एलडिओ साब ! चुनाव हुन्छ तयार भएर बस्नुस्

ललितपुर, पुष २८ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताएका छन्। स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गरेका हुन्।

“स्थानीय निकायको संरचनाले हालको स्थानीय निकायको अवधारणा पनि छिटै आउने भएकाले त्यसतर्फ चनाखो भएर स्थानीय निकायले काम गर्नुपर्छ” , मन्त्री पाण्डेले भने। स्थानीय विकास अधिकारीलगायतका कर्मचारीले उचित कार्ययोजना बनाएर कार्यान्वयनतर्फ लाग्न पनि उनले निर्देशन दिए।

‘पोषणका लागि समुदायको क्रियाशीलता आयोजना स् सुनौला हजार दिन’ नारासहित सुरु भएको आयोजना चैत महिनासम्म सम्पन्न गराउनुपर्ने भएकाले त्यसतर्फ उत्सुकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले विश्वबैंकको सहयोगमा सञ्चालन भइरहेको यो आयोजना समयभित्रै सम्पन्न गराउन जरुरी रहेको बताए।

मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले आयोजनामार्फत स्थानीय समुदायमा बालबालिका तथा मातृ कुपोषणलाई न्यूनीकरण गर्न आवश्यक वस्तु तथा सेवाका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध भइरहेको बताए।
प्रजनन उमेर पुगेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार गर्न सामाजिक धारणा, व्यवहार र परम्परामा सुधार ल्याउनु आयोजनाको मुख्य लक्ष्य रहेको छ ।

समुदायमा बाल कुपोषणको जोखिम कम गर्ने र पहिलो गर्भवती कम्तीमा २० वर्ष उमेरमा हुने देखिएकाले बच्चा जन्मान्तरको समयावधि बढाउन जनचेतना अभिवृद्धिलगातका कार्य गर्ने आयोजनाको उद्देश्य रहेको बताइएको छ । उक्त आयोजना हाल ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी, सुनसरी, सिरहा, सिन्धुली, रोमछाप, धनुषा, महोत्तरी, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

कार्यदलसहित शीर्ष नेताबीचको सहमति कांग्रेसले गर्‍यो अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले सोमबार बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरूबीचको बैठकमा भएको ‘सहमति’ अनुमोदन गरेको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकबाट सहकारी बचत अपचलन प्रकरणबारे बालुवाटारमा भएको सहमति अनुमोदन गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।कार्यादेश तय गर्न गठित कार्यदलले त्यसलाई अन्तिम रूप दिने लेखकले जानकारी दिए। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित हुन नसकेकाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक बसेको उनले बताए।

कृष्ण सेनको बारे अध्ययन अनुसन्धान आवश्यक : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले अमूर्त समाजवादलाई वैज्ञानिक समाजवादमा लैजानु अहिलेको कार्यभार रहेको बताएका छन् । २२ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले इच्छुकले देखेका सपना अझै पूरा नभएको बताउँदै उनका सपना पूरा गर्नू अहिलेको कार्यभार हुने विचार व्यक्त गरे ।  कृष्ण सेन राजनीति पत्रकारिता गर्ने नेता भएको कारण उनी राजनीतिमा स्पष्ट रहेको उनले बताए । कृष्ण सेनको बारेमा अध्ययन अनुसन्धान हुनुपर्ने भन्दै यसमा सरकारले पनि सहयोग गर्नुपर्ने उनले बताए। उनले इच्छुकका विचार स्थापित गर्न सके समाजवाद परिष्कृत भएर आउने उनको भनाई थियो । माओवादीको नेतृ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफ्नो राजनीति गुरु पत्रकार सेन रहेको बताइन् । राजनीतिमा आइ परेका समस्याको समाधान गरी  आफूहरूलाई उत्साहित गर्ने गरेको बताउँदै उनले विभिन्न मोर्चामा सेनसँग सहकार्य गरेको बताइन् । पत्रकार सेन निष्ठा र आस्थाको धरोहर रहेको बताउँदै उनले नेपाली सेनाबाट चरम यातना पाएको कुरा अहिले सम्झना आइरहेको बताइन् । गोपनीयता भङ्ग गरेको भन्दै सेनाले पत्रकार सेनलाई यातना दिएर हत्या गरेको मन्त्री शर्माले बताइन् । शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो नलाग्नु गम्भीर कुरा रहेको बताउँदै उनले शान्ति प्रक्रिया टुङ्गो लगाउनमा राजनीति भइरहेको बताइन् । माओवादी केन्द्रका नेता ओम शर्माले क्रूर सत्ताविरुद्ध लडेका कृष्ण सेन बाचिरहेका भए कस्ता सृजना गर्ने होला भन्दै प्रश्न गरे। अहिले पनि विभिन्न विकृति विसङ्गति रहेको बताउँदै उनले पत्रकार सेनले देखाएको बाटोमा हिँड्नु पर्ने बताए । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि पोखरेलले कृष्ण सेन अक्षरबाट क्रान्ति गरेकाले पत्रकारका लागि धरोहर रहेको बताए । उनलाई  नेपाली सेनाले यातना दिएर हत्या गरेको समाचार जनआस्थामा ब्रेक गर्दा पाएको पीडा अझै सम्झनामा ताजा रहेको बताए । उनले कृष्ण सेनको योगदानलाई सम्झदै वाम एकतामा जोड दिनु पर्ने बताए ।

संसद्‌मा गृहमन्त्री लामिछाने बर्बराउनुभयो :  कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले सदनमा बर्बराएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले करोडौं मानिसलाई बरालेको पनि बताए ।  यही जेठ ६ गते बसेको प्रतिनिसभा बैठकमा गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । “हामीलाई थाहा छ । यसक्रममा गृहमन्त्रीले बोल्ने काम गनुभयो । हामीले ठानेका थियौँ, गृहमन्त्रीले हामीलाई राम्रै पढाउनुहोला,” उनले भने, “तर, उहाँ रोष्ट्रममा बोल्न उभिनुभएन । बर्बराउनुभयो । लामो समय बर्बराउनुभयो । लामो समय बर्बराउनु भएन करोडौं मानिसलाई बराल्ने काम गर्नुभयो ।”

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ ।

सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले घोषणा गरेका हुन् । इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

कास्की । कास्कीको पोखरा महानगरपालिका १७ बिरौटास्थित स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय भिम बहादुर बिक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरिले उनीहरूलाई नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । विकलविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।  उनले आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध अर्को मुद्दा दायर भएको हो । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको उनीमाथि आरोप छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका पौडेललाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानमा तीन जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका ४ स्थित न्यु शिवशक्ति होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ सय ४४ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ केदारस्यु गाउँपालिका ६ बस्ने २४ वर्षीय गोविन्द बहादुर धामी र रूकुम सानोभेरी गाउँपालिका ३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस्तै, मोरङको विराटनगर महानगरपालिका १५ दुई नम्बर ढाटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २३ मिलिग्रामसहित भारत अररिया ठगपुरा पञ्चायत बस्ने २६ वर्षीय मनोज ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।   

यस्तो रहनेछ आज २४ घण्टाको मौसम

काठमाडौं ।  हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताए। “इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत गर्न बाध्य पारिएका नेपालका दलित समुदायलाई सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने, “दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध छ ।”  यस वर्ष नेपालको नारा ‘आत्मसम्मान, समानता र सामाजिक न्यायसहितको समृद्धका लागि राजनीतिक हक  जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलितअधिकार दशक’ रहेको छ । संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । 

सरकारी वकिलको रहोबरमा सीआईबीमा विनोद चौधरीको बयान

काठमाडौं।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रतिनिधिसभाका सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीसँग बयान लिइरहेको छ।  सीआईबीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अधिकारीको रहोबरमा बयान लिइरहेको हो। अहिले पनि बयान जारी छ। स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए। यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । त्यसलगत्तै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो । चौधरीलाई बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण गरिएको विषयमा अनुसन्धान थालिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार चौधरीको बयान जारी रहेको बताए ।बयान सकिएपछि के हुन्छ भन्नेबारेमा अहिले केही बताउन नसकिने सीआईबी स्रोतले जानकारी दियो ।

यो देशमा केहि नभएको होइन, ढिलो भैरहेको चाँहि हो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशमा केही नभएको नभइ काम ढिलो भएको बताएका छन् । देशमा केही नभएको भन्दै मिसन ८४ को नारा दिएर हिडेका दलहरु बन्दै गरेका सडकमा पैदल यात्रा गरेको स्मण गराउँदै उनले देशमा केही भैरहेको तर ढिलो भैरहेको नयाँ दलहरुले थाहा पाएको बताएका हुन् । उनले नेपाली काग्रेस पार्टीले संसदको प्रतिपक्षको भुमिकाम रहने बताउँदै पहिले जस्तो ढोक्सा नथाप्ने समेत बताए । साथै, प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । उनले संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणन्त्रलाई जोगाएर जाने सवालमा सधै प्रतिबद्ध रहने समेत जानकारी दिए । यो देशमा केही भएको छैन, केही हुँदन भन्ने भाष्य परिर्वतन गरेर यो देशमा केही गर्न सकिन्छ भन्ने स्थापित गर्न  लाग्ने समेत बताए । 

स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका ४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल संचालक दाङ तुलसिपुर उपमहानगरपालिका ९ बस्ने ४३ वर्षीय कृष्ण बहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी, नेपालगंज उपमहानगरपालिका २ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपैयाँ र ४ लाख ४० हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित १५ जना पक्राउ

काठमाडौं, १७ फागुन । अबैध लागूऔषध सहित १५ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न प्रकारका लागू औषध ओसारपसारमा संलग्न रहेको अभियोग सहित छुट्टाछुट्टै स्थानबाट १५ जनालाई पक्राउ गरेको हो ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थलिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६८ मिलिग्रामसहित बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने ४४ वर्षीय प्रदिप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलालीको धनगढी उपमहानगरपालिका –३ भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका १ शिवनगर बस्ने २२ वर्षीय भरत राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  यस्तै, झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्टाफ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित भद्रपुर नगरपालिका(५ घर भई अर्जुनधारा नगरपालिका(११ बस्ने २५ वर्षीय सुरज बिश्चकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका ११ गिरी बन्दु टिस्टेट चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय बिनम उराउ र ३० वर्षीय कुमार सुब्बा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बर्सपार्कबाट खटिएको प्रहरीले सुब्बालाई १ ग्राम १ सय ९० मिलिग्राम र उराउलाई ४ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचिनगर नगरपालिका ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका १० कालिस्थान घर भई मेचिनगर नगरपालिका ६ सुनगाभा टोल डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, काठमाडौं महानगरपालिका १६ ढुङगे अड्डा बस्ने ३० वर्षीय ईश्वर अधिकारी र झापा अर्जुनधारा नगरपालिका १० कालिस्थान बस्ने २२ वर्षीय पुजन तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका २ नारायणी पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही नगरपालिका २ बस्ने २१ वर्षीय अभिशेक गुरूङ समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  विराटनगर महानगरपालिका १७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित सोही महानगरपालिका १२ बस्ने ४० वर्षीय प्रभात कटुवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.५ प ३७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक कटुवाललाई पक्राउ गरेको हो ।  लमजुङको सुन्दरबजार नगरपालिका ६ खत्रीठाटीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका(१६ बस्ने ५१ वर्षीय प्रेम पराजुली र सोही महानगरपालिका(१९ बस्ने ४० वर्षीय जिवन पौडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरीले ग ११ प ९४४० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका ६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश बहादुर धामी र १९ वर्षीय बिजय घिमिरे रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। एक क्विन्टल सुन तस्करी प्रकरणमा दोषी रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। यो सँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो।