिए।तर उनको सपनामा महासचिव शंकर पोखरेलको फोनले उडाइदियो । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरे।   नेकपा एमाले र नेपाली कांग्रेससहितको समर्थनमा आचार्यले ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरे।  एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा पुगेर दाबी पेस गरिएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेपालखबरलाई जानकारी दिए।   प्रदेश प्रमुखले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। यहाँ एमाले संसदीय दलका नेता समेत रहेका लिला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै थियो।   तर, अन्तिम अवस्थामा केन्द्रबाट आएको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन्।लुम्बिनी प्रदेशमा एमालेभित्र विद्यमान गुटबन्दीकै परिणामस्वरुप गिरीलाई पन्छाएर आचार्यलाई मुख्यमन्त्री बनाइएको चर्चा छ। लुम्बिनी प्रदेशमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबिच गुटबन्दी छ । गिरी उपाध्यक्ष पौडेल निकट मानिन्छन् भने आचार्य महासचिव पोखरेल निकट हुन् ।  

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२ हप्तादेखि अवरुद्ध बेंसीसहर–चामे सडक अझै खुलेन

लमजुङ । बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेँसीसहर–चामे सडक २ हप्तादेखि खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो । सो सडक अन्तर्गत सानो छहराको पुलमा ढुंगा र ग्रेग्र्यान थुप्रिएर क्षति पुर्‍याएको सडक कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर किरण पोखरेलले बताए । उनले भने, ‘क्षति पुर्‍याएको स्थानमा संरचना बन्ने तयारीमा छ, तर तत्काल बनाउँदा पानीको सतह बढ्दा बगाउने धेरै सम्भावना हुन्छ । ‘ पानीको सतह कम भएपछि काठेपुल राखेर सवारी सञ्चालनमा ल्याउने कार्यालयले जनाएको छ । विसं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । त्यस्तै, दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेवल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो । डुम्रे–बेँसीसहर–चामे योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याब कल्भर्ट पुल एघार लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो । तत्कालीन समयमा मनाङवासीलाई बेँसीसहर हुँदै काठमाडौँ, पोखरा, चितवन जानलाई र सो स्थानबाट आउनलाई समस्या भएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडक खुलाउन सडक विभागले प्रसास भए पनि पानीका कारण असफल भइरहेको बताए । उनले भन,’सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको र महँगीसमेत बढ्न थालेको छ ।’ यस सडकमा बर्सेनि वर्षात्‌का समयमा पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप ०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । नेपाली सेना कार्यागणले ०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सडक सञ्चालन हुँदै आएको छ । तर बर्सेनि बर्खायाममा बाढीपहिरोले सडक अवरुद्ध बनाउँदा यात्रु तथा विषेश गरी मनाङवासी समस्यामा पर्दै आएका छन् । लामो समयसम्म सडक अवरुद्ध हुँदा हेलिकप्टरमार्फत बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने र सो ठाउँबाट आउने गर्दछन् । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा लत्ताकपडासमेत लैजान समस्या हुँदा व्यवसायी मर्कामा पर्ने गरेका छन् । बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ । लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमी सडक छ ।