मधेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

जनकपुर । मधेश प्रदेशका वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका हुन् ।

कुर्मी लोकतान्त्रिक समाजवादी पार्टीबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदैछन् । लोसपाले उनलाई विश्वासको मत नदिने बताएको छ ।

देशभर आगलागी र डढेलो बढ्दै

काठमाडौं । पछिल्लो समय देशभर आगलागी र डढेलोका घटना बढ्दै गएका छन् ।  देशका विभिन्न स्थानमा गएको २४ घण्टामा १६ स्थानमा आगलागी र ९ स्थानमा डढेलोको घटना भएको छ । घटनामा मानवीय क्षति भने हुन नपाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार बाजुरा, भोजपुर, पाँचथर, धनकुटा, गोरखा, झापा, सप्तरी, तेह्रथुम, सिराहा, भक्तपुर, मकवानपुर, धनुषा, धादिङ, पाल्पा र इलामका विभिन्न स्थानमा आगलागीका घटना भएका थिए ।  त्यस्तै पर्वत, कास्की, रामेछाप, तेह्रथुम, सोलुखुम्बु, गुल्मी, धनुषा, धनकुटा र खोटाङका विभिन्न स्थानका जङ्गलमा डढेलो लागेको थियो । आगलागी र डढेलोबाट अनुमानित ५९ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ । स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र सर्वसाधारणको प्रयासबाट आगलागी र डढेलो नियन्त्रण गरिएको  प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

बेनोज अधिकारीलाई सम्झँदै अखिल(क्रान्तिकारी)को टोली मोरङको बाघझोडामा

मोरङ।अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष जीपी मैनाली सहितको टोली सहिद बेनोजलाई सम्झँदै मोरङको बाघझोडा पुगेको छ । अखिल क्रान्तिकारीको तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी स्मृति दिवसको दिन पारेर उपाध्यक्ष मैनाली सहितको टोली बिहिबार अधिकारीको हत्या भएको स्थाल  मोरङको बाघझोडा पुगेको हो । टोलीमा क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा सुनसरी माओवादी केन्द्रका नेता मदन चुडालसहित क्रान्तिकारीको स्थानीय नेतृत्व सहभागी थियो । टोलीले बेनोज हत्या गरिएको सुन्दरहरैंचा स्थित जंगल सहित ,सुकुना बहमुखी क्याम्पस अगाडी निर्मित शहिद बेनोज गेट पुगेको क्रान्तिकारीका नेता उमेश सेन्चुरीले जानकारी दिए। क्रान्तिकारीका तत्तकालीन उपाध्यक्ष अधिकारीलाई २०५८ फागुन २४  गते आजकै दिन त्यसबेलाको राज्य सत्ताले गिरफ्ता गरी चरम यातना दिएर मोरङको खोर्साने माथि बाघझोडामा निर्ममता पूर्वक हत्या गरेको थियो ।

किर्तिमानी खेलमा नेदरल्यान्ड्ससँग नामिबिया पराजित

काठमाडौं, १७ फागुन । छक्का र चौकाको वर्षा भएको त्रिकोणात्मक टी २० आई सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले माइकल लेभिटको शतकमा लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदानमा जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो । नामिबियाका जान फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । विकेटकिपर जेन ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रनको अविजित इनिङ खेल्दै हारको अन्तर घटाए । जेपी कोट्जी १५ बलमा ३ चौका र २ छक्कासहित २६, कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९–१९ रन बनाए । नेदरल्यान्ड्सका भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो । यो नेदरल्यान्ड्सको टी(२० आईको उच्च योगफल हो । नेदरल्यान्ड्सको यसअघि टी–२० आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो । नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले । नेपालविरुद्ध डेब्यू गरेका लेभिटले आफ्नो दोस्रो खेलमै नेदरल्यान्ड्सबाट टी(२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । २०२१ मा म्याक्स ओडाउडले मलेसियाविरुद्ध टीयूमा नै १३३ रनको शतकीय इनिङ खेलेका थिए । साइब्रान्ड एंगेलब्रेक्ट ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । दोस्रो विकेटका लागि लेभिट र एंगेलब्रेक्टले १९३ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । यो टी–२० आईमा दोस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । स्कटल्यान्डका हरिस र ब्रेन्डन म्याकुलेनले २०२३ मा इटालीविरुद्ध दोस्रो विकेटका लागि गरेको १८३ रनको साझेदारी तोडेका थिए । तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा नट आउट रहे । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १–१ विकेट लिए । दुवै इनिङ्ग्समा गरी कुल ४३५ रन बनेको खेलमा कुल ३० छक्का प्रहार भएका थिए। जसमा नेदरल्यान्ड्सले १८ छक्का हिर्काएको थियो। यस्तै खेलमा ३३ चौका समेत प्रहार भयो। जसमा नेदरल्यान्ड्सले मात्र २० चौका प्रहार गरेको थियो। खेलमा चौका र छक्काबाट मात्र कुल ३१२ रन बन्यो। नामिबियाले नेपाललाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् ।  शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । प्रधानमन्त्रीले भने, -'बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।' नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने बताए। प्रधानमन्त्रीले भने, 'खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ। पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ।' बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराए। उनले भने, 'बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।' आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भने आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ। विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस्। माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूचि रहेको छ।

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनुभएको छ ।  नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताउनुभएको हो । नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१९ को उहाँको भ्रमण ऐतिहासिक रहेको बताउनुभयो । सो क्रममा धेरै समझदारी भएको उल्लेख गर्दै उहाँले उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा बेइजिङ ओलम्पिकको समापनमा र गत वर्ष पनि प्रधानमन्त्री हुँदा चीन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘गत वर्ष मेरो भ्रमणमा धेरै विषयमा एमओयू भएका थिए र ऐतिहासिक महत्वको साझा विज्ञप्ति जारी गरेका थियौं । ती सबै समझदारी कार्यान्वयन गरेर जानुपर्छ भन्ने पक्षमा हामी दृढ छौं ।’  नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले चीन पनि यसमा प्रतिबद्ध रहने छ भन्ने आफ्नो विश्वास रहेको बताउनुभयो ।  उहाँले चीन र नेपालबीचको भौगोलिक अवस्थित प्रतिकूल रहे पनि विज्ञान प्रविधिको उच्चतम प्रयोग गरे दुई देशीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिमानाकाहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने, रेलमार्ग निर्माणलाई अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताउनुभयो।  आफूहरुले गणतन्त्र स्थापनाका लागि थालेको जनयुद्धका बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरुको धेरै अध्ययन गरेर नेपाली विशेषतासहितको क्रान्ति अघि बढाएको स्मरण गराउँदै उहाँले अब पनि नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न आफ्नो पार्टी इच्छुक रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले चिनियाँ स्वाधीनको सम्मान गर्दै नेपालले निरन्तर एक चीन नीतिलाई सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले पनि नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको संवेदनशीलताका लागि धन्यवाद दिनुभयो ।  चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता अझै बढाउनुपर्ने बताउनुभयो । पहिलोपटक नेपाल भ्रमणमा आउनुभएका उहाँले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्ने बताउनुभयो ।  चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएको उल्लेख गर्दै सेक्रेटरी छेनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्व दिने बताउनुभयो । चीनको विकासको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीका जुनसुकै नेताले पनि भ्रष्टाचार लगायतका गल्ती गर्दा कारवाही गर्ने गरेकाले चिनियाँ जनताको विश्वास बढ्दै गएको बताउनुभयो । भेटवार्तामा माओवादी केन्द्रको तर्फबाट बरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य गंगा दाहालको सहभागिता रहेको थियो । चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग, नेपालस्थित राजदूत छेन् सोङ्गलगायतको उपस्थिति रहेको थियो ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपुर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन लगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

सडक डिभिजनले भन्यो : बालेनको अराजक शैलीबाट महानगरको गरिमा बढ्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वास थप बढेको छ : उपाध्यक्ष विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार प्रतिको विश्वास थप बढेर गएको बताएका छन् ।सोमबार प्रधानमन्त्रीको विश्वासको मतबारे छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसद पौडेलले सो कुरा बताएका हुन् ।  सांसद पौडेलले सत्ता नपाएको बेचैनीलाई त्यागेर आफ्नो भूमिकामा पुनर्विचार गरी प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसलाई आग्रह गरे ।  सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातिएको बताए। उनले माकुराको जालो च्यातिएपछि कांग्रेसले संसद्‌मा अहिले क्रिया प्रतिक्रिया देखाइरहेको आरोप लगाए ।  उनले विश्वासको मत लिने प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो लोकतान्त्रिक व्यवस्था चाहेको भन्दै उनले आक्रोश पोखे ।  उनले  बोल्दै गर्दा कांग्रेसका सांसदहरूले बेल घेरा गर्दै निरन्तर होहल्ला र नाराबाजी गरेका थिए ।

चितवनमा अब गर्मीमा पङ्खा रोकिदैन : रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना विस्तार र स्तरोन्नतिसँगै चितवनवासीले पङ्खा चलाउन पाएको बताएकी छिन्‌ ।चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३र११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन क्रममा दाहालले चितवनमा विद्युत आपूर्तिमा रहेको समस्या समाधान भएको दाबी गरिन्‌ । विद्युत् आपूर्तिमा रहेको रहेको न्यून भोल्टेजका कारण उद्योग व्यवसाय र पङ्खा नचलेको भन्ने उपभोक्ताहरूबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन भएको दाहालले बताइन्‌।सबस्टेसन तथा प्रसारण लाइन उद्घाटन महानगरप्रमुख दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा गरेका हुन्‌। चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्न पनि आग्रह गरिन्‌। भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन निर्माण भरतपुर महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए।चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजंग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा भरतपुर महानगरपालिका हुने विद्युत भागमा प्रक्षेपण गरी चौबीसै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको जानकारी दिए । भरतपुर महानगर क्षेत्रमा भइरहेको तीव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनले बताए । देवनगर सबस्टेसनबाट नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिका ५, ६,८, ९,१३,१४,१५,२२ र २३ नम्बर वडाहरुमा विद्युत् प्रवाह गरेको छ । सबस्टेसनमा २४ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको जसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी,सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ। गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरू निकालिएका छन्। देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गितानगर, पटिहानी र सीतामाई क्षेत्रका उपभोक्ताले ब्यहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको प्राधिकरणको दाबी छ। नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो। गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब १० करोड रुपैयाँ रहेको आयोजना निर्देशक÷संयोजक अच्युत घिमिरेले जानकारी दिए । सबस्टेसन तयार भएतापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो । कोभिड–१९ महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानुपर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भएको प्राधिकरणले जनाएको छ ।

सभामुख-सचेतकको छलफल निष्कर्षविहीन

काठमाडौं । सदनको गतिरोध खुलाउनेलगायतको विषयमा सभामुख प्रमुख सचेतक र सचेतकबीचको छलफल विनानिष्कर्ष टुंगिएको छैन। सभामुख देवराज घिमिरेले मंगलबार संयुक्त सदनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउनेलगायतका विषयमा कानूनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए।

चौथो खेलमा पनि नेपाल पराजित, सिरिज वेष्ट इन्डिजलाई

काठमाडौं । टी २० सिरिजको चौथो खेलमा पनि वेष्ट इन्डिज ए सँग नेपाल पराजित भएको छ । आजको खेलमा नेपाल २८ रनले पराजित भयो । ५ सिरिजको खेलमा दोस्रो, तेस्रो र चौथो खेल गरि तीन खेलमा नेपाल पराजित भएसँगै टी २० सिरिजको उपाधी नेपालले वेष्ट इन्डिज ए लाई सुम्पने पक्का भएको छ ।  नेपालले पहिलो खेलमा मात्रै वेष्ट इन्डिजलाई पराजित गरेको थियो । सिरिज बराबरी गर्नकै लागि पनि आजको खेल नेपालले जित्नैपर्ने दबाब थियो । २१० रनको विशाल चुनौति पछ्याएको आजको खेलमा नेपालका लागि सुरुवात देखि नै दबाब परेको थियो । नेपालको खाता नै नखोल्दै दुई बलको सामना गरी आशिफ सेख आउट भएका थिए ।  त्यसपछि यस सिजनमा कमजोर व्याटिङ गरिरहेका कुशल भुर्तेल नेपालले ४.१ ओभरमा २७ रन बनाउँदा व्यक्तिगत १ रनमा पेभिलियन फर्किए । त्यही ओभरको अन्तिम बलमा कुशल मल्लले ४ रन बनाएर आउट भए । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ८२ रन बनाए पनि जितका लागि त्यो पर्याप्त भएन ।   सन्दिप जोरा, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९/१९ रन बनाए । अविनास बोहोराले अविजित १७ तथा सोमपाल कामीले १० रन बनाए । प्रतिश जिसी र ललित राजबंशीले पनि खाता नखोली आउट भए । यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन जोडेपछि नेपालले जितका लागि २१० रनको लक्ष्य पाएको थियो ।  आजको खेलमा पनि वेष्ट इन्डिजका व्याटरसामु नेपालका बलर निरिह देखिए । नेपालका लागि तुलनात्मक रुपमा कम रन खर्चिर कुशल भुर्तेलले २ विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । प्रतिश जिसीले ४३ रन खर्चिएर एक विकेट लिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबीच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोलसहितका अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन्। प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा.डंगोलले प्रधानमन्त्रीको आसन्न भ्रमणमा उठाउनुपर्ने विषयको बारेमा छलफल गरेका थिए।डा.डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुन्।यस्तै,कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गरेका थिए।  नेपाल र कतारबिच कुटनीतिक सम्बन्ध गासिएपछि पहिलो पटक कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका छन्।  “कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रहरुमा विशेष पहल गर्नुपर्ने विषयमा सम्माननीय प्रधानमन्त्रीसँग छलफल भयो,”प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भने,“प्रधानमन्त्रीज्यूले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालको लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी हुने सम्झौता हुने जानकारी दिनुभयो।” यस्तै,प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपाल आउने र लगानी सम्मेलन सफल बनाउन संस्थापक उपाध्यक्ष डंगोल तथा अभियन्ता शर्मा र न्यौपानेलाई अनुरोध गरेका थिए।  प्रधानमन्त्रीले लगानी सम्मेलन सफल बनाउन र नेपालमा लगानी भित्राउने भूमिकामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने हुँदा त्यो काम गर्न भनेका थिए।  भेटमा सहभागी एनआरएनए संस्थापक डंगोल,शर्मा र न्यौपानेले गैरआवासीय नेपालीहरु नेपालको आर्थिक विकासमा सहयात्री बन्न तयार सधै रहेको र सम्मेलन लगानी बढाउने विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

युवती बेचबिखनमा ९० वर्षको कैद सुनाइएका २ जना पक्राउ

काठमाडौं । एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको हो । उनीहरुले आकर्षक रोजगारीमा विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका तीन युवतीलाई भारत लगेर १–१ लाख रुपैयाँका दरले बेचेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । उनीहरुले ५ माघ २०६४ मा तीन जना युवतीहरुलाई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको शहिदनगर लगेर बेचेको आरोप छ । मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा उनीहरुविरुद्ध १ फागुन २०७८ मा फैसला भएको थियो । तीन वटा फरक–फरक मुद्दामा बच्चुलाई ३० वर्ष कैद र ३ लाख जरिवाना र दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

सांसदहरूलाई कांग्रेसले लेख्यो पत्र, पत्रमा के छ ?

काठमाडौं ।नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र पठाएका छन् । आज सोमबार प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गरेका छन् ।  पत्रमा फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। ‘प्रधानमन्त्री दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ,’ लेखकले ह्वीपमा भनेका छन्।  गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धन बनाएका थिए ।