राष्ट्रपति पौडेल बागलुङ पञ्चकोटमा

बागलुङ। राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आएका छन्। बुधवारदेखि पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आएका छन्।

राष्ट्रपति पौडेलले पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञमण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय भएको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न १५ दिनसम्म सञ्चालन हुने ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो । महायज्ञको बुधवार नौ वर्षमुनिका एक सय ८ जना कन्याबाट सामूहिक रूपमा दीप प्रज्वलन गरेर शुभारम्भ गरिएको थियो ।  

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए । 

जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उनले जानकारी दिए । महायज्ञ मार्फत जल सम्पदाको संरक्षण,पर्यटन प्रवर्द्धन गर्नुका साथै मौलिक धर्म संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य रहेको महायज्ञका सङ्कल्पकर्ता कमलनयनाचार्यले बताए । महायज्ञ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार नै सदनमा पेस गर्ने तयारी

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन संसद्को कानुन तथा मानवअधिकार समितिले बिहीबार बैठक बोलाएको छ ।  मुख्य विवादित विषयमा प्रमुख तीन दल सम्मिलित कार्यदलले सहमति जुटाएपछि समितिको बैठक बस्न लागेको हो। समितिमा १५ महिनादेखि विचाराधीन रहेको विधेयकलाई बिहीबार नै सदनमा पेस गर्ने तयारी गरेको छ । विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि सहजीकरण गर्न गत असार १३ मा गठन गरिएको कांग्रेस, एमाले र माओवादीका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमतिसहितको प्रतिवेदन बुधबार तीनै दलका शीर्ष नेतालाई बुझाएको छ ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनमाथि संक्षिप्त विचार राखेका थिए ।

टीआरसीसम्बन्धी प्रतिवेदन बुधबार तीन शिर्ष नेतालाई बुझाइने

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सहमतिसहित तयार पारिएको प्रतिवेदन बुधबार तीन जना शिर्ष नेतालाई बुझाइने भएको छ। उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यादलले बुझाउने भएको छ । सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरू द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्ने विधिमा सहमत भएका छन् ।

कोसीमा माओवादीका मन्त्रीले दिए राजीनामा

विराटनगर । कोसी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा दिएका छन् । शुक्रबार अपराह्न उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।‌ माओवादीले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्त नलिने भएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री थिए । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री थिइन् । केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्न खोजेको थियो ।मुख्यमन्त्री हिक्मत कार्कीले केही समय सरकारमै रहन आग्रह गरेका कारण केही ढिलो गरी राजीनामा बुझाएका हुन् ।‌ कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्। बुधबार दिउँसो १ बजे मन्त्रीसहित सचिव डा.रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए।  मन्त्री यादवले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे। त्यसपछि उनी नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए। करिब ३ घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए।  अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए। “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुनुपर्छ”, उनले भने, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ। मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो।”  मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताए। शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो।  अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए।अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधारणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोधेका थिए। औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाएका थिए।  मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिए। त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरेका थिए।  डा.भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिए। “औषधीको अभाव छ, हामी स्वीकार गर्छौं”, उनले भने, “दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।”  मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिएका थिए । 

सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्नका लागि सिफारिस समिति गठन गरेको हो । समितिको सदस्य राष्ट्रिय मानव अधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदीश शर्मा पौडेल, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन् ।

लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्का भ्रष्टाचारी ठहर

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले गाउँपालिका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद सजाय सुनाएको हो । खड्कालाई विशेष अदालतले १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना पनि तिराउने फैसला पनि गरे‍को छ। यस्तै, अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवाना सुनाएको छ। त्यसैगरि लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामालाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना गर्ने फैसला भएको छ। अदालतले सामान ल्याउने ठेकेदार कम्पनी सञ्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवानाको फैसला भएको छ। पालिकामा विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमध्ये पाँच जना दोषी ठहर भएका हुन्। अरु २२ जनाले भने सफाइ पाएका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनअगाडि खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि नेपाली कांग्रेसका प्रवेश गरेका थिए ।

विश्व मिर्गौला दिवस : दुई पटक मिर्गौला प्रत्यारोपण गरेका केपी ओलीको यस्तो छ सुझाव

काठमाडौं। आज विश्व मिर्गौला दिवस  । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका सामाजिक सञ्जाल फेस्बुक मार्फत केही सुझाव दिएका छन् । दुई पटक मिर्गौला प्रत्यारोपण गरेका उनले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिएका छन् ।  उनले भनेका छन्–  'मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब  मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ।  प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ। मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !'

मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय : रेशम चौधरी

धनगढी । सत्ता गठबन्धन फेरिएसँगै नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादको भूमरीमा फसेको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक र अध्यक्ष रञ्जिता चौधरीका पति रेशमलाल चौधरीले बुधबार बिहान लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।  यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन्। तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन्। रेशम चौधरी आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको समेत स्पष्ट पारेका छन्। ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ। तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ।’ रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने संकेत पनि गरेका छन्। ‘याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ,’ उनले भनेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ। अहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भइ निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भइ गर्नुपर्छ।’ रेशमलालले दोहोर्‍याएर भनेका छन्, ‘कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडि नलागौं। नागरिक उन्मुक्ति पार्टी कांग्रेसरकम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं। आफ्नो नीति सिद्धान्त अनुरुप चलौं।’ उनले रञ्जिता र आफूबीच उत्पन्न विवादबारे पनि खोलेका छन्। ‘कुरो रहृयो बुढाबुढीको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ रेशमललाले लेखेका छन्, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नु हुन्न भन्छिन् । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुई चोटी प्रधानमन्त्री भएकै थिए। हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो, तर हामी रिहा भएनौं नि। अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकि हौ।’ एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो भन्ने उनको भनाइ छ। निर्वाचन आयोगले आफूलाई मान्यता नदिएको बारेपनि उनको आक्रोश छ। ‘जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन,’ रेशमललाले भनेका छन्, ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।’ आफ्ना कारण लाखौं जनताको मन दुखेको आफूलाई अनुभूत भएको उनको भनाइ छ। ‘त्यसकारण म क्षमा चाहन्छु। तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन,’ उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपाल र जोर्डन खेल्दै

काठमाडौं, १७ फागुन । साउदी अरेबियामा आज नेपाली महिला फुटवल टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक पुगेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहमा रहेको प्रिन्स अब्दुल्लाह अल(फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपाल पहिलोपटक वाफको प्रतियोगितामा सहभागी भएको छ भने जोर्डनले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ । जोर्डन डिफेण्डिङ च्याम्पियन समेत हो । प्रतियोगिता खेलेका ८ टिम मध्ये नेपाल भने १०५ औं स्थानमा रहँदा जोर्डन सबैभन्दा माथि ७३ औं स्थानमा छ ।  सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुका दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि पनि जितेको छ । जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप पनि खेलेको थियो । यस्तै तीनपटक एसियन गेम्स समेत खेलेको छ । जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा रहेको छ । यद्यपि जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी टोलीकी मुख्य सदस्य सावित्रा भण्डारी फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेपछि नेपालको फाइनल खेल गुमाउने भएकी छन् ।

दक्ष सांकेतिक शिक्षक नहुँदा बहिरा विद्यार्थी समस्यामा

कैलाली, पुस १ । बहिरा तथा फरक क्षमता भएका प्रदेश नं.७, का विद्यार्थी गुणस्तरिय शिक्षाबाट बञ्चित भएका छन् । सांकेतिक भाषामा बढाइ हुने विद्यालय तथा शिक्षकको अभावमा उनीहरु गुणस्तरिय शिक्षाबाट बञ्चित भएका हुन् । बहिरा विद्यार्थीको संख्या बढ्दै गए पनि आफू अनुकूल पढाई हुने विद्यालय भने नरहेको उनीहरुको गुनासो छ । दक्ष सांकेतिक भाषाका शिक्षक नहुँदा बिचमै बढाई छोड्ने बहिरा विद्यार्थीको दर पनि बढ्दै गएको छ । बहिरा विद्यार्थीका यस्ता थुप्रै समस्या भए पनि समाधानका लागि भने राज्य उदाशिन बनेको उनीहरुको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको गुनासो छ । प्रदेश नं.७ मा मात्रै तिन सय हाराहारी बहिरा विद्यार्थी छन् । तर, शिक्षक भने औंलामा गन्न सकिने मात्रै रहेका छन् । सरकारी दरबन्दी रहेका जम्मा सात जना शिक्षक छन् । दिनहुँ ‘बहिरा विद्यार्थीको संख्या बढ्दै गए पनि उनीहरुको समस्या समाधान गर्न राज्य उदाशिन छ । यो प्रदेशमा बहिराका लागि उच्च शिक्षा हासिल गर्न एउटा पनि स्कुल छैन । जसले गर्दा उनीहरुले उच्च शिक्षा हासिल गर्न बाग्लुङ, पोखरा, बैरहवा, काठमाडौं लगायत ठाउ“ जानु पर्ने बाध्यता रहेको बहिरा संघ कैलालीका कार्यक्रम संयोजक रमेश भट्टराइले बताए । मुलुक संघिय संरचनामा गइ सकेकाले बहिरा विद्यार्थीले पनि सुविधा पाउनेमा झीनो आश भने राखेका छन् । स्थानीय सरकार बनि सकेकाले लामो समय देखि भोग्दै आएका समस्या अब हल हुने उनीहरुले आशा राखेका हुन् । स्थानीय तहका जनप्रतिनिधिले पनि बहिरा विद्यार्थीले बर्षौं देखि भोग्दै आएका समस्या अन्त्य हुने बताएका छन् । आफ्नो कार्यकालमा बहिरा विद्यार्थीको समस्या समाधान गर्न हर सम्भव प्रयास गर्ने धनगढी उप–महानगरपालिका नगर प्रमुख नृपबहादुर वडले आश्वासन दिए । विभिन्न अभाव तथा समस्याकाविच प्रदेश नं.७ का बहिरा विद्यार्थी अध्ययन गरि रहेका छन् । न पढ्नलाई व्यवस्थित विद्यालय रहेका छन्, न त दक्ष शिक्षक । यस्ता समस्याले गर्दा बहिरा विद्यार्थी निकै दिक्क छन् । बहिरामैत्रि विद्यालय नहुँदा त झनै समस्या छ । बहिरा विद्यार्थीका यस्ता थुप्रै समस्या रहेकाले समाधानका लागि केन्द्रमा पहल भइरहेको राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारीले बताए । प्रवेशीका परिक्षासम्म पनि बहिराका लागि पढाइ हुने विद्यालय नहु“दा सुदूरपश्चिमका अधिकांश विद्यार्थीले बिचमै पढाइ छोड्ने गरेका छन् । पर्याप्त सांकेतिक भाषाका शिक्षक नहुँदा पनि बहिरा विद्यार्थीलाई समस्या छ । बहिरा विद्यार्थीले यस्ता थुप्रै समस्या भोगी रहेका राज्यले थाह पाए पनि समाधानका लागि कमै अग्रसरता देखाएको पाइन्छ । त्यस कारण अब बहिरा विद्यार्थीका यस्ता समस्याको छिटो समाधान गर्न राज्यले ध्यान दिन जरुरी छ रहेको बहिरा विद्यार्थीले बताएका छन् । यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–११, बेलामा रहेको श्री दक्षिणकाली प्रा.वी. बहिरा श्रोत कक्षाको दुइ कोठे भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै उनले आफ्नो पाँच वर्षिय कार्यकालमा अहिले तिन कक्षासम्म पढाइ हुँदै आएको विद्यालयलाई १२ सम्म बढाइ हुने बनाउने प्रतिवद्धता जनाए । बहिरा विद्यार्थीले उच्च शिक्षा हासिल गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता आफ्नो कार्यकालमा अन्त्य गर्ने मेयर वडले दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर वडले विद्यालयमा सांकेतिक शिक्षक अभाव भएको गुनासो आएकाले उक्त समस्या शिघ्र समाधान गर्ने आश्वासन दिए । कार्यक्रममा बोल्ने धेरैले बहिरा विद्यार्थीले थुप्रै समस्या खेपी रहेको गुनासो गरेका थिए । समस्या समाधान गर्न कसैले पनि खासै ध्यान दिन नसकेको उनीहरुको भनाई थियो । कार्यक्रममा बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारी, बहिरा महांसघका जिल्ला अध्यक्ष दिनेश पनेरु, अभिभावक लगायतले बोलेका थिए ।    

लेबनान र प्यालेस्टाइनमा बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)ले लेबनान र प्यालेस्टाइनका जनतामाथि भइरहेको बर्बरतापूर्वक आक्रमण रोक्न माग गरेको छ । बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै विद्यार्थी संगठनले इजरायली आक्रमणको विरोध जनाएको हो। संगठनले लेबनान र प्यालेस्टाइनका जनताप्रति समवेदना र सहानुभूतिसमेत प्रकट गरेको छ। प्रर्दशनका क्रममा इजरायल र लेबनानमा रहेका नेपाली समुदायलाई सुरक्षितरुपमा नेपाल फर्काउन पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । साथै, हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायली दूतावास, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न संगठनले आग्रह गरेको छ ।

भष्ट्राचारविरुद्ध अभियानको नेतृत्व माओवादीले गर्छ : प्रचण्ड

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभएको छ । माओवादी केन्द्र दमकको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उहाँले देशैभरि भ्रष्टाचार बढ्दै गएकाले यस्ता जनविरोधी गतिविधिविरुद्ध पार्टीले आन्दोलन तथा खबरदारी गर्ने बताउनुभएको हो । पार्टी अध्यक्ष प्रचण्डले पहिचानको मुद्दामा माओवादी केही चुकेको स्वीकार गर्दै अब त्यसलाई सच्याएर सम्पूर्ण आदिवासी, जनजाति, शोषित, पीडित समुदायको आशा र भरोसाको पार्टी बनाइ छाड्ने बताउनुभयो । “लामो शसस्त्र युद्ध, विभिन्न खाले आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हाम्रो पार्टीले कसैसँग सम्झौता र सहमति गर्दैन । यसमा हामी दृढ छ”, उहाँले भन्नुभयो । दमक–८ स्थित बालुवाटारमा निर्माण गरिएको तीनतले सुविधासम्पन्न कार्यालय भवन उद्घाटनमा पार्टीका दमक नगरअध्यक्ष रवि बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो ।

पशुपतिमा तीजको तयारी पूरा, बिहान ३ बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं । यस वर्ष शुक्रबार परेको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तीजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो । मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले जानकारी दिए । यसैगरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले बताए । दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने अधिकारीले जानकारी दिए । उनले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरे । नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिने उनको भनाइ छ । यसैगरी भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको कोषले बताएको छ । कोषले जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायतका स्थानहरु छुट्याइएको पनि जानकारी दिएको छ ।

बिहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३० बढी घाइते

काठमाडौं । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।  

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिन पनि बसिरहेको छ ।  शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण, भावी रणनीतिबारे प्रस्ताव राखेका थिए ।