३० वर्षे सेवा अवधिका कारण को को प्रहरी अधिकृत जाँदैछन् अवकाश ?

काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत आजबाट लागू हुने गरी अवकाशमा गएका छन् ।

प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । आजबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए । निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो । तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु अवकाशमा गएका हुन् ।


आजबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी छन् ।

त्यस्तै ११ एसपी पनि अवकाशमा गएका छन् । अवकाश पाउनेहरुमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवधेश विष्ट, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, हिरा पाण्डे र नविनकिशोर प्रधान छन् । त्यस्तै, श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गोविन्द पन्थी, किरणप्रसाद न्यौपाने, मनोजकुमार श्रेष्ठ, खगेन्द्रप्रसाद रिजाल, विजय थापासहितका ३१ डीएसपी पनि अवकाशमा गएका छन् ।

योगराज न्यौपाने, शान्तराम कार्की, मेघनाथ चापागाईं, किसन चन्द ठकुरी, हरिविष्णु ढकाल, काशीराज रेग्मी, अर्जुनप्रसाद पोखरेलसहित ३४ इन्स्पेक्टर पनि अवकाशमा गएका छन् । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली पनि २६ भदौमा अवकाशमा जाँदैछन् । असोजमा एआईजी रामदत्त जोशी र डीआईजी यज्ञविनोद पोखरेल लगायत पनि अवकाशमा जाँदैछन् ।

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा रिक्त सचिव पदमा सुरेश अधिकारी नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन्।  अधिकारीलाई सभामुख देवराज घिमिरेले संविधानको धारा १०६ को उपधारा १ बमोजिम नियुक्त गर्न सिफारिस गरेका हुन्।प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८०माघ २३ देखि सो पद रिक्त थियो ।

ओली र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका एम्नेस्टी इन्टरनेसनलका महासचिव डा.अग्नेज कल्लामार्डले भेटवार्ता गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको भेटमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय र प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल भएको पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानवअधिकार र सुशासनको सुनिश्चित गरिएको बताएका थिए। साथै उनले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्ने र गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने पार्टीको धारणा रहेकाबारे समेत स्पष्ट पार्नुभएको कार्यालय सचिव डा.अधिकारीले जानकारी दिए। भेटमा महासचिव डा.कल्लामार्डले नेपालमा सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषय, प्रेस स्वतन्त्रता र सामाजिक तथा लैङ्गिक विभेद्जस्ता विषयमा जिज्ञासा राखेका थिए ।  

कीर्तिमानी आरोही कामीरिता काठमाडौं फर्किए

काठमाडौं । ३०औँपटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएका कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ ।  शुक्रबार काठमाडौं फर्किएका कामीरिता शेर्पालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिलनमा भव्य स्वागत गरिएको हो। उनलाई बौद्ध संस्कृतिअनुसार स्वागत गरिएको थियो। सो क्रममा शेर्पाले आगामी वर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने बताए।  शेर्पाले सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३०औँपटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका हुन्।   

राष्ट्रियहितलाई सर्वोपरि ठानेर नीति तथा कार्यक्रम आउँछ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई सर्वोपरि परी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन्।नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए। त्यसअवसरमा उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजजीकरण गरिदिन अध्यक्ष ओलीलाई आग्रह गरेको पनि उनले बताए। अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै त्यसलाई उकास्नेगरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन सहजीकरणका लागि आग्रह गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए। अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्म गिरावट आएकाले शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्नेबारे छलफल गरिएको उनले बताए।  वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ।  अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि पनि अविलम्व पहल गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरिएको बताए।

संसद्को चालु अधिवेशनको अन्त्य स्वाभाविक प्रक्रिया हो : सञ्चारमन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को चालु अधिवेशनको अन्त्य स्वाभाविक प्रक्रियाअन्तर्गत भएको बताएकी छिन्। आइतबार मन्‍त्रिरिषद् बैठकका निर्णय सार्वजनक भएपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले संसद् अधिवेशन स्वाभाविक प्रक्रियाअन्तर्गत भएको बताएकी हुन् ।  उनले स्वभाविक रुपमा भएको संसद् अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताइन् । उनले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली काँग्रेसको आरोप गलत भएको बताउनुभयो। उहाँले सरकार अब बजेट अधिवेशनको तयारीमा लागेको बताइन्। उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद् अधिवेशन अन्त्य गरेको बताइन्। उनले भनिन्, ‘‘संसद्को एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति हामीलाई केही समय चाहिन्छ। हाम्रा नियमावली, संविधानका व्यवस्था छन्। त्यो व्यवस्थाअनुसार हाम्रो केही समय संसद अधिवेशन बन्द गर्नैपर्ने हुन्छ। अब हाम्रो बजेट अधिवेशन नजिक आउँदैछ। यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ। त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता एक खालले पारित गरिसकेका छौँ। सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्यूका सल्लाह र सुझाव छन्। त्यसलाई परिमार्जन गर्नुपर्नेछ। नीति तथा कार्यक्रमको, बजेटको तयारी गर्नुपर्ने, सरकारको मुख्य ध्यान त्यतातिर छ। त्यसकारण हामी अलि फरक ढङ्गले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिइएको हो। त्यसबाट संसद अन्त्य स्वाभाविक प्रक्रियामा भएको छ। यसलाई अरु अर्थमा बुझ्नुहुँदैन। संसदमा उठेका विषयबाट भाग्न खोज्यो र अन्त्य भयो भन्ने कुरा आयो। यो गलत हो।’’ मन्त्री शर्माले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद् अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताइन्। 

कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । शुक्रबार साँझतिर भाभटेनीको मुख्य भवन छेउमा रहेको जेनेरेटर कक्षमा आलागनी भएको थियो । आगोलाई दुईवटा दमकले नियन्त्रणमा लिएका हुन् । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । उनले मुख्य भवनमा नभएर छेउमा रहेको भवनको जेनेरेटर कक्षमा आगलागी भएको जानकारी दिए ।

अभिलेखमा क्षति पुर्‍याए तीन वर्ष कैद र एक लाखसम्म जरिवाना

काठमाडौं। अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पुर्‍याए तीन वर्ष कैद र एक लाख रुपियाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको हो । शुक्रबारबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुरु भएको छलफलका क्रममा समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले उनले विद्युतीय रेकर्डलाई पनि अभिलेखको रुपमा राख्ने विधेयकको उद्देश्य रहेको बताए। अभिलेखहरुको क्षति पुर्‍याउँदा पाँच हजारसम्मको जरिबाना र तीन वर्षसम्मको कैद सजाय हुने गरेकोमा प्रस्तावित विधेयकमा कैदलाई तीन वर्ष नै कायम गरिएको र जरिबानालाई एक लाखसम्म पु¥याउने प्रस्ताव गरिएको बताए। अभिलेख संरक्षण ऐन, २०४६ पुरानो ऐन भएकाले समयानुकूल बनाउन परिमार्जन गर्न लागिएको बताए। उनले सरकार सङ्घीयतामा गएपछि तीन तहकै सरकारले गरेका कामहरुलाई अभिलेखको रुपमा व्यवस्थित गर्ने प्रयोजनका लागि कानुनी व्यवस्था गर्न परिमार्जन गर्न लागिएको बताए। उनले संघ, प्रदेश र स्थानीय तहका अभिलेखहरु संरक्षण गर्ने कानुनी व्यवस्था गर्न यो ऐनलाई संशोधनको प्रस्ताव ल्याइएको बताए। उनले यो ऐनले तत्काली प्रदेश र स्थानीय सरकारले गरेका कामहरु र अभिलेखलाई संरक्षण गर्ने कानूनी व्यवस्था गर्न लागिएको बताए। बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभाले पारित गरेको विधेयकमाथि समितिले छलफलको आवश्यकता महशुस गरेर परिमार्जन गर्नुपर्ने हिसावले छलफल हुनु सकारात्मक भएको जानकारी दिए। उनले स्पष्ट नभएका विषयवस्तुहरुलाई स्पष्ट पार्ने काम पनि छलफलमा भएको जिकिर गरे। उनले राष्ट्रिय सभाको संशोधनले र प्रतिवेदनमा उल्लेख भएका कुराहरुले अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन की भन्ने भावका साथ विषयवस्तुले प्रवेश पाउनु स्वागतयोग्य भएको बताए। उनले भने ‘‘राष्ट्रिय सभाले पारित गरेको विधेयकमाथि पनि हाम्रो यो समितिले छलफलको आवश्यकता महशुस गरेर यसलाई अझै परिमार्जन गर्नुपर्ने हुन्छ की ? भन्ने हिसावले जुन किसिमले छलफल भइरहेको छ, त्यो धेरै सान्दर्भिक, महत्त्वपूर्ण छ । छलफल पनि शानदार ढङ्गले चलिरहेको छ। स्पष्ट नभएका विषयवस्तुहरुलाई स्पष्ट पार्नुपर्छ भन्ने भावका साथ चलेको छ । कतिपय कुराहरु राष्ट्रिय सभाको संशोधनले पनि र त्यसको प्रतिवेदनमा उल्लेख भएका कुराहरुले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन की भन्ने भावका साथ जुन खालले विषयवस्तु प्रवेश भएका छन् । त्यो राम्रो छ ।’’ बैठकमा बोल्दै सांसद प्रेम सुवालले राष्ट्रिय अभिलेखालयलाई सल्लाह दिने सल्लाहकार समितिमा सबै सचिव, सहसचिव मात्रै हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले सल्लाहकार समितिमा समानुपातिक, समावेशीका लागि बाहिरको सल्लाहकार समिति बनाउन आवश्यक रहेको बताए। सल्लाहकार समितिको संरचना नै परिवर्तन गर्न जरुरी रहेको बताए। उनले सबै समुदायका विशेषज्ञहरुको सल्लाहकार समिति बनाइनुपर्ने माग गरे । समितिको बैठकमा सांसदहरुले सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको अभिलेखहरु पनि संरक्षण र व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

संसदका ७ वटा समितिको बैठक बस्दै, यस्तो छ छलफलको कार्यसूची

काठमाडौँ । आज एकै पटक सात वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा उजुरी छानबिन उपसमितिमा हाल सम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ ।  त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सङ्घीय संसद् सचिवालयसँग सम्बन्धित विषय एवं दफाहरूका सम्बन्धमा छलफल हुनेछ।  त्यस्तै दिउँसो २ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा युएन सिइडिएडब्ल्यु कमिटीले नेपाल सरकारलाई जारी गरेको लिस्ट अफ इस्युज ९विषय सूचि० मध्ये मानव बेचबिखन सम्बन्धी र लैङ्गिक हिंसा सम्बन्धी विषयमा छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । सार्वजनिक लेखा समितिको बैठक पनि दिउसो एक बजे नै बस्ने छ । सो बैठकमा हुलाकी राजमार्ग सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति सम्बन्धमा, सार्वजनिक नीतिको मस्यौदा, निर्माण र कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

गृहमन्त्री लामिछानेको स्पष्टीकरणः ‘सहकारी प्रकरणमा मेरो संलग्नता छैन’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।  जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही पनि नभएको बताए । उनले भने, ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन ।’  लामिछानेले यसको मुद्दा अदालतमा दर्ता भएको भएपनि आफु प्रतिवादी नभएको भन्दै बयानमा पनि आफ्नो नाम उल्लेख भएको जानकारी नभएको बताए । उनले आफू सरकारमा आउनुभन्दा पहिला नै कांग्रेस संलग्न सरकार भएको बेला आफ्नो नाम उल्लेख भएको पूरक जाहेरीलाई प्रहरीले सूचनाको रुपमा लिएको बताए ।

अझै भेटिएनन् कर्णाली पुलबाट हामफालेका युवा

काठमाडौं । कर्णाली पुलबाट हामफालेका एक युवा अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका एक व्यक्ति फेला नपरेका हुन् ।  होलीको दिन हाम फालेका ती व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ । ७ नम्बर वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे देखि घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए ।  सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षका लोकेन्द्र शाही अहिलेसम्म पनि वेपत्ता छन् । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार फोटा खिच्न भन्दै युवाहरुको समूह कर्णाली पुलमा पुगेको थियो । तर पछि उनीहरु एक पछि अर्को गर्दै नदीमा हाम फालेका थिए । उनीहरु हाम फालेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भएको छ ।

गैरहाजिर यी २३ प्रहरीलाई खोज्दै प्रहरी प्रधान कार्यालय

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ ।  आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।  गैरहाजिर हुनेमा प्रहरी सहायक निरिक्षकदेखि कार्यालयसहायसम्म छन् । तोकिएको समयसीमाभित्र हाजिर नभए सेवाबाट हाइने सूचनामा उल्लेख छ । 

हर्क, बालेन र रबीहरूको परिवर्तनका नेता प्रचण्ड  :  मैनाली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बालेन्द्र शाह, हर्क सामपाङ र रबी लामिछानेहरूको परिर्वतनको नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भएको टिप्पणी गरेका छन् । ह्वइट हाउस इन्टरनेश्नल कलेजले पुतलीसडकमा शुक्रवार क्विज कन्टेन्ट सञ्चालन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मैनालीले यो देशको परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड भएकाले त्यसका बाईप्रडक्ट रूपमा अरू भएको उल्लेख गरे ।  ‘जुनसुकै पार्टीको राजनीति गरे पनि प्रगतिशील र क्रान्तिकारी राजनीति गर्नुस् । यसरी नै रबी लामिछाने, बालेन शाह र हर्क सामपाङ्गले गरे’ उनले भने, ‘पछिल्ला जति पनि आन्दोलनहरू भए त्यसको नेतृत्व प्रचण्डले गरे । हर्क, बालेन र रबीहरूको परिवर्तनको नेता प्रचण्ड हुन । त्यस्तै परिवर्तनगामी नेता बन्ने सपना देख्नुस् ।’  यो देशको युगान्तकारी परिवर्तन गर्न १० वर्षे जनयुद्ध गर्न बन्दुक उठाएको उनले जिकिर गरे । ‘यो देशमा महिलाले जोत्नु हुँदैन किरिया बस्नु हुँदैन भन्नेलाई माओवादीले बन्दुक बोकाएर यो मुलुकको रूपान्तरणमा लगायो। सामन्ती राजतन्त्रको जरो नै उखालेर देशमा गणतन्त्र स्थापना ग¥यो’ उनले भने, “बालेन कुनै बेला अखिल क्रान्तिकारीको सदस्यता बोकेको मान्छे हो। अखिल क्रान्तिकारीमा सङ्गठित भएको मान्छे हो। उहाँ आफ्नैढङ्गले अघि बढेर महानगर प्रमुख भए ।’ यो देशको राजनीति खराब छ भनेर विद्रोेह गरेर काठमाडौँको मेयर हुन सफल भएको उल्लेख गरे । उनले कार्यक्रम  ह्वाइ हाउस कलेजले यो प्रदेशको नमुना बनाउने मुख्यमन्त्री जन्माओस् भन्दै शुभकामना दिए । माओवादीले यो देशको १८ घण्टे लोडसेडिङदेखि भ्रष्टाचारका सुशासनको पक्षमा कदम चालेको उनले उल्लेख गरे ।

महराको बयान  -'म नेता हुँ विभिन्न मान्छेसँग फोन हुन्छ, मलाई यसै सुन तस्कर बनाए'

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । सोमबार कपिलबस्तुबाट पक्राउ परेका महराको बयान बिहीबार सकिएको हो । दुई दिन जिल्ला सरकारी वलिक कार्यालयमा गरेको बयानमा उनले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमा बयान लिएको हो । कार्यालय स्रोतका अनुसार उनले बयानमा आफूमाथि राजनीति भएको बताएका छन् । उनले बयानमा भनेका छन्, “म नेता हो विभिन्न मान्छेसँग मेरो फोन सम्पर्क हुन्छ । त्यही शिलशिलामा चिनियाँहरूसँग पनि भएको हो । उनीहरूले सुन तस्कर गर्छ भन्ने मलाई कुनै पूर्वजानकारी छैन ।मलाई यसै सुन तस्कर बनाइयो ।”  ०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)मार्फत नौ किलो सुन ल्याएका थिए । सोही प्रकरणमा  उनी पक्राउ परेका हुन् । सोही प्रकरणमा गत भदौमा पक्राउ परेका उनका छोरा राहुल भने पुर्पक्षका निम्ति थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरा भने सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेपछि पक्राउ परेका हुन् । बयान सकिएसँगै अदालत पठाउने सीआईबीको तयारी छ ।

राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षका लागि दुईजनाको उमेदवारी दर्ता भएको छ ।  सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् । उनको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी छन् । समर्थकमा नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देबेन्द्र दाहाल र नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टीका मोहम्मद खालिद रहेका छन् ।  नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना  र समर्थकमा किरणबाबु श्रेष्ठ छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शेखर कुमार सिंह समर्थक रहेका छन् । राष्ट्रियसभाको अध्यक्षमा उमेदवारी दर्ताका लागि आज दिउँसो १ बजेसम्मको समय तोकिएको छ । अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ ।  अध्यक्षका लागि दुईजना प्रतिष्पर्धी रहने भएका छन् । सत्ता गठबन्धनका नारायण दाहालसँग प्रष्ट  बहुमत देखिन्छ ।

जसपाका मन्त्रीले आज ११ बजे शपथ लिने

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बन्नेहरूको शपथ गराएर मन्त्रीपरिषद् विस्तार गरिने जानकारी दिएका हुन् ।  जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् ।साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार शपथ बिहान ११ बजे राष्ट्रपति कार्यालय सितल निवासमा हुनेछ ।भाेलि थपिने मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनेछन् ।