‘दुई कदम’ हङकङमा
काठमाडौं । गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ुदुई कदमु हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो ।
फिल्मको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छ्न । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा दुई कदमको शोको आयोजना गरिएको हो ।
उदय सुब्बा निर्देशित फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् ।
अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुले लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।
फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।
शिक्षासहित पाँचवटा समितिका बैठक बस्दै, यस्ता छन् छलफलका विषय
काठमाडौँ । संघीय संसद अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दैछन्। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेका हुन्। शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। यस्तै, उद्योग तथ वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा सूर्ति, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ । यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। यसैगरी, स्पन्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। यस्तै, बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा राज्यको मूल प्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिका बारे छलफल हुनेछ।
संविधान संशोधन पछाडि फर्कनका लागि होइन : कांग्रेस नेता रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पछाडि फर्कनका लागि नभएको दावी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद समेत रहेका लेखकले अधिकांश कुरामा असहमति रहेको बताए। म कमसेकम आज प्रधानमन्त्रीजीले राख्नुभएको खण्डन, प्रतिवाद केही गर्ने वाला छैन। यसले थप कटुता उत्पन्न गर्छ। हाम्रो समाजले पीडामा भएको कुनैपनि मानिसका माथि थप टिप्पणी गर्नु भनेको ज्यादा पीडित गर्नु भएकाले त्यताति जान चाहन्न ।’ ‘प्रधानमन्त्रीजीले प्रारम्भमै दुईवटा ठूला दलहरू मिल्दा प्रतिपक्षी कमजोर हुन्छ कि भन्ने चिन्ता गर्नुभयो। प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठिक नेताको रुपमा देखेको हुँदा अब सदनमा कमजोर हुँदैन भन्ने लाग्छ,’ उनले भने। प्रधानमन्त्रीको विश्वासको मत लिने क्रममा बोल्दै लेखकले त्यसमा कांग्रेसले समर्थन गर्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डमा अरूमा मात्रै दोष देख्ने समस्या रहेको बताउँदै त्यसरी अगाडि बढ्न नसक्ने उल्लेख गरे । दुई वटा ठुला पार्टी मिल्दैमा डराउन आवश्यक नपर्ने बताउँदै मुलुकलाई ठिक ठाउँमा पुर्याउने दाबी गरे ।
राष्ट्रपति पौडेलद्वारा स्वीट्जरल्याण्डको प्राचीन सहरको भ्रमण
जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको प्राचीन सहर पुरानो जेनेभाको भ्रमण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार सो सहरको अवलोकन भ्रमण गरेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले त्यहाँस्थित ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेललाई जेनेभा स्टेट काउन्सिलका प्रेसिडेन्ट नाथाली फोनटानेटले स्वागत गरेका उनको निजी सचिवालयले जनाएको छ ।
गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामूहिक प्रयास र सहकार्यबाट राजनीति व्यवस्था परिवर्तन गर्न सकिएको र सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएको बताए। “गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै। यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकामी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर गरिएको सामूहिक प्रयास थियो,” प्रधानमन्त्रीले भने, “हाम्रो सामूहिक प्रयास र सहकार्यमार्फत् राजनीतिक व्यवस्था परिवर्तन गर्यौं र एकात्मक वंशवादी सामन्ती राज्यसत्ता अन्त्य गरी सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल बन्यौँ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै राजनीतिकरूपमा क्रान्तिको एउटा अध्याय त पूरा भएको भए पनि जुन जग र सपनाको बलमा गणतन्त्र स्थापना भएको थियो, त्यसका सोंच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै रहेको प्रधानमन्त्रीको भनाइ छ। व्यवस्थामा हुने परिवर्तनले आमजनताको अवस्थामा परिवर्तन ल्याउन सकेन भने त्यसले राजनीतिक व्यवस्था परिवर्तनको अभिष्ट पूरा हुन नसक्ने बताउँदै प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा देखिएका अस्पष्टताको फाइदा उठाउँदै व्यवस्थालाई नै असफल पार्न कोशिश भइरहेको भन्ने आफूले सुनेको तर यस्ता प्रयासहरू सफल नहुने बताए। उनले त्यस्ता गलत प्रयासलाई असफल पार्न सचेत र सामूहिक प्रयास एवं परिवर्तनका मुद्दाहरूमा राष्ट्रिय सहमति र सहकार्य आवश्यक औँल्याए। प्रधानमन्त्री प्रचण्डले भने, “ संसारभरिको अनुभव हेर्दा इतिहासको रथ पछाडि कहिल्यै फर्किएको छैन र नेपालमा पनि त्यस्तो हुन दिइने छैन।” सरकारले लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै र समाजवाद उन्मुख राज्य व्यवस्थाको आधारका लागि सक्रियताका साथ काम गर्दै आएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रो मुख्य कोशिस भनेको देशका लागि राम्रो मात्र गर्ने हो। केही पनि हुँदैन, सकिँदैन भन्ने भाष्य चिर्दै थप उपलब्धिहरू हासिल गर्दै अघि बढ्ने हो।” उहाँले केही पनि भएन भन्नेहरूका लागि समावेशीता, स्वतन्त्रता, सामाजिक आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा गणतन्त्रपछिका उपलब्धिहरूले ठोस जवाफ दिएको बताइन्। नागरिक आवश्यकता र चाहनाको परिपूर्ति गर्दै मुलुकलाई आर्थिक सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको बताउँदै प्रधानममन्त्री प्रचण्डले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको रक्षा गर्न सरकार दृढ रहेको बताए। उनले छिमेकी मुलुकहरू र अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँगको सम्बन्ध सुदृढ भएकाले यसैको फलस्वरूप नेपाल विक्रम सम्वत् २०८३ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सुनिश्चित भएको बताए। प्रधानमन्त्रीले भने, “सम्वत् २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्यसहित विकसित राष्ट्रको स्तरमा पुग्ने अभियान जारी छ।” गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली समेत भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको छ। वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो।” उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार भएकाले यसका लाभहरूलाई आम नागरिकमा पुर्याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको बताए । पछिल्लो समयमा देखिएको आर्थिक शिथिलतालाई अन्त्य गर्न वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको फलस्वरूप अर्थतन्त्रमा सुधार भइरहेको बताए। “लगानीको वातावरण सुधारका लागि यससम्बन्धी नीतिगत एवं कानुनी व्यवस्थाहरूमा परिमार्जन गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशका मजदुर, किसान, विद्यार्थीलगायतका सम्पूर्ण गरी खाने वर्गलाई ध्यानमा राखी आधारभूत आवश्यकताको परिपूर्तिमा ध्यान दिँदै बीउ, मल, पाठ्यपुस्तक, औषधीजस्ता वस्तुहरूको उपलब्धता र आपूर्ति सरल र पहुँचयोग्य बनाइएको छ।” उनले सुशासन र समृद्धिलाई केन्द्रमा राखी राज्यको स्रोतमा सबै नागरिकको पहुँच सुनिश्चित हुनेगरी स्रोतको परिचालनमा मितव्ययिता, पूर्वाधार निर्माणमा तीव्रता, सामाजिक विकासमा समानता एवं सेवा प्रवाहमा सरलता कायम गरिएको बताए। गणतन्त्रलाई समृद्धिको मार्गका रूपमा उपयोग गर्न तथा समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि अझ बृहत् स्तरमा राष्ट्रिय एकताको सन्देश दिन र सबै नागरिक एकतावद्ध भई साझा हितका लागि परिचालन हुन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै लय र तालमा अघि बढ्न जरुरी रहेको बताए।
कांग्रेस सांसद्हरूद्धारा वेल घेराउ
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको वेल घेराउ गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सभामुख देवराज घिमिरेले बसेर संसद्को कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरिरहेका छन् ।
मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई
काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाईपछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् । लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । हाइकिङ रुचि भएकी लम्साल सकारात्म उर्जाका साथ नर्सिङ अगाडि बढाउने बताउँछिन् । विजेता लम्सालले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । एनक्लेक्स नेपाल प्रायोजन रहेको प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट रनरअप र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनरअप भए । मस्ट इन्टेलेक्च्युअलको टाइटल समेत हात पारेकी पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन् । विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण रेग्मीले मस्ट चार्मिङको टाइटल समेत प्राप्त गरेकी छन् । तीनै विजेताले उपाधिका साथमा बिभिन्न गिफ्ट हात पारेका छन् । नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामास्पेसल अवार्ड नर्स विथ व प्रपोज मोनिका थापा मगर, मस्ट फोटोजेनिक र बेस्ट स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरी बने । ‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताइन् ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले आज बिहानलाई संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८ः ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।
बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। ‘‘ आर्थिक बर्ष २० ८१/८२ मा बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने छ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।
सभामुखद्धारा मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान
काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् ।बैठक सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारमा सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको काम कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरुसँग बैठक गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्षे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणबारे अमेरिकाको कडा चेतावनी
एजेन्सी । इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणमा दुई देशबीचको व्यापारिक सम्झौताका विषयमा अमेरिका कडा चेतावनी दिएको छ। अमेरिकाले इरानसँगको व्यापार सम्झौताका विषयमा पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’ बारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने प्रतिक्रिया दिएको हो। पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमको आपूर्तिकर्ताहरूविरुद्ध प्रतिबन्धलाई जोड दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘हामी जहाँसुकै भए पनि आम विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिहरूमा अवरोध र कारबाही जारी राख्नेछौं।’ उनले अगाडि भनेका छन्, ‘मैले भन्ने यत्ति मात्र हो– कुनै पनि देशलाई प्रतिबन्धको सम्भावित जोखिमबारे होसियार रहन सल्लाह दिन्छु। तर अन्ततः पाकिस्तानी सरकारले आफ्नो विदेश नीति आफैँले बनाउन सक्छ।’
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित दुई जना पक्राउ पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानमा प्रहरीले खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रूपैयाँसहित सिन्धुली कमलामाई नगरपालिका(७ बस्ने २७ वर्षीय निसाज सुनुवारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवास र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले बा ७७ प ५८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक निसाजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बारा, पचरौता नगरपालिका ४ ईनर्वाबाट अबैध लागूऔषध गाँजा करिब २ सय ३० किलोसहित रौतहट फतुवा बिजयपुर नगरपालिका(४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शंकास्पद रूपमा ४ वटा जुटको बोरा बोकी हिँडिरहेको अवस्थामा पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही ठाउँस्थित बाटोको कलभर्ट मुनि लुकाएको गाँजा लिन बोरा लिएर आएको खुल्न आएपश्चात उनलाई उक्त गाँजासहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सभामुख घिमिरेसहित १० सदस्यीय प्रतिनिधिमण्डल जेनेभा प्रस्थान
काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आइपियू)को १४८औँ महासभामा सहभागी हुन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित १० सदस्यीय प्रतिनिधिमण्डल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेको छ। महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बिहीबार बेलुका कतार एयरलायन्सको जहाजमार्फत दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको संसद् सचिवालयले जनाएको छ। आइपियूको प्रधान कार्यालय रहेको जेनेभामा मार्च २३–२७ (१०–१४ चैत) सम्म सञ्चालन हुने छ । प्रतिनिधिमण्डलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासे छन्। यसैगरी, संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेय, संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई जेनेभा प्रस्थान गरेका हुन्। महासभामा सभामुख घिमिरेले ‘पार्लियामेन्ट डिप्लोमेसीः बिल्डिङ ब्रिजेज फर पिस एन्ड अन्डरस्ट्यान्डिङ’ विषयको जनरल डिबेटमा संघीय संसद्को तर्फबाट सम्बोधन गर्नेछन् । आइपियूको फोरम अफ योङ पार्लियामेन्टरियनमा सन्तोष परियार र महेशकुमार बर्तौला तथा फोरम अफ वुमेन पार्लियामेन्टरियनमा गंगाकुमारी बेल्बासेले सहभागिता जनाउने सचिवालयले जनाएको छ। यसबाहेक आइपियूका स्थायी समितिका छलफलहरूमा समेत प्रतिनिधिमण्डलको सहभागिता रहनेछ। आइपियूको महासभासँगै संसद्का महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टका बैठकहरू सञ्चालन हुनेछन्। ती बैठकहरूमा संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सहभागिता जनाउने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। महासभामा सहभागी भई प्रतिनिधिमण्डल १६ चैतमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री पोखरामा
गण्डकी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका छन्। प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गरेका छन्। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले विद्यालयको अवस्थाबारे जानकारी लिए। आजै उनी पोखरामा जारी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा सरिक हुने कार्यक्रम छ । आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा प्रधानमन्त्री सहभागी हुने जनाइएको छ । आइतबार नै नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गर्ने पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सरिक हुनेछन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आन्तरिक प्रशिक्षण तथा भेटघाटमा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।
मुलुकको पर्यटनको प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : सभापति देउवा
भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय तहका साथै सरोकारवाला निकायको एकआपसमा सहकार्य आवश्यक रहेको सभापति देउवाले बताए । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उनको भनाइ छ । “भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउनेछ”, सभापति देउवाले भने । उनले गठबन्धनको सरकारले निरन्तरता पाउने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने बताए । सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि प्रयाप्त पूर्वाधार रहेको बताए । “जैविक विविधता, पर्या–पर्यटन, वन्यजन्तुसम्बन्धी खेल, स्वास्थ्य, कृषि, पर्यटनको विकासलगायत विषयले भरतपर मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित भएको छ”, उनले भने ।
बहुविवाह गर्ने सरकारी जागिरबाट बञ्जित
काठमाडौं । बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी, जातीय छुवाछूत वा नैतिक पतन छन्। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीका अनुसार ऐनमा यसअघि बहुविवाहबारे व्यवस्था थिएन। नयाँ व्यवस्थाअनुसार बहुविवाह गर्ने कर्मचारीले निवृत्तिभरणसमेत पाउनेछैनन्। ‘फौजदारी संहिताले पनि बहुविवाहलाई अपराध मानेको छ। निजामती सेवामा संहिताअनुकूल हुने गरी नयाँ व्यवस्था राखिएको हुन सक्छ’, उनले भने, ‘पहिला नैतिक आचरणको विषय हुने व्यवस्था थियो। कर्मचारीको हकमा बहुविवाह गरेको व्यक्ति अयोग्य हुने भनेर कतै व्यवस्था थिएन।’ यसअघि बहुविवाह दण्डनीय मात्रै भएकाले नयाँ व्यवस्था गर्न खोजिएको हुन सक्ने प्रशासनविद् काशीराज दाहालको भनाइ छ। ‘बहुविवाहलाई दण्डनीय कसुर मात्रै मानिन्थ्यो। कर्मचारी हुन अयोग्य हुने व्यवस्था थिएन। तीन वर्ष कैद सजायको व्यवस्था थियो’, उनले भने, ‘मुलुकी फौजदारी संहिताले बहुविवाहमा पाँच वर्ष कैद सजायको व्यवस्था गरेको छ। प्रस्तावित संघीय निजामती ऐनले उम्मेदवारै हुन नपाउने प्रस्ताव गरेको जानकारीमा आएको छ।’ विधेयकबारे सदनमा छलफल भइरहेको उनले सुनाए। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ ।