जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा उनको निधन भएको हो ।

जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत भएकी थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते रहमानको स्थानमा प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर अन्सारीको निधनप्रति शोक प्रकट गरेका छन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही भर्खरै बैठक सुरू भएको हो। बैठक समसामयिक विषयका साथै सहसचिवको पदस्थापना लगायतका विविध विषयमा केन्द्रीत रहने बताइएको छ । 

सार्वजनिक संस्थान निजीकरण गर्दै ओली सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थप सार्वजनिक संस्थान निजीकरण प्रक्रिया अघि बढाएको छ । कम्तिमा आठ संस्थान निजीकरण गर्न खोजिएको छ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो। उपप्रधानमन्त्री एवम्‌ अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज (सोमबार) बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिपक्षी दलहरूले बनाए कार्यदल, यस्तो छ कार्यदलको काम

काठमाडौं ।प्रतिपक्षी दलहरूको बैठकले ४ सदस्यीय कार्यदल गठन गरेका छन् । शुक्रबार संसद् भवन स्थित प्रमुख विपक्षी दलको नेताको कार्यकक्षमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले बाढीपहिरो पीडितको पुनर्स्थापनामा सरकार गम्भीर रूपमा नलागेको बैठकले निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । कार्यदलमा माओवादी केन्द्रबाट उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपाबाट सांसद शिशिर खनाल, एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राप्रपाबाट एक जना रहनेछन्। कार्यदलले ज्ञापन पत्र आइतबारसम्म तयार गर्ने र कात्तिक ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने ज्ञापनपत्र तयार गर्ने छ । साथै कार्यदलले संसदको विशेष अधिवेशन बोलाउन तयारी पनि सँगसँगै अघि बढाउने भएको छ। प्रधानमन्त्री ओलीले साना पार्टी विभाजन गर्न अध्यादेश ल्याउन सक्ने आशंका विपक्षी दलहरूको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउन सक्ने कुरा बैठकमा बताएका थिए। अध्यादेश ल्याउन रोक्न संसदको अधिवेशन बोलाउन माग गर्ने तयारीमा विपक्षी दलहरू छन्। रास्वपाले संसदको अधिवेशन बोलाउन माग गर्दै अन्य दलहरूको पनि साथ खोजेको थियो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकमा सत्तामा रहेका लोसपा र नाउपाका अध्यक्ष पनि सहभागी रहेका थिए। बैठकमा अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायतबीच छलफल भएको हो।

प्रधानमन्त्री ओलीले आज सचिवहरूलाई निर्देशन दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूलाई मन्त्रालयका कामको प्रगति र भावी योजनाबारे निर्देशन भएका छन् । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयका कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने भएका छन् । आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सबै सचिवहरुसँग मन्त्रालयका कामका अहिलेको अवस्था र भावी योजनाका विषयमा गएको आइतबार साउन १३ गते सुझाव लिनुभएको थियो ।  सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे ब्रिफिङ गरेका थिए ।

माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।  सरकारबाट हटेपछि पहिलो पटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए । साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ । 

राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभा र जर्मनी भ्रमणमा निस्कने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक उत्सवलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा जुन दोस्रो साता जेनेभामा हुनेछन् । जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा उनले जुन १३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । आईएलओको वार्षिक उत्सवमा सहभागितापछि पौडेल जर्मनी हुँदै जुन १८ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ । सरकारले भ्रमण कार्यक्रम औपचारिक रूपमा स्वीकृत भने गरिसकेको छैन ।

दाङमा दुई महिलाको हत्या

घोराही । घोराही उपमहानगरपालिका-१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।  हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।  प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताए । उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । 

महिला लगानीकर्तालाई प्रोत्साहन गर्न मन्त्री चौधरीको आग्रह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्न आग्रह गरेकी छन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार गरेको हिमालयन हाइड्रो एक्स्पोअन्तर्गत ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा छलफल कार्यक्रममा उनले नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको बताइन् ।  जस कारण विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको मन्त्री चौधरीको भनाइ छ ।  हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको बताउँदै चौधरीले सात मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताइन् ।  उनले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताइन् । ऊर्जा बेचेर नेपाल समृद्ध हुन सक्ने सम्भावना रहेको मन्त्री चौधरीको भनाइ छ ।  ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको भन्दै उनले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिइन् ।

निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हान्यो पानीको फोहोरा, राप्रपाको भिड तितरबितर

काठमाडौं । राप्रपाको प्रदर्शन निषेधित क्षेत्र तोड्दै सिंहरदबारको मूलगेटतर्फ अघि बढेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। पानीको फोहोरापछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ। राप्रपाले व्यवस्था परिवर्तनको माग गर्दै मंगलबार काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेको थियो। त्यसक्रममा भद्रकालीबाट सिंहदरबारतर्फ जुलुस लम्केपछि प्रहरीले पानीको फोहोरा हानेको हो। राप्रपाको प्रदर्शनका कारण मंगलबार काठमाडौं उपत्यकाको सवारी साधन आवागमन प्रभावित भएको छ । प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने,ढंग्गा हान्न लगाउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनःसंरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको भएको बताएका छन्।  “मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसूस गरेको छु, म यो भूमीबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु ।”  नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो रूपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रूपमा नभएर दीगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने आफ्नो विश्वास रहेको स्पष्ट पारे।  “प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रूपान्तरणबाट मात्र यो सम्भव हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अबको दशक प्रवेशसँगै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्मको प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्रलाई अवधारणगत र संरचनागत सुधार गरी नेपाललाई विश्व अध्यात्मको राजधानी, आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।  उनले देशको अन्तराष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदाय माझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिनका लागि सबैको सामुहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको उल्लेख गरे ।  उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वलाई नेपाल एउटा योगभूमि र तपोभूमि हो, नेपालीहरू योगी र ध्यानी छन् भन्ने सन्देश दिँदै योग तथा आध्यात्मिक पर्यटनको हबको रूपमा नेपाललाई विकास गर्न यस्ता कार्यक्रमबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

लुम्बिनीमा बने माओवादीका महरा मुख्यमन्त्री

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ । उनको शपथ भने आइतबारमात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न हर्कको प्रदर्शन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकोको व्यवस्था माग गर्दै साम्पाङले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।  उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका हुन्।  ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।  

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मधेश र बागमती  प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रात्रिभोजमा महिलालाई अंगालो हालेपछि राष्ट्र बैंकका निर्देशकको जागिर चैट

काठमाडौँ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बैंकका निर्देशक थानेश्वर आचार्यको जागिर चैट भएको छ।  गत पुस २७ गते बैंकले नगरकोटमा आयोजना गरेको एक कार्यक्रमपश्चात रात्रिभोजको समयमा निर्देशक आचार्यले आफूलाई पछाडिबाट अंगालो हालेर यौन  दुर्व्यवहार गरेको ति महिला कर्मचारीले आरोप लगाएका थिइन् ।उनले आचार्यविरुद्ध गर्भनर महाप्रसाद अधिकारीसमक्ष लिखित उजुरी दिएकी थिइन् । उनले घटनामाथि छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने माग गरेकी थिइन् ।  उनको उजुरीपश्चात छानबिन हुँदा आचार्य ति महिला कर्मचारीमाथि  दुर्व्यवहार भएको खुलेसँगै मंगलबारबाट उनलाई सेवाबाट बर्खास्त गरिएको हो। निर्देशक आचार्य यसअघि पनि यस्तै यस्तै विवादमा आइराख्ने पात्र भएको राष्ट्र बैंककै एक कर्मचारीले जानकारी दिए । उनलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली,२०६८(तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।