यस्तो रहनेछ आजको मौसम, यी ठाउँमा हुनेछ वर्षा

काठमाडौं ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।

विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ । 

कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान साथै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

ओलीले एमसिसीलाई गठबन्धन भत्काउने रणनीति बनाउन खाेजेका छन्- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीले एमसीसीलाई रणनीतिका रूपमा प्रयोग गरिरहेको दाबी गरेका छन् । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस एमसीसीकाे पक्षमा रहेकाे बेला एमालेले यसलाई गठबन्धन भत्काउने हतियारका रुपपमा उपयाेग गरेेकाे उनकाे भनाइ छ । प्रचण्डले एमसीसी सहितका विषयलाई समातेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “सत्तारूढ गठबन्धन भत्काउन खोजेको” आरोप लगाउँदै त्यसप्रति आफूहरू सतर्क भएको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रले परिमार्जन विना एमसिसि पारित गर्न नसकिने अडान लिएकाे छ । “अहिले पनि उहाँले लगातार सदन अवरूद्ध गर्नुको पछाडि उहाँले सर्त राख्नुभएको तपाईँ हामीले सुनेका छौँ। गठबन्धन टुट्छ भने उहाँले नेपाली कांग्रेसलाई एकलौटी सरकार बन्न दिने। यदि नेपाली कांग्रेसले गठबन्धन छाडेर एमालेसँग मिल्न जाने हो अथवा एमालेको समर्थन लिन जाने हो भने नेपाली कांग्रेसलाई एकलौटी चलाउन दिने। गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गरिदिने। उहाँले खुलेआम दिएको तर्क, के यो लोकतान्त्रिक तर्क हो?” उनले भने । झन्डै ६० अर्ब रुपैयाँ बराबरको सो अमेरिकी आर्थिक अनुदान सहायता कार्यक्रम अघि बढाउने विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका थिए। त्यसमा कुनै निष्कर्षमा नपुगेपछि अध्ययन गर्न तीन प्रमुख दलका नेता सम्मिलित एउटा समिति बनाइएको छ।

पूजाको विषयलाई लिएर दुई पक्षबीच झडप, एक जनाको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए। सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो। विवादले उग्ररूप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए। त्यसको केहीबेरमै उनको मृत्यु भएको स्थानीयबासीले जानकारी दिए। घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस

शिक्षकको परीक्षा तयारी पूरा, ३४ जिल्लामा एक हजार २३२ परीक्षा केन्द्र स्थापना

काठमाडौँ, असोज ५ । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई समेत आग्रह गरेका छन् । यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्न माध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा उनका अनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एकदिन अगाडि मात्र पुग्ने छ । परीक्षाको तयारीको शनिबारदेखि सोमबारसम्म शिक्षा विकास तथा जिल्ला समन्वयका प्रमुख र केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धी तालिम समेत दिइने थालिएको जानकारी गराए । परीक्षामा ३४ जिल्लामा एक हजार २३२ परीक्षा केन्द्र स्थापना गरिएको छ । परीक्षा सञ्चालन गर्नका लागि एक हजार २३२ केन्द्राध्यक्ष र दुई हजार ४६४ सहायक केन्द्राध्यक्षसहित करीब १४ हजार कर्मचारी आवश्यक पर्ने उनले बताए । परीक्षामा १२ हजार ७३९ पदका लागि करीब दुई लाख ७५ हजार परीक्षार्थी रहेका छन् । प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षालाई मर्यादित बनाउनका लागि जुन जिल्लाबाट परीक्षा फाराम भरेको हो सोही जिल्लाबाट परीक्षा दिन नपाइने नयाँ व्यवस्था गरिएको छ । रासस

भक्तपुरको चोक चोकमा सिसी क्यामरा

भक्तपुर, माघ ६ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । अभियानलाई पूर्णता दिनका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो । महानगरीय प्रहरी वृत्त थिमिले माघ महिनाभित्र पहिलो चरणमा १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी क्यामरा जडान गर्ने भएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएपछि बैंकले सिसी क्यामरा जडान गर्न थालेका छन् । त्यसैगरी, स्थानीय बासिन्दा, दलका प्रतिनिधि र समाजसेवीसँगको बृहत् छलफलपछि सिसी क्यामरा अभियान सुरु गरिएको हो । सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त थिमिले सहयोग गर्न दातालाई आग्रह गरेको छ । प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोकचोकमा र पुरानो बाटोको बहाखा बजारलगायत मानिसको भीडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गरिने भएको ओलियाले जानकारी दिए । सिसी क्यामरा जडान सँगै चोरी, डकैती, लुटपाटलगायत अन्य आपराधिक गतिविधिमा न्यूनीकरण आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारीलाई नियन्त्रण लिन सहयोग पुग्ने उनले बताए । रासस

प्रधानमन्त्रीले आज सय दिनका उपलब्धि सार्वजनिक गर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारको सयदिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कमहरुको विवरण, आगामी योजनालगायतका विषय समेटेर सम्बोधन गर्ने छन् । एमाले अध्यक्ष समेत रहेका ओली पछिल्लो पटक प्रधानमन्त्री भएको मंगलबार एकसय दिन पुगेको छ । ओली नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सहकार्यका लागि सात बुँदे समझदारी भएको थियो । उक्त समझदारीमा राजनीति स्थिरता र संविधान संशोधनलाई मुख्य एजेण्डा बनाइएको थियो ।

पत्रकार महासंघका सबै तहको निर्वाचन असोज ५ गते

काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकारको महासंघको निर्वाचन असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्तिमार्फत यस्तो जानकारी दिनुभएको हो। महासंघमा केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन हुने विधानमा व्यवस्था छ । तत्कालीन अध्यक्ष गोविन्द आचार्यको पालादेखि महासंघले प्रत्यक्ष निर्वाचन जाने निर्णय गरेको थियो । जसअनुसार सबै तहका निर्वाचन एकै दिन हुन्छ भने सबै साधारण सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ ।  यसपटक महासंघले शुद्धिकरण गरेर सदस्य संख्या घटाएको छ । यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने महासंघको विश्वास छ ।  ‘महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल र अलमल देखिन पुगेको स्पष्ट पार्न चाहन्छु । घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु’– अध्यक्ष पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको छु ।’ समग्र नेपाली पत्रकारिता जगत संकटको घेरामा परेको बेला महासंघको नेतृत्व समयमै चयन भई आइपर्ने सबैखालका चुनौती सामना गरेर समग्र नेपाली सञ्चार क्षेत्रकै नेतृत्व लिनुपर्ने आवाज आफैंमा महत्वपूण भएको उल्ले्ख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘केही अप्ठ्याराहरूका बीच पनि महासंघ आफ्नो उद्देश्य र गन्तव्यमा प्रष्ट रहेको विश्वास दिलाउन चाहन्छ ।’   

रामेछापको फर्पुमा पहिरोले पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी  सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।  बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर, सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगंगा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।

ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ‘ह्विप’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ‘ह्विप’ जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए। उनले भने, “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्नेछ। पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ।”

जोमसोमका लागि उडेको ताराको जहाज सम्पर्क बिहिन भन्ने गलत प्रचार

काठमाडौं । जोमसोमको लागि उडेको जहाज सम्पर्क बिहिन भन्ने समाचार तथा पोष्टहरू गलत भएको तारा एअर प्रा.लीले जनाएको छ ।  प्रा.लीले आज एक विज्ञप्ति जारी गदैै केही अनलाईन पत्रिका तथा गलत मनशायको व्यक्तिले बदनियतपूर्वक सामाजिक संजालमा तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्र्पक बिहिन भनि गलत समाचार तथा पोष्टहरु गरिएको पाईएकोले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएको जनाएको छ । प्रा.लीले यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न सम्पूर्ण सरोकारवाला हरुमा अनुरोध  समेत गरेको छ।साथै, गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक संजालमा राख्ने विरुद्ध कानूनी कार्वाही अगाडी बढाउने समेतबताएको छ ।

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गरेका छन्।  सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल भएको छ ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बिम्स्टेकले क्षेत्रीय आर्थिक सहकार्यलाई बढवा दिँदै आएको उल्लेख गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिए। उनले यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका विषयमा पनि छलफल चलाउनुपर्ने बताए ।  महासचिव पाण्डले बिम्स्टेक सदस्य मुलुकको हैसियतमा नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको उल्लेख गर्दै आगामी दिनमा नेपालको भूमिका अझै प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार आज मधेश, कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।

फेरि बढ्यो काठमाडौंमा प्रदूषण

काठमाडौं । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ। आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ। वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ। यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि १९७ सम्म मापन भएको छ। गएको साता काठमाडौंका अधिकांस स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्दछ। १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ। वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १०) लगायतका आधारमा एक्यूआई मापन गरिन्छ।

गृहमन्त्रीको जवाफ संसदमा सुन्ने विपक्षी दलहरुको निर्णय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो। गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसले जनाएको छ । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए। सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो। तर संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन्। कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ। कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

रास्वपा सचिवालय बैठक आज, उपनिर्वाचनको समीक्षा हुने

काठमाडौं । उपनिर्वाचनको समिक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षासँगै आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकको एजेण्डा सहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

जुम्लाका स्याउ बगैँचा सेताम्मे

जुम्ला । जुम्लाका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् ।  कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।  तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फुलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उनको भनाइ छ । जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फुल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ ।  तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिव गोरीकला बुढाले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताइन् । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उनको भनाइ छ ।  पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।  माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ ।  जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताए ।