अब बेरोजगारको चिन्ताबाट मुक्त हुनुहोस्, सानिमा बैंकले माग्यो कर्मचारी !

काठमाडौं, पुस १६ । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ ।

इच्छुक उम्मेदवारहरुले आफ्नो योग्यअनुसारको पदका लागि यही जनवरी १९, २०१९ भित्र आवेदन दिन यो सूचना गरिएको छ ।

हेर्नुहोस् तलको सूचनाको तालिका–

व्यापारी हमालद्वारा उम्मेदवारी घोषणा

धनगढी, वैशाख ८ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवम् व्यापारी गोपाल हमालले बिहीबार आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्ष समेत रहनुभएका हमालले आज यहाँ आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुनुहुन्छ । उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ । नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन् । सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढी भएकाले महानगरको प्रमुख तथा उप प्रमुखको पदको टिकट हत्याउन विभिन्न दलमा आन्तरिक प्रतिस्पर्धा निकै बढेको छ । साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ ।

चैतलो पर्व सम्पन्न

हुम्ला, फागुन १५ । जिल्लाको पूर्वमा पर्ने सिमीकोट, ठेहे र स्याँडामा यस वर्षको चैतलो पर्व सम्पन्न भएको छ । यही फागुन १२ गतेदेखि १५ गते दौडा नाच, महाकालु देवताको पूजा, केटाकेटीले ढालतरबार नाच, लोकदोहोरी गर्दैछन् । काला सिद्ध धामी छोबन रोकायाले पूजाआजा गर्नुभयो ।

सुन ८ महिनाकै सस्तो

काठमाडौं , मंसिर १७।  पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायताकै सस्तो भएको छ । विहीबारका लागि तोकिएको छापनवाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो । मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार रुपैयाँमा झरेको छ । यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताउनुभएको भएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीब्ररूपमा अगाडि बढेको बताउनुभएको हो । “ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अब विद्युतमा पहुँच नभएको नागरिक बाँकी छैन । विद्युत उर्जाको जडित क्षमता करिब ३२ सय मेगावाट पुगेको छ भने केही महिनामैं करिब ५ सय मेगावाट थप हुने चरणमा छ । जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनाहरूसँग विद्युत खरिद सम्झौता भइसकेको छ ।” उहाँले हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको बताउनुभयो । प्रधानमन्त्रीले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूूरा भएको जानकारी दिनुभयो  ।

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन् । विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिएवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू  गरिएको हो । यस वर्ष हामी ‘आफू र समाजका लागि योग’ भन्ने  नाराका साथ विश्व योग दिवस मनाइरहेका छौँ । राष्ट्रपति पौडेलले योग शारीरिक अभ्यास मात्र नभई  निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो  भन्दै योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । “यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त  हुनेर आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ ।योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोर्‍याउँछ । साथै, योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ”, शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति पौडेलले हाम्रा योग गुरुहरू र अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्ने बताए। भौतिक विकास गरी सुख प्राप्त गर्ने आकाङ्क्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्था छ ।   “नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन, शहर, ढुङ्गेधारा, कुवा, इनार र राजकुलोहरूको  निर्माणमा पनि योग विज्ञान एवम् वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ । साथै, हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव रहेको छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ।

दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे समितिको सभाकक्षमा बस्ने जनाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ। त्यस्तै, राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बेठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरेका थिए ।

उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सहयोग गर्ने बताएका छन् ।  किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताएका हुन् ।  “हाम्रा पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउँछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भनेका छन्, “उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।” किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जंगली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ ।  वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस् भन्ने कामना गरेर तथा प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेर यो पर्व मनाउँदछन् ।  साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ । रासस

कांग्रेसले गृहमन्त्रीलाई दोषी करार गर्‍यो : रास्वपा सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएजसरी नेपाली कांग्रेसले प्रस्ताव ल्याएको बताएका छन् । उक्त प्रकरण छानबिनका निम्ति बनाउने भनिएको संसदीय समितिको ‘टीओआर’ तयार पार्न आइतबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन् । समितिको कार्यादेश बनाउँदा नै व्यक्तिलाई दोषी मान्न नसकिने उनले उल्लेख गरे । “समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो । आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसंगत हुँदैन,” उनले भने । उनले सबै सहकारीपीडितलाई न्याय दिने गरी छानबिन गरिनुपर्ने आफूहरूको भनाइ रहेको स्पष्ट पारे । आजको संसद् बैठकमा गृहमन्त्री लामिछानेले जवाफ दिने र त्यसपछि फेरि कार्यदलको बैठक बस्ने उनले जानकारी दिए ।

सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघिय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।  संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।

कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ

सल्यान । सल्यानको कुमाख गाउँपालिका ६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ परेका छन् ।  कुमाख गाउँपालिका ५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।   सोही नगरपालिका ५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समुहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको प्रहरीको भनाई छ ।

नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस, हेर्नुहोस् सूची

काठमाडौँ । नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी हवल्दारमा बढुवा भएकाको सूची प्रकाशित गरेको हो । प्रहरीमा प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार तर्फको ६५ जना प्रहरी हवल्दार र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएपश्चात् रिक्त हुन आउने ७० प्रहरी हवल्दार गरी कुल रिक्त हुन आउने पद सङ्ख्याको पदपूर्ति गरिएको जनाइएको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप(समूह, सञ्चारतर्फका प्रहरी सहायक हवल्दारलाई सोही समूह, उप–समूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार भएको जनाएको छ । हेर्नुहोस् सूची

सडकमा निर्माण सामग्री छाड्नेलाई महानगरले नछाड्ने

काठमाडौं ।सडक तथा सडकपेटीलगायत सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि सडकमा निर्माण सामग्री छाड्नेलाई काठमाडौं महानगरपालिकाले नछाड्ने भएको छ। निर्माण काम सकेपछि ती स्थानलाई पहिलाको जस्तै नबनाई छाड्नेलाई पनि कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।  निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएकाले महानगरले कारबाही गर्ने निर्णय गरेको हो ।  सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, संघसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य महानगरबाट स्वीकृति लिनुपर्नेछ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले स्पष्ट पारेको छ । तोकिएबमोजिमको काम नगर्नेलाई आजबाट नै प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही हुने महानगरले जनाएको छ । 

पर्यटन बोर्डमा उपाध्यक्षको जिम्मेवारी राम प्रसाद सापकोटा ‘कमल’लाई

काठमाडौं ।नेपाल पर्यटन बोर्डको उपाध्यक्षको जिम्मेवारी रामप्रसाद सापकोटा कमललाई दिइएको छ ।सोमबार बसेको नेपाल पर्यटन बोर्डको ३६८ औं बैठकले केही समय अघि मात्र बोर्ड सदस्य चयन भएका सापकोटालाई सो पदमा नियुक्त गरेको हो । लामो समय देखि पर्यटन क्षेत्रमा सकृय रुपले व्यवसायी गर्दै आएका उनी, गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ)को अध्यक्ष समेत बनेका थिए । उनलाई पाँच वर्षका लागि सो पदमा नियुक्ति गरिएको छ । केही समय अघि चन्द्र रिजालको कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको थियो । यसैगरी सो अवसरमा नवनियुक्त अन्य बोर्ड सदस्यद्वय ऋषिराम भण्डारी र राजेन्द्र लामालाई पनि प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा स्वागत गरिएको थियो ।

संसदका पाँचवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।  बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ ।  दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।  बिहान १० बजे बस्ने महिला तथा समाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारबाहीका बारेमा छलफल हुनेछ ।  बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।