सुन तस्करीका लागि हङकङमा कार्यालय, यस्ता छन् कार्यालय खोल्ने नागरिक

काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ।

विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो।

सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। यो नागरिक दैनिकमा आज प्रकासित समाचार हो ।

यी हुन् संसारकै लामो खुट्टा भएकी महिला

कुनै बेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी एक रसियन सुन्दरीले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । रसियन मोडेल इकाटेरिना लिसिनाले यस्तो किर्तिमान राखेकी हुन् । ६ फिट ९ इन्च अग्ली मोडेल लिसिनाको नाउँमा विश्वकै अग्ली मोडेलको किर्तिमान यसअघि नै कायम भैसकेको छ । २९ वर्षकी लिसिनाको बायाँ खुट्टाको लम्बाई १३२।८ सेन्टिमिटर छ भने दायाँ खुट्टाको लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ । वास्तवमा लिसिनाको खान्दान नै अग्लो छ । उनका दाजू ६फिट ६इन्च अग्ला छन् । जबकी उनका बुवा ६फिट ५ इन्च अग्ला छन् भने आमा ६फिट १ इन्च अग्ली । गिनिज बुकमा नाम लेखाउन पाउँदै निकै अनौठो अनुभुति भैरहेको भन्दै यसले दिनानुदिन पाइरहेको सकारात्मक दृष्टिमा अझै बढोत्तरी हुने विश्वास उनको छ । किशोरावस्थामा लामो जिउकै कारण खिसिट्यूरीको सिकार भएकी लिसिनाले त्यतिबेलै व्यवसायिक मोडेल हुने अठोट गरेकी थिइन् । सन् २००८ को ओलम्पिक खेलमा उनी रुसका राष्ट्रिय बास्केटबल टोलीमा परिन् र कास्यपदक हात पारिन् ।

डा. गोविन्द केसी फेरि अनसन बस्ने

काठमाडौं, साउन १ । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् । स्वास्थ्य क्षेत्रमा भएको अनियमिततालाई रोक्ने प्रयासमा हरदम प्रयासरत डा.केसी यस पटक पनि चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने पहिलो मागसहित अनसन बस्न लागेका हुन् । आइतवार विज्ञप्ति जारी गर्दै डा. केसीले आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न दिएको अल्टिमेटम सरकारले गुजारेको भन्दै साउन ९ गते अपराह्न ४ बजेदेखि आमरण अनसन बस्ने घोषणा गरेका हुन् । डा केसीद्धारा विज्ञप्तिमा भनिएको छ ‘सम्झौताहरु बारम्बार उल्लंघन गरिरहेका सरकार र राजनीतिक दलहरुले चरम् गैर जिम्मेवारीपन देखाउँदै त्यस्तो कानुनी व्यवस्था गर्ने चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा पुगेको एक वर्ष पुगिसक्दा समेत पारित गरेका छैनन् ।’ ‘त्यसो नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न उद्यत् प्रमुख दलका शीर्ष नेताहरु तथा स्वार्थको द्वन्द्व हुने संसदीय समितिका सदस्यहरु मुख्य जिम्मेवार छन् । यही मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा चरम अनियमितता गरेर लुट मच्चाइरहेका छन् जसले गर्दा तीन करोड नेपालीको स्वास्थ्य र ज्यानसमेत खतरामा पर्ने अवस्था सिर्जना भएको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विगतका सम्झौता बमोजिम आइओएमलाई थप स्वायत्तता दिनको सट्टा त्यसको विपरीत हुने गरी आइओएममा कायम अधिकारहरु खोसेर लिने काम गरेका छन्’ विज्ञप्तिमा उल्लेख छ । यस्तो छ विज्ञप्तिको पूर्ण पाठ हामीहरु गत दशकदेखि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउन, सबै नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच पुर्याउन एवम् सबै विद्यार्थीहरुको सुलभ र गुणस्तरीय चिकित्सा शिक्षामा समान पहुँचको सुनिश्चितता गर्ने कानुनी तथा व्यवहारिक व्यवस्था गर्न संघर्ष गरिरहेको विदितै छ । हाम्रो यो लडाइँ समाजमा आम रुपमा सुशासनका लागि समेत रहेको छ । तर हामीसित भएका सम्झौताहरु बारम्बार उल्लंघन गरिरहेका सरकार र राजनीतिक दलहरुले चरम् गैर जिम्मेवारीपन देखाउँदै त्यस्तो कानुनी व्यवस्था गर्ने चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा पुगेको एक वर्ष पुगिसक्दा समेत पारित गरेका छैनन् । त्यसो नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न उद्यत् प्रमुख दलका शीर्ष नेताहरु तथा स्वार्थको द्वन्द्व हुने संसदीय समितिका सदस्यहरु मुख्य जिम्मेवार छन् । यही मौका छोपेर विद्यार्थी भर्ना, सिट र शुल्क निर्धारणमा चरम अनियमितता गरेर लुट मच्चाइरहेका छन् जसले गर्दा तीन करोड नेपालीको स्वास्थ्य र ज्यानसमेत खतरामा पर्ने अवस्था सिर्जना भएको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विगतका सम्झौता बमोजिम आइओएमलाई थप स्वायत्तता दिनको सट्टा त्यसको विपरीत हुने गरी आइओएममा कायम अधिकारहरु खोसेर लिने काम गरेका छन् । त्यसैको फलस्वरुप त्रिवि पदाधिकारीहरुसित मिलेमतो गरेर निजी मेडिकल कलेजहरुले विद्यार्थी भर्ना र शुल्कको विषयमा आइओएमको निर्णय, मन्त्रीपरिषदको निर्देशन र अदालतको आदेश समेत नटेरेर चरम अराजकता प्रदर्शन गरेका छन् । परिणामस्वरुप विधिवत् रुपमा योग्यताक्रममा रहेका विद्यार्थीहरुको पढाइ अनिश्चित भएको छ भने नियामक निकायले दिंदै नदिएका सिटमा समेत मोलमोलाइमा विद्यार्थी भर्ना भएका छन् । ठूला अस्पताल र मेडिकल कलेजहरु देशका एकाध ठूला शहरमा मात्र केन्द्रित हुँदा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट देशको तीन चौथाइ जति जनसंख्या विमुख भइरहेको छ । त्यो अवस्थाको अन्त गरी गुणस्तरीय स्वास्थ्य सेवाको न्यायोचित वितरण गर्नका लागि प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्ने भनेर हामीसित गरिएको सम्झौता तदारुकताका साथ कार्यान्वयन गरिनुपर्छ । हाल सञ्चालनमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल विद्यार्थी भर्नाको व्यवस्था गर्नका साथै दांगस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्काल शुरु गर्न, गेटास्थित मेडिकल कलेज शीघ्र सञ्चालनमा ल्याउन तथा दुर्गम जिल्लाहरु समेट्ने गरी डोटी÷डडेल्धुरा, पाँचथर/इलाम, उदयपुर, धनुषा/महोत्तरी लगायतका ठाउँमा सरकारी मेडिकल कलेजहरु खोलिनुपर्छ । मेडिकल शिक्षाको क्षेत्रमा हाल व्याप्त अनियमितता र अराजकतालाई राज्यका विभिन्न अंगबाट अनेक रुपमा संरक्षण रहेको समेत देखिएकाले हामी त्यस्तो खाले संरक्षणको भत्र्सना गर्दर्छौं । विभिन्न पक्षहरुको आर्थिक स्वार्थका लागि नागरिकहरुको स्वास्थ्यमा गम्भीर खेलबाड गरिने अवस्था राज्यको कुनै पनि अंगबाट भएमा त्यो हामीलाई सह्य हुने छैन । पछिल्लो समय अदालतका केही आदेशहरुका आडमा तथा समयमा पेशी र सुनुवाइ नभएका कारण मेरिटका विद्यार्थीहरु भर्ना नहुने, नियामक निकायले दिंदै नदिएका सिटमा भर्ना लिने जस्ता कामहरु भएकाले त्यसले मेडिकल माफियाको हितमा काम गरिरहेको दुखद स्थिति छ । साथै विगतदेखि समेत सन्देहास्पद भुमिका रहेको न्यायिक नेतृत्व यस खालका विकृति र विसंगतिलाई निर्मुल गरेर सही अर्थमा न्याय दिंदै मेडिकल शिक्षाको गुणस्तर कायम गर्न तत्पर भएको देखिंदैन । न्यायपालिकालाई समेत जवाफदेही बनाउन त्यहाँभित्रका गलत व्यक्ति र प्रवृत्तिविरुद्ध संघर्ष गर्न हामी प्रतिबद्ध छौं । सरकार, राजनीतिक नेतृत्व र संसद समेत यो क्षेत्रको संवेदनशीलता बुझेर आआफ्नो ठाउँबाट सुधार र सुशासनका लागि भुमिका खेल्नेछन् भन्ने हाम्रो अपेक्षा छ । त्यसो नभएमा राज्यका जुनसुकै अंगलाई जवाफदेही बनाउन नागरिकका हैसियतले हामीले हरेक उपाय अपनाएर संघर्ष गर्ने कुरा जानकारी गराउन चाहन्छौं । यसैबीच सुधारका ठोस मागहरु राखी हामीले बारम्बार सरकारको ध्यानाकर्षण गर्दै ती माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएका थियौं । सो अवधिमा मागहरु पूरा नभएकाले यही साउन ९ गते अपरान्ह ४ बजेदेखि सत्याग्रह शुरु गर्ने जानकारी गराउँछु । साथै विगतमा झैं यसपल्ट पनि नागरिकहरुको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । सत्याग्रहका मागहरु तत्काल माथेमा प्रतिवेदन अनुरुप हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरियोस् । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न निम्न काम गरियोस् आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरियोस् आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरियोस् सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरियोस् चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गरियोस् । एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरियोस् आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरियोस् । डा गोविन्द केसी त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

जेठ ३१ को चुनावमा सहभागि हुने राजपाको घोषणा

झापा,बैशाख ३०। मधेशवादी ६ वटा पार्टी एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए जेठ ३१को स्थानीय चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ । संवाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा शनिवार सम्पन्न छलफलमा राजपा झापाको अध्यक्ष मण्डलका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको मुद्दा सम्बोधन भए स्थानीय चुनावमा जाने बताए । उनीहरुले चुनाव मुलुकको लागि अपरिहार्य भएको भन्दै बर्तमान सरकारले मधेशवादीको भावना सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरे । उनीहरुले ४ बुँदे प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शान्ति, सहमति, सहकार्य र गणतन्त्रको स्थायित्वको पक्षमा प्रतिबद्ध रहँदै पार्टीको कार्यक्रम र अभियानलाई शान्तिपूर्ण रुपमा अघि बढाउने उनीहरुको प्रतिबद्धता छ । त्यस्तै संविधान संशोधनमार्फत राजपा लगायतका दलले उठाएको मुद्दा सम्बोधन गरी दोस्रो चरणको स्थानीय चुनावमा मधेशवादी दलको सहभागिताको वातावरण बनाउन पनि माग गरेका छन् । राजपा झापाले दलहरुबीच सहमति, सहकार्य, एकताको राजीनितक संस्कार र संस्कृतिलाई बढावा दिई मुलुकलाई तत्काल निकास दिन माग समेत गरेको छ । राजपा नेपाल झापा अध्यक्ष मण्डलका संयोजक सूर्यनारायण गणेशले दलहरुबीच सहमतिको विकल्प नरहेको भन्दै बर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिए । संविधान संशोधनमार्फत मधेशीको अधिकार सुनिश्चितसँगै भावना समेट्नुपर्ने उनले बताए । सरकार र चुनावको आफूहरु विरोधी नरहेको उनीहरुको भनाइ थियो । सद्भावना पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, मधेशी जनाधिकार फोरम गणतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल बनेको हो । सो पार्टीले झापामा एकता घोषणा सभा गरिसकेको छ भने जेठ १ गते जिल्लाभर मोटरसाइकल ¥याली गरेर एकताको सन्देश दिने समेत जानकारी दिएको छ । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

कहिले हुन्छ मौसम सफा ?

काठमाडौं, चैत ९ ।  जल तथा मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका अनुसार मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । गत सातादेखि सुरु भएको पश्चिमी वायु कायमै भएकाले अझै केही दिन मध्यसँगै पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए । गत साता पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावपछि मौसम चिसिँदै गएको हो । बुधबारदेखि पश्चिमी वायु कमजोर हुँदै जाने अनुमान गरिएको छ । तर, स्थानीय वायु मनसुन सुरु नहँुदासम्म निरन्तर रहने भएकाले हिमालीसँगै पहाडी क्षेत्रमा सामान्य वर्षा गराउने सुवेदीले बताए । यस वर्ष छिटो प्रिमनसुन सुरु भएकाले गर्मी महसुस भएको छैन । जल तथा मौसम विज्ञान विभागले हिउँको मापन वर्षको एकपटक मात्र गर्ने गरेको छ । प्राविधिक हिसाबले कठिन हुने भएकाले वर्षको एकपटक मात्र हिसाब गरेर तथ्यांक निकाल्ने गरेको विभागका हाइड्रोलोजिस्ट सुरेश प्रधानले बताए । ‘गर्मी लागेपछि र मान्छे जान सक्ने भएपछि मेसिनबाट यति हिउँ परेछ भन्ने जानकारी पाउँछौँ,’ उनले भने । यो खबर आजको  नयाँ पत्रिकामा छ  ।

प्रियंका चोपडाले फेला पारिन नेपाली केटी

माघ ३ – नेपाली चलचित्र निर्माण गर्ने घोषणा गरेकी बलिउड नायिका प्रिंयका चोपडाले नेपाली केटी फेला पारेकी छिन् । सिक्किम बेस्ड निर्माणमा लागेकी अभिनेत्री चोपडाले अभिनेत्री मन्जु क्षेत्रीलाई आफ्नो फिल्ममा अभिनयका लागि छनौट गरेकी हुन् । सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल ‘मेरी बास्सै’मा खड्का जीकी कान्छी श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । प्रियंका चोपडाको सिनेमामा मञ्जु अडिशन पछि फाईनल भएकी हुन् । मञ्जुले सिक्किम मनिपाल विश्वविद्यालयबाट एम.बि.ए सकेकी छिन् । फेबु्रअरीको पहिलो साताबाट छायांकन सुरु गरिने भनिएको यस चलचित्रमा अझै अपुग चार जना कलाकारको खोजी कार्य भइरहेको छ ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आज दुवै सदनको बैठक बस्दै

काठमाडौं  । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।  स‌सद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ।  सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन। 

कार्यक्षेत्र नछाड्न गृहको प्रजिअलाई निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय  गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले निर्देशनमा बताए। ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ”, उनले भने, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’ यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरे । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजिकरणका लागि तत्काल तयार रहेको उनले बताए। गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्ने पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका थिए।

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ स् १५ बजेका लागि बोलाइएको छ ।  बैठकको कार्यसूची भने संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

शासकीय व्यवस्थालाई नतिजामुखी बनाउन सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शासकीय व्यवस्थालाई जनमुखी, जवाफदेही, जनउत्तरदायी र नतिजामुखी बनाउन सरकारले काम गर्दै आएको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भूमिका थप सुदृढ बनाउन मातहतका निकायहरूको बजेट तर्जुमा गरिएको स्पष्ट पारेका हुन् । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देशको शासन व्यवस्था सञ्चालन, शासकीय प्रबन्ध तथा राष्ट्रको समग्र नीति निर्माण एवं व्यवस्थापनमा समन्वय तथा सहजीकरण गर्ने केन्द्रीय निकाय विदितै छ,” प्रधानमन्त्रीले भने, “शासकीय व्यवस्थालाई जनमुखी, जवाफदेही, जनउत्तरदायी र नतिजामुखी बनाउन एवं त्यस अनुरूपको निर्णय, निर्देशन, समन्वय र नियन्त्रण गर्न यस निकायले राष्ट्रको समग्र सुशासन, सदाचार प्रवर्द्धन, शासकीय सुधार, अन्तर मन्त्रालय र अन्तर तह समन्वयजस्ता बहुआयामिक विषयमा काम गर्दै आएको जानकारी गराउन चाहन्छु।”  राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका हुन् ।

सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञाशा राखेका थिए ।  जवाफमा पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र प्रस्तुतिकरणका लागि उपस्थित भएकाले यस्तो अवस्थामा के गर्न सकिन्छ भन्नेबारे महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको जानकारी दिए ।  उनले दाबेदारमध्येबाट व्यसायिक र दक्ष व्यक्तिलाई सरकारले छिट्टै बोर्ड अध्यक्ष नियुक्त गर्न जानकारी दिए । धितोपत्र ऐनमा स्पष्ट रुपमा पाँचमध्ये समितिले तीन जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको भन्दै मन्त्री पुनले समितिले प्रस्तुतिकरणमा सहभागी भएका सन्तोषनारायण श्रेष्ठ र मुक्ति नारायण श्रेष्ठमध्ये एकलाई, त्यसमा बाँकी तीनबाट एक जना थप गरेर वा सर्ट लिस्टमा परेका पाँचै जनालाई सिफारिस गर्ने भन्ने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरिएको उल्लेख गरे । ‘पूर्ववर्ती अर्थमन्त्रीकै समयमा सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थसचिव पदेन र एक जना विज्ञसहित तीन सदस्यीय समिति गठन गरेको रहेछ ।  समितिले अध्यक्ष छनोटका लागि आवेदनमा मागेकामा १९ जनाले आवेदन दिएको  । त्यसमध्ये ५ जनालाई सर्ट लिष्ट गरेको ।  ५ जनामध्येबाट प्रस्तुतिक लागि बोलाउँदा दुई जना मात्र आउनुभएको’, उनले भने, ‘काूनमा स्पष्ट रुपमा कम्तिमा पनि तीनजना योग्यहरुलाई सिफारिस गर्ने भनेकोर्ले  अप्ठेरो परेर समितिले सरकारको कानूनी सल्लाहकार महान्यायधाधिवक्तालाई के गर्न सकिन्छ भनेर सोधेर पठाएको छ । कानूनी राय आउने बित्तिकै समितिले सरकारलाई सिफारिस गर्नेछ र सरकारले त्यसबारे छिट्टै आवश्यक निर्णय लिन्छ ।म विश्वास दिलाउन चाहन्छु ।’  धितोपत्र बोर्ड सेयर बजारको नियामक निकाय भएको र नियामक निकाय स्वतन्त्र तथा व्यवसायिक हुनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध र स्पष्ट रहेको उनको भनाइ थियो । बोर्ड अध्यक्ष नियुक्तिबारे सञ्चार माध्यममा विभिन्न स्वार्थ समूहको चलखेल भएको भन्दै आफू र प्रधानमन्त्रीसहित शीर्ष नेताको नाम जोडेर गरिएको प्रचारबाजी सत्य नभएको मन्त्री पुनले उल्लेख गरे । ‘कुनै नेता विशेषले दबाब दिएका कुराहरु आएका छन् । यो सत्य होइन । व्यवसायिक रुपले दक्ष मान्छे नियुक्त हुन्छ भन्ने मेरो विश्वास छ’, उनले भने, ‘जति पनि आरोप र लाञ्छनाहरु छन् कति ठाउँमा शीर्ष नेताहरुलाई जोडेर, कति ठाउँमा मलाई र प्रधानमन्त्रीलाई जोडेर यो कुरामा सत्यता छैन ।’

रबिलाई गृहमन्त्रीबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ आज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेशी तोकिँदै छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइका क्रममा रहेको छ । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने भन्दै न्यायाधीशको पेशी पर्दै सरेको थियो। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छन्।  महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुंगानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।  रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ।

नेपाल र चिनबीच सम्बन्ध थप बलियो बनाउन भ्रमण सफल : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताए। चीनको दश दिने भ्रमण सकेर हालै फिर्ता भएको महासचिव गुरुङको टोलीले आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भ्रमण सफल भएको दाबी गरे । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति,समृद्धी र राजनीतिक स्थायीत्वको लागि सधै तत्पर रहेको बताउँदै गुरुङले भने,“चिनियाँ उच्च अधिकारीहरुसँगको भेटले हामी उत्साहित भयौं कि चीन सधैं नेपालको समृद्धी,शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ ।” महासचिव गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै भने,“उहाँहरुले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ ।” भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन समेत सहयोग पुग्ने विश्वास गुरुङले गरे । भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कूल विभागको प्रमुखलगायत उच्च तहमा भेट भएको पनि जानकारी दिए । एक अर्को प्रसंगमा गुरुङले अहिलेको सरकार संसदको कार्यकालसम्मै जाने बताए । उनले भने, “संसदको बाँकी समयसम्म यही समिकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् । तर, अहिलेको समिकरण यो संसदको बाँकी समयसम्म जान्छ ।”   नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलको बहुमत प्राप्त गर्न नसक्ने अवस्थाका कारण समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको बताए ।   महासचिव गुरुङले हालै सकिएको तेस्रो लगानी सम्मेलन सफल भएको बताए । उनले देश विकासको लागि मुख्य आन्तरिक पुँजि भएपनि बाह्य पुँजि भित्र्याएर अगाडि बढ्नु पर्ने बताए । “देश विकासको लागि आन्तरिक पुँजि मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजि भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो” गुरुङले भने ।   कार्यक्रममा भ्रमण टोली सदस्य तथा माओवादी केन्द्रका युवा नेता डा। दीपेन्द्र रोकायाले नेपालको विकासको लागि चीनबाट शिक्षा लिन सकिने बताए । भ्रमणको अनुभव सुनाउँदै रोकायाले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताए । मजदूर दिवसको  सन्दर्भमा डा।रोकायाले औद्योगिकरुपमा सम्पूर्ण देशलाई अगाडी बढाउन नसक्दासम्म देश अगडी नबढ्ने बताउँदै भने “वस्तु उत्पादन गरेर निर्यात गर्न सकिएन भने हामी वेरोजगार उत्पादन गर्ने करखाना मात्रै बन्ने हो, त्यसैले यो सरकारले उद्योग खोल्न पहल गर्नु पर्छ ।”

उपनिर्वाचनमा सेना परिचालन हुने

काठमाडौं । आगामी बैशाख १५ मा हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले गरेको सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले बिहीबार सेना परिचालनको स्वीकृति दिएका हुन् । १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि र बझाइ १ ‘क’ मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ ।

जंगलमा लागेको आगो बस्तीमा पसेर जलायो १२ घरगोठ, एक जना घाईते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पसेर ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ बर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् । उनको दुवै हात जलेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीमा परी मध्यविन्दु १४ का नवलसिंह ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन र नगद १ लाख ६० हजार, भोगीराम ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन, ४ वटा कुखुरा, टेकबहादुर क्षेत्रीको घरगोठ, लत्ताकपडा भाडा वर्तन, ३ वटा बाख्रा, कर्मसिंह सोमैको घरगोठ लत्ताकपडा, भाडावर्तन पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसैगरी, खमबहादुर बारघरेको बाख्राको गोठ, लत्ताकपडा अन्नपात, हस्तबहादुर ढेंगाको बाख्रा गोठ, लत्ताकपडा अन्नपात र श्रीलाल सोमैको बाख्रागोठ लत्ताकपडा अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी मध्यविन्दु १४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाइगोरुको गोठ, लत्ताकपडाअन्नपात, थेबेल सिसंह लम्कामगरको गाईबाख्राको गोठ, गोरु एउटा, बाख्रा ३ वटा, भैसी १ वटा, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ ।