नक्कली लाइसेन्स बनाएर बेच्ने गिरोह पक्राउ
काठमाडौं, फागुन १० । नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ परेका छन् । उनीहरूले सक्कलीजस्तै देखिने दर्जनौँ नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।
सिन्धुली भद्रकाली स्थायी घर भएका गोले ललितपुरको भनिमन्डल र पाख्रिन सिद्धिपार्कमा बस्दै आएका थिए । उनीहरूले ६ महिनादेखि नक्कली लाइसेन्स बनाएर बिक्री गर्दै आएको परिसरका एसपी अशोक सिंहले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट एक सय ९० वटा होलोग्राम, एक सय १५ वटा नक्कली लाइसेन्स, ६ वटा फोटोसहित तयारी अवस्थाका लाइसेन्स, कम्प्युटर, प्रिन्टर र छाप बरामद गरेको छ ।
पाख्रिनको कोठाबाट लाइसेन्स छाप्ने प्रिन्टरसमेत बरामद गरिएको एसपी सिंहले बताए । पाख्रिनले नक्कली लाइसेन्स बनाउने र गोलेले ग्राहक खोज्ने काम गर्दै आएका थिए । उनीहरूले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अधिकृतहरूको हस्ताक्षरसमेत नक्कली बनाएर सक्कली लाइसेन्स भएको भ्रममा पारेर नक्कली लाइसेन्स बेच्दै आएका थिए ।
सुराकीका आधारमा पहिला गोलेलाई पक्राउ गरेको र गोलेकै सूचनाका आधारमा पाख्रिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिरोहका अन्य सदस्यबारे अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।
होलोग्राम सक्कली भएको आशंका
प्रहरीले लाइसेन्समा प्रयोग हुने होलोग्राम भने सक्कली भएको आशंका गरेको छ । एसपी सिंहले भने, ‘होलोग्राम हेर्दा सक्कलीजस्तो छ, परीक्षण गर्न यातायात व्यवस्था विभाग पठाउँछौँ ।’ उनीहरूले यातायात व्यवस्था कार्यालय बागमतीको छाप तथा अधिकृतको दस्तखतसमेत नक्कली बनाई लाइसेन्स बिक्री गरिरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेकाले दुई हजार रुपैयाँसम्ममा लाइसेन्स बिक्री गरेको बताएका छन् । उनीहरूबाट नक्कली लाइसेन्स किन्नेमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकामाथि सरकारी छाप, दस्तखत किर्ते मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । यातायात व्यवस्था कार्यालय बागमती र कोसीको नाममा उनीहरूले लाइसेन्स बनाउँदै आएका थिए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।
प्रधानमन्त्रीको चीन भ्रमण राजकीय हुने
काठमाडौं, चैत ४ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण राजकीय हुने भएको छ । उनलाई बेइजिङमा राष्ट्रपति सी चिनफिङ भेटघाटको रेड कार्पेट ओछ्याइने भएको हो । उनले बेइजिङमा उच्चस्तरको भेटघाट गरेपछि मात्र बोआओ फोरममा सहभागी गराउने तयारी अघि बढेको परराष्ट्र स्रोतले बतायो । चैत १० मा प्रचण्ड चीन जानेगरी प्रत्रिया अघि बढेको छ । उनी सुरुमा बेइजिङ पुग्नेछन् त्यहाँ राष्ट्रपति सी चिफिङसँग भेट गरेर बोआओ फोरममा आउने तयारी छ । यसअघि बोआओबाट त्यसतर्फ जाने भनिएको थियो । बेइजिङमा राजनीतिक वार्ता गरेर मात्र वोआओ फोरममा आउने भएपछि त्यहीअनुरुप मिलाइने भएको हो । प्रचण्डको भ्रमणलाई लिएर चिनियाँ राजदूत यू होङसहितको टोलीले परराष्ट्रमन्त्री प्रशाशशरण महतसँग बिहीबार भेटेर तयारीबारे छलफल समेत गरेकी थिइन् । परराष्ट्रमन्त्रीसँग भएको छलफलमा दुईपक्षीय समझदारी र प्रधानमन्त्रीको भ्रमण मोडेलबारे छलफल भएको अधिकारीहरुले बताए । भ्रमणमा प्रधानमन्त्रलिे नेपालको पछिल्लो राजीतिक अवस्था र नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धतामा चीनलार्य आश्वस्त पार्ने काम हुनेछ । यो खबर आजको कान्तिपुरमा छ ।
गम्भीर दुर्घटनाबाट जोगियो अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं,चैत ३ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो। नेपाल वायुसेवा निगमको गत सोमबारदेखि थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने सात बजे पाँच टन (पाँच हजार लिटर) तेल चुहिन पुगेको थियो। ‘११ नम्बरको पार्किङ वेमा रहेको निगमको एअरबस ३२० जहाजको दायाँ पखेटाबाट तेल चुहिएपछि दमकल, पानी ट्यांकर, सुरक्षाकर्मी एम्बुलेन्स एकैचोटि परिचालन गरेर दुर्घटना टार्यौं’, विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘चुहिएको तेलमा मसिनो आगोको झिल्कामात्र परेको भए जहाजदेखि वरिवरिका सम्पूर्ण पूर्वाधार पड्केर ध्वस्त हुन्थ्यो, धन्न हामीले सुझबुझका साथ काम गरेर सबै जोगाउन सक्यौं।’ युरोपेली जहाज निर्माता कम्पनी एअरबसमा निर्मित एक सय ५८ सिट रहेको निगमको ‘ए ३२०–२०’ सिरिजको उक्त जहाज मंगललबार राति साढे ११ बजे युनाइटेड अरब इमिरेट्स जाने तालिका थियो। ‘९ एन–एके डब्लु’ कलसाइन भएको यो जहाजलाई उडान तालिकामा राखिए पनि दुई दिनदेखि ‘ग्राउण्डेड’ थियो। ‘दायाँ पखेटामा रहेको इन्धन टयांकको फ्युल पम्प बिग्रिएकाले मर्मत गर्दै थियौं, तर टयांकको बिर्को खोल्न खोज्दा भित्रको हाउजिङसहित सबै निस्कियो’, सम्बद्ध एक अधिकारीले भने, ‘त्यसपछि भित्रको प्रेसरले तेल बाहिर निस्किन थाल्या, रोक्नै सकिएन।’ विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार जहाजबाट तेल चुहिएको थाहा पाउनासाथ तत्काल विमानस्थलको फोमसहितको दमकल, पानी ट्यांकर सुरक्षकर्मीलगायत जहाज वरिपरि परिचालन गरियो। तेल बिस्तारै नजिकैको कुलोमा बगाउन थालियो र दुर्घटना टारियो। – यो खबर आजको नागरिक दैनिकमा छ ।
लेष्टर सिटी पहिलो सहभगितामै युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा
काठमाडौं, चैत २ । इंग्लिश फुटबल क्लव लेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति भएको प्रि–क्वाटरफाईनल दोस्रो लेगको खेलमा लेष्टरले स्पेनिस क्लव सेभियालाई २–० ले हरायो । लेष्टरको जितमा वेस मोर्गान र मार्क अल्ब्राईटनले एक–एक गोल गरे । दोस्रो लेगमा हात पारेको २–० को जितपछि लेष्टस सिटी समग्रमा ३–२ ले विजयी हुँदै क्वाटरफाईनलमा पुगेको हो । पहिलो लेगको खेलमा सेभिया २–१ ले विजयी भएको थियो । पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको लेष्टर सिटी पहिलो सहभगितामै अन्तिम आठमा पुगेको हो । च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ईटालीको युभेन्टसले पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो डिबालाले निर्णायक गोल गरे । पहिलो लेगमा २–० ले विजयी भएको युभेन्टस गएरातिको खेलपछि समग्रमा ३–० को परिणाम निकाल्दै अन्तिम आठमा पुगेको हो । च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज स्पेनको एथ्लेटिको मड्रिड र जर्मनीको बायर लिभरकुजेन भिड्दा फ्रान्सको मोनाकोले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।
लाइभः नेपाललार्इ पहिलो झड्का, धमला आउट
काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालको पहिलो विकेट पतन भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा जारी खेलको दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा क्याच आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।
लाइभः केन्याद्वारा नेपाललाई १५६ रनको चुनाैति, शरदले लिए ४ विकेट
बसन्तले लिए केन्याको नवौ विकेट काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत नेपालसँगको खेलमा केन्याले १५६ रनको चुनाैति पेश गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस हारेर व्याटिङ गरिरहेको केन्याले निर्धारित ५० अोभरको खेलमा ४६ अोभर एक बलमा अलअाउट हुँदै १५५ रन मात्रै बनायो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ४ विकेट लिए । पार्टटइम बलर शरद भेषावकरले ४ विकेट लिएपछि केन्याको इनिङ ध्वस्त भएको हो । उनले ७ ओभर १ बल बलिङ गर्दै २८ रन दिएर ४ विकेट लिए । खेलको चौथो ओभरमै भेट्रान अलराउण्डर मेहवुव आलमले दुई विकेट लिएर केन्याको विकेट पतन सुरुवात गरेका थिए । तर केन्याका इरफान करिम र कोलिन्स ओवायेले तेस्रो विकेटका लागि ७९ रनको ठोष शाझेदारी गरेपछि केन्याले रनरेट बढाउन सफल भयो । २७।२ ओभरमा सन्दीप लामिछानेले ओवायेलाई आउट गराएसागै केन्याको इनिङ ध्वस्त हुन सुरु भयो । ओवाये ४८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । यस्तै बसन्त रेग्मी र मेहबुब अालमले समान दुई दुई विकेट लिए । सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले एक एक विकेट लिएका छन् । संदीलेपले बिहिबार केन्यासँगकै खेलमा दुई विकेट लिएका थिए । नेपालका अर्का बलर मेहबुब आलमले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए ।
मागअनुसार भारतबाट ग्यास नआउँदा देशभर ग्यास अभाव
काठमाडौ, फागुन २९ । कुल मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा राजधानीसहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ । नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१ हजार मेट्रिक टनको हाराहारीमा आयात भएको छ । मागअनुसार भारतबाट ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता बजारमा अहिले ग्यासको अभाव बेहोर्न बाध्य भएका छन् । खाली हुनेबित्तिकै सिलिन्डर साट्दै आएका उपभोक्ताले अहिले भरिएको सिलिन्डर लिन तीनदेखि पाँच दिनसम्म कुर्नुपर्ने भएको छ । भारतको बरौनीस्थित ग्यास रिफाइनरी केन्द्र इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मेन्टिनेन्स गर्ने नाममा १० दिनदेखि पूर्ण रूपमा बन्द गरेको छ । उक्त केन्द्र बन्द हुँदा त्यहाँबाट आउने ग्यास बुलेट आउन बन्द भएको छ । कुल ग्यासको मागमध्ये करिब ३५ प्रतिशत बरौनी रिफाइनरीबाट र बाँकी हल्दिया, पारादिप, मथुरा र कर्णालस्थित रिफाइनरीबाट आपूर्ति हुन्छ । सामान्य समयमा बरौनीबाट मासिक १४ हजार मेट्रिक टन ग्यास आपूर्ति हुन्थ्यो । ‘मेन्टिनेन्स भनेर बरौनी रिफाइनरी डिपोले १० दिनदेखि पूर्ण रूपमा ग्यासको लोड दिन बन्द गरेको छ’, नेपाल एलपी ग्यास उद्योग संघका उपाध्यक्ष गोकुल भण्डारीले भने, ‘यही बीचमा तराई मधेसको बन्द र हडतालका कारण लोड भएका बुलेट पनि विभिन्न स्थानमा रोकिएका छन् । बरौनीबाट पूर्ण रूपमा आउन बन्द र लोड भएका बुलेट पनि विभिन्न स्थानमा अलपत्र परेका कारण खाना पकाउने ग्यास उत्पादनमा निकै कमी आएको छ । यसले गर्दा बजारमा ग्यासको अभाव सुरु भएको हो ।’ नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशकसमेत रहेका भण्डारीका अनुसार तराई मधेसमा सुरु भएको आन्दोलनका कारण उपभोक्ताले सामान्य दिनभन्दा झन्डै दोब्बर संख्यामा सिलिन्डर सञ्चय गर्न थालेपछि बजारमा ग्यास अभाव भएको हो । संघका अर्का उपाध्यक्ष कुशप्रसाद मल्लीका अनुसार सामान्य समयमा मासिक नौ हजार मेट्रिक टन ग्यास लोड दिने हल्दिया रिफाइनरीले पछिल्लो एक महिनादेखि ५० प्रतिशतको हाराहारीमा मात्रै लोड दिन थालेको छ । उक्त स्थानबाट मासिक नौ हजार मेट्रिक टन कोटा छुट्ट्याए पनि हाल करिब चार हजार मेट्रिक टन ग्यासको लोड मात्रै दिँदै आएको छ । ‘पूर्ण क्षमतामा रिफाइनरी सञ्चालन गर्न प्राविधिक समस्या आएको भन्दै हल्दिया रिफाइनरीले एक महिनादेखि कुल मागको आधी परिमाणमा मात्रै लोड दिँदै आएको छ’, उपाध्यक्ष मल्लीले भने, ‘बरौनी पूर्ण रूपमा बन्द र हल्दियाबाट आधी मात्रै ग्यास आउँदा बजारमा खाना पकाउने ग्यासको अभाव भएको हो ।’ बन्द बरौनी र हल्दियाबाट आउने कोटाअनुसारको अपुग ग्यास पारादिप, मथुरा र कर्णाल रिफाइनरीबाट उपलब्ध गराइदिन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराएको सात दिनभन्दा बढी समय बितिसक्दा पनि निगमले आईओसीसँग आवश्यक पहल नगरिदिएको आरोप उनले लगाए । ‘बरौनी र हल्दिया रिफाइनरीबाट प्राप्त हुन नसकेको अपुग कोटा अन्य स्थानबाट प्राप्त भए बजारमा ग्यास अभाव हुँदैनथ्यो’, राजधानी ग्यास उद्योग संघका सञ्चालकसमेत रहेका मल्लीले अन्नपूर्णसँग भने, ‘यही बेला मागअनुसार नियमित आपूर्ति हुन सकेन । अर्कोतर्फ आम उपभोक्ताले बढी संख्यामा सञ्चय पनि गर्न थालेकाले बजारमा चाहेकै समयमा सिलिन्डर पाउन समस्या आएको हो ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
मोर्चालाई बाहिर जान नदिऔँ : कांग्रेस
काठमाडौं, फागुन २९ । कांग्रेसभित्र मधेस मोर्चामा आबद्ध दललाई सत्तासमीकरणबाट बाहिरिन नदिन दबाब बढेको छ । मधेसीलाई अलग गर्दा घोषित स्थानीय तहको निर्वाचन सुनिश्चित नहुने कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ केन्द्रीय सदस्य र तराई–मधेसका सांसदहरूले बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको कांग्रेस बैठकमा अधिकांश नेताहरूले मधेसीलाई अलग गरेर जान नहुने बताएका थिए । संशोधन विधेयक पारित गराउन कांग्रेस सक्रिय भएमा मधेसीसहित सबै दलले निर्वाचनमा भाग लिने वातावरण बन्ने उनीहरूको धारणा थियो । ‘देशलाई निकास दिन कांग्रेस, माओवादी र मधेसी मोर्चाको समीकरणमा सरकार बने पनि समयमा संविधान संशोधन नहुँदा मोर्चा थप चिढिएको विषयमा अधिकांश नेताहरूले धारणा राख्नुभयो,’ बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले भने, ‘संविधान संशोधन भए निर्वाचनको वातावरण बन्छ र सबै दल सहभागी हुने अवस्था आउँछ भन्ने भएपछि अब कांग्रेसले सकारात्मक पहल गर्ने भन्ने भएको छ ।’ मधेसी मोर्चाले सरकारलाई समर्थन फिर्ता लिने ‘अल्टिमेटम’ दिए पनि स्थिति सहज बनाएर निर्वाचनको वातावरण बनाउन कांग्रेस अग्रसर हुने केन्द्रीय सदस्य डा. रामशरण महतले जानकारी दिए । ‘मधेसीलाई अलग गर्न हुन्न, उनीहरूको पनि कुरा सुनौँ भन्ने हाम्रो निष्कर्ष हो,’ महतले नयाँ पत्रिकासित भने, ‘संशोधन नरोकौँ, अघि बढाउँ र निर्वाचनमा जाने आधार बनाउँ भन्नेमा हामी एकमत छौँ ।’ सप्तरी घटनापछि तत्काल संविधान संशोधन र घोषित स्थानीय तहको निर्वाचन फिर्ता लिनुपर्ने भन्दै मोर्चाले सरकाराई सातदिने अल्टिमेटम दिएको थियो । तर, कांग्रेसले मुद्दाप्रति सकारात्मक रहेको भन्दै समर्थन फिर्ता नलिन मधेसी मोर्चासँग संवाद गर्ने निर्णय गरेको छ । बैठकमा नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई सत्तासमीकरणबाट बाहिर जान दिन नहुने भन्दै उनले धैर्यपूर्वक अघि बढ्नुपर्ने धारणा राखेका थिए । अर्का नेता कृष्णप्रसाद सिटौलाले पार्टीको बैठक डाकेर धारणा बनाउने र संविधान संशोधनलाई टुंग्याएर निर्वाचनमा जान ढिलाइ गर्न नहुने बताएका थिए । दलहरूबीच सहमतिको वातावरण बनाएर जानुको विकल्प नभएको उनको भनाइ थियो । गृहमन्त्री विमलेन्द्र निधिले पनि संविधान संशोधनका लागि लाग्नुपर्ने बताएका थिए । ‘संशोधनका लागि पहल गर्ने र निर्वाचनको मिति तोक्ने गरी सभापति र प्रचण्डजीबीच सहमति भएको हो । अब संसाधनका लागि प्रयत्न गर्नुपर्छ,’ निधिले भने, ‘अब राप्रपाजस्तै अरू दललाई सरकारमा ल्याएर संविधान संशोधन गर्ने चुनावी माहोल बनाउनुपर्छ ।’ संशोधन गराउनतिर लाग्नुपर्छ : देउवा नेताहरूले मधेसी दलको सहभागिताविना स्थानीय निर्वाचन कठिन हुने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गराउने पक्षमा आफूहरू रहेको बताएका छन् । ‘संविधान संशोधन गराउनतिर लाग्नुपर्छ,’ कांग्रेस बैठकमा देउवाले भने, ‘यसका लागि मैले पहल गरिरहेको छु ।’ देउवाले बैठकस्थलबाटै तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरी संवादबाट सहमति खोजेर मिलेर अघि बढ्नुपर्ने बताएका थिए । देउवाले ठाकुरलाई आइतबार दिउँसो ३ बजे छलफलका लागि बोलाएका छन् । मधेसका केन्द्रीय सदस्यको एकस्वर मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका केन्द्रीय सदस्यहरूले एकस्वरले मधेसी दलविना घोषित स्थानीय तहको निर्वाचन कठिन भएको बताएका छन् । सत्तासमीकरण बन्दा संविधान संशोधनको सहमति भएकाले त्यसबाट कांग्रेस भाग्न नहुने उनीहरूको भनाइ थियो । ‘मोर्चाले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको छ । उनीहरूको चेतावनीका बीच निर्वाचनमा जान कठिन हुन्छ भन्ने कुरा हामीले राख्यौँ,’ केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘सत्तासमीकरणबाट मधेसीलाई बाहिर जान नदिउँ, सहमतिमा ल्याउँ र संशोधन गरेर निर्वाचनमा जाउँ भन्ने हाम्रो मत छ ।’ कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू विमलेन्द्र निधि, फर्मुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादवसहितका नेताले संशोधन भएपछि तराई मधेसमा निर्वाचनको वातावरण बन्ने बताएका थिए । बैठकमा महेश आचार्यले संविधान संशोधन नगरी निर्वाचनमा जाँदा कांग्रेसलाई प्रत्युत्पादक हुने बताएका थिए । पौडेलले भने पत्रको जवाफ खोइ ? सभापतिको पार्टी सञ्चालन शैलीप्रति नेता रामचन्द्र पौडेलले शुक्रबार पनि असन्तुष्टि राखेका छन् । ‘हामी पनि सरकारमा छौँ, तर माओवादी र अरू दलका मन्त्रीको एकलौटी देखिएको छ । हाम्रै पार्टी राम्रोसँग सञ्चालन भएन, विधि, प्रक्रिया, पद्धतिमा हिँडेन,’ पौडेलले भने, ‘नियमित बैठक नबस्ने, पार्टीका संरचनालाई पूर्णता नदिने अवस्थाले पार्टी निरंकुशतातिर जान्छ । मैले चिठी लेखेर बैठक डाक्न आह्वान गरो । तर, चिठीको वास्ता किन गरिएन ?’ आफूहरूले पार्टीमा भागबन्डा नखोजेको भन्दै पौडेलले नेताको मूल्यांकनलाई सम्मान गर्न सुझाब दिए । शशांक फर्किएपछि केन्द्रीय समिति बैठक नेताहरूले निरन्तर माग गरेपछि सभापति शेरबहादुर देउवाले ३ चैतमा महामन्त्री डा. शशांक कोइराला युरोपबाट फर्किएपछि केन्द्रीय समिति बैठक आह्वान गर्ने जानकारी दिएका छन् । पार्टी बैठकमा संविधान संशोेधन, स्थानीय तहको निर्वाचन, सप्तरी र कञ्चनपुर घटना, पार्टीका संरचनालाई पूर्णता दिने विषयमा छलफल गराउने तयारी देउवाको छ । कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेताहरूको अर्को बैठक १ चैतमा पुनः बस्ने भएको छ । सप्तरी र कञ्चनपुर घटना दुःखदायी सप्तरीको राजविराज र कञ्चनपुर घटनाको विषय नेताहरूले उठाएपछि सभापति शेरबहादुर देउवाले दुवै घटना दुःखद भनेका छन् । ‘यस्तो घटना नघट्नुपथ्र्यो । हामी स्तब्ध भएका छौँ,’ देउवाले भने, ‘अब घटनालाई सहज अवस्थातिर फर्काउन लाग्नुपर्छ ।’ गृहमन्त्री विमलेन्द्र निधिले भारत सरकारसँग कूटनीतिक कुराकानी गर्दै विरोध जनाएकोे बताएका थिए । केन्द्रीय सदस्य डा. रामशरण महतले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने माग गरेका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।
नेपाल केन्यासँग ५ विकेटले पराजित
काठमाडौँ, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसीपको केन्यासँगको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ । डिएल मेथडअनुसार केन्याले ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि बीचमा वर्षा भएपछि अब केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो । केन्याका लागि कप्तान रकिप पटेलले सर्वाधिक ३४ रन बनाए । इर्फान करिमले कोलिन्स ओबुयाले २४ रन बनाए । वर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, वर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर खेल्न दिएनन् । अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका थिए । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए । ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए । शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका छन् । यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए । केन्याका लागि सेम नोङ्चे नेपालको ३ विकेट झारे । नेल्शन ओडिएम्बोले २ विकेट लिए । नेहिएम ओडिएम्बो, एलिज एन्टेनिओ र रकेप पटेलले एक(एक विकेट लिए ।
अपडेट: वर्षाले खेल पून: अवरुद्ध
काठमाडौं, फागुन २८ । आइसीसी वल्र्ड क्रिकेट लीग च्याम्पियनशीपमा केन्या र नेपाल बीच भइरकेको खेलमा फेरि पानी परेर खेल अवरुद्ध भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा भइरहेको नेपाल र केन्याबीचको खेलको २१ ओभर जारी हुँदा पानी परेर रोकिएको हो । वर्षाकै कारण डकवर्थ लुइस नियममा २९ ओभरमा छोट्याइएको खेलमा १०४ रनको नयाँ लक्ष्य पछ्याएको केन्या २१ ओभर दुई बलमा पाँच विकेट गुमाएर ८० रन बनाएर खेलिरहेको छ । अब उसलाई जीतिका लागि ८ ओभर चार बलमा २४ रन आवश्यक छ ।
एकै परिवारका चार सदस्यको मिर्गौला फेल
पर्वत, फागुन २८ । पर्वत कुर्घा–२ का त्रिलोचन शर्मा पौडेलको परिवारका चार सदस्यको मिर्गौला फेल भएको छ । प्रत्यारोपण गरेका तथा प्रत्यारोपणमा सहयोग गरेका कारण यो परिवारका सबै सदस्यसँग एउटा मात्रै मिर्गौला छ । मिर्गौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गौला प्रत्यारोपण गरिएको छ । पछिल्लो समय श्रीमतीको पनि मिर्गौला फेल भएको छ । ‘रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानेर नै होला, शत्रु लागे पनि रोग नलागोस् भनेर कामना गरिन्छ, तर मेरो परिवारका लागि रोग नै सबैभन्दा ठूलो शत्रु बन्यो,’ शर्माले भने, ‘परिवारका सबै सदस्य मिर्गौला रोगबाट पीडित हुँदा घरबास उठ्यो,’ त्रिलोचनकी श्रीमती प्रेमकला पौडेलको अहिले डायलोसिस भइरहेको छ । ‘डायलोसिसबाट सधैँ बस्न सकिँदैन,’ त्रिलोचनले भने, ‘सहयोग पाएमा छिटै प्रत्यारोपण गर्ने योजनामा छु, आफूसँग प्रत्यारोपण गर्ने धन छैन ।’ माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरे पनि संक्रमण हुने र नियमित रूपमा औषधि खानुपर्ने समस्या छ । जेठो छोरा प्रकाशको ०६३ मा २६ वर्षको उमेरमा मिर्गौला फेलकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनले मिर्गौला खराब भएको थाहा नपाएका कारण ज्यान गुमाउनुपरेको बाबु त्रिलोचनले बताए । कान्छो छोरा दीपकको २३ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरिएको छ । उनलाई ठूलो दिदी शारदा शर्माले मिर्गौला दिएपछि प्रत्यारोपण गरिएको उनले बताए । अहिले नियमित रूपमा औषधि खाँदा महिनामा २० हजारजति खर्च लाग्ने दीपकले बताए । ‘मिर्गौला फेरेर मात्रै भएन, नियमित औषधि सेवन गर्नसमेत कठिनाइ भएको छ,’ माहिली छोरी श्यामलाको पनि दुवै मिर्गौला फेल भएपछि बाबु त्रिलोचनले एउटा मिर्गौला दिएका छन् । ‘छोरीको पनि मिर्गौला फेल भएपछि मैले एउटा दिएर बचाएको छु,’ बाबु त्रिलोचनले भने । शारदा र श्यामलाको बिहे भइसकेको छ । गत फागुनदेखि श्रीमती प्रेमकुमारीको समेत दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उनले गुनासो गरे । कान्छी छोरी कमला मात्रै अहिलेसम्म मिर्गौलाको रोगबाट बचेको उनले बताए । कमला र दीपकको सामान्य जागिरका भरमा बिहान–बेलुकाको छाक टार्दै आएको यो परिवारले उपचारका लागि मात्रै अहिलेसम्म डेढ करोडभन्दा बढी खर्च गरिसकेको छ । अहिले दीपक र प्रेमकलाको डायलोसिसको खर्च मात्रै मासिक २० हजार खर्च हुन्छ । ‘मासिक रूपमा औषधि खुवाउनसमेत कठिन छ,’ उनले भने । भारतको मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आएका उनी एकाएक परिवारमा मिर्गौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएका छन् । ‘ऋणधन र जग्गा–जमिन बेचेर तत्कालीन खर्च टारे पनि अहिले आर्थिक संकटमा परेको छु,’ उनले भने, ‘मासिक रूपमा हुने उपचार खर्च कसरी ल्याउनु ?’ कान्छा छोरा दीपकको मिर्गौला प्रत्यारोपण गरे पनि समस्या देखिएपछि भारतबाट महँगो मूल्यमा औषधि मगाएर नियमित सेवन गरिरहेका छन् । कान्छी छोरी कमलाबाहेक सबैजना एकपछि अर्को गरी यही अंगको खराबीले थलिँदै गएको त्रिलोचनले बताए । ‘अब परिवारमा कान्छी छोरी कमला मात्रै स्वस्थ छिन्,’ उनले भने । यो खबर आजजको नयाँ पत्रिका दैनिकमा छ ।
डडेल्धुराका ग्रामीण सडक मापदण्ड विपरीत
डडेल्धुरा, फागुन २२ । डडेल्धुराका अधिकांश ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् । पहुँचका आधारमा निर्माण हुने गरेका कारण जिल्लाका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका हुन् । डुङग्री–देवल, वगरकोट–शिराड–रुपाल, वगरकोट–भद्रपुर, वगरकोट–चिपुरलगायत दुई दर्जन ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् । यातायात सञ्चालनका लागि जुन मापदण्डअनुसार सडक निर्माण हुनुपर्ने हो सो अनुसारका नभएको जिल्लामा सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका इन्जिनियर महानन्द जोशीले बताउनुभयो । उपभोक्ता समितिका पदाधिकारीले आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरेका कारण यातायात सञ्चालनको मापदण्डअनुसार सडक निर्माण नभएका हुन्् । जिविसदेखि संसद् विकास कोषको रकमबाट निर्माण भएका बढी जसो सडक मापदण्ड अर्थात् ग्रेड नमिलाई निर्माण हुने गरेका छन् । प्राविधिकको परामर्शसमेत नलिई आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरिएको छ । अधिकांश ग्रामीण सडकमा ज्यान जोखिममा राखेर यातायात सञ्चालन गर्नु परेको चालकको भनाइ छ । राजनीतिक दबाबले आफ्नो पायक पर्ने स्थानमा सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि ग्रामीण सडक मापदण्डअनुसार निर्माण हुन नसकिरहेका स्थानीयवासीको भनाइ छ । डडेल्धुरा जिल्लाका १८ गाविस र दुई नगरपालिकामा करिब तीन दर्जन ग्रामीण सडक रहेका छन् । रासस
महान्यायधिवक्ताको बचाउमा उत्रीय राष्ट्रपति ट्रम्प
अमेरिका, फागुन २१ । अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सलाई हटाउन दवाव बढिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको बचाउ गर्दै ‘इन्मान्दार मान्छे’ भएको दावी गरेका छन् । सेसन्सले आफ्नो जिम्मेवारी सही रुपमा गरेको समेत राष्ट्रपति ट्रम्पले बताएका छन् । विपक्षी डेमोक्रयाट नेताहरुले सेसन्सले अमेरिकी राष्ट्रपतिय निर्वाचनको बेला रुसी अधिकारीलाई भेटेको भन्दै पद त्याग गर्न दवाव दिँदै आएका छन् । सेसन्सले निर्वाचनको विषयमा रुसी अधिकारीसँग कुनै भेट नगरेको दावी गर्दै आएका छन् । यो खबर आजको कान्तिपुरमा छ ।
बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु
सिन्धुली, फागुन १६ । सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो । पहिला रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा दिँदै आएको अस्पतालले फागुन १ बाट सिन्धुली अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको जनाएको छ । गर्भको अवस्था पहिचान नगरी जथाभावी औषधि प्रयोग गर्ने तथा प्राइभेट क्लिनिकमा अदक्ष चिकित्सकबाट जथाभावी गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले जानकारी दिनुभयो । सिन्धुली अस्पतालमा यसअघि रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा सञ्चालन गरे पनि दक्ष चिकित्सकको अभावमा प्रभाकारी रुपमा सञ्चालन हुन सकेको थिएन । गत वर्षबाट शुल्कमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपश्चात् १४९ जनाले सो सेवा लिएका थिए । यस वर्षको माघ मसान्तसम्म करिब १५० जनाले सेवा लिएका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले जानकारी दिनुभयो । निःशुल्क सेवा सुरु भएपछि दैनिक दुईदेखि तीनजना सेवा लिन आउने गरेको गौतमले बताउनुभयोे । उहाँले निःशुल्क र दक्ष डाक्टरबाट सुरक्षित गर्भपतन सेवा सिन्धुली अस्पतालमा सुरु भएकाले सेवा लिन आउन १२ हप्तासम्मका गर्भ भएका तर सन्तानका चाहना नभएका दम्पतीलाई आग्रह गर्नुभयो । सिन्धुली अस्पताल ५० श्ययाको भएपश्चात् आधुनिक ल्याब, एक्स–रे मेसिनद्वारा सेवा दिइरहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले बताउनुभयो ।
क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली
चितवन, फागुन १५ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ । हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली यहाँ आएको हो । चीन सरकारले एसियाकै नमुना अस्पतालका रूपमा निर्माण गरिदिएको सो अस्पतालमा चीन सरकारले नै उच्चस्तरको विशेषज्ञ टोली सुरुवातदेखि नै पठाउँदै आएको छ । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनका अनुसार अन्तरङ्ग सेवा सुरु गरेकै वर्षबाट चीन सरकारले विशेषज्ञसहितको टोली पठाउन सुरु गरेको हो । गत वर्षसम्म टोली दुई÷दुई वर्षमा परिवर्तन हुने गरेको भए पनि अहिलेबाट भने एक÷एक वर्षमा परिवर्तन हुने गरेको छ । आउँदो मार्च १ तारिखबाट चिनियाँ टिम लिडर लि डोङ विनसहितको टोली चीन फर्कंदै छ भने प्लास्टिक सर्जन डा युअन हावजुन नेतृत्वको टोली नेपाल आइसकेको छ । करिब एक हप्ताको समयमा पुरानो टोलीले नयाँ टोलीलाई अस्पतालका कामको प्रकृति र चिनजान गराउने कार्यकारी निर्देशक पुनले बताउनुभयो । टोलीमा एकजना दोभासे, एकजना सहायकस्तरको कर्मचारी हुन्छन् भने १५ जना क्यान्सर रोगसम्बन्धी विज्ञ चिकित्सक रहने कार्यकारी निर्देशक पुनले बताउनुभयो । टाउको, छाती, फोक्सो, कलेजोजस्ता महत्वपूर्ण अङ्गका क्यान्सर रोगसम्बन्धी विशेषज्ञ रहने गर्दछन् । अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले चीन सरकारले अस्पताल निर्माणसँगै नियमित चिनियाँ विशेषज्ञ टोली खटाउनुका साथै औषधि, उपकरण, अस्पतालमा नै र चीन लगेर चिकित्सक एवम् प्राविधिकलाई तालिम दिने गरेको बताउनुभयो । गत वर्षमात्रै चीन सरकारले सिटिस्क्यानसहितका करोडौँका उपकरण क्यान्सर अस्पताललाई प्रदान गरेको थियो । अध्यक्ष डा न्यौपानेले चीन सरकारको नियमित सहयोगका कारण अस्पताल सञ्चालनमा सहयोग पुगेको बताउनुभयो । सन् १९९८ मा चीन सरकारले निर्माण गरेको भवन हस्तान्तरणपछि सन् १९९९ बाट अस्पतालमा अन्तरङ्ग सेवा सुरु भएको हो । सन् १९९५ बाट नै डे केयर सेवा सुरु गरिएको थियो ।
विदेशिनबाट रोक्न हस्तकला उत्पादनमा जोड दिनुपर्ने’
काठमाडौँ, १४ फागुन । घरेलु उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिले नेपाल हस्तकला महासङ्घ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्यमीसँग संयुक्तरुपमा छलफल गरेको छ । समितिले २८ औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनीको अवसरमा आज यहाँ आयोजना गरेको ‘हस्तकला उद्योगका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा ती संस्था र उद्यमीसंग छलफल गरेको हो । कार्यक्रममा महासङ्घका अध्यक्ष धर्मराज शाक्यले घरेलु उद्योगको विकासका लागि महासङ्घ सदैव लागिरहेको बताउँदै । “घरेलु उद्योगबाट हातले उत्पादन गरेका वस्तुलाई विदेशसम्म पु¥याउन महासङ्घले महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो ।” केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले घरेलु क्षेत्रमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले विभिन्न जिल्लामा मेला आयोजना गरेको स्पष्ट पार्नुभयो । समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले उद्योग क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै “घरेलु उद्योगले स्वदेशमै रोजगारी दिने भएकाले विदेशिने जनशक्ति रोकिन सहयोग पुग्छ भन्नुभयो ।” उहाँले व्यवसायीले उठाएका कुरालाई समाधान गर्न समिति कटिवद्ध भएर लाग्ने विश्वास पनि व्यक्त गर्नुभयो । छलफलमा विभिन्न जिल्लाका ४२ उद्यमीको सहभागिता रहेको थियो । रासस