विश्वकपः इंग्ल्याण्डविरुद्ध पनि कप्तान कोहलीको अर्धशतक

काठमाडौं, असार १५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा पनि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अर्धशतक पूरा गरेका छन् । उनले ६ चौकाको मद्दतमा ५९ बलमा अर्धशतक पूरा गरेका हुन्  । जारी विश्वकपमा विराटको यो लगातार पाँचौ अर्धशतक हो । यद्यपि उनले यो विश्वकपमा शतक भने बनाउन सकेका छैनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनायो । उसका लागि ओपनर जोनी बेरिस्टोले शानदार शतक बनाए । उनले ६ छक्का र १० चौकाको मद्दतमा १०९ बलमा १११ रन बनाए । जारी विश्वकपमा बेरिस्टोको यो पहिलो शतक हो । यस्तै बेन स्टोक्सले ७९, जेसन रोयले ६६, जो रुटले ४४, जोस बटलरले २०, क्रिस ओक्सले ७, कप्तान इओन मोर्गनले १ रनको योगदान दिए ।बलिङमा भारतका मोहम्मद सामीले ५, जसप्रित बुमराह र कुलदीप यादवले एक–एक विकेट लिए ।

इंग्ल्याण्डको प्लेइङ ११ः जसन रोय, जोनी बेरिस्टो, जो रुट, इओन मोर्गन, बेन स्टोक्स, जोस बटलर, क्रिस ओक्स, लायम प्लेङकट, आदिल रशिद, जोफ्रा आर्चर र मार्क उड ।

भारतको प्लेइङ ११ः विराट कोहली, महेन्द्रसिंह धोनी, रोहित शर्मा, केएल राहुल, ऋषभ पन्त, केदार जाधव, हार्दिक पाण्ड्या, कुलदीप यादव, मोहम्मद सामी, युजवेन्द्र चहल र जसप्रित बुमराह ।

महिला ट्राफिकको कमाण्डमा एयरपोर्ट क्षेत्र

काठमाडौं, असार ३ । एयरपोर्ट क्षेत्र महिला ट्राफिक प्रहरीले हाँक्ने भएका छन् । महिला ट्राफिकले थापाथली प्रभाग हाँकेसँगै सो क्षेत्रमा पनि महिला ट्राफिक प्रहरीलाई नै खटाइएको हो । ट्राफिक व्यवस्थापनलाई चुस्त, अनुशासन, मर्यादित र व्यवस्थित बनाउन महानगरीय ट्राफिक महाशाखा रामशाहपथले एयरपोर्ट प्रभागमा महिला ट्राफिक प्रहरीमात्र राख्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको विशेष पहलमा एयरपोर्ट ट्राफिक प्रहरी प्रभागमा महिला ट्राफिक प्रहरी मात्र राख्ने निर्णय भएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए । एसएसपी पन्तले भने, ‘एयरपोर्ट प्रभागमा कार्यालय सहयोगीदेखि इन्चार्जसम्म महिला ट्राफिक प्रहरी छन् ।’ प्रभागको इन्चार्ज इन्सपेक्टर मनिषा बुढाथोकी रहेकी छन् । जनमानसमा महिला ट्राफिक प्रहरीको छवि तुलनात्मक रुपमा सफा र उँचो छ । खासगरी, महिला ट्राफिक प्रहरीले घुस नलिने, अनुशासित हुने, नियम कानूनको पालना कडाइका साथ गर्ने गराउने कुरामा महिला ट्राफिक प्रहरीले जनताबाट सम्मान पाएका छन् । सोही कारणले गर्दा एयरपोर्टमा विदेशबाट नेपाल आउने विदेशीहरुलाई मध्यनजर गर्दै सो निर्णय गरिएको बताइएको छ । महाशाखाका डीएसपी सुनिलजंग शाहले महिला ट्राफिक भएमा सवारी चालकहरुले पनि लेनको पालना गर्ने, जथाभावी पार्किङ गर्न नसक्ने, ट्राफिक प्रहरीसँग सभ्यशिष्ट बोल्ने बताए । स्मरणीय रहोस्, केही समयअघि थापाथली महिला ट्राफिक प्रहरीको सक्रियतामा पूर्वयुवराज पारश शाहलाई जथाभावीबाट सवारी चलाएको भन्दै नियन्त्रणमा लिइएको थियो । महिला ट्राफिक प्रहरी भएका स्थानमा कार्यालय समय (पिक आवर) मा पनि सवारी आवागमन छिटो हुने गरेको यात्रुहरु बताउँछन् ।

‘प्रेमगीत–३’ का मुख्य अभिनेता सार्वजनिक

काठमाडौंः २०७६ कै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत–३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेस्रो गीतको अभिनेता को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शकसामु प्रस्तुत गरेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा प्रतिभाशाली युवा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् । चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका मनिष राउतले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनीसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभब छ । दर्शकले अत्याधिक रुचाएको प्रेमगीत सिरिजको तेश्रो श्रृखलामा यी नयाँ अनुहारलाई मुख्य अभिनेताको रुपमा इन्ट्रि गराएको हो । निर्माण टिमले नव अभिनेता राउतका केहि क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिन्छन् भने अर्कोमा बन्चरो सहित देखिएका छन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो चलचित्र नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने पक्का भैसकेको छ । चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको चलचित्रलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन् । ‘प्रेम गीत–३’ पहिलो र दोश्रो संस्करण भन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ ।

पाकिस्तानी मन्त्रीको प्रश्न: धोनी क्रिकेट खेल्न इङ्ल्याण्ड गएका कि महाभारतका लागि?

काठमाडौँ, जेठ २४। भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्रसिंह धोनीबारे पाकिस्तानका एक मन्त्रीले गरेको टिप्पणी अहिले समाजिक संजालमा निकै चर्चित हुन पुगेको छ। पाकिस्तानका केन्द्र सरकारका विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले धोनीको पन्जामा रहेको सैन्य प्रतीक चिन्हप्रति लक्षित गर्दै ट्वीट गरेका छन्, “धोनी इङ्ल्याण्डमा क्रिकेट खेल्न पुगेका हुन् नकि महाभारतका लागि, भारतीय मिडियाले भने कस्तो मूर्खतापूर्ण चर्चा चलाइराखेको छ। भारतीय मिडियाको एउटा हिस्सामा यस्तो किसिमको युद्ध उन्माद छ कि उनीहरूलाई सिरिया, अफगानिस्तान या रुवान्डातिर पठाइदिनु पर्ने।” उनले यसका ह्यासट्याग इडियट्स सुरु गरेका छन्। भारतीय टीमका विकेटकिपर समेत रहेका धोनीको पन्जामा भारतीय सेनाको ‘बलिदान’ लेखिएको सैन्य ब्याज रहेको छ। यसप्रति आइसीसीले आपत्ति जनाएपछि त्यसबारे भारतीय मिडियामा तातो बहस शुरु भएको थियो। भारतको क्रिकेट नियमनकरी संस्था बिसिसिआइले भने धोनीले उक्त ब्याज लगाएर खेल्नु आपत्तिजनक नठानिनु पर्ने आशयको व्यहोरा सहित आइसीसीलाई पत्राचार गरेको छ। भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरूले धोनीको समर्थनमा ह्याशट्याग धोनी कीप द ब्याज सुरु गरेका छन्।  द रिपब्लिकले रक्षा मामिलाका सल्लाहकार सम्पादक अवकाशप्राप्त मेजर गौरव आर्यालाई उद्धृत गर्दै गरेको ट्वीटमा धोनीले प्रयोग गरेको ब्याज राजनैतिक या साम्प्रदायिक नभई भारतीय सेनामा लेफ्टिनेन्ट कर्णेल एमएस धोनीको रेजिमेन्टको पहिचान चिन्ह रहेको भन्दै धोनीको बचाउ गरेको छ।

सीपीएलको ‘ड्राफ्ट’ आज, को–कोले पाउलान् मौका?

काठमाडौं, जेठ ८ । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट आज (बुधबार) बेलायतको लन्डनमा हुँदैछ । ड्राफ्ट नेपाली समयअनुसार बुधबार बेलुका ७ः४५ बजे हुनेछ । यो संस्करणको ‘ड्राफ्ट’ मा ४ नेपाली स्टार खेलाडी पनि समावेश भएका छन् । गत साता सार्वजनिक ‘ड्राफ्ट’ मा ४ नेपालीसहित ५३६ खेलाडी छन् । नेपालबाट सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल ड्राफ्टमा अटाएका छन् । सन्दीपले गतवर्ष नै सीपीएल खेलिसकेका छन् भने सोमपाल, रोहित र दीपेन्द्र पहिलो विदेशी लिग खेल्ने तयारीमा छन् ।  यो वर्षको सीपीएल आउँदो जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा हुनेछ । अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका सन्दीप यो पटक पनि सीपीएलमा छनोट हुने सम्भावना बलियो छ । उनले गत सिजनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गतवर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो । सीपीएलमा ६ टोली रहेका छन् ।  

मोडल खुश्बु ओलीलाई ३ महिना कैद, तीन हजार जरिवाना

काठमाडौं, जेठ ७ । मोडल खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ। चेक बाउन्स मुद्दामा ओलीलाई दोषी ठहर गर्दै अदालतले कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। सप्तरीका गोपालबहादुर कट्वालले आफूलाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दार्ता गरेका थिए। सापटी लिएको रकम तिर्न खुश्बुले कट्वाललाई चेक दिएकी थिइन्। विनिमयपत्र अधिकारसम्बन्धी ऐन २०३४ अनुसार दायर मुद्दामा अदालतले ३६ लाख भराउन पनि आदेश गरेको काठमाडौं जिल्ला अदालतका मुद्दा शाखाका अधिकृत टिकासिंह खत्रीले जानकारी दिए।

कसले गर्दैछ पूर्वराजा विरेन्द्रको सम्पत्ति दुरुपयोग?

काठमाडौं, जेठ ७ । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो। तर, यसको चरम दुरुपयोग बढेको छ। सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ। पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५६३ रोपनी जमिन भेटिएको छ। नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन। दुरुपयोग रोक्न लागिपरेको पनि छैन। राजधानीको मुटु मानिने छाउनीको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको हुने सर्वोच्च अदालतले अन्तिम फैसला गर्‍यो। त्यसलाई अटेर गरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले कब्जा जमाएकी छन्। प्रेरणाले यो जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत दिएको जिकिर गरेकी छन्। ‘विजया घर’ बाट चिनिने यो घरजग्गा खाली गराउन ट्रस्टले ५ महिनाअघि नै पत्राचार गर्‍यो। काठमाडौं महानगरपालिकाले पनि यो घरजग्गा खाली गर्न पत्र लेखेको छ। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले एक वर्षअघि यो सम्पत्ति नेपाल ट्रस्टकै नाममा फिर्ता गर्नुपर्ने फैसला गरेको थियो। दरबार हत्याकाण्डपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको यो जग्गा ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिएका थिए। यस्तै चन्द्रागिरी नगरपालिकाको सतुगंल, मातातीर्थ र थानकोटको राजाको ‘फर्माएसी बिर्ता’ १७० रोपनी ट्रस्टको जग्गा मोहीलाई नामसारी गरिएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

कुलमान विरुद्धको मोर्चाबन्दी असफल, उद्योगीले ४ अर्ब ३० करोड तिर्नैपर्ने

काठमाडौं, जेठ ६ । उद्योगी व्यापारीले ट्रङ्क तथा डेटिकेटेड लाइनको बक्यौता तिर्नैपर्ने भएको छ । उद्योगी व्यापारीले ट्रङ्क तथा डेडिकेटेड लाइनमार्फत उपभोग गरेको बिजुलीको भुक्तानी गर्नुपर्ने विद्युत प्राधिकरणको निर्णयलाई पाटन उच्च अदालतले सदर गरिदिएको छ । अब उद्योगी व्यापारीले ४ अर्ब ३० करोड रुपैयाँ प्राधिकरणलाई तिर्नैपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्णयलाई अवज्ञा गर्दै उद्योगी व्यापारीले मोर्चाबन्दी गरेर अदालतमा मुद्दा हालेका थिए । उच्च अदालत पाटनका न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले उद्योगीका पक्षमा यसअघि दिइएको अन्तरिम आदेश खारेज गरी महसुल तिर्नुपर्ने फैसला गरेको हो । उच्च अदालत पाटनले रघुपति जुट मिल, अरिहन्त पोली म्याक्स, अरिहन्त मल्टी फाइबर, एभरेष्ट पेपर मिल र शुभश्री अग्नि सिमेन्ट प्रालिलाई प्राधिकरणकले उल्लेख गरेअनुसारको महसुल तिर्नुपर्ने फैसला गरेको हो । उद्योगीले प्राधिकरणले गैरकानुनी रुपमा महसुल लिन लागेको बताउँदै आएका थिए भने प्राधिकरणले बढी सुविधा लिने गरी विद्युत लाइन लिएकाले बढी शुल्क तिर्नुपर्ने बताउँदै आएको छ । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले प्राधिकरणकै पक्षमा फैसला आएको जानकारी आएको बताए । प्राधिकरणका कानुन विभागका प्रमुख बेलप्रसाद शर्माले पनि प्राधिकरणले निर्धारण गरेअनुसारको महसुल तिर्न उद्योगी व्यवसायीलाई पाटन उच्च अदालतले आदेश दिएको बताए । प्राधिकरणले यसअघि सबै उद्योगको यर्थाथ विवरण पत्ता लगाउन उद्योगमा प्रयोग भएको ‘टीओडी’ मिटरको अध्ययन भइरहेको बताएको थियो । प्राधिकरणले ६७ उद्योगलाई ट्रङ्क लाइनमार्फत बिजुली उपलब्ध गराएको छ । त्यसमा २३१ वटा डेडिकेटेड लाइन छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार डेडिकेडेट लाइनबाट विद्युन लिएका उद्योग, व्यवसाय, अस्पताल, खानेपानी जस्ता संस्था वा निकायले नियमित रुपमा विद्युन महसुल तिर्दै आएका छन् । तर कहिल्यै बिजुली नकाटिने ट्रङ्क लाइनबाट विद्युत लिएका उद्योगी व्यवसायी भने प्राधिकरणले बढी महसुल लिएको भन्दै अदालत गएका थिए । ट्रङ्क लाइन र डेडिकेटेड लाइनमार्फत् प्राधिकरणले व्यवसायीलाई ३ सय १५ मेगावाट बिजुली उपलब्ध गराएको छ । रासस

हरेक घरमा अब आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर, जेठ ५ । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्नि प्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्नि प्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताए। उनका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा अग्नि प्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात मात्र नगरपालिकाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने छ । आगलागीबाट ठूलो नोक्सानी हुन नदिन पूर्व सावधानीका लागि नगरपालिकाले गरेको निर्णय नगरवासीको हितका लागि भएको हुँदा यसको कडाइका साथ लागू हुनुपर्ने अर्जुनधारा–११ का पुण्यप्रसाद खरेल बताउँछन् । नगरपालिकामा १४ हजार भन्दा बढी परिवारको बसोवास रहेको छ । नगरपालिकाले आज घरधनीलाई सार्वजनिक सूचना गरी अग्निप्रतिरोधात्मक सामग्री अनिवार्य राख्न अनुरोध समेत गरेको छ । झापाका १५ स्थानीय तहमध्ये अग्निप्रतिरोधी सामग्री अनिवार्य गर्ने अर्जुनधारा पहिलो नगरपालिका हो । यस नगरपालिकामा वारुणयन्त्र छैन । रासस

मूल्य समायोजन नहुँदा कुखुरापालक किसान मर्कामा

भरतपुर, जेठ ५ । कुखुराको अण्डा र मासुको मूल्य समयानुकूल समायोजन नभएको भन्दै कुखुरापालक किसानले आफूहरू मारमा परेको बताएका छन् । भारतबाट आउने कच्चा पदार्थमा भन्सारदर बढी हुँदा कुखुराजन्य वस्तु उत्पादनको लागत बढेको तर कुखुरा र अण्डाको मूल्य त्यसअनुरूप समायोजन नहुँदा आफूहरू मारमा परेको उनीहरूको दाबी छ । दानाको मूल्य दिन प्रतिदिन बढ्दो छ तर अण्डा लागत मूल्यभन्दा घटीमा बेच्नुपर्ने बाध्यता छ, पश्चिम चितवनका एक किसान भन्छन्, ‘यही अनुपातमा कुखुराको अवस्था कायमै रहने हो भने व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउँछ ।’ पहिले १.५ प्रतिशत रहेको भन्सार महसुल अहिले ५ प्रतिशत पुगेको छ । दानासँगै भारतबाट आउने औषधिको समेत अहिले मूल्य बढेको छ । कुखुराको दानाका लागि मकै, भटमासजस्ता कच्चा पदार्थ प्रयोग गरिन्छ । भन्सारदरमा भएको वृद्धिसँगै यसको खरिद मूल्य पनि बढ्नु स्वाभाविक हो । कम हुँदा आयत गरिँदाकै मूल्यभन्दा पनि कम मूल्यमा अहिले अण्डा र कुखुराको कारोबार भइरहेको किसानको दुःखेसो छ । मकै ४० देखि ४५ रुपियाँ केजी पर्छ, भटमासको मूल्य पनि प्रतिकिलो ७० रुपियाँभन्दा बढी छ, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल भन्नुहुन्छ, “मकै र भटमासको मूल्य बढ्दा दानाको मूल्य बढेको छ । यसको प्रत्यक्ष प्रभाव अण्डा र कुखुरा उत्पादन गर्ने किसानमा परेको छ।” अहिले किसान तहमा प्रतिक्रेटमा ठूलो अण्डाको २५० रुपियाँ र मझौला अण्डामा १८० रुपियाँ मूल्य कायम भएको छ । केही अघिसम्म ठूलो अण्डाको २०० रुपियाँ र मझौला अण्डाको १३० रुपियाँ मात्रै थियो । अहिले वृद्धि भएकै ठूलो अण्डाको मूल्यलाई आधार मान्ने हो भने अहिले किसानले एउटा अण्डाको मूल्य ८।३३ रुपियाँ पाएका छन् । क्रेटमा ३० वटा अण्डा हुन्छन् । यस्तै ब्रोइलर कुखुराको मासु पनि अहिले किसान तहमा प्रतिकिलो १९० रुपियाँ छ । कुखुरा पाल्न भएको लगानीका तुलनामा यसको मासु र अण्डाको मूल्य कमी हो । किसान राजकुमार श्रेष्ठ भन्नुहुन्छ, “हामीलाई अहिले लागतको तुलनामा एउटा अण्डामा तीन रुपियाँ र कुखुरामा प्रतिकिलो औसत १५ रुपियाँ घाटा भइरहेको छ ।” नेपालभर अहिले दैनिक ३५ देखि ४० लाख अण्डा उत्पादन भइरहेको छ । यो सङ्ख्या चितवनमा १५ हजारको हाराहारीमा भएको नेपाल कुखुरा व्यवसायी मञ्चको तथ्याङ्क छ । यस्तै नेपालमा अहिले दैनिक पाँच लाख केजी कुखुराको मासु खपत भइरहेको छ । नेपालमा खपत हुने कुखुराको मासु नेपाली उत्पादनले धानेको पाइन्छ । आफै आत्मनिर्भर हुँदै गएको व्यवसायमा पनि देखिएको यो समस्या समाधानमा तत्काल सम्बन्धित निकायको ध्यान जान जरुरी छ । नेपालको कुल गार्हस्थ उत्पादनको करिब चार प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब आठ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । पोल्ट्री क्षेत्रमा करिब एक लाख ५० हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । पशु सेवा विभागको सन् २०१७ को तथ्यांकअनुसार नेपालमा करिब ७ करोड कुखुरा छन् । देशको कुल मासु उत्पादनको करिब १७.२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । मञ्चका व्यवस्थापक शिवप्रसाद बराल किसानलाई विस्थापित हुनबाट बचाउन पनि मासु र अण्डाको मूल्य लागतअनुसारको समायोजन हुनुपर्ने जरुरी ठान्नुहुन्छ । कम्तीमा किसानको लागत बराबरको मूल्य कायम हुन सक्ने हो भने मात्रै पनि साना किसानलाई यो पेसामा टिकाइराख्न सकिन्छ ।

‘घर’ को पोस्टरको फस्टलुक सार्वजनिक, प्रदर्शन मितिको घोषणा

काठमाडौं, जेठ ३ । भर्सटायल अभिनेता अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक थापा स्वयंको प्रमुख भूमिका रहेको फिल्म आगामी साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माता मध्येका एक दीपेन्द्र के. खनालले जानकारी दिएका छन् । निर्माण टिमले प्रदर्शन मितिसँगै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री सुरक्षा पन्त मात्र फिचर्ड छिन् । उनलाई डरलाग्दो रुपमा देख्न सकिन्छ । २० दिनमा छायांकन सकिएको फिल्मलाई शर्मिला पाण्डेलले निर्माण गरेकी हुन् । यसअघि उनले ‘लभ लभ लभ’ र ‘चंगा चेट’ निर्माण गरिसकेकी छन् । उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘आमा’ हो, जसलार्ई दीपेन्द्र के। खनालले निर्देशन गर्दैछन । ‘घर’ को कथा निर्देशक थापा स्वयंको हो । अभिनयमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उनी निर्देशकको रुपमा पनि आफूलाई स्थापित गर्न संघर्षरत छन् । उनले यसअघि हरर जनराकै फिल्म ुसुनकेशरीु बनाएका थिए । नेपालमा विरलै बन्ने र चल्ने हरर जनराको फिल्ममा लगातार जोखिम मोलिरहेका अर्पणले ‘घर’ बाट निकै ठूलो आशा बोकेका छन् । अभिनेत्री बेनिशा हमालको पनि प्रमुख भूमिका रहेको फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनालको पनि फिल्ममा अभिनय छ । यसमा अभिनेत्री सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा छिन् ।

बहुचर्चित गीत ‘सुन साइली’ का रेकर्डिस्ट बुहारी हत्या आरोपमा पक्राउ

काठमाडौं, वैशाख २८ । भाइ–बुहारीको हत्या गरेको आरोपमा चर्चित ‘सुन साइली..’ गीतका रेकर्डिस्ट उज्वल महत पक्राउ परेका छन् । उनी बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।   बुहारीको हत्या गरेपछि घरमै रहेकी आमालाई उनले त्यसबारे जानकारी गराएका थिए । त्यसपछि प्रहरीलाई खबर भएको थियो । प्रहरी पुग्दा उनी घरमै थिए । हत्याको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए ।  बहुचर्चित गीत ‘सुन साइली’को उनले रेकर्डिस्टका रुपमा काम गरेका थिए । केही गीतमा उनले संगित पनि भरेका छन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ । यो समाचार नायँ पत्रिका दैनिकबाट लिइएको हो ।

आइपीएलः दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा, मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

काठमाडौं, वैशाख २७ । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने असफल भएको छ । लिगको दोस्रो क्वालिफायरमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स विरुद्ध ६ विकेटले पराजित हुँदै दिल्ली फाइनल पुग्न असफल भएको हो ।  दिल्लीले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर फाफ डुप्लेसी, शेन वाट्सनले ५०–५०, सुरेश रैनाले ११, महेन्द्रसिंह धोनीले ९ र अम्बाती रायडूले नटआउट २० रन बनाए । बलिङमा दिल्लीका अमित मिश्रा, ट्रेन्ट बोल्ट, इशान्त शर्मा र अक्षर पटेलले एक–एक विकेट लिए ।   यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । उसका लागि ऋषभ पन्तले सर्बाधिक ३८, कोलिन मुनरोले २७, शिखर धवनले १८, कप्तान श्रेयस अय्यरले १३, शेरफेन रदरफोर्डले १०, ट्रेन्ट बोल्ट, अमित मिश्राले ६–६ र इशान्त शर्माले नट आउट ६ रन बनाए । बलिङमा चेन्नईका डीजे ब्रावो, हरभजन सिंह, इमरान ताहिर, रविन्द्र जडेजाले २–२ र दीपक चहरले एक विकेट लिए । जीतसँगै चेन्नईले फाइनलमा स्थान बनाएको छ । अब उसले उपाधिका लागि मे १२ तारिख हैदरावादमा मुम्बई इन्डियन्सँग भिड्ने छ । मुम्बई–चेन्नई हालसम्म तीन–तीन पटकका आइपीएल विजेता हुन् । चेन्नई आठौं पटक आइपीएलको फाइनल प्रवेश गर्न सफल भएको हो । यी दुई टिमबीच उपाधिका लागि हालसम्म ४ पटक भिडन्त भएको छ ।    

नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा

काठमाडौं बैशाख १५ । नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन् । बेइजिङमा बेल्ट एन्ड रोड (बिआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएको छ । यसअघि बिआरआईअन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन् । गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो । ‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने, ‘तर, सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ ।’ बिआरआई सम्मेलनको दोस्रो दिन शनिबार राष्ट्रसंघको २०३० ऐजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवद्र्धन विषयक गोलमेच सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले अघि सारेको बिआरआईको मर्म र भावना संयुक्त राष्ट्रसंघीय दिगो विकासका लागि २०३० एजेन्डासँग मेल खाएको बताइन् । ‘समावेशिताविनाको दिगो विकास भ्रम हो । त्यसको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बिआरआईको मर्म र भावना राष्ट्रसँगको एजेन्डासँग मेल खान्छ ।’ राष्ट्रपति भण्डारीले बिआरआई गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रूपान्तरको संवाहक बन्दै गएको भन्दै प्रशंसा गरिन् । उनले वित्तीय खाडल बढिरहेको सन्दर्भमा यसले धेरै राष्ट्रलाई २०३० को एजेन्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्‍याउन सक्ने बताइन् । नेपालमा जलविद्युत्को माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचुर सम्भावना भएको र त्यसले नेपालका छिमेकीलाई पनि हरित विकासमा ठूलो योगदान पुग्न सक्ने उनको भनाइ छ । प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बिआरआईसँग जोडिएको भन्दै राष्ट्रपतिले नेपालको सम्पर्क विस्तार र नेपालसँग विश्व बजारलाई एकीकरण गरी नेपालको आर्थिक रूपान्तमा यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । दोस्रो बिआरआई सम्मेलनमा नेपालको सहभागिता पहिलो हो । यो सम्मेलनमा राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखले भाग लिन्छन् र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग छलफल गर्न पाउँछन् । ३८ बुँदे संयुक्त वक्तव्य जारी गर्दै दोस्रो सम्मेलन शनिबार सकिएको छ । राष्ट्रपति भण्डारी शनिबार साँझ चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भइन् । आइतबार राष्ट्रपति भण्डारीले चीनका विभिन्न पुरातात्विक महत्वका स्थानहरूको भ्रमण गर्ने कार्यक्रम छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

ला लिगाको उपाधि बार्सिलोनालाई

काठमाडौं, बैशाख १५ । लियोनल मेस्सीले सब्सिच्युडका रुपमा मैदान छिरेर गोल गरेपछि लेभान्टेलाई हराउँदै बार्सिलोना तीन खेल अगावै ला लिगा च्याम्पियन बनेको छ । लेभान्टेविरुद्धको जितपछि बार्सिलोनाको ३५ खेलबाट ८३ अंक भएको छ । लिगमा ३ खेल बाँकी रहँदा उसले समान खेलबाट ७४ अंक बनाएको एट्लेटिको मड्रिडसँग स्पष्ट ९ अंकको अग्रता कायम गरेको छ । नाउ क्याम्पमा करिब ९२ हजार घरेलु समर्थक माझ मेस्सीले जारी सिजन लिगमा ३३ औं गोल खेलको ६२ औं मिनेटमा एलेक्स भिडालको पासमा गरे । फिलिप काउटिन्होलाई प्रतिस्थापन गरी मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ला लिगामा मेस्सी सर्वाधिक गोलकर्ताको सूचिमा पनि १२ गोलको अग्रतामा छन् । रियल मड्रिडका करिम बेन्जेमा र बार्सिलोनाकै लुइस स्वारेज २१ गोलका साथ दोस्रो स्थानमा छन् । पेप ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाले सन् २००८र०९ को सिजनदेखि लगातार ला लिगा जित्न थालेको हो । बार्सिलोनाले पछिल्लो ११ सिजन आठौंपल्ट लिग जितेको छ भने पछिल्लो पाँच सिजनमा चौथोपल्ट जितेको छ । सन् २००५ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेल्न थालेका लियोनल मेस्सीका लागि भने यो नवौं लिग उपाधि हो ।

आइपीएलको बिचमै को–को खेलाडी फर्किदै छन् स्वदेश?

काठमाडौं, वैशाख १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करण विगतजस्तो रामोञ्च नहुने भएको छ । यसको प्रमुख कारण हो वान डे विश्वकप । विश्वकपमा लागि अधिकांश विदशी खेलाडी स्वदेश फर्किने भएपछि यो पटकको आइपीएल रोमाञ्च केही फिक्का हुने भएको हो । ३० मेदेखि शुरु हुने विश्वकप खेल्नका लागि लगभग १८ विदेशी खेलाडी आइपीएलको बिचमै स्वदेश फिर्ता हुने पक्का जस्तै भएको छ । यद्यपि, वेस्ट इन्डिजका खेलाडी भने आइपीएलको बिचमै स्वदेश फिर्ता हुने संकेत देखिएको छैन । ८ टिमका कुन–कुन खेलाडी खेलाडी हुन्, जो आइपीएलको बिचमै स्वदेश फर्किदै छन्– चेन्नई सुपर किंग्सः फाफ डू प्लेसिस, इमरान ताहिर दिल्ली क्यापिटल्सः कागिसो रबाडा मुम्बई इन्डियन्सः जोसन बेहरेनड्रफ, क्विन्टन डी कक सनराइनजर्स हैदराबादः केन विलियसम्सन, डेविड वार्नर, जोनी बेयरस्टो, शाकिब अल हसन, किंग्स इलाभेन पन्जावः डेविड मिलर कोलकाता नाइट राइडर्सः जो डेनली रोयल च्यालेन्जर्स बैंग्लोरः डेल स्टेन, मोइन अली, मार्कस स्टोइनिस राजस्थान रोयल्सः जोस बटलर, स्टीव स्मिथ, बेन स्टोक्स, जोफ्रा आर्चर