मानव कल्याणले छैठौं वार्षिकोत्सव काठमाडौंमा मनाउने
काठमाडौं, ७ चैत । मानव कल्याण मित्र मञ्च नेपालले आफ्नो छैठौं स्थापना दिवस काठमाडौंमा मनाउने भएको छ ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले अगामी चैत ९ गते नयाँ बानेश्वरको इन्द्रेणी बैंक्वटमा छैठौं स्थापना दिवस मनाउने तयारी रहेको जानकारी गराएको हो ।
प्रतिनिधि सभाकी सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाउन लागिएको मञ्चका संरक्षक पुरुषोत्तम भट्टराईले बताए ।
संरक्षक भट्टराईले संस्थाले स्थापना कालदेखि नै मानवीय सेवामा काम गरिरहेको बताए । उनले सन् १९९० देखि संस्थाले भारतमा हराएका, बेचिएका, विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार र संरक्षण गर्दै आएको बताए ।
मानव कल्याण मित्र मञ्चका दुर्गा प्रसाद अर्यालले संस्थाले लामो समय मानवता, मित्रता र शान्तिको मार्गमा काम गरिरहेको बताए ।
आफूहरुले नेपालमा २०७५ देखि संस्था स्थापना गरी मानवीय सेवामा योगदान गरिरहेको बताए ।
रक्सीले मातेका चालकले पुलबाट कार खसाले
दाङ । रक्सीले बढि मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो । दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका १५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए । उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ । घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ। कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ।
आज पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी आंशिक भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।
सत्ता गठबन्धनको बैठक सुरु‚ टुंग्गिएला मन्त्रालयको भागबन्डा !
काठमाडौं । नयाँ गठबन्धन बनेपछि मन्त्रालय भागबन्डा गर्न दलहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलहरूको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड‚ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव छन् । उनीहरूबाहेक दोस्रो तहका नेताहरू पनि बैठकमा सहभागी छन् ।
सत्ता गठबन्धन फेरिएसँगै पटकपटक सर्किट ब्रेक, आजलाई शेयर कारोबार स्थगित
काठमाडौं।सत्ता गठबन्धन फेरिए सँगै सेयर बजारमा सर्किट ब्रेक लागेको छ ।नेप्से परिसूचक छ प्रतिशतले बढेर आजको शेयर कारोबार स्थगित भएको हो ।पटकपटक सर्किट ब्रेक लागेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनःकारोबार सुरु भएपछि नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको हो ।आजको कारोबारमा नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार ७८ मा पुगेको छ । विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विभिन्न दुई सय ३७ कम्पनीका नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् । कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
प्रधानमन्त्री कप : आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेल्न लागेको हो भने ९ खेलबाट ७ खेलमा जित निकाल्दै आर्मी दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
एक हजार घुस लिएको आरोप लागेका कर्मचारीद्वारा आत्महत्या
काठमाडौंः एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन्। अख्तियारले पक्राउ गरेपछि ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएका रामहरि सुवेदीले आत्महत्या गरेका छन् । रिहा भएको एक सातामै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । कलङ्की मालपोत कार्यालयमा खरिदारका रूपमा रहँदा गत असार महीनामा रु एक हजार रकम लिँदै गरेको सीसी क्यामराको दृश्य अवलोकन गरी अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाई कार्यालयबाटै गत २२ साउनमा पक्राउ गरी थुनामा राखेको थियो । विगत २१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ दिँदा ज्यानै गुमाउनुपरेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन् ।
करिअर टिप्सः यस्तो छ फास्ट ट्रयाक बढुवाका ७ सिँढी
बोसबाट स्पष्ट अपेक्षा राख्नुहोस् जीवनका हरेक पाइलामा उत्कृष्ट प्रदर्शन गर्न चाहनुहुन्छ भने बोसलाई खुसी बनाउनुहोस् । म्यानेजरसँग बसेर स्पष्ट लक्ष्य तय गर्नुहोस् र भन्नुहोस्, ‘म तपाईंको लक्ष्य र योजना पूरा गर्न सदैव तयार छु, त्यसका लागि मैले के गर्न सक्छु ?’ आफ्नो कामको त्रैमासिक समीक्षा होस् भन्ने चाहेको कुरा बताउनुहोस् । उपलब्धिको डकुमेन्टेसन गर्नुहोस् तपाईंले गर्नुभएका सबै काम र उपलब्धीबारे बोसले ख्याल गरिरहेको नहुन सक्छ । त्यसैले त्यस्ता काम र उपलब्धीहरूको फेहरिस्त नै राख्नुहोस्, जसले तपाईंलाई प्रमोसन माग गर्न सहज हुनेछ । तपाईंले प्राप्त गर्नुभएको थप सीप, तालिम तथा क्षमता पनि आफ्नो बायोडाटामा थप्नुहोस् । मानव स्रोत विभागसँग नजिक बन्नुहोस् मानवस्रोत विभागका साथी तपाईंको प्रमोसनको कडी बन्न सक्छन् । तपाईंलाई रोजगारीका बारेमा जानकारी दिने व्यक्तिलाई कहिलेकाहीँ सँगै खान लानुहोस् र त्यही मौकामा आफूले गरेका कामका बारेमा भन्नुहोस् । त्यस्ता बसाइले तपाईंलाई चाहेको विभागमा जान वा प्रमोसनका लागि सहज वातावरण बनाउन सक्ने छ । दिइएको दायित्वमा सीमित नरहनुहोस् जब तपाईंले एकपटक आफूलाई ठूला काम र जिम्मेवारी पनि पूरा गर्न सक्छु भन्ने प्रमाणित गर्नुहुनेछ, तब आफ्ना म्यानेजरलाई थप जिम्मेवारी माग गर्नुहोस् । तर, त्यस्तो विशेष काम मात्र दिन आग्रह गर्नुहोस्, जुन जिम्मेवारी र पदका लागि तपाईंले आँखा लगाइरहनुभएको छ । त्यो तपाईंका लागि आफूलाई परीक्षण र प्रमाणित गर्ने आधार बन्ने छ । नेतृत्वकर्ता हुन सक्ने प्रमाणित गर्नुहोस् बोसले चाहेका वेला तपाईंले आफूलाई टिमका अन्य सदस्यभन्दा राम्रो रहेको प्रमाणित गर्नुहोस् । टिमको होइन, प्रमोसन एक व्यक्तिको हुन्छ । कोही कसैलाई नेतृत्वकर्ता नतोकिएको भए पनि आफू नै अन्तिम प्रस्तुतिका लागि छानिएको नेता रहेको ठान्नुहोस् र बोसलाई हरेक कुराको अपडेट गराउनुहोस् । प्रमोसनको माग गर्नुहोस् अधिकांश कर्मचारीले प्रमोसनका लागि बोसको निगाहा आफूलाई प्राप्त होस् भन्ने चाहिरहेका हुन्छन्, तर यो सत्य हो कि तपाईंले माग नगरेसम्म हत्तपत्त प्रमोसन पाइँदैन । कुनै कारणले आफू प्रमोसनमा परिएन भने आफूले आफैँलाई एकपटक नियाल्नुहोस् र प्रश्न गर्नुहोस् म किन प्रमोसन भइनँ । र, आफ्नो बारेमा प्रतिक्रिया लिनुहोस् ता कि त्यसले अर्को प्रमोसनमा तपाईंको नाम पार्ने गरी सुधार गर्न सहयोग पुगोस् । प्रमोसनको विकल्प खोज्नुहोस् तपाईं आफूले सकेसम्म राम्रो प्रदर्शन गरिरहनुभएको छ, तैपनि तपाईंको बढुवा हुन सकेको छैन र तलब पनि बढेको छैन भने विकल्प सोच्नुहोस् । कतिपय अवस्थामा प्रमोसन कुरिरहनुभन्दा नयाँ ठाउँमा रोजगारी सुरु गर्नु लाभदायक हुन सक्छ । कार्यालय परिवर्तन गर्दा तलबमा वृद्धि त छँदैछ, नयाँ जिम्मेवारी र नेतृत्व पनि आउन सक्छ । त्यसैले बोसलाई आफू योग्य रहेको प्रमाणित गर्न कुनै कसर बाँकी नराख्नुहोस् । नयाँपत्रिकादैनिकबाट
चीनले बनायो अहिलेसम्मकै उत्कृष्ट सेक्स डल
बेइजिङ । चिनियाँ कम्पनीले मानवीय स्वभाव भएका सेक्स डल निर्माण गरेका छन् । जसले रिसाउँदा पनि गीत गाउने तथा हँसाउने गर्छन्। चिनियाँ दुई कम्पनीहरू डल स्विट डल र एक्स डल नामक कम्पनीहरूले यस्ता प्रकारका सेक्स डलहरूको निर्माण गरेका छन्। निर्माण पक्षले स्मार्ट फोनको सहायताले त्यस्ता डलहरूले रिसाएको समयमा समेत हँसाउदै गीत गाउँदै सन्तुष्टि दिन सक्ने दाबी गरेको छ। हाल यस्ता डलहरू चिनियाँ भाषामा मात्रै उपलब्ध हुने भएतापनि यसको विस्तार अन्तर्राष्ट्रिय स्तरमा समेत गरिने निर्माण पक्षले बताएको छ। यस्ता डलहरू अंग्रेजी तथा जापानी भाषामा विश्व बजारमा उपलब्ध गराइने निर्माण पक्षले बताएको छ। यस्ता डलहरूको मूल्य ४५ सय यूरो पर्ने यसको आधिकारिक निर्माण कम्पनीले बताएको छ । यस्ता डलहरू महिला तथा पुरूष दुवैका लागि उपलब्ध हुने छन्। एजेन्सीको सहयोगबाट
मुस्ताङमा लेक लागेर तीन जनाको मृत्यु
मुस्ताङ । मुस्ताङमा लेक लागेर तीन दिनको बीचमा दुई विदेशी नागरिकसहित तीन जना पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका एक जना अमेरिकन, एक भारतीय र एक जना नेपाली पर्यटक गरी तीन जनाको लेक लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले मुक्तिनाथ दर्शन गर्न आएका दुई विदेशी र एक नेपालीको लेक लागेर मृत्यु भएको जानकारी दिए। गोरखा नगरपालिका—६ स्थायी वतन भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको हो। मुस्ताङ भ्रमणका लागि साथीहरूसँगै आएका जोशी घरपझोङ—४ जोमसोमस्थित होटल मेसोकोन्दोमा बास बसेका थिए। राति टाउको दुखेपछि जोशी होटलको डाइनिङ हलमा ढलेका थिए। त्यसपछि उनलाई होटलका स्टाफ र प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। बिहीबार मुक्तिनाथ दर्शन गरी फर्किएका २२ जनाको समूह थासाङ गाउँपालिका—२ होलिडे क्याम्पमा बास बसेको थियो। जसमध्ये अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजर (पासपोर्ट नं. ए ४७०६४९५९ नाम गरेका पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पुर्याउँदा मृत्यु भएको डीएसपी बोगटीले जानकारी दिए।
भ्रष्टाचारविरुद्ध र समृद्धिका पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम खाएको छु : प्रचण्ड
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको विरुद्ध सुशासनका पक्षमा नेपाली जनताको आर्थिक विकास र समृद्धिका पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम खाएको बताउनुभएको छ । शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उहाँले जीवनको उत्तरार्धमा पनि सोही भ्रष्टाचारको विरुद्ध सुशासनका पक्षमा नेपाली जनताको आर्थिक विकास र समृद्धिका पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसमका कारण हिजो भन्दा आज सक्रिय भएको बताउनुभयो । उहाँले भन्नुभयो -'हुनत म जीवनको उत्तरार्ध तिर छ, तर किन हो मलाई अल्ली बढि जोस आएको छ ।किनकी मैले भ्रष्टाचारको विरुद्ध सुशासनका पक्षमा नेपाली जनताको आर्थिक विकास र समृद्धिका पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसममैले खाएको छु । त्यसैले मलाई त्यसकाविरुद्ध लड्न जोस आएकै छ ।' भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताउनुभयो । ‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो,बूढानीलकण्ठतिर पनि सोेझियो । जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो एउटा डर, एउटा भय’ प्रचण्डले भन्नुभयो, ‘त्यसैकारण राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीका बीचमा गठबन्धन भयो र सरकार बदलिने परिस्थिति बन्यो ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले आफूले सत्तारुढ दललाई दुई तिहाइको अहंकार नदेखाउन आग्रह गर्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिएको बताउनुभयो। ‘मैले उनीहरुलाई सम्झाएको मात्र छु, दुई तिहाइको यदि तपाईंहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बंगलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो’, अध्यक्ष प्रचण्डले भन्नुभयो । आफूले खबरदारी गरेको विषयलाई कांग्रेस र एमाले नेताहरुले ‘बंगलादेश बनाइदिन्छु भन्यो’ भनेर प्रचार गरेको भन्दै प्रचण्डले भन्नुभयो, ‘मैले त खबरदारी गरेको मात्र हो, तपाईहरु त्यता हेर्नुस्, दुई तिहाइको अहंकार गर्न छाडेर जनताको सेवा गर्नुस् भनेर सुझाव पो दिएको हो।’
नेकपा एसमा ८४ पोलिटब्यूरो सदस्य चयन (नामावलीसहित)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ । आज बिहान सम्पन्न मत परिणामअनुसार पोलिटब्यूरो सदस्यमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा। विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, डा। वंशीधर मिश्र विजयी हुनुभएको छ । यस्तै, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली, साध्यबहादुर भण्डारी, लगायत पनि निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीले बुधबार पदाधिकारीको निर्वाचनमार्फत टुंगो लगाएको थियो । एकीकृत समाजवादीमा पदाधिकारी २१ र पोलिटब्यूरो १०५ सदस्यीय (पदाधिकारीसहित) रहेको छ ।
संसदीय समितिमा उजुरी -'राजदूत सिफारिस समावेशी भएन'
काठमाडौँ । राजदूत सिफारिस समावेशी नभएको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो । यसअनुसार उजुरी दिने म्याद भदौ ७ गतेसम्म रहेको छ । मंगलबारसम्म दुई वटा उजुरी परेको समिति सचिवालयले जनाएको छ । जसमा एउटा व्यक्ति केन्द्रित उजुरी रहेको छ भने एउटा उजुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि प्रश्न गरिएको छ । यसअघि पनि समावेशिताको प्रश्न उठाएर समितिमा उजुरीहरू परेका थिए । गत साउन १४ गते सरकारले विभिन्न १८ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । तर परराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्रै पुगेको छ । अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम भने सुनुवाइ समितिमा पुगेन । यसअघि इजरायलको राजदूत रहँदा दुई जना सहयोगी लगेकोमध्ये एक जना नेपाल नफर्किएको सूचनाका कारण उनको नाम अगाडि नबढाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
जलवीरेमा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले राससलाई बताए।
रबिलाई गृहमन्त्रीबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ आज
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेशी तोकिँदै छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइका क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने भन्दै न्यायाधीशको पेशी पर्दै सरेको थियो। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छन्। महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो । रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ।
प्रतिनिधिसभा बैठक : मन्त्रालयगत छलफल हुने, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा आज बस्दै छ ।आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जनाएको छ। बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, सांसद अमरेशकुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन्। सांसद पुष्पबहादुर शाहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्का सांसद बद्रीप्रसाद पाण्डेले “विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय जानकारी दिए। त्यसैगरी सांसद रमा कोइराला पौड्यालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।