नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् ।

पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ ।

उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् ।

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको हत्या

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ ।  होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।  मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।  घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जुम्लामा हिउँ पर्यो : किसानले लगाएको हिउँदे बालीनालीलाई राहत

जुम्ला । आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको स्थानीयहरुले बताएका छन् । तर हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । निजी विद्यालयमा पठनपाठन बन्द भएको छ । अहिले लगातार हिउँ परेको छ । सरकारी कार्यालय खुलेपनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ । जिल्लाको तापक्रम ‘माइनस’ मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् । हिमपातका कारण हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका एक कृषि प्राविधिकले बताए । स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको उनको भनाइ छ । हिमपातपछि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ

व्यास अल्ट्रा म्यारथनको उपाधि आर्मीका खड्कालाई

दमौली, १६ माघ । व्यास नगरपालिकाले मंगलबार आयोजना गरेको सातौं अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका जुनेश खड्काले जितेका छन् । व्यास नगरपालिका - ५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित ४४ किलोमिटर दुरी तीन घण्टा १८ सेकेन्डमा पार गर्दै खड्का प्रथम भए। म्याराथनमा बैतडीका मोहनदेव जोशीले ३ घण्टा दुई मिनेटमा ३३ सेकेन्डमा पुरा गरी द्धितीय भए । काठमाडौं निवासी निवासी करण रावल तृतीय भए। रावलले सो दूरी तीन घण्टा १० मिनेट १० सेकेन्डमा पार गरे। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वाले तीन घण्टा १७ मिनेट २४ सेकेन्डमा पुरा गरी चौंथो र त्रिभुवन आर्मीकै प्रताव खड्काले तीन घण्टा १९ मिनेटमा पार गरी पाँचौ भए। म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैँचे - चापाघाट - अनशन चौतारी - सफासडक-भोर्लेटार चोक - बैरेनी - दुम्सी - कलेस्ती - पाथ्रा - सत्रसय - बानियाँ डिही - बर्लाची - सोतीवेशी - बगुवा रिस्ती - बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो। दुई विदेशी सहित एक सय १७ जना धावकको सहभागिता रहेको थियो । धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको थियो । व्यास नगरपालिका ४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका १० पिजनहिल खहरे, व्यास नगरपालिका ७ पाथ्रा मन्दिर, व्यास नगरपालिका ७ पातल सत्रसय, व्यास नगरपालिका ८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका ८ सुनपोखरी, व्यास नगरपालिका ८ गाडापानी र व्यास नगरपालिका ८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको थियो। प्रथम पुरस्कार नगद रु.८५ हजार ८०, द्वितीय पुरस्कार रु. ६४ हजार ८०, तृतीय पुरस्कार रु. ५५ हजार ८० र ५ जनालाई सान्त्वना पुरस्कार पाँच जनालाई रु. १६ हजार ८० प्रदान गरिने नगर खेलुकुद विकास समितिका सदस्य सचिव नविन पराजुलीले जानकारी दिए। ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ गरिएको प्रतियोगिताको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्रीले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको स्थानको पर्यटन बढवा दिनको लागि यस्तो प्रतियोगिताले टेवा पुग्ने बताए । पहिलो पटक यस ठाउँमा आउँदा यहाँको दृश्यले मन्त्रमुग्ध बनाएको भन्दै मन्त्री आचार्यले आगामी दिनमा यस ठाउँले थप प्रगती गर्ने बताए। व्यास नगरपालिकाको पर्यटकीय क्षेत्र, विभिन्न जातका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कारको लगायत प्रचार प्रसार र प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको नगर प्रमुख न्यौपानेले बताए। एक वर्ष बिराएर प्रतियोगिता गरिने उनले जानकारी दिए।

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

पासवानका परिवारलाई साढे ७ लाख क्षतिपूर्ति र ५१ हजार किरिया खर्च दिने सहमति

काठमाडौंः सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले कामबाट निकालेपछि आत्महत्या गरेकी अनितादेवी पासवानका परिवारलाई उद्योगले साढे सात लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । १३ वर्षदेखि उद्योगमा कार्यरत गोलबजार–९ गोविन्दपुरकी ४७ वर्षीया पासवानलाई उद्योगले २४ मंसिरमा कामबाट निष्कासन गरेको थियो । उद्योगले कामबाट निकालेको पीडामा उनले सोही दिन आत्महत्या गरेकी थिइन् । उनको आत्महत्यापछि पीडित परिवार र श्रमिकले क्षतिपूर्तिको मागसहित उद्योगमा आन्दोलन गर्दै आएका थिए । आइतबार स्थानीय प्रशासन, मजदुर संगठन र उद्योगका प्रतिनिधिसहितको छलफलमा मृतक परिवारलाई सात लाख क्षतिपूर्ति र किरिया खर्चबापत ५१ हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । उद्योग व्यवस्थापनले मृतकसहितका श्रमिकलाई सोधेको स्पष्टीकरण र कारबाहीका विषयमा छानबिन गर्न नौ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । समितिमा उद्योग व्यवस्थापनबाट तीनजना, श्रमिक संगठनबाट चारजना र स्थानीय समाजबाट दुईजना सहभागी रहेका गोलबजार–९ का वडाध्यक्ष रामपुकार कामतीले बताए । त्रिपक्षीय छलफलले उद्योग प्रशासनले ६ मंसिरमा सोधेको स्पष्टीकरणपछि कामबाट निकालिएका श्रमिकमाथिको कारबाही फिर्ता लिई मृतक अनिताको सगोल परिवारबाट सीपअनुसार एकजनालाई उद्योगको नियमानुसार काम दिने निर्णय गरेको उद्योग व्यवस्थापनले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

३९ वर्षे यी महिलाले जिउँदा ३८ सन्तान जन्माइसकिन्, एक्लै गर्छिन् हेरचाह !

एजेन्सी । युगान्डाकी ३९ वर्षे मरियम नबातान्जीले जिउँदै ३८ सन्तान जन्माइसकिन् । उनको विवाह १२ वर्षको उमेरमा भएको थियो । एक सालपछि नै उनले जुम्ल्याहा बच्चा जन्माइन् । त्यसबेलै डाक्टरलाई देखाउँदा थाहा भयो, उनको अन्डाशय असामान्य रुपले ठूलो छ, र गर्भनिरोधक औषधि उनका लागि घातक हुन सक्छ । त्यतिखेर नबातान्जीले सोचेकै थिइनन् कि शरीरको यो सानो विकृतिले उनलाई ३८ बच्चाको बोझ थोपरिदेला । दुई वर्षअघि पतिले पनि छोडिदिएपछि सबै सन्तानको हेरचाह नबातान्जीले एक्लै गर्दै छिन् । नबातान्जी आफ्ना सन्तानसँगै राजधानी कम्पालाबाट ५१ किलोमिटर परको गाउँमा बस्छिन् । अफ्रिकामा उनको परिवार सबैभन्दा ठूलो परिवार हो । १५ गर्भबाट जन्मेका ३८ जीवित सन्तानमध्ये ६ सेट जुम्ल्याहा छन् । चारपटक उनले तीन–तीन बच्चा जन्माइन् भने पाँचपटक चार–चार बच्चालाई जन्म दिइन् । एकपटक भने नबातान्जीका ६ सन्तान जन्मिए । तर, यीमध्ये कोही जीवित बसेनन् । पछिल्लोपटक अढाइ वर्षपहिले गर्भवती हुँदा उनको गर्भमा ६ सन्तान थिए । एउटाको गर्भमै मृत्यु भयो, जसका कारण कोही पनि जीवित जन्मन सकेनन् । यो गिनिज बुकको विश्व रेकर्डभन्दा भने निकै कम हो । १८औँ शताब्दीमा एक रसियाली महिलाले २७ गर्भबाट ६९ बच्चा जन्माएको रेकर्ड छ । बातान्जीका पति सधैँजसो घरबाहिर रहन्थे । उनले पत्नीको कहिल्यै राम्रो हेरचाह गरेनन्, उल्टै यातना दिइरहे । नबातान्जीको घरमा पतिको नाम अभिशापको रुपमा लिइन्छ । जीवनमा अनेकौँ हन्डर खानुपरेको नबातान्जी बताउँछिन् । वास्तवमा उनको यति धेरै सम्तान हुनुको कारण पनि त्यो अँध्यारो अतीत नै हो । जन्मेको तीन दिनमै आमाले उनलाई छोडेर गइन् । बाबाले अर्को बिहे गरे । सौतेनी आमाले सबै बच्चालाई काँचको गिलाँस तोडेर खानामा मिसाएर खान दिइन् । उनका सबै भाइबहिनी मरे, उनको भने बल्लतल्ल ज्यान जोगियो । सात वर्षे नबातान्जी घरबाट भागेर आफन्तको शरणमा पुगिन् । उनले ६ सन्तान जन्माएर फेरि आफ्नो परिवार बनाउने संकल्प गरिन् । तर, अन्डाशयको विकृतिले उनलाई सोचेभन्दा ६ गुना बढी सन्तान दिलायो । अहिले उनको दिनचर्या नै परिवार सम्हाल्नु हो । पैसा कमाउनेदेखि बच्चाको हेरचाह गर्ने उनी नै हुन् । पैसा जुटाउन उनी हेयर ड्रेसिङदेखि कबाडी सामान बेच्नेसम्मका काम गर्छिन् । नबातान्जीको सबैभन्दा ठूलो सन्तान २३ वर्षको भयो । जेठो छोरा किबुका आफ्नो आमालाई हरसम्भव मद्दत गर्छन् । आर्थिक संकटका कारण उनले माध्यमिक तहभन्दा माथि पढ्न पाएनन् ।

प्राचीन तथा ऐतिहासिक मुद्राको बहुआयामीक महत्वको छ : मन्त्री तामाङ

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री हित बहादुर तामाङले नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा पुरातात्विक सम्पदा राष्ट्रियतासँग सम्बन्धित बहुआयामिक महत्वको भएको बताएका छन् । नेपाल मुद्रा संकलक संघद्धारा पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको सहकार्यमा आयोजित बाल संकलक लक्ष्यजीत मल्लद्धारा संकलित नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा तथा  विश्व रेकर्ड होल्डर दिपेन्द्र रत्न शाक्यको १९३ मुलुकको सिक्काहरुको प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री तामाङले बुद्धकालिन देखि लिच्छवि काल, राजतन्त्रीय कालदेखि गणतन्त्र काल सम्मको मुद्रा संकलन गरेर प्रदर्शनी गर्न सफल बाल संकलकद्धयको प्रशंशा समेत गरे । यो महत्वपूर्ण कार्य भएको भन्दै यस्तो कार्य बिरलै मान्छेले मात्र गर्न सक्ने मन्त्री तामाङको भनाई छ ।  देशी विदेशी सबैले अहिले सम्म छापेका मुद्राहरु संकलन उत्कृष्ट कार्य भएको चर्चा गर्दै मन्त्री तामाङले यस्ता कार्यहरुले विदेशीहरु माझ नेपालको पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न पनि मद्धत पुगेको र यस्ता कार्यक्रमहरु निरन्तर गर्न उहाँले सबैलाई आग्रह गरे ।

ओलीसँगको भेटबारे देउवाले भने -'सरकार परिर्वतनबारे छलफल भएको होइन्'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन्।  देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको जानकारी गराएका थिए । देउवालाई उदृत गर्दै एक नेताले भने, ‘शीर्ष नेताहरूबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक हो । तर, उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ भन्नुभयो।’ उनले सरकार परिवर्तनको बिषयमा छलफल नभएको बैठकमा बताए ।

आधारभूत तहमा भर्नादर ९७.१ र माध्यमिकमा ९७.९ प्रतिशत

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत पुगेको जानकारी दिएका छन्। आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो जानकारी दिएका हुन्। यस्तै,उनले माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको पनि जानकारी दिए।  उनले भने,‘शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७।१ प्रतिशत र माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको छ।’

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् । बुधबारदेखि सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी हुन् ।  जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरूको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन् । “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन्, “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरूपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।” पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको उनको भनाइ छ । “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्त्वपूर्ण छ, उहाँहरूले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ ।” उनले जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्ने बताइन्  । रासस

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी प्रदेश, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतय सफा रहने छ । आज सूर्योदय बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।

चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको  प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए। गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो। उनका दुई छोरा र एक छोरी छन्। मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।

अशोक राई नेतृत्वको जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो । आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणपत्र दिएको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको ब्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । 

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आज र भोलि गरी २ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । महाधिवेशन राष्ट्रिय सभागृहमा जारी छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन्। केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ। केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ। त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ। यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने महासंघले जनाएको छ। निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धिकरण समिति र संगठन समितिले टुंगो लगाउने बताइएको छ।

नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौतामा नवीकरण भएको छ । सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि गरिएको छ । भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने गरी सम्झौता भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिनेछ ।