सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना  : तीनजनाको मृत्यु, ५२ घाइते

चौतारा । सिन्धुपाल्चोकको पिस्कर–५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार, बस भीरमा खसेकाले उद्धारमा केही समस्या भएको छ । रासस

‘सुरक्षित कारोबार विधेयक २०८०’ राष्ट्रिय सभामा पेस

काठमाडौं। सरकारले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक-२०८०’ पेस गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेस गरेका हुन् ।  बैठकमा सांसद्हरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै एमालेकी सांसद भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताए । 

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ गते

काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ । बुधबार राष्ट्रियसभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो ।  बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूको निर्वाचन आगामी आइतबारका लागि तय गरिएको जानकारी गराए । उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीलाई हराउँदै नेपाल फाइनल प्रवेश

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले पिएनजीविरुद्ध ८६ रनको जित निकालेको छ। यो जितसँगै नेपाल फाइनल प्रवेश गरेको छ । हङकङको मोङ कोक मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९९ रनको लक्ष्य भेट्न नसक्दा पिएनजी १६ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालले पिएनजीलाई १६.१ ओभरमा ११३ रनमै समेटेको हो। नेपालको जितका लागि कुशल भुर्तेलले मात्र १२ रन दिएर चार ओभरमा ४ विकेट लिए। प्रतिश जिसीले २ विकेट लिए। गुल्सन झा र आकाश चन्दले एकएक विकेट लिए। पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए। भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए। जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाए। २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए। नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे। लोकेस बमले ६ बलमा १४ रन बनाए। विवेक यादव चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बलमा १५ रन बनाए। चार बल खेलको कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए। पिएनजीका असाद भालाले २ विकेट लिँदा नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १/१ विकेट लिए।

कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ८ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७४/७५ मा गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमा ठेकेदार समेतले नापजाँच मूल्यांकन परिमाण भन्दा कम काठ उत्पादन संकलन भएको देखाइ वन पैदावार हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो । तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवम् वन अधिकृत महेन्द्रराज वाग्ले लगायत विरुद्ध मुद्दा दायर भएको छ ।

‘दुई कदम’ हङकङमा

काठमाडौं । गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ुदुई कदमु हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो । फिल्मको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छ्न । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा दुई कदमको शोको आयोजना गरिएको हो । उदय सुब्बा निर्देशित फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुले लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो । फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

भोलिबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलि (बुधबार)देखि काठमाडौँमा बस्ने भएको छ । पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणसम्बन्धी छलफल हुने बैठक यही पुस १३ गतेसम्म चल्ने छ । महासचिव घनश्याम भुसालका अनुसार देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने छ। बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिने  बताइएकाे छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल हुने छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने छन्।विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ।  

नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम हुदै

दोहा कतार । नेपाली जनप्रगतिशिल मञ्च कतार द्वारा बृहत इफ्तार कार्यक्रम हुने भएको छ । मञ्च कतारले रमजानको अवसर पारेर बृहत इफ्तार कार्यक्रम” गर्न लागेको हो । अगामी आइतबार २४ तारिखका दिन , सनैया स्थित ग्राण्ड महलको  ह्ववाइट हाउस रेष्टुरेन्टको सभा हल दिउसो ३०:३० बजे देखि शुरुहुने कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघसंस्था, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले बताए ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

बेलायतमा राेजगारिका लागि शून्य लागतमा नर्स जान पाउने, शुक्रबार सम्झाैता हुँदै

बेलायत सरकारले नेपाली नर्सहरूलाई रोजगारीका लागि लैजानेसम्बन्धी सम्झौता शुक्रबार हुने भएको छ । बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत पठाइने प्रक्रिया अगाडि बढ्नेछ । बेलायत सरकारले नेपालबाट १० हजार नर्सको माग गरे पनि पहिलो चरणमा दुई हजार नेपाली नर्सलाई पठाइने श्रममन्त्री श्रेष्ठले बताए । उनका अनुसार बेलायतले नर्स रोजगारीका लागि अंग्रेजी भाषामा निपूर्ण हुनुपर्ने सर्त राखेको छ । ‘बेलायत सरकारको सर्तअनुसार नेपाली नर्सले आइएलटिएसमा ७ स्कोर ल्याउनुपर्नेछ । तर, मैले ६.५ स्कोरको अडान राखेको छु’ उनले भने । बेलायत सरकार र नेपाली सरकार (जिटुजी)मार्फत नर्सलाई रोजगारीका लागि पठाइने श्रममन्त्री श्रेष्ठले बताए । बेलायत सरकारको सर्तअनुसार जिटुजीमार्फत नै नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो । यसमा निजी क्षेत्रको संलग्नता हुनेछैन । बेलायतले ‘नेसनल हेल्थ प्रोग्राम’अन्तर्गत नेपाली नर्सलाई लैजाने भएको हो । मन्त्रालयका अनुसार सरकारले नेपाली नर्सलाई शून्य लागतमा बेलायत रोजगारीका लागि पठाउने तयारी गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सको भाषा परीक्षा, स्वास्थ्य परीक्षण, भिसा, टिकट, बिमालगायत सबै खर्च बेलायत सरकार आफैँले व्यहोर्ने भएको छ । बेलायतमा नेपाली नर्स मासिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने मन्त्रालयले अनौपचारिक जानकारी दिएको छ । -nayaaatrikadaily.com बाट साभार

लेखराजबाहेक अरू पूर्वमाओवादी नेतासँग रुष्ट ओली क्याम्प, फर्केर जान चेतावनी

काठमाडौं : आफ्नो पक्षमा देखिएका पूर्वमाओवादीहरुका कारण केपी  शर्मा ओली तथा उनको समूह तनावमा परेको छ । पूर्वमाओवादीबाट गएकाहरूले सम्मानजनक स्थान खोज्न थालेपछि केपी ओली पक्ष रुष्ट बनेको हो । विश्वस्त श्रोतका अनुसार, पूर्वमाओवादी गएका नेताहरूले प्रचण्डलाई छोड्नुको अर्थ विलय र आत्मसमर्पण नखोजेको बरू संगठनमा सम्मानजनक उपस्थिति खोजेको भन्दै ‘बार्गेनिङ’ गर्न थालेपछि ओली पक्षलाई अप्ठ्यारो परेको हो । “एक त बादललाई केपी कमरेडपछिको नेता मान्नुपर्ने, अर्कोतर्फ त्यही बादलका मान्छेहरू बार्गेनिङ गर्ने ?” केपी ओलीनिकट एक स्थायी समितिले एभरेष्ट दैनिकसँग भने, ‘जिल्लादेखि केन्द्रसम्म यसरी भाग खोज्न थालेपछि उनीहरू हामीलाई किन चाहियो ? बस्ने भए हामी मातहत बस्नुपर्यो, भागै खोज्नेभए प्रचण्डकहाँ फर्के हुन्छ ।” प्रधानमन्त्री केपी ओलीले समेत पूर्वमाओवादीका नेताहरूले बढी किचकिच गर्न खोजे फिर्ता पठाइदिने धम्की दिन थालेका छन् । मंगलबार केपी ओलीसँग भेट्न गएको एक प्रतिनिधिमण्डलसँग केपी ओलीले पूर्वमाओवादीका नेताहरूका कारण आफ्नै समर्थकहरू बिच्किन थालेको गुनासो गरेका थिए । “लेखराज र उनीसँग आएका मान्छेहरूले खासै किचकिच गरेका छैनन् ।” ओलीको भनाई उद्दृत गर्दै केपीसँग भेट गरेका ती नेताले भने, ‘तर अरू नेताहरूले भने त्यतिखेर प्रचण्डको रिसले निशर्त समर्थन गर्ने अहिले आएर अनावश्यक बार्गेनिङ गरे । मलाई कोही नभए पनि हुन्छ, म एक्लै पार्टी हाँक्न सक्छु ।” केपी पक्षले शुरुमा विभिन्न पद र प्रलोभन दिएर पूर्वमाओवादी र माधव नेपाल पक्षका कतिपय नेता तथा कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएपनि पछिल्लो समयमा प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना बढ्दै गएपछि र भूमि आयोगलगायतमा नियुक्ति गर्ने सन्दर्भममा केपी निकटको सिफारिसका आधारमा पूर्वसहमति विपरित नियुक्ति भएपछि आन्तरिक किचलो झनै चुलिएको छ । केपीलाई समर्थन गर्न पुगेको पूर्वमाओवादी निकट र केपीले केन्द्रीय सदस्य बनाएका एक नेता भन्छन, ‘केपीलाई समर्थन गरेको दुई हप्ता नबित्दै त यसरी पेलिरहेका छन् भने भोलि चुनावसम्म पुग्दा त के होला भन्ने चिन्ता छ । कतिपय साथीहरू अहिले यता भएपनि सबै असुरक्षित भएका छन् ।” तर, प्रचण्ड-माधव पक्षका कतिपय असहष्णिु नेताका कारण यसरी असन्तुष्ट भएकाहरूमध्ये कतिपय भने तत्कालै फर्किन धकसमेत मान्न थालेका छन् । ‘केपीवालाहरूको पारा देखेर यता बस्न त फिटिक्क मन छैन तर उताकाले पनि हामीलाई झन होच्याउन थालेपछि संकटमा परेका छौं ।” एक पूर्वमाओवादी जिल्ला अध्यक्षले भने, ‘तर यता बस्ने पनि अवस्था छैन, हेरौं, केही समयपछि के हुन्छ ?” यतिखेर सुदूरपश्चिममा लेखराज भट्टका समर्थकहरूमध्ये कतिपयले केपीलाई पूर्णरूपमा समर्थन गरे पनि बादल, टोपबहादुरलगायतका नेताहरूका समर्थक भने अहिले केपी छोड्नुपर्ने लबिङमा लागेका छन् । त्यसो त नेता लेखराज भट्ट निकटमध्ये कतिपयले केपी पक्ष छोडिसकेको अवस्था छ । कतिपयलाई तत्कालको लाभ र विगतका कतिपय मुद्दा बल्झिने डरले केपीको साथ दिनुपर्ने बाध्यता भए पनि ढिलोचाँडो मूलधारमा नै फर्किने प्रचण्ड-माधव समूहका नेता बताउँछन् ।

चमेरोलाई पनि ब्युटी पार्लरको सेवा

काठमाडौंः  ब्युटी पार्लरले खास गरी महिलालाई फेसियल, म्यानिक्युर, पेडिक्युरलगायत सौन्दर्यसम्बन्धी विभिन्न सेवा दिन्छ। क्युबामा भने चमेरोले पनि ब्युटी पार्लरको सुविधा पाउन थालेको छ। सोलीजस्तो कान हुने दुर्लभ प्रजातिको चमेरोको संरक्षण गर्न प्राणीशास्त्रीहरूले नयाँ प्रविधि प्रयोग गरेका छन्। यस प्रजातिको चमेरोको म्यानिक्युर गर्न थालिएको छ। चमेरोको हातको नङमा पालिस लगाइने गरेको छ। चमेरोको संख्या गन्नलाई यसो गरिएको हो। क्युबाको पश्चिमतिर पर्ने ग्वानाहाकाबिबेस प्रायद्वीपमा रहेको एउटा गुफामा दुर्लभ प्रजातिका सातजति चमेरा रहेका छन्। जुलोजिकल सोसाइटी अफ लन्डनका अनुसार यस प्रजातिका चमेराको व्यक्तिगत विवरण संकलन गर्न क्युबाली अनुसन्धाताले चमेरोको म्यानिक्युर गर्न थालेका हुन्। क्युबाली वैज्ञानिकले चार रङका नेल पालिस प्रयोग गरेका छन्। ती रङ मिसाएर हरेक चमेरोको नङमा छुट्टाछुट्टै रङ लगाइएका छन्। हरेकलाई चिन्न सजिलो होस् भनेर नेल पालिस लगाइएको पिनार देल रियोस्थित नेचुरल हिस्ट्री म्युजियमका वैज्ञानिक होसे म्यानुएल दे ला क्रुज–मोराले बताए। ‘हरेक चमेरोलाई म्यानिक्युर गर्न धेरै समय लाग्छ,’ उनले भने, ‘तर, यस अद्भुत प्राणीको संरक्षण गर्ने काम आफैँमा उल्लेख्य छ।’ ‘क्युबन ग्रेटर फनेल–इयर्ड’ नामक प्रजातिको चमेरोलाई लोप भइसकेको घोषणा गरिएको थियो। तर, सन् १९९२ मा ग्वानाहाकाबिबेसमा यी चमेरा फेला परेका थिए। क्युबा यो प्रजातिको चमेरो बचाउन प्रतिबद्ध भएर लागेको छ। अन्नपूर्ण पोस्ट् दैनिक

१० वर्षमा ९ लाख हराएका विद्यार्थी कहाँ गए ?

काठमाडौं, चैत ३ । बितेको १० वर्षमा ९ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । वि.सं. २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । १० वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६ भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यसवर्ष चार लाख ५० हजार १८६ परीक्षार्थी एसईई परीक्षामा सम्मिलित हुँदैछन् । कक्षा १० मा पुगेका विद्यार्थीभन्दा एसईई परीक्षा दिने विद्यार्थी करिव छ हजार कम छन् । १० वर्षमा नौ लाख विद्यार्थी हराउनुको वास्तविक कारणबारे सरोकार निकायले खोजी गरेको छैन । बीचैमा पढाइ छाड्ने र कक्षा दोहोर्याउने कारण नै यतिका विद्यार्थी हराएको हुनसक्ने ‘तयारी भनाइ’ शिक्षा निकायका पदाधिकारीले दिने गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले भने, ‘किन बीचैमा कक्षा छाड्नुपर्यो र किन दोहोर्याउनुपर्यो भन्नेबारे भित्र गएर अनुसन्धान गर्न सकेका छैनौँ तर भर्ना भएकामध्ये आधाभन्दा बढी विद्यार्थी घट्नुको कारण कक्षा छाड्ने र दोहो¥याउने नै हो ।’ वि।सं। २०६६ मा छ लाख ८० हजार ४८२ बालिका र छ लाख ८२ हजार ४३८ बालक विद्यालयमा भर्ना भएका थिए । केन्द्रको तथ्याङ्कअनुसार उनीहरू कक्षा १० मा आइपुग्दा दुई लाख ३६ हजार ३१३ छात्रा र दुई लाख २० हजार १६३ छात्र विद्यालयमा टिकेको देखिन्छ । सुरुमा भर्ना हुँदा छात्र बढी थिए भने कक्षा १० पूरा गर्दा छात्रा बढी टिकेको देखिन्छ । कक्षा १ मा २०६६ सालमा भर्ना भएकाहरू २०६७ सालमा कक्षा २ मा पुग्दा नौ लाख ९३ हजार ९१६ मात्र टिकेका थिए । सुरुमै झण्डै तीन लाख ७० हजार विद्यार्थी घटिसकेका थिए । केन्द्रका उपमहानिर्देशक शर्माले बीचैमा कक्षा छाड्नेहरुको बढी भीड प्राथमिक तहमै भएको बताए । कक्षा २ बाट कक्षा ३ मा उक्लिँदा आठ लाख ९५ हजार १५३ जना विद्यार्थी बाँकी थिए । ती २०६९ सालमा कक्षा ४ मा पुग्दा ८ लाख नौ हजार ५०४ जनामा सीमित थिए । केन्द्रका अनुसार तिनै विद्यार्थी २०७० सालमा कक्षा ५ मा पुग्दा सात लाख ३१ हजार ५७३, कक्षा ६ मा पुग्दा छ लाख ३८ हजार ५८०, कक्षा ७ मा पुग्दा पाँच लाख ९४ हजार ५३२, कक्षा ८ मा पुग्दा छ लाख आठ हजार ७७० र कक्षा ९ मा पुग्दा पाँच लाख ११ हजार ६९२ रहेका थिए । घट्दै गएका विद्यार्थीको तथ्याङ्क विश्लेषण गर्दै आएका केन्द्रका निर्देशक शंकर थापाले कतिपय विद्यार्थीले कक्षा ५ सम्म सरदर तीन पटकसम्म कक्षा दोहो¥याउने गरेको बताउँदै भने, “विद्यार्थीलाई कोड नम्बर दिएर त्यसका आधारमा ट्रयाकिङ् गर्ने कार्यको प्रयास भएको हो तर सफल हुन सकेन । त्यस्तो हुन सकेमा हराएका विद्यार्थी कहाँ पुगे भन्ने थाहा हुनसक्छ ।” बाल विवाह, रोजगारी, गरिबी, शिक्षकको अनुपस्थिति, बालमैत्री कक्षाकोठाको अभाव, भौगोलिक विकटता लगायतका कारणले बीचैमा कक्षा छाड्ने गरिएको भनाइ शिक्षाविज्ञहरूको छ । शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले हराएका विद्यार्थीबारे कसैले पनि अध्ययन नै नगरेको बताए “हरेक वर्ष विद्यार्थी हराए भन्छौँ, तर अनुमानका भरमा हराए भन्छौँ, कहाँ गए भन्ने खोजी नै हुनसकेको छैन” उहाँले थप्नुभयो, “अब विद्यार्थीले विद्यालय छाडेमा त्यसको जिम्मेवार सम्बन्धित प्रधानाध्यापकलाई बनाउनुपर्दछ । त्यसो भएमा उनले हराएका विद्यार्थी खोजी गर्नुपर्ने हुन्छ । सम्पूर्ण विद्यार्थीलाई टिकाउन सक्ने प्रधानाध्यापक वा विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिनु पर्दछ ।” नेपाल अभिभावक महासङ्घका संयोजक सुप्रभात भण्डारीले विद्यार्थीलाई टिकाउने प्रभावकारी योजना नै सरकारसँग नभएको आरोप लगाउँदै विद्यार्थीलाई सङ्केत नम्बर दिने र त्यसका आधारमा ट्रयकिङ् गर्ने पद्धतिको थालनी भएमा हराएका विद्यार्थीबारे थाहा पाइने सुझाव दिए । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक शर्माले हरेक वडाले विद्यार्थीको अभिलेख कायम गर्नुपर्ने बताउँदै भने, “कुनै विद्यार्थी विद्यालयमा गएनन् भने किन गएनन् भन्ने जानकारी प्रधानाध्यापकसँग माग्नु पर्दछ । अभिभावकसँग सोध्नुपर्दछ । विदेशमा यस्तो पद्धति छ र यसलाई हामीले पनि लागू गर्न सक्छौँ । त्यसो भयो भने हराएका विद्यार्थी कहाँ पुगे र किन हराए भन्ने थाहा पाउन सकिने छ ।”

निगमको जग्गा खरिद अनियमितता छानबिन गर्न संसदीय उपसमिति गठन

काठमाडौं, साउन ३ । नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न छ सदस्यीय संसदीय उपसमिति गठन भएको छ । व्यवस्थापिका–संसदको अर्थ समितिको मंगलबारको बसेको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेशप्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो । उपसमितिले उक्त अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले बताए । निगमले इन्धन भण्डारणका लागि झापा, सर्लाही, भैरहवा र चितवनमा जग्गा खरिद गर्ने क्रममा करोडौं अनियमितता भएको सूचना सार्वजनिक भएपछि सो विषयमा समितिमा छलफल भएको हो । बैठकमा आपूर्ति मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समिति अध्यक्ष प्रेमकुमार राईले जग्गा खरिदसम्बन्धी नीतिगत व्यवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस्तै निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद नियमसंगत रुपमा भएको बताएका थिए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले निगमको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँको भ्रष्टाचार भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरे । बैठकमा सांसदले निगम नेतृत्वले कानुन मिचेर जग्गा खरिद प्रक्रिया अघि बढाइएको र चलनचल्तीभन्दा बढी मूल्यमा खरिद गरिएको भन्दै आवश्वक छानबिन गरी कारबाहीका लागि सिफारिश गर्न माग गरे । त्यस्तै बैठकमा कृषि विकास बैंकको जग्गा बिक्री गर्दा अनियमितता भएको भन्ने विषयमा पनि छलफल भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त विषयमा कुनै अनियमितता नभएको भन्दै बचाउ गरेका थिए । बैठकले कृषि विकास बैंकको जग्गा बिक्री गर्दा अनियममितता भएको भन्ने सम्बन्धमा थप कागजात अध्ययन गरेर मात्र उपसमिति बनाउने निष्कर्ष निकालेको छ ।

मानिसको शरीरमा किन सेतो दाग देखिन्छ ? हटाउने सात उपायहरु

सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो निकै साधारण रोग हो । संसारभरीको जनसंख्याको एक ठूलो हिस्सा यो रोगबाट प्रभावित छन् । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यसले शरिरको सुन्दरतामा नकारात्मक असर पुर्याउँछ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा हुने गर्दछ । आज हामी यस्ता सेतो दागको कारण र यसलाई निको पार्ने उपायबारे जानकारी दिँदै छौं । ३० प्रतिशत मानिसहरुमा सेतो दागको कारण वंशानुगत हुन्छ । केही मानिसहरुलाई भने सूर्यको यूभी किरणले पनि यस्तो दाग देखिने गर्दछ । पेटमा समस्या र किरा हुँदा पनि छालामा सेतो दाग देखिने गर्दछ । कलेजोमा समस्याका कारण पनि सेतो दाग देखिने गर्दछ । पसिना आउँदा सिस्टममा समस्या हुँदा पनि सेतो दाग देखिने गर्दछ । मधुमेह, हाइपोथाइराइडजस्ता रोगका कारण पनि छालामा सेतो दाग देखिने गर्दछ । गलत खानाको सम्मिश्रणले पनि यस्तो समस्या निम्तिन सक्छ । सेतो दाग निको पार्ने उपाय रातो माटोः एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्नुहोस् । तामाको भाँडाः तामाको भाँडाको पानी पिउँदा शरिरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ । खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरिरमा आइरनको कमी हुँदैन । घामको किरणबाट बच्नुहोस्ः बाहिर निस्कनुभन्दा पहिले एक राम्रो एसपीएफ क्रिम लगाउन नबिर्सिनुहोस् । यो क्रिमले तपार्ईंलाई घामको किरणबाट जोगाउँछ । साथै सेतो दाग बढ्न पनि रोक्छ । नीमको पातः नीमको पातबाट दुईदेखि तीन चम्चा रस निकाल्नुहोस् । यसलाई महमा मिसाउनुहोस् र दिनमा तीनपटक पिउनुहोस् । तुलसीको पात र कागतीको रसः तुलसीलाई दैनिक छालामा लगाउँदा मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ । दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउनुहोस् । ओखरको पाउडरः ओखरको पाउडरमा थोरै पानी मिसाउनुहोस् । यसलाई दागमा दिनमा दुई पटक लगाउनुहोस् । चन्दन र बदामको तेलः दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस्।

के महिलाको पनि वीर्य स्खलन हुन्छ ?

मानव यौन प्रतिक्रिया चक्रका ४ वटा चरण हुन्छन ।  १. उत्तेजनाको चरण, २. Plateau चरण, ३. चरमसुख चरण र ४. Resolution Phase  (रिजोलुसन चरण) हुन् । प्लाटो फेजमा भएको यौनलाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यही बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवत: सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । Plateau Phase मा महिलाहरूमा योनिद्वार अझ खुल्ने तथा त्यसवरिपरिको भाग फुलेर अर्थात् ठूलो भएर आउँछ । यसरी योनिद्वार वरिपरिको भाग बढ्ने भएकाले भगांकुर अलि भित्र दबेजस्तो देखिन्छ भने स्तनको आकार केही बढ्छ । आधाभन्दा बढी महिलामा अनुहार र छाला रातो (Sex Flush)  हुन्छ । पुरुषले जस्तै यो चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाब महसुस गर्छन् । मांसपेशीहरूमा तनाव पैदा हुन्छ, मुटु तथा स्वासप्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ अनि चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आई आफैं खुम्चने तथा खुल्ने हुन्छ । स्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचापसमेत वृद्धि हुन्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख प्राप्त गर्ने क्रममा मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म चल्छ । के महिलाको पनि वीर्य स्खलन हुन्छ ? यौन उत्तेजना हुँदा सफा रंगविहीन रस केही मात्रामा पुरुषको मूत्रद्वारमा देखिन्छ । यतिबेला महिलाको योनिबाट प्रशस्त रस आउने कुरा हामीलाई थाहै छ । के चरमसुखका बेला महिलामा फरक किसिमको रस आउँछ त ? केही अध्ययनले महिलाहरूको पनि ‘स्खलन’ हुने कुरा उल्लेख गरेका छन्, तर कतिपय वैज्ञानिकले पुरुषमा वीर्य स्खलन भएजस्तै महिलाको स्खलन नहुने कुरा बताएका छन् । त्यसैले महिलाको स्खलनको कुरा विवादित नै छ । एउटा कुरा के भने पुरुषको वीर्य स्खलन महिलामा हुने यस्तो स्खलनको घटनाभन्दा निकै फरक कुरा हो । तपाईंले के कुरालाई संकेत गर्नुभएको हो, स्पष्ट छैन । आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरामा भने फरक छ । यदि चरमसुखको चरणपछि पनि यौन stimuation  (स्टिमुलेसन) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक Refractory Period  हो । पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन, तर महिलाले यौन चरमसुखपछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् । महिलाले कसरी यौनसन्तुष्टि प्राप्त गर्छन् र के कुरा सहयोगी हुन्छन् ?  तपाईंले श्रीमान्सँगको यौनसम्पर्कमा यौनसन्तुष्टि अर्थात् यौन चरमसुख प्राप्त गर्न नसक्नुभएको कुरा लेख्नुभएको छ । यसको अर्थ अन्य समयमा तपाईंले यौन चरमसुख प्राप्त गर्नुभएको छ भन्ने लाग्न सक्छ । उदाहरणका लागि तपाईंलाई हस्तमैथुनबाट यौन चरमसुखको अनुभव छ, तर अहिले श्रीमानसँगको यौनसम्पर्कमा भने सो कुरा पाइएन । पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौनसम्पर्कमा चरमसुख सम्भव छैन । पुरुष माथि रहेर गरिने यौनसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौन सम्वेदनशील अंग भगांकुरको घर्षण हुँदैन, जति नै लामो लिङ्ग भए पनि, त्यसैले लिङ्ग केही सानो हुनुलाई चिन्ताको विषय बनाउनु उपयुक्त होइन । महिला माथितिर रहेर आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन्, अनि भगांकुरलाई हात वा औंलाले वा यौन प्रसाधनजस्तै भाइब्रेटर प्रयोग गरेर यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउनेजस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौन चरमसुख प्राप्त गर्न मद्दत गर्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लिङ्ग झिक्दा यौन क्रियाकलापले निरन्तरता प्राप्त गर्न सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौनसम्पर्क पुरुषकोमा भने कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर यौन क्रियाकलापमा संलग्न हुन सके महिलाले यौनसम्पर्कबाट पर्याप्त सुख प्राप्त गर्न सहज हुन्छ । कसैले राम्रो दृश्य देखाउन वा संगीत सुन्न मद्दत गर्न सक्छ, तर त्यसको वास्तविक आनन्द वा भनौं सुखानुभूति त आफैंले गर्नुपर्छ वा गर्न सकिन्छ । यो कुरा यौन सम्पर्कको सन्दर्भमा पनि लागू हुन्छ । तपाईंको श्रीमान्ले सहयोग गर्न सक्नुहुन्छ तर यौन चरमसुख त तपाईंको व्यक्तिगत अनुभुति हो । त्यसका लागि तपाईंले आफूलाई के–कसो गर्दा आनन्द आउँछ पत्ता लगाउनुहोस् अनि श्रीमान्सँग के–कसो गरिदिँदा तपाईंलाई आनन्द हुन्छ भन्ने कुरा खुलेर व्यक्त गर्नुहोस् । यसरी दुवै जनाले एक–अर्कालाई सहयोग गरे दुवैले यौन चरमसुख नपाउने कुरै हुँदैन । कान्तिपुर साप्ताहिकमा राजेन्द्र भद्राकाे प्रस्तुती साभार