रुस–यूक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु, ज्यान गुमाउने नेपालको संख्या ४३


काठमाडौं । रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भई युद्धमा मारिने नेपालीको संख्या ४३ पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । रञ्जितको ठेगाना खुलेको छैन । रुसले मस्कोस्थित नेपाली दूतावासलाई थप ३ जनाको मृत्यु भएको मेडिकल रिपोर्ट पठाएको हो ।
त्यस्तै रुसले थप ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाललाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो । यसअघि २२ जनाको डीएनए परीक्षणको नमुना पठाइएको थियो । २२ जनाको पछिल्लो विवरण रुसले पठाएको छैन ।
नेपाली दूतावासले भदौ १७ गते कन्सुलर सेवा विभागलाई पत्र पठाउँदै डीएनए परीक्षणको नमुना पठाइदिन अनुरोध गरेको हो । जसमा लालबहादुर पुन मगर, भरत कुँवर, लक्ष्मण बस्नेत, मख्खनबहादुर पुन, राजन राउत, अर्जुन दत्त भट्ट, रोनल मिश्र, महेन्द्र शाही, मदन गुरुङ, नरबहादुर दर्लामी, टीकाराम गुरुङ, सुमन मेचे, भीमबहादुर घर्ती मगर, कपिल घर्ती मगर र माइतमान घर्ती रहेका छन् ।
त्यस्तै चन्द्रबहादुर घिमिरे, सन्दीप कामी, हिराबहादुर गुरुङ, श्यामध्वज गुरुङ, छमबहादुर घर्ती, सुजन जवेगू, जितेन्द्र केशी, गणेशबहादुर कुमाल, सादुराम प्रधान, भुवन पुन मगर, रोहन तामाङ, सुजन शर्मा, ज्ञानबहादुर मगर, भीमबहादुर नेगी, देव तामाङ, विजयकुमार टमाटा, विपिन बिक, चन्द्रप्रकास बिसी, ओमबहादुर मगर र सुवास तामाङ रहेका छन् । कन्सुलर विभागले सर्म्पकमा आएका परिवारका सदस्यलाई डीएनए परीक्षणको नमुना लिन काठमाडौं बोलाएको छ।

गणतन्त्रात्मक शासन प्रणालीको सर्वोच्च अभिभावकीय संस्था राष्ट्रपति : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञलगायत दैनिक कार्यसञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको स्पष्ट पारेका छन् । आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजतन्त्रको अन्त्यपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सर्वोच्च सम्मानित अभिभावकीय संस्थाका रूपमा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरेको बताए।  “राष्ट्रपति र उपराष्ट्रपति दुवै पदको काम, कर्तव्य, अधिकार र भूमिका संविधानमा नै व्यवस्था गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको संविधानको धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यसम्पादनका लागि छुट्टाछुट्टै कार्यालय रहने र कार्यालयको कामकारवाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था सरकारले गर्नेछ भन्ने व्यवस्था रहेको छ ।” उनले संविधानअनुरूप राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञ लगायत दैनिक कार्यसञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको जानकारी दिए। 

बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना, यस्तो छ मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका हाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, मधेस, कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति बागमती, कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । बागमती, कोशी, र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ५८ मिनेटमा हुनेछ ।

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्छ : प्रधानमन्त्री

सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए। “विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी आवमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने छ ।” सुक्खायामको माग पूर्ति गर्न बुढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने तयारी गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिए। प्रधानमन्त्रीले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने र त्यसका लागि हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए। प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत आयोजना, प्रसारण लाइनको विस्तारलगायत ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढतापूर्वक अगाडि बढाउन सरकार प्रतिबद्ध छ।” अरूण–३ जलविद्युत् परियोजनाको प्रसारण लाइन निर्माण र जग्गा प्राप्तिका लागि स्थानीय सरोकारवाला पक्षबीच सहमति हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक सहजीकरणका निम्ति स्थानीय तहमा क्रियाशील राजनीतिक दलहरू, नागरिक समाज र स्थानीय जनसमुदायमा विशेष आग्रह गरे। “सरकार स्थानीय जनसमुदायको चासो र सरोकारका विषयहरू सम्बोधन गर्न गम्भीर र संवेदनशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ठूला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्रै योगदान पुग्दैन, स्थानीय साधनस्रोतको उपयोग, रोजगारी सिर्जना, स्थानीय विकासका क्षेत्रमा नयाँ–नयाँ अवसरहरूको सिर्जना र विकासको ढोकासमेत खुल्दछ । तसर्थ, विकासका काममा सहकार्य र सहजीकरणको बाटोबाट समाधान खोज्नु नै हामी सबैको साझा हित हुन्छ ।” उनले परियोजनालाई आवश्यक पर्ने जग्गा प्राप्तिका लागि मुआब्जारक्षतिपूर्ति निर्धारण र वितरण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिए। विकास र समृद्धि देशको साझा लक्ष्य भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिको यात्रामा लामवद्ध हुन सबैलाई अपिल गरे। सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दीगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भौतिक विकासलाई व्यवस्थित गर्दै जाँदा मानवीय विकासका क्षेत्रमा समेत छिटो प्रगति गर्न सकिने विश्वास व्यक्त गरे। 

संसद् अवरोधकाबीच नीति तथा कार्यक्रममा छलफल गर्नुपर्दा दुःख लागेको छ :  प्रधानमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् अवरोधकाबीच वार्षिक नीति तथा कार्यक्रम छलफल गर्नुपर्दा दुःख लागेको बताएका छन् ।  प्रतिनिधि सभाको बैठकमा आ.व. २०८१/ ०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले सो कुरा बताएका हुन् । प्रधामन्त्री प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि केही दिनदेखि लगातार राजनीतिक दलका नेतासँग छलफल गरिरहेको बताए । “बेला बेलामा धेरै सहमझदारीको नजिक पुगेको महसुस गरेका छौँ,” उनले भने ।  प्रचण्डले आइतबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सुनाए । उनले भोलि बिहानसम्म समझदारी हुने विश्वास व्यक्त गरे । 

आगलागी गर्नेलाई खोज्दै प्रहरी, संलग्न १२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । आगलागीमा संलग्न भएको आरोपमा प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये केहीलाई मुद्दा चलाइएको छ भने केहीलाई सामान्य सोधपुछपछि सचेत गराएर छोडिएको छ । विभिन्न जिल्लाका विभिन्न वनमा आगलागी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । प्युठानमा ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । गुल्मीमा २ जना, काभ्रेमा २ जना, अर्घाखाँचीमा १ जनालाई मुद्दा चलाइएको छ । रामेछापमा पक्राउ परेका १ जनालाई मुद्दा चलाउने प्रक्रिया सुरु भएको छ । दोलखामा २ जना पक्राउ परेकोमा १ जनालाई मुद्दा चलाइएको छ । यसै गरी पाल्पामा १८ जनालाई सामान्य सोधपुछ गरी सचेत गराएर छोडिएको छ भने बागलुङमा ६ जनालाई नियन्त्रणमा लिइएकोमा सबै नाबालक भएकोले सचेत बनाएर छोडिएको छ । डोटी, सङ्खुवासभा, सुर्खेत, खोटाङ लगायतका आगलागी भएका जिल्लामा आगलागीमा संलग्नलाई पहिचान गर्न प्रहरी परिचालन गरिएको छ ।

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् । दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए । दाहालले सत्ता साझेदार चार दलको साथ पाएका थिए ।

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता :  प्रधानमन्त्री प्रचण्ड

वाग्लुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए ।  “गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण संवर्द्धधन, आफ्नो देशका तीर्थस्थल आदिको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “२० वर्ष अगाडि मुक्तिनाथ जस्तो तत्कालीन दूर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्त्वपूर्ण छ ।”  “भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जवसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तवसम्म समाजले शान्तिको श्वास फेर्न सक्दैन,” प्रधानमन्त्री प्रचण्डले भने, “गौतम बुद्धको देशमा जन्मेका हामी शान्तिको लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुछ ।”

माओवादीमा राष्ट्रियसभा अध्यक्ष नछोड्न दबाब,  निर्णय भोलि

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् ।  मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् ।  माओवादी स्थायी कमिटीका नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  त्यसैगरी, बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए ।  प्रवक्ता सापकोटाले भने, 'हामीले प्रस्तुत सबै एजेन्डाहरूको बारेमा वृहत छलफल गर्‍यौं । तर फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन । निर्णय भइसकेको छैन । छलफलको विषय तिनै हुन्, जो मैले पहिलेनै प्रस्तुत गरिसकेको छु । सबभन्दा मुख्य चाहिँ कार्य विभाजनको विषय थियो । पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलिबढी छलफल भयो । यसमा राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ । हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो ।' माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधबार) पनि बोलाइएको छ । 

कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेको हो । यसअघि नाका क्षेत्रमा सञ्चारको सुविधा नहुँदा कोरला नाकामा सुरक्षाको अवस्था पत्ता लगाउन, पर्यटकलाई परेको समस्या र तत्कालै उद्धार तथा समन्वय गर्नका लागि समस्या भैरहेको थियो । तर अहिले टेलिकमको टावर सञ्चालनमा आएपछि सीमा नाकामा सुरक्षाको जानकारी लिन, त्यहाँ पुग्ने पर्यटकलाई लेक लागेमा तत्कालै उद्धार गर्न, नाकाको भ्रमण गर्ने पर्यटकहरुको तथ्याङ्क सङ्कलन गर्नुका साथै आवश्यक समन्वय तथा सहजीकरणमा समेत सहज भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीले जानकारी दिए। सीमा नाकामा टेलिकमको टावर निर्माणसँगै कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकहरु, मालसामान खरिद–बिक्री गर्न जाने स्थानीय व्यापारी र सर्वसाधारणहरु लाभान्वित बनेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित कोरला नाकामा यही असोजको दोस्रो सातादेखि टेलिकमको टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो । नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक तथा लोमान्थाङ गाउँपालिकाको भौतिक सहयोगमा टेलिकमको बिटिएस टावर स्थापना गरिएको छ । समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा रहेको कोरला नाकामा टेलिकमको टुजी र फोरजी टावर सोलारको माध्यमबाट चल्ने गरी जडान गरिएको छ । बिटिएस टावरमा उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवाको क्षमता रहेको हुँदा भोल्ट आधारित प्रविधिको भिडियो कल गर्न र नमस्ते मोबाइलमा वाइफाई चलाएर सजिलै कुराकानी गर्न सकिन्छ । नाका क्षेत्रमा नै सञ्चार सुविधाको विस्तार भएकाले खासगरी सूचना तथा जानकारीहरु आदानप्रदानमा सहज भएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । कोरला नाका क्षेत्रमा नेपाल टेलिकमको टावर सञ्चालनसँगै नाकामा हुन सक्ने अवाञ्छित क्रियाकलापहरु रोक्नका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोरला नाकाको नेपालतर्फ गएको असार महिनामा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत एकीकृत भवन निर्माण भैसकेको छ । यसअघि नाकाको सुरक्षा र अनुगमन तथा निरीक्षणको लागि भन्दै नेपाल सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको थियो ।

माओवादी केन्द्रको दुई प्रदेशमा परामर्श बैठकको कार्यतालिका हेरफेर

काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रले दुई प्रदेशमा परामर्श समितिको बैठक कार्यतालिका हेरफेर गरेको छ । सम्बन्धित प्रदेशका इञ्चार्जहरुसँगको परामर्शअनुसार प्रदेश नम्बर १ र मधेश प्रदेशको परामर्श समितिको बैठक तालिका परिवर्तन गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । जसअनुसार १ नम्बर प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको बैठक भदौ २२ र २३ गते हुनेछ भने मधेश प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको बैठक भदौ २४ र २५ गते हुनेछ । यसअघि भदौ २२ र २३ गते मधेश प्रदेश तथा भदौ २४ र २५ गते १ नम्बर प्रदेशको बैठक तोकिएको थियो । अन्य प्रदेशमा भने पूर्व निर्धारित कार्यतालिका अनुसार नै बैठक गर्ने सो पार्टीले जनाएको छ । माओवादी केन्द्रले  बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय र गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा तथा प्रदेश पदाधिकारीहरूको बैठक गरिसकेको छ भने आज र भोलि सुदूरपश्चिम प्रदेशमा बैठक गर्दैछ । त्यसलगत्तै भदौ १४ र १५ गते कर्णाली तथा १६ र १७ गते लुम्बिनी प्रदेशको बैठक गर्ने कार्यकतालिका रहेको छ । त्यस्तै १८ र १९ गते केन्द्रीय आयोगका सदस्यहरूको बैठक राखिएको छ भने भदौ २७ र २८ गते जबस मोर्चा र विभागतमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । भदौ ३१ र असोज १ गते प्रवासमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक राखिएको छ भने असोज २ र ३ गते जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूसँगको परामर्श बैठक राखिएको केन्द्रीय कार्यालयले जनाएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा सम्भावना छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा बिहान कोसी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबिच सहमति

काठमाडौँ । काठमाडौँ महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ । 

प्रतिनिधिसभा बैठक बस्दै, बजेटबारे मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने छ । प्रतिनिधिसभामा हिजोबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो । आज सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा सांसदहरु प्रेम सुवाल, अमरेश कुमार सिंह, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

संसद्का ६ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।  महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।  बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।   शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक साढे १२ बजे बस्नेछ ।  सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटीमा राखिने

काठमाडौं । नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा। एसके सिंह र डा। पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो । सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पताल लगिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम पुर्‍याइएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ । दोस्रो पटक म्याद थपेकै दिन साँझ उनलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले प्रादेशिक अस्पताल लगेको थियो ।