लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका हुन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि नेपालकै हुन् भन्ने कुरामा कुनै दुई मत नरहेको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले महाकाली पूर्वका सबै भूगोल नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको उल्लेख गरेका हुन्।

‘नेपालको अन्तर्राष्ट्रिय सीमाबारे हामी दृढ छौँ। यसबारेमा हाम्रो अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको छ। २०७७ असार ४ गते संविधान संशोधनका क्रममा अनुसूची ३ मा रहेको निशान छाप अद्यावधिकाका लागि हामीले राष्ट्रिय एकता देखाएका थियौँ’, उनले भने, ‘१८१६ को सुगौली सन्धी बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका महाकाली पूर्वको भूगोल नेपालको हो भन्ने कुरामा हामी दृढ छौँ।’

उनले सन् १९५० को शान्ति तथा मैत्रीसहित अन्य सन्धीहरूअनुसार सीमासम्बन्धी विषयलाई समाधान गर्ने कुरा भारतसँग भएको पनि बताए।

‘मैले भारत भ्रमणका क्रममा सीमा लगायत संयन्त्रलाई सक्रिय बनाई यी समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई भनेको छु। यसमा भारतले पनि तयार छौँ भनेको छ’, उनले भने, ‘नेपाल-भारत सीमामा सीमास्तम्भ राख्न दुई देशको संयन्त्रस्तरीय सातौँ बैठकका लागि कुरा भएको छ।’

सुरु भयो एमाले संसदीय दलको बैठक

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।संघीय संसद् भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई सम्बोधन गर्नेछन्। सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन् । उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ।संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्रीसमेत रहेका अर्थशास्त्री डा.युवराज खतिवडा पनि सहभागी भएका छन्।

आधुनिक प्रविधिबाट भूमिको पुन: नापी गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिबाट भूमिको पुन: नापी गरिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आधुनिक प्रविधिबाट भूमिको पुन: नापी गरिने छ ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर सबै सरोकारवालाहरुको विषय भएको बताएका छन्।  कानुन दिवसको अवसरमा बुधबार शुभकामना दिँदै प्रधानन्यायाधीश श्रेष्ठले भने,’न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायापालिका मात्रको विषय नभई यसका सबै सरोकारवालाहरूको साझा चासो र सरकारको विषय हो भन्ने कुरामा म विश्वस्त छु।’ प्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय अदालतमा पुराना मुद्दाहरूको फर्छ्यौटको क्रम बढेको बताएका छन्। उनले स्वच्छ एवं स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन्।   विसं २००८ साल बैशाख २६ गते प्रधान न्यायालय ऐन बनेपछि स्वतन्त्र न्यायपालिका स्थापना भएको मानिन्छ। त्यसैको सम्झनामा हरेक दिन बैशाख २६ गते कानुन दिवस बनाइन्छ। आजको दिन देशभरिका अदालतहरू बन्द रहन्छन्।

बझाङमा फेरि ९ मतले एमालेको अग्रता

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । बीचमा काङ्ग्रेस अगाडि रहेकोमा एमालेले फेरि अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका हुन् । भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् । अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ ।

आज हिरक जयन्ती मनाउँदै एमाले,शीर्ष नेताहरू सहभागी हुने

काठमाडौँ। नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सव मनाउँदै छ । पार्टी स्थापनाको ७५औँ वर्षको अवसरमा एमालेले हिरक महोत्सव मनाउन लागेको हो  । एमालेले हिरक महोत्सवमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगात विभिन्न दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरेको छ। हिरक महोत्सवको अवसरमा एमालेले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्न लागेको छ। शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकलो पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान गर्ने निर्णय गरेको थियो ।कार्यक्रम दिउसो १२ बजे ललितपुर गोदावरीमा हुनेछ ।

हसिना खानद्धारा प्रतिनिधिसभा सदस्यको शपथग्रहण

काठमाडौं । जनता समाजवादी पार्टीकी हसिना खानले प्रतितिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी हुन् । शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् ।  मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको ०७९ फागुन १३ मा निधन भएपछि रिक्त स्थानमा मञ्जु सांसदान मनोनीत भएकी थिइन् ।  उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिनाको नाम सिफारिस गरिएको थियो । 

मानव कल्याणले छैठौं वार्षिकोत्सव काठमाडौंमा मनाउने

काठमाडौं, ७ चैत । मानव कल्याण मित्र मञ्च नेपालले आफ्नो छैठौं स्थापना दिवस काठमाडौंमा  मनाउने भएको छ ।  आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले अगामी चैत ९ गते नयाँ बानेश्वरको इन्द्रेणी बैंक्वटमा छैठौं स्थापना दिवस मनाउने तयारी रहेको जानकारी गराएको हो ।  प्रतिनिधि सभाकी सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाउन लागिएको मञ्चका संरक्षक पुरुषोत्तम भट्टराईले बताए ।  संरक्षक भट्टराईले संस्थाले स्थापना कालदेखि नै मानवीय सेवामा काम गरिरहेको बताए । उनले सन् १९९० देखि संस्थाले भारतमा हराएका, बेचिएका, विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार र संरक्षण गर्दै आएको बताए ।  मानव कल्याण मित्र मञ्चका दुर्गा प्रसाद अर्यालले संस्थाले लामो समय मानवता, मित्रता र शान्तिको मार्गमा काम गरिरहेको बताए ।  आफूहरुले नेपालमा २०७५ देखि संस्था स्थापना गरी मानवीय सेवामा योगदान गरिरहेको बताए ।

मोष्ट वान्टेड दुई भारतीय गोली हानी नियन्त्रणमा

काठमाडौं । सर्लाहीमा प्रहरीले गोली चलाएर दुई जना भारतीय मोष्ट वान्टेड डाँकाहरुलाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि पक्राउ गरेको जानकारी दिएको छ ।  आरोपीहरूविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन बढि मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्लामा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि उनीहरुबिरुद्ध जवाफी कारबाही गरिएको प्रहरी जानकारी दिएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोली चलाएको थियो । आरोपीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउन्ड गोली प्रहरीले बरामद गरेको पनि छ ।

राष्ट्रिय सभामा दाहाललाई विजयी गराउन पाँच दलको अपिल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा नयाँ सत्ता समिकरणका लागि सहयात्रा गरेका दलहरुका साझा उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन पाँच दलले अपिल गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूको बैठकले दाहाललाई विजयी गराउन अपिल गरेका हुन् ।  बैठकपछि पत्रकारहरुसँग माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धन दलहरू एकताबद्ध भएर मत दिन अपिल गरेको छ । राष्ट्रिय  कार्यभार पुरा गर्न हामीले राष्ट्रिय सभालाई सही ढंगले सञ्चालन गर्न साझा उम्मेदवार दिएका छौँ । त्यसलाई समर्थन गरेर विजयी गराउन भनेर अपिल गरिएको हो ।’ बैठकमा माओवादीका अध्यक्ष प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा राष्ट्रिय सभा संसदीय दलका नेता मृग्रेन्द्र यादवले आ–आफ्ना धारणा राखेका थिए । उनले यो सरकार खालि सरकार बनाउनका निम्ति मात्रै पुनर्गठन नगरिएको पनि बताए । श्रेष्ठले यो सरकार निश्चित उद्देश्यका साथ पुनर्गठन गरिएको भन्दै सामाजिक आर्थिक रूपान्तरण र समृद्धिका विन्दुमा पुर्‍याउने सरकारको कार्यभार भएको बताए । उनले भने, ‘त्यो कार्यभार यसअघिको सरकार मार्फत पुरा गर्न सकिएन । त्यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर यो सरकार पुनर्गठन गरिएको हो ।’ उनले पाँच दलबिच लिखित सहमति भइसकेकाले कुनै समस्या  नभएको दावी गरे । 

प्रधानमन्त्रीद्धारा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।  आज एक शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको बताएका छन् ।  सो अवसरमा प्रधानमन्त्रीले ग्याल्बो ल्होसारले आन्तरिक राष्ट्रियता, आपसी सद्‍भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

पहिलो ओभरमै करणले लिए नेदरल्यान्ड्सका दुई विकेट

काठमाडौं। नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालका करण केसीले पहिलो ओभरमै महत्वपूर्ण दुई विकेट लिएका छन् । टीयु क्रिकेट मैदानमा जारी खेलमा करणले सुरुवाती ओभरमै नेदरल्याण्डस्को दुई विकेट लिन सफल भएका हुन् । चौथो बलमा माइकल लेभिटको विकेट लिएका करणले पाँचौं बल डट दिदै छैटौं बलमा स्याब्रान्ड एंगेलब्रेक्टलाई पनि पेभिलियन फर्काउन सफल भए ।  नेदरल्याण्ड्सले टस जितेर व्याटिङ रोजेपछि नेपालले फिल्डीङ गरिरहेको छ । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ । आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ । नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ । नेदरल्यान्ड्सले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । दीपेन्द्रले ६३ रनको इनिङ खेलेपनि जिताउन सकेका थिएनन् । अन्तिम ओभरमा १५ रन चाहिँदा सुरुवाती दुई बलमा चौका र छक्का हानेपनि त्यसपछि असफल भएका थिए । दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुन् । बलिङमा पावर प्ले र डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै आएका छन् ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २९ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्तिकभित्र ठेक्का लगाइसक्न सचिवहरुलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयका सचिवसँग अर्थ मन्त्रालयमा सामूहिक छलफल गर्दै मन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि यस्तो निर्देशन दिएका हुन् । छलफलमा मन्त्री महतले डिपिआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जाने गरी काम गर्न पनि निर्देशन दिए । उनले डिपिआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डिपिआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिए । मन्त्री डा. महतले आवश्यकता र श्रोतका बीचमा ठूलो खाडल भएकाले श्रोत सुनिश्चिता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् ।

संघीय संसदमा राष्ट्रपतिको सम्बोधन (फोटोफिचर)

काठमाडौं । संघीय संसदमा राष्ट्रपति विद्यादेवि भण्डारीको सम्बोधन चलिरहेको छ । राष्ट्रपति भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित गर्नुपर्छ।’’ राष्ट्रपति भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिएकी छन्। उनले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताएकी छन्। सरकारका नीति तथा कार्यक्रम सहि ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले नागरिकको सरकारका उदेश्य प्राप्तिमा सहयोग हुने विश्वास व्यक्त गरिन् । फोटोफिचर तस्बिर : प्रदीपराज वन्त (प्रधानमन्त्री सचिवालय)

गणतन्त्र समृद्ध बनाउन सबैलाई एकताबद्ध हुन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताए । गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उनले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए । गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उनको विश्वास छ । गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपतिले घाइते योद्धाको स्वास्थ्यलाभको कामनासहित उनीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गरे । उनले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गरे । गणतन्त्र प्रारम्भको १४ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूला–ठूला उथलपुथल भएको उल्लेख गर्दै उनले फलस्वरुप सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान बनेको बताए । संविधानबमोजिम दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्मुखमा रहेको जनाउँदै उपराष्ट्रपतिले संविधानले महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायलाई थुप्रै अधिकार दिइएको बताए । राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने भन्दै उनले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गरे । “यति गर्न सकियो भने जनताको जीवन परिवर्र्तन तथा देशको विकास र समृद्धिमा कुनै ढिला हुँदैन । यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ”, उनले भने , “गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्छ । यसतर्फ म सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”