किताब जात्राको छैठौं संस्करण हुँदै

काठमाडौं । ‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो ।

‘किताब जात्राको छैठौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरी नयाँ आयामका साथ निरन्तरता दिँदैछौं ।’

जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए ।

लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए । साथै  ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।
 
पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रा।लि।का सिइओ विकेश भट्टराईले जानकारी दिए । पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ ।

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व। प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ ।
गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ । गत वर्ष लेखक गिरिश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

किताब जात्रा कै अवसरमा एक जनालाई खुला आवेदनको आधारमा किताब जात्रा पश्चात सीए अध्ययनका लागि ुप्रेम प्रसाद मेमोरियल स्कलरशीपु प्राइम सिएको सहकार्यमा छात्रवृति प्रदान गरिनेछ।

वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी भू–भागमा पर्नेछ पानी

काठमाडौं । देशका केही भू–भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।  विभागका अनुसार राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

पेमेन्ट गेटवे खरिद प्रकरण सुनिल पौडेल दोषी ठहर

काठमाडौँ ।विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको भन्दै उनलाई शुक्रबार दोषी ठहर गरेको हो भने सोही प्रकरणमा आठ जनाले भने सफाइ पाएका छन् ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रष्ठको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको छ। 

भोलि इद पर्वको सार्वजनिक बिदा

भोलि इद पर्वको सार्वजनिक बिदा काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ । “मिति २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल-फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।  

सत्यको खोजी गरेर समाचार प्रकाशन र प्रसारण गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रश्न उठाइँदैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीको प्रश्नका जवाफ दिँदै उनले प्रश्न उठाइँदैमा आत्तिन आवश्यक नरहेको बताए । समाचारका सबै विषय सत्य नहुने उनले जिकिर गरे । सत्यको खोजी गरेर समाचार प्रकाशन र प्रसारण गर्न उनले आग्रह गरे । पत्रिकामा समाचार छापिनेबित्तिकै कोही दोषी प्रमाणित नहुने उनले बताए । प्रमाणित विषय र प्रचारबाजीमा फरक रहेको बताउँदै प्रचारवाजिसँग डराउनुनपर्ने उनको भनाई थियो ।

न्यारोबडी खरिदका सबै प्रक्रिया १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई निर्देशन

काठमाडौं। नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न  निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो ।  समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिएका हुन् । उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए। उनले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेस गर्न आग्रह गरे।  बैठकमा सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए।उनले दुई हप्ता भित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी नभएको विश्वास दिन जरुरी रहेको बताए ।  उनले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक भएका काममा लाग्नुपर्ने आश्यकता समेत औंल्याए। 

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । “सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने  शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी दिए । द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

पीडितलाई न्याय हुने गरी टिआरसी विधेयक पास हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १९ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताएका छन् । शान्ति प्रक्रियालाई निष्कर्ष  पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै उनले पीडितले न्याय पाउने गरी विधेयक पास गर्न लागिएको बताए ।  शनिबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको पनि बताए । श्रेष्ठले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने भन्दै राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा बताए ।  उनले व्यवस्थाविरुद्ध  उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था तात्त्विक भिन्नता आउन सकेको छैन। विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले  जनतामा निराशा छाएको छ। अब प्रतिगमन मुर्दावाद भनेर  व्यवस्थाको रक्षा हुँदैन ।  सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नुपर्छ ।’ युवाहरू बिदेसिने र पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको  भन्दै श्रेष्ठले  रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको बताए । युवाहरूमा दुर्व्यसनीको सिकार हुने क्रम बढेकोले  सरकारले अब देशैभर हरेक पालिकामा  रिह्याब सेन्टर  खोल्ने अभियान  चलाउने तयारी गरेको उनले जानकारी दिए ।

अष्ट्रेलियामा नेपाली युवाबीच ग्याङ फाइट, एक जनाको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर भएको नेपाली युवाहरुबीचको ‘ग्याङ फाइट’मा एक जनाको मृत्यु भएको छ । अष्ट्रेलियन सञ्‍चारमाध्यका अनुसार दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको मृत्यु भएको हो । गत शनिबार हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो। बारमा तीन–तीनजनाको समूहका नेपाली युवाबीच कुटाकुट भएको थियो । त्यसपछि उनीहरुलाई सुरक्षा गार्डले निकालेका थिए। बारबाट निस्किएर पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइजना पर्खालबाट सडकमा पछारिका थिए । लडेर घाइते भएकालाई नजिकैको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको हो । घटनामा संलग्‍न रहेको भन्दै चार जना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छ ।

अध्यादेश ल्याउन कांग्रेस सहमत नभएपछि मन्त्रिपरिषद् स्थगित

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चाबिच सत्ताधारी दल नेपाली कांग्रेस भने त्यसको विपक्षमा देखिएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्नो दल दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा रहेको बताए । यसअघि आइतबार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवासहितका नेतासँगको छलफलमा अध्यादेश ल्याउन सहयोग माग गरेका थिए । कांग्रेसको असहमतिका कारण राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सम्भव नभएपछि प्रधानमन्त्री ओलीले सोमबार ५ बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद् स्थगित गरेका छन् ।  

प्रचण्डलाई खुमलटारमा स्थानीयबाट स्वागत(तस्बिर)

काठमाडौं ।नेकपा(माओवादी) केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेका छन्। संसद्मा विश्वासको मत नपाएका प्रचण्डले शुक्रबार नै बालुवाटार छाडेका हुन् । उनी संसद्बाट विश्वास राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए। त्यहाँबाट उनी सिधैँ खुमलटार लागेका हुन् । उनलाई खुमलटारमा स्थानीय संघसंस्थाका प्रतिनिधि तथा कान्तिनगर टोल विकास समितले स्वागत गरेको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन् ।

भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकार फेरबदल : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकारको समीकरण र फेरबदलमा लागि परेको बताएका छन् ।  आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विगत लामो समयदेखि जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसेजस्तै चुसिरहेका राजनीतिक दलहरू विपद्का समयमा सत्ताको दाउपेचमा लागि परेको आरोप उनको थियो । जनता पहिरोमा पुरिएको, घरवारविहीन र डुवानका कारण ज्यान गुमाइरहँदा राज्य छ भन्ने महसुस दिन नसकेको उल्लेख गरे ।  “अनि त्यो परिवर्तन आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनुबाहेक अरू कुनै स्वार्थ छैन,” उनले भने, “वा १ सम्मानित नेताहरू भाषण त गज्जब गर्नुहुन्छ । प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलियोस् भन्नुहुन्छ । ४७ साल यताका फाइल खोलियोस् भनेर महत्त्वपूर्ण सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनुहुन्छ ।”  उनले असार १५ मा प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलौँ भन्नेहरू भुटानी शरणार्थी प्रकरणमा अब हामी कोही नबच्ने रहेछौँ है भनेर नयाँ सहमतिको अवसर जुरेको भन्दै आक्रोश पोखे । “असार १५ कै अवसरमा होस् बूढालीलकण्ठबाट बालकोटसम्मको यात्रा तय गर्दैगर्दा तमाम नेपाली जनताले नजिकबाट नियालिरहेका छन्,” उनले भने ।

गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा जाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायधीशको राय बाझिएको छ । न्यायाधीसद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो । दुई न्यायाधीशबीच मतान्तर भएपछि यो मुद्दाको छिनोफानो हुन सकेन। बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै आदेश दिने क्रममा राय बाझिएको थियो। सुवेदीले सहकारी प्रकरणमा मुछिएर अनुसन्धान अघि बढेको अवस्थामा संवैधानिक नैतिकताको ख्याल गर्दै मार्ग प्रशस्त गर्नु पर्ने राय दिँदा अर्की न्यायाधीश प्रधानले भने राजीनामा दिनुपर्ने कानुनी बाध्यता नरहेको तर्क गरेकी छन् । मुद्दा अब पूर्ण इजलासमा जानेछ ।

प्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध आजबाट थुनछेक बहस हुने भएको छ। गत शुक्रबार पक्राउ परेको प्रतीकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेकाले उनलाई थुनछेक बहसका लागि जिल्ला अदालत पेश गरिएको हो। आइतबार समय अभाव भएका कारण हुन नसकेको थुनछेक बहस आज हुन लागेको हो। प्रतीकलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ। त्यसअघि उनलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो। रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपीहरु पक्राउ परेपछि उनी फरार रहँदै आएका थिए। भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का आरोपी बेचन झालाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ। गत वर्ष शरणार्थी प्रकरण सतहमा आएदेखि फरार रहँदै आएका झालाई भारतबाट पक्राउ गरी गत शुक्रबार काठमाडौं ल्याइएको बुझिएको छ। झाले सोही गिरोहका रामशरण केसीबाट दुई करोडको चेक लिएको प्रमाण प्रहरीले फेला पारेको थियो।

डीबी क्षेत्री माओवादी केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा दवर बहादुर क्षेत्री (डीबी क्षेत्री) मनोनीत भएका छन् । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।  प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांक गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।  ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्री प्रवासमा पार्टीको संगठन विस्तारमा सक्रिय हुँदै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेता समेत रहेका उनी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि सक्रिय रहँदै आएका छन् ।  उनले श्रमिकको पक्षमा काम गर्नका लागि विगतमा हजारे अभियान समेत सञ्चालन गरेका थिए ।

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछिन् ।परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री योकोले नेपाल ओर्लिए लगत्तै भोलि नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीइ औपचारिक वार्ता गर्ने तय भएको परराष्ट्रले जनाएको छ ।उक्त वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।जापानबाट अहिलेसम्म तीनजना विदेशमन्त्रीले नेपाल भ्रमण गरेका छन् भने कामिकावा चौथो हुन्। कामिकावा आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।