प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार दिउँसोबाट सुरु भएको  बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
 

संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक नै आज बस्न लागेको हो ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।  बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने  सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । बैठकमा अध्यक्षले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सिद्धार्थ राजमार्ग भासियो

वालिङ (स्याङ्जा)। स्याङ्जाको गल्याङ नगरपालिका–११, तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको करिब ५० मिटर सडक भासिएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।  विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बीपीसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । रासस

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ :  प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए। “संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्‍न गरेका छौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्‍क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्‍न गर्न सरकार दृढ छ।” उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्‍वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले सशस्‍त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्‍गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनस्स्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए।  विश्‍वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त, मान्यता र नेपाली समाजको विशेषता अनुकूलका चरित्रसहितको ‘सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रु नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्‍ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्‍न निर्वाचनले मुलुकमा सङ्‍घीय शासन प्रणालीलाई सुदृढ बनाएको स्पष्ट पारे ।उनले आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकारहरू नागरिकको हित र उन्‍नतीका लागि क्रियाशील रहेको बताए। “राष्‍ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्‍ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध छ,” प्रधानन्त्रीले भने, “नेपाली जनताको सुख र समुन्‍नतिका लागि सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा आशा र भरोसा जगाउने गरी सरकारले कार्य गरिरहेको छ।”   सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्नेगरी सुधारका लागि सरकार स्पष्‍ट मार्गचित्रका साथ अघि बढेको बताउँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयन, सङ्‍घीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रर्वधन, सार्वजनिक सेवाप्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्‍टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता भएको बताए।  “देशमा भएको युगान्तकारी परिवर्तनको फलस्वरूप रैती भएर युगौंदेखि हेपिएका वर्ग तथा समुदाय अहिले अधिकार र सम्मानका साथ राज्यका विभिन्‍न निकायमा नेतृत्व तहमा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशैभरिका ६ हजार ७ सय ४३ वडालगायत राज्यका विभिन्‍न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन्। आधा आकाशको उपमा पाएका तर चुलोचौकोमा सीमित महिलाहरूले ७५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ ।” सार्वजनिक क्षेत्र मात्र नभइ सबै राजनीतिक दल, सामाजिक सङ्‍घसंस्था लगायत हरेक तहका निकायका एक तिहाइ महिलाको सहभागिता सुनिश्‍चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वञ्‍चितीकरणमा परेका वर्गको मूलप्रवाहीकरण एवं लक्षित समूहको अधिकार संरक्षणका लागि स्थापित संवैधानिक आयोगहरू क्रियाशील रहेको बताए । उनले नेपाली समाजमा व्याप्‍त यिनै सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका विभेद र वञ्‍चितीकरणको  अन्त्य गर्दै समृद्धिको जग बसाल्ने सफल दिनका रूपमा हामीले आजको दिनलाई स्मरण गरिरहेका छौँ भने।

गोंगबुको होटलमा महिलाको शव फेला

काठमाडौं । गोंगबुको होटेलमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका २ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका १५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । त्यसपछि पुगेको प्रहरीले उनलाई अस्पताल लगेको थियो । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, भण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो । परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ । भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोत बताउँछ । घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन । भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको उद्दार

काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको प्रहरीले सकुशल उद्दार गरेको छ । उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् । शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र  पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो । करिब ३० फिट गहिरो इनारमा खसेका तामाङलाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए । उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको उनले जानकारी दिए ।

रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको अध्यक्षमा पशुपति चौधरी

काठमाडौँ । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा। डा। पशुपति चौधरीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको  हो । यस्तै,  बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।

विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले जातीय छुवाछूतजस्तो अपराधलाई उन्मूलन गर्न कानुनी प्रावधानहरू कडा पार्नुका साथै सामाजिक जागरण र राजनीतिक अभियान चलाउनुपर्ने बताए ।

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

काठमाडौं, ६ फागुन । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दुई पार्टीले मन्त्री ज्वालाको राजिनामा मागेका हुन् । यो विषयमा जाँचबुझ आयोगले ज्वालालाई प्रमुख जिम्मेवार ठहर गरिसकेकाले उनले पदमा बसिरहन नमिल्ने ती दलको दावी छ ।  बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आयोगले मुख्य दोषी भनेर किटान भएको २८–३० घण्टा बित्दा पनि ज्वाला मन्त्रीमै बहाल रहिरहेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले ज्वालालाई बर्खास्त गरेको सूचना अहिलेसम्म नदिएको भन्दै दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुनेमा जोड दिए । उनले प्रश्न गरे– ‘सिपाइलाई डण्डा, मन्त्रीलाई झण्डा यो कुन खालको सुशासन हो ?’ सम्बन्धित मन्त्रीलाई जिम्मेवारीबाट नहटाइए एमाले चुप लागेर नबस्ने उनले चेतावनी समेत दिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ज्वालालाई जोगाउने कि कारबाही गर्ने भन्नेमा प्रधानमन्त्रीको आजकै बैठकमा परीक्षा हुने बताए । उनले भने–  ‘आज प्रधानमन्त्रीको जाँच हुनेछ’ ।  उनले जाँचबुझ आयोगले दोपी ठहर गराउँदा पनि अन्य कार्यक्रममा जाने नैतिकता विभागीय मन्त्रीलाई कसरी हुन्छ भन्दै प्रश्न गरे । उनले आफ्ना मान्छे बचाउन सरकारले फाइल खोज्ने नाटक गर्दै आएको पनि आरोप लगाए ।  शुक्रबार बालकुमारी घटनाको छानबिन गर्न गठन भएको आयोगले ज्वालालाई दोषी देखाउँदै प्रतिवेदन बुझाए पछि उनीमाथि राजीनामा दिन दवाव बढेको छ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न रोस्टम तर्फ अगाडि बढ्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीद्धारा सामाजिक सञ्जालबाटै मुख्यसचिवलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट अर्याललाई बधाई दिंदै प्रधानमन्त्रीले नागरिकलाई चुस्त सेवा दिन र विकास आयोजनालाई अगाडि बढाउन पनि निर्देशन दिनुभएको हो । ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ’, उनले भनेका छन्, ‘सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो।’ प्रधानमन्त्रीले अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुने सुझाव प्रधानमन्त्री ओलीको छ ।

माओवादी केन्द्रले साउन २५ गते बोलायो स्थायी समिति बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले पार्टीको भावी कार्यक्रमबारे स्थायी समितिमा पनि छलफल गरेर निर्णय लिने भएको छ ।  केन्द्रीय कार्यालय पेरिसडाँडामा सकिएको पदाधिकारी बैठकले स्थायी समिति बैठकमा पनि पार्टीको बदलिंदो भूमिकाबारे छलफल गर्ने निर्णय गरेको हो। प्रवक्ता अग्नि सापकोटाका अनुसार आगामी २५ साउनमा स्थायी समिति बैठक बस्ने निर्णय भएको हो । माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि गत शुक्रबारदेखि पदाधिकारी बैठक बोलाइएको थियो। २२ जनाको पदाधिकारी बैठकमा पाँच दिनसम्म छलफल गरेको माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पनि बोलाउने भएको छ । 

कांग्रेसले विश्वासको मत लिन अवरोध गरेर नराम्रो उदाहरण प्रस्तुत गर्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । “आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”

अपांगता भएकाहरूको आन्दोलन

काठमाडौं ।  अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलन गरेका छन्। उनीहरुले सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै राजधानीको भृकुटीमण्डप  नजिकै मुख्य सडकमा प्रदर्शन गरेका हुन् ।  शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएको अपाङ्गता भएका व्यक्ति संघर्ष समितिका प्रवक्ता गणेश केसीले जानकारी दिए । प्रहरीले बल प्रयोग गर्दा घाइते भएका ऋषि ढकाल, शर्मिला विश्वकर्मा, बेगबहादुर तामाङ, लक्ष्मण मगर, रमेश खड्का र गीता ढकालको बीर अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए।  अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ। सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सरकारसँग सहमति भएको थियो।  कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन्। 

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ :  राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् ।           विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताएका हुन् ।   “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत् स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ,” शुभकामना सन्देशमा उनले भनेका छन्, “उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।”           विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरे ।           श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदै छ ।           नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई  प्रत्याभूत गरेको छ ।