आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ ।  

कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

“धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ”, उनले भने । 

घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।

अदालतको सफाइपछि पशुपतिका सदस्य सचिवले भने -'विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क हुन्छ'

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । डा.थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । ‘धार्मिक एवं सांस्कतिक अध्ययन अनुसन्धानका लागि अन्तराष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको हो । सेतो सत्तल गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिनेछ । दुवै निर्णय औपचारिक रुपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन गर्ने तयारी छ,’ उनले भने । यसैबीच, विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा। थापासहित तीनै जनालाई सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले डा। मिलनकुमार थापासहित डा। प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । विशेष अदालतले मङ्गलबार भएको सुनुवाइपछि अन्तिम फैसला गर्दै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता नभएको ठहर गरी सदस्य सचिव डा. थापा, पूर्व सदस्य सचिव डा.ढकाल र श्रेष्ठलाई सफाइ दिइएको हो । अख्तियार दुरुपयोग अनुन्धान आयोगले २०८० असोज १४ गते उनीहरूविरुद्ध मुद्धा दायर गरेको थियो । सदस्य सचिव डा.थापाले पशुपति नाथ मन्दिरको सम्पत्ति फिर्ता गर्ने बताएका छन् । ‘३० वर्षसम्म नबोल्ने भगवानको सेवा गरेँ, तर बोल्ने भगवानकहाँ न्याय माग्न पुगेपछि न्याय पाएँ । सम्पूर्ण न्यायमुर्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्छु । र अब भगवान पशुपतिनाथको सेवामा अहोरात्र खटिनेछु,’ उनले भने । डा.थापाले धार्मिक एवं सामाजिक अभियानमा निरन्तर खटिएको बताउँदै सत्य र निष्ठापूर्वक काम गरेको र अब त्यही उत्साहलाई कायम राखेर खट्ने प्रण गरेका छन् । सदस्य सचिव डा.थापा जलहरी निर्माण गर्दा संयोजक एवं कोषका सदस्य थिए। २०७७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जलहरी निर्माण गरिएको थियो । अख्तियारले नापजाँच गरेपछि २०८० असार १३ गते जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको थियो । २०८० असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ९क्यारेट० परीक्षण गरेको थियो । २०८० असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो । जलहरी राखिएको स्थानलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले सिसिटिभीको निगरानीसहित सुरक्षा प्रदान गरेका थिए । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २०७७ माघ १२ गते पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्न गएका बेला सुनको जलहरी निर्माणको विषयले प्रवेश पाएको हो । उनले कोषले राखेको आगन्तुक पुस्तिकामा ‘आज श्रीपशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो । स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पुरा गर्न अपुग हुने रकम ३० करोड नेपाल सरकारको तर्फबाट तत्काल दिइँने छ । आगामी महाशिवरात्रीसम्ममा सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु’ लेखेका छन् । पूर्व प्रधानमन्त्री ओलीको भ्रमणको दुईदिनपछि माघ १४ गते कोषका अध्यक्ष समेत रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको कोषको सञ्चालक परिषद्को बैठकले जलहरी निर्माण गर्ने निर्णय गरेको थियो। सोही बैठकले जलहरी निर्माण गर्ने निर्णय गरेको थियो । २०७८ फागुन ११ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेकी थिइन्।  

कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

काठमाडौँ।प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश भएको छ। सङ्‍घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस  समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन प्रसाद पोखरेलले प्रतिवेदन तयारी सम्बन्धमा संक्षिप्‍त जानकारी सहित सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार आयोजित उक्त कार्यक्रममा नेपाल सरकार मुख्य सचिवज्यू, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक  तथा सदस्यहरूका साथै विषयगत समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रतिवेदन ग्रहण पश्‍चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्‍बाट निष्कर्षमा पुर्‍याउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारीमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर ५२ वर्षीय स्थानीय हर्कबहादुर थापाको मृत्यु भएको हो ।  अर्जुनचौपारी गाउँपालिका– ६ भेडाबारीस्थित झाक्रिस्थानमा लत्रिएको बिजुलीको तारमाथि घोप्टो परेको अवस्थामा थापा मृत भेटिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार महासंघको महाधिवेशन वैशाख २१ र २२ गते लुम्बिनीमा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन आगामी २०८१ वैशाख २१ र २२ गते हुने भएको छ।   बुधबार बसेको महासंघ केन्द्रीय समितिको बैठकले नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गर्ने निर्णय गरेको छ।   बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ। त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन गरेको छ। अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरिएको छ। बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ। सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ तय भएको छ । सोअनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ। जसअनुसार कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, वाग्मती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय भएको छ। केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्यहरू नै महाधिवेशनमा सहभागी हुने नेपाल पत्रकार महासंघको विधानले व्यवस्था गरेको छ। प्रदेश तथा शाखा समितिको अधिवेशन र केन्द्रीय महाधिवेशनमा सांगठनिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल हुनेछ। बैठकले यस वर्षको महाधिवेशनलाई विश्वव्यापी रुपमा पत्रकार तथा सञ्चार क्षेत्रमा देखिएको संकटका विषयमा छलफल गर्ने र त्यस निष्कर्षलाई लागू गर्न केन्द्रित गर्ने प्रस्ताव गरिएको महासचिव रोसन पुरीले जानकारी दिए ।

जब हजार जनाले पानीको मुहान खोल्न थाले

काठमाडौं । लगाएको चैते धानको खेतमा धाँजा फाट्न थाल्यो । मकै पहेंलो हुँदै सुक्न थाले । चिसापानी हुँदै कर्णालीमा पानी त बगिरहेको छ तर स्थानीय किसानका लागि त्यो विरबलको खिचडी जस्तै भयो । किसानसँग दुई वटा विकल्प थिए । एउटा आकाशबाट पानी आउला र आफ्नो वाली सप्रेला भनेर आश गर्नु, अर्को चिसापानीबाट कर्णाली बग्दै गरेको पानी ल्याउनु । बाली सुक्न खोज्दै थियो । किसान आकाशतिर फर्किए । तत्काल खेत भिज्नेगरी पानी आउने सम्भावना देखिएन । त्यसपछि सुरु भयो बुढीकुलोमा पानी ल्याउने कुरा । किसानका समस्या साझा थियो । त्यसैले जुट्न समय लागेन । स्थानीय दयाराम बैद्य भन्छन्, ‘हामी २० जना भएर गयौं, अलिअलि पानी खोल्यौं ।’ २० जनाले पानी कुलोमा पु¥याउन कठिन थियो । तर समस्या त सबै किसानको साझा थियो । पटक पटक योजना परेको र काम हुने नगरेको यो कुलोमा पानी ल्याउन आफै जानुपर्ने सबै किसानको सोच थियो । २० जना गएर काम सुरु गरेको थाहा पाएपछि होस्टेमा हैंसे गर्न पानी लगाउनुपर्ने सबै किसान जम्मा हुने निधो गरे ।  चैत्र छ गते सल्लाह भयो । अर्को दिन अर्थात सात गते विहान ८ बजे बुढीकुलोमा पानी ल्याउनका लागि सबै जम्मा हुने । धेरै खबर गर्नै परेन । किनभने पानी ल्याउनु र खेतमा सिंचाई गर्नु मुख्य कुरा थियो । बुढीकुलोमा पानी लिन जनकनगर, बगहिपुर, भठेरा, सर्खोल, बनखेत, गोला र अन्य गाउँका किसानहरु आफै जम्मा भए । हामीले फोन गर्दा दयाराम बैद्य कुलोमा पानी ल्याउन ढुङ्गो पल्टाउँदै थिए । ‘हामी करिब हजार जना जति जम्मा भएका छौं । अब बुढिकुलोमा पानी जान्छ ।’ उनले सुनाए ।  कुलोमा पानी भएपछि बुढीकुलोबाट सिंचाई हुने करिब साढे दश हजार हेक्टर क्षेत्रफल सहित अन्य तीन कुलो पनि मिलाएर छ गाउँका हजार बढि परिवारलाई राहत हुने बैद्यले सुनाए । हजार जनाको श्रममा अहिले बनाएको कुलोले यस पटकको हिउँदे बाली जोगिने भयो । बैद्य ढुक्क छन्, ‘बैशाखसम्म कुलोमा पानी पुगेपछि यसपटकको बाली जोगिनेछ ।’ त्यसो त वर्षात्को समयमा मुहान फेरि उस्तै हुनेछ । हजार जनाको अहिलेको लगानी क्षणभरमै बगर हुनेछ । यो पनि किसानलाई थाहा नभएको होइन । तर यसपटककै बाली जोगाउन कुलोमा पानी ल्याउन मुहान बनाउनुको विकल्प थिएन ।  ‘स्थायी संरचना बनाउन पालिका तथा सरकारबाट पहल भएको छैन त ?’ प्रश्न खस्न नभ्याउँदै बैद्यले लामै गुनासो गरे, ‘पहल भएको भन्छन्, काम भएको छैन । आश्वासन मात्रै पाइन्छ । मन्त्री आएपनि हेरेर मात्रै गए । अहिलेसम्म केहि भएन । मुहान नै नभएपछि के गर्ने ? तलतिर मात्रै आयोजनाको काम भनेर भएन । ११ गाविसलाई काम लाग्ने भनेको छ, भजाई खाने बाटो मात्रै भयो ।’ मुहान बनाउनका लागि दुई करोड आएको भन्ने सुनेका किसानहरु त्यो रकम खर्च गराउन पनि पटक पटक ताकेता नगरेका होइनन् । बैद्य भन्छन्, ‘एकले अर्कोलाई देखाउँदै आफु पन्छिने काम मात्रै भयो । सीडीयोले अर्कोलाई देखाउँछ, अर्कोले सीडीयोलाई ।’   यो वर्ष खोला बढि डाइभर्ट भएकाले खोलामा पानी कम भएको उनले सुनाए । त्यसैले पनि यस वर्ष बढि मिहनेत गर्नुपरेको छ । बुढिकुलोको मुहान बनाउनका लागि कर्णाली सिंचाई आयोजनाले अग्रसरता देखाउनुपर्नेमा आयोजना यो विषयमा पनि गम्भिर नबनेको स्थानीय किसानको आरोप छ ।  गेरुवा गाउँपालिकाले भने मुहानको काम सक्नका लागि बजेट सहितको हेर्ने काम प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको बताए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले भने, ‘दुई करोड सहितका सबै यो आयोजनाको काम हेर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीले लिनुभएको हो ।’   गेरुवा गाउँपालिका वडा नम्बर १, बर्दियामा रहेको यो कुलोको मुहान बनाउनका लागि प्रमुख जिल्ला अधिकारीले फेरि आयोजना प्रमुखलाई जिम्मा दिएको किसान बनाउँछन् । प्रमुख जिल्ला अधिकारी परिवर्तन भएपछि पनि काम अघि बढाउन समस्या भएको स्थानीय बताउँछन् । गएको पुस ८ गते कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई यसै विषयमा सोध्न खोज्दा सम्पर्कमा आएनन् ।

व्यवसायी त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ :  प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभइकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए। “देशमा लगानीको वातावरण बनेको छ । व्यापार व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानून पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।” प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटो छिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।” देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनका लागि हवाइमार्ग अहिले पहिलेभन्दा सहज भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब त्यसलाई पनि विस्तार गरेर झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीबाट नियमित उडानका लागि सरकारले अवश्य पनि वातावरण बनाइने बताए। अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता रहेको आफूलाई जानकारी भएको उल्लेख प्रधानमन्त्री प्रचण्डले हवाई सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाए ।

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबार, निर्वाचन मंगलबार

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने भएको छ । आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो । संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’ यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । सोही अनुसार आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची फाइनल गर्नेछ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अधयक्षको निर्वाचन हुन लागेको हो ।

जसपाका तीन मन्त्रीले आज शपथ लिदै

काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टीको बिहीबार बिहान बसेको कार्यकारिणी समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो।  एमाले-माओवादी-रास्वपा र जसपा मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका हुन्।   यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या, नवलकिशोर शाह वन तथा वातावरण, स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय भएको जसपाका एक नेताले बताए। यी मन्त्रीहरुले आज शपथ लिदैछन् । समय प्रतिनिधिसभाको बैठक कति लम्बिनेछ सो अनुसार तय हुनेछ । गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपासँगै सरकारमा सहभागी हुने दलको संख्या पाँच पुगेको छ।  

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ । यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बैठकको शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै छन् ।

संसद् भवन परिसर छिरेर पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसर छिरेर पक्राउ परेका सबै लघुवित्त ऋणीहरू रिहा भएका छन् । पक्राउ परेका ४९ लघुवित्त ऋणीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत शुक्रबार संसद बैठक चलिरहेका बेला लघुवित्त ऋणीहरूले प्रहरीलाई धकेल्दै संसद भवनभित्र प्रवेश गर्न खोजेका कारण सुरक्षार्थ ४९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । यही प्रकरणमा सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवनको सुरक्षार्थ खटिएका प्रहरीहरुलाई त्यहाँबाट अन्यत्र सारिएको हो ।

सितापाइलामा श्रीमती र दुई बालिकाको हत्यापछि आत्महत्या गरेकाे खुलासा !

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको खुलासा भएको छ । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीको भनाइ छ ।  प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी पूर्णिमा कुमारी चन्दले  श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजुलाई फेला परेको जानकारी दिइन् । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार घटान बिहान साढे ७ बजे घटेको हो ।

नामिबियाविरूद्ध नेपाल १६८ रनमा अलआउट

काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७।१ ओभरमा अलआउट भयो।  नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन् । कप्तान रोहित पौडेल सहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्।  ६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए। अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे। उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए। सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो। नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो। खेलमा कप्तान रोहित पौडेल २४ ओभरमा ९ बल खेल्दा शून्यमा आउट भए। त्यसपछि कुशल मल्लले  २६ रन जोड्दा  नेपालको रन केही बढेको थियो। दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा आउट भए। ३५औं ‌ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए। यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे।  बलिङमा स्कोल्जले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३२ रन खर्चिए। जान निकोलले पनि ४ विकेट लिए। उनले ६.१ ओभरमा ३४ रन खर्चिए। यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। अब नेपालले फागुन १३ गते पुनः नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।

गजल

केशव लम्साल घमण्ड किन आखिर भुमरिमा पर्ने नै हो ओइलिएको फूलझैँ एक दिन मर्ने नै हो । धन, बुद्धि, रवाफ तिम्रो सुकि जाला उमेरसँगै थमाइदिन्छ भार शिरमा जसो भन्यो गर्ने नै हो । मुजा पर्लान् निधारमा, फुलि जाला काला केश मिलेको त्यो दन्तलहर पात जस्तै झर्ने नै हो । भो छोड रिस राग मोह त्यो जिन्दगीको त्यही मोहमा भुल्दै गर्दा काल आई हर्ने नै हो ।

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं ।  सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । सिआईबी दीपक थापले पक्राउ पुर्जी जारी भएको बताए । पक्राउ पुर्जी अनुमतिका लागि कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया, डीएसपी बसन्तकुमार शर्मा अदालत पुगेका थिए । उनीहरु पक्राउ पुर्जी लिएर अदालत परिसरबाट बाहिरिइसकेका छन् । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।  प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले थुनामा छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी कास्की लगिएको थियो ।

देशका विभिन्न स्थानमा वर्षा जारी, अझै कायम रहने

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा भएको छ।  मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा (५० मिमिभन्दा बढी) र केही स्थानमा धेरै भारी वर्षा (१०० मिमिभन्दा बढी) भएको छ।  यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षा (२०० मिमिभन्दा बढी) पनि भएको महाशाखाले जनाएको छ।  हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र आज पनि वर्षाको क्रम जारी रहने भएकाले सतर्क रहन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।