वैशाख २ गतेदेखि संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


२०८१ वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको शर्माले बताइन् ।

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र एकीकृत समाजवादीबाट २ जना गरी मन्त्रिपरिषद २० सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् । शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । यस्तै एकीकृत समाजवादीबाट भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा, सहरि विकास मन्त्री बनेका छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

गठबन्धन गर्ने नगर्ने परिस्थितिमा निर्भर रहन्छः देउवा

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने कुरा तत्कालिन परिस्थितिमा निर्भरह हुने बताएका छन् ।  ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर रहने बताएका हुन् । चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्री गगन थापाको प्रस्ताव प्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।  महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा भने अरु चुनाव चिह्नमा मत दिन लगाउँदा कांग्रेसका कार्यकर्ता मात्र होइन, समर्थक समेत असन्तुष्ट रहेको भन्दै अब कुनै पनि चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसमा संस्थापन पक्षका नेताहरुले आपत्ति जनाएपछि प्रतिवेदनमा सहमति जुट्न सकेको छैन । उद्घाटन समारोह सकिएपछि फेरि छलफल गर्ने भनेर गोदावरी पुगेका देउवाले उद्घाटन समारोहमा मञ्चबाटै महामन्त्री थापालाई जवाफ दिएका छन् । देउवाले भने, ‘भविष्यमा राजनीतिक गठनबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्यांकनमा त्यसैबेला निर्णय लिनसक्ने छ ।’ उनले अहिलेको गठबन्धन पनि संविधान रक्षाका लागि कांग्रेसकै पहलमा बनेको बताए । प्रतिनिधिसभा विघटन गर्ने, अस्थिरता ल्याउने, गणतन्त्र कमजोर बनाउने गतिविधि भएपछि कांग्रेसले पहल लिएको भन्दै देउवाले भनेका छन्, ‘निर्वाचनपूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रुपमा लिएका छौं ।’ महासमितिमा पेश हुने सबै दस्तावेजले यसलाई आत्मसाथ गरेको समेत उनले बताए । सभापति देउवाले अगाडि भने, ‘वर्तमान गठबन्धन संविधान रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ ।’ गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्रीको प्रस्तावतर्फ संकेत गर्दै उनले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीले मात्र बहुमत ल्याउने अवस्था कम रहेको बताए । आगामी दिनमा तीनै तहमा कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी सुदृढ बनाउन समेत देउवाले आग्रह गरे ।

राष्ट्रिय शिक्षा दिवसः देशभरिका कुन कुन विद्यालय भए उत्कृष्ट ?

 काठमाडौं । राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ । दाङकै जनकल्याण मावि शान्तिनगर तृतीय भएको छ । उक्त विद्यालयलाई १ लाख नगद पुरस्कार प्रदान गरिएको छ । निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले पनि क्रमःश ३, २ र १ लाख नगद पुरस्कार पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार काठमाडौंमा शिक्षा दिवस मनाइँदैछ । उत्कृष्ट विद्यालयलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्ने मन्त्रालयका प्रवक्ता कमल पोखरलेलले जनाए । विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको श्री स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पस मध्ये उत्कृष्ट ठहरिएको छ । क्याम्पसले साढे दुई लाख नगद पुरस्कार प्राप्त गरेको शिक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस मध्ये ललितपुरस्थित चापागाँउको जनभावना क्याम्पस उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालय अर्न्तगतको उक्त क्याम्पसले पनि साढे २ लाख नै पुरस्कार पाएको छ । निजीतर्फ त्रिविकै मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स सोल्टीबोट राष्ट्रिय स्तरमा उत्कृष्ट भई पुरस्कार पाएको छ । प्राविधिक शिक्षालयतर्फ नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रे, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट दाङ, जनता माध्यमिक विद्यालय कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट भएका छन् । उनीहरूले जनही १/१ लाख पुरस्कार पाएका छन् । दुई लाखको समाज कल्याण पुरस्कार श्री युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनोहरा काठमाडौं र श्री सि. आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ । सडक बालबालिका, एचआईभी एड्सका संक्रमित, विपन्न, अनाथ, अशक्त असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्दै आएकोमा ती संस्थालाई नगद २/२ लाखसहित पुरस्कृत गरिएको हो । शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पूर्‍याएका त्रिभुवन विश्वविद्यालय, संस्कृत, काठमाडौं, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयका २५ जना अध्यापक तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ । प्राविधिक शिक्षालयका ५ जना प्रशिक्षक कर्मचारी पनि पुरस्कृत भएको शिक्षा मन्त्रालयले जनाएको छ । सामुदायिक र निजी विद्यालयका शिक्षकहरु पनि पुरस्कृत भएका छन् । विद्यालय कर्मचारी व्यवस्थापन समितिका पदाधिकारी, बालबिकासका सहजकर्ता शिक्षकलाई पनि पुरस्कृत गरिएको छ । यस वर्ष दिवसका अवसरमा नेपाल विद्याभूषण पदक क बाट २६४ जना, विद्याभूषण पदक ख बाट ३५ र ग बाट २१ ज्ना विभूषित भएका मन्त्रालयले जनाएको छ । उनीहरूलाई पदक र प्रमाणपत्र भने पछि वितरण गरिने बताइएको छ । नेपाल छात्रापदकबाट १५ जना विभूति भएको शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले जनाए । विभिन्न तह र विषयका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई छात्रा पदक वितरण हुँदै आएको छ ।

जलवायु मुद्दामा संसदको भूमिका बढाउनुपर्छ : उपसभामुख राना

काठमाडौं। उपसभामुख इन्दिरा रानाले जलवायुसम्बन्धी मुद्दाहरुमा संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। भारतको नयाँ दिल्लीमा आयोजित उर्जा सम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जलवायु मुद्दाहरूमा आवश्यक कदम चाल्न सरकारलाई बाध्य पार्न सक्ने भएका कारण संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उहाँले जलवायु सम्बन्धी गतिविधिहरूमा लगानी गर्ने विषयमा सरकारहरूको भूमिकाको बारम्बार छलफल भइरहेको तर संसदहरूको भूमिका बढाउनका लागि पनि सबैले ध्यान केन्द्रित गर्न आग्रह गरिन् । ‘जलवायु परिर्वतनका मुद्दामा सरकारले गरेका प्रतिबद्धताहरू पुरा गराउन संसदले आफ्नो देशका कार्यकारीहरूलाई जवाफदेही बनाउने क्षमता राख्छन् । संसदको भूमिकालाई प्रभावकारी बनाउँदै आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि भूमिका खेल्न सक्छन् ।’ उनले भनिन् । जलवायु परिर्वतनको असर न्युनीकरण गर्नका लागि राजनीतिक इच्छाशक्ति आवश्यक भएको बताउँदै उपसभामुख रानाले यसका लागि जनचेतना जगाउनु र जलवायु–सकारात्मक नीतिहरूको वकालत गर्न आवश्यक रहेको बताइन्। ग्लोबल साउथले सौर्य, हावा र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोगका लागि वकालत गरिरहेको चर्चा गर्दै कृषिमा निर्भर जनसंख्यालाई त्यसको असर पर्नबाट जोगाउन सोही अनुसारको कार्यक्रम कार्यान्वयनका लागि जोड दिइन्। ‘हरितगृह ग्यास उत्सर्जन घटाउन र ग्लोबल साउथमा सबैभन्दा कमजोर समुदायहरूलाई सहयोग गर्न प्रभावकारी विश्वव्यापी सहयोग आवश्यक छ। यी आवश्यकताहरूलाई व्यापक र समावेशी रूपमा सम्बोधन गरेर, हामी जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्न सक्छौँ ।’ उनले भनिन् ।

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने देशभर पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुुनेछ ।

यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, काठमाडौंको उच्चतम तापक्रम कति ?

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।  कोसी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।  कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  काठमाडौंमा आज बदली हुने तर वर्षाको सम्भावना भने रहेको छैन् । काठमाडौंमा अपरान्ह ३ ४ बजेतिर सामान्य वर्षाको सम्भावना रहेको भएपनि गर्मि भने हट्ने छैन् । काठमाडौंमा आज उच्चतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ ।   विभागले राति कोसी, मधेस र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानमा तथा  बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिकदेखि  मुख्यतया सफा रहेको छ।  आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी लगायत पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू/भागका एक(दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

वर्षाका कारण काठमाडौँमा उडान अवतरण प्रभावित

काठमाडौँ । काठमाडौँमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ । अहिले नेपाली आकाशमा स्काईअप एयरलाइन्स, विमान बङ्गलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन्। आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । काठमाडौँमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ।अहिले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।

नो इफ, नो बट हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन्। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ। हामी पनि सरकारमा सहभागी छौँ।हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन। मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन। विथआउट रिजर्भेसन हामी मत दिनेछौँ।’ उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए। त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए। ‘माग्न आए पनि, नआए पनि। भने पनि नभने पनि हामीले विश्वासको मत सहज रूपमा दिएका छौँ। किनभने हामी जिम्मेवार राजनीतिक शक्ति हौँ,’ अध्यक्ष नेपालले भने। उनले अहिले राजनीतिक अवस्था जटिल भएको पनि बताए। उनले भने, ‘हामी सत्ताको साथमा छौँ। तर लामो साथ दिएका प्रतिपक्षीका साथीहरूलाई पनि हामीले बिचैमा छाडेर हिँड्न हुँदैन। के गर्ने, कसो गर्ने भन्ने छलफलका विषयहरू बन्नुपर्छ।’ सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ। उनले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्नको पनि सराहना गरे।

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्याउन फेरि बस्यो कार्यदल

काठमाडौं । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक पुनः बसेको छ। कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो।यसअघि कार्यदल बैठक बिहान साढे ८ देखि दिउँसो २ बजेसम्म सिंहदरबारमा बसेको थियो। छानबिन समितिको क्षेत्राधिकारमै दलहरूबीच कुरा मिल्न बाँकी रहेका कारण आन्तरिक छलफलका लागि कांग्रेसले थप समय मागेका कारण बैठक केहि समय स्थगित भएको थियो ।

डढेलो तथा आगलागी प्रभावितको सहायतामा खटिन माओवादीको निर्देशन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले डढेलो एवं आगलागीलगायत विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार, राहत र मानवीय सहायता व्यवस्थापनमा खटिन नेता(कार्यकर्ता एवं स्वयंसेवकलाई निर्देशन दिएको छ। देशव्यापी रुपमा आगलागी र डढेलोलगायत विपद्का घटना बढेसँगै माओवादीले मातहतका पार्टी कमिटीलाई उक्त निर्देशन दिएको हो। माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षाजस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन्। माओवादीले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन स्थानीय तहलाई अपिल गरेको छ। माओवादीले विपद्का जोखिम कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार अवस्थामा राख्न पनि आह्वान गरेको छ। प्रवक्ता सापकोटाले विपद्मा प्रभावकारी उद्धार तथा तत्काल राहतका लागि स्थानीय तहलाई सहयोग गर्न, पालिकालाई सबल बनाउन तथा आवश्यक सामग्रीको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराए। माओवादीले विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र पीडित एवं प्रभावितमा सहानुभूति प्रकट गरेको छ। गर्मी र सुक्खापन बढेसँगै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका घटना वृद्धि भएका छन्। डढेलोका कारण जनधनको क्षतिका साथै हजारौं नागरिक पीडित हुन पुगेका छन्। देशैभरि वायु प्रदूषणको उच्च मात्रा र तापक्रममा उच्च वृद्धिका कारण तराईरमधेसका जिल्लामा तातो हावाको लहर चल्दा दैनिक जनजीवन कष्टकर बनेको छ।

कोशीका मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन सुझाव

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकार अल्पमतमा सञ्चालन हुन नसक्ने बताएका छन्। उनले उपधारा ५ बाट बनेको सरकार अजम्मरी पनि नहुने बताए। प्रदेश सभामा प्रस्तुत सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा उनले सरकार अजम्मरी नहुने कुरा यसअघि नै मुख्यमन्त्रीलाई जानकारी गराएको बताउँदैसरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने जिकिर गरे । ‘संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशनको दोस्रो बैठकको सङ्कल्प प्रस्तावमाथिको छलफलमा सरकार हट्ने कि रहने भन्ने मूल छलफलको विषय रहेकाले सरकार हट्दा पनि कानून सङ्गत र बस्दा पनि कानूनसम्मत रूपमा प्रक्रिया पुर्‍याएर हुनुपर्छ’, दलका नेता राईले भने। उनले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न सुझाव दिए। उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, सक्नुभएन भने मार्ग प्रशस्त गर्नुस् । मुद्दामामिलातिर नलाग्नुस् ।

आज काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका बालाजुलगायत विभिन्न क्षेत्रमा आज बिहान ८ देखि दिउँसो २ बजेसम्म विजुली जाने जनाएको छ । विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार)लाई नयाँ कन्डक्टरले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा शनिबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको जानकारी दिएको हो । विद्युत कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल रहेका छन् । यस्तै, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भ¥याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र बालाजु सब स्टेसन पछाडिको तरकारी बजारमा विद्युत अवरुद्ध हुने भएको हो ।

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ । उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् ।

आम जनता पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। जनप्रदर्शन पश्चात काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने आजपाले जनाएको छ । आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै उनले दलीय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए । आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, देशलाई आर्थिक सङ्कटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारवाही गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन गर्न लागिएको हो ।