एनआइसी एसिया बैंक कामु सीइओमा न्यौपाने नियुक्त

काठमाडौं, चैत्र २। एनआइसी एसिया बैंकको सञ्चालक समितिले कामु सीइओमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सीइओ न्यौपानेलाई नियुक्त गरेको हो । यस अघि न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए।

त्यसैगरी, समिति बैठकले लक्ष्मण रिसालले गरेको राजीनामा स्वीकृत गरेको छ। रिसालले कार्यकाल बाँकी छँदै राजीनामा गरेका थिए।

‘पदमुक्त’ प्रधानन्यायाधिश पराजुलीले बुझाए राष्ट्रपतिलाई राजीनामा

काठमाडौं । न्याय परिषद्का सचिवले पत्र लेख्दै उमेर हदका कारण पदमुक्त भएको जानकारी दिएको भोलिपल्ट प्रधानन्यायाधिश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका छन् । पराजुलीले बिहान राष्ट्रपति भण्डारीलाई भेटेर राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एभेरष्टदेनिकलाई जानकारी दिए । पराजुलीले राजीनामा नदिँदा अदालतमा अन्यौल र विवाद बढ्न सक्ने आशंका भइरहेका बेला उनले राजीनामा दिएका हुन् । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले पराजुलीलाई पदमुक्त भएको पत्र काटेपछि आजदेखि वरिष्ठ न्यायाधीश दिपकराज जोशीले कायममुकायम प्रधानन्यायाधिशको कार्यभार सम्हालेका छन् । हिजोसम्म आफू पदमा कायमै रहेको र सचिवले पत्र काट्न नपाउने जिकिर गरिरहेका पराजुलीले आज राजीनामा बुझाएका छन् । पराजुलीको राजीनामासँग अदालतमा देखिएको विवाद र अन्यौल साम्य हुने अनुमान गरिएको छ । फरक फरक जन्ममितिका कारण पराजुली प्रधानन्यायाधिश बनेदेखि नै विवादमा रहेका थिए । न्याय परिषद्का सचिवले सार्वजनिक गरेको पत्रमा उमेर हदका कारण पराजुली गत साउनमै पदमुक्त हुनुपर्ने उल्लेख छ ।

नेपाल र पपुवा न्युगिनीबीचको खेल शुरू, टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं, चैत्र १ । एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पपुवा न्युगिनी ब्याटिङ गरिरहेको छ। जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबको मैदानमा खेल भइरहेको छ । खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ। सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ। त्यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ। ४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ। विश्वकप छनोट खेलमा नेपालले तीनमा हार र एकमा जित हात पारेको थियो । जिम्बावे, अफगानिस्तान र स्कटल्याण्डसँग पराजय व्यहोेरेको नेपालले हङकङमाथि भने पाँच विकेटको जित निकालेको थियो ।

जथाभावी पार्किङ गरिएका बसको साँचो नगरपालिकाद्वारा कब्जा

खोटाङ, चैत १ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ । बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका छवटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो । नगरपालिका प्रवेश गर्ने सबै बस तथा जिप सम्बन्धित बसपार्क तथा जिप पार्कमा लगेर राख्न पटक पटक नगरपालिकाले गरेको अनुरोधलाई अटेर गरेपछि साँचो नियन्त्रणमा लिइएको नगर प्रमुख दीपनारायण रिजालले बताए । ‘हामीले बसपार्कसम्म पुग्ने सडक पनि बनाएका छौँ,’ उनले भने, ‘विभिन्न बहाना बनाएर सडकमै पार्किङ गर्ने बस तथा जिपलाई कानूनी कारवाही गर्न थालेका हौँ ।’ जिल्लामा सञ्चालित बस जथाभावी पार्किङ गरेर राखेको स्थानीयवासीले दिएको जानकारीका आधारमा नगर प्रमुख रिजाल आफैँ सुरक्षाकर्मीसहित जथाभावी पार्किङ गरेर राखिएको स्थलमा पुगेका थिए । यातायात व्यवसायीले सडक बीचमै पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुलाई समेत असर गर्ने गरेको छ । यातायात व्यवसायीले भने बसपार्कसम्म पुग्ने सडक राम्रो नभएका कारण बाध्य भएर सडकमै पार्किङ गर्नुपरेको बताएका छन् । ‘नगरपालिकाले गरेको अनुरोधलाई हामीले अटेर गरेका हैनौँ,’ मध्यपहाडी यातायात व्यवसायी संघका खोटाङ प्रमुख धनीराम राईले भने, ‘बसपार्कसम्म पुग्ने सडक राम्रो नभएकै कारण बाध्य भएर सडक बीचमै पार्किङ गरेका हौँ । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’ सदरमुकाम दिक्तेल नजिक दुईवटा बसपार्क भएपनि यातायात व्यवसायीले उक्त बसपार्कमा नलगी सडकबीचमै बस तथा जिप पार्किङ गर्दै आएका छन् । १० वर्षअघिदेखि यातायात सञ्चालन हुँदै आएको जिल्लामा करिब ३०० को हाराहारीमा बस, जिप, ट्रक र ट्र्याक्टर सञ्चालनमा रहेका छन् । (रासस)

सुटिङ स्पटमै सुपरस्टार अमिताभ बच्चन अस्वस्थ

काठमाडौं, फागुन २९। बलिउड क्षेत्रका सुपरस्टार अमिताभ बच्चन अस्वस्थ भएका छन् । आफ्नो ब्लगमार्फत अमिताभले स्वास्थ्यमा समस्या आएका उल्लेख गरेका छन् । फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ क्रममा अमिताभको स्वास्थ्यमा समस्या आएपछि सुटिङ स्थलमै चिकित्सककोटोली पुगेको बताइएको छ । अमिताभको स्वास्थ्य अवस्थामा सुधार आएमा उनी फेरि सुटिङ सेटमा फर्कनेछन्। अमिताभको चेकजाँचका लागि चिकित्सकको एक टोली मुम्बर्इबाट सुटिङ स्थल जोधपुर पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पूर्णकालीन कार्यकर्ताका रुपमा सक्रिय र अनुशासित भएर काम गर्नुहोला : सभामुख महरा

काठमाडौं, फागुन २८ । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सचिवालयका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो । सभामुख महराले भन्नुभयो, “मलाई तपाईंहरुले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ, राज्यको पूर्णकालीन कार्यकर्ताका रुपमा तपाईंहरुले सक्रिय भएर काम गर्नुहोस् ।” सचिवालयका कर्मचारीलाई दिइने प्रोत्साहन भत्तालाई यथावत राख्न आफूले पहल गर्ने बताउँदै उहाँले भन्नुभयो, “म अर्थमन्त्री भएको बेला तपाईंहरुलाई ८० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पारित गरेको थिएँ, अहिले त्यसमा केही गडबड भएको छ भन्ने सुनेको छु, त्यसलाई कार्यान्वयन गर्नेछु ।” सभामुख महराले राजनीतिक आस्थाका आधारमा कर्मचारीमाथि कुनै भेदभाव नगर्ने स्पष्ट पार्दै सचिवालयको सफलताका लागि भने सबैको एउटै आस्था हुनुपर्ने बताउनुभयो । राम्रो काम गर्नेहरुका लागि आफू सजिलो मान्छे र नराम्रो काम गर्नेका लागि अप्ठ्यारो मान्छे भएको बताउँदै उहाँले संसद्को आफ्नै भवन नुहँदा भाडामा बस्नुपरेको हुँदा नयाँ भवन बनाउने विषयलाई आफूले प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।

म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी, आज राती दुई खेल हुने

काठमाडौं, फागुन २७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई २-१ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल मार्कस रास्फोर्डले गरे । म्यान्चेस्टरकै एरिक बेलीलीे एक आत्माघाती गोल गरेपछि लिभरपुलले हार अन्तर कम गर्‍यो । इङ्लिस प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २-१ ले हरायो । चेल्सीका लागि विलियनले एक गोल गर्दा क्रिष्टल प्यालेसका मार्टिन केलीले एक आत्माघाती गोल गरे । प्रिमियर लिगकै अन्य खेलमा एभर्टनले ब्राईटनलाई २-० ले हराउँदा न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ३-० ले, लेष्टर सिटीले वेष्ट ब्रोमलाई ४-१ ले तथा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३-० ले हराएको छ । हडर्सफिल्ड टाउन र स्वान्सी सिटीले गोलरहित बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज आर्सनलले वाट्फोर्डसँग खेल्दा बर्नमाउथ र टोटनह्याम हट्सपर भिड्नेछन् ।

क्याम्पसको स्तरोन्नतिका लागि श्रीमद् भागवत सप्ताह

सिन्धुपाल्चोक, फागुन २४ । सिन्धुपाल्चोकको चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद् भागवत सप्ताह आयोजना गरिएको छ । भागवत धर्म संरक्षण समितिको सहयोगमा मंगलबारबाट सुरु भएको सप्ताहबाट संकलित रकमबाट क्याम्पसमा स्नातकोत्तर तह थप, प्राविधिक शिक्षा, छात्रावासको व्यवस्थालगायतको काम गर्ने बताइएको छ । फागुन ३० गतेसम्म चल्ने सप्ताहबाट संकलित रकमले क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनको पूर्वाधार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले चौतारालाई शैक्षिक हबको रुपमा विकास गरिने बताए । क्याम्पसले २०६६ सालमा पनि यस्तै सप्ताह लगाई संकलित रकमबाट जग्गा खरीद गरी आफ्नै भवन बनाइसकेको छ ।

झापा गोल्डकप : उद्घाटन खेलमा झापा–११ र सुदूरपश्चिम–११ भिड्दै

झापा, फागुन १९ । झापा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम झापा–११ फुटबल क्लब र सुदूरपश्चिम–११ फुटबल क्लब कैलालीबीच भिड्दैछन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट हुने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए। जिल्लाको व्यवसायिक फुटबलको विकास तथा फुटबल गतिविधिलाई विस्तार गर्न प्रतियोगतालाई निरन्तरता दिँदै आएको आयोजकले बताएको छ। फागुन २८ सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी छन्। सहभागी टिममा आयोजक झापा–११, थ्री स्टार क्बल, मनाङ मस्र्यादी क्बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्बल, सशस्त्र प्रहरीका एपीएफ क्लब, सहारा क्लब, रुपन्देही– ११, सुदूरपश्चिम–११ र भारतका सिक्किमको युनाइटेड फुटबल क्लब रहेको आजोयकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई घोषितले २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट हुने खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। यस्तै, लाइफटाइम एचिभेमण्ट अवार्ड स्वरुप झापा–११ का एक जना खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

राष्ट्रपति निर्वाचनका बेला सबै प्रदेश मन्त्री र सांसदविहीन हुने

काठमाडौं । भर्खरै प्रदेश सरकार गठन भएर काम सञ्चालन हुन थालेको बेला आगामी एक महिनाभित्र सबै प्रदेशहरू कम्तीमा दुई दिन मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यविहीन हुने भएका छन्। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजधानी काठमाण्डूमा नै गर्ने निर्णय गरेकाले यस्तो अवस्था आउन लागेको हो। संघीय संसद् र सबै प्रदेशसभाका सदस्यहरू भिन्न मितिमा गरिने राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचनमा मतदाता हुन्छन्। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिको निर्वाचनको परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिनुपर्छ। उपराष्ट्रपतिको निर्वाचनमा पनि मतदान गर्न सात वटै प्रदेशसभाका सदस्यहरू पुनस् राजधानी आउनेछन्। असन्तुष्टि ती दुई पदका लागि काठमाण्ड‍ूमै मतदान गराउने आयोगको निर्णयप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। छोटो समयमै दुई पटक मतदान गर्न काठमाण्डू जाँदा सांसदहरूलाई आर्थिक भार पनि पर्ने बताउँदै प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र शाहीले भने, ‘प्रदेशको व्यवस्थापनका लागि रातदिन काम गर्नुपर्ने बेला सबैले प्रदेश नै छोडेर जानु राम्रो होइन।’ उनका अनुसार प्रदेशमै मतदान गरेर केन्द्रमा पठाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ। शाहीको जस्तै धारणा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि छ। उनले भने, ‘कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ।’ राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रदेशमै गरेको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको हालको योजनामा परिवर्तनको सम्भावना नरहेको जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रदेशमै निर्वाचन गर्ने बारेमा छलफल भएको हो। तर मतदाताको संख्या न्यून भएका कारण सुरक्षा र प्रविधिका हिसाबले प्रदेशमा निर्वाचन गर्नु अव्यावहारिक हुने भएकाले केन्द्रमै गर्न लागिएको हो।’ फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ भने त्यसको एक सातामै उपराष्ट्रपतिको पनि निर्वाचन हुने बताइएको छ।बीबीसी

सन्तको हत्या

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा सन्तहरूबीच झगडा हुँदा एक सन्तको आज मृत्यु भएको छ । साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । हत्याको कारण खुलेको छैन । गिरीको हत्यापछि चौधरी फरार छन् ।

नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज ओमानसँग भएको दोस्रो खेलमा ६ विकेटले पराजित भएको छ । कमजोर ब्याटिङ गरेको नेपाललाई ओमानले ६ विकेटले हराएको हो। नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य ओमानले ३५.१ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो । ओमानका लागि अकिस इलायसले सबैभन्दा बढी ४६ रनको योगदान दिए। यस्तै बैभव वाटेगावङ्करले नटआउट ३७ र सुल्तान अहमेदले नटआउट १६ रनको योगदान गरे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा २९ रन दिए। बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट लिए पनि टोलीको जितका लागि प्रयाप्त भएन । सोमपालले ओपनिङ ब्याट्सम्यान स्वपनिल खाडयेलाई १ रनमा एलबिडब्लूको धरापमा पारेर आक्रमक सुरुवात गरे भने सन्दीपले जितेन्दर सिंहलाई २४ रनमा खेलिरहँदा बोल्ड गरे। बसन्तले ४६ रन बनाएर खेलिरहेका अकिस इलयासलाई बोल्ड गरेका थिए। लगत्तै सन्दीपले खवार अलीलाई ११ रनमा बोल्ड गरे।  

प्रकाश दाहालको मृत्युमाथि सुनियोजित भ्रम छर्न खोजेकोमा आपत्ति, ‘प्रचण्डको बदनाम गर्न कुप्रचार’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि बिभिन्न कोणबाट भ्रम छर्ने काम भएको छ । पछिल्लो समयमा भारतीय जासुसी संस्था ‘र’ का प्रतिनिधिले प्रचण्डलाई धम्क्याएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित भएको थियो। प्रचण्ड सचिवालय श्रोतले भने उक्त समाचार अध्यक्ष प्रचण्डलाई बदनाम र तेजोबध गर्ने सुनियोजित उद्देश्यबाट सार्वजनिक भएको बताएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनुअघि एमालेसँग एकता नगर्न भन्दै प्रचण्डलाई धम्की दिएको आशयको समाचार एकता विरोधीहरुको षडयन्त्र भएको श्रोतले बतायो । “समाचारमा कम्तीमा विश्वास लाग्ने कुरा त हुनुपर्छ ?’ श्रोतले भन्यो, “बदनाम गर्न जे पायो त्यही लेख्ने र’ प्रचण्ड प्रधानमन्त्री भएको बेला र उनले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गरिरहेको बेला जहिले पनि यस्तै समाचार प्रकाशित हुने गरेका छन् । सोही क्रमको निरन्तरता नै अहिले प्रचण्डमाथि बिभिन्न कोणबाट हमला भइरहेको श्रोतको दावी छ । अचम्म त के छ भने हृदयघातबाट मृत्यु भएका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई समेत जोडेर समाचार सार्वजनिक भएपछि समाचार नियोजित भएको श्रोतले बतायो । “चर्चा पाउन, समाचार बिकाउन जे पनि लेखे हुने भो”, श्रोतले भन्यो, “र, का प्रतिनिधिसँग भेटेको या छलफल गरेको कुरा गोप्य श्रोत भन्दै मिडियाले लेख्छ, र, का प्रतिनिधिहरुलाई न हामीले भेट्छौं न भेटने आवश्यकता नै हुन्छ ।” प्रकाश दाहालसँग जोडिएको आम जनमानसको संवेदनालाई ‘क्यास’ गरेर समाचार बिकाउन र चर्चा बटुल्न अध्यक्ष प्रचण्डको बदनाम गरिएको माओवादीका एक शीर्ष नेताले बताए । “प्रकाश कमरेडको मृत्युका बारेमा चिकित्सकले नै आधिकारिक धारणा व्यक्त गरिसकेका छन् । षडयन्त्र भएको या नभएको विषयमा अध्यक्षले प्रष्ट पारिसकेका छन् ।’ उनले भने, “तर जबर्जस्ती षडयन्त्र भनेर त्यो पनि ‘र’ सँग जोडनु भ्रम छर्नुबाहेक अरु केही होइन ।” समाजवादी क्रान्तिको आधार तयार पार्ने सपना बोकेर नेकपा एमाले र अन्य शक्तिहरुसँग बृहत वाम एकताको अभियानको नेतृत्व लिइरहेकोमा अध्यक्ष प्रचण्डमाथि चौतर्फी हमला भइरहेको हो । एकताको प्रक्रियालाई देशी तथा विदेशी प्रतिक्रियावादी र देशभित्र पनि प्रचण्ड अगाडि बढेको भूमिका देख्न नचाहने तत्वहरुले बदनाम गर्न खोजेको ती नेताले बताए । ‘अध्यक्षको भूमिका कसैले अस्वीकार गर्न सक्दैन तर केहीलाई वहाँको सक्रियता पचाउन गारो परेको छ । केहीले एकता नै चाहँदैनन् । त्यसैले कसरी सकिन्छ बदनाम गर्ने कोशिस भइरहेको छ ।’ उनले भने, ‘हिजो १६ बुँदे सम्झौता हुँदा समेत यही प्रचार भयो, संविधान घोषणा हुने बेला पनि यसरी नै आलोचना गरियो, प्रधानमन्त्री भएपछि त पाइला पाइलामा कुप्रचार गरियो । यहाँ एउटा तत्व प्रचण्डले राम्रो गरेको देखि नसहने छन् ।’ भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको विषयलाई कतिपयले पार्टी एकतासँग पनि जोडेका छन् । यही क्रममा प्रचण्डलाई ‘र’का प्रतिनिधिले धम्की दिएको विषय सार्वजनिक भएको हो । कुटनीतिक तहमा चिया पसलमा गफ गरेजस्तो या झगडा गरेजस्तो भने हुँदैन । कतिपय अवस्थामा असहमतिहरु भएको खण्डमा पनि त्यसलाई प्रस्तुत गर्ने भाषा फरक हुन्छ । अन्तर्राष्ट्रिय राजनीतिका विद्यार्थी कमल प्रसाई भन्छन्, “हामीकहाँ मिडिया र अरुले कुटनीतिक भाषाको अर्थ नै बुझ्दैनन् त्यसैले जे पायो त्यही आफ्नोस्तरमा बुझेर लेख्छन् ।’ प्रचण्ड र ‘र’ का प्रतिनिधीसँग जोडिएको समाचार पनि त्यसकै कडी भएको उनको तर्क छ ।

सर्वोच्च अदालतको आदेशः महिलाले बलात्कार गर्न सक्दैनन्

महिलालाई जस्तै पुरुषलाई पनि यौन उत्पीडन हुने र त्यसमा महिलालाई पनि सजाय हुनु पर्ने माग गरी सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ । भारतीय सर्वोच्च अदालतले पुरुष बलात्कार सम्बन्धी सो रिटलाई खारेज गरेको हो । रिटमा महिलालाई पनि सजाय हुनु पर्ने दावी गरिएको थियो । त्यसमा भनिएको थियो, महिलाले पनि पुरुषलाई बलात्कार गर्छन् । उनीहरुलाई पनि बलात्कारमा सजाय हुनुपर्छ । तर, प्रधानन्यायाधीश दीपक मिश्राले भनेका कानून बनाउने काम अदालतको होइन, संसदको हो । महिलाको संरक्षणका लागि बनाएका कानून पुरुषका लागि लागु हुदैनन् ।

गार्इको सुकुटीलार्इ जरायाको सुकुटी भन्दै बिक्री गर्ने सात जना पक्राउ

दाङ, मंसिर २६ । गाई काट्दै गरेको अवस्थामा दाङमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय बिरबहादुर थापासहित सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा तीनजना महिला र चारजना पुरुष रहेका छन । पक्राउ पर्ने अन्यको नाम भने सार्वजनिक गरेको छैन । उनीहरुको साथबाट प्रहरीले एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ । गाई काटेर सुकुटी बनाउने र त्यसलाई जरायोको सुकुटी भनी बिक्री गर्ने गरेको बयानबाट खुलेको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिनुभयो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको पनि सिंहले बताएको छ ।

सलमान र अक्षयबीचको दुरी कम गर्दै कैटरिना

मंसिर १९ । बलिउड क्षेत्रमा चर्चित सुपरस्टार सलमान खान र अक्षय कुमारबीच राम्रो साथी थिए तर पछिल्लो महिनादेखि दुवै जनाबीच दुरी बढिरहेको छ । जुन चलचित्र भाईजान करण जौहरसँग मिलेर अक्षय कुमारको चलचित्र ‘केसरी’ निर्माण गरिरहेका छन् । अब यस्तो लागिरहेको छ कि यी दुईको मित्रता पहिलेको जस्तो हुने गर्ने छैन । यिनीहरुबीच बढिरहेको दुरीको कारण रेशमा शेट्टीलाई लिने गरेको छ । रेशमा पहिले सलमानको म्यानेजर थियो तर अब अक्षय कुमार म्यानेजर बनेको छ । रिपोर्टअनुसार सलमान, करण र अक्षयसँग गुनासो रहेको छ । किनकी यो बैटल अफ सारागढीमा चलचित्र बनाइरहेको छ जसको घोषणा धेरै पहिले उनको राम्रो साथी अजय देवगन चलचित्रले गरिसकेको छ । कारण चाहे जे होस्, यति कुरा त पक्का हो कि सलमान र अक्षयबीच अहिलेसम्म सबै कुरा ठीक छैन । यसै कारणले कैटरिनाले दुवैबीचको बढ्दो दुरीलाई हटाउने कोसिस गरिरहेकी छिन् । तर, दुःखलाग्दो कुरा यो हो कि भाईजान मान्न तयार नै छैन । हालैमात्रको खबरअनुसार कैटरिनालेका लामो समयको कोसिसपछि अक्षयसँग ठूलो पर्दामा आउनका लागि एकदमै हतारिरहेको छ । केसरीका हिस्सा बन्नको लागि अभिनेता अक्षयसँग आधा रातको भेटघाट पनि गरेका थिए । तर केही गलत अफवाहका अनुसार धूम ३ का स्टारको चलचित्र मिलिसकेको छ भने के भन्नु कसैले भन्छन् कि यो भूमिका परिणिती चोपडालाई मिलेको छ ।